३०-३०

साहित्य, शोध र धारा

प्रा.डा. अभि सुवेदी |
कात्तिक १, २०७७ १०:१८ बजे

विमल आचार्यको एउटा फोन आयो । नयाँ अनलाइन पत्रिका इकागजडटकमको पहिलो अंकका निम्ति एउटा साहित्य विषयको लेख चाहिएकाले मलाई भन्‍ने निधो भएको रहेछ । परिचित र सक्रिय युवा पुस्ताका यी भाइले साहित्यलाई एउटा विषय बनाएको कुराले खुसी लाग्यो । ‘कुराकानी गरौं, म त्यसलाई उतार्छु र फेरि पठाउँछु’ भनेपछि मैले भनेँ, ‘लेखिरहने मानिसलाई सोझै लेखेर भन्‍ने सजिलो हुन्छ ।’
 
अनि उनले आफूले खोजेको विषयका प्रश्‍न पठाइदिए । ती प्रश्‍न देखेपछि मलाई सजिलो भयो । विषय त्यति सजिलो थिएन । प्रश्‍नहरूमा पञ्‍चायती युगलाई पनि एउटा महत्वपूर्ण कालिक खण्ड मानिएको रहेछ । लाग्यो, त्यो एउटा सजिलो विधि हो, विषय प्रवेशको । नेपालको समकालिक इतिहास राजनीतिले नापिन्छ । त्यसका केही कारण छन् । विगतका तीन दशकले नेपाली राजनैतिक उथलपुथलको काल बुझाउँछन् । राजतन्त्र अनि राजनैतिक दलहरूका संरचना अनि तीबीचको अन्तर्द्वन्द्वले यो राजनैतिक कालको ‘डायलेक्टिक्’ वा अन्तर्द्वन्द्वको चुरो बनिएको हो । 

हामीले कहिल्यै पहिले नचिताएका परिवर्तनहरू ल्याइदियो, राजनीतिले । कमिनिस्ट दलहरू बलियो भएको देशमा त्यसै भित्रबाट माओ जे दुङको छापामार युद्ध र क्रान्तिका विचार अंगिकार गरेर निस्केको समूहले २०५२ देखि आरम्भ गरेको सशस्त्र क्रान्ति दश वर्ष चल्यो । उनीहरूले शस्त्र त्यागेपछि कमिनिस्टकै ठूलो दल एमालेसँग एकीकरण भएपछि अहिलेको राजनैतिक अवस्था, सरकार अनि अरू कुरा बनिएका हुन् ।
 
पञ्‍चायत कालको आरम्भ कांग्रेसमाथि राजा महेन्द्रले २०१७ सालमा प्रहार गरेर बीपी कोइरालालाई सुन्दरी जल बन्दीगृहमा थुनेपछि भएको हो । राजनीतिको यो सोझो रेखा कोर्न सजिलो छ । तर इतिहासले कस्तो आकार लिन्छ, त्यो कता जाँदै छ भन्ने ठूलो बहस र छलफलको विषय हो । हामी साहित्यकारहरूका पनि त्यसलाई हेर्ने आफ्नै तरिका हुन्छन् । छोटकरीमा भन्दा नेपालको तीन दशकको चरित्र राजनैतिक उथलपुथल हो । र, त्यो अहिले पनि स्थिर भैनसकेको अवस्था हो । तर माथि भनेको डायलेक्टिक्स्को एउटा निदान भयो । राजा र दलहरूको द्वैत राजनैतिक सम्बन्धको युग सकियो । राजतन्त्र समाप्त भएपछि त्यो डायलेक्टिस्को अर्थ रहेन । अर्को त्यस्तो डायलेक्टिक्स्को रचना भएको छैन । 


ADVERTISEMENT

द्वन्द्वहरू एकताका बहुलताभित्र छरिएका छन् जसमा एउटा दलभित्रका बहुल द्वन्द्व र अलग दलहरूका द्वन्द्वहरू छन् । तर हिजोको लामो र राजा–दलबीचको द्वन्द्वको प्रभावका प्रेतहरू आकार खोज्न व्यस्त छन् । तिनले त्यस्तै द्वन्द्वको मोडेल भेट्ने कुरा भएन, तर सामन्ती कालको धंगधंगी भने व्यापक भएको छ जुन गरिब किसान र सबाल्टर्न वर्गको बिग्रँदो अवस्थालाई हेर्दा थाहा हुन्छ । नेपालमा वर्तमानलाई इतिहासको त्यस्तो धंगधंगीले जकडेको चेतना बलियो छ । त्यसैको पनि आकार प्रस्ट छैन । अनेकौं पुनरावृत्ति छन् । छलफलको विषय हो ।

मलाई सोधिएका प्रश्‍नमा यो राजनैतिक इतिहासको एउटा कालखण्डलाई आधार मानिएको छ । त्यो प्रश्‍न सरल छ, तर त्यस्को उत्तर सजिलो छैन । पञ्चायती बन्द समाजको ३० वर्षे शासन कालपछि नेपालमा खुला शासन आयो । त्यसका पनि तीन दशक पूरा भैसके । मलाई विमल भाइको यो प्रश्‍न मन पर्यो, जस्को उत्तर लेख्ने यहाँ प्रयास भएको छ । प्रश्‍न छ, “समयको यो चिप्ल्याइँ र बगाइको साक्षी र भोक्ताका हिसाबले यो साठी वर्ष लामो यात्राबारे यहाँको भावुक टिप्पणी के होला त ?” म त्यो साठी वर्ष लामो यात्राको साक्षी हुँ । 

सायद त्यो कालका साक्षी धेरै मानिसहरू छन् नेपालमा । लगभग अहिले राजनीति हाँक्ने राजनेताहरू, नागरिक समाजका अगुवाहरूं, न्याय क्षेत्र, प्रशासन र व्यापारबन्दमा संलग्न नरनारीहरू सबै साक्षी छन् । तर राजनीति र साहित्य वा मिडियामा संलग्न पुस्ताका निम्ति भने त्यो सबै कालको अनुभव छैन । तर उनीहरू त्यो कालको उच्चारण भैरहेको सुन्छन्, पढ्छन् र आफ्‍ना भाषा र भाषणमा उच्चारण पनि गर्छन् । 

अहिले समालोचना लगभग सकिँदै गएको अवस्था हो नेपाली साहित्यमा ।

नेपालको अहिलेको यो काल नाप्न त्यो पुस्ताको ग्यापले अत्यन्त महत्व राख्छ । तर त्यतातिर नगई भन्दा मैले यो काल बगेको देखें वा माथि भनेका सबैले देख्यौं । हामी यो कालमा चिप्लिँदै आएका हौं । मेरो कुरा भन्दा मैले त्यही कालमा पढें । उच्च शिक्षा हासिल गरें । साहित्य साधना गरें । प्राध्यापनमा लागें, जुन मेरो जीवनको पर्याय भयो । 

दुई दर्जनजति साहित्यका किताब लेखें । शिक्षा परिवर्तनको साक्षी मात्र होइन, तर्जुमा गर्ने ठाउँहरूमा पनि बसेर काम गरें । मेरो विषय अंग्रेजी भए पनि नेपाली साहित्यकार भएकाले नेपालीमै पनि धेरै लेखें । 

तर त्यो काल बुझ्‍ने, त्यसका जाक डेरिडाले भनेको शब्द प्रयोग गरेर भन्दा प्रेत वा ‘स्पेक्टर’ले सधैं प्रभावित व्यक्तिहरूमध्ये म पनि हुँ । त्यो कालिक चेतना बुझ्‍न अहिले पनि अखबारहरूमा नेपाली र अंग्रेजी भाषामा लेख लेखिरहन्छु । कोभिड–१९ को बेलामा पनि भर्चुअलदानीमा भाग लिइबस्छु । यो कालबारे म जे भन्छु, जे लेख्छु त्यसमा भावुकता पनि हुन्छ तर त्यसमा आलोचनात्मक चेत पनि हुन्छ । म यो काललाई भावुकता र बुद्धि दुवैले हेर्छु । के देख्छु त ?

बन्द तीसको उज्यालो पाटो के थियो भन्ने प्रश्‍न छ । भनिहालें, जस्ले जुन समय भोग्यो, उस्का त्यो समयसँगका सम्बन्ध, उस्ले के गर्यो भन्‍ने कुराबाट निःसृत हुन्छन् । मैले सबैैजसो पठनपाठन, शिक्षा आर्जन र शिक्षा दानका काम त्यही कालमा गरें । धेरैले गरे । लगभग अहिले हामीसँग के छन्, के लेखिएका छन् भन्ने कुरा त्यही कालमा गरिए । अनेकौं विचारले रञ्‍जित साहित्य र विचार लेखिए । वामपन्थी विचारबाट लेख्‍नेले त्यो धारका बलिया साहित्य लेखे । कविता लेखे । उपन्यास र कथा लेखे । अनि अराजक किसिमले लेख्‍नेले पनि त्यही बेला लेखे । 

पञ्‍चायतको सेन्सरको कारणले मात्र नभएर पश्‍चिमी मोडर्निज्मको प्रभाव परेको कारणले त्यस्ता धारामा साहित्य रचना गर्नेले लेखे । तिनलाई मोडर्निस्ट भनेँ मैले, समालोचनाहरूमा । प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेर, कविहरू बोलाएर संकलन गरेको ‘प्रतिनिधि नेपाली आधुनिक कविता’ (२०६७) किताबको ‘नेपाली कवितामा आधुनिक प्रयोग’ शीर्षकको ४८ पृष्ठ लामो भूमिका पढ्नुभयो भने मेरा कुरा त्यहाँ राखेको छु । त्यो कालमा सरल र जटिल सबै थरीका साहित्य लेखिए । पारिजातले लेखिन् । जेलबाट विश्वेश्वरप्रसाद कोइरालाले लेखे । ती केही उदाहरण मात्र हुन्, अहिले हामीले पाएका साहित्यमध्येका उपलब्धि । 

म त्यो कालको कुरा गर्दैछु । नेपाली शिक्षा र चेतनाको त्यो एउटा यस्तो काल थियो, जुन बेला नेपाली सिर्जनशील, शिक्षित र कल्पनाशील मानिसहरूले हात बाँधेर बसेका भए हामी अन्धकार युगमा फर्किने थियौं । त्यो सम्भव थिएन, अनि शासकलाई पनि त्यो कुरा थाहा थियो । जहिलेसम्म उनीहरूको गाथगादीलाई चुनौती हुँदैन, अधिनायकवादीले त्यस्तो प्रवाह रोक्तैनन् । 

इटलीका विख्यात वामचिन्तक आन्टोनियो ग्राम्चीले भनेका छन्, अधिनायकवादी शासकहरू चण्डाल–बाठा हुन्छन् । कला, साहित्य, संगीतलाई उत्थान हुन दिन्छन् । निर्बाध काम गर्न दिन्छन् जहिलेसम्म त्यसले उनीहरूको शासनलाई अप्ठ्यारो पार्दैन । अनि त्यही बेला आप्mनो शक्ति, सैनिक रचना र नियन्त्रणका संयन्त्र बलियो बनाएर ती बस्छन् । राजा महेन्द्रमा त्यही क्षमता थियो । तिनले ग्राम्चीले भनेजस्तै मोडेल समाते । आफैँ कविता लेखे, एकेडेमी खोले, कलाकार र संगीतकारहरू यहाँ ल्याए अनि साहित्यका प्रकाशनहरू पनि हुन दिए । केही लेखकहरूलाई दुःख दिएका पनि छन् । तर समग्रमा एउटा युगले काम गरेछ । शिक्षामा अनेकौं विभाग खुले र पठनपाठन भए । 

तर हामीले एउटा कुरा प्रस्ट बुझ्नुपर्छ, जे जति भयो र लेखियो साहित्यमा, त्यो पञ्चायत राजको दर्शन र नियन्त्रणमुखी नीतिले बनिएको होइन । त्यो नेपालीहरूको युगसम्मत चेतनाको अभियान थियो, जसले जतिसक्दो स्वतन्त्र भएर काम गर्यो र नेपाली लेखन र चेतनाको इतिहासमा एउटा ठाउँ बनायो । 
त्यो बेला विद्रोही चेतनाका आरम्भ पनि भए । जेल, नेल र राजनीतिकर्मीलाई हताहत गर्ने काम पनि भए । छोटकरीमा भन्दा पञ्चायत काल एउटा निर्दलीय अधिनायकवादी काल थियो । तर विरोधाभास त्यो युगको एउटा ठूलो विशेषता भयो जुन मैले चर्चा गरिसकें । 

त्यो बेला लेखनका स्वरहरू बहुल थिए, जुन कुरा मैले भनिसकें । साहित्यको सम्बन्धमा तीस वर्षमा दुःख भनेको स्वतन्त्र भएर सबै कुरा लेख्न नसक्नु थियो । तर मेरो धारणा के छ भने नेपालमा साहित्यकारले विषम परिस्थितिमा पनि साहित्यिक रचनाहरू गरे । त्यो एउटा अनौठो चरित्र हो, नेपाली लेखकको । 
राणा कालको उदाहरण त झन् वाचाल छ । यो लामो साहित्यिक लेख होइन । खालि उठान मात्र गर्छु । 

राणा कालमा जुन लेखक जन्मे र लेखे, तिनले नेपालको साहित्य बनाए । त्यति बेलाको शासन व्यवस्थाले अर्को भाषालाई उत्थान हुन दिएन । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, विजय मल्ल, केदारमान व्यथित, गोविन्दबहादुर मल्ल गोठाले, भवानी भिक्षु, (भनौँ यी केही नाम हुन्) जस्ता नेपाली लेखकहरूले रचना गरे । तिनका प्रकाशन भए । 

म स्वतन्त्र अराजक चिन्तन भएको प्राध्यापक र समालोचक हुँ ।

तर नेपाल भाषाका कवि चित्तधर हृदयले सुगत सौरभ जस्तो महाकाव्य जेलमा बसेर धेरै लेखे । त्यसको चर्चा हुँदैन । अहिले पनि त्यो किसिमको विभेदकारी सांस्कृतिक चरित्र राज्य र राजनीतिको छँदै छ नि । अन्तर्यमा कति कुरा तिनै छन्- राम्रा-नराम्रा दुवैथरी ।

नेपालको २०४७ सालको परिवर्तन अनि पछि २०६३ सालको परिवर्तन अनि गणतन्त्र, क्षेत्रीय-जातीय-सांस्कृतिक पहिचानको राजनीति, मधेस आन्दोलन, अनमिन, अनि सत्य निरूपण आयोग आदि नेपाली राजनीतिक परिवर्तनका ल्यान्डमार्क हुन् । नेपालको साहित्यमा तिनको सोझो प्रभाव पर्ने कुरा भएन तर समय परिवर्तनका कुरा भने तिनले इंगित गरे । 

तर यो सबै परिवर्तनले नेपाली युद्ध वा राजनैतिक घटनाक्रमले पीडित नरनारीको मनोविज्ञान र अवस्था अथवा एउटा सम्बोधन नभई बसेको बृहत् नेपाली साइकी वा मनोग्रन्थि देखायो । त्योसँग ट्रउमा वा अभिघातका भावना जोडिएका छन् । 

त्यो अभिघातको प्रभावमा धेरै नभए पनि केही साहित्य लेखिएका छन् । डा. शान्तिमाया गिरीको ‘आधुनिक नेपाली कथामा अभिघात’ (२०७५) पढ्नुभयो भने त्यो साइकीको कसरी साहित्यमा सीमित नै भए पनि प्रतिनिधित्व भएको छ भनेर तपाईं देख्न सक्नुहुन्छ । 

राजनैतिक परिवर्तनले ठीक हो, पेचिला समस्याहरू जन्माउँछन् । तिनको विशेषता भनेको के हो भने तिनको समाधान गरिनु नै पर्छ । त्यो एउटा स्थूल वा ठूलो विषय भएको हुनाले त्यसको समग्र समाधान खोज्ने इतिहासले विकल्प दिन्छ । नेपालमा गणतन्त्र संविधान २०७२ असोज ३ गते पारित गरेर त्यो समाधान खोजियो । 

इतिहासले विकल्प दियो र राम्रो दियो । अर्को मोड लिन सक्ने थिएन इतिहासले किनभने त्यो नेपालका जनता शक्तिवान् छन् भनेर प्रमाणित गरेको बृहत् दस्तावेज थियो । 

राजा ज्ञानेन्द्र अन्तिम गोरखाली वंशका राजा थिए । ती नारायणहिटी दरबार छोडेर गए । तर साहित्यकारले यसलाई कसरी लिएका छन् भन्ने कुराको आप्mनै अध्ययनका पाटा छन् । अहिले यत्ति भनौँ, यो कालको इतिहासको संवेदनशीलता र जनताले ल्याएका परिवर्तनको अमूक स्थूल मोडेल साहित्यमा आएन । यो प्रस्ट छ । 

तर उपन्यास लेखनमा भने त्यो निकै प्रतिविम्बित भएको छ । मैले अरुतिर पनि लेखिसकेको छु । अहिले एउटा किताबको नाम लिन चाहन्छु । डी.आर. पोखरेलले लेखेको ‘नेपाली उपन्यासमा गणतान्त्रिक चेत’ (२०७४) भन्ने किताबमा केही कुराका व्याख्या भएका पाएँ । अरु पनि छन्, अध्ययनहरू जसमा त्यो परिवर्तनकालको साहित्यमा कसरी चित्रण भयो भन्ने कुरा देखिन्छ । 

मेरा आप्mना तरिका छन् । म सोझो मात्र होइन साहित्य लेखनका सूक्ष्म पक्षमा काल चेतनाको स्पन्दन पाउँछु, जुन कविता, चित्रकला, अनि आपूm नाट्यकलापट्टिको मानिस भएकाले, नाटक र रंगमञ्चमा तिनको चित्रण पाउँछु ।  

‘साहित्यमा वादको कुरा बडो चर्को हुन्छ क्यारे हामीकहाँ । पछिल्लो ३० वर्षमा पनि अमुक राजनीतिक दल वरपर रहिरहनेहरू नै बढी फुर्तिला र बलिया भए कि अथवा साहित्यभन्दा साहित्यकार हिट भए कि कसो हो, गुरुदेव ?’ भन्‍ने विमल भाइको प्रश्‍नको सन्दर्भमा म यत्ति भनाँै, राजनैतिक दलहरू वरिपरि बस्ने, तिनकै खातिर र सेवा गरिहिँड्नेहरूमा मैले साहित्यकार देखिनँ । तर राजनीति हाबी हुने, अनि सरकारले कला र साहित्यलाई हस्तक्षेप गरेको अवस्था भने जटिल बन्दै गएको छ । 

राजनैतिक दलहरू वरिपरि बस्ने र तिनकै खातिर र सेवा गरिहिँड्नेहरूमा मैले साहित्यकार देखिनँ ।

सत्य हो । तर साहित्यमा छुट्टिन्छ । जो एउटा संगठन र शक्तिको मोडेलमा पस्छन्, साहित्यिक लेखनको स्पिरिटलाई ध्यान दिएर तिनले खासै केही लेख्दैनन् । भ्रम पर्ने कुरै छैन । तर त्यसको संस्कारले सर्जकहरूमा निराशा आयो भने त्यो चिन्ताको विषय हो ।
 
अनि तपाईंले भनेको अर्को पाटो छ । अमूक कृतिमा फलानो वाद जोडियो भने शोधका निम्ति त्यस्तै कृतिलाई छान्न लगाउने र त्यसको बढी समालोचना हुन्छ भन्ने कुरा नेपाली साहित्यको वरिपरि हुने कुरा हो । नेपाली केन्द्रीय विभाग नै लिऊँ । त्यहाँ एमफिल र विद्यावारिधिका कार्यक्रम हुन्छन् । तिनका शोधप्रबन्धहरू मैले पनि हेरेको छु । 

माथि भनेको शान्तिमाया गिरीको किताब उनको विद्यावारिधि शोधप्रबन्ध हो । त्यसका निर्देशक पहिलेका माओवादी, मानक भाषामा भन्दा माक्र्सवादी समालोचक विद्वान् ताराकान्त पाण्डेय हुन् । म स्वतन्त्र अराजक चिन्तन भएको प्राध्यापक र समालोचक हुँ, तर त्यो शोधप्रबन्धको बाह्यपरीक्षक म थिएँ । 

त्यो विषय मलाई थाहा छ भनेर पठाएका हुन्, म कमिनिस्ट हुँ कि होइन भनेर होइन । अरु पनि राम्रा शोध भएका छन् । ती स्वतन्त्र छन् र राम्रा छन् । 
मैले अरु पनि हेरेको छु । बाहिर समालोचनाको कुरा गर्दा एउटा कुरा उल्लेख मात्र गर्छु । त्यो के हो भने अहिले समालोचना लगभग सकिँदै गएको अवस्था हो, नेपाली साहित्यमा । मैले ठानेको समालोचना भनिने जन्तुको कुरा गरेको । 

अहिले तपाईं ठूलापाते अखबारका पातामा साहित्यका चर्चा भेट्नुहुन्छ । कतिपय जान्ने, पढेका र राम्ररी सोच्नेले लेख्छन् भने कतिपयले आधारभूत विषय पनि थाहा नपाई लेखिदिन्छन् । अखबारमा साहित्य चर्चाको मोडमा अरु ठाउँमा पनि त्यस्तो धार पाइन्छ, केही अपवादबाहेक । 

जे होस्, अहिले समालोचनाको स्वरूप विश्वभरि नै अनिश्चित बन्दै गएको छ । लेखिँदैन भनेको होइन, लेखिन्छ तर पहिले जस्तो मानक मानेर लेखिँदैन । तर एउटा कुरा छ नि । कसैले म अर्को किसिमले, अर्को विचारले समालोचना लेख्छु भन्यो भने उसलाई कसले रोक्छ र, आजको लोकतान्त्रिक नेपालमा ? लेख्नुपर्यो नि, सही र स्वस्थ समालोचना । 

पञ्चायत कालमा पनि लेखिन्थे, वामपन्थी र अर्को विचारका समालोचना । छलफल गर्ने ठाउँ छैन यहाँ । नेपाली समालोचनाको त्यस अर्थमा त्यो बहुल विचार राख्ने चलन एउटा सामर्थ्य हो । 

लेखनीलाई डिग्री दिने होइन, त्यसको अध्ययन गर्नेलाई दिने हो । मलाई लाग्छ, कमल दीक्षित, शिव रेग्मी, शरद्चन्द्र भट्टराईमाथि पक्कै शोधप्रबन्ध लेखिएका छन् । कुन तहमा लेखिए मलाई थाहा छैन । विद्यावारिधिमा विषय छान्ने पद्धतिहरू हुन्छन् । 

विद्यार्थीका चाख र शोधनिर्देशकका चाख हुन्छन् । नेपाली साहित्य निकै बृहत भैसक्यो । विषय धेरै छन् । यी लेखकहरूमाथि अनेकौं अध्ययन भएका छन् । शिव रेग्मीमाथि शोधप्रबन्ध लेखिएनन् भने पनि कति शोधप्रबन्धमा उनले स्रोतसामग्री दिएकामा धन्यवाद पाएका होलान् । कमल दीक्षित र स्रोतको सम्बन्ध अत्यन्त नजिकको छ । सयौँ शोधकर्ताले उनका स्रोत प्रयोग गरेका होलान् । यो विषयलाई त्यसरी हेर्छु म । 

शोधप्रबन्ध लेख्‍नेले सिद्धान्त जोड्ने चलन छ । मेरो अंग्रेजी विभागमा पनि त्यो गर्नुपर्छ । त्यसको अर्थ के हो भने विद्यार्थीलाई अभ्यास गराउनुपर्दा त्यसो गरिन्छ । कसैले अमुक ठाउँ र काममा साँघुरो आधार लिएर काम गरेको छ भने त्यो मेरो परीक्षणमा असफल भयो । शोध बृहत्तर, खुला र समावेशी अध्ययनको नाम हो । आविष्कार भनेको शोधकर्ताले गर्ने कुरा हो । 

प्रश्‍न धेरै छन् । एउटा लेखमा सबै राख्न सकिँदैन । ती प्रश्‍नहरूमा नेपाली साहित्य खुम्चिएका कारणहरूबारे चिन्ता छ । साहित्य खुम्चिनुमा अनेकौं कारण हुन्छन् । त्यो भाषामा कस्ता साहित्य लेखिए भनेर हेर्नु पर्छ । 

पाठकमुखी कृतिहरूका आफ्नै चरित्र हुन्छन् । भानुभक्त आचार्यको रामायण र लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ अहिले पनि बेस्ट सेलर हुन्, नेपाली साहित्यका । स्व. ईश्वरवल्लभ दाइको ‘आगोका पूmलहरू हुन्, आगोका पूmलहरू होइनन्’ केही सय प्रति मात्र बिक्री भए होला । तर राम्रा प्रकाशक र वितरणका राम्रो प्रणाली आएकाले पहिलेभन्दा धेरै व्यापक भएको छ, नेपाली साहित्यको पठन अहिले । समस्याहरू पनि जटिल छन् । छलफल गर्दै गरौंला । 
पहिले काव्य विधा बलियो थियो । जति भए पनि त्यही पढिन्थ्यो धेरै । तर अहिले उपन्यासहरू बढी पढिन्छन् । यसका कारण अनेकौं छन् । मिडियाले पनि मद्दत गरेको छ । अनि समयअनुसारका, घटनाअनुसारका कथावस्तु हुन्छन् । त्यसले गर्दा पनि हो । 

अहिले समाजको चित्र पहिलेकोभन्दा फराकिलो छ । लैंगिक, जातीय र क्षेत्रीय विषयहरूमा पनि उपन्यास लेखिन्छन् । तिनका पाठक बढ्दै छन् । नाटक हामी लेख्छौं र प्रस्तुत पनि गर्छौँ । मैले १२ वटा जति नाटक लेखें । ती धेरैजसो प्रस्तुत भए र त्यसकै निम्ति लेखिएका हुन् । मेरो अनुभव भनेको । त्यसैले नाटक व्यापक रूपमा लेखिएर पढिने विधा होइन रहेछ । सिर्जनात्मक लेखन र अनुसन्धानमूलक लेख फरक हुन्छन् । अनुसन्धान भन्ने नामले नै त्यो जनाउँछ । 

अबको नेपाली साहित्यले कस्तो बाटो समाउला भन्न सकिँदैन । मेरो विचारमा कविता अलिक कम प्रकाशित हुन्छन् होला । तर निरन्तर संकलन आइरहन्छन् । उपन्यास बढी लेखिन्छन् । तिनमा प्रयोग गर्ने र आफ्ना कुरा भन्ने स्पेस हुन्छ अनि प्रकाशक र वितरकहरूका पनि तिनमा बढी चाख हुन्छन् । मिडियाले पनि तिनलाई बढी प्रोत्साहन गर्छन्, बजारको कारणले । देखिँदै छ । 

केही संस्मरण पनि लेखिँदैछन्, जसमा युद्धमा जाने महिलाहरूका समेत रहेका छन् । विविधता छ । तर त्यो विधा त्यति चल्न सक्तैन होला । नाटकको विषयमा त भनिहालेँ । यसको विधागत सीमा हुन्छ ।

 साहित्यले यस्तै बाटो हिँड्नुपर्छ भनेर कुनै समालोचक र गुरुले अब भन्ने समय छैन । पाठकको रुचि, लेख्नेका सामथ्र्य, प्रकाशक र वितरकका साझा प्रयत्नले निर्धारण गर्दै जानेछ । 

(सेतो कपाल, अग्लो कद र हरदम हाहाहाहा अभि सरको कायिक पहिचान हो भने साहित्य प्राध्यापक, नाट्यज्ञ, समालोचक तथा स्तम्भकार उनको काव्यिक सामर्थ्य ।) 



Author

प्रा.डा. अभि सुवेदी

अंग्रेजी साहित्यका प्राध्यापक सुवेदी लेखक तथा समालोचक हुन् ।


थप समाचार