३०-३०

३०-३०

हाम्रो कमजोरी- आवेगमा, रिसमा, उत्तेजनामा प्वाक्क बोल्छौँ

बडे-बडे क्रान्तिकारीहरू यथास्थितिमा वशीभूत भएका छन्

प्रदीप गिरि |
असार २१, २०७८ ८:१९ बजे

३०-३० शृंखला इकागजडटकमको सुरु दिनदेखिको विशेष स्तम्भ हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि ३० वर्ष पूरा भइसकेको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबद्ध रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा समाजवादी चिन्तक एवं विश्लेषक प्रदीप गिरिको अनुभव :

२००७ साल, २०४७ साल र पछिल्लो जनआन्दोलनको आधार अर्थात् यसको पृष्ठभूमि के थियो भनी तथ्यगत विश्लेषण गर्नुपर्छ । त्यसमा नेताको भूमिका कति थियो, कुनै पार्टीसँग मतलब नभएका पीडित र आक्रोशित जनताको भूमिका र अन्तर्राष्ट्रिय खेल कति थियो तथ्यमा आधारित रहेर विश्लेषण गर्नुपर्छ । म तथ्यमा रहेर कुरा गर्छु किनकि तथ्यगत कुरामा दुई परम विरोधी पनि एक हुन्छन् ।


ADVERTISEMENT

२०१७ मा राजा महेन्द्रको कदमका सम्बन्धमा कांग्रेसी जवाफ दिने हो भने त ‘महेन्द्रले प्रतिक्रियावाद’ ल्याए । प्रजातन्त्रको गला घोटेर हत्या गर्‍यो’ भन्दा भइहाल्थ्यो । राजा महेन्द्रको कदमपछि नेपाली कांग्रेसलाई, स्वयं बीपीलाई पनि लागेको थियो कि २००७ सालको क्रान्तिले जनतामा चेतना र जागरण भरेको छ । जनता सडकमा आइहाल्छन् भन्‍ने थियो ।

नेताले जहिले पनि गल्ती के गर्छ भने उसले सम्पूर्ण कर्ता मै हुँ भन्‍ने ठान्छ । नेता एउटामात्र कर्ता हो, यस्ता परिवर्तनका आन्दोलनमा कर्ताबाहेक दशौँ वटा कुरा हुन्छन् । हामी सबैले नेपालको सबैभन्दा ठूलो लोकप्रिय नेता भनी बीपी कोइरालालाई सम्झिन्छौँ । बीपीले त जीवनभर ‘डेमोक्रेसी, डेमोक्रेसी’ भनिरहनुभयो, तर उहाँको जीवनभर केही तल-माथि भएन । बीपी कोइरालाले सिकाउनुभए अनुसार नै ‘राजाको विरोध नगर्नू र कम्युनिस्टसँग नमिल्नू’ भन्‍ने सिद्धान्तलाई कुल्चेर २०४७ सालमा प्रजातन्त्र आयो । बीपीले भन्‍नुभएको थियो, ‘राजालाई नतर्साउनू, भारतलाई विश्वास नगर्नू अनि कम्युनिस्टसँग नमिल्नू ।’ यी तीनै कुरालाई पदधरण गरेर कांग्रेसले २०४७ सालमा प्रजातन्त्र ल्याएको हो । 

बीपीको ३०-४० वर्षको इतिहास अध्ययन गर्ने हो भने उहाँको सोच पनि बदलिरहेका देखिन्थे । त्यो विभिन्‍न घटनाक्रमले पनि निर्देशित गरेका थिए होलान् । कहिले राजाको विरोधमा भयंकर बोल्नु/ लेख्नुहुन्थ्यो । कहिले राजा नभए देशै रहँदैन भन्‍नुहुन्थ्यो । बीपी मूलतः राजनीतिज्ञ, अनि साहित्यकार अनि विचारक हुनुहुन्थ्यो । तर उहाँ विचारबाट धेरै बाँधिनु हुँदैनथ्यो । बीपी हामीलाई बारम्बार जिस्क्याइरहनुहुन्थ्यो, ‘विचारबाट बाँधिने मान्छे तिमीजस्तो हुन्छ, कहिले सत्तामा पुग्दैन’ भन्‍नुहुन्थ्यो ।

यस्तो संवाद हुँदा मलाई सत्तामा पुग्नुछैन भन्थेँ । म राममनोहर लोहिया, जयप्रकाशसँग प्रभावित थिएँ । उनीहरू पनि विचारमा प्रतिबद्ध भएर कहिले सत्तामा पुगेनन्, तिमी पनि सत्तामा पुग्दैनौ भन्‍नुहुन्थ्यो । यस्तो कुरामा उहाँ बडो स्पष्ट हुनुहुन्थ्यो ।

बीपीले बनारस हिन्दू युनिभर्सिटी (बीएचयू) बाट स्नातक गर्नुभएको थियो । बीएचयू पढ्दा-पढ्दै उहाँको हिन्दूस्तानका समाजवादी नेता जयप्रकाश नारायणको भेट भयो । जयप्रकाश नारायणको भाइ र बीपी एकै ठाउँमा डेरामा बस्दा रहेछन् । जयप्रकाश नारायण आफ्ना भाइलाई भेट्न आएका थिए । जयप्रकाश नारायण त्यस्तै ३० वर्षको हुनुहुन्थ्यो होला, बीपी सायद १८ वर्ष जतिको हुनुहुन्थ्यो । 

बीपीले हामीलाई नै सुनाउनुभएको हो- जयप्रकाश नारायणको अत्यधिक लोकप्रिय छवि बनिसकेकै थिएन । आफ्नो भाइलाई भेट्न आएका जयप्रकाशसँग बीपीको भेट भयो । बीपीले कुराकानीका सन्दर्भमा मेरो आमा पनि यहीँ हुनुहुन्छ भन्‍नुभएछ । त्यसपछि जयप्रकाश नारायणले ‘अहो ! म तिम्रो आमालाई प्रणाम गरेर जान्छु ।’ जयप्रकाशको त्यो व्यवहारले म उनीबाट प्रभावित भएको थिएँ भनेर बीपीले लेख्नुभएको छ । 

ब्रिटिसले भारतमा शासन गरेर नेपाललाई सोझै आफूमा नगाभी लामो समयसम्म उपनिवेशवादभन्दा पनि तल राखेर भर्तीकेन्द्र बनाएर छाडिदिए ।

जयप्रकाश नारायण सन् १९३६ पछि ठूलो नेता हुनुभयो । उहाँको लोकप्रियता चुलिने क्रम चाहिँ सुरु भइसकेको थियो । भारतमा कांग्रेसले स्वाधीनता ल्यायो, त्यसपछि के गर्ने भन्‍ने जयप्रकाशले थालेका थिए । गान्धीले स्वाधीनतालाई प्रमुख मुद्दा बनाएका थिए । भारतमा स्वराज पक्कापक्की भएपछि गान्धीले हामी युरोपको नक्कल नगरौँ, आफ्ना उत्पादनलाई पहिले प्राथमिकता दिऔँ र अत्यावश्यक वस्तु मात्र आयात गर्न सकिन्छ भनेका थिए ।

जयप्रकाशलाई पछि जवाहारलाल नेहरुले पूर्ण रूपमा समर्थन गरेका थिए । बीपीमा पनि क्रान्तिपछि कस्तो आर्थिक नीति अबलम्बन गर्ने, जनतालाई कसरी सशक्त बनाउने भन्‍नेमा अलमल थियो । विकासबारे सोध्दा उहाँ ‘नेपाललाई आधुनिक बनाउने’ भन्‍नुहुन्थ्यो । उहाँले पछि नेपालको अर्थतन्त्रको वस्तुस्थितिलाई राम्ररी नियाल्नुभएको हो ।

त्यसपछि उहाँले कृषि अर्थतन्त्र, किसान र मुलुकलाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्योगधन्दा विकास गर्ने कुरा गर्न थाल्नुभएको हो । योजना बनाउने ठाउँमा किसानले हलो जोतिरहेको फोटो राखेर त्यो वर्गको उन्‍नति सोचेर दीर्घकालीन योजना, नीति र कार्यक्रम बनाउनुपर्छ भनेर भन्‍नुहुन्थ्यो ।

०००
समकालीन राजनीतिमा इतिहासको धेरै प्रभाव हुन्छ । बीपी, २००७ सालको क्रान्ति, २०१५ सालको निर्वाचन र २०१७ साल पुस १ को घटना, महेन्द्रको बारेमा तथ्यगत अध्ययन हुनुपर्छ । महेन्द्रबारे धारणा बनाउँदा महेन्द्रका २०१७,  पुस १ देखिका भाषण हेर्नुपर्छ । महेन्द्रले पुस १ को भाषणमा भनेका छन्, ‘अरूले १०० वर्षमा गरेको उन्‍नति, प्रगति र विकास हामी १० वर्षमा गर्नेछौँ ।’

महेन्द्र भनेको त व्यक्तिमात्र होइन, विचार पनि हो । महेन्द्रले बारम्बार दक्षिणबाट खतरा रहेको औँल्याउँथे । महेन्द्रको बानी, व्यहोरा, आचरण कस्तो थियो पनि जान्‍नुपर्छ । महेन्द्र संगीतका पनि भयंकर जानकार थिए । संगीतप्रति उनको रुचिका विषयमा मैले भनेको होइन । ‘महेन्द्रसँग एक साँझ’ भनेर हिन्दी साहित्यका प्रख्यात कवि शिवमंगल सिंह ‘सुमन’ले लेखेका छन् ।

शिवमंगल सिंह हिन्दीमा दोस्रो दर्जाका राम्रा कवि हुन्, उनी काठमाडौँको भारतीय दूतावासमा सांस्कृतिक सहचारी सचिव भएर आएका थिए । पछि सागर विश्वविद्यालयका उपकूलपति पनि भए । उनले संस्मरणमा राजा भएर पनि महेन्द्रमा संगीतको भयंकर समझदारी रहेछ भनी लेखेका छन् । कुनै पनि मानिसको अनेकन् व्यक्तित्व हुन्छ, एकप्रकारले समुद्रको हिमशिला (आइसबर्ग) जस्तो हुन्छ, थोरै देखिने अनि धेरै नदेखिने ।

महेन्द्रमा मनमा महत्वाकांक्षा उत्पन्‍न भयो । बीपीले काम गर्न सकेनन्, कांग्रेसले गर्न सकेन, दलहरूले सकेनन्; म एक्लै गर्नसक्छु भन्‍ने पर्‍यो । राजा महेन्द्रको त्यो विचार नै गलत थियो । यतिखेर केपी शर्मा ओलीलाई पनि एक्लै गर्नु सक्छु भन्‍ने भूतसवार छ नि ! त्यस्तै । एक्लै गर्न सक्ने भए त चन्द्र शमशेरले गर्ने थिए, महेन्द्रले गर्ने थिए । क्रमशः विकासको अवधारणाहरू यसरी विकास भए कि सरकारले जनताका लागि विकास पुर्‍याइ दिएरमात्र हुँदैन, लाभग्राहीको सहभागितामा उनीहरूको अपनत्वसहित विकासका परियोजना कार्यान्वयन गर्नुपर्छ ।

त्यतिबेला विश्वका धेरै देशमा अधिनायकवादी चलेको थियो । एकपछि अर्को देशमा संसदीय व्यवस्था असफल हुँदै गए । पहिले पाकिस्तानमा अनि नेपालमा, त्यसपछि बर्मामा, इन्डोनेसियामा पालैपालो अधिनायकवादी चल्यो । तेस्रो विश्वका मुलुकहरूले राजनीतिक स्वतन्त्रता र संसदीय व्यवस्था कायम गरे । उनीहरूलाई देशको समाजको वस्तुस्थिति, संस्कृति, मूल्य मान्यता थाहै थिएन ।

सत्ताको ‘सिजोफ्रेनिया’ इतिहासदेखिको रोग हो, तिनले राष्ट्रलाई राष्ट्रजस्तो बन्‍नै दिएनन् ।

नेपालीहरू भारतमा पढ्न गएका थिए । अरू देशका पनि कोही बेलायत, फ्रान्स वा अमेरिकामा पुगेका थिए । उनीहरूले संसदीय व्यवस्थासहितको संविधान त निर्माण गरे । संविधान त कागजी खोस्टोमात्र त होइन । जहाँ संविधान कागजी खोस्टो हुन्छ, त्यो जीवन्त देश हुँदैन । चर्चित भारतीय लेखक सर्वेश्वर दयाल सक्सेनाले लेखेका छन्, ‘संविधान नामक एक किताब, कागजका एक पुलिन्दा देश नहीं होता ।’

मुलुकको परिचय त त्यहाँको भाषा, संस्कृति, जनजाति, तिनीहरूको आशा तथा आकांक्षासहितको जीवन्त भूगोल हो । देह व्यवसाय गर्ने बादीदेखि कसैले छोएको नखाने ब्राह्मणसम्म देश हुन् । ती सबैका आशा आकांक्षा, स्वतन्त्रता व्यक्त गर्न संविधानमा जे सुकै लेखे पनि जो मुलुकको कार्यकारी पदमा रहन्छ, त्यो संवेदनशील हुनुपर्छ ।

हामीकहाँ त कस्तो भयो भने अब त ‘नयाँ युग आउन थाल्यो’ भनी जो सत्तामा गयो ऊ एकखालको पागलपन (सिजोफ्रेनिया) मा रमाउन थालिहाल्छ, वास्तविकता एकातिर हुन्छ । सत्तासीन व्यक्ति ‘नयाँ युग आउँदै छ’ भनेर एकोहोरो बकिरहन्छ । यस्तो प्रवृत्ति अहिले उत्पत्ति भएको होइन, यसको इतिहास छ । नेपालमा काटिएका, थुनिएका प्रधानमन्त्रीहरूको इतिहास छ; यो कहाँबाट सुरु भएको छ । माथवरसिंहले जुँगामा ताउ दिएर यसअघि सबै काटिए, मारिए; मचाहिँ अजम्बरी भएँ भन्थे रे ! त्यसकारण एउटा समग्र रणनीति हुनुपर्छ । यदि राष्ट्रलाई आफ्ना खुट्टामा उभ्याउने र आत्मनिर्भर बनाउने र राष्ट्रलाई साँच्चिकै राष्ट्र बनाउने हो भने एकसाथ धेरै क्षेत्रमा काम गर्नुपर्छ । 

महेन्द्रले पनि कसैले उचालेर शासन-सत्ता आफ्नो हातमा लिए भन्‍ने लाग्दैन । विशुद्ध सैन्यबलका आधारमा तत्कालीन प्रधानसेनापतिलाई नपत्याएर कर्नेल समरराज कुँवरलाई पठाएर बीपीलाई थुने । राजा महेन्द्रको कदमपछि त्यसविरुद्ध जनता सडकमा आइहाल्छन् भन्‍ने थियो, तर त्यस्तो भएन । त्यसपछि अर्को इतिहास सुरु हुन्छ । 

०००
नेपालको भू-राजनीतिक अवस्थितिले भारत र चीन हाम्रासामु सत्य हुन् । भारत निकै पुरानो मुलुक हो । अब ऊ शक्ति राष्ट्र भइसकेको छ । चीन र भारतसँग हाम्रो मानदेव, अंशुवर्माभन्दा अघि किरातकालदेखिकै सम्बन्ध छ । सबै देशका आ-आफ्ना रितिस्थिति र परम्परा छन् । ती ठीक छन्, बेठीक छन् भन्‍ने म जान्दिनँ ।

न भारत, न अमेरिका, न फ्रान्स, न बेलायत । कसैले पनि प्रजातन्त्रलाई कहीँ पनि सहयोग गर्दैनन् । उनीहरू आफ्नै राष्ट्रिय स्वार्थ अनुसरण गर्छन् । 

उदाहरणका लागि नेपालप्रति भारतको कुनै नीति छ भने त्यो नीति अहिलेका प्रधानमन्त्री मोदीले बनाएका त होइनन् । त्यसमा १९ को ठाउँमा २० होला । ब्रिटिसले भारतमा शासन गरेर नेपाललाई सोझै आफूमा नगाभी लामो समयसम्म उपनिवेशवादभन्दा पनि तल राखेर भर्तीकेन्द्र बनाएर छाडिदिए । भारतमा उपनिवेशकालमा भौतिक पूर्वाधार, शिक्षा, मानव-विकास जे जति काम गरेको थियो ।  नेपालमा चाहिँ स्कुल कलेज खोल्ने, पूर्वाधार बनाउने काम राणाले केही गर्दै गरेनन् । 

अंग्रेजलाई सिपाही पठाउने काम मात्र गरे । सन् १९२३ तिर आएर सम्झौता गरेर तिमीहरू स्वतन्त्र देश भयौँ भने । त्यसपछि नेपालले राजदूत बेलायतमा पठाउन थालेको हो । त्यसअघि राजदूत पठाउन दिँदैनथ्यो । भीमसेन थापाले राजालाई फकाएर, सम्झाएर आफ्नै भतिजो माथवरसिंहलाई बेलायतमा राजदूत बनाएर बेलायत पठाएका थिए ।

माथवरलाई अंग्रेजले कलकत्ताबाटै फर्काइदियो । नेपालले माथवरसिंह थापालाई बेलायत पठाउन धेरै खर्च लगाएको थियो । यसको विस्तृत विवरण इतिहास शिरोमणि बाबुराम आचार्यले ‘भीमसेनको पतन’ भन्‍ने शीर्षकमा लेखेका छन् । माथवर फर्केर आएपछि भारदारी सभामा सबै दरबारिया जम्मा भए उनीहरूले भीमसेन थापासँग सोधे, ‘माथवरलाई चुरिफुरी गरेर बेलायत पठाएको होइन । खै त किन जान सकेन ?’ भीमसेनसँग जवाफै थिएन । त्यसपछि माथवरले गरेको खर्च भीमसेनले निजी तजबिजबाट तिरेका थिए भनी इतिहासमा लेखिएको छ । सन् १९२३ पछि राजदूत आउने क्रम सुरु भयो र अंग्रेजले नेपाललाई स्वाधीन राज्यको मान्यता दियो । 

तैपनि २००७ साल अघिसम्म कुनै विदेशी नेपाल आउनै पाउँदैनथे । २००७ सालको क्रान्तिपछि नेपालप्रति भारतको नीति के छ ? त्यो अध्ययन गर्दा हुन्छ । मलाई आश्चर्य लाग्छ । नेपालको नामी नेता, त्यागी, तपस्वी, चामत्कारिक व्यक्तित्व बीपी कोइरालालाई पनि कस्तो भ्रम थियो कि भारतले नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गर्छ ।

२००७ सालमा नेपाल र भारतको रणनीतिक समझदारी अनुसार केही नयाँ व्यवस्था ल्याइयो । त्यो व्यवस्था नेपाली कांग्रेसले भनेको जस्तो थिएन । राणाले भनेअनुसार नै थियो । राणा पनि रहने, शाह पनि रहने, नेपाली कांग्रेस पनि रही टोपल्ने भन्‍ने थियो । झण्डै ८ वर्ष महेन्द्रले जेलमा थुनेर छाडेपछि बीपी भारत जानुभयो । त्यहाँ भारतले नेपालमा प्रजातन्त्र स्थापनामा मद्दत गर्छ भनेर किटेर लेख्नुभयो । न भारत, न अमेरिका, न फ्रान्स, न बेलायत । कसैले पनि प्रजातन्त्रलाई कहीँ पनि सहयोग गर्दैनन् । उनीहरू आफ्नै राष्ट्रिय स्वार्थ अनुसरण गर्छन् । उनीहरूका पनि आफ्ना रणनीतिक समझदारी हुन्छन् । के गर्दा म सुरक्षित हुन्छु, के गर्दा बढी लाभ हुन्छ । भूगोल, नदी, घाटी, जल हेरेर उनीहरूले आफ्नो नीति तय गर्छन् । 

२१औँ शताब्दीका राजनीतिशास्त्री, अन्तर्राष्ट्रिय मामिलाविद् एवं अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले आफ्नो पुस्तक ‘डिप्लोमेसी’को निष्कर्षमा भनेका छन्, ‘हाम्रा केही निश्चित राष्ट्रिय आकांक्षा छन्, विश्वमा हाम्रो जुन अवस्थिति छ; लोकतान्त्रिक माध्यमबाट जनता समेतको सहभागिता र सहमतिबाट हाम्रो लक्ष्य पुरा हुन्‍न ।’ अमेरिकीहरूको एउटा समस्या के छ भने उनीहरू हरेक कुरा अमेरिकाको ‘लेन्स’बाट हेर्छन्, तर किसिन्जरले घतलाग्दो र तर्कपूर्ण कुरा गरेका छन् । 

किसिन्जर सत्तामा हुँदा अमेरिकाको लक्ष्य सोभियत संघलाई तह लगाउने भन्‍ने थियो । त्यही क्रममा उनी चीन गएका थिए । कुनै मुलुकले उसको शत्रुको आलोचना गरोस् भनी उनले ती मुलुक भ्रमण गरे । तर जुन-जुन मुलुकमा उनी पुगे । त्यो मुलुकका राजा, प्रधामन्त्री वा संसद्ले सोभियत संघको आलोचना गरोस् भन्‍ने निहीत उद्देश्य हुँदाहुँदै त्यहाँको संसद, दलहरू वा त्यहाँको जनता मान्दैनन् भने उनीहरू आफ्नो हिसाबले अघि बढ्ने नै भए । 

किसिन्जरले स्पष्ट लेखेका छन्, ‘वी डोन्ट माइन्ड कल्टिभेटिङ डेमोक्रेसी, इनकरिङ डेमोक्रेसी, हेल्पिङ डेमोक्रेसी; इफ इट कोइन्साइड्स विद् आवर फरेन पोलिसी ।’ (हाम्रो विदेश नीतिसँगै मेल खाने हदसम्म प्रजातन्त्रलाई विकसित गर्न, यसलाई दीगो बनाउन, सहयोग गर्न हामीलाई कुनै आपत्ति छैन), भएन भने (विदेश नीतिसँग मेल खाएन भने) त उनीहरूले आफ्नो बाटो छोड्दैनन् ।

त्यसकारण गत वर्ष केपी शर्मा ओलीले ‘सिंहमेव जयते’ भनेर बोल्दासम्म भारत ओलीको प्रखर विरोधी थियो, अहिले ओलीले सम्झौता गरेर समर्थक भयो रे भन्छन् । न भारत ओलीको समर्थक छ, न विरोधी छ । न भारत शेरबहादुर वा पुष्पकमल दाहालको समर्थक छ, न विरोधी नै । हाम्रो नेतृत्वमा अध्ययनको पनि कमी छ । त्यसकारण दिनरात भारतको कुरा गर्नेले दिनमा एक-दुई घण्टा उसको लक्ष्य बुझ्न समय लगाउनु राम्रो हुन्छ ।

०००
नेपाली राजनीतिको समस्या के छ भने हामी विचार नपुर्‍याई प्रतिक्रियामा, रिसमा, आवेगमा, तात्कालिक उत्तेजनामा ‘प्वाक्क’ बोल्छौँ । प्रतिक्रिया र उत्तेजनामा रिस पोख्ने संस्कार हाम्रा नेताहरूमा देखिँदै आएको छ । भौगोलिक अवस्थितिअनुसार पनि धेरै कुराले हामी भारत र चीनसँग नजिक छौँ । पछिल्लो तीस वर्षमा हेरौँ न, हामीकहाँ सरकारहरू धेरै फेरबदल भए, त्यसरी सरकार फेरबदल हुँदा हट्नेले रिस र आवेगमा ‘भारतले हटायो’ भनिहाल्ने । यही बीचमा चीनियाँ राजदूत खुबै सक्रिय हुनुभयो भनेर चीनलाई गाली गर्ने पनि निस्किहाले । रिस, आवेग र उत्तेजनामा प्रतिक्रिया जनाउने (अ)राजनीतिक संस्कार आजपर्यन्त कायमै छ ।

न भारत ओलीको समर्थक छ, न विरोधी छ । न भारत शेरबहादुर वा पुष्पकमल दाहालको समर्थक छ, न विरोधी नै । हाम्रो नेतृत्वमा अध्ययनको पनि कमी छ । त्यसकारण दिनरात भारतको कुरा गर्नेले दिनमा एक-दुई घण्टा उसको लक्ष्य बुझ्‍न समय लगाउनु राम्रो हुन्छ ।

आमनागरिक ओलीको वर्तमान राजनीतिक कदमका कारण उनीसँग रिसाएका होलान् भन्‍ने मलाई लाग्दैन । नागरिकलाई संविधानको धारासँग मतलब छैन । धारा भन्दा उनीहरूलाई पानीसँग मतलब छ । ओलीका सम्बन्धमा (शेरबहादुर) देउवाजी, (बाबुराम) भट्टराईजी, (पुष्पकमल) दाहालजीलाई संविधानका धारा मिचिए भनी जनताले साथ देलान् भन्‍ने लागेको होला तर जनतालाई धारा थुप्रै भैसके तर पानी आएन भन्‍ने छ । त्यसकारण, धारामा धेरै विवाद होला जस्तो मलाई लाग्दैन । समग्रमा पानी नपाएकाले आमनागरिक अत्यन्त आक्रोशित छन् ।

त्यस्तै ओली पनि अत्यन्त अलोकप्रिय भएका छन् । कोभिड-१९ का कारण निषेधाज्ञा र जुलुस गर्न मिल्दैन । त्यसको फाइदा ओलीले उठाएका छन् । ओली मात्र होइन, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको त्यस्तै अवस्था छ । राजनीतिक नेतालाई के भ्रम हुन्छ भने प्रजातन्त्र ल्याउन मेरै अवतार अएको हो । रावणलाई समाप्त गर्न रामको अनि कंसलाई समाप्त पार्न कृष्णको अवतार भएको थियो भनेजस्तै पुष्पकमल दाहाललाई पनि गणतन्त्र ल्याउन मेरो अवतार भएको थियो भन्‍ने ठानिरहनुभएको छ । 

२०६२-६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र आयो । गणतन्त्र त्यसै आएको त होइन । जङ्गबहादुरले कोतपर्वमा प्रधानमन्त्रीका भाइभारदार काटेर सत्ता लिएको जसरी गणतन्त्र आएको होइन । कम्तीमा पनि एक लाखभन्दा धेरै मानिस जनआन्दोलनमा परिचालिन भए । मधेस आन्दोलनमा हजारौँ मानिस सडकमा आए । जनयुद्ध पनि सानो घटना थिएन, यसमा पनि ५०औँ हजार मानिसहरू भूमिगत भएर सशस्त्र आन्दोलनमा उत्रेका थिए ।

यति हुँदा पनि हाम्रो समाज कस्तो हो ? हाम्रो क्रियाकलाप हेर्नुस् न ! हामी नागरिकले सत्तामा फेरि उही पुरानै मानिसहरूलाई पुर्‍याइदियौँ । त्यो हो भने क्रान्तिको के मतलब । त्यी पुराना मानिसहरूले केही सबक त लिनुपर्‍यो । त्यो पनि भएन, यो त फ्रान्सेली राज्यक्रान्तिजस्तो भयो । फ्रान्सेली राज्यक्रान्तिपछि फेरि राजतन्त्रको पुनःस्थापना भयो, उही काटिएका महाराजकै वंश- बुर्बान वंशका व्यक्तिलाई ल्याएर राजा बनाइयो । त्यत्रो रक्तपातबाट आएको परिवर्तनपछि त सिक्नुपथ्र्यो नि ! त्यो पनि भएन । इतिहासकारहरूले कति राम्रोसँग लेखेका छन्- उनीहरूले बिर्सेका पनि केही थिएनन्, सिकेको र सम्झेको पनि केही थिएनन् । उस्तै राजकाज, उस्तै श्रीपेच, उस्तै अगाडि-पछाडि बग्गी । 

के देखिन्छ भने क्रान्तिबाट आएको भन्‍नेहरूले पनि उस्तै प्रवृत्ति देखाए । यी प्रवृत्ति कुनै व्यक्तिगत थिएनन् । यी वर्गगत र जातीय प्रवृत्ति थिए । उनीहरूमा विचारधारात्मक (आइडियोलोजिकल), वर्गीय  (क्लास ओरियन्टेड) र जातीय संस्कार (कल्चरल) को जुन प्रवृत्ति विगतदेखि नै थियो; त्यसमा कुनै फरक छैन ।

यत्रो घटनापछि नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, पुष्पकमल दाहालको २१औँ शताब्दीको जनवाद र केपी शर्मा ओलीको बहुदलीय जनवादको अन्तर्वस्तुमा केही परिवर्तन आएन । उही संसदीय व्यवस्था, उनै जाति, वर्ग, भाषा र संस्कृति देखियो । नेपालमा मूलतः शासक वर्ग एउटै वर्गबाट आएका छन्- चाहे ती नेता हुन्, कर्मचारीतन्त्रका सचिव, सहसचिव हुन् वा सेनाका जर्नेलहरू हुन् वा तपाईं हामी नै । शासक वर्गको वर्गीय र जातीय स्रोत पनि उही अनि विचारधार पनि उही- भूमण्डलीकरण र नवउदारवाद ।

दलहरूको घोषणापत्रमा, अभिव्यक्तिमा दलहरूका विचार फरक-फरक छन् भनेको सुन्‍न पाइन्छ । तर उनीहरूका योजना, नीति तथा कार्यक्रममा र बजेट; जसलाई हामी जनतालाई ‘डेलिभरी’ दिने औजार मान्छौँ, त्यसमा केही फरक हुँदैन । उनीहरू जुन विचारको वाहक हौँ भन्छन्, त्यो विचारको राजनीति पनि देखिँदैन ।

यत्रो घटनापछि नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, पुष्पकमल दाहालको २१औँ शताब्दीको जनवाद र केपी शर्मा ओलीको बहुदलीय जनवादको अन्तर्वस्तुमा केही परिवर्तन आएन ।

समग्रमा, राजनीतिमा विचारको स्थान कति हुन्छ वा हुँदैन भन्‍ने अलग प्रश्न छ । विचारलाई व्यक्त गरेर बानी व्यवहारमा उतारेको छैन भने त राजनीति त घम्साघम्सी र मेलमिलापको खेल हो । सिद्धान्तका कुरा गर्ने हो भने त वामपन्थी आन्दोलनमा मोहनविक्रम सिंह वा मोहन वैद्य भनौँ । विचारलाई व्यवहारमा नउतार्ने हो भने त विचारको के अर्थ भयो र ? विचार चाहिँ संसारलाई हामीले दयामाया गर्नुपर्छ भन्‍ने छ, तर दिनैपिच्छे सेवकलाई कुट्ने हो भने कसले पत्याउँछ र !

०००
कुनै पनि देश यस्तो छैन, जहाँ क्रान्तिपछि प्रतिक्रान्ति नभएको होस् । नेपोलियनले फ्रान्समा १५ वर्ष शासन गरे र अन्ततः राजा भए । त्यहाँ महन्थहरू, भूमिपति र व्यापारीहरू उदय हुँदै थिए । त्यसमा श्रमिकहरू जोडिए । नेपोलियनले गणतन्त्र कायम गरे, पछि राजा भए । उनलाई फ्याँकेर पुनः पुरानै राजा ल्याए । र तीन ओटै पुराना वंशका राजा बारम्बार फ्ँयाकियो र तीनै पटक अर्को तानाशाह आयो । 

त्यो कसरी भयो भने एकदम साधरण र सबैलाई थाहा भएको कुरा हो- क्रान्तिपछि प्रतिक्रान्ति हुन्छ । क्रान्तिका जो नायक हुन्छन् । तिनीहरूलाई लाग्छ कि अब म प्रधानमन्त्री भएँ, अब पुगिहाल्यो । जनताको बलमा क्रान्तिको बलमा, लोकतन्त्रको नाम भट्याएर, टुँडीखेलमा भाषण गरेर, आफ्नो शासन सुनेर आफैँ आनन्दित भएर सत्ताको नशामा चुर हुन्छन् । 

तर के बिर्सिन्छन् भने हिजो जो सत्ताबाट च्युत भए उनीहरू प्रतिशोध साँध्ने तयारीमा बसिरहेका हुन्छन् । सत्ताको स्रोत भनेको संसद्को २७५ जना होइनन्, त्यो कुरा जति दिनका लागि प्रधानमन्त्री भए पनि उसले बुझ्नुपर्छ । क्रान्तिबाट आउनेले सत्तालाई जुन वर्ग र समूहको हितको कुरा गरेर आएको छ, त्यसको पक्षमा तत्काल प्रयोग गर्नुपर्छ ।

०००
सुकुम्बासी आयोगका नाममा जग्गा बाँडिन्छ । त्यो पहिले किसुनजी (कृष्णप्रसाद भट्टराई) को पालादेखिकै अध्ययन गर्ने हो भने कहाँ कति बाँडिएको छ भन्‍ने अध्ययन गर्न मेरो बयान लिन आए हुन्छ, म प्रमाण दिन्छु । त्यतिबेला को सुकुम्बासी आयोगको अध्यक्ष थियो, जिल्लामा को-को थिए र क-कसले जग्गा पाए त्यो खोज्न सकिन्छ । तिनकै नातागोता, दाजुभाइ जसको प्रशस्त जग्गा छ तिनैले लिएका छन् ।

त्यसकारण जुन वर्गको हितको कुरा गरे पनि अन्ततः तिनीहरू वर्गीय र जातीय दायराबाट निस्कन सक्दैन । ‘तैँ बाहुन, मै बाहुन; घरका पैसा कतै नजाऊन्’ प्रवृत्तिमा मिलेमतोमा लाभ लिइन्छ । पुष्पकमल दाहाल भूमिगतकालमा हुँदै मैले र गोपालमान श्रेष्ठ लगायतले एक पटक भेटेका थियौँ ।

त्यही भेटमा मैले प्रचण्डलाई भनेको थिएँ, ‘ठूल्ठूला कुरा नगर्नुस् । दरबार र ठूलाबडाको जग्गा कब्जा गर्नुभएको छ । कानुनको शासन स्थापित हुनेबित्तिकै त्यो कब्जा गरिरहन सम्भव हुँदैन । किनकि विश्वभरको कानुन त निजी सम्पत्तिको पक्षमा छ ।' यो भनेर मैले जग्गा कब्जा गरेर दिनुपर्छ भन्‍न खोजेको होइन, कदाचित कसैको जग्गामा कोहीको परिवार बसेको छ भने त्यसको बास उठाउनुहुँदैन । ती मानिस सुरक्षित हुनुपर्छ । उसले दुई-चारओटा रूख रोप्छ, अलिकति तरकारी फलाउँछ । पुष्पकमल दाहालबाट त्यस्तो वर्गको संरक्षण भएको छ त ? जुनसुकै समाजमा पनि निरन्तरताको शक्ति र परिवर्तनको शक्तिका बीचमा लडाइँ हुन्छ ।

बडे-बडे क्रान्तिकारीहरूलाई समेत यस्ता यथास्थितिवादी संस्कृतिको शक्तिमा वशीभूत भएका देखिन्छन् ।

निरन्तरताको शक्ति अनेक रूपमा अभिव्यक्त हुन्छ- परिवार, जातपात, बिहेबारी, क्रियाकर्मका संस्थाका रूपमा । बडे-बडे क्रान्तिकारीहरूलाई समेत यस्ता यथास्थितिवादी संस्कृतिको शक्तिमा वशीभूत भएका देखिन्छन् ।

क्रान्तिको काम भनेको गिरिजाप्रसाद कोइराला वा मरीचमान सिंहको ठाउँमा पुष्पकमल दाहाल बसाउने होइन । बहुदलकालमै लोकेन्द्रबहादुर चन्दभन्दा तल रहेर पनि एमालेका वामदेव गौतम जानुभएको थियो नि शासन गर्न, त्यस्तो पनि होइन । क्रान्ति भनेको सोच्ने तरिका, मानसिकता बदल्ने कुरा हो । सोच्ने तरिका कसरी बदल्ने भन्‍ने बारेमा मार्क्स, माओ, गान्धीले लेख्नुभएको छ । क्रान्ति भनेको हिजोको तरिकाले बाँच्न इन्कार गर्ने हो । नेपालमा गोपालप्रसाद रिमालले कवितामा मीठो शैलीमा लेख्नुभएकै छ- ‘हिजोसम्म जो रोई-रोई बाँचिरहेका थिए । हाँसी-हाँसी आज तिनी मर्न तयार छन् ।’

त्यसकारण तरिका बदलौँ । व्यवहार बदलौँ र देशलाई एउटा राष्ट्रका रूपमा जीवन्त राख्न आम जनताको आशा, अपेक्षा र आकांक्षालाई सम्बोधन गरौँ । आयातित सोच र सबै विचारधाराका उही आयातित नीति, कार्यक्रम र बजेटले हाम्रो मुलुकको रूपान्तरण सम्भव देखिँदैन । 
(समाजवादी चिन्तक एवं विश्लेषक गिरिसँग पुष्पराज आचार्यले गरेको कुराकानीमा आधारित ।)

 

३०-३० शृंखलाका यसअघिका सामग्री :



Author

प्रदीप गिरि

गिरि समाजवादी चिन्तक एवं विश्लेषक हुन् ।


थप समाचार