विचार-वार्ता

त्यो वीरधारा र यो मेलम्ची

सन्तोष खडेरी |
चैत २५, २०७७ बुधबार १०:३५ बजे

काठमाडौँ उपत्यका (विशेष गरी रिङरोड) मा घरघरमा मेलम्चीको पानी आउन थालेपछि उपत्यकावासी खुसी छन् । मेलम्चीको पानी काठमाडौँवासीलाई घोषणा गरिएको तीन दशकभन्दा बढी समयको कुराइपछि आइपुग्यो । काठमाडौँ उपत्यकामा करिब १ सय ३० वर्षअघि राजा पृथ्वी वीरविक्रम शाह र प्रधानमन्त्री वीरशमशेर ज.ब.रा.को शासनकालमा विशाल पानी ट्याङ्कीमार्फत ठाउँ–ठाउँमा ‘वीर धारा’को निर्माण गरी पानी वितरण गरिएको थियो ।

यसै सन्दर्भमा काठमाडौँमा सर्वप्रथम ‘वीर धारा’मार्फत खानेपानी वितरणको काम भएको समयको इतिहास खोतल्ने प्रयास यहाँ गरियो । वीरशमशेरले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन गरेको प्रयासमा केन्द्रित यो लेख तत्कालीन समयमा ब्रिटिस भारतमा छापिएको अखबारका आधारमा तयार गरिएको हो ।


२१ नोभेम्बर १८८५ को रात हिटी दरबारमा आफ्नै ठूलोबुवा तत्कालीन प्रधानमन्त्री महाराज रणोद्वीपसिंह कुँवरको हत्या गरेर शमशेर खलक (धीर शमशेरका सन्तान) ले सत्तारोहण गरे । त्यसको अर्को दिन २२ नोभेम्बरमा वीरशमशेर प्रधानमन्त्री र श्री ३ महाराज भए । उनी प्रधानमन्त्री भएको दुई वर्षभित्र नै उनले काठमाडौँ उपत्यकामा खानेपानीको प्रबन्ध गर्न चाहेका थिए । त्यसका लागि सन् १८८७ तिर उनले नेपालस्थित ब्रिटिस रेजिडेन्टमार्फत काठमाडौँ उपत्यकामा खानेपानी वितरण योजनाबारे प्रारम्भिक रूपमा बुझ्न ब्रिटिस भारतबाट प्राविधिक जनशक्तिको माग गरे ।

त्यसपछि सोही नोभेम्बर अन्त्यतिर ब्रिटिस भारतको कलकत्तास्थित ‘पब्लिक वक्र्स डिपार्टमेन्ट’बाट फ्लेरी नामका इन्जिनियर नेपाल आए । इन्जिनियर फ्लेरी नै नेपालको इतिहासमा पहिलोपटक आधुनिक खानेपानी वितरण आयोजनाको सम्भाव्यता अध्ययनका लागि आएका थिए । फ्लेरी करिब तीन सातासम्म काठमाडौँमा रहेर कलकत्ता फर्किए । कलकत्ताबाट प्रकाशित हुने अखबार ‘इङ्लिसम्यान्स ओभरल्यान्ड मेल’ को ३ जनवरी १८८८ को अंकमा नेपालको अनुरोधमा काठमाडौँमा खानेपानी वितरणमा सघाउन नेपालमा गएको भनी लेखिएको छ । त्यसमा काठमाडौँमा उनले के–के गरे भन्ने केही उल्लेख नगरेकाले थप विवरण थाह हुन सकेन ।

त्यसको केही महिनापछि सन् १८८८ को जुन–जुलाई महिनातिर नेपालले ब्रिटिस भारतसँग काठमाडौँमा खानेपानी आयोजनाका लागि योजना बनाउने इन्जिनियरको माग गरेको थियो । नेपालको मागबमोजिम ब्रिटिस भारत सरकारले कलकत्तास्थित ‘पब्लिक वक्र्स डिपार्टमेन्ट’बाट फिनिमोर नामका अर्का इन्जिनियरलाई छनोट गरी काठमाडौँ पठाएको थियो । यो खबर त्यतिबेला पञ्जाव लाहोरबाट प्रकाशित हुने ‘सिभिल एन्ड मिलिटरी गजेट’को ३० जुलाई १८८८ को अंकमा छापिएको थियो । कलकत्ताबाट त्यसको अर्को दिन प्रकाशित भएको अर्को अखबार ‘इङ्लिसम्यान्स ओभरल्यान्ड मेल’ले इन्जिनियर फिनिमोर तत्काल नेपाल जाँदैन भनी छापेकाले उनी छिट्टै नै नेपाल आए होलान् भनी अनुमान गर्न सकिन्छ ।

काठमाडौँमा निर्माण हुने खानेपानी आयोजनाका लागि चाहिने योजना बनाउन नेपाल पुगेका इन्जिनियर फिनिमोरले १८८९ मार्च १५ भित्र नै विस्तृत परियोजना प्रतिवेदन तयार गरेर प्रधानमन्त्री महाराज वीर शमशेरलाई बुझाइसकेका थिए । इन्जिनियरले पर्वत (शिवपुरी पर्वत) बाट चार माइल लामो फलामे पाइप बिछ्याएर काठमाडौँमा पानी ल्याउने योजना तयार गरेका थिए । जसमा प्रतिमाइल एक लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । त्यस्तै उक्त आयोजना निर्माण भएपछि उपत्यकावासी शुद्ध सफा खानेपानी पिउन पाउनेछन् भनी पञ्जाव लाहोरबाट प्रकाशित हुने ‘सिभिल एन्ड मिलिटरी गजेट’ले १९ मार्च १८८९ मा छापेको थियो ।

इन्जिनियर फिनिमोरले उक्त योजनाको प्रतिवेदन बुझाइसकेपछि प्रधानमन्त्री महाराजले त्यसलाई स्वीकृत गर्न केही समय लगाए । त्यस्तै दार्जिलिङमा खटिएका अर्का इन्जिनियर रस्तोन तीन महिनाका लागि बिदामा गएपछि नेपाल आएका फिनिमोर नेपालबाट सिधा दार्जिलिङ खटाइए । सोही अगस्टमा प्रधानमन्त्रीले उक्त योजनालाई स्वीकृति प्रदान गरे । जसअनुसार आवश्यकताअनरूपको फलामे पाइप बाहिरबाट बनेर नेपाल आइपुग्न समय लाग्ने र त्यो पाइप नेपाल आइपुगेको ८ महिनाभित्र खानेपानी आयोजना सम्पन्न हुने बताइएको थियो । अगस्टमा वर्षात् सकिएपछि लगत्तै नेपालमा चाडपर्वको समय सुुरु हुने र हिउँदमा मात्र काम हुने भएकाले सोही हिउँदमा नेपालमा जिम्मेवारी सम्हाल्ने कलकत्ताबाट नेपालमा अर्का एक इन्जिनियर तोकिए । नयाँ इन्जिनियरमा एल.एम.एस.टी. क्लेर ए.एम.आइ.सी.इ. खटिएका थिए । हिउँदमा नेपालमा जिम्मेवारी सम्हाल्नुपूर्व उनी बिदा बसेको भनी पञ्जाव लाहोरबाट प्रकाशित हुने ‘सिभिल एन्ड मिलिटरी गजेट’को ९ अगस्ट १८८९ को अंकमा छापिएको थियो ।

कलकत्ताबाट प्रकाशित हुने अखबार ‘इङ्लिसम्यान्स ओभरल्यान्ड मेल’को २८ जुलाई १८९० मा छापिएको अर्को समाचारअनुसार नेपालमा खानेपानी आयोजनाको काम धमाधम भइरहेको थियो । त्यस्तै उक्त कामको निरीक्षण गर्न कलकत्ताबाट थप जनशक्ति नेपाल जाने तर्खरमा थिए । नेपालमा बनिरहेको उक्त खानेपानी आयोजनाबारेको थप खबर भने त्यसपछिका अखबारमा छापिएको पाइँदैन ।

पानीपोखरीमा रहेको शिलालेख–अभिलेखले आयोजना सन् १८९२ मा सुरु भएर १८९४ मा सकिएको देखाउने हुनाले आयोजना सन् १८९२ देखि मात्र द्रुत गतिले अगाडि बढ्यो भन्न सकिन्छ ।

सन् १८८९–९१ सम्मको दुई वर्षका लागि नेपालमा खटिएका इन्जिनियर क्लेरको कलकत्ताको पदमा अर्को मानिस खटाइएको थिएन, त्यसैले त्यतिन्जेलसम्म उनी आंशिक रूपमा मात्र नेपालमा खटिएका थिए कि भन्ने अनुमान गर्न सकिन्छ । सन् १८९२ फेब्रुअरी दोस्रो साता मात्र कलकत्तास्थित क्लेरको पदमा अर्को मानिस खटाइएकाले त्यसपछि उनी आयोजना अवधिभर पूर्णरूपमा नेपालमा मात्र बसे भनी अनुमान गर्न सकिन्छ । पानीपोखरीमा रहेको उक्त योजनाको पानी ट्याङ्कीमा राखिएको शिलालेखको अर्को अभिलेखले समेत उक्त आयोजना सन् १८९२ मा सुरु भएर १८९४ मा सकिएको देखाउने हुनाले आयोजना सन् १८९२ देखि मात्र द्रुत गतिले अगाडि बढ्यो भनी भन्न सकिन्छ ।

त्यो खानेपानी योजना कहाँ बनेको थियो, आखिर के थियो त्यस्तै आज कुन स्वरूपमा छ त भनी राणाकालीन इतिहासकारहरूमध्ये प्रमोदशमशेर राणाद्वारा लिखित ‘राणाशासनको वृत्तान्त’ र पुरुषोत्तम शमशेर जबराद्वारा लिखित ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ नामक पुस्तकका पाना पल्टाइयो । त्यस अनुसार शिवपुरी पर्वतको फेदीमा एउटा विशाल पानी ट्याङ्की निर्माण गरी त्यहाँ स्वच्छ पानी जम्मा गरिएको थियो । त्यहाँ जम्मा भएको त्यही पानीलाई फेरि ठूला–ठूला फलामका पाइपद्वारा बुढानिलकण्ठ हुँदै पानीपोखरीमा पु¥याइएको थियो । त्यहीँ पानीपोखरीमा निर्माण भएको त्यतिबेलाको पानी ट्याङ्की र त्यसमा कुँदिएको शिलापत्र अझै त्यहाँ कायम नै छ । (उक्त शिलापत्र ट्वीटरमा नाम उल्लेख नभएको र @97791978 ह्याण्डल भएको मित्रको सौजन्यबाट प्राप्त भएको हो ।)

ठाउँठाउँमा सार्वजनिक कलधाराहरू निर्माण गरी पानीपोखरीबाट नै जनतालाई पानी वितरण गरिएको थियो । त्यसैलाई नै वीरधारा भनिन्छ र काठमाडौँमा अझै पनि त्यसको अस्तित्व भेटिन्छ । उपत्यकामा सार्वजनिक रूपमा धारा बनेपछि ती धारामा तामाको पातामा ‘वीर धारा’ लेखेर टाँसिएको थियो । ती ‘वीर धारा’मा अंग्रेजी अक्षरमा ‘एल्ली एन्ड म्याक्लेन’ र ‘ग्ल्यास्को’ लेखिएकाले त्यो ‘एल्ली एन्ड म्याक्लेन’ इन्जिनियर क्लेरको नामको अगाडि रहेको एल.एम.बाट लेखिएको हो भनी अनुमान गर्न सकिन्छ । त्यस्तै ‘ग्ल्यास्को’ भन्ने त्यो बनाउने कम्पनीको नाम होला भनी अनुमान गर्न सकिन्छ । नेपालस्थित ब्रिटिस रेजिडेन्ट वाइलीमार्फत ब्रिटिस मेडिकल जर्नलमा छापिएको एक समाचार सामग्रीअनुसार काठमाडौँमा सम्पन्न भएको उक्त आयोजना, ठाउँठाउँमा निर्माण गरिएका सार्वजनिक धारासम्मको खर्च गरी कुल ६ लाख लागतमा समयमा नै सम्पन्न भएको थियो ।

खानेपानीको आयोजना सम्पन्न भएलगत्तै कलकत्ताबाट नेपाल आएका लेफ्टिनेन्ट गभर्नर चाल्र्स एलिटनले १० नोभेम्बर १८९४ मा नेपालमा हालै निर्माण सम्पन्न पानी ट्याङ्कीको समेत अवलोकन गरेको भनी कलकत्ताबाट प्रकाशित हुने अखबार ‘इङ्लिसम्यान्स ओभरल्यान्ड मेल’को १४ नोभेम्बर १८९४ को अंकमा छापेको छ । सन् १८९५ को नोभेम्बरमा वीरशमशेरकी कान्छी महारानी तोपकुमारी देवीका तर्फबाट उनको खर्चमा भक्तपुर (तत्कालीन भादगाउँ) मा समेत खानेपानीको व्यवस्था गरिएको थियो । निर्माण सुुरु भएको ९ महिनामा सम्पन्न उक्त योजनाको लागत करिब डेढ लाख रुपैयाँ थियो । ६ नोभेम्बर १८९५ मा प्रधानमन्त्री वीरशमशेरले उद्घाटन गरेको उक्त समारोहमा प्रधानमन्त्री, कमान्डर इन चिफ देव शमशेरका अलावा ब्रिटिस दूतावासका सहायक रेजिडेन्टले समेत सम्बोधन गरेका थिए । यो खबर पञ्जाव लाहोरबाट प्रकाशन हुने ‘सिभिल एन्ड मिलिटरी गजेट’को ९ नोभेम्बर १८९५ को अंकमा छापिएको थियो ।

यसरी वीरशमशेरको कार्यकालमा ब्रिटिस भारतबाट निर्माण सामग्री एवं इन्जिनियरहरू नै झिकाएर उपत्यकावासीलाई शुद्ध खानेपानीको राम्रो बन्दोबस्त गरिएको थियो । एकैपटक काठमाडौँ र भादगाउँमा खानेपानी आयोजना सम्पन्न भएपछि उपत्यकावासी स्वास्थ्यका हिसाबले समेत धेरै लाभान्वित भए । नेपालस्थित ब्रिटिस रेजिडेन्ट वाइलीले नेपालबाट बेलायत पठाएको एक समाचार सामग्रीअनुसार सन् १८९१ सम्म काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष हैजाको ठूलो समस्या देखिने गथ्र्याे । नयाँ खानेपानी आयोजनामार्फत काठमाडौँ र भक्तपुरवासीले शुद्ध खानेपानी पिउन थालेपछि ती ठाउँमा हैजा करिब निर्मुल नै भएको थियो । पाटनमा नयाँ खानेपानी आयोजना पुग्न नसकेकाले सन् १८९५ को अन्त्यसम्म त्यहाँ भने एकाध पटक हैजा देखिएको थियो । बाँकी नेपालमा त खानेपानीको समस्या र हैजा कायमै थियो तर नयाँ खानेपानी जडान भएको ठाउँमा त्यो थिएन । यसरी वाइलीले हैजाको कारणका रूपमा खानेपानीलाई नै औँल्याएका थिए । यो खबर सन् १८९५ को डिसेम्बरमा ब्रिटिस मेडिकल जर्नलमा छापिएको थियो ।

वीरशमशेरको पालामा नेपालमा बनेको खानेपानी आयोजनाबारे नेपालस्थित ब्रिटिस रेजिडेन्टले समेत नेपाल सरकारको ठूलो उपलब्धिका रूपमा प्रचार गर्ने गरेका थिए । ब्रिटिस सरकारले यसअघिको जंगबहादुर राणा र रणोद्वीप सिंहलाई प्रदान गरेको उच्च सम्मान जी.सी.एस.आइ.को सम्मान सन् १८९८ अप्रिलमा वीरशमशेरलाई प्रदान गर्यो ।

महाराजधिराज पृथ्वी वीरविक्रम शाहसमेत उपस्थित समारोहबीच नेपालस्थित ब्रिटिस रेजिडेन्ट वाइलीले उक्त सम्मान हस्तान्तरण कार्यक्रममा सम्बोधन गरेका थिए । उक्त सम्बोधनमा वाइलीले वीर शमशेरको कार्यकालमा निर्माण भएको वीर अस्पतालसँगै काठमाडौँ र भादगाउँमा निर्माण भएको नयाँ खानेपानी आयोजनालाई निकै ठूलो उपलब्धिका रुपमा लिँदै त्यसको चर्चा गरेका थिए । जसमा उनले उपत्यकावासीलाई अत्यन्तै आवश्यक शुद्ध खानेपानीको प्रबन्ध गरेबाट मानिसहरूले रोगबाट उन्मुक्ति पाएको बताएका थिए ।

यो खबरलाई कलकत्ताबाट प्रकाशित हुने अखबार ‘इङ्लिसम्यान्स ओभरल्यान्ड मेल’ को ७ अप्रिल १८९५ को अंकमा छापेको थियो । ठूलो बुवाको हत्या गरी सत्ता लिनासाथ ब्रिटिसबाट न्यानो सहयोग नपाएका वीरशमशेरको कार्यकाल, तिब्बतसँगको तनाव त्यस्तै मुलुकभित्रै उनको शासन सत्तालाई विभिन्न समूहबाट पटकपटक खतरा आइलाग्ने क्रमबाट गुज्रियो । यसरी वीर शमशेरको शासनकालको १५ वर्षे अवधिमा नारायणहिटी राजदरबार, सेतो दरबार लगायतका केही पारिवारिक दरबार त्यस्तै समयका लागि घण्टाघर, काठमाडौँ र भक्तपुरमा खानेपानी, ठाउँ ठाउँमा ढल र सडकको प्रबन्ध, वीर अस्पतालको निर्माण, पब्लिक स्कुल र तीनधारा पाठशालामा विद्यार्थी थप गर्ने र सति प्रथामा ऐन नै बनाएर सुधार गर्नेसम्मका केही काम भएका थिए ।


Author

सन्तोष खडेरी

इकागजका अबुधाबीस्थित टिप्पणीकार खडेरी नेपालसम्बन्धी दुर्लभ दस्तावेज संकलन र विश्लेषणका लागि परिचित छन् ।


थप समाचार
x