विचार-वार्ता

‘अध्यक्ष ओलीकै नेतृत्वमा स्थिर सरकार र समृद्धिको अजेन्डासहित एमाले एक्लै चुनाव लड्छ’

कमल विष्ट |
साउन २८, २०७९ शनिबार १६:३० बजे

काठमाडौँ– आगामी मंसिर ४ मा हुने संघीय तथा प्रादेशिक चुनावको उल्टो गन्ती सुरु भइसकेको छ । निर्वाचन आउन अब ९८ दिन मात्र बाँकी छ । निर्वाचनमा बढीभन्दा बढी सिट जित्न दलहरूबीच रस्साकस्सी सुरु भइसकेको छ । पार्टीबाट टिकट पाउनका लागि केही नेताहरू आन्तरिक ‘लबिङ’मा व्यस्त छन् । टिकट पाउने पक्का भइसकेका नेताहरू चुनावी अभियानमा जुट्न थालिसकेका छन् । 

फेरि पनि देशको पहिलो पार्टी बन्ने लक्ष्यसहित नेकपा एमाले पनि चुनावी रणनीति बनाउन सक्रिय बनिसकेको छ । नेताहरु टिकटका लागि पार्टीभित्र आआफ्नो आकांक्षा तथा दाबी प्रस्तुत गरिरहेका छन् भने पाउने पक्का भएकाहरू आआफ्नो निर्वाचन क्षेत्रमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरिसकेका छन् । 


२०७४ को निर्वाचनमा पहिलो बनेको एमालेले गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका कारण अपेक्षित जित निकाल्न सकेन । अघिल्लो चुनावमा २ सय ९४ पालिका जितेको एमाले यो चुनावमा २ सय ६ सिटमा खुम्चियो । स्थानीय तहको निर्वाचनमा झैँ सत्तारुढ गठबन्धनले संघीय र प्रादेशिक चुनावमा पनि गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरिसकेको छ र यसले थप ३ दललाई गठबन्धनमा सामेल गराइसकेको छ । यसले एमालेको चुनौती थप बढाएको विश्लेषण छ ।

यो चुनौती झेल्न एमालेले कस्तो तयारी गरिरहेको छ ? चुनावी अजेन्डा तथा अभियान के–कस्ता छन् ? उसले कसैसँग गठबन्धन गर्छ कि गर्दैन ? लामो समयसम्म चलेको वाम एकताको प्रयास किन सफल हुन सकेन ? अब सम्भावना छ कि छैन ? इकागजकर्मी कमल विष्टले यी र यस्तै प्रश्नहरू एमालेका पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापालाई सोधेका छन् । 

सहकर्मी विष्टले निर्वाचनमा थापाको उम्मेदवारीबारे पनि सोधेका छन् । थापा निर्वाचनमा उठ्न इच्छुक छन् कि छैनन् ? उनलाई पार्टीले टिकट देला कि नदेला ? उठे भने कहाँबाट केमा, उठ्लान् ? प्रस्तुत छ, कुराकानीको सम्पादित अंश;

स्थानीय तह चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनसँग भिड्नुपर्दा एमाले पहिलोबाट दोस्रो दल बन्यो । यसपालि गठबन्धनको आकार अझ बढेको छ । आसन्न संघीय र प्रादेशिक निर्वाचनमा ८ दलीय गठबन्धनसँग एमालेले सामना गर्दैछ । एमाले कति अत्ताल्लिएको छ ?

पछिल्लो समय नेपालमा चुनावका बेला गठबन्धन गर्ने अभ्यास बढिरहेको छ । यो अभ्यास २०७४ को निर्वाचनदेखि सुरु भएको हो । चुनावी गठबन्धन गलत हो, उल्टो बाटो हो । वास्तवमा चुनावको परिणामपछि सरकार बनाउन गठबन्धन हुनुपर्ने हो । तर, यहाँ ठ्याक्कै त्यसको विपरीत भइरहेको छ । यस्तो गठबन्धनले स्थिरता दिँदैन । 

सिद्धान्त, दर्शन सबै मिल्ने पार्टीसँग गठबन्धन र एकता गर्दा त त्यो हविगत भयो । अहिले त दशतिर फर्किएका दलहरूबीच गठबन्धन भइरहेको छ । यसको मुख्य धेय एमालेलाई एक्लो बनाएर ऊसँग प्रतिष्पर्धा गर्नु हो । 

गठबन्धन जति धेरैसँग भयो, त्यति बलियो भइन्छ भन्ने उनीहरूको मानसिकता छ । उनीहरू भ्रममा छन् । २०७४ सालको निर्वाचनमा मोहन वैद्य किरण नेतृत्वको नेतृत्वमा ३० दलीय गठबन्धन भएको थियो । तर, त्यसले जम्मा १३ हजार मात्र मत ल्यायो । गठबन्धन ठूलो हुँदा धेरै मत आइहाल्छ, नागरिकहरूले पत्याइहाल्छन् भन्ने भ्रम त्यागे हुन्छ । 

अहिले सिद्धान्तहीन, अनैतिक र अराजनीतिक रुपमा जुन किसिमले गठबन्धन बनाउने कोसिस भएको छ, त्यसलाई जनताले रमाइलो मानेर हेरिरहेका छन् । 
यो गठबन्धनको कुनै औचित्य छैन । यसले कुनै उपलब्धि हासिल गर्न सक्दैन । 

तपाईं गठबन्धनको औचित्य छैन भन्नुहुन्छ । तर, तपाईंहरू स्थानीय निर्वाचनमा त्यही पाँच दलीय गठबन्धनविरुद्ध कमजोर देखिनुभयो नि ?

देखिएका छैनौँ । गठबन्धनको घेराबन्दीमा पर्दा पनि हामी बलियो नै सावित भयौँ । तथ्यांकले पनि हामी कमजोर छैनौँ भनेर देखाइसकेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको लोकप्रिय मत हेर्दा हामी पहिलो स्थानमै छौँ । हामीले साढे ३८ लाख मत ल्यायौँ । नेपाली कांग्रेसभन्दा एमाले डेढ लाख मतले अगाडि छ । हामीले एक्लै २ सय ७ पालिका जित्यौँ । कांग्रेसले गठबन्धनका बलमा त्यति सिट प्राप्त गरेको हो । अब अरुको त कुरै नगरौँ । गठबन्धन नभएको भए उनीहरूको अस्तित्व नै संकटमा पर्थ्यो । धन्न कांग्रेसले जोगाइदियो । 

माओवादी केन्द्र, एकीकृत समाजवादीले कुनै प्रगति गरेका छैनन् । उनीहरूको सिट बरु घटेको छ । गएको निर्वाचनमा १८ लाख भोट ल्याएको माओवादी केन्द्रले अहिले १२ लाख मात्र ल्याएको छ । एक तिहाईभन्दा बढी भोट घटेको छ । ४० पालिकाको नेतृत्व लिएर गएको एकीकृत समाजवादी २० पालिकामा सीमित भयो । 
लोकप्रिय मत एक ठाउँमा छ, तर तपाईंहरू २ सय ९५ पालिकाबाट २ सय ७ मा खुम्चिनु त भयो नि ।  

हो, हामी पहिलोबाट दोस्रो ठूलो दलमा खुम्चियौँ । तर, फेरि पनि भन्छु, यसको मुख्य कारण गठबन्धन होइन । बरु हाम्रै केही आन्तरिक कमीकमजोरी हुन् । आन्तरिक अन्तर्घात, केही पालिकामा आफ्नैबाट असहयोग, अनुशासनहिनतालगायत केही कारणले हामी खुम्चियौँ । 

आसन्न निर्वाचनमा हामीले ती सबै कुरालाई मध्यनजर गरेर अगाडि बढेका छौँ । 

गत निर्वाचनमा एमालेले पनि कमल थापा नेतृत्वको राप्रपा नेपाल, नेपाल परिवार दललगायतसँग मिलेर गठबन्धन बनाएको थियो । आसन्न निर्वाचनमा उक्त गठबन्धनले निरन्तरता पाउँछ ? 

हामीलाई सहयोग गर्ने शक्तिहरू मिसिए भने गठबन्धनको कुरा एक ठाउँमा छ, तर मूलतः आमरुपमा हामी गठबन्धन गर्दैनौँ । एमाले निर्वाचनको मैदानमा एक्लै उत्रिन्छ, आफ्नै एजेन्डासाथ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले देशभक्ति, सामाजिक न्याय, विकास र समृद्धि, स्थिर सरकारलगायतका राष्ट्रिय अजेन्डाका साथ चुनाव लड्छ । 

हामी जनतालाई यसपालि एमाले एक्लैको बहुमतको सरकारका लागि आग्रह गर्छौँ । हामी भन्छौँ– एमालेले बहुमत पाएर सरकार बनेपछि हरेक नेपालीका सपना पूरा गर्छौँ, देशलाई नयाँ उचाइमा पुर्याउँछौँ । देशभक्ति र स्वाभिमानका साथ देशको नेतृत्व गर्छौँ । 

तपाईंहरूले ‘स्थिर सरकार’को अजेन्डा गत निर्वाचनमा पनि बोक्नुभएको थियो । तर सबैभन्दा बढी अस्थिर बनाउनुभयो ?

हामीले निर्वाचनमा बहुमत त प्राप्त गर्यौँ । तर, त्यो बहुमत एमालेलाई नभएर गठबन्धनलाई थियो । एमालेले १ सय २१ सिट प्राप्त गरेको थियो । बहुमतको सरकारका लागि १६–१७ सिट नपुगेर हामी सरकारबाट तीन वर्षमै बाहिरिनुपर्यो । यसपालि हामी एमाले एक्लैलाई बहुमत दिलाउन नागरिकहरूलाई अनुरोध गर्छौँ । 

वाम एकताका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच लामो समय छलफल भयो, तर त्यो सफल हुन सकेन । किन सफल भएन ? चुनावअगावै वाम एकताको सम्भावना कति छ ?  

वाम एकताका सवालमा त्यस्तो ठोस र मुर्त प्रयास भएकै छैन । त्यसबारे छलफल भएको पनि थिएन र अब होला जस्तो पनि मलाई लाग्दैन । कार्ल मार्क्सको एउटा महत्वपूर्ण भनाइ छ– इतिहासका घटना जस्ताको त्यस्तै दोहोरिँदैनन् । उनले पहिलो यथार्थ र दोस्रो कार्टुनका रुपमा दोहोरिन्छन् भनेर भनेका छन् । वाम एकताको कुरा पनि त्यस्तै हो । हामीले वाम एकता गर्यौँ, त्यो यथार्थ थियो । अहिले गर्ने प्रयास भइरहेको वाम एकता, कार्टुन वा मजाक हो । किनभने वामपन्थी पार्टीहरूले एमालेसँगको व्यक्तिगत रिसले नेपाली कांग्रेसको नेतृत्व स्वीकारेका छन् । कांग्रेसको पोल्टामा पुगेका छन् । 

वामपन्थीहरू कांग्रेस नेतृत्वको गठबन्धनबाट अलग नहुँदासम्म वाम एकताको कुरा अर्थहीन हुन्छ । अर्थहीन कुरालाई हामीले महत्व दिएका छैनौँ । त्यसैले वाम एकता हाम्रो अजेन्डा होइन । यद्यपि नागरिकले यिनीहरू मिलिदिए हुन्थ्यो भन्ने सोचिरहनुभएको छ । 

तपाईं यसबारे छलफल नै भएको छैन भन्नुहुन्छ । तर, वाम एकताको प्रस्ताव लिएर माओवादी र एकीकृत समाजवादीका केही नेता ओलीलाई भेट्न बालकोट नै पुगेका थिए । घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेललगायत  एकताको पक्षमा अहिले पनि खुलेरै बोलिरहनु भएको छ  ?

हो । केही महिनाअगाडि नारायणकाजी श्रेष्ठ अध्यक्ष ओलीलाई भेट्न बालकोट आएका थिए । तर, त्यो भेट वाम एकताका लागि थिएन । श्रेष्ठ कामरेड ओलीलाई एउटा कार्यक्रममा निमन्त्रणा दिन आउनुभएको थियो । त्यो कार्यक्रममा हाम्रा महासचिव शंकर पोखरेल जानुभयो । त्यसबाहेक अरु केही भएको छैन । 

अब तपाईंको पार्टीको चुनावी अजेन्डा र रणनीतिका कुरा गरौँ, चुनावका लागि के छन् अजेन्डा, के–कस्ता काम गरिरहनुभएको छ ? 

संघीय र प्रादेशिक चुनाव राष्ट्रिय निर्वाचन भएकाले हामी पनि राष्ट्रिय अजेन्डासहित इलेक्सनमा जान्छौँ । स्थानीय निर्वाचनताकाको जस्तो ससाना अजेन्डा छैनन् । राष्ट्रिय अजेन्डा र नेतृत्वका हिसाबले प्रवाहित हुन्छ । एमाले अध्यक्ष कामरेड ओलीकै नेतृत्वमा देशभक्ति, सामाजिक न्याय, स्थिर सरकार, विकास र समृद्धिलगायतका अजेन्डासहित जनतामा जान्छौँ । 

स्थानीय चुनावमा एमालेले क्षति भोग्नु पछाडिको कारण र निष्कर्ष निकालेको छ । आन्तरिक अन्तर्घात, सही व्यवस्थापनको अभाव, अनुशासनहिनतालगायतलाई मुख्य कारण मानेका छौँ । गठबन्धनलाई मुख्य कारण मानेका छैनौँ । आउने निर्वाचनमा यी कुरालाई ध्यानमा राखी लुलो बनेका जोर्नीहरू मिलाउने र पार्टीलाई एकताबद्ध, अनुशासित र दृढ संकल्प बोकेर जनतामा लैजाने कोशिसमा छौँ । 

यहीबीच मैले प्यूठानबाट बसाइसराइ गरेर देशका विभिन्न भागमा बसिरहनुभएको प्यूठानीहरूसँग भेटघाट तथा संवाद गरेँ । रुपन्देहीको भैरहवादेखि बुटवल, कपिलवस्तु, देउखुरी, तुलसीपुर, कोहलपुर, नेपालगञ्ज, गुलरीया, राजापुरसम्म पुगेँ । प्युठानीहरू नवलपुरदेखि टिकापुरसम्म बसाइसराइ गरेर बस्नुभएको छ । उहाँहरूलाई आफ्नो मातृभूमिलाई नबिर्सिन, मातृभूमिप्रति संवेदनशील हुन र मातृभूमिका लागि सही नेतृत्व छान्न सहयोग गर्न अनुरोध गरेँ । 

तपाईं स्वयं पनि प्युठानी हुनुहन्छ । त्यो भ्रमण आफ्ना लागि थियो वा पार्टीका लागि ? 

म प्युठानको जिल्ला इन्चार्ज हुँ । आफ्नो जिल्लामा पार्टीलाई बलियो बनाउने जिम्मा मेरो हो । जग बलियो बनिसकेको छ । जग बनेपछि त्यसमा जे गर्दा पनि हुन्छ । 
तपाईंको चुनावमा उठ्ने योजना छ कि छैन ?

म पार्टीको जिल्ला इञ्जार्च तथा पोलिटब्यूरो सदस्य । पार्टीको भूगोलको कामका लागि जिम्मेवार छु, क्रियाशील छु । म प्रादेशिक उम्मेदवारका निम्ति कहिल्यै प्रस्तुत भइनँ । यसअघि टिकट पाउँदा प्रत्यक्ष प्रतिनिधिसभामा लड्ने, नपाउँदा नलड्ने भनेर बसेको हुँ । 

प्रतिनिधिसभाका लागि तयारी गर्नुपर्छ भन्ने साथीहरूको पनि सुझाव हो । तर, पार्टीले यसबारे टुंगो लगाइसकेको छैन । व्यक्ति–व्यक्तिका सन्दर्भमा जिल्ला–जिल्लामा छलफल हुन्छ । यो प्रक्रिया लामो हुन्छ । आपसी समझदारी भएर टुंगो लगाउनुपर्ने हुन्छ । को उठ्छ भन्ने विषय प्रधान होइन, कसलाई उठाउँदा जितिन्छ भन्ने प्रधान हो । पार्टी अहिले त्यसैमा केन्द्रित छ । 

मेरो प्रश्नको जवाफ आएन,  तपाईं आकांक्षी हो कि होइन ? 

एउटा नेतामा स्वभाविक रुपमा पार्लियामेन्टमा आउने आकांक्षा हुन्छ । सांसद भएर आफ्नो देश र समाजका लागि केही गर्ने उसको सपना हुन्छ । तर, फेरि पनि म स्पष्ट गराउन चाहन्छु भने हामी व्यक्ति केन्द्रित आकांक्षामा प्रवेश गरेका छैनौँ । 

तपाईंलाई पार्टीले यसपालि पत्याउँला त ?

टिकट दिने र नदिने विषयमा छलफल भएकै छैन । हामीभित्र माथिबाट दिने मात्र हुँदैन, तलबाट सिफारिस गर्ने पनि हुन्छ । नागरिकमाझ उम्मेदवारको लोकप्रियता कति छ, छवि कस्तो छ, चुनावी सामथ्र्य छ कि छैनलगायत विभिन्न विषय हेरिन्छ । यी सबै कुरा हेरेर मात्र पार्टीले निर्णय गर्छ । हामी त्यो छलफलमा जुटेका छैनौँ । उम्मेदवार को भन्ने सन्दर्भमा हाम्रो पार्टी प्रवेश गरेकै छैन । पार्टी अहिले चुनावी अजेन्डामा मात्र मात्र केन्द्रित छ । 

प्यूठानबाट हामी केन्द्रीय स्तरका तीन जना नेताह्रू छौँ । स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, केन्द्रीय कमिटी सदस्य हरि रिजाल र पोलिटब्युरो सदस्य म । हामीमध्ये कोही एक उठ्छ भन्ने जनताको बुझाइ छ । सञ्चारमाध्यमले पनि त्यही ढंगले प्रोजेक्ट गरिरहेका छन् । व्यक्तिगत रुपमा म भनेर मागदाबी गर्ने कल्चर हामीकहाँ छैन । 

एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा राष्ट्रिय जनमोर्चा बलियो छ । २०७४ को निर्वाचनमा जनमोर्चाकी दुर्गा पौडेल विजयी भइन् । एमालेको जितको आधार के हो? 

होइन । त्यहाँ जनमोर्चा बलियो छैन । गत निर्वाचनमा उसको १४ हजार मतमा २७ हजार एमालेले र केही माओवादीले थपिदिएपछि दुर्गा पौडेल विजयी भएकी हुन् । तीनवटा पार्टीको बलमा पौडेलजी विजयी हुनुभएको हो । 

यसपालि उहाँ उम्मेदवार हुनुहुन्छ कि हुनुहुन्न ? मलाई थाहा छैन । तर, उहाँसामु ठूलो संकट छ । थुप्रै साथीहरू एमालेमा प्रवेश गरेपछि उहाँहरूको भोट घटेको छ । जनमोर्चा पहिले तेस्रो हैसियतको पार्टी थियो, अहिले चौथोमा झरेको छ । अर्को कुरा, उहाँ पटकपटक प्रत्यक्ष र समानुपातिकबाट सांसद भइसक्नुभयो । चुनाव जितेपछि जिल्ला फर्किनुभएको छैन । मतदातामा चर्को गुनासो छ । 

अर्को महत्वपूर्ण कुरा आफ्नो योग्यताले भन्दा कमरेड मोहनविक्रम सिंहकी श्रीमती भएकाले उहाँले टिकट पाउनुभएको हो । सिंहसँग विवाह भएपछि मात्र उहाँको प्यूठानसँग साइनो जोडिएको हो । नत्र उहाँ प्युठानको क्रियाशील मान्छे होइन । 

अब उहाँलाई गठबन्धनले टिकट देला–नदेला, उहाँ उठ्नुहोला–नहोला, यो गठबन्धनको कुरा हो, उहाँको कुरा हो । तर, हामीलाई उहाँको उम्मेदवारीले केही फरक पर्दैन । अहिलेको शक्ति सन्तुलनमा उहाँ र हामीबीच तुलना नै हुँदैन । 

हामी एक्लै ४१ हजार मत प्राप्त गरेर पहिलो पार्टी हौँ । नेपाली कांग्रेस २१ हजारसहित दोस्रो हो । माओवादी केन्द्र १५ हजार मत ल्याएर तेस्रो हो । जनमोर्चा १३ हजार मत प्राप्त गरेर चौथो पार्टी हो । एक्लाएक्लै लड्दा उहाँहरू हामीसँग प्रतिस्पर्धामा धेरै पछाडि पर्नुहुन्छ ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x