विचार-वार्ता

अन्तर्वार्ता

‘नेता र पार्टीलाई होइन, यसपटक जुम्लाले जुम्लालाई जिताउँछ’ (भिडिओ)

कमल विष्ट |
भदौ ११, २०७९ शनिबार ९:१६ बजे

भ्रष्टाचारविरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही गत फागुनमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरे । राजनीतिमा प्रवेश गरेसँगै उनको परिचय फेरिएको छ । उनी अब अभियन्ताबाट नेता बनेका छन् ।

राप्रपाका प्रवक्तासमेत रहेका शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी घोषणा गरेका छन् । पार्टीपंक्ति र शुभेच्छुकहरूले राप्रपाको बलियो पकड रहेको काठमाडौं– २ बाट उठ्न सुझाए पनि आफू मातृभूमि जुम्लाबाटै लड्ने उनले उद्घोष गरेका छन् । 


गत साउन २३ गते उम्मेदवारी घोषणा गर्दै भनेका थिए, ‘धेरै साथीहरूले मलाई भन्नुभयो– तिमी काठमाडौं वा चितवनबाट चुनाव लड । चुनाव हारिन्छ वा जितिन्छ मलाई गुनासो छैन, तर म चुनाव भने मलाई जन्म दिने र हुर्काउने जन्मभूमि जुम्लाबाटै लड्छु ।’ जुम्लाबाट राज्य र प्रमुख पार्टीबाट सधैँ विभेदमा परेकाले सम्भावना हुँदाहुँदै पनि गरिबीको चपेटामा परेको उनको आरोप छ । अहिलेसम्म जुम्लाले राष्ट्रिय नेतृत्व नपाएको उनको भनाइ छ । 

यसपालिको निर्वाचनमा जुम्लाबाट विजयी भएर नयाँ उभार ल्याउने उनको दृढ संकल्प छ । चुनाव जित्नेमा आफू शतप्रतिशत विश्वस्त रहेको उनले जिकिर गरे । शाहीसँग इकागजका कमल विष्टले आसन्न चुनावको सन्दर्भमा कुराकानी गरेका छन् । प्रस्तुत छ, शाहीसँग गरिएको संवादको सारसंक्षेप: 

चुनावको तयारीबाटै कुराकानी सुरु गरौँ । कस्तो भइरहेको छ चुनावी अभियान ?

हामी चुनावी अभियान नै भनेर लागिसकेका छैनौँ । तर जे होस्, जुम्ली बाबुआमा, दाजुभाइ, दिदीबहिनीसँग निरन्तर भेटघाटको कार्यक्रम जारी छ । त्यसो त यस्ता भेटघाट पहिला पनि हुन्थे । तर, ती भेटघाटमा चुनावी कुरा हुँदैन्थे । अहिले भने चुनावी कुरा पनि हुन्छ । 

६ महिनाअघिसम्म तपाईं एक सामाजिक अभियन्ताका रुपमा चिनिनुहुन्थ्यो । अहिले नेताका रुपमा चिनिँदै हुनुहुन्छ । तपाईंको फेरिएको परिचयलाई कसरी हेरिरहेको छ जुम्लाले ? 

ज्ञानेन्द्र शाही जुम्लाको नेतृत्व गर्न चाहिरहेको छ भन्ने कुरा जुम्लीहरूलाई राम्रोसँग थाहा छ । मेरो उम्मेदवारीलाई हर्षोल्लासाथ हेरिएको छ । 

कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

राजनीतिमा प्रवेश गरिसकेपछि जुन अनुमान साथ काठमाडौंबाट जुम्ला गएको थिएँ, त्योभन्दा बिल्कूल फरक थियो । सोचेभन्दा राम्रो थियो । सबैबाट अथाह साथ, सद्भाव, शुभकामना आदि त पाइरहेको छु ।

हरेक नेताको आकांक्षा तथा उद्देश्य हुन्छ, काठमाडौं जस्तो ठाउँबाट जितेर आफू चर्चामा आऊँ । तर, जितको प्रवल सम्भावना रहेको काठमाडौं छाडेर जुम्ला रोजेँ । राप्रपाको काठमाडौंको क्षेत्र नम्बर २ मा बलियो पकड छ । पार्टीपंक्ति तथा साथीभाइको पनि पूर्ण साथ सहयोग थियो । उहाँहरूले यहीँबाट लड्न सुझाउनु भएको थियो । तर, मैले गत स्थानीय तह निर्वाचनमा मेयरसहित विभिन्न पद जितेको क्षेत्रबाट नलड्ने निर्णय गरेँ । मलाई एकरत्ति पनि पछुतो छैन । जे गरेँ राम्रो गरेँ भन्ने लागिरहेको छ । जुम्ली दाजुभाइ, दिदीबहिनी तथा आमाबाबुबाट धेरै माया पाइरहेको छु । मलाई जिताउन उहाँहरू देउडा गाउँदै हिँडिरहनुभएको छ । 

त्यो एयरपोर्टको क्षण म अहिले पनि सम्झन्छु । मेरो स्वागतमा त्यहाँ आउने मानिसहरू केही मात्र राप्रपाका हुनुहुन्थ्यो । लगभग सबैजसो माओवादी, कांग्रेस, एमाले, एकीकृत समाजवादी, नेमकिपा आदिका हुनुहुन्थ्यो । पार्टी वा संगठन नभनेर हर्षोल्लासाथ खुसीयाली मनाएको थियो । त्यो देखेर म भावुक भएर रोएँ पनि । 

जुन भूमिमा पाइला टेकियो, हुर्किइयो, खान सिकायो, हाँसखेल गर्न सिकायो, त्यही भूमिका बासिन्दाबाट यो स्तरको स्वागत, माया र साथ पाउँदा बडो खुसी लाग्दो रहेछ । एउटा मान्छेको जीवनमा योभन्दा ठूलो खुसीको क्षण अरु हुन सक्दैन । यसले मेरो आत्मबल बढेको छ । 

चुनाव जितुलाँ वा हारुलाँ मलाई त्यसको कुनै प्रवाह छैन । उहाँहरूको माया र सद्भाव मेरो लागि सबैभन्दा ठूलो कुरा हो । 

योभन्दा पनि खुसी र सकारात्मक कुरा के छ भने यसपालि उहाँहरू कुनै नेता, दल तथा संगठनलाई जिताउने पक्षमा हुनुहुन्न । 

तपाईं जित निश्चित भएको क्षेत्र छाडेर मातृभूमिको मायाले जुम्लाबाट उठ्ने निधो गरेँ भनिरहनुभएको छ । तर, राजनीतिक वृत्तमा त काठमाडौंमा ज्ञानेन्द्र शाही हार्ने भएपछि गाउँ गयो भन्ने चर्चा छ ?

होइन । यो कुरा गलत हो । गत स्थानीय तह निर्वाचनमा राप्रपाले काठमाडौं र जुम्लामा पाएको मत हेरौँ । काठमाडौंको जुन क्षेत्रबाट मलाई लड्न सुझाइएको थियो, त्यहाँ राप्रपाले १८ देखि २० हजार मत पाएको थियो । शंखरापुर नगरपालिकाको मेयरसहित विभिन्न पद राप्रपाले जित्यो । नजितेको ठाउँमा पनि दोस्रो वा तेस्रो भएको छ । 

अब कुरा गरौँ जुम्लाको । जुम्लामा राप्रपाले ५ सय ९४ मत मात्र पाएको थियो । अब तपाईं आफैँ सोच्नुस्, जुम्लाबाट उठ्ने निधो गर्नु पछाडिको मेरो नियत के हो भनेर ? चुनावी अंकगणितका हिसाबले म यहाँबाट कसरी जित्दिनँ थिएँ र त्यहाँबाट कसरी जित्थेँ हुँला ? 

अब अजेन्डाका कुरा गरौँ । जुम्लालाई दुर्गमबाट सुगम बनाउन के छन् तपाईंका अजेन्डा ? 

पहिलो कुरा त जुम्लाले राष्ट्रिय नेतृत्व पाउँछ । आजको दिनसम्म जुम्लाले एकजना पनि फुल क्याबिनेट मन्त्री पाएको छैन । जुम्ली प्रतिनिधिलाई देशका कुनै प्रमुख दलले शीर्ष नेता बताएको छैन । यतिसम्म कि पार्टीको पदाधिकारीसमेत बनाएको छैन । यो जुम्लाको कालो इतिहास हो । अब उप्रान्त यस्तो हुनेछैन । 

जुम्लाबाट आजसम्म निर्वाचित प्रतिनिधिहरूले काम गर्ने प्रयास गर्नुभयो, तर केन्द्रले उहाँहरूलाई कहिल्यै सुनेन । म ३० वर्षको भएँ । चाटर्ड एकाउन्टेन्टको विद्यार्थी । आज जुम्लासहित सिंगो मुलुकले मलाई भ्रष्टाचारविरोधी अभियन्ता, देश र जनताको हितमा काम गर्ने व्यक्तिका रुपमा चिन्छ । अब जुम्लाको आवाजलाई केन्द्रमा पु¥याउने जिम्मेवारी मेरो हो । 

अन्तर्वार्ताका क्रममा तपाईंले थुप्रैपल्ट जुम्ला दुर्गम ठाउँ हो भन्नुभयो । तर, अबको पाँच वर्षपछि तपाईं र मबीच कुराकानी हुँदा त्यो भन्नु हुने छैन । दुर्गम शब्द तपाईंको शब्दकोषबाटै हटिसकेको हुनेछ । दुर्गमको साटो सुगम भन्नुहुनेछ । यो मेरो वाचा हो । 

जुम्लालाई सधैेँ राज्यले विभेद गर्यो भन्नुभयो । यो तपाईंसहित जुम्लाका अन्य प्रतिनिधिहरूको पनि आरोप हो । तपाईंलाई अहिलेसम्मका शासकहरूले किन सधैँ जुम्लालाई विभेद गरे भन्ने लाग्छ ? 

यसका मूलतः तीनटा कारण छन् । पहिलो कारण, जुम्लाका प्रतिनिधिलाई काठमाडौंले नपत्याउनु । मलाई पनि पत्याउन इन्कार गरिन्छ । तर, म आफूलाई जबरजस्ती स्थापित गरेर हिँडेको छु । मलाई पाखे भनिन्छ, राउटे भनिन्छ । के म चोर हुँ र ? अपराधी हुँ र ? 

दोस्रो कारण, दूरदराजका नेतृत्वलाई सधैँ अस्वीकार गरिनु । दुर्गम भेगको नेतालाई काठमाडौंले स्वीकार नगर्ने एउटा मनोविज्ञान छ । तेस्रो र सबैभन्दा महत्वपूर्ण कारण हो– वर्गीय विभेद । देशमा व्यापक जातीय विभेद छ । जातीयसँगसँगै वर्गीय विभेद पनि उत्तिकै विद्यमान छ, हानिकारक छ । हामी सबै वर्गीय विभेदको चपेटामा पनि परेका छौँ । 

तर, अब उप्रान्त त्यस्तो हुनेछैन । हाम्रो आवाज केन्द्रसम्म फेरि नपुग्ला कि भनेर जुम्लीहरूले सोच्नुपर्ने छैन । 

तीन दशकयताको चुनावी परिणाम हेर्दा यहाँ नेमकिपा, एमाले, माओवादीलगायतका वामपन्थी दलहरूले जितेका छन् । जुम्लीहरू लोकतन्त्रवादी दलको पक्षमा मात्र देखिँदैनन्, उनीहरूले संघीयतासहितको लोकतन्त्रका लागि क्रान्तिसमेत गरेका छन् । जुम्लीहरूले फेरि राजसंस्थाको वकालत गर्ने राप्रपालाई पत्याउलान् ? 

पहिलो कुरा त म स्पष्ट पार्न चाहन्छु भने जुम्लीहरूलाई राष्ट्रिय मुद्दासँग कुनै सरोकार छैन । यसको पुष्टि डिल्ली महतको विजयीले गर्छ । उहाँको पार्टी साह्रै कमजोर थियो, तैपनि उहाँले चुनाव जित्नुभयो । यसपालिको स्थानीय तह निर्वाचनमा जुम्लाबाट स्वतन्त्र उम्मेदवार मेयर भएका छन् । काठमाडौंले मात्र होइन, जुम्लाले पनि स्वतन्त्र मेयर पाएको छ । जुम्लामा अहिलेसम्म कुनै पनि व्यक्ति दोस्रो पटक सांसद भएको छैन । यसबाट के बुझिन्छ भने जुम्ला सधैँ क्रान्ति र परिवर्तनको पक्षमा छ । यथास्थितिको पक्षमा छैन । 

अब संघीयताको कुरा गरौँ । हो, जुम्लाको हरेक नागरिक स्थानीय सरकारको पक्षमा छ । तर प्रदेशको पक्षमा छैन । प्रदेश राज्यलाई घाँडो भएको छ । जुम्लाको विकासमा खर्च गर्नुपर्ने रकम प्रदेशका मन्त्रीहरूलाई पाल्नमा खर्च भइरहेको छ । यो कुरा जुम्लाले राम्रोसँग महसुस गरेको छ । त्यसैले, जुम्ला शक्तिशाली स्थानीय तह, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा छ । 

हो, जुम्लामा कम्युनिष्टहरू ज्यादा छन् । जहाँ गरिबी हुन्छ, त्यहाँ स्वभाविक रुपमा कम्युनिष्टहरू ज्यादा हुन्छन् । तर, यसपालि नागरिकहरू दल हेर्नेवाला छैनन्, व्यक्ति हेर्नेवाला छन् । व्यक्ति राम्रो नभएपछि जुम्ला जहाँको त्यहीँ हुन्छ भन्ने कुरा उनीहरूले राम्रोसँग बुझिसकेका छन् । 

यो एउटा कुरा भयो । तर चुनाव जित्न बलियो आधार चाहिन्छ । चुनावी अंकगणित हेर्दा राप्रपा यहाँ एकदमै कमजोर देखिन्छ । के छ तपाईंको निर्वाचन जित्ने आधार ? 

यसपालि हामी शत प्रतिशत जित्छौँ । हार्ने प्रश्न नै छैन । हामीले एउटा पनि सर्वेक्षण गरेका छौँ । जुम्लामा करिव ७० हजार मतदाता छन् । जुम्ला क र खमा ३५–३५ हजार मतदाता छन् । सर्भेक्षण अनुसार कबाट हामीले ६० प्रतिशत मत पाउँछौँ । त्यसैगरी ख बाट ८० प्रतिशत मत पाउँछौँ । कुल मिलाएर हामी ३१ हजार ८ सय ३८ मत ल्याएर चुनाव जित्छौँ । 

सिँजा उपत्यका म जन्मिएको ठाउँ हो । जुन पनि मेरो जितको बलियो आधार हो । तर, त्यो जित मेरो जित हुनेछैन । सिंगो जुम्लाको हुनेछ । यो लडाइँ जुम्लाको अन्य प्रतिनिधिहरूसँग होइन । जुम्ला र केन्द्रबीचको हो । जुम्ला यसपालि आफ्नो पहिचानका लागि लड्नेछ । 

पछिल्लो समय सस्तो लोकप्रियताका नेताहरुले लागि राजसंस्थाको पुनर्बहाली, संघीयता खारेजी र हिन्दू राष्ट्रको मुद्धा लिएर जनतामाझ जाने लहर चलेको छ । ६ महिनाअघिसम्म तपाईं पनि गणतन्त्रवादी नै हुनुहुन्थ्यो । के भन्नुहुन्छ ? 

मुख्य कुरा विचार हो । शासन गर्ने शासक होइन, पूजा गर्ने देउता चाहिन्छ । शासन जनताले गर्ने हो । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले गर्ने हो । तर, पूजा गर्ने देउता नै चाहिन्छ । आस्था बिनाको मान्छे हुँदैन, राजाबिनाको देश हुँदैन । यो नागरिकले महसुस गर्ने हो । आज देशको हालत के छ हेर्नुस् त ? 
आज हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरु विदेश भ्रमणमा जाँदा त्यहाँ कस्तो सम्मान र सत्कार पाउँछन् ? तत्कालीन राजाहरु विदेशमा जाँदा कस्तो स्वागत तथा सत्कार पाउँथे ? सामाजिक सञ्जालमा भाइरल भिडियोहरुमा हामी मज्जाले देख्न सक्छौँ । 

आत्मसम्मान छैन भने जतिसुकै धनी भए पनि केही अर्थ हुँदैन । मुलुक पनि व्यक्ति नै हो । कति धनी छ ? कति स्वतन्त्र छ ? यी कुरा एक ठाउँमा छन् । तर विश्वमाझ मुलुकको सम्मान हुनुपर्छ, पहिचान हुनुपर्छ । हाम्रो देशका नेताहरुले विदेशमा राम्रो सम्मान पाउँदा सिंगो देश सम्मानित हुन्छ । अपमानित हुँदा सम्पूर्ण देश अपमानित हुन्छ । सम्मान व्यक्तिले होइन, देशले पाउने हो । 

चुनाव जित्नुभयो भने तपाईंको पहिलो कार्य के हुन्छ ? 

मैले सबैभन्दा पहिला गर्ने कार्य भनेको जुम्लामा उत्पादन हुने जडिबुटी, अन्नबाली, फुलफूललगायतलाई बजारसम्म पु¥याउन वातावरण निर्माण गर्ने हो । जुम्लाका कुनै पनि दाजुभाइहरू हिम र शिलाजित बोकेर भारत जानुपर्ने छैन । गलैँचा काँधमा राखेर पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्जुलासम्म धाउनुपर्नेछैन । विद्यार्थीहरूले चुहिने विद्यालयमुनि बसेर पढ्नुपर्ने छैन । 

सबैले जुम्लालाई दुर्गम भन्छन् । तर, जुम्लामा सुन फुल्छ । म ठोकेर भन्छु, जुम्ला स्वीट्जरल्याण्डभन्दा राम्रो छ । नेपालमा सबैभन्दा धेरै अन्नबाली, फलफूल र जडिबुटी उत्पादन हुने जिल्ला जुम्ला हो । जुम्लामा ओखरको जंगल हुन्छ । देख्नुभएको छ ओखरको जंगल कतै ? जुम्लामा ढटेलोको घाँरी हुन्छ । यसको तेलको मूल्य बजारमा प्रतिलिटर २१ सय रुपैँयाँ पर्छ । हरेक जुम्लीको घरआँगनमा जडिबुटीको खानी छ । मार्सी, ओखर, आरु, स्याउ सबै फल्छ । 

संसारमै नभएका जडीबुटीको खानी जुम्लामा छ । तर, आज विकृत राजनीति र केन्द्र सरकारको सदियौँको हेपाइका कारण हामी गरिब छौँ । सुनलाई नुनको दाममा पनि बेच्न पाइरहेको छैनौँ । 

मैले चुनाव जितेपछि म सुनलाई सुनकै दाममा बेच्छु, नुनको दाममा होइन । त्यो म गरेर देखाउँछु । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x