विचार-वार्ता

‘सूर्य थापालाई १२ हजार बढी मतान्तरले जित्छु’ (अन्तर्वार्ता)

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १८:८ बजे

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्यूठानमा विभिन्न दल र स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये एक हुन्– राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार यो क्षेत्रबाट दोस्रो पटक सांसद बन्ने दौडमा छिन् । 

एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा पौडेल २०७४ को निर्वाचनमा वाम गठबन्धन सहयोगमा निर्वाचित भएकी थिइन् । उनले त्यतिबेला नेपाली कांग्रेसका डा. गोविन्द पोखेललाई हराएकी थिइन् । उनले ४७ हजार ५ सय १४ मत ल्याउँदा डा. पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । 


गत निर्वाचनमा उनलाई जिताउन नेकपा एमाले निर्णायक भएको थियो । यसपालि भने उनी एमालेका उम्मेदवार सूर्य थापाविरुद्ध लड्दैछिन् । ०७० को निर्वाचनबाट समानुपातिक सांसद बनेर संसदीय यात्रा सुरु गरेकी पौडेल यसपटक जितेर तेस्रो पटक सांसद बन्ने दाउमा छिन् भने उनका मुख्य प्रतिस्पर्धी एमालेका थापा जितेर पहिलो पटक सांसद बन्ने दौडमा छन् । 

थापालाई पराजित गर्न आफूलाई कुनै गाह्रो नहुने पौडेलको दाबी छ । भन्छिन्, ‘थापालाई १२ हजार बढी मतान्तरले पराजित गर्छौँ ।’ पौडेलसँग आगामी निर्वाचनमा केन्द्रित भएर इकागजले कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सारसंक्षेप । 

प्यूठानबाट दोस्रो पटक जित्ने दौडमा हुनुहुन्छ । घरदैलोमा व्यस्त हुनुहुन्छ, प्रतिक्रिया कस्तो छ ? 
प्रतिक्रिया एकदमै सकारात्मक छ । प्यूठानीहरूको यथेष्ट माया र सद्भाव पाइरहेकी छु । कति शुभेच्छुकहरू त घरदैलोका लागि आफैँ बोलाइरहनु भएको छ । धेरैभन्दा धेरै प्यूठानीहरूसम्म पुग्ने मेरो चाहना छ ।

भनेपछि प्यूठानीहरू यसपालि पनि तपाईंलाई नै आफ्नो प्रतिनिधिका रूपमा देख्न चाहन्छन् ?
मैले नागरिकहरूबाट उल्लेख्य साथ र माया पाइरहेकी छु । आगामी निर्वाचनका लागि देशभरबाट उम्मेदवारी दिनेमध्ये ९ प्रतिशत मात्र महिला छन् । यस्तो अवस्थामा प्यूठानले महिला उम्मेदवार पाएकोमा उहाँहरू खुसी हुनुहुन्छ । थप साथ मिलिरहेको छ । ‘तपाईंले आफ्नो कार्यकालमा आफूले सकेको गर्नुभयो । अब बाँकी रहेका अधूरा कामहरू गर्नुपर्छ । तपाईंले अवसर पाएपछि पूरा पनि गर्नुहुन्छ’ भन्दै उहाँहरूबाट सुझावसहितको प्रतिक्रिया प्राप्त भइरहेको छ । 

तर, तपाईंले यसो भनिरहँदा प्यूठानीहरू तपाईंको पाँच वर्षे कार्यकालबाट सन्तुष्ट देखिँदैनन् । प्यूठानको विकास र विपद्मा तपाईंले केही गर्नुभएन भनेको सुनिन्छ, के भन्नुहुन्छ ? 
मलाई लाग्दैन, उहाँहरू मसँग असन्तुष्ट हुनुहुन्छ । घरदैलोलगायत विभिन्न चुनावी कार्यक्रममा मैले त्यस्तो भेटिनँ । बरु उहाँहरूबाट माया र प्रेरणा पाइरहेकी छु । उहाँहरूले मलाई मुख्य रूपमा संसद्मा खबरदारी गर्न पठाउनुभएको थियो, त्यो मैले इमान्दारीसाथ निर्वाह गरेँ । नीति निर्माणका निम्ती पनि अग्रसर भएँ । 
संसद्मा खबरदारी, ऐन तथा नीति निर्माणका अलावा मैले प्यूठानको विकासका लागि थुप्रै काम गरेकी छु । थुप्रै रणनीतिक सडकको निर्माणमा पहलकदमी लिएकी छु । भीमगिठे त्रिदेशीय र भालुवाङ–बागदुला मार्गको काम अगाडि बढेको छ । यसबाहेक गाउँमा बाटोघाटो, खानेपानी र स्वास्थ्यका लागि धेरै पहल भएको छ ।

कोरोना कहरले प्यूठानलाई पनि उत्तिकै गाँज्यो । अक्सिजनको अभाव भयो । अक्सिजन प्लान्ट निर्माणका लागि डेढ करोड आवश्यक पर्यो । सीडीओदेखि अस्पतालले मलाई केही गर्नुपर्यो भन्दै सम्पर्क गरे । मैले उहाँहरूलाई रकम माग गरेर एउटा पत्र पठाउनुस् भनेँ । त्यसपछि तुरुन्तै स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गरेँ र पैसा भुक्तानी गर्न लगाएँ । एउटा प्रतिनिधिको हैसियतले स्वास्थ्य सागम्रीको उपलब्धतामा सकेको पहल गरेकी छु । कोरोना कहरमा म आफैँ प्यूठान पुगेँ । सम्पूर्ण प्यूठानको दुःख मर्कासँग एकाकार भएँ । त्यस्तै, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विद्पदमा पनि म उहाँहरूसँगै छु । 

यद्यपि, मैले पाँच वर्ष आफ्नै तरिकाले काम गर्न पाइनँ । यसमा साढे दुई वर्ष त प्रतिगमनविरुद्ध आन्दोलन गर्दैमा बित्यो । दुई–दुई पटक संसद् विघटन भयो । अरु केही नसोचेर पूरै समय काम गर्न पाएको भए अझ धेरै गर्न सकिन्थ्यो । तर, मसँग जति समय थियो, त्यसमा आफ्नो ज्ञान, विवेक र क्षमताले भ्याएसम्म सधैँ प्यूठानको आवश्यकताअनुसार काम गरेँ ।

प्यूठानलाई सन्धीमार्गको बाटोसँग जोड्न एकदमै आवश्यक थियो । त्यसलाई प्राथमिकतामा राखेर संसद् विकास कोषबाट दुईपल्ट ५०–५० लाख छुट्याएँ । त्यसैगरी, खानेपानीलाई प्राथमिकतामा राखेर ट्यांकी निर्माणका लागि सुरुमै ५० लाख छुट्याएँ । संघबाट पाउने बजेटमा प्रतिनिधिहरूलाई मैले सधैँ मेरो लेटर प्याड प्रयोग गरेर बजेट विनियोजन गरेकी छु । त्यसैले, मलाई कसैले कहिल्यै भन्न सक्दैन– संघबाट पाइने बजेट माग्दा दुर्गा पौडेलेले हस्ताक्षर गरिनन् । मैले त्यरी काम गरेकी छु । 

तर, मेरो कामको कहिल्यै प्रचार भएन । विभिन्न पालिकाका लागि बजेट विनियोजन गर्दा कसैलाई कहिल्यै पार्टीबारे सोधिनँ । मैले सिर्फ प्यूठानबारे सोचेँ । 
यति हुँदाहुँदै पनि मैले अगाडि बढाएका सबै कामहरू पूरा हुन सकेका छैनन् । ती काम पूरा गर्नका लागि पनि मैले एकपल्ट फेरि उम्मेदवारी दिएकी हुँ । मतदाताहरूले मलाई फेरि जिताएर काम गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा छ । 

गत वैशाखमा सम्पन्न स्थानीय चुनावको वडागत मतअनुसार प्यूठानमा एमाले बलियो दल हो । जनमोर्चा चौथो स्थानमा छ । एमाले उम्मेदवार सूर्य थापालाई पराजित गर्ने तपाईंको आधार के हो ?

म एक्लै चुनाव लडिरहेकी हुन्थेँ भने चुनावी अंकगणित मान्न सकिन्थ्यो । तर, यहाँ गठबन्धनकी साझा उम्मेदवार हुँ । देशव्यापी रुपमै गठबन्धनको उम्मेदवार भनेको हाम्रो उम्मेदवार हो र हाम्रो उम्मेदवार भनेको गठबन्धनको उम्मेदवार हो । गठबन्धनको उम्मेदवार हामी पाँचै पार्टीको उम्मेदवार हो । नागरिकहरूले पनि हामीलाई स्वीकारि सक्नुभएको छ । यसर्थमा गठबन्धन मेरो जितको प्रमुख आधार हो । 

यहाँ एमाले पहिलो दल भए पनि गठबन्धनसामु ऊ धेरै पछाडि छ । हामी एमालेभन्दा १३ हजार बढी मतले अगाडि छौँ । नागरिकहरूले पनि हार्ने उम्मेदवारलाई भोट दिनुहुन्न । हार्नेलाई भोट दिएर खेर फाल्नुभन्दा उहाँहरूले जित्नेलाई भोट दिनुहुन्छ ।

तपाईं गठबन्धनलाई आफ्नो जितको प्रमुख आधार मानिरहनुभएको छ । तर, गठबन्धनमा सम्मिलित दलहरू प्यूठानमा आफूले टिकट नपाएकोमा रुष्ट छन् । कतिले त सार्वजनिक रूपमा गठबन्धनलाई भोट नदिने उद्घोषसमेत गरेका छन् । यस्तोमा कसरी जित्नुहुन्छ ?

टिकट वितरण नहुँदासम्म हरेक पार्टीभित्र व्यापक असन्तुष्टि देखिन्छ । यो लोकतान्त्रिक पद्धतिमा सामान्य हो । तर, एकपल्ट टिकट बाँढिसकेपछि त्यो असन्तुष्टि थेग्रिएर जान्छ । गठबन्धनमा सम्मिलित दलमा पनि टिकट आफूले पाउनुपर्छ भन्दै केही असन्तुष्टिहरू देखिएका थिए । तर, टिकट वितरणपछि अहिले त्यो असन्तुष्टि छैन । गठबन्धनको उम्मेदवारलाई जिताउनु भनेको आफ्नो पार्टी र पार्टीको अस्थित्वलाई जिताउनु हो भनेर अहिले सबै दलहरू मलाई जिताउन लागिसक्नुभएको छ । 

हामी कहाँ–कहाँ कमजोर छौँ ? कहाँ कुन रणनीतिमा जानुपर्छ ? लगायत विभिन्न विषयउपर अध्ययन गरेर सबैले मलाई सुझाव पनि दिइरहनुभएको छ । वाम घटकहरू जनमोर्चासहित कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी सबै दलका साथीहरू मलाई भोट माग्दै हिँडिरहनुभएको छ। 

तपाईंका प्रमुख प्रतिद्वन्द्वी थापाले भनेका छन्– पौडेलसँग कमरेड मोहनविक्रम सिंहकी पन्ती हुनुबाहेक अन्य कुनै योग्यता छैन त्यसैले, यसपालि उहाँलाई प्यूठानीहरुले जिताउँदैनन् । हो त ? 

चुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई चुनौती दिनु, जित्छु भन्नु सामान्य र स्वभाविक कुरा हो । तर, उहाँले जुन स्तरको भाषा प्रयोग गर्नुभएको छ, त्यसको उहाँको वैचारिक तथा राजनीतिक चेतनालाई उदांगो पार्छ । महिलाप्रति उहाँको दृष्टिकोण कस्तो छ भन्ने कुरा छताछुल्ल भएको छ । उहाँले आफूलाई यहाँको धर्तीपुत्र र महिलालाई भोट किन दिने भन्दै हिँडिरहनुभएको छ । 

उहाँलाई हेक्का रहोस्– दुर्गा पौडेल उहाँकी पत्नी धेरैपछि भएकी हुन् । म उहाँकी पत्नी हुनुभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय थिएँ । २०४० देखि विद्यार्थी संगठनको नेतृत्व गरेर राजनीतिमा आएकी हुँ । एक दशक बढी महिला संघको अध्यक्ष भएर हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी छु । यस्तो महिला जसको आफ्नै पहिचान, त्याग, राजनीतिक सक्रियता र संघर्ष छ, त्यस्तो महिलालाई उहाँले जसरी अपमानित गरिरहनुभएको छ, त्यसले उहाँसँग राजनीतिक चेत र चरित्र छैन भन्ने प्रष्ट पार्छ । 

यति तल्लो स्तरको भाषा प्रयोग गर्ने व्यक्तिलाई मेरो भन्नु केही छैन । बस् यत्ति भन्छु– उहाँले यसको मूल्य चुकाउनुपर्छ । एकदमै नराम्रोसँग चुनाउनुपर्छ । र, त्यो मूल्य चुकाउने दिन आउँदैछ । हेर्दै जानुहोला ।

प्यूठानीहरूले महिलालाई सधैँ सम्मानको दृष्टिकोणले हेर्नुहुन्छ । महिलालाई अपमानित गर्ने व्यक्तिलाई उहाँहरूले त्यसै छाड्नुहुन्न । प्यूठानीहरूले मात्र होइन, मंसिर ४ गते सम्पूर्ण देशले यसको हिसाबकिताब गर्नेछ ।

मंसिर ४ गतेमात्र होइन, उहाँले यसको मूल्य जीवनभर चुकाउनुपर्नेछ । यो रेकर्डमा राख्नुपर्ने कुरा हो । उहाँले बुझ्नुपर्छ, महिलालाई हेर्ने यस्तो दृष्टिकोणले उहाँलाई राजनीतिमा अगाडि बढाउँदैन । यो कुरा उहाँले एकपल्ट होइन, दशपल्ट सोच्नुपर्छ। 

प्रतिद्वन्द्वी थापालाई कति मतले जित्ने आँकलन छ ? 
स्थानीय तह निर्वाचनको मत परिणामअनुसार अहिले सत्ता गठबन्धन र एमालेबीच ११ हजार बढी मतको स्पष्ट अन्तर छ । हामी एमालेभन्दा ११ हजार बढी मतले अगाडि छौँ । । हामी त्यो ग्यापलाई अझ बढाएर जित्छौँ । घरदैलो सुरु गरेपश्चात हामी एमालेलाई १२ हजार बढी मतले जित्छौँ भन्ने आँकलन छ । 

के छन् तपाईंका चुनावी अजेन्डा ? 
यसपालि मेरा मुख्य अजेन्डा शिक्षा, स्वास्थ्य र सडक हुन् । कति ठाउँमा पुल, अस्पताल, विद्यालय तथा सडकहरू छैनन् भने कति ठाउँमा पूर्वाधारमा व्यापक क्षति पुगेको छ । यी विकासका पूर्वाधारलाई हामीले जसरी पनि अगाडि बढाउनु पर्छ । म यी सबैलाई समेटेर आगामी पाँच वर्षका लागि योजना बनाउँदैछु । जुन कुरा सबैभन्दा आवश्यक छ, त्यसलाई पहिला अगाडि बढाउने गरी एउटा प्रतिबद्धतापत्र तयार हुँदैछ । साझा उम्मेदवार भएकाले सबैले यो मेरो प्रतिनिधि हो भनेर भन्नसक्ने गरी काम अगाडि बढाउनेछु ।


Author

थप समाचार
x