विचार-वार्ता

'परिवर्तनको आभास दिलाउन भए पनि मैले मत पाउनु पर्छ'

इकागज |
मंसिर १, २०७९ बिहिवार १४:२६ बजे

काठमाडौँ- मङसिर ४ गते हुने प्रतिनिधि सभ तथा प्रदेश सभा निर्वाचनका लागि आज अन्तिम दिन भएकाले उम्मेदवार प्रचारप्रसारका लागि मतदाताको घरदैलोमा छन् । दुई दिनपछि  हुने निर्वाचनले पाँच वर्षका लागि जनप्रतिनिधि छनौट गर्ने छन् । मध्यरातिदेखि मौनअवधि सुरु भएपछि उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छैनन् ।

निर्वाचनमा सहभागी उम्मेदवारहरू आ-आफ्नै अजेण्डा लागू गर्ने प्रतिबद्धतासहित घरदैलोमा छन् । अहिलेका धेरै उम्मेदवारलाई किन निर्वाचनमा विजयी गराउने र निर्वाचित भएपछि गर्ने कामको बारेमा जानकारीसमेत नहुँदा आफैँ कार्यकारिणी अधिकारी जस्तै आफैँ घोषणा गरिरहेका छन् ।


यस्तै सन्दर्भमा काठमाडौँ ३ (ख) का बागमती प्रदेश सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका ३८ वर्षीय महेश्वर फुयालसँग इकागजकर्मीले गरेको संवादः

निर्वाचन प्रचारप्रसार अभियान तीव्र रुपमा चलाउनु भयो । मतदाताको घरदैलोमा कस्तो प्रतिक्रिया पाउनुभयो ?

यसपटकको घरदैलो अभियानमा मतदाताबाट फरक प्रतिक्रिया पाएको महसुस गरेको छु । यसअघि कुन दलको को उम्मेदवार कस्तो छ भनेर सोध्ने गरिन्थ्यो भने यसपटक त्यस्तो आवाज कतै सुनिएन । देखिएका र नाम सुनिएका उम्मेदवार पनि आएका छन् । तर, यो पटक पृथक प्रतिक्रिया पाइएको छ । राम्रो र सक्षम उम्मेदवारलाई मतदान गर्ने र मतदाताले परिवर्तन खोजिरहेका छन् ।

परिवर्तन भन्नुभयो  मतदाताले विजयी उम्मेदवारबाट कस्तो खालको अपेक्षा गरेका होलान् ?

विकासको मात्र कुरा नगरी नागरिकले दैनिक जीवनमा भोग्ने व्यवहारिक कुरामा परिवर्तन आओस भन्ने छ । महँगी, बजार अनुगमन र सबैलाई स्वास्थ्यमा पहुँचको माग गरेका छन् ।

अनुभवहीन नयाँ उम्मेदवारलाई विजयी गराउनु हुँदैन भनेर विरोध भइरहेको समयमा यस्तो आवाज  किन उठ्यो होला भन्ने लाग्दैन ?

निर्वाचन अघि मतदाताको बीचमा पुग्ने तर निर्वाचन पश्चात नपुग्ने प्रवृत्ति सबै उम्मेदवारले त्याग्नुपर्छ । यस पटक सक्षम र योग्य उम्मेदवार खोजेका छन् । हामी आफैँ सक्षम भएकाले मतदाताको विश्वास हामी माथि छ । युवा उम्मेदवारको खोजी भएकाले पनि आफूले जनभावनाको कदर गर्न सक्छु जस्तो लाग्छ । दलका नेता तथा कार्यकर्ताको व्यवहारले नैराश्यता मात्र प्रदान गरेका छन् । परिवर्तनको आभास दिलाउन भए पनि मैले मत पाउने आशा गरेको छु ।

तपाइले मत प्राप्त गर्न अहिलेसम्म त्यस्तो खास के काम गर्नुभएको छ र जनताले कसरी विश्‍वास गर्ने ?

स्थानीय नागरिकको आवाज सम्बन्धित निकायमा पुर्‍याउँदै आइरहेको छु । प्रत्यक्ष-अप्रत्यक्ष रुपमा आफू उम्मेदवार भएको क्षेत्रमा विकास निर्माणको काममा सहभागी जनाइरहेको छु । उनीहरूको जीवनलाई आय-आर्जनमा जोडेको छु । अबको राजनीतिक नेतृत्त्वमा महिलालाई मुलधारमा ल्याउन सहयोग गरे । आफ्नो उम्मेदवार भएको क्षेत्रमा प्रविधिमैत्रीको विकास गरिने छ । कृषि प्रणालीको विकास र पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी काम गर्नेछु । पर्या पर्यटनको मुद्दा नबन्दा वरिपरिको वातावरण बिग्रेको छ । यसलाई संरक्षण गरी थप पर्या पर्यटकलाई प्रोत्साहन गरिन्छ । समाजमा भएका विभिन्न जातजातिका संस्कृति सरंक्षण हुन्छ । मुख्य गरी नेवार र तामाङको संस्कृति संरक्षण गरी त्यस क्षेत्रमा पर्यटकको आकर्षण बढाइन्छ । उनीहरूको गतिविधिलाई आय आर्जनमा जोड्ने गरी ठोस एजेण्डा तयार गरेका छौ ।

प्रदेश सभा सदस्यको उम्मेदवार बन्नु भएको छ । तपाइको उम्मेदवारीलाई लिएर मतदाताले कसरी बुझ्ने बाध्यता वा रहर ?

दलीय व्यवस्था भएको मुलुकमा रहर र बाध्यता भन्दा यो समयको आवश्यकता हो भनेर बुझ्नुपर्ने अवस्था छ । लामो राजनीतिक संघर्षदेखि आएको दलको प्रतिनिधित्व गर्छु । व्यवस्थामा परिवर्तन ल्यायौ त्यस अनुरूप अवस्थामा परिवर्तन नभएकाले आफ्नो विजयीको आवश्यकता महसुस गर्छु । अवस्था परिवर्तन गर्न हामी युवाहरू लाग्नुपर्ने छ । आजको आवश्यकता भनेको युवाहरू अगाडि बढ्नुपर्छ भन्ने हो । रहर र बाध्यता भन्दा पनि आवश्यकताको परिपूर्ति गर्ने माध्यम म भएको छु ।

यदि तपाइ प्रदेश सभामा विजयी हुनु भयो भने आफूले गर्नुपर्ने काम कर्तव्यको बारेमा जानकारी छ ?

यदि प्रदेश सभा सदस्यमा विजयी भने संविधानले तोकेको भन्दा अन्य काम गर्ने छैन । तीन तहकै सरकारलाई कसरी संयोजन मिलाएर लाने त्यसलाई मुख्य प्राथमिकतामा राखिन्छ । सबै तहको सरकार सञ्चालनमा सहयोग गरिन्छ । विशेष कानून बनाइ कसरी नागरिकलाई सहज हुन्छ त्यसमा ध्यान दिइन्छ । प्रदेश सभा सदस्यको काम भनेको प्रदेश सभाबाट बनाइने नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नु हो । नीतिगत रुपमा जनतालाई अप्ठयारो पर्ने कामलाई सहज गर्नका लागि विशेष पहल गर्छु । समस्या भएमा सुधार गरि नागरिकको दैनिकी सहज बनाइन्छ । जनपक्षीय कानून बनाउन प्रभावकारी भूमिका खेल्नुपर्छ भनेर बिर्सनु हुँदैन । प्रदेशको कानून बनाउन हाम्रो मुख्य भूमिका हुन्छ । तीन तहको सरकारको बिचमा रही समन्वय गरी सहजीकरण गरिन्छ । जनताको विकास निर्माणमा प्रत्यक्ष सहभागी जनाइ सदस्य भएको सहानुभूति गर्नेछु ।

तपाइको उम्मेदवारी आकस्मिक हो वा निरन्तरताको उपज हो ?
मेरो राजनीति दौडलाई लिएर भन्नुहुन्छ भन यसलाई निरन्तरताको उपज हो भनेर बुझ्दा हुन्छ । किनभने म आफैँ करिब दुई दशकदेखि नेपाली राजनीतिमा सक्रिय रुपमा लागिरहेको छु । आकस्मिकता भन्दा पनि विगतदेखि राजनीतिमा खटिरहेको उपज मान्छु । अहिलेको समग्र परिवर्तनको प्रत्यक्षर्शी पनि हुँ । संघर्षको मैदानबाट उठेर अहिले जमिनमाथि उभिइ रहेको छु । त्याग र तपस्याको कारणले पनि मलाई विश्वास गरी मत दिएको हो ।


Author

थप समाचार
x