विचार-वार्ता

इकागज संवाद

एनआरएनएमा केही स्वार्थी होलान्, सबै छैनन्

चन्द्रशेखर अधिकारी |
असोज १८, २०७८ सोमबार १५:११ बजे

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व अगामी तीनसाता भित्र तय भइसक्नेछ । आगामी अक्टोबर २० मा चुनावको मिति तय छ । नेतृत्व चयनलगत्तै विश्वसम्मेलन हुनेछ । राजनीतिक शक्ति केन्द्रहरूलाई सबैले आ–आफ्नै ढंगले रिझाउने गरेका कारण  एनआरएनएमा दलीय ध्रुवीकरणको छायाँ परेको छ । महाधिवेशन प्रतिनिधि चयनको विवाद परराष्ट्र मन्त्रलयसम्म पुगेको छ । प्रतिनिधि चयनको विषयमा तीन सदस्यीय टोलीले छानबिन गरिरहेको छ । एनआरएनएको नेतृत्वका आकांक्षीहरू उम्मेद्वारी घोषणासँगै प्रचारप्रसार तीव्र बनाएका छन् ।

 नेताका घरदैलो चाहारेर रिझाउने र नेतृत्वबाट ‘ग्रीन सिग्नल’ नपाएपछि बहकाउमा कसैलाई खुसी पार्न बागी उठ्ने घोषणा पनि भएकै छ्र । अघिल्लो पटक अध्यक्षमा पराजित भएका कुल आचार्य पुनः मैदानमा आएका छन् । उनलाई गठबन्धन सरकारको औपचारिक साझा उमेदवार भनिएको छ । एनआरएनएभित्र चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न फेरि अध्यक्षमा उमेदवारी दिएको घोषणा आचार्यले गरेका छन् । आचार्यसँग इकागजका चन्द्रशेखर अधिकारीले एनआएन निर्वाचन, यसको नेतृत्व, भित्रि विवाद लगायतका विषयमा संवार्ता :-
 
यसअघिको नै अध्यक्षमा पराजित हुनुभएको व्यक्ति पुनः किन उमेदवारी घोषणा गर्नुभयो ? यहाँले नै नेतृत्व गर्नपर्ने त्यस्तो के छ– एनआएनएमा ?


म गैरआवासीय नेपाली संघ (एनआएनए)को स्थापना अर्थात् बेलायतमा यसले औचापरिकता पाउँदादेखि नै सदस्य रहेर सबै तहमा काम गर्दै आएको व्यक्ति हुँ । अघिल्लो निर्वाचनमा प्राविधिक रुपमा हार व्यहोरे पनि म यसबाट बाहिर छैन । एनआरएनएमा निरन्तर सक्रिय छु । निर्वाचनमा पराजित भइयो भनेर एनआरएनएलाई चटक्क छाडेर आफ्नो व्यवसायमा मात्र केन्द्रित हुने या अन्य विकल्प मसँग थिए तर मैंले एनआरएनलाई अघि बढाउन पर्छ विश्वभरका नेपाली जोडिनु पर्छ भन्नेमा नै क्रियाशील रहेँ ।

साथीहरुको जोड पनि एक पटक बेलायतले नेतृत्व पाउनुपर्छ । नेतृत्व सधैं एकै मुलुकमा मात्र रहनुहुँदैन । आठ वर्ष भन्दा बढि समय त रसियाले नेतृत्व लिएको छ । अब सधैं त्यही नेतृत्वको छायाँ पनि त बनाउन भएन । उहाँहरूले एनआरएनएको नेतृत्व त्यही परिधीमा सीमित हुनुपर्छ भनेर सोच्नुभएको छ । तर नेतृत्वमा हामी वा हाम्रै हुनुपर्छ भन्ने सिन्डीकेट मानसिकतालाई अब बाँकी संसारभरका नेपालीले धक्का दिनेछन् । साँच्चै भन्नुपर्दा यतिबेला एनआरएनए भित्र चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थ देखा परेका छन् । भ्रष्टाचारको विषय  संयुक्त राष्ट्र संघमा पुगेको छ । एनआरएनको टाउको देखाएर धनी भन्नेहरूले गरिबका नाममा आएका रकम जम्मा गरेका छन् । यस्तो विसंगतिलाई चिर्न आवश्यक छ । त्यसमा छानबिन हुन आवश्यक छ त्यस्ता विषयलाई निरुत्साहित गर्न फेरि अध्यक्षमा उमेदवारी दिएको हुँ । यसपटक फत्ते पनि गर्नेछु । संसारभर रहेका नेपालीको माया पाउनेछु ।

यहाँको संकेत रसिया वा संस्थापक अध्यक्षहरू हावी भए भन्ने हो ?

मैंले त्यस्तो भन्न खोजेको होइन । म कोही व्यक्तिप्रति लक्षित गर्न चाहन्नँ । उहाँहरूप्रति मेरो सम्मान छ, तर सधै रसियाबाट नेतृत्व आउनुपर्छ भन्ने सोच राख्न भएन भन्ने मात्र मेरो भनाइ हो । एनआरएनए रसियाको वा त्यहाँ रहेर आफूलाई अघि बढाएकाको मात्र होइन, यो त विश्वभरीका गैर आवासीय नेपाली संगठित भएर बनेको संस्था हो । रसिया बाहिर पनि नेपाली छन् र पालैपालो विश्वका हरेक कुनाले एक पटक नेतृत्व गर्ने अवसर पाउनुपर्छ भन्ने सोच राख्नुपर्छ । कुरा चिल्ला गर्ने तर व्यवहार अर्को गर्ने गर्नु हुँदैन ।

म लोकतान्त्रिक पृष्ठभूमिको मानिस भएकाले होला त्यस प्रकारको उदारता म भित्र छ  । संगठन पनि लोकतान्त्रिक नै बनाउन चाहन्छु । त्यसैले पुनः मैदानमा उत्रेको हुँ । वास्तविक रूपमा भन्नुपर्दा अघिल्लो पटकको नेतृत्व चयनमा म हारेको भने थिइनँ, तर त्यहाँ त्यस्तै गरियो । संस्थाको गरिमालाई ख्याल गर्दै स्वीकार्न बाध्य भएँ । संस्थाप्रतिको लगाव र मर्यादाको कारण त्यो विषयलाई मुद्दामामिलाको विषय पनि बनाइँन । म एनआरएनएमा व्यक्तिका भन्दा पनि संस्थागत एजेन्डाहरू लिएर आएको छु । यस संस्थालाई संसारभर मर्यादित र प्रतिष्ठित बनाउने काममा अग्रसर छु । यो संस्थाको गरिमा र मर्यादाको हामी सबैले ख्याल गर्नुपर्छ । लाखौं सक्षम नेपालीहरु यस संस्थामा जोडिनु भएको छ । तर त्यहाँको ज्ञान, सीप र पूँजी सोचे अनुरूप नेपालमा भित्र्याउन सकिएको छैन । केही त्यस्ता व्यक्तिले आफूभन्दा बुझेको र ज्ञान, सीप भएको मानिस यसमा आउँदा आफ्नो निहित स्वार्थ पुरा हुँदैन भन्ने सोच राखेको पनि देखिन्छ । त्यो उहाँहरूको संकुचित मानसिकता हो । 

नेतृत्वमा आएपछि यहाँले के–के गर्नुहुन्छ त ?

नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकता बारे व्यवस्था गरेको छ । त्यसलाई कानुनमा व्यवस्था गर्नुपर्ने तर्फ ध्यान दिनेछु, गैरआवासीय नेपाली नागरिकतामार्फत विदेशमा रहेका नेपालीलाई पासपोर्टको पनि व्यवस्था गर्नेछु । चिनियाँले विदेशमा रहेका आफ्ना नाागरिकले बच्चा जन्माएपछि पासपोर्ट पठाउँछ हामीले किन नगर्ने  ? अहिले भारतले त्यही सिको गर्दैछ । हामी भने किन खुम्चिने ? नेपालको सम्पत्ति पलायनलाई रोक्न त्यो कानुनी छिद्र बन्द गराउन सरकारलाई सुझाउने काम मेरो नेतृत्वले गर्नेछ ।

गैर आवासीय नेपाली नागरिकताले तपाईंको सम्पत्ति सुरक्षित हुन्छ भन्ने अनुभूति हरेक गैर आवासीय नेपालीलाई सरकारले कानुनी रुपमा व्यवस्थापन गर्नुपर्नेछ । स्वरोजगारीको व्यवस्था, दोहोरो श्रम स्वीकृतिको व्यवस्था, विदेशमा काम गर्न सक्षम बनाएर पठाउनुपर्ने लगायतका विषय छन् । सक्षम बनाएर पठाउँदा अधिक रेमिट्यान्स भित्रिने छ । त्यसैले ७ वटै प्रदेशमा तालिम केन्द्रको व्यवस्था गर्ने र भुटान, म्यान्मार, थाइल्यान्ड तथा मलेसियालगायतका मुुलुकमा लामो समयदेखि बसिरहनुभएका नेपाली मुलका व्यक्तिहरूलाई नेपालसँग जोड्ने लगायतको दर्जानौं एजेण्डा मसँग छन् । साथै मैंले एनआरएनएमा अपाध्यक्ष रहेर औंल्याएका, काम गर्न बाँकी विषयलाई कार्यान्वयनमा ल्याउनेछु ।

सबै खालका समस्यासँग सामना गरिसकेकाले कामको यही सूची भन्दापनि संस्थालाई जीवन्त र गतिशील बनाउन समयसान्दर्भिक कामहरू गर्नेछु । संस्थाको गरिमा र मर्यादा ख्याल गर्दै मेरा अग्रजलाई सम्मान र एनआरएनएमा संलग्न भएर संस्थालाई गतिशील बनाउन भूमिका निर्वाह गरिरहेका नयाँ पुस्ताका लागि अवसर सिर्जना गर्नेछु । यसमा अतिरिक्त श्रम गन्तव्य मुलुकमा नेपालीहरूले भोग्नुपरेका समस्या समाधान गर्नुमा मेरो प्रमुख प्राथमिकता हुनेछ । समग्रमा भन्नुपर्दा संसारभरीका गैरआवासीय नेपालीलाई परेका समस्याको समाधान गर्ने र उहाँहरुले सिकेका सीप, ज्ञान र पुँजीलाई नेपालसँग जोड्ने नै मेरो ध्येय हुनेछ । अक्षय कोष देखि विविध पाटोबाट गरिने कार्य र विगतमा भएका कार्यलाई मैले आफ्नो चुनावी घोषणामा समावेश गरेको छु । कोभिडका कारण रोजगारी गुमाएका हुन या व्यवसायीमा डुबेका सबैलाई प्रोत्साहन गर्ने र त्यसतर्फ फरक प्रकारको पहलकदमी गर्न आवश्यक छ र त्यसतर्फ मेरो ध्यान रहनेछ ।

एनआरएनएमा आर्थिक पारदर्शिताको कुरा पनि त उठ्ने गर्छ । त्यहाँ हुने घोटला अन्तर्राष्ट्रिय श्रम संगठनसम्म पुगेको छ, यसबारेमा यहाँको धारणा के छ ?

नेतृत्वमा रहेकाले आफ्नो जिम्मेवारी पाएको क्षेत्रमा कसले के गरेको भन्ने त स्पष्ट नै छ । तर नेतृत्वले किन कारबाही गरेनन् भन्ने विषय महत्वपूर्ण हो । नेतृत्व आफैंमा खराब त होइन तर कसैको सेकताप वा दबाब रहेको हुनसक्छ । त्यो विषय निर्वाचनको समयमा पक्कै उठ्ने नै छ । त्यहाँ प्रतिनिधी भएर आउनु भएकाले कसले र कसरी यस्तो दुरुपयोग गर्‍यो भन्ने स्पष्ट नै हुनुहुन्छ । म नेतृत्वमा पुगेपछि त्यसमा छानबिन गर्ने मात्र होइन, आगामी दिनमा त्यस्तो कुरा उठ्न नपर्ने गरि त्यसको दोहोरो परीक्षण (क्रसचेक) गर्ने व्यवस्था गर्नेछु । मैंले नेतृत्व गर्दैगर्दा हामीले अपनाउने पारदर्शिता तपाईंहरुले देख्न सक्नुहुनेछ, प्रश्न गर्न सक्नुहुनेछ । मैले बेलायत र यूरोपको राष्ट्रिय र क्षेत्रीय समन्वय परिषद् चलाउँदा होस या युरोप संयोजक हुँदाको विगत नियाल्न सक्नुहुनेछ ।

बद्मासी गर्नेलार्ई छोडेर चुपचाप बस्ने मान्छे म होइन । संस्थाका क्रियाकलाप, हिसाबकिताब पारदर्शिता हुनुपर्छ । जबसम्म आर्थिक पारदर्शिता हुँदैन, तबसम्म यो मात्र होइन कुनै पनि संघ धमिलो भइरहन्छ । त्यसतर्फ म अत्यन्त चनाखो छु । संघमा लेखापरीक्षण भैसकेका अथवा गएका कुराहरुलाई पछाडि गएर कसैलाई दोष लगाउनेभन्दा पनि संस्थामा भएका अनियमितता, दुरुपयोगको छानबिन हुन्छ । अहिले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को पैसा व्यक्तिगत खातामा ल्याएर राखियो, संस्थागत भएन भन्ने जे कुराहरु आएको छ । त्यसको सही र सत्य छानविन हुनुपर्छ । विश्वभरका एनआरएनएको टाउको बेचेर कसैले व्यक्तिगत लाभ लिन्छ भने त्यसलाई कदापि उन्मुक्ति दिन सकिदैंन । 

यहाँंलाई त धेरैले काँग्रेसको उम्मेदवार भन्दा रहेछन् । कांग्रेसले यहाँलाई जिताउन नेताहरू नै खटाएको छ । अझ सत्ता  गठबन्धनको पनि समर्थन पनि रहेको कुरा छ । साच्चै तपाईं काँग्रेसको सहयोग र गठबन्धनको समर्थनबाट नेतृत्वमा आउन खोज्नु भएको हो त ?

मेरो उम्मेदवारी एनआरएनएको हो । म एक लोकतान्त्रिक व्यक्ति हुँ  । त्यही कारणले ममाथि लोकतान्त्रिकहरूले सदासयता राख्नु स्वभाविक ठान्दछु । अहिले मुलुकमा गठबन्धन सरकार छ । त्यही कारण गठबन्धनको एक अर्कालाई सहयोग पक्कै रहन्छ । त्यही सोचबाट एनआरएनए लाई मजबुत बनाएर काम गर्न सक्छ भनेर उहाँहरुले मलाई विश्वास गर्नुलाई सौभाग्य नै ठान्छु । म फेरि पनि भन्छु, म कुनै दल विशेषको नभएर गैरआवासीय नेपाली संघको उम्मेदवार हुँ । पक्कै पनि लोकतन्त्रवादीहरुले मलाई माया गर्नु होला साथ दिनु होला त्यो स्वभाविक यथार्थ हो । म भुइमान्छे नै हुँ । मैंले आफ्नो धरातल भुलेको छैन । त्यही तहबाट आएको एनआरएनएलाई माथि पुर्‍याउने मेरो लक्ष्य हो । संस्थालाई बाहिरबाट अथवा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)बाट कब्जा गर्ने  वा नियन्त्रण गर्ने सोचले हामी कमजोर हुँदै जान्छौं । त्यसकारण राष्ट्रिय समन्वय परिषद्बाट नै हाम्रो जग बलियो बनाउँदै जानुपर्छ ।

चर्को विवादको कारण परराष्ट्रमा परेको उजुरीलाई यहाँले कसरी हेर्नुभएको छ ?

संघमा पदीय दुरुपयोग बढाएर जथाभावी नाम राख्ने काम भएपछि त्यसको निधो गर्ने निकायमा केही साथीहरु पुग्नु भएको हो । त्यहाँ पक्कै पनि छानबिन हुनेछ । विधानलाई अपव्याख्या गरिसकेपछि, विधानभन्दा माथि हुनेगरी नियमावली बनाएर प्रतिनिधि (डेलिगेट्स) चयन गर्न सुरु भएपछि गैरआवासीय नेपाली संघका उपाध्यक्षहरुले ‘नोट अफ डिसेन्ट’ लेखेर त्यही आधारमा उजुरी दिनु भएको हो ।

विधानभन्दा माथि हुनेगरी नियमावली बनाएर प्रतिनिधि (डेलिगेट्स) चयन गर्न सुरु भएपछि गैरआवासीय नेपाली संघका उपाध्यक्षहरुले ‘नोट अफ डिसेन्ट’ लेखेर त्यही आधारमा उजुरी दिनु भएको हो । 

असन्तुष्टि रहँदा रहँदै पनि वर्तमान नेतृत्वले समस्या समाधान गर्नुको साटो एकाएक नामावली प्रकाशित गरेर जुन अन्याय गरेको छ, त्यसलाई सच्याउन आवश्यक छ । मैले बुझेअनुसार विवादबारे तीन सदस्यीय कार्यदल बनेर त्यो समितिले छानबिन गरिरहेको छ । त्यही विवाद सल्टिन सकेन भने समयमा महाधिवेशन अथवा चुनाव तोकिएकै मितिमा हुन्छ कि हुँदैन भन्ने अन्यौल नै छ । त्यस्तो अवस्थामा केही पर धकेलिन पनि सक्छ । 

विवाद समाधानमा यहाँले अन्य केही भूमिका निर्वाह गर्नुहुन्छ कि ?

पहिलो पटक यस्तो अभ्यास एनआरएनएमा भएको देखेको छु । समान्य समस्या त हुन्थ्यो, समाधान पनि निस्कन्थ्यो तर अहिले त तालुकवाला मन्त्रालय मार्फत् नै सम्बोधन गर्नुपर्ने अवस्था छ । सर्वप्रथम त सन् २००५ मा गैर आवासीय नेपाली संघ, युके सुरु भएदेखि नै म यसमा आवद्ध छु । पहिलो बैठकदेखि नै म सहभागी भएको छु । ‘नेपालीको लागि नेपाली’ भन्ने बित्तिकै त्यसले मलाई छोयो र म यो अभियानमा लागें । सन् २००५ मा साधारण सदस्य भएँ । त्यसपछि निर्वाचित हुँदै लगातार सबै तहमा रहँदै उपाध्यक्ष भएँ र अघिल्लो पटक अध्यक्षमा उठेँ । अहिले पनि दोहोर्‍याएर उठ्दैछु ।

यो समयसम्म त अहिले देखिएजस्तो समस्या थिएन । अहिलेको समस्या जुन वर्तमान नेतृत्व तहबाट सिर्जित भयो दुःखी छु । हामी जस्तो दुःख पाएर विदेश गएकाहरूले हामीझैं विदेश गएर उतै बस्नुपर्ने अवस्था नआउने वातावरण बनाउन हामी लागेका हौं । तर स–साना स्वार्थमा लाग्दा यस्ता समस्या देखिन्छन् । संसारभरी रहेका नेपालीहरू समस्या समाधान गर्दै एकीकृत गर्दै नेपालसँग जोड्ने काम गर्न आवश्यक छ । आफ्ना नजिकलाई जिताउन र जित्नको लागि यो तहको बदमासी गरेर सरकारी कर्मचारीले छानबिन गर्नुपर्ने अवस्था निम्त्याउन हुँदैन ।

एनआरएनएले नेपालमा पुँजी भित्र्याउने नारा दिने भन्ने तर यथार्थमा यहाँको सम्पत्ति बाहिर लैजाने काम भैरहेको छ । अझ नेता  र कर्मचारीको कालो धन बाहिर लैजाने भरिया बन्ने काम पनि एनआरएनएले नै गरेका छन् भनिन्छ । यसबारे के भन्नुहुन्छ ? 

कसैले त्यसो पनि गर्नु भएको होला । सबैले राम्रो नै गरेका छन्, गर्छन् भन्ने दाबी म गर्दिनँ । तर म यस्तो विषयबाट निकै टाढा रहेको भुइँ मान्छे हुँ । मेरो ल्याकतले यो कुरा बुझ्न सक्दिनँ । अनि म विधि र प्रक्रियालाई अनुसरण गर्ने व्यक्ति हुँ । मेरो मनमा भएको हुटहुटीले हामीले विदेशमा कमाएका पैसा, सीपलाई नेपालमा ल्याउने हो र नेपालको विकासमा लगाउने हो । यहाँबाट गलत तरिका अपनाएर लैजाने होइन । तर यहाँ भित्रको प्रणाली र सम्पत्तिमाथि सुरक्षाको प्रत्याभूति अत्यावश्यक छ । लगानीको वातावरण निर्माण गर्नुपर्छ । जसले सम्पत्ति बाहिर लगेका छन् त्यस्तालाई हामीले भन्दा पनि सरकारले नै नियन्त्रण गर्नुपर्छ । हामीमा त्यो अधिकार छैन । हामी जनचेतना भने जगाउने छौं ।

गैर आवासीय नेपाली संघमा राम्रा विश्वविद्यालयमा पढाउने विद्वत वर्ग, प्रतिष्ठीत संस्थामा काम गर्नेहरू भन्दा अनेकन उपायबाट विदेश गएका र केही कमाएपछि नेपालमा चिनिन खोज्ने एक प्रकारको मानिसहरू मात्र लागेको जस्तो यहाँलाई लाग्दैन ?

गैर आवासिय नेपालीसंघलाई केहीले मुठ्ठी भित्र राख्ने काम गरेका छन् । एनआरएनएमा संलग्न भएपछि पनि केही विद्वत व्यक्तिहरु बाहिरिनु भएको छ । उहाँहरुले फरक समेत मुभमेन्ट चलाउनु भयो । त्यो चलाउँदा एनआरएनएबाटै चलाउनुपर्छ भनेर रोक्ने र उहाँहरुसँग सहकार्य गर्ने व्यक्ति म नै हुँ । सूर्व सुवेदी, कटक मल्ल, कुमुद धिताल, रामशरण सिंखडा लगायतले अर्कै मुभमेन्ट चलाउन खोज्दा मथ्थर गर्न लण्डनबाट लिभरपुलसम्म एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोलाई लिएर जाने र त्यहाँ सहभागी भएर उक्त फोरम एनआरएनए भित्रकै हो भनेर चिनाउने काम गर्ने व्यक्ति म नै हो ।

एकखाले मानिसहरू आफूभन्दा जान्ने र अध्ययन गरेका मानिसलाई अभियानमा ल्याउँदा पछि पर्छु वा ओझेलमा पर्छु भनेर निरन्तर रोक्ने काममा सक्रिय हुनुहुन्छ ।

यहाँ एकखाले मानिसहरू आफूभन्दा जान्ने र अध्ययन गरेका मानिसलाई अभियानमा ल्याउँदा पछि पर्छु वा ओझेलमा पर्छु भनेर निरन्तर रोक्ने काममा सक्रिय हुनुहुन्छ । म सबैलाई समेट्ने प्रयास गर्नेछु । हामीले कुनै वर्गको मात्र यो संगठन हो भनेर बनाउन थाल्यौँ भने त्यो सबैको संगठन हुन सक्दैन । जसरी समाजमा सबै खाले मानिस अटाएका हुन्छन् त्यसैगरी यस संगठनमा अटाउन सक्नुपर्छ । सम्मानयोग्य व्यक्तिहरूलाई सम्मान गर्नुपर्छ, उहाँहरूको ज्ञान, सीप र अनुभवले अझैं संगठनलाई गति दिन मद्दत गर्छ । नेपालीबाटै लिने अनि आफू मुठ्ठी कसेर बस्ने गर्नु हुँदैन । हामीले सबैलाई उस्तै व्यवहार गर्नुपर्छ ।

खाडीमा श्रमिकले पटक–पटक भनिरहेका हुन्छन्– हामीले त गैर आवासीय संघको नेतृत्व अनि उहाँहरू मार्फत हाम्रा मुलुकका अन्य नेतालाई पनि विदेशी भूमिमा पाल्ने र घर फर्कदा सपिङ समेत गराउन परिरहेको छ भन्छन् ? 

त्यो कतै वा कुनै व्यक्तिले गरेका हुन्छन् होला । नेता भन्ने बित्तिकै जे पनि गरिदिनुपर्छ भन्ने सोच त्यहाँ रहेकाले राखे भने मात्र यस्तो हुने हो । हामीले खाडीमा रहनेलाई श्रमिक भनेर मात्र हेर्नुहुँदैन । खाडीमा अमेरिका, यूरोपका मानिसहरू पश्चिम एसियामा काम गरिरहेका छन् । हाम्रा मानिस दक्ष नहुँदा सामान्य श्रमिक भएका हुन् । कतिपय दक्ष व्यक्तिहरू राम्रो काम गरिरहनुभएको छ ।

श्रमिक दाजुभाइ, दिदी बहिनीहरूको समस्या समाधान गर्ने, उहाँहरू दक्ष बनाउने गैर आवासीय नेपाली संघको प्राथमिकता हो । सकेसम्म स्वरोजगार हुन सकिदैंन । निजी क्षेत्र, नेपाल सरकार र गैर आवासीय नेपाली संघले तालिम केन्द्र खोलेर दक्ष बनाएर मात्र विदेश पठाउन आवश्यक छ । दक्ष श्रमिक विकासका लागि क्रमिक सुधार गर्न सकिन्छ । अनि नेतालाई विदेशमा स्वागत गर्ने, दूतावासलाई नेता विदेशमा भ्रमण गराउने केन्द्रको रूपमा मात्र विकास गराउन नहुने जस्ता कार्यमा लाग्नपर्ने हुन्छ । खाडीमा कार्यरत नेपालीले उठाउनु भएको कुरा गम्भीर छ । त्यो विषयमा सोच्न आवश्यक छ ।

गैर आवासीय नेपाली संघभित्र कसैले स्वार्थ राखेका होलाना तर सबैले स्वार्थ राखेका छैनन् । 

साथै गैर आवासीय संघको नेतृत्वको लागि सबै मुलुकमा रहेकालाई उत्तिकै अवसर दिन आवश्यक छ र खाडी मुलुकमा रहेकाले पनि नेतृत्व लिन सक्छन् भन्ने सन्देश दिन आवश्यक छ । कसैको स्वार्थमा लाग्ने होइन हमी सबैको साझा स्वार्थ मातृभूमिको स्वार्थ हो । गैर आवासीय नेपाली संघभित्र कसैले स्वार्थ राखेका होलाना तर सबैले स्वार्थ राखेका छैनन् । नेपालीलाई विदेशमा रहेका नेपालीसँग जोडेर काम गर्न आवश्यक छ र यो जापान, भारत, चीन दक्षिण केरियाले गरिरहेका छन्, हामी किन नगर्ने ? 

भारत र चीनको अनुसरण गर्ने भन्ने यहाँको धारणा हो ?

पक्कै पनि हो । हामी सुन्दर देशमा रहेर, सुन्दर सोच ल्याउने र विदेशी लगानी भित्र्याएर समृद्ध बन्नुपर्छ । व्यक्तिगत रूपमा त अधिक बाहिर रहनेहरूले आफ्नो व्यवस्था गरिसकेका हुन्छन् । अब मुलुकको लागि जन्मभूमिको लागि केही गर्न खोजेका हुन् । केहीमा स्वार्थ होला, सबैमा छैन । त्यसमा अडेर नै हामी अघि बढ्न सक्नुपर्छ । यसरी मिलेर अघि बढ्दा नै हामी बाँसको घारी जसरी फैलिन सक्छौं, त्यो हामी सबैले ख्याल गर्नैपर्छ । संविधान जारी हुँदा नाकाबन्दी भयो । त्यसमा विदेशमा रहेकाले कसरी डटेर लडे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायतमा भ्रमण हुँदा हामीले त्यहाँ शान्तिपूर्वक विरोध जनायौं । फलस्वरूप उनलाई मूलद्वार भएर जान सक्ने अवस्था भएन । अब सबै स्थानमा नेपाली छन् र नेपाललाई कसैले दबाउन खोज्दा सबै जुरुक्क हुन्छन र त्यो विश्वव्यापी मुद्दा बन्छ । राष्ट्रभक्तिप्रति चीन र भारतले देखाउने सद्भाव हामीले हाम्रो मुलुकमा देखाउनु पर्छ ।

एनआरएनभित्रको र नेतृत्वका समस्याका बारेमा लामो चर्चा भयो । यहाँले आफूलाई नेतृत्व लिनका लागि योग्य छु भनेर पुष्टी गर्ने बलियो आधार के प्रस्तुत गर्नुहुन्छ ? 

यो अभियानमा प्रारम्भदेखि नै सक्रिय रहेकाले यसको उद्देश्य पूरा गर्न र यसअघि बिगारिएका कुराहरू सच्याउन म नेतृत्वमा आउन खोजेको हुँ । मैंले १३–१४ वर्ष एनआरएनएमा विभिन्न भूमिकामा रहेर काम गरें ।

अघिल्लो पटक नै स्वस्थ ढङ्गले निर्वाचन र परिणाम घोषणा गर्न दिएको भए परिणाम मेरो पक्षमा नै आउने थियो भन्नेमा म दृढ छु । त्यसकारण साथीहरूले त्यतिबेला वादविवाद नगरी अर्को पटक नेतृत्वका लागि प्रयास गर्नु नै बुद्धिमतापूर्ण हुने सुझाउनुभयो र सोही अनुरूप मैंले नेतृत्वका लागि दाबी गरेको हुँ । मैंले उठाउँदै आएका एजेण्डालाई सबै साथीहरूले हेर्दै आउनुभएको छ । मैले संस्थाको उद्देश्य अनुसार विधि, प्रक्रियाको पालना गर्दै पारदर्शीता कायम गर्ने र एनआरएनएलाई संस्थागत गर्ने उद्देश्य बोकेको छु ।  साथीहरूको दबाब र आफ्नो आत्मविश्वासका कारण म नेतृत्वमा प्रतिस्पर्धा गर्न लागेको हुँ । संसारभरका गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको लामो समयदेखि साथ सल्लाह र माया पाएको छु ।

सरकार र अन्य सबै सरोकारवालासँग मिलेर मुलुकमा पुँजी, सीप, पर्यटक भित्र्याउने साथै श्रम गन्तव्यमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूको समस्या समाधानका लागि मेरो नेतृत्व क्रियाशील रहने प्रतिवद्धता जनाउन चाहान्छु । 

त्यसका लागि खटिरहेको एक सिपाही हुनुका नाताले पुनः मैदानमा आएको छु । एक पटक सन् २०२१–०२३ को कार्यकालका लागि गैर आवासीय नेपालीहरूकै सद्भावअनुसार गैरआवासीय नेपाली संघको नेतृत्वको लिन मैंले जमर्को गरेको छु । म सबैलाई जोडेर अघि बढ्नेछु । म विजयी भएर आएको खण्डमा नेपाल सरकार र अन्य सबै सरोकारवालासँग मिलेर मुलुकमा पुँजी, सीप, पर्यटक भित्र्याउने साथै श्रम गन्तव्यमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूको समस्या समाधानका लागि मेरो नेतृत्व क्रियाशील रहने प्रतिवद्धता जनाउन चाहान्छु । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x