विचार-वार्ता

भैरव अर्याल आफ्‍नो जीवनबारे लेख्‍छन् : मरणासन्‍न अस्वस्थता र घनघोर गरीबी

इकागज |
असोज २०, २०७८ बुधबार १५:४ बजे

भैरव अर्याल (१९९३ असोज ५ बिहान—२०३३ असोज १९ राति) नेपाली साहित्यको निबन्ध विधाका चार मूल खाँबामध्ये एक । यो असोज महिना उनको जन्म र निधन महिना । ४० वर्ष मात्र बाँचेर नेपाली साहित्यको हास्यव्यंग्य विधामा सर्वाेच्च नाम बनाएका अर्यालको लेखनमा हास्य रस जति प्रचुर छ, जीवनमा करुण–शोक रस उत्तिकै । निबन्ध र कविता, पत्रकारिता र शिक्षा विधामा अर्यालले छोटो समयमा गहकिलो छाप छोडेका छन् ।

भैरव अर्यालका साथी रोचक घिमिरेले भैरवबारेका थुप्रै दस्तावेज संकलन/सम्पादन गरेर ‘शाश्वत व्यङ्ग्यशिल्पी’ पुस्तक तयार पारेका छन् । भैरव पुरस्कार गुठीद्वारा २०७५ को असोजमा प्रकाशित यस पुस्तकमा भैरवका दुर्दान्त लेखन, चिठीपत्र, चित्रावली संकलित छन् । उही पुस्तकबाट यसपटक हामीले उनको ‘बायोडाटा’ साभार गरेका छौँ । सम्पादक रोचकका अनुसार अर्याल स्वयंले यो फाराम भरेका थिए । यहाँ बोल्ड अक्षरमा लेखिएका शब्द भैरवकै हस्ताक्षरमै थिए । यो ‘बायोडाटा’ले हामी धेरैका प्रिय लेखकलाई झनै नजिकबाट चिनाउनेछ । सम्पादक रोचक घिमिरे र प्रकाशक भैरव पुरस्कार गुठीप्रति इकागज आभार प्रकट गर्छ ।


१. नाम : भैरवप्रसाद अर्याल (भैरव अर्याल)

२. ठेगाना : काठमाडौँ, जोरपाटी

३. जन्मस्थान, जन्ममिति, बार तथा राशि : आदित्यबार, १ अक्टुबर १९३८, कुपण्डोल, काठमाडौँ

४. योग्यता : एम.ए. (नेपाली), डिप्.इन जर्नालिज्म, प्रारम्भिक शिक्षणप्रवीण(सी.टी)

५. पेशा : लेखन, सम्पादन

६. मातापिताको नाम : होमनाथ उपाध्याय, खेचकुमारी देवी

७. वैवाहिक स्थिति : विवाहित, विवाह भएको मिति १९५०

  पत्नीको नाम : शोभा अर्याल, छोरा ३, छोरी ३

८. मातापिता वा अन्य कोही कसैबाट आफूलाई परेको छाप तथा प्राप्त प्रेरणा : पिता संस्कृतज्ञ हुनुभएकाले संस्कृत–साहित्यको अध्ययनमा प्रेरित भई संस्कृत मध्यमा पास (१९५३, वनारस संस्कृत कलेज)।

९. आफूले हालसम्म प्रकाशित गरेका किताब, लेख तथा अन्य कृतिहरू (मितिसहित) :

क. राष्ट्रिय आह्वान, उपवन (कवितासङ्ग्रह २)

ख. थुप्रै लामा–छोटा फुटकर कविताहरू एवम् लेख–निबन्धहरू

ग. १. काउकुती, २. जयभुँडी, ३. गलबन्दी, ४. इतिश्री (हास्यव्यङ्ग्य–सङ्ग्रहहरू ४)

घ. सहलेखन– महेन्द्रमाला–६, व्यावसायिक शिक्षा– १, २, ३, शिशु शिक्षा–सामग्री परिचयमाला १–१२ भाग र

ङ. सम्पादन– साझा कथा, साझा निबन्ध, छ्याकन ।

१०. कुनै सामाजिक सङ्घसंस्थामा काम गरेको भए ओहदा तथा मितिसहितका विवरणहरू :

१. ग्रामविकास पुस्तकालय (सचिव)

२. ज्ञानज्योति पुस्तकालय, जोरपाटी (सचिव) १९५५–१९६० ।

३. प्राथमिक शिक्षक सङ्गठन (कार्यसमिति सदस्य) केही समय 

४. नेपाली साहित्य संस्थान (सदस्य)

५. नेपाल पत्रकार सङ्घ (सदस्य, साधारण सदस्य अहिलेसम्म) 

६. नयाँ नेपाल पुस्तक घर, गोकर्ण, दख्खिनढोका (संस्थापक सदस्य र सचिव)

११. क. सबभन्दा पहिले कति वर्षको उमेरमा कुन स्कुलमा कुन सालमा पढेको ?

नेपाल राजकीय संस्कृत पाठशाला, रानीपोखरी, काठमाडौँ १९४८ तिर 

ख. कुन स्कुलबाट कुन सालमा प्रवेशिका पास गरेको ?

(सं. साहित्य) सम्पूर्ण मध्यमा–१९५३, एम.एल.सी १९५८ (प्राइभेट)

ग. कुन महाविद्यालयबाट कुन सालमा : इन्टरमिडियट परीक्षा पास गरेको : १९६६ (प्राइभेट)

बेचलर परीक्षा पास गरेको : (सरस्वती कलेज, लैनचौर)

घ. कुन विश्वविद्यालयबाट कुन सालमा कुन विषयमा मास्टर डिग्री पास गरेको ?

नेपाली, १९७०, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ नेपाल

शिक्षा क्षेत्रमा अन्य कुनै प्रशिक्षण लिएको भए त्यसको विवरण

१. प्रारम्भिक शिक्षाप्रवीण (सी.टी),

२. सेवाकालीन शिक्षण तालिम (कलेज अफ एजुकेशन नर्मल स्कूल)

३. डिप्लोमा (जर्नालिज्म) कलेज अफ सोलिडारिटी, बर्लिन,(जी.डी.आर.)

च. महाविद्यालय र विश्वविद्यालयमा पढ्दा आफूलाई मन परेका दुई शिक्षकको नाम :

प्रा. शेषराज शर्मा रेग्मी (संस्कृत महाविद्यालय) २. ए.याँके (कलेज अफ सोलिडारिटी)

जीवनमा आफ्नो मन परेका कुनै दुई साथीको नाम : 

१. डा.नवराज चालिसे, चाबहिल २, हरिप्रसाद अर्याल, बौद्ध

ज. स्कूल, महाविद्यालय तथा विश्वविद्यालयमा आफ्ना अध्ययनको बेला भएका सांस्कृतिक, खेलकूद, छलफल तथा युनियनसम्बन्धी
कार्यकलापहरूमा भाग लिएका भए सोबारे संक्षिप्त विवरण :

विभिन्न अवसरमा साहित्य सम्मेलनमा भाग लिएको ।

१२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका सभा, सम्मेलन तथा गोष्ठीहरूमा भाग लिएको भए कहिले, कहाँ, के विषयमा, कसबाट आयोजना गरिएको र आफूले कुन हैसियतबाट भाग लिएको हो, त्यसबारे मितिसहितको सक्षिप्त विवरण :

राष्ट्रव्यापी नेपाली साहित्य सेमिनार (नेपाली साहित्य संस्थानद्वारा आयोजित)

१. प्रथम– काठमाडौं, २. द्वितीय– रामपुर, ३. तृतीय– भद्रपुर (साहित्यकार प्रतिनिधिको हैसियतले भाग लिएको), ४. पाठ्यक्रम सम्मेलन– काठमाडौँ,
२०२८

शिक्षक सम्मेलन, पत्रकार सम्मेलन, लेखक सम्मेलन आदि विविध ।

१३. भ्रमण गरिएका विदेशका नामहरू :

भारत, पाकिस्तान, बङ्गलादेश, जर्मनी, प्रजातान्त्रिक गणतन्त्र (GDR)
चेकोस्लाभाकिया, हङ्गेरी, सोभियत सङ्घ (बाटोमा छोएको), मिश्र (बाटोमा)

१४. आफ्नो सार्वजनिक जीवनको संक्षिप्त विवरणहरू (क्रमशः ओहदा र संवत्समेत) :

शिक्षक– २०११–१३, भवानी प्राथमिक स्कूल, कन्धनीडाँडा, पोखरा ।

शिक्षक– २०१३–१५, इन्द्राणी स्कूल, पासिखेल, काठमाडौँ

संशोधक– २०१५–१६, ‘हालखबर’ दैनिक, काठमाडौँ ।

उपसम्पादक– २०१७–१८, सगरमाथा संवाद समिति, काठमाडौँ ।

सहायक सम्पादक– २०१८, गोरखापत्र (गोरखापत्र छापाखाना)

उपसम्पादक– २०२२, गोरखापत्र÷मधुपर्क (गोरखापत्र करपोरेशन– गोरखापत्र संस्थान)

१५. आफ्नो जीवनमा घटेका प्रमुख एक–दुई घटना : 

१. बेलाबेला मरणासन्न अस्वस्थता, २. घनघोर गरीबीसितको निरन्तर युद्ध

१६. आफूले पाएका मानपदवी, अलङ्कार, विभूषण तथा पुरस्कारहरूको विवरण (संवत्समेत) :

१. श्री ५ को सरकारद्वारा निःस्वार्थ साहित्यसेवाबापत नगद पुरस्कार २०२४ र २०३१

२. कविताउत्सव २०२२ मा सर्वप्रथम भई सुवर्णपदक र पुरस्कार पाएको

३. बेलाबेलाका साहित्यिक प्रतियोगितामा प्रथम, द्वितीय

४. शुभ राज्याभिषेक–पदक २०३१

१७. आफ्नो शोख वा मनोरञ्जन बढी केमा ?

१. क्यारिम बोर्ड आदि केही इन्डोर गेम

२. सांस्कृतिक कार्यक्रम

३. भ्रमण

१८. आफ्नो विचार वा दर्शन के ?

आँसु पेलेर हाँसो निकाल्दै सक्रिय जीवन बाँच्नु र सकभर आफू बाँचेको समाजको सेवामा आफूलाई समर्पित गर्नु नै सार्थक बचाइ हो । तर,
आफ्नो विचार आफ्नै निमित्त मृगतृष्णा बनेको छ । आफूले केही गर्न सकिएको छैन ।

१९. आफूलाई मनपर्ने फूल– कमल

मनपर्ने रङ– हरियो

मनपर्ने नम्बर–

मनपर्ने अक्षर (अङ्ग्रेजीमा)– M

मनपर्ने अक्षर (नेपालीमा)–

भैरव अर्याल
विवरण भर्नेको हस्ताक्षर


Author

थप समाचार
x