विचार-वार्ता

गैरसांसद भएर पनि मन्त्री बनेका हमाल भन्छन्

'ए ! देउवाले राम्रै मान्छेलाई मन्त्री बनाएछन् भन्‍ने बनाउनुछ'

सन्तोष अधिकारी |
असोज २२, २०७८ शुक्रवार १७:१२ बजे

हिन्दूवादी अभियानमा लागेका गजेन्द्रबहादुर हमाल कांग्रेसको कोटाबाट आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । बाँकेमा कांग्रेसबाटै राजनीतिमा स्थापित हमाल पछिल्लो एक दशकदेखि कांग्रेसको राजनीतिबाट टाढा छन् । २०५३ –०५६ सम्म  जिल्ला सभापति बनेर बाँके कांग्रेस हाँकेका व्यक्ति हुन् हमाल । त्यसो त कांग्रेस विभाजन हुँदा हमालले शेरबहादुर देउवालाई साथ दिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गैर-सांसदलाई मन्त्री बनाएको भन्दै निकै टिप्पणी गरेको कांग्रेसले अहिले आफैँले गैर-सांसदलाई मन्त्री बनाएको हो । हुन त संविधानतः सांसद नभएको व्यक्ति ६ महिना मन्त्री हुन पाइन्छ ।  

हमाललाई मन्त्री बनाउने विषयमा सत्ता गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताले देउवालाई साथ दिएको देखिन्छ । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका जेठान हुन्, मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहँदा प्रधानन्यायाधीश राणााले पनि भाग खाेजेकाे भनेर आलाेचना भएको थियाे । ऊनै हमालसँग इकागजकर्मी सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी  -


मन्त्री बन्ने भनेर चर्चामा रहेका सांसदहरू जिल्लै भए तपाईं त सांसद नै नभई मन्त्री बन्‍नु भयो नि ?

गैरसांसद, सांसद भन्‍नुभन्दा पनि म नेपालकै संविधानमा भएको व्यवस्था अनुसार मन्त्री भएको हुँ । मैले लामो समय त कांग्रेसको संगठन बनाउन, कहिले कार्यकर्ता भएर त कहिले नेता भएर आफ्नो समय खर्चेको छु । अहिले राज्यकै मन्त्री भएको छु । कुनै लोभमा नपरी काम गर्नेछु आलोचना गर्नेहरूले, ए ! राम्रै मान्छेलाई देउवाले मन्त्री बनाएछन् भन्‍ने बनाउनुछ । 

तपाईं त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कोटाबाट मन्त्री बन्‍नु भयो भन्‍ने आरोप पनि छ त ?

न्यायालय हाँकि रहेको एक व्यक्तिले मलाई कसरी मन्त्री बनाउन सक्छन् ? अनि उहाँले मलाई किन र कसरी मन्त्री बनाउने ? म त कांग्रेसमा योगदान दिएको व्यक्ति मेरो योगदान देखेरै मन्त्री बनाउनु भयो नि । 

कांग्रेस विभाजन हुँदा अहिलेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ दिएकै कारण अहिले तपाईंले मन्त्री पद पाउनु भएको हो त ? 

पार्टी विभाजन हुँदा देउवा नै भनेर हामी उहाँको पछि लागेकै हो साथ दिएकै हो । तर, योभन्दा ठूलो कुरा बाँकेमा कांग्रेसको संगठनको जलमा मलजल गर्ने काम गरेकै भएर म अहिले मन्त्री बन्‍ने हैसियतमा उभिएँ । म त कांग्रेसको संगठन बनाउन ४० वर्षभन्दा धेरै समय खटेको र धैर्यता गरेर बसेको मान्छे पो हुँ त ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनु भयो । देशकै अर्थतन्त्रसँग जोडिएको यो मन्त्रालयको नेतृत्व सम्हाल्दै हुनुहुन्छ खास केही योजना बनाइसक्नु भयो कि ?

अहिले नै त्यस्तो योजना नै भन्‍ने त केही बनाइसकेको छैन । तर, यस क्षेत्रका विज्ञ, अग्रजका कुरा सुनेर सही निर्णय लिँदै काम गर्नेछु । 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x