विचार-वार्ता

भारत भ्रमणबाट फर्किएका महत भन्छन्ः

नेपालको राष्ट्रियता बलियो हुनुपर्छ भन्ने मान्यता बीजेपीको छ

‘नेपालीहरू स्वभिमानी, विश्वासिला र निडर छन् भन्ने हामीले भुल्न हुँदैन’

चन्द्रशेखर अधिकारी |
असोज २७, २०७८ बुधबार २१:१८ बजे

नेपाली कांगेस र भारतीय जनता पार्टी (बीजेपी)बीचको सम्बन्धलाई उचाईमा पुर्‍याउन थालिएको पहल अनुरुप नेपाली कांग्रेसको एक प्रतिनिधि मण्डल नयाँ दिल्ली, लखनउ र बनारस पुगेर फर्केको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । महतको साथमा थिए, पूर्व अर्थराज्यमन्त्री एवं कांग्रेस नेता उदयशमशेर राणा र अर्का नेता अजय चौरासिया । उनीहरु पाँचदिन भारतमा रहँदा बीजेपीका अध्यक्षदेखि अन्य प्रभावशाली नेताहरुसँग छलफल गरे । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथसँग पनि भेटवार्ता गरे । नेपाली कांग्रेससँग जोडिएको बनारस विश्वविद्यालयमा गएर प्रवचन समेत दिएर टोली नेपाल फर्किएको छ । टोली नेता डा. महतसँग भारत भ्रमण कस्तो रह्यो र दुई सत्तारुढ दलबीचको केही अविश्वास चिर्ने काम पनि भयो कि भनेर ? इकागजका चन्द्रशेखर अधिकारीले सोधेका थिए । प्रस्तुत छ, यही सेरोफेरोमा गरिएको संवाद:    

बीजेपीसँग नेपाली कांग्रेसको सम्बन्धलाई थप उचाई दिन भन्दै यहाँको नेतृत्वमा एक प्रतिनिधि मण्डल नयाँ दिल्ली पुगेर फर्किसकेको छ, भ्रमण कस्तो रह्यो ?


बीजेपीको आमन्त्रणमा हामी त्यहाँ गएका हौँ । खासगरी भन्नु पर्दा यो रिटर्न भिजिट नै हो । बीजेपी विदेश विभाग इन्चार्ज विजय चौथाईवालेको नेपाल भ्मणपछि यो भ्रमण भएकाे हो । उहाँको भ्रमण नेपालमा हुँदा यस प्रकारको भ्रमण लगातार हुन सके सम्बन्धमा सुदृढीकरणमात्र होइन, दलबीचको बुझाई पनि स्पष्ट हुनेछ भनेका थियौँ । त्यही अनुरुप भ्रमण भएको हो । समग्रमा भ्रमण अत्यन्त राम्रो रह्यो । एक अर्काको बुझाईलाई थप उचाई दिने काम गरेको छ । कतै अस्पष्टता थियो भने स्पष्ट हुने मौका दुवै पक्षलाई मिलेको छ ।

यो भ्रमणले सम्बन्ध स्थापितमा नयाँ मोड दिन मद्दत गर्ने छ । दुई दलबीचको सम्बन्ध अझ अब्बल र सबल बनाउने विषयमा निकै कुराकानी भएकोबाट पनि त्यो स्पष्ट हुन्छ । म दावाका साथ भन्न सक्छु, यो भ्रमणले नेपाली कांग्रेस र बीजेपीबीच मात्र होइन सरकारी तहमा समेत सकारात्मक अर्थ राख्नेछ । यसको परिणामा देखिन थाल्नेछ । बीजेपी पाटी अध्यक्षदेखि अन्य वरिष्‍ठ तहमा रहेका नेताहरुसँग भेट भयो । तीन घण्टा भन्दा लामो अन्तरक्रिया भयो । नेपालीको कांग्रेसको धारणा, वर्तमान सरकारको अवस्था र भारतीयप्रति नेपाली भाव र नेपाल प्रति भारतीय भाव लगायतमा खुला छलफल भयो । एक अर्काका राम्रा अभ्यासहरु अनुसरण गर्नेदेखि सरकारी तहमा सम्बन्ध निकै बलियो बनाउने कुरा भयो । यस्तो भ्रमणलाई निरन्तरता दिने र सहकार्य बढाउँदै लैजाने विषयमा छलफल भएको छ ।

पार्टी तहको भ्रमण भए पनि सत्तासिन दल हुनाले सरकारतर्फ पनि केही कुरा भयो कि?

पक्कै पार्टीभित्र भएको छलफलसँगै दुवै सत्तारुढ दल हुनाले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भयो । नेपालमा भारत विरोधी कुराहरु आउनु भन्दा अघि नै सरकारी तहमा त्यसलाई समाधान गर्ने विषयमा पनि छलफल भएको छ । भारतको तर्फबाट पनि नेपाल तर्फको सम्बन्धलाई साच्चै संवेदनशिल सम्बन्धको रुपमा लिएर त्यसमा ध्यान दिनु पर्ने कुराहरु भएका छन् । खुला सीमा र आउजाउ सहज रहेको अवस्थामा हुने घटनाले राष्ट्रिय रुप लिएको विषय उठाउँदा त्यो तहमा उठाउन नपर्ने अवस्था कसरी सिर्जना गर्ने भन्नेमा छलफल भएको थियो । समस्यारहित सम्बन्धमा जोड दिने र एक अर्काका असल अभ्यास अनुसरण गरेर सम्बन्ध दरिलो पार्ने काम हुन आवश्यक छ ।

दुई मुलुकबीच विद्यमान विविध मुद्दाहरुमा त खासगरी भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग नै बढि छलफल भयो होला नि ?

पार्टीभित्र पनि कतिपय विषयमा छलफल भएको थियो । तर विदेशमन्त्री जयशंकरसँगको भेटमा त नेपालमा उठेका समग्र मुद्दाहरु राखे । तुइन प्रकरण, नोटबन्दीको कारण सटही हुन नपाएको भारु, सीमा विवाद, लगायत सबै मुद्दाहरु उठाए । उहाँले सबै कुरा सुन्नु भयो । नेपालले उठाएको मुद्दामा किन कुनै छलफल हुँदैन, भारत किन मौन रहन्छ भन्ने जिज्ञसामा उहाँले यस विषयमा बुझेर प्रक्रिया अघि बढाउन लगाउने बताउनुभएको छ । नेपालले पठाएको कूटनीतिक नोटको जवाफसमेत किन नदिएको भन्ने विषयसम्म हाम्रो टोलीले छलफल गरेको हो । भारतीय पक्ष पनि नेपालीसँग राम्रो सम्बन्ध राख्ने र यहाँ उठेका मुद्दाहरु समाधान गर्दै सहजीकरणमा जोड दिने भएका छन् । सीमाको विषयमा वार्ता प्रक्रिया अघि बढाउने, संयन्त्रहरुबीच निरन्तरसम्बन्ध राख्ने जस्ता कुराहरु भएका छन् । तल्लो तहमा हुने मिस्टेकलाई चिर्न दुवै तर्फबाट विशेष ध्यान पुर्‍याउने कुरा पनि भएकाे छ । नेपाललाई खोप उपलब्ध गराउने विषय पनि उठेको थियो । यसमा पनि सकारात्मक हुँदै तत्काल पठाउने जानकारी दिनुभएको छ । नोटहरु पनि नरोकिने र यसको जानकारी दिने काम हुनेछ । नेपालसँगको सम्वन्धलाई निकै चासोमा राखेका छौ । हामीले यस्ता विषय चिर्दै अघि बढ्न आवश्यक छ ।

ईपीजीको कुरा उठाउनु भयो कि ?

मैले इपीजी नै भनेर त उठाइन । समग्र विषयमा ध्यान दिन आवश्यक रहेको कुरा गरे । थाति रहेका र समाधान गर्न पर्ने विषयमा भारतले दतारुकता देखाउन आवश्यक रहेको कुरा राखे । यसमा भारत सकारात्मक देखिएको छ । हामीेले पनि सरकारको कुरा स्पष्ट पारेका छौँ । विदेश मन्त्री जयशंकरले पनि नेपालसँगको सम्बन्धलाई भारतले जोड दिएको र सबै समस्याहरु प्राथमिकताको आधारमा समाधान गर्दै जाने बताउनु भएको छ । त्यसमा काम नै थालिएको जानकारी पनि दिनु भएको छ । हामीले पनि कतिपय विषयहरु सडकबाट होइन टेवलमा राखेर कुरा गर्न पर्ने हुन्छ । त्यसमा हामी पनि चुकेकाले भारतीय पक्षबाट पनि स्थान पाएको हो । कुनै पनि खालको हिनता बोध नगरी हामीले हाम्रो कुरा राख्नुपर्छ । त्यसमा म स्पष्ट छु र राख्ने गरेको पनि छु ।

अनि यता कांग्रेस महाधिवेशन आउँदै गर्दा सम्वन्ध सुधारको प्रयास हुनुले थप केही संकेत गर्छ कि ?

मैले अघि नै भने असल अभ्यासहरु एक अर्कामा अवलम्बन गर्ने हो । यहाँको अधिवेशन आन्तरिक कुरा हो । अधिवेशनमा हामीले भारत, चीनमात्र होइन अन्य मित्र राष्ट्रका राजनीतिक दलका प्रतिनिधि बोलाउने गरेका छौ, बोलाउँछौ । यो भ्रमणलाई आगामी महाधिवेशनसँग जोड्न पर्ने देख्दिन । पार्टीगत छलफल हुँदा कांग्रेस अधिवेशन आउन लागेको कुरा जानकारी गरायौँ । उहाँहरुले सफलताको कामना गर्नुभयो । त्यसबाहेक अन्य के हुनसक्छ र?

अनि उता उत्तरप्रदेशका मुख्य मन्त्री आदित्यनाथसँगको छलफल कस्तो रह्यो ?

नेपालको बारेमा धेरै ज्ञान र जानकार भएको व्यक्ति हुनुहुन्छ आदित्य नाथ । मैले उहाँबाट नेपाल प्रति विशेष फिलिङ रहेको पाएँ । नेपालको सबै पाटो बुझ्नु भएका उहाँले विदेश विभाग इन्चार्जलाई देखाएर भन्नुभएको छ, ‘नेपालको राष्ट्रियता बलियो हुनपर्छ । नेपालीहरु स्वभिमान, विश्वासिला र निडर छन भन्ने हामीले भुल्न हुँदैन ।’ नेपालको राष्ट्रियता बलियो हुँदा भारतलाई पनि राम्रो हुने भन्दै नेपालसँगको सम्बन्धमा ध्यान दिनुपर्ने र आफूले त्यसमा काम गरिरहेको बताउनुभयो । नेपालको विकासमा भारतले गर्न सक्ने मद्दत गर्न आवश्यक छ । बनारस करिडोरले बनारसमा रहेको पशुपतिनाथ मन्दिरलाई असर गर्न सक्ने कुरा पनि उठाएँ । त्यो विषयमा पहिले नै भारतीय पक्ष सजग रहेको जानकारी पाएँ ।

लखनउमा पनि बीजेपी नेताहरुसँग छलपफल भयो । उत्तराखण्डमा एक जिल्ला एक ‘प्रोडक्ट’ कार्यक्रम अघि बढाएको रहेछ । त्यो निकै सफल रहेको भन्दै त्यस्तै कुनै मोडलमा जाने सुझाव पनि दिएको पाए । त्यहाँबाट बनारमा पनि अन्तरक्रिया भयो । बनारस हिन्दु विश्वविद्यालयमा भएको अन्तरक्रियामा नेपालको पछिल्ला अवस्था, भारतसँगको सम्बन्ध लगायतको कुराहरु आए । त्यसमा हामीले जवाफ दियौँ । समग्रमा भ्रमण राम्रो भयो । नेपालसँगको सम्बन्ध राम्रो बताउन पर्छ भन्नेमा भारतीयहरुको ध्यान केन्द्रीत रहेको पाएँ ।

यहाँ त पूर्व परराष्ट्र मन्त्री र पार्टीमा पनि सहमहामन्त्री भइसकेको व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट त भएन छ नि ?

उहाँहरुले जुन प्रकारको कार्यक्रम तय गर्नु भयो त्यसलाई स्वीकार गरियो । हामीले उहाँलाई वा कसैलाई भेटाउनु भनेर आग्रह गरेनौँ । उहाँहरुले नै बुझेर गर्नपर्ने काम हो । कसरी यो तालिकामा हामीले उहाँसँगको भेट पनि मिलाई दिनु भन्नु र ? भनेनौ, सायद उहाँ अन्य कुनै प्रकारको काममा व्यस्त भएर पनि होला । पार्टी अध्यक्ष र विदेशमन्त्री सबैसँग लामो छलफल भएको छ । एक अर्कालाई बुझाउन सफल भयौँ झै लाग्छ ।अगामी दिनमा पनि यो प्रकारको भ्रमण हुने नै छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x