विचार-वार्ता

सम्पादकीय

नखाएको विख नेपाललाई, पहिला डुबेको धान जोगाऊ

इकागज |
कात्तिक ४, २०७८ १७:२८ बजे

मनसुन बाहिरियो र मौसमसम्बन्धी बुलेटिन निकाल्नु पर्दैन भनेको साता नबित्दै देशभर परेको हाँडीघोप्टे वर्षाले अनायासै ८८ जनाको मृत्यु र आजसम्मको आँकडाअनुसार ३० जना बेपत्ता भए । लाखौं हजारौं बिघामा काट्न ठिक्क पारिएका धान सखाप भए । पूर्वदेखि सुदूर पश्चिमसम्मका धनखेत सोत्तर भए । 

मौसम पूर्वानुमान नै फेल खायो । नेपालका मौसमविद्को अनुमान फेल खाएको होइन कि मौसम परिवर्तनले प्रविधिलाई नै असफल तुल्याएको देखिन्छ । गत असार २ गते मेलम्चीमा आएको विनाशकारी बाढी पनि यही मौसम परिवर्तनको एउटा संकेत थियो । किनभने मेलम्चीमा परेको पानी मात्रै थिएन त्यो, पानीसँगै हिमाली क्षेत्रका ढुंगा, माटो र गेग्रान पनि थिए ।


पृथ्वीको तापमान २ डिग्री सेन्टिगे्रडले वृद्धि भइसकेको छ । यो वृद्धिले अनायासै हिउँ पग्लने, समुद्रको सतह बढ्नेमात्र होइन, तुषार क्षेत्र (पर्माफ्रोस्र्ट) का तुषारलाई पनि पगालिदिन्छ । वर्षाैंदेखि ढुंगा, बालुवा, माटो र गेग्रानलाई यही चिसो (तुषार) समातेर राखेको हुन्छ, सिमेन्टले ढलान गरेझैं । तर मौसम परिवर्तनका कारण ती तुषार क्षेत्रमा विस्तारै हिउँ पग्लिरहेका छन् र सानोतिनो पानी पर्दा पनि खस्छन् । पानीको मात्र बाढीले त्यति धेरै असर नगर्ला, तर तुषार क्षेत्र खसालेर बग्ने गेग्रान सबैभन्दा घातक र विनाशकारी हुन्छ ।

मौसम परिवर्तनले ल्याउने समस्या नेपालले मात्र होइन आज सारा विश्वले सामाना गरिरहेको छ । अत्यधिक कार्बनडाइअक्साइड उत्पादन, लाखौंको संख्यामा आकाशमा हवाई जहाजका उडान, प्रदूषण, रासायनिक पदार्थको प्रयोग आदि कारण पृथ्वीको वातावरण बिग्रिँदै गइरहेछ । यसले ओजोन लेयर (पृथ्वीको शिल्ड) मा प्वाल पार्दै गइरहेको छ । वैज्ञानिकहरूले ओजोन लेयरमा असर पुग्ने गतिविधि नियन्त्रण गर्नुपर्ने चेतावनी वर्षाैंदेखि गर्दै आइरहेका थिए ।

अत्यधिक गर्मी हुने देशमा चलाइने वातानुकूलित (एसी), फ्रिज मात्र होइन, बिजुली उत्पादन गर्न सबैभन्दा बढी उपयोग गरिने कोइलाको अत्यधिक दहनले पृथ्वीको तापक्रम २ डिग्रीले बढ्न पुग्यो । विश्वमा खपत हुने कोइलामध्ये आधा जति चीनले मात्र दहन गर्दै आएको छ ।

भारतले २ लाख ८० हजार मेगावाटभन्दा बढी बिजुली कोइलाबाटै निकाल्छ । चीनले पनि आफ्नो कूल ऊर्जामध्ये ६१ प्रतिशत कोइला बालेरै पैदा गर्छ । कूल जडित क्षमता १२ लाख मेगावाट रहेको अमेरिकाले २० प्रतिशत ऊर्जा कोइलाबाटै उत्पादन गर्छ । विश्वमा ऊर्जा उत्पादनमा मात्रै वार्षिक ३३ अर्ब मेट्रिक टनभन्दा बढी कार्बन डाइअक्साइड बल्ने गर्छ । त्यसमध्ये अमेरिकाले सन् २०१९ मा ५ अर्ब मेट्रिक टनभन्दा बढी उत्सर्जन गर्‍यो । चीनले कूल वैश्विक प्रदूषण उत्सर्जनमा २७ प्रतिशत ‘योगदान’ गर्छ भने भारतको अंश ७ प्रतिशत छ । धनी र विकसित देशहरूले आफ्नो आर्थिक समृद्धिलाई विस्तार गर्ने क्रममा गरेको यो ‘कर्म’ को असर गल्ती नै नगरेको नेपालजस्ता देशले पनि भोग्नु परिरहेको छ । 

दसँैलगत्तै नेपालमा परेको हाँडीखोप्टे वर्षालाई मौसम परिवर्तनकै उपज मानिएको छ, जुन नियन्त्रण गर्न नेपालको मात्र वशको कुरा होइन । त्यसको असरबाट जोगिन नेपालले धेरै मेहेनत गर्नुपर्छ । ठूला जलाशययुक्त जलविद्युत् तथा सिँचाइ आयोजना बनाउने, जोखिमयुक्त पहाडी क्षेत्रबाट बस्ती सार्ने, जथाभावी डोजर लगाएर पहाड नकोपर्ने, ठूला नदीमा बृहत् तटबन्ध निर्माण गर्नेजस्ता कृत्यबाट यसको कम क्षति पुग्छ । यसका लागि राज्यले यस्ता संरचनामा व्यापक लगानी गर्नुपर्ने हुन्छ । जुन नेता र कर्मचारीको तलब खान आन्तरिक ऋण लिनुपर्ने अवस्था भएको मुलुकका लागि असम्भवजस्तै हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालले मौसम परिवर्तनको असर सामना गर्न निडरका साथ आफ्नो कुरा भन्न सक्नुपर्छ । आगामी नोभेम्बर १ देखि १२ सम्म संयुक्त अधिराज्यमा हुने कोप २६ (राष्ट्रसंघीय मौसम परिवर्तन सम्मेलन) मा नेपालले आफ्ना धारणा र परेको मर्काबारे प्रस्ट रुपमा राख्नुपर्छ ।

दसँैपछि आएको बाढीमा परेर हजारौं बिघामा लगाइएका र भित्र्याउन ठिक्क पारिएका धान सखाप हुने अवस्थामा छन् । किसानका परिवार एक्लैले खेतका ती डुबेका धान उठाएर ओभानो ठाउँमा राख्न सक्दैनन् । सरकारले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर ती धानको पहिला ‘उद्धार’ गर्न ढिलाइ भइसकेको छ । यति मात्र गर्न सकियो भने त्यत्रो राष्ट्रिय सम्पत्ति कुहिनबाट जोगिन सक्छ ।

त्यसपछि घरबार उठिबास लागेका, घाइत भएका, मृतकका परिवारलाई संघ र प्रदेश सरकारले उचित ‘मुआब्जा’ दिनुपर्छ । बाढी कटान र पीडित क्षेत्रमा सरकारका मन्त्री हेलिकप्टर लिएर जाँदैमा मात्र राज्यको दायित्व पूरा हुँदैन । यस्तो बेलामा पनि प्रदेश सरकारले आफ्नो प्रभावकारी र उचित उपस्थिति देखाउन सकेन, योचाहिँ लाजमर्दाे अवस्था रह्यो । मौसम परिवर्तनको यो भीषण रुप यो एक पटकलाई मात्र होइन, कतिखेर के हुन्छ वैज्ञानिकहरूले पनि भन्न नसक्ने अवस्थामा आगामी दिनमा प्रतिकार्यका लागि तयार रहन राज्यका सबै निकाय सजग हुनैपर्छ ।



Author

थप समाचार