विचार-वार्ता

मन्त्रीज्यूको ११ कपको ट्रे, साबेल अनि दाइ भन्‍नु ल !

चन्द्रशेखर अधिकारी |
कात्तिक २६, २०७८ १५:४५ बजे

परराष्ट्र मन्‍त्री डा. नारायण खड्काको गल्फुटारस्थित निजी निवास (वेद व्यास) मा शुक्रबार बिहान यो पंक्तिकार पुग्दा पौने नौ बजेको थियो । गेट खुल्लै थियो । बेला बेलामा गफिन गइरहने घर हुनाले मलाई त्यहाँ कुनै रोकतोक थिएन । तर, जब भित्र पसेँ, त्यहाँ न सरकारी गाडी थियो, न कुनै गार्ड । अनि मलाई लाग्यो— परराष्ट्र मन्‍त्री हिँडिसके कि क्या हो ! कलंकीदेखि गएको हुनाले मन्‍त्री नभेटी फर्किनुपर्ने भयो भन्‍‍ने पनि एक मन लाग्यो ।

अलि भित्र छिरेपछि देखियो- उनी भित्र कसैसँग गफिँदै थिए । अलिअलि भीडभाड देखेपछि मलाई लाग्यो— यी कार्यकर्ता पंक्ति हुन् । सेवाग्राहीभन्‍दा माथिका ‘लाभग्राही’ हुन् ! आफ्नो मान्‍छे मन्‍त्रीज्यू भएपछि भेटघाटमा आउनु स्वाभाविकै हो । तर, ‘खड्का दाइ’ले हातहाती केही बाँडिहाल्ने वा आश्वासन दिइहाल्ने चाहिँ धेरै देखिएको छैन । 


मन्‍त्रीको घर । न गाडी, न गार्ड । यस्तो देखेपछि कोही त मन्‍त्रीज्यू छैनन् भन्‍दै फर्किएको पनि देखियो । उनीहरूले कसैलाई नसोधी आफैँ अनुमान लगाएर फर्किएका थिए । जसरी सुरुमा त म पनि झुक्किएको जस्तो भएको थिएँ, उसरी नै उनीहरू पनि झुक्किएका थिए ।  

मन्‍त्रीज्यूको जिल्लावासी पनि रहेका मेरा सहकर्मी प्रबिण कटवाल साथमै थिए । मैले सुरुमै उनीसँग भनेथेँ, ‘दाइले आजै बोलाउनु भएको हो । तर खै यहाँ मन्‍त्रीज्यूको निशाना छाप केही देखिँदैन त । गइसक्नु भएछ कि क्या हो ! हामी आइपुग्न त उहाँले दिएको समयमै आइपुगेका छौँ ।’ म यसो के भन्‍दै थिएँ, भित्रबाट हँसिलो मुद्रामा कालो बर्को आढेर निस्कँदै उनले भने, ‘यहाँहरू आउनु भएछ म त भित्र पनि गफिँदै छु । बस्नुहोस् म सानो छलफल सकेर यहाँहरूसँग गफिन्‍छु ।’
हामी आश्चर्यमा पर्‍यौँ । मानिस आउने-जाने गरिरहेका छन्‍ । कसैलाई केही रोकावट छैन । सुरक्षाकर्मी भनेर चिनिने व्यक्ति पनि कोही छैन। 

उनी केही बेर भित्री गफ सकेर बाहिर निस्किए अनि मैले फ्याट्ट भनिहालौँ, ‘दाइको गाडी, गार्ड नदेखेर मलाई त तपाईं मन्‍त्रालय वा मिटिङमा जानुभएछ कि झैँ लाग्यो नि !’ 

प्रतिउत्तर आइहाल्यो, ‘ए भाइ कस्तो ख्याल नगरेको ? म जनताको प्रतिनिधि हुँ, केको डर ? किन गार्ड चाहियो ? गाडी पनि मलाई आवश्यक पर्दा कार्यालय जाँदा लिन आउँछ, अरु समयमा मलाई यस्तो कुराको कुनै मतलब हुँदैन । गाडी-गार्ड कार्यालयमा हो रहने, यहाँ मेरो घरमा के आवश्यक पर्‍यो र ?’

अनि ‘ल चिया खानुपर्छ अब’ भन्‍दै उनी आफैँ भित्र गए । ११ कप चिया ट्रेमा राखेर आफैँले ल्याए । हामीलाई चिया टक्र्याउँदै भने, ‘बिहान अमिलो राखेको चिया पिउनुपर्छ, कागती यहीँको हो ।’ मन्‍त्रीज्यूको सरलता देखेर म त यसै टोलाएँ । अन्‍य मन्‍त्रीकहाँ गएको र उनीहरूको भावभंगी देखेको हुनाले अलिक अनौठै लाग्यो । त्यो देखेपछि अघि पछि सुरक्षा गार्ड लिएर हिँड्ने वडाध्यक्ष र पिर्के सलामीको त झनै याद आयो ।

हामी सञ्चारकर्मीले पनि यस्तो कुराको ख्याल नै नगरेको अनुभूति भयो । उनको जिम्मेवारी (काम) मा के-कस्तो कमी-कमजोरी होला या नहोला तर उनको यो सादगी बसाइको कारण हो कृष्णप्रसाद भट्टराईसँगको संगत । उनी केही मन्‍त्रीझैँ क्वार्टर र घर गरेर बसेका पनि रहेनछन्। अनि कहिले मन्‍त्री क्वार्टर त कहिले घरमा बोलाउने मन्‍त्री पनि सम्झेँ ।

सामान्‍य ढंगले आफ्ना कार्यकर्ता र पाहुनालाई आफैँ चिया-खाजा सर्भ गर्ने शैली साँच्चै प्रशंसा गर्न लायक थियो । यस्तो शैली नेतादेखि हामी सबैमा पलाए के हुन्‍थ्यो होला भन्‍‍ने पनि लाग्यो । बढ्दो बडप्पन, भड्किलो रवाफबीच यस्तो कल्पना स्वयं स्वैरकल्पना जस्तो पनि लाग्न थालिसक्यो अहिले त ! 

उनी मन्‍त्री हुनुअघि यही घरमा यसरी नै आफैँले चिया ल्याएर खुवाएका थिए । मन्‍त्री भएपछि पनि त्यही दृश्य आज देखियो । मन्‍त्री नहुँदा त्यही काम सामान्‍य लाग्ने, मन्‍त्री भइसकेपछि त्यही काम अनौठो लाग्ने हाम्रो सोचमा पनि सायद ठालुपनको अंश हुँदो हो । खैर, आज मन्‍त्रीज्यूले सर्भ गरेको चिया पिइयो भन्‍नुस् !

‘दाइले पाएको सुविधा किन नलिएको ?’ मेरो जिज्ञासा । उनले भन्‍न थाले, ‘यस्ता पद अस्थायी हुन् । मेरो क्षेत्रका साथी या यहाँहरू मेरा स्थायी मित्र हुनुहुन्‍छ । अनि यहाँ त केही समय काम गर्ने हो । काममा ध्यान दिने हो । अगाडि पछाडि सुरक्षाकर्मी लगाएर वा लिएर, त्यो गाडी चढेर केही दिन, केही महिना वा केही वर्ष चढेर के हुन्‍छ ? त्यहाँ काम गर्ने हो । कामका लागि उपयोग भएकै छ ।’

उनले थप अनुभव बाँडे, ‘म पहिला सहरी विकास मन्‍त्री हुँदा पनि यसरी नै बसेको थिएँ । सबैलाई खुला छ । तर भेट्दा समय लिएर आउँदा म भेट्छु । अब, चिन्‍दै नचिनेकासँग त कसरी के कुरा गर्ने र ? औपचारिक कुरा त भइहाल्छ ।’ 

अझै मन्‍त्रालयको ब्रिफिङ पूरा लिई नसकेका परराष्ट्रमन्‍त्री डा. खड्काले आफूले राष्ट्रसंघमा र असंलग्न आन्‍दोलन (नाम सम्मेलन)मा बोलेका विषयलाई नेपाली सञ्चार माध्यम र प्रधानमन्‍त्री स्वयंले मन पराउनु भएको सुनाउँदै भने, ‘अन्‍तर्राष्ट्रिय जगत्मा केही खस्किएका पाटालाई सुधार्न एउटा इँट्टा भए पनि थप्छु, अन्‍तक्र्रिया गराउँछु । म यही लाइनमा मन्‍त्रालयको सारा प्रक्रिया अघि बढाउन लागेको छु । राजदूत नियुक्ति र पदस्थापनको व्यवस्थापन सबै हुँदै छ । भएका भद्रगोललाई मिलाउन समय लाग्छ । पहिला साना-साना कुराबाट सुधार गर्ने हो । त्यहाँ जथाभावी भएको रहेछ, त्यसलाई ‘ट्र्याक’मा ल्याउने काम भइरहेको छ ।’

उनले बेथितिलाई सुधार्न सुरु गरेको बताए । सबैको ब्रिफिङ लिइसकेपछि र केही काम अघि बढेपछि सबै सञ्चारकर्मीलाई बोलाएर आफ्नो कुरा राख्ने उनले सुनाए ।
उनको योजना छ-- नेपालमा केही उच्चस्तरीय भ्रमण गराउने । केही रोकिएका कूटनीतिक प्रक्रियाहरू अघि बढाउने । उनले आफ्नै बारीको अमिलो चिया सुक्र्याउँदै सुनाए, ‘म केही त गरिरहेको छु । आफ्नो सम्पर्क सञ्जाल र परराष्ट्र मन्‍त्रालयका साथीहरूको दैनिक कामबाट केही न केही त हुँदै छ । मुलुकको सार्वभौमिकता र विकासमा आफूले ध्यान दिने हो ।’ पुराना कुराबाट सिक्दै नयाँपनमा जानुपर्ने उनको जोड देखियो ।

कार्यकर्ताले चिया पिएर कुर्सीको साइडमा राखेका ग्लास टिप्दै मन्‍त्री खड्काले भने, ‘म लामो समय बाहिर बसेँ, पढेँ । केही जानेको बुझेको त छु नै । त्यसैले पनि केही न केही त गर्छु । मेरो क्षेत्रको जनताले मलाई माया गरेर यहाँ पठाएका हुन्। म अहिले मुलुकको अन्‍तर्राष्ट्रिय सम्बन्‍ध सुधार गर्ने र बलियो बनाउने जिम्मेवारीमा छु । यो काममा म दत्तचित्तका साथ अघि बढ्नेछु ।’

पहिले नै पुस्तक र विभिन्‍न पत्रपत्रिकामा अन्‍तर्राष्ट्रिय सम्बन्‍ध र विकासको पाटोलाई जोडेर लेखेका उनले नेपालको कूटनीतिक सम्बन्‍धको परिधि र अन्‍तर्राष्ट्रिय चासो बुझेका छन् । कुरा हामीसँग गर्दै थिए तर उनका कान गेटको आवाजतर्फ थिए । गेट बज्नेबित्तिकै त्यतातिर नियाल्ने गरिरहेका थिए । लटरम्म फलेका अम्बा र कागतीको बोटमा आँखा डुलाउँदै भन्‍दै थिए, ‘हामी कमजोर छैनौँ । तर कमजोर मानसिकता राखेका छौँ । लोकतान्‍त्रिक मुलुक भनेको सबैले सबै कुरा राख्ने र एक अर्कामा घुलमिल हुने हो, जसले मुलुकलाई झन् बलियो बनाउँछ ।’ यस्तै कुरा लेख्दा सन् १९९२ तिर राजा वीरेन्‍द्रले आफूलाई भेटेको प्रसंगसम्म उनी पुगे ।

सन्‍त नेताको उपाधि पाएका किसुनजीको छत्रछायाँ तथा माया पाएका उनी आफ्नो क्षेत्रबाट लगातार तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । आफ्नो पार्टीका धेरै नेताले चुनाव हार्दा उनले भने ‘वामपन्‍थी एकता’को नारालाई चिरेर विजयको स्वाद चाखे । अहिले त आफ्नो विज्ञता र रुचिअनुसारको मन्‍त्री पद पनि पाए ।

घरको बगैँचाका छिद्रबाट रापिँदै गएको घाम मुखमा पर्नबाट हातले छेक्दै भने, ‘सबैले आफ्आफ्नो स्थानबाट प्रयास गर्ने हो । त्यो प्रयास भइरहेको छ । कांग्रेसले देश विकास र प्रणालीको आधार बनाउँछ, कम्युनिस्टले त्यही आधार भत्काउँछन् । यस्तै विडम्बनाले यो अवस्था आएको हो ।’ मन्‍त्रीज्यूले आफ्नो हातले घाम छेक्नु र कम्युनिस्ट अर्थात् सूर्य चिह्नतर्फ संकेत गर्नुले दृश्य र शब्दमा एकाकार भाव ल्याइरहेको थियो ।

‘हामी गठबन्‍धन सरकारमा छौँ, सबै मिलेर अघि बढ्नुपर्छ । सबैको तरिका एकै हुँदैन तर आधार एकै हो,’ उनले भने, ‘हामीले राष्ट्रहितलाई नियालेर काम गर्नुपर्छ । विद्वान्‍हरूको धारणालाई बुझेर सबैको सल्लाह र सुझावमा अघि बढ्नुपर्छ ।’

उनले यसो भनिरहँदा आफ्नो क्षेत्रका कार्यकर्तालाई पहिले नै छुट्टै गफ गरेर बिदा गरे । त्यसपछि सायद कुनै क्षेत्रको व्यापारी होलान्, उनी आए चीन जान समस्या भएको सुनाए । विद्यार्थी जान पाएका छैनन् भन्‍दै त्यसमा कुराकानी भइरहेको जानकारी मन्‍त्रीले दिए । अनि उनीहरूलाई पनि बिदाइ गर्दै भने, ‘चीन जान दुबई पुग्नुपर्ने बाध्यता अब रहँदैन । यस्तो कुरा आफूलाई जानकारी नभएर पनि हो । तर, समस्या सल्टाउनेछु ।

त्यस्तै अर्का कार्यकर्ताले अस्ट्रेलियाको पनि प्रसंग निकालिहाले । त्यसमा पनि उनले भने, ‘कुराकानी भइरहको छ । त्यो सल्टिनेछ । कोभिडका कारण भनेपछि अन्‍य कुनै विकल्प नै नहुने हुनाले पनि कतिपय कुराकानीमा असहज भएको छ ।’ सायद ठूलै व्यक्तिले फोन गरेर अवैतनिकको निलो प्लेटमा जोड दिए । त्यही समयमा उनले भने, ‘यहाँहरूले नगरे पनि अन्‍यले यसको दुरुपयोग गरिरहेका छन् । यो दिने कार्य नै गलत थियो । यसलाई सुधार गर्न आवश्यक छ ।’

यहाँ रहेका राजदूत र अवैतनिक दूतको हैसियत एकै हुँदैन भन्‍‍ने शैलीमा उनले घुमाउरो पारामा भने, ‘सदुपयोगभन्‍दा दुरुपयोग भएपछि विकल्प खोज्‍नुपर्छ । विकल्पबारे परराष्ट्र सचिव र शिष्टाचार महापालसँग छलफल भइरहेको छ ।’

कुराकानीकै बीचमा केही व्यक्ति पसे । परराष्ट्रमन्‍त्री आफैँ गेट नियाल्दै साथीहरू आए भन्‍दै गए । अनि पहिले भएका एक मित्रलाई घर अगाडि बगैँचामा उभ्याएर कुरा गर्दै सायद उनकै घरमा पालेका कुकुरले शौच गरेको थियो होला आफैँले साबेल ल्याएर त्यसलाई पर फाहोर राख्ने स्थानमा फाले । अनि ‘मन्‍त्रीज्यू आफैँ यता पनि ?’ कसैले भने । जवाफ थियो, ‘मलाई दाइ नै भन्‍नु, मन्‍त्री त कति हो र ? दाइ त म सधैँ तपाईंको नि ।’ 

यसो भनेसँगै उनले भने, ‘हामी गफिँदै गरौँला, अब म पनि केही खाएर मन्‍त्रालय जानुपर्छ ।’ हामीलाई त्यो सानो जंगलझैँ लाग्ने सुन्‍दर हरियालीयुक्त बगैँचाबाट गेटतर्फ लगेर बिदा गरे । बाहिर आएर त्यो जंगल फँडानी गर्दा छुटेकोझैँ लाग्ने सानो थुम्कोलाई नियाल्दै उनको साधारण शैलीले उनै किसुनजीको बाडेगाउँ याद गरायो । अनि त्यही सुराही, छाता र कन्‍तुरको याद । त्यो तहमा नपुगे पनि अहिलेको तामझाममा उनको यो शैली साँच्चै सरल र लेख्नलायक देखेर नै कूटनीतिक पाटोभन्‍दा पनि उनको भावभंगी र शैलीलाई यहाँ उतारियो ।



Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
ad
x