विचार-वार्ता

वार्ता

अहिले मधेस शान्त हुँदैन : सीके राउत

सुभाष कर्ण |
पुस २३, २०७८ शुक्रबार १९:५६ बजे

जनकपुरधाम । जनमत पार्टीका नेता डा. सीके राउत नेतृत्वमा तराई–मधेसमा भइरहेको प्रदर्शनले आक्रामक रूप लिँदै गएको छ । प्रदेश–२ सहित तराई मधेसका जिल्लाहरूमा किसान प्रदर्शनले जनमत पार्टी किसान वर्गका लागि मसिहा बन्दै गएको छ भने सत्ता सञ्चालकका लागि टाउको दुखाइ बन्न गएको छ । तर अरु राजनीतिक दलहरू राजनीतिक ‘स्टन्ट’का भएको टिप्पणी गर्दैछन् । आन्दोलनका क्रममा गाडीमा आगजनी र तोडफोड जनमतका कार्यकर्ताहरूले गरेका छन् भने प्रहरीको रबरको गोली लागेर करिब आधा दर्जन कार्यकर्ता घाइतेसमेत भएका छन् । वास्तवमा के हो जनमत पार्टीको किसान आन्दोलन र यसको निकासको सेरोफेरोमा रहेर जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतसँग इकागजकर्मी सुभाष कर्णले गरेको कुराकानीको अंश :

स्वतन्त्र मधेस गठबन्धनबाट राजनीतिक गतिविधिमा लागेको तीन वर्ष भयो, कत्तिको प्रगति भएको छ ?


हामीले गएको तीन वर्षमा विधिवत् राजनीतिक रूपमा जनमत पार्टी संगठन गठन गरी गाउँ–गाउँसम्म पुगेका छौं । केन्द्रीय महाधिवेशन गरी अबका निर्वाचन लक्षित गरी पार्टी संगठन विस्तार गरिरहेका छौं । आफ्ना राजनीतिक एजेन्डा जनतासम्म पुर्याइरहेका छौं । 

तपाईं पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारसँग राजनीतिक गतिविधिमा लाग्ने भन्ने सम्झौता गरी गान्धीवादी विचार बोकेर जनमत पार्टी दल गठन गरी राजनीतिमा लाग्नुभएको छ, तर केही दिनदेखि जनमत पार्टीको गतिविधि आक्रामक र उग्र देखिएको छ नि ?  

जनमतको आन्दोलनलाई ‘उग्र’ वा ‘आक्रामक’ भन्ने शब्द यहाँका पत्रकारले लेख्ने शब्द हो, हामी मूलधारको राजनीतिमा आइसकेपछि पनि । किसानहरूले जनमत पार्टीको नेतृत्वमा जुन गर्दैछ, घोषणा अनुरूप शान्तिपूर्ण भइरहेको छ । धनुषा र सप्तरीबाहेक कुनै पनि जिल्लामा आन्दोलनको स्वरूप उग्र देखिएको छैन । तर त्यसको कारक त्यहाँका प्रहरी प्रशासन हुन् । गुडिरहेको गाडीबाट चालकलाई कठालो समातेर एक्कासी निकाल्नु भनेको दुर्घटना हुने झँै आन्दोलन नेतृत्वकर्ता हाम्रो जिल्ला पदाधिकारीहरूलाई प्रहरीले राजनीतिक दबावमा घरबाट समात्ने, आन्दोलनकारी कुटपिट गर्ने, गोली हान्ने लगायतका प्रहरीको व्यापक दमन र दादागिरी घटनाले आन्दोलनको स्वरूप अलि नियन्त्रण बाहिर गई जनता प्रतिकारमा उत्रेको मात्रै हो । आन्दोलन किसानहरूको शान्तिपूर्ण नै हो । 

आन्दोलनको क्रममा आन्दोलनकारीद्वारा गाडीमा तोडफोड र आगजनी गर्नु, प्रहरीद्वारा लाठी चार्ज र गोली प्रहारलाई तपाईंले कुन रूपमा लिनुभएको छ, यो कत्तिको जायज हो ?

हेर्नुस्, हाम्रो पार्टीका कार्यकर्ताले कुनै पनि गाडीमा आगजनी वा तोडफोड गरेका छैनन् । प्रहरीको दमनले आन्दोलन अनियन्त्रित भई जनताको भेषमा गलत तत्वले आन्दोलनलाई बदनाम गर्न यस्तो आपराधिक कार्य गरेका हुन् । तर जनमतको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज र गोली प्रहार लगायतका दमन गर्नु गलत र निन्दनीय हो । राज्यसँग आफ्नो अधिकार माग्ने सबैको संवैधानिक अधिकार हो । मल खाद्य नपाइरहेका किसानलाई आफ्नो अधिकार माग्दा त्यसमाथि राज्य पक्षद्वारा दमन कदापि उचित छैन । जे भए पनि हामी जनताका लागि आन्दोलनमा होमिएका छौँ, माग पूरा नभएसम्म आन्दोलन जारी नै रहनेछ । 

आन्दोलनको दुई साताभन्दा बढी समय भइसक्यो तर कुनै निकास निस्किरहेको छैन, अवस्था झन् तनावपूर्ण बन्दै गएको, आन्दोलनको वर्तमान स्वरूपलाई शान्तिपूर्णमा परिणत गर्न सकिँदैन ?

हाम्रो आन्दोलन शान्तिपूर्ण नै हो र शान्तिपूर्ण नै रहनेछ । आन्दोलनकारीले आफ्नो प्रदर्शन खेत वा चौरमा गर्ने त होइन । एउटा आन्दोलनकारी आफ्ना जायज मागका लागि धर्ना या त सिडिओ कार्यालयमा दिने हो, हाइवेमा वा सिंहदरबार अगाडि कतै न कतै त दिने नै हो । तर पीडित आन्दोलनकारी किसानले हाइवेमा धर्ना दिँदा प्रहरीले लाठी चार्ज गर्ने, गोली हान्ने, गिरफ्तार गरेर झूटा मुद्दा लगाउने लगायतका कार्य गरिरहेका छन । हामी शान्तिपूर्ण नै छौं । यदि जनता अशान्तिमा उत्रियौं भने प्रहरीलाई जतिखेर पनि खेदेर भगाउन सक्छ नि । राज्य पक्षद्वारा सञ्चालित प्रहरी प्रशासनले मात्रै यसलाई तनावपूर्ण अवस्थामा लगिरहेको छ । 

हाल जारी किसान आन्दोलन कसको जनमतको कि किसानको किनकि किसानभन्दा बढी जनमतकै कार्यकर्ता देखिन्छ नि ? 

जनमत पार्टीको नेतृत्वमा भइरहेको किसानकै आन्दोलन हो । यो आन्दोलनलाई नेतृत्व मात्र जनमत गरिरहेको छ, तर सहभागिता मलखाद्य लगायतका समस्याबाट पीडित किसानहरूको छ । जहाँसम्म जनमतको कार्यकर्ता बढी देखिनुको कुरा हो । किसानहरू खेतीमा व्यस्तमा छन् । त्यहीकारण संख्या थोरै देखिएको छ । यदि किसानको किसान नै उठाउने हो, भने भ्रुण हत्याको मुद्दा त भ्रुण हत्या पीडितले नै उठाउनु पर्यो, यस्तो हुँदैन । राजनीतिक पार्टी केका लागि जनताहरूको समस्याका यी मुद्दाहरूकै लागि हो नि । राजनीतिक पार्टीलाई सामाजिक मुद्दाको उतरदायित्व लिनुपर्छ । दशकौंपछि जनमतले पहिलो पटक यस्तो मुद्दा उठाएको हो, यसअघि विभिन्न राजनीतिक दलले सत्ताको कुर्सीका लागि मात्रै उठान गरेको हो । 

किसानको मुद्दामा अन्य राजनीतिक दलभन्दा जनमत पार्टीले नै उठाउनुपर्ने कारण के हो, यो कुनै राजनीतिक स्टन्ट त होइन ? 

 होइन यो कुनै राजनीतिक ‘स्टन्ट’ होइन । जनमत पार्टीका कुर्सीका लागि आएको पार्टी होइन । यदि हाम्रो कुर्सीका लागि राजनीति गर्नु थियो भने १० वर्ष अगाडि नै मन्त्री भइसक्थे । हामी जनताको दुःख–पीडा देखेर आएको कारण तिनीहरूको समस्या समाधान कसरी हुन सक्छ त्यसतर्फ लागेका छौं । जनताको पीडा र एजेन्डा बोकेर हिँड्ने पार्टी छौं कुनै पद वा कुर्सीका लागि होइन । अरु राजनीतिक दलका अध्यक्ष काठमाडौँमा बसेर राजनीतिक गरिरहेका छन, तर हामी जनताको बीचमा बसेर उनको एजेन्डा लिएर अघि बढिरहेका छौं । 

तपाईं पनि अघिका मधेस केन्द्रित दलझैँ जनताको मुद्दा लिएर अघि बढ्नु भएको छ, भोलिका दिनमा तिनीहरू जस्तै जनतालाई छलेर काठमाडौँ केन्द्रित हँुदैन भन्ने त्यसको के ग्यारेन्टी ?

भविष्यवाणीको कुरा नगर्नुस् । दस वर्षदेखि म यही जनताको बीचमा बसेर राजनीति गरिरहेको छु भन्ने कुरा सबैले देखिरहेको छ नि । भविष्यवाणीभन्दा पनि यथार्थको कुरा गरौँ न ।

खानेपानीका प्रमुखलाई अमानवीय दुर्व्यवहारदेखि जारी किसान आन्दोलनका आक्रामक स्वरूपले आलोचकहरूले यसलाई जनमतको यो गतिविधि मधेसमा राजनीतिक प्रभाव बनाउने स्टन्ट रहेको टिप्पणी गरिरहेका छन् त ?

हेर्नुस्, आलोचकको काम नै आलोचना गर्नु हो, यसलाई हामीले अन्यथा लिएका छैनौँ । सत्तामा बसिरहेका विरोधी शक्तिहरूले म मात्रै खान पाउन, मलाई कसैले केही भनोस्, भ्रष्टाचार गर्न पाओस् भन्ने इच्छा राख्नेहरूलाई नराम्रो लागेको छ अरु केही होइन । हामी भ्रष्टाचारको विरोधमा किसानहरूको जायज माग लिएर अघि बढेका छौं । तर सत्तामा बसेका केही राजनीतिक दल किसानहरूको जायज मागविरुद्ध उत्रेका छन, किसानहरू त्यसले डराउँदैन भ्रष्टाचारको विरुद्धमा चिरफार गरेर आफ्ना माग सम्बोधन गराएर नै छाड्नेछ । 

हरेक आन्दोलनको कुनै न कुनै निकास हुन्छ, तर किसान आन्दोलन तनावपूर्ण नै बन्दै गएको छ, यसको निकास के त ?

यसको निकास एक मात्र हो, किसानहरूले मलखाद्यको सहज ढंगबाट समयमा पर्याप्त उपलब्धता, किसान ऐन पारित, किसान कार्ड, किसान पेन्सन र बालीनालीको स्वतः बीमा लगायतका हामीले ११ बुँदा माग राखेका छौं, त्यसको सम्बोधन प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय समितिबाट हुनु पर्यो । 

डा. सिके राउतजी डेढ दशकदेखि मधेसी जनता संघर्ष, विद्रोह र आन्दोलनमै जीवन बिताइरहेका छन, यो अवस्था कहिलेसम्म रहला वा मधेस कहिले शान्त हुन्छ ?

हेर्नुस्, अहिले मधेस शान्त हुँदैन । जहाँसम्म डेढ दशकअघि मधेस जनविद्रोहको कुरा हो, त्यसमा मधेसी जनता आन्दोलन नेतृत्वकर्ताहरूबाट नै ठगिएका छन् त्यसले जनतामा झन् वितृष्ण उत्पन्न भएको छ । जबसम्म मधेसका हरेक वर्ग अधिकार सम्पन्न हँुदैन, तबसम्म शान्तिको परिकल्पना गर्न सकिँदैन । अधिकारका लागि जनताको संघर्ष कुनै न कुनै रूपमा उठ्ने नै छ । भद्रगोल किसिमको लोकतन्त्र र संविधान रहेसम्म स्थायित्व हुने अवस्था देखिँदैन, मधेसी जनतालाई आफ्ना अधिकारका निम्ति संघर्षका लागि तयार रहनैपर्छ ।

अब अन्त्यमा आगामी निर्वाचनका लागि जनमत पार्टी कतिको तयारी अवस्थामा छन् ?

जनमत पार्टी अहिले आगामी निर्वाचनका लागि पूर्ण रूपमा तयारी अवस्थामा छ । निर्वाचनकै हिसाबले हामीले आफ्नो संगठन विस्तार र जनतासम्म आफ्ना कुरा पुरयाइरहेका छौं ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x