विचार-वार्ता

म एक परदेशीको मातृभूमि प्रेम र पलाएका आशा

कृष्ण सादगी |
माघ ६, २०७८ बिहिवार १६:२ बजे

कहिले आउँछ होला त्यो एक दिन ! ‘नेसन बिल्डिङ प्रोसेस’मा परदेशिएको तन, मन, धन अर्थात् जनशक्ति, ज्ञान, क्षमता र अनुभवलाई साँच्चै दरिलो गरी गाँस्न सक्ने राजनीतिक सोच, नीति र नेतृत्व नेपालमा कहिले तयार होला हँ ? 

अझै पनि हरेक दिन हजारौं युवा काम, अवसर, पढाइ र भविष्यको खोजीमा विदेश पलायन हुने क्रम रोकिएको छैन  । कतिपय गाउँघर कर्मशील, ऊर्जाशील उमेर समूहको अभावमा छटपटाउन थालेका छन्  । अध्ययन सकेपछि पनि रोजगारीको अवसर र त्यसमा न्यायोचित एवं प्रतिस्पर्धी ढंगबाट वितरण प्रणाली स्थापित हुन नसक्दा आफ्नो कतै भनसुन र पहुँच नभएकाहरू फर्कनलाई आत्मविश्वास स्थापित गर्न सकिरहेका छैनन्  । 


गैरआवासीय नागरिकता विधेयक संसद्मा लट्किएर बसेको वर्षौंवर्ष भइसक्यो । नेपाली डायस्पोराले समेत आफ्नो सीप, ज्ञान, अनुभव र क्षमता अनि लगानी मातृभूमिको हितमा प्रयोग गर्नलाई यथोचित अवसर र सुरक्षा पाइरहेको छैन भने कसरी पर्याप्त विदेशी लगानी भित्रिन सक्ला र ? 

परदेशिएकाहरूको व्यथा भिन्नै छ । म आफैँलाई पनि कहिलेकाहीँ मसिनो गरी नियाल्छु । काममा हुँदा होस् या घरमा– ‘शिरमा सगरमाथा र छातीमा बुद्ध’को प्रतीक भएको पहिरन मेरो निजी पहिचान बनेको धेरै भइसक्यो  । शिरमा लगाइएको ‘टप अफ द वर्ड’ एभरेस्ट देख्दा कैयौं पटक अमेरिकीहरूले विशेष रुचिपूर्वक चासो प्रकट गर्छन् । त्यही मौकाको फाइदा उठाउँदै नेपाल, सगरमाथा र बुद्धबारे केही आधारभूत कुरो बुझाउन मौका पाइरहेको हुन्छु म । 

हरेक पटक नेपाल जाँदा जुत्तादेखि टोपी र जिन्स पाइन्टसम्म अनि विविध नेपाली टि–सर्टदेखि उच्च हिमालहरूका प्रिन्ट भएका चिया पिउने कपसम्म सबै स्वदेशबाटै ल्याउने गर्छु । नेपाली भाषामा छापिएका वर्षभरिका उत्कृष्ट पुस्तकमध्येबाट आधा दर्जन जति हरेक वर्ष मसँगै यता आउँछन् र वर्षभरि मेरा साथी बन्ने गर्छन् । र, वर्षभरि तीनै पुस्तकभित्र म आफू हराइरहेको हुन्छु । 

बिहान उठ्दै गर्दा समाचार यताको हैन, उतैको सुन्ने बानी नशा जस्तै बनिसकेको छ  । बिहानै पिउने चिया नेपालमै उत्पादित हुने गर्छ । हाम्रो नेपाली हर्बल जडिबुटीको विशेष उत्पादन सन्चो टाउको दुख्दा होस् या रुघा, मेरो स्थापित साथी औषधी हो । अझै पनि कहिलेकाहीँ माइग्रेनले सताउँदा नेपाली डाक्टरले सिफारिस गरेको नेपाली औषधी सेवन गर्ने गर्छु । 

त्यता स्वदेशमा हुने दुखद् सामाजिक घटना, अन्याय अत्याचार एवं अस्वाभाविक राजनीतिक घटनाक्रमहरूले अत्यधिक पिरोल्ने गर्छ । मनमा पीडाबोध हुने त्यस्ता परिघटनापछि कैयौं दिनसम्म निदाउनै कठिन हुने गरी डिस्टर्ब भइरहेको हुन्छु । नेपालको सामाजिक, आर्थिक र शासकीय सुधारका विषय सवालहरूमा हुने हरेक बहस र कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण भरिसक्य सुन्न, हेर्न र सहभागी हुन छुट्दैनन् । छुटून् पनि कसरी– आफ्नो जीवनको ऊर्जाशील समय तिनै विषय क्षेत्रमा प्रतिबद्ध भई काम गरेर डेढ दशक जो स्वदेशको सुशासन र शासकीय सुधारको अभियानमा जोडिएको मन जहाँ पुगे पनि सधैँ आफ्नै साथमा जो छ । 

अर्थात् । ज्यान परदेशमा भए पनि मन सधैँ स्वदेशमै हुन्छ । स्वदेशतिरका खेत, खलियान, खोला, नाला, सुन्दर पहाडी परिदृश्यहरूका तस्बिरहरूले मात्रै पनि मन मोहित बनाइहाल्छ ।  बेला बेला सोच्दछु– म यहाँ के गरिरहेको छु ? आखिर मेरो यो भौतिक शरीर किन यता भौँतारिरहेको होला ? तर, मन सम्हालिन्छ र भन्छ– साइला केही सिक्दैछस् । केही गर्दै गर । चाँडै कुनै एक दिन आउँछ फेरि, त्यो उपयुक्त मौकामा पुनः पहिलेझैं निःस्वार्थ मातृभूमिको सेवामा तैंले फर्कनुपर्छ नै । 

उता आफ्ना हरेक क्रियाकलापमा भ्रष्टाचारलाई बढावा दिने र पद्धति बिथोलेर देश र जनताको भविष्यमाथि जथाभावी रजगज गर्ने केही व्यक्ति र समूह मुलुक र जनताको रगत चुस्ने जुका जस्तै भएका छन् । दुःखको कुरा त के भने, त्यो समूहले हामी जस्ता परदेशमा रहेर पनि देशलाई औधी माया गर्दै भावनाको–देश बाँचेका लाखौंलाख पौरखी नेपालीहरूलाई मरुन्जेल सत्तो सराप गर्न पछि पर्दैनन् । हामी परिस्थिति, रहर र अवसरको खोजीले परदेशमा उछिट्टिएकाहरूलाई पलायनवादी भनेर हेप्न खोज्दछन् । आखिर परदेशी जीवन ‘न घरको न घाटको’ पो हुने रहेछ । 

तर केही छैन, मलाई राम्ररी थाहा छ कि त्यस्तो बिषवमन गर्ने असहिष्णु समूह निक्कै सानो छ । जसरी बोरामा रहेको एकाध कुहिएको आलुले सिंगो बोरालाई दुर्गन्धित बनाउँदै बिगार्न सक्छ, चिन्ता त्यति मात्रै हो कि असल मन र विचारहरू त्यहाँ भित्रभित्रै नबिग्रिऊन् । हामी परदेशिएका र भावनाको देश बाँचेका नेपालीहरूको मनमा गढेको ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसि !’को मर्म र भावना त्यस्ता सोच भएकाहरूबाट कहिल्यै विचलित हुनु हुँदैन पनि ।

पछिल्लो समय डा. गोबिन्द केसीको अभियान लगायत् बृहत् नागरिक आन्दोलनका कार्यक्रम र अलिक अघिसम्म विवेकशील नेपालीका विविध चोटिला कार्यक्रमहरूको पूरै अपडेट हुने गरिन्थ्यो । स्वदेशतिरका पत्रपत्रिकाका धेरै महत्वपूर्ण हेडलाइनहरूले तुरुन्तै चिमोट्ने गर्छन् । विचार पृष्ठमा आउने राष्ट्रिय मुद्दाका वैचारिक आलेखहरू पढ्न थालेपछि कैयौँ पटक मैले समयमा खाना खान पनि बिर्सिएको छु । 

तर, सधैँ सधैँ नेपालाँ केही मठाधीश चरित्रका शासकहरूको बेइमानी र भ्रष्ट प्रवृत्तिका कारण दुःख–कष्ट भोग्न बाध्य निर्दोष र निरीह नेपालीहरूको अवस्था देख्दा पढ्दा र सुन्दा मन चित्त उम्लिएर आउँछ । शासकहरू मुलुक र आफ्ना जनताप्रति इमानदार मात्रै हुन सके मुलुकले काँचुली फेर्न धेरै समय लाग्ने थिएन भन्ने तथ्य बुझेको म जस्तो परदेशीको मन हरेक नकारात्मक घटनाबाट झन् झन् निराश हुन पुग्दछ । भ्रष्टाचार संस्थागत गर्न उद्यत नेपाली शासकहरूको कार्यशैली देख्दा मन असाध्यै पिरोलिने गर्छ । कहिलेकाहीँ त साँच्चै नै मनमा साह्रै नै विद्रोही भाव उत्पन्न हुने गर्दछ । अनि कहिलेकाहीँ चै यसै विरक्तिले ठूलै घर जमाउने गर्छ । 

यता परदेशतिर हामी नेपालीहरूका धेरै संघसंस्था छन् । तर मन भने सधैँ नेपाल जोड्ने संस्थामा मात्रै जोडिन बल गरिरहेको हुन्छ । त्यसैले यता केही वर्षहरू मैले पनि एनआरएन अभियानमा आफ्नो समय श्रम र मिहेनत लगाएँ । तर उही दुःखका साथ भन्नु र लेख्नुपर्ने हुन्छ कि यति धेरै सम्भावना भएको संस्था अमेरिकी नेपाली डायस्पोराको एनआरएन पनि लक्ष्य एकातिर छ तर यात्रा चैं कुम्लो बोकी अर्कैतिर दौडिरहेको देखिन्छ । गर्न सकिने कत्ति धेरै काम थाँती राखेर सधैँ चुनाव, पद र त्यो प्राप्त गर्न जसरी तसरी पनि दल, बल, पैसो, दुष्चरित्रका पात्रहरूको व्यवस्थापनमा अलमल्लिरहेको आभास हुन्छ । 

यता यस्तो संस्थाहरूमा थप विश्वसनीयता बढाउन निक्कै काम गर्न सक्नुपरेको छ । यस्ता संस्थामा आम परदेशी नेपालीहरूको विश्वास र भरोसा बढाउन सकियो र यिनलाई बलियो, सुदृढ, पारदर्शी र व्यवस्थित गर्दै बढीभन्दा बढी मानिसहरूको पहुँचमा पुर्याउन सकियो भने यसको प्रभावकारिता पनि विस्तार गर्न सकिन्छ । र, संस्थाको संख्यात्मक सँगसँगै गुणात्मक क्षमतामा अभिवद्धि गराउन सकेमा स्वदेशमा सुन्न, बुझ्न, महसुस गर्न र भरोसा गर्न सकिने केही परिणाममुखी काम गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त बन्न सकिन्छ । 

प्रचुर सम्भावना बोकेका सामाजिक संस्थाहरू बलियो, भरपर्दो र विश्वसनीय बन्न सकेदेखि मातृभूमिको सेवा संसारभर जहाँसकै रहे बसेर पनि गर्न सकिन्थ्यो होला सायद । त्यही एउटा झिनो आशाले गर्दा लाखौं लाख नेपाली परदेशमा पनि स्वदेशको माया ममता र प्रेमलाई छातीभित्र राम्रैसँग सजाएर राखिरहेकै हुन्छन् । आखिर.. यो मन त हरहमेसा त्यहीँ पुगिरहेकै हुन्छ जहाँ उसको जीवनको सुन्दर बालपन र यौवनको ऊर्जाशील समय व्यतित भएको थियो । 

अस्ति जस्तो लाग्छ तर हेर्दाहेर्दै स्वदेश छाडेको पनि दशक नाघिसकेको छ । हुन त कोभिड महामारीअघि प्रायः वर्षमा एक महिनाजसो स्वदेशतिरै बिताइन्थ्यो । त्यहाँको धुलो माटोको सुगन्ध पनि प्यारो लाग्ने हामी परदेशिएका अनि एकोहोरो माया गरिरहने पागलप्रेमी जस्ता भावनामा नेपाल बाँचिरहेका लाखौंलाख नेपालीहरूको दशकौं यता व्यतित हुँदै जाँदा घरीघरी आफैँलाई प्रश्न गर्न मन लाग्छ– साइला तँ तत्कालै फर्किएर चैं गर्छस् के हँ ? 

यदि तँ पहिले जस्तै घुस भ्रष्टाचार अनि ह्यांकीप्यांकी र तलमाथि गर्न नमान्ने निष्ठामा चल्न र चलाउन खोज्ने भूतपूर्व नेपालीको हैसियतमा फर्किईस् भने नेपालमा तैंले कसरी चैं टिकेर गरिखान सक्छस् ? ‘विधिको शासन’को अवस्था झन्झन् कमजोर र निम्छरो बन्दै गइरहेको छ । इमानदारीपूर्वक गरिखान पाउने अवस्था बन्न बनाउन राज्यका संयन्त्र र नेतृत्वहरू अझै पनि जिम्मेवारीपूर्वक काम गर्न सकिरहेका छैनन् । जताततै दण्डहीनता मौलाइरहेको छ । दल र दलभित्रको पनि सानो गुट उपगुटको नाइके नेताको हालिमुहाली र रजगज यति नराम्रोसँग छताछुल्ल भएको छ नि, देख्दा सुन्दा मन बडो बेचैन हुन पुग्छ । 

यसरी राज्य प्रणालीलाई दलभित्रका मठाधीशहरूको स–साना झुण्डहरूले क्याप्चर गरेको अवस्थामा नेपालाँ तँ जस्ताको के चैं काम छ र हो ? हो यी र यस्ता विधिको शासन, निष्ठा र इमानसँग जोडिएका कैयौं प्रश्नको उत्तर खोज्न थालिरहेको छु म आजकाल । 

हो– अब यी र यस्ता गहन प्रश्नको उत्तर दिन खोज्ने एउटा पुस्ता नेपाली राजनीतिमा बिस्तारै तयार हुन थालेका केही संकेत भने देखापर्न थालेका छन् । विश्वप्रकाश शर्मा र गगन थापाहरू, धनराज गुरुङ र जीवन परियार अनि बद्री पाण्डेहरू जस्ता अलिकति इमानको लडाइँ लड्दै मुलुकको राजनीतिमार्फत सम्पूर्ण शासकीय प्रणालीमा परिवर्तन चाहने जमात बिस्तारै मूल धारको राजनीतिमा स्थापित हुन थालेका संकेतहरूले भने फेरि अलिकति सानो आशा पलाउन थालेको पाउँछु म । 

अब आगामी दिन हेर्नुछ । बडो कुतूहल जागेको छ मनभरि । हामीले आशा गरेको त्यो एउटा पुस्ताको कार्यशैली परीक्षण हुने समय हुन हुन आँटेको छ । तर कताकता मनमा डर र आशंका जीवित नै छ । कतै उनका राजनीतिक गुरु र अग्रजहरूसँगको लामो उठबस, सहकार्य र सम्पर्कले डामिसकेर उनीहरू जस्तै निष्कामी, परिणामविहीन पो बनाइसकेका छन् कि ! माफिया, भ्रष्ट र बिचौलियाहरूको चंगुलभित्र रमाइरहेको मूलधारको राजनीतिक नेतृत्वको संगत र सहकार्यले न तिनीहरू पनि बिटुलिइसकेका पो छन् कि ! 

भित्र मनले भन्दछ– हैन, अवश्य त्यस्तो भइसकेको छैन होला । यी केही आशालाग्दा अनुहारहरूले मिलेर काम गरे भने पक्कै परिवर्तनको अनुभूति हुन सम्भव छ । म आफैँमा सकारात्मक सोचको मनुवा जो परेँ । आशा गर्न र सकारात्मक सोच्न त पाइन्छ नि हैन र ?

ए ! नयाँ पुस्ताका आशालाग्दा ठानिएका नेताहरू हो ? मातृभूमिका लागि केही गरौं भन्ने सपना बोक्दै परदेशिएर पनि भावनामा नेपाल बाँचिरहेका हामीजस्ता हजारौं लाखौं नेपालीहरूको मर्म र भावना बुझ्न सक्ने हैसियत तिमीहरूमा छ कि छैन हँ ? साँच्चै भन्नुपर्दा ‘नेसन बिल्डिङ प्रोसेस’मा परदेशिएको तन, मन, धन अर्थात् जनशक्ति, ज्ञान, क्षमता र अनुभवलाई साँच्चै दरिलो गरी गाँस्न सक्ने राजनीतिक सोच, नीति र नेतृत्व नेपालमा कहिले तयार होला हँ ? 


Author

थप समाचार
x