विचार-वार्ता

अब मार्खेज नै पात्र भएको पुस्तक पनि पढ्नुस्

नीरज लवजू |
फागुन २८, २०७८ शनिबार १७:३२ बजे

गाब्रियल गार्सिया मार्खेजलाई चिन्ने धेरै आयाम छन् – ‘हन्ड्रेज इयर्स अफ सोलिच्चुड’, ‘लभ इन द टाइम अफ कोलेरा’जस्ता विख्यात उपन्यास लेख्ने उपन्यासकार। साहित्यमा म्याजिकल रियालिज्मको शैली भित्र्याउने कलमबाज । विश्व साहित्यमा ल्याटिन अमेरिकी समाज पस्कने पक्का ल्याटिन अमेरिकी । फिडेल क्यास्ट्रोका प्रिय मित्र । अनि, धेरै मानिसका प्रिय गाबो ।

२०१४ को अप्रिलमा मार्खेजको ८७ वर्षको उमेरमा निधन भयो । त्यो वर्षको मार्च महिनामा उनलाई रूघाखोकी लागेको थियो । त्यसो त औसत मान्छेलाई जस्तै मार्खेजलाई पनि बेलाबेला रुघाखोकी लागिरहन्थ्यो । उमेर बढ्दा स्वास्थ्यमा केही न केही समस्या आइरहनु उति अस्वाभाविक पनि होइन । त्यसकारण, आधा शताब्दीदेखि मार्खेजसँगै जीवनरथ अघि बढाइरहेकी उनकी पत्नी मर्सिडिज बार्काले उनको अस्वस्थतालाई सामान्यरूपमा लिन खोज्दाखोज्दै पनि यो पटकको बिसन्चो पहिलाभन्दा अलिक फरक अनुभव गरेकी थिइन् । स्वास्थ्य परीक्षणका क्रममा देखिएको निमोनियालाई चिकित्सकहरूले अन्ततः फोक्सोको क्यान्सर भएको पुष्टि गरे । 


चिकित्सकले मार्खेजलाई अन्तिम चरणको क्यान्सर लागेको प्रमाणित गर्दा मर्सिडिज आफँै भने अमेरिकाको लस एन्जलसमा नियमित स्वास्थ्य परीक्षणको क्रममा थिइन् । मर्सिडिज आफैँले पनि क्यान्सरलाई दुई पटक जितिसकेकी थिइन् । मार्खेज र मर्सिडिजका दुई छोरामध्ये जेठो लस एन्जलसमा चलचित्र निर्देशनको काम गर्छन् भने कान्छो पेरिसमा बस्छन् । 

आमाको स्वास्थ्य परीक्षणमा जेठो छोरा लागेका थिए भने कान्छो बुबाको हेरविचारका लागि मेक्सिको सिटी पुगेका थिए । (मार्खेजको जन्म कोलोम्बियामा भए पनि उनका अन्तिम दिन मेक्सिकोमा बितेको थियो ।) 

रुघाखोकी ठानिएको मार्खेजको स्वास्थ्य समस्या अन्तिम चरणको क्यान्सर भएको पुष्टि भएपछि परिवार अन्यमनस्कमा पर्‍यो । ‘के गरूँ कसो गरूँ ?’ उनीहरूलाई त्यस्तै लाग्यो जस्तो सबै मानिसलाई लाग्ने गर्छ । चिकित्सकले सल्लाह दिए, ‘अब उनलाई घरमा लगेर आराम गराउनुहोला । जे गर्नुपर्छ गर्नुहोला, तर अस्पताल चाहिँ नल्याउनुहोला । अस्पताल ल्याए तपाईंहरूलाई खर्चले नै सिध्याउनेछ ।’ 

मेक्सिकोमै बस्ने मार्खेजका सम्धी (जो चिकित्सक हुन्) ले आफ्नो ज्वाइँंलाई भने, ‘अस्पताल नधाउनू । त्यसो गर्दा बुबालाई पनि सजिलो हुन्छ अनि तिमीहरूलाई पनि ।’

त्यही पृष्ठभूमिमा जन्मिएको कृति हो, ‘अ फेरवेल टु गाबो एन्ड मर्सिडिज, अ सन्स मेमोआएर’ । लेखक – रोड्रिगो गार्सिया, मार्खेजका ज्येष्ठ पुत्र । 

रोड्रिगोको जन्म कोलोम्बियामा भयो । उनी मेक्सिको सिटीमा हुर्के । हार्वर्ड विश्वविद्यालयमा पढे । पटकथा लेखक र चलचित्र निर्देशक बने । परिवारसँगै उनी लस एन्जलसमा बस्छन् । 
 

 

मार्खेजलाई संसारका पाठकहरूले उनका पात्रहरूमार्फत चिनेका छन् । कतिले उनका अन्तर्वार्ता र उनीबारे लेखिएका आलेख, जीवन परिचय र संस्मरणबाट केही औपचारिक र केही अनौपचारिक कुरा जानेका छन्

मार्खेजलाई क्यान्सर पुष्टि भएपछि रोड्रिगोले धेरै पटक मेक्सिको सिटी र लस एन्जलस ओहोरदोहोर गरे । उनी मार्खेजको अन्तिम समयमा मेक्सिको सिटीमा सँगै थिए । मार्खेजको निधनपछि उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न आयोजित शोक सभामा सहभागी बने । समवेदना व्यक्त गर्न आएका आफन्त, शुभचिन्तक र पत्रकारहरूसँग समय बिताए । केही महिनाको छोटो अवधिमा रोड्रिगोले बिताएको समय र गरेको मानसिक यात्रालाई यो सानो काँटीको किताबमा लिपिबद्ध गरिएको छ ।

मार्खेजलाई संसारका पाठकहरूले उनका पात्रहरूमार्फत चिनेका छन् । कतिले उनका अन्तर्वार्ता र उनीबारे लेखिएका आलेख, जीवन परिचय र संस्मरणबाट केही औपचारिक र केही अनौपचारिक कुरा जानेका छन् । तर, मार्खेजलाई ज्यादै नजिकबाट अनुभव गरेका रोड्रिगोले जीवनका अन्तिम दिन गन्ती गर्दै गरेका लेखकबारे लेखेको यो कृतिमा मार्खेज अझ नजिकबाट निखारिएका छन् । विस्मृतिका रोगी मार्खेजलाई कसरी छोटो अवधिमै क्यान्सरले गलाउँदै लग्यो, तथापि उनले ती दिन कसरी खिरिलो गरी बिताए भन्नेबारेको यो अभिलेख मार्खेजका व्यक्तित्वका आयाम नियाल्ने आँखीझ्यालजस्तै छ ।

पुस्तकमा क्यान्सरसँग अन्तिम लडाइँ लड्दै गरेका मार्खेजको वर्तमानको लिकमा बसेर रोड्रिगोले विगतको यात्रा गरेका छन् । दिनानुदिन कमजोर बन्दै गएका मार्खेजको शरीरलाई छेउको शय्यामा नियाल्दै रोड्रिगोले उनीसँग बिताएका समयको स्मृतिका पाना पल्टाउँदै गएका छन् ।

मार्खेजले पटकपटक आफ्ना किशोर छोराहरूलाई भनेका थिए, ‘नयाँ सहश्राब्दीको आरम्भ हामी सबै यसरी नै सँगै बसेर गर्नेछौँ ।’ सन् २००० मा उनी ७२ वर्षका भए । रोड्रिगो चालीसका । नयाँ सहश्राब्दीको स्वागतपछि पनि उनी चौध वर्ष बाँचे । मार्खेज डिमेन्सियाको रोगी बन्नुअघिको उनको जन्मदिनमा रोड्रिगोले बुबालाई सोधे, ‘रातको अन्धकारमा हिजोआज तपाईं के देख्नुहुन्छ, बुबा ?’ 

‘अब सबै सकियो जस्तो लाग्छ,’ मार्खेजले भने । एकैछिनपछि मुस्काउँदै थपे, ‘तर, अझै समय छ । अहिले नै त्यति आत्तिनु पर्दैन जस्तो लाग्छ ।’ मार्खेजको त्यो उत्साह छोराहरूको मन शान्त बनाउन मात्र थिएन । बरु मनभित्रैदेखि पलाएको जीवनप्रतिको उत्साह थियो, रोड्रिगो यसै भन्छन् । मार्खेज क्यान्सरको रोगी भएको पुष्टि भएपछि रोड्रिगो त्यही विगत सम्झँदै आफैँलाई सोध्छन्, ‘के यो सबै अन्तिम समयको सुरुआत हो ?’ 

मार्खेज कुनै गम्भीर रोगले थला परेको कुरा एक कान दुई कान हुँदै पत्रकारको कानमा पुग्यो, पछि चियोचर्चा र चासो सुरु भयो । मर्सिडिजलाई आफ्नो निजी जीवनभित्र कसैले चियाएको पटक्कै मन पर्थेन । अस्पतालबाट मार्खेजलाई घर ल्याइयो र उनलाई घरमै चिकित्सक एवम् नर्स सेवासहित सहज बन्दोवस्त गरियो ।

०००

एक जना लेखकको निम्ति जीवनमा सबभन्दा प्रिय कुरा के हुनसक्छ ? अझ मार्खेजजस्ता लेखेरै जीवन बिताएका मूर्धन्य लेखकले कहिल्यै गुमाउन नचाहने कुरा के हुनसक्छ ? 

हो, पाठक ! तपार्ईंले सही अनुमान गर्नुभयो । लेखन । 

एकजना लेखकले कहिल्यै गुमाउन नचाहने कुरा लेख्ने क्षमता हो । यदि मृत्युपछि पनि लेख्न सकिने भए मार्खेज मृत्युलाई घृणा गर्ने थिएनन् । उनी मृत्युलाई एउटै कारणले घृणा गर्छन्– मृत्युपछि लेख्न सकिन्थेन । 
लेखन र आफ्नो जीवनको अन्तरनिर्भरताबारे मार्खेज कुन हदसम्म गएका छन् भने उनले भनेका छन्, ‘यदि तिमी नलेखी बाँच्न सक्छौ भने नलेख ।’ अनि उनको निम्ति सुन्दरताको अर्थ पनि लेखनमै छ । उनले भनेका छन्, ‘सुन्दर ढङ्गले लेखिएका कुराजति सुन्दर अरू केही हुनसक्दैन ।’ 

रोड्रिगोले पुस्तकमा मार्खेजका अन्तिम दिनको सूक्ष्म व्याख्या गरेका छन् । शारीरिकरूपमा कमजोर र विस्मृतिको समस्याले गाँज्दै लगे पनि मार्खेजले आफ्नो वरपरको परिवेशभित्रै पनि खुसी खोज्ने बानी कहिल्यै छोडेनन् । आफ्नो सेवामा आउने नर्सहरूसँग जिस्कँदै आफ्ना अन्तिम दिनहरू पनि हास्यचेतले पूर्ण बनाएका थिए, मार्खेजले ।

 

मार्खेज कुनै गम्भीर रोगले थला परेको कुरा एक कान दुई कान हुँदै पत्रकारको कानमा पुग्यो, पछि चियोचर्चा र चासो सुरु भयो । मर्सिडिजलाई आफ्नो निजी जीवनभित्र कसैले चियाएको पटक्कै मन पर्थेन ।

पुस्तकमा रोड्रिगोले लेखकको लेखन समय र बानीबारे चर्चा गरेका छन् । उनी कसरी आफ्ना पात्रहरूसँग डुब्छन् वा निमग्न हुन्छन् भन्नेबारे छोराको सम्झना पढ्दा लाग्छ– कोही कसरी लेखक बन्न सक्छ ! 

रोड्रिगोको पुस्तकमा मार्खेजसँगै समानान्तर हिँडेका अर्का एक पात्र छिन् – मर्सिडिज । मर्सिडिजलाई गाबो (मार्खेज) ले विवाह प्रस्ताव गर्दा दुवै भर्खर किशोरवयमा टेकेका थिए । पछि एक दिन उनीहरूको विवाह तय भयो । तर, मार्खेजप्रति मर्सिडिजको अविश्वास यति गहिरो थियो, उनी विवाहस्थलमा विवाहमा लगाइने वस्त्र नै नलगाई पुगेकी थिइन् । 

खासमा मार्खेज साँच्चै विवाहको लागि आउने कुरामा मर्सिडिजको विश्वास थिएन । त्यो सम्बन्ध पचास वर्षभन्दा लामो समय चल्यो । मार्खेजका जीवनका आरोह अवरोहका उनी साक्षी बनिन् । लगातार चुरोटका लती मर्सिडिजलाई जीवनले निकै सहनशील बनाएको थियो । 
मार्खेजले अन्तिम समय बिताउँदै गर्दा उनी यति धैर्यवान् बनिसकेकी थिइन्, उनले मार्खेजको वियोगलाई भावुकताभन्दा पनि वास्तविकताको रूपमा स्वीकार्दै गइन्। मार्खेजको बिदाइपछि आफ्नो पतिको विरासत र सम्बन्ध सम्हाल्ने काम उनैले गरिन् । 
जीवनको धेरै समय चुरोटको धुवाँसँग बिताएकी मर्सिडिजलाई गाबोको वियोगले धेरै वर्ष बाँच्न दिएन । मार्खेज संसारबाट बिदा भएको ६ वर्षपछि रोड्रिगोकी आमाको पनि निधन भयो । 
रोड्रिगोको यो पुस्तक आफ्ना आमा–बुबाप्रतिको पुष्पाञ्जली हो । लेख्नुमा जीवन अनुभव गरेका मार्खेजलाई छोराको तर्फबाट आफू र मर्सिडिजलाई अझ अमर बनाउने यो पुस्तकभन्दा सुन्दर उपहार के हुनसक्छ ! 

छोटो छोटो खण्डमा विभक्त पुस्तकका हरेक खण्डमा पाठकले मार्खेजसँगै भेटेको अनुभव गर्नसक्छन् । मार्खेजका कृति पढेका पाठकले यो कृतिको पठनपछि अझ मार्खेजलाई चिनेजस्तो अनुभव गर्नसक्छन् । मार्खेजका पात्रहरू मार्खेजहरूभित्रका धेरै पाटाका अलग–अलग अभिव्यक्ति रहेछन् भन्ने अनुभव हुन्छ । 

छोटो कालखण्डको फ्रेमभित्र बसेर कहिले विगतमा फाल हाल्दै (रेट्रोस्पेक्टिभ) त कहिले वर्तमानको किनारामा तैरिएर लेखिएको यो कृति आफैँमा मार्खेज मूल पात्र भएको अर्को एउटा मार्खेली आख्यानजस्तो लाग्न सक्छ । 


Author

थप समाचार
x