विचार

चुनाव र चुनौती, नातिनी र हजुरबुबा

शशि रिमाल |
जेठ ४, २०७९ ७:४७ बजे

बिहानीको कोइली चरीको आवाजमा विभिन्न थरीका चराचुरुङ्गीले साथ दिएजस्तै सबेरै घर नजिकै रहेको मतदान केन्द्रमा खटाइएका कर्मचारीहरूलाई स्थानीय स्वयंसेवकले सौहार्द किसिमले सहयोग गर्दै गरेको कुरा गराइले मलाई ब्युँझायो । 

उठेर खुल्ला रहेको झ्यालबाट चिहाएँ । गाउँमा कसैको घरमा उत्सव हुँदा एकाबिहानै आएर छरछिमेकीहरूले साथ दिएजस्तै गरी मतदान केन्द्रका कर्मचारीबाहेक परिचित अनुहारका आठ दस व्यक्तिहरू देखिए । टेबलमा रहेको मोबाइलमा समय हेरेँ । भर्खर ४:३० बजेको थियो । आँखामा निद्रा झुण्डिरहेकाले झ्याल बन्द गर्दै पर्दाले उज्यालो छेकी फेरि विस्तारामा पल्टिएँ । केहीबेर गुनगुन आवाज आए पनि त्यसलाई वास्ता नगर्दा निदाएछु । 


नियमित बिहानको ५:४५ बजे ओछयान छोड्ने समयमा उठेँ । आफ्नो नित्यकर्म सकी बिहानीको हिँडाइमा घरबाट निस्किँदा मतदान केन्द्रमा निकै मानिसको उपस्थिति भइसकेको थियो । कोही त मतदान गर्न लागि लाइनमा उभिरहेका थिए । परिचित अनुहारहरूसँग बिहानीको अभिवादन आदानप्रदान गर्दै बिहानीको हिँडाइको गन्तव्यतिर अघि बढेँ ।

आज बिहानको जस्तो गाउँका मानिसहरू बाटा देखिँदैन थिए, अघिपछिको यस समयमा ।  पाँच वर्षमा एक पटक आउने यस उत्सवमा सहभागी हुनका लागि बिहान ७:०५ बजेदेखि बेलुका ५:०० बजेसम्म तोकिएको समयमा गाउँका मतदाताहरू बाटामा हँसिलो अनुहारमा देखिएका थिए । लाग्यो , यही एक दिनको उत्सव हो हामी जनता शक्तिका रूपमा खडा हुने दिन ।

ठोकिएका ती अनुहार पढ्दै गएँ । आज प्रत्येकका अनुहारले आफूलाई एक शक्तिका रूपमा महसुस गरिरहेका थिए । आफ्नो वडामा पाँच वर्षे कार्यकालमा जिताएर पठाएका जनप्रतिनिधिले गाउँका विकाससँगै जोडिएका मानवमूल्य र मान्यताका आधारलाई कति पूरा गर्न सके वा सकेनन् । मौन अवधिमा त्यसैलाई आधार बनाई विश्लेषण गरी आफू त्यो उत्सवमा सहभागी हुन आतुर भई पाइला लम्काइरहेका थिए । 

बिहानको आफ्नो हिँडाइ सकिसकेपछि फर्किदा देखेँ मतदान केन्द्रमा मतदाताहरूको घुँइचो । केहीबेर अलग्गै उभिएर म पनि त्यही घुँइचोलाई नियाल्न थालेँ । पार्टीगत उम्मेदवार सबै आफ्नै गाउँका दाजुभाइ दिदीबहिनीहरू नै भएकाले म उभिएका ठाउँमा कोही नजिकै आएर हँसिलो मुहारमा अभिभवादन आदानप्रदान गरे भने कसैले परैबाट भए पनि दुवै हात जोडे । 

रातो गाडी म उभिरहेको अगाडि आएर रोकियो । बाहिर उभिएका एक युवाले गाडीको ढोका खोले । भित्रबाट एक वृद्धाआमा लौरो आफूभन्दा अगाडि तेर्साउँदै आफ्नो तागतले ओर्लिन खोज्दा ती उभिएका युवाले आमाको पाखुरामा समातेर टेवा दिँदै गाडीबाट अलग्याए । मेरा आँखा चालक, युवा अनि वृद्धआमामा ठोकियो । ती तीनैका सम्बन्ध वा नाता फरक थिए । खुसी लाग्यो । त्यो खुसीमै मेरो मानसपटलमा दस बाह्र दिनअगाडि मात्र वृद्धाभत्ता लिन तीनै वृद्धआमाले ‘सकी नसकी असिन–पसिन भई दस ठाउँमा बस्दै –उठ्दै गरेर बल्ल आइपुगेँ बाबु’ भनेको सकस मलाई भन्दा मेरो आँखाको कुना रसाएको त्यो क्षण सम्झेँ । किनकि म पनि मेरा बुबाआमाको वृद्धभत्ता लिन बैङ्कमा पुगेको थिएँ । त्यो र यो दृश्यले मैले मौन अवधिमा निर्णय गरेका यस उत्सवका लागि दिने उपहारमाथि प्रश्न चिन्ह खडा गरिदियो । मेरो मथिङ्गल खलबलियो ।

फर्केँ घरमा । आमाबुबा छोराछोरी सबैलाई ‘फेरि हिजोको मौनताको मतको बारेमा विचार गर्नुपर्ने अवस्था आयो’ भन्दै सबैको सामु क्षणभरका दृश्यले सोच्न बाध्य पारेको मेरो मनमस्तिष्कबारे बताएँ । मैले गरेका यी कुरामा केहीबेर सबैलाई स्तब्ध बनायो । जिम्मा फेरि सबैले यो उत्सवको निर्णय गर्ने अभिभारा मलाई नै सुम्पे ।

मैले सबै पार्टीको घोषणापत्र र प्रतिबद्धतापत्र बटुलेको थिएँ । एक एक गरी पल्टाएर हेरेँ । मेरा आँखाले मानव जीवनसँग जोडिएका मानवीयताका बारेमा कतै पनि कसैको बुँदामा समेटेको पाइनँ । 

मैले सकिनँ । झट्ट सम्झेँ मेरा एक मित्रलाई । क्षणभरमै वेचैन बनाएको मेरो मनमस्तिष्कको बारेमा कथा सुनाएझैँ सुनाएँ फोनबाट । हामी दुईले मौन अवधिमा धेरै मन्थन गरी निकालेका थियौँ, यस उत्सवका लागि दिने उपहारको बारेमा । ‘अझै समय बाँकी रहेकाले केहीबेर विचार गरौँ अनि मात्र उपहार रोजौँला’ भन्ने उनको यो भनाइमा सहमति गर्दै खलबलिरहेको मथिङ्गललाई धैर्य गराउँदै सबैलाई ‘केहीबेरपछि मात्र उत्सवमा सहभागी हुने है’ भन्दै रोकेँ ।

८५ वर्षीय पिता कतिखेर जाने भन्दै हतारिरहनुभएको थियो । उनका सहयोगीको रूपमा पहिलो पटक मत दिन लागेकी मेरी छोरी थिइन् । जुन छोरीले ‘खाली मत बाकसमा खसाल्छु ”भन्ने उनको मत अधिकारलाई बदल्न एक मेयरका लागि र एक वडा अध्यक्षका लागि उम्मेदवारी दिएका यी दुईको काउन्सिलिङले मत दिनुपर्दो रहेछ भन्ने मनस्थिति बनाएकी थिइन् । 

मैले सबै पार्टीको घोषणापत्र र प्रतिबद्धतापत्र बटुलेको थिएँ । एक एक गरी पल्टाएर हेरेँ । मेरा आँखाले मानव जीवनसँग जोडिएका मानवीयताका बारेमा कतै पनि कसैको बुँदामा समेटेको पाइनँ । त्यत्तिकैमा तिनै मित्रको फोन आयो । उनले मलाई वेचैन पारिरहेको मौन अवधिको मतलाई अझ सशक्त र दृढ गराउँदै भने, ‘यी मत दिएका उम्मेदवारले जिते पनि हारे पनि यिनीहरूलाई मानव जीवनसँग जोडिएका मानवीयताका बारे सुझाएर वडाबाट दिनसक्ने सेवाहरू दिलाउने अभियानमा लगाई काम गराउन सकिन्छ । त्यसैले मौन अवधिमा रोजेको उपहार नसाटौँ ।’

साथीको कुराले चित्त बुझाउँदै फेरि घरका सबै सदस्यलाई एकै ठाउँमा राखेर भनेँ, ‘यो उत्सवका लागि जुन उपहार रोजेका थियौँ त्यही नै भयो है ।’ मैले यति भनेपछि नातिनीले हजुरबुबालाई डोर्‍याएर मतदान केन्द्रमा लगिन् ।

घरका सबै सदस्यले मत दिएपछि मित्र र म पनि मतदान केन्द्रमा पुग्यौँ ४:३० बजे । मतदान परिचय पत्र देखाउँदै थिएँ । पछाडि एक महिलाको आवाज सुनेँ, ‘मलाई त आज उम्मेदवारहरूले पटक पटक नमस्कार मात्र गरिरहेका छन् ।’ यो आवाज आएतिर नफर्की टुक्रा कागजमा लेखिएको नम्बर अनुसारको लाइनमा गएर उभिएँ । त्यो लाइनमा मेरो पछाडि बसेका एक भाइले भनेको सुनेँ, ‘साँच्चिकै, आजको जस्तै सेवक जस्ता भई सबै उम्मेदवारले मतदाताहरूलाई गरेको सहयोग, सद्भाव, आदर र विनम्रता पाँच वर्ष अवधिभरि गर्ने हो भने बल्ल हामीले खोजेको उपलब्धिले पूर्णता पाउँथ्यो होला ।’ ती अपरिचित भाइको मन छुने अभिव्यक्तिले म नि:शब्द भएँ । 

मतदान गर्ने समय सकियो । धेरै मतदाताहरू मतदान केन्द्र बाहिर नै थिए । शान्त वातारणमा हाम्रो वडामा चुनाव सकिएकाले सबै एकआपसमा खुसी व्यक्त गर्दै थिए । मतदान केन्द्रमा ल्याएका टेबल, मेच यावत् सामग्रीहरू यथास्थानमा पुर्‍याउने काम पनि भए । हेर्दाहेर्दै मतपेटिका बाकस सेतो कपडाले बाँधेर मिनी टाटामा राखेर सुरक्षाकर्मीसहित गाडी अगाडि बढ्दा त्यहाँ उभिरहेका सबै मतदाता र उम्मेदवारसहितले ताली बजाएर सौहार्दपूर्णका साथ हार्दिकता प्रकट गर्दा सबैको अनुहारमा खुसीको चमक थियो । त्यसपछि क्षणभरमै क्रमश: त्यो भिड पनि तितरवितर भयो ।   



Author

थप समाचार
ad
x