मिडफिल्डमा बसेर आत्मघाती गोल पास गर्दै माधव नेपालज्यू
नेकपा एमाले एक जमानाका माधवकुमार नेपालको पर्यायवाची शब्द जस्तै थियो । उहाँले नेकपा एमालेको नेतृत्व गरिरहँदा तत्कालीन विद्रोही पक्षबाट नेकपा एमालेका कार्यकर्ता र स्थानीय नेता भकाभक मारिन्थे । पन्ध्र वर्षभन्दा बढी एमालेको बागडोर हाँकेका र जेजसरी भए पनि इतिहास निर्माण गरेका भलाद्मी कमरेड माधव नेपालको अहिलेका हाउडेहरूको सङ्गत हेर्दा राजनैतिक योगदानको लगानी डुब्ने र त्यो गौरवमय इतिहास खरानी हुने पथमा जाला कि भन्ने पिरलो छ ।
विश्व परिवेशमा माक्सवादलाई नेपाली माटो अनुकूल व्याख्या गरी बन्दुकको त्रासबाट होइन सन्दुक (मतपेटिका) को विश्वासबाट वामपन्थी सत्तामा पुग्न सक्छन् भन्ने बहुदलीय जनवादको प्रवर्तक जननेता मदन भण्डारीको रहस्यमय अवसानपछिको अन्योल र संकटको भुमरीमा एमालेको नेतृत्व लिई दुई दशकसम्मको राजनैतिक मैदानमा मिडफिल्डरको भूमिका निर्वाह गर्ने माधव नेपाललाई धेरैले आफ्नो दलका लागि चामत्कारिक गोल गर्न नसके पनि विरोधीलाई पनि (भद्र)गोल गर्न कदापि नदिने निष्ठावान् नेता मान्थे तर आज उहाँको खुमलटारधाम धपेडी देख्दा भने उहाँ अर्कै माधव नेपाल हो वा उही माधव नेपाल कसैको तन्त्रमन्त्रमा परेर लट्ठिनु भाको हो, ठम्याउन हम्मेहम्मे पर्दो छ ।
अहिले आम कार्यकर्ता एवं मतदाताका हृदयहरूले आफूले दुई तिहाइ मत दिएर स्थिर सरकार बनाउन जिम्मा दिएको नेकपा र त्यसका मुखियाको सेखी झार्न उहाँ संकटको बल्छी लिएर किन धाइरहनुभएको होला भन्ने बुझ्न सकिरहेका छैनन् । त्यतिबेला उहाँ प्रधानमन्त्री हुँदा ज्यूज्यान दिएर सहयोग गर्नुहुनेलाई पाखा र हरुवा कठपुतली सरकार भन्दै उहाँलाई सत्ताच्युत गर्ने सात दिने सत्तोसराप यज्ञरूपी नेपाल बन्द-बितण्डा गर्नेहरूलाई काखा किन गरिरहनुभएको छ ? बुझ्नै नसकिने मसला बनिरहेको छ ।
हुनत जनताको विश्वासको बीजबाट अंकुरित हुँदै सिर्जनात्मक रूपमा जबज (जनताको बहुदलीय जनवाद) नीतिमा हुर्केको तत्कालीन नेकपा एमाले र द्वन्द्वकालीन सन्नाटा, बारुद र त्रासको भुंग्रोबाट हठात् जन्मी जबज (जबर्जस्ती) ढाँचामा परालको आगोझैँ हुरुर्र दन्केर निभ्न लागेको तत्कालीन माओवादी केन्द्रका बीचको अप्रत्याशित एकता आफैँमा सन्देहले घेरिएको थियो । अझै आवश्यकताभन्दा बढी सेयर जारी गरेका कारण तमाम अनुशासित र व्यवस्थित संगठन भएको तत्कालीन एमालेका कैँयौँ नेता-कार्यकर्तामा एक प्रकारको वितृष्णासमेत पैदा भएको थियो ।
आम जनतामा त्यतिबेला पैदा भएको त्यो आशंका र आम नेता र कार्यकर्तामा त्यतिबेला उद्बुध्द त्यो वितृष्णाभित्र आजको दिनको अवस्था पैदा होला कि भन्ने भय उहिल्यैदेखि उहाँहरूमा थियो भन्ने अनुमान लगाउन अब भने गाह्रो परेन । तर भुइँका मान्छेलाई विद्रोह नामको मृत्युकुण्डमा होम्ने र बचेकालाई मृत्युको त्रास देखाई अब सबैले अनुभूत गरिसकेको कुरो के देखियो भने कहिल्यै महाधिवेशन नगरी हिजोसम्म पुराना पार्टी निरन्तर भत्काउँदै र नयाँ पार्टीमा डेरा सर्दै विद्रोह कालका घागडान र अन्तरङ्ग नेताहरूलाई राजनीतिको भिरबाट घुचेटेर ‘पार्टी अनेक अध्यक्ष एक’ भइरहनुपर्ने कमरेडमा पार्टी भत्काएरै भए पनि बाँचुन्जेल र आजीवन पार्टी अध्यक्ष बन्ने र छाड्नै परे सन्तान (नाबालकको उमेर पुगेपछि तिनै) मा हकभोग सारेर मात्र विश्राम लिने रहर पलाउनु अस्वाभाविक पनि होइन ।
खै, शासकमा सन्तानलाई उत्तराधिकारी बनाउने मोह पनि विचित्रकै हुँदो रहेछ, महाभारतको उहिलेको धृतराष्ट्रको सन्तानमोहको विम्ब कहिले पनि डेट एक्सपायर्ड हुँदो रहेनछ । ज्ञानेन्द्रको पुत्रमोह र गिरिजाको पुत्रीमोह एक जमानामा निकै चर्चित थिए । त्यतिबेलैका प्रधानमन्त्री मनमोहन अधिकारीमा त्यो मोहको अणु पनि देखिएन । झलनाथका पुत्र पनि कछुवा शैलीमा ताते गर्दै हुनुहुन्छ क्यारे । माधव नेपालले पनि आफ्ना सन्तानलाई राजनीतिमा ल्याउन चासो राख्नु भएन । पछि सम्बन्ध गाँसिएका भलाद्मी कुटुम्ब त आफ्नै पौरखको खेती गर्नुभएकै छ । केपी ओलीमा सन्तान मोह हुने गुन्जायस नै रहेन ।
कमरेड प्रचण्डका सबै परिवार (नाबालक बाहेक) कुनै न कुनै लाभका पदमा विराजमान भएका र त्यसको सन्दर्भ व्यापक रूपमा उठ्ने गरेको हामीले देखैकै हो । हुनत सिङ्गो परिवार विद्रोहमा लागेकाले उहाँका सन्तान राजनीतिमा आउनु स्वाभाविकै हो । राजनीतिमा स्थापित हुने क्षमता उहाँहरूले देखाउनु पर्थ्यो । तर सन्तानलाई स्थापित गर्नकै लागि भनेर चुनाव जिताउन मच्चाइएको भरतपुर महाभारतले कमरेड आफैँ लुडोको भर्याङ बनेर सन्तानलाई शीर्षमा पुर्याउन कति लालायित हुनुहुन्छ भन्ने पनि लुकेको छैन ।
हुनत गत एमाले महाधिवेशनमा निकै कम मतले केपी शर्मा ओलीसँग पराजित भएपछि नेकपाका यी दुई नेताबीच बाहिरी तुस सतहमा देखिएकै हो । यस अवधिमा आफूले पार्टीमा गरेको योगदानलाई अवमूल्यन र आफू र आफ्नालाई निरन्तर किनारीकृत पारिएको अनुभूत गरी एक जनाको मन कुँडिनु र आफूले दुई दशकसम्म थोकमा सहयोग गरेका आफ्ना अनन्य मित्रले आफूलाई एक कार्यकाल ढुक्कसँग काम गर्न खुद्रामा समेत सहयोग नगरेको अनुभूत गरी अर्काको चित्त दुखाइको कोलमा आम कार्यकर्तालाई पेलेर पीडैपीडाको बीभत्स तेल निकाल्न पनि त भएन नि श्रध्देय माधव नेपालज्यू !
अर्काको चित्त दुखाइको कोलमा आम कार्यकर्तालाई पेलेर पीडैपीडाको बीभत्स तेल निकाल्न पनि त भएन नि श्रध्देय माधव नेपालज्यू !
यति हुँदाहुँदै पनि पार्टी जब फुटकै सँघारमा पुग्छ त्यतिबेला पार्टीका माली अर्थात् मा-धव-ओ-ली हरू एक ठाउँमा उँभिएको र पार्टीको सुन्दर फूलबारी गोडमेल गरी फुलाएको गौरवमय इतिहास आमजनता र कार्यकर्ताहरूले बिर्सेका छैनन् भने उहाँहरूले कसरी पो भुल्नुहोला र ? संकटको बेला आएपछि यी दुईले आपसमा बाझाबाझ र माझामाझ गरी त्यसको निरन्तरता दिने कुरामा आशंका गर्ने विरलै होलान् ।
केपी कमरेडको बलियो काँध पाएको माधव नेपालकै नेतृत्व रहेका बेला पार्टी स्कुल बंक गरेर बरालिएका जोधाहा कमरेडको सिङ्गो समूह बरालिएर थाकेपछि पुनः पार्टी स्कुलकै कक्षामा माधव नेपालले नै ललाईफकाई भर्ना गरेको सत्य पनि कहीँ कतैबाट छिपेको छैन । बुढ्यौलीले ढोका ढक्ढक्याइरहेका बेला र अहिले यथोचित स्थान पाइरहेका बेला कमरेडले ‘फुटमा शक्ति हुन्छ’ भन्ने म्याद गुज्रेको ‘५४ साले’ मन्त्रजाप गरेर आफू र पार्टीलाई समेत अप्ठ्यारो पार्ने काम किन पो गर्नुहोला र ? आखिर यो पार्टीको बिरुवा हुर्काउन भूमिगत काल र त्यसपछि पनि उहाँको योगदानलाई कसैले टिपेक्स लाउन खोज्दैमा कहाँ पो मेटिन्छ र ?
भनिन्छ, कस्तुरी मृग आफूभित्रको कस्तुरीको सुगन्ध आफूभित्रै छ भन्ने थाहा नै नपाएर त्यसलाई खोज्न जङ्गल र टारहरूतर्फ भौँतारिँदा शिकारीको फेला पर्छ रे । कमरेड माधव आफू स्वयंभित्र निहित योगदान र व्यक्तित्वको आफ्नो उचाइ बिर्सेर कसैको निजी टारतिर वा कुनै पाटी(पौवा) तिर धाउन थाल्दा उहाँको व्यक्तित्व नै सिकार पो हुने हो कि भनी भयभीत हुनेहरू पनि त्यत्तिकै छन् । तीस वर्षदेखि निरन्तर दलको पानीमा अकण्टक अध्यक्ष वा नेतृत्वको ह्वेल माछा बनी अरु माछालाई निल्दै डकार्ने बानी परेकाको मोहनीमा डुबेर भोलि आफैँ भुरा माछा बन्ने र निजबाटै निलिने झेली खेलमा लागेर आफूले ठूला दुःखले आर्ज्याको पार्टीलाई र आफ्नो गौरवमय योगदानलाई किन खरानी पार्नुहुन्छ, माधव नेपालज्यू !
आफन्तहरूको मन कुँड्याएर होइन, उहाँहरूसँग गम्भीर विमर्श गरेर अघि बढ्न ढिला हुन थालिसकेको चेतना प्रधानमन्त्रीसम्म पुग्न नदिने कुनै तत्व आफ्नै चुलो, चौको र चोटाभित्रै कोही छ कि भनी त्यतातिर खोज्न अब अबेर गर्नु भएन । कुनै पनि औषधिको निश्चित म्याद भएझैँ विगत महाधिवेशनको तुसको म्याद सकिएको हुनुपर्ने हो, त्यस्तो म्याद सकिएको औषधिसेवन घातक छ, कसैले पनि सेवन नगर्नुहोस् है !
पार्टीमा कब्जाको त्रासबाट होइन महाधिवेशनको विश्वासबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक संस्कार मर्न नदिनुस् । जनताले दिएको म्यान्डेट अनुसार सतर्कतासाथ सरकारको रक्षामा र पार्टीको दीर्घकालीन रणनीति एवं सरकार सञ्चालनबारे मालीहरू एकअर्कामा मिलेर काम गर्नुस् । मा-धव र ओ-ली अर्थात् मालीहरू आपसमा विवाद गरी पार्टी बगैँचा उजाड नपार्नुस्, किनभने फूलप्रेमीहरूको गहिरो चिन्ता यत्रतत्र देखिएको छ ।
र अन्त्यमा यो पनि बुझ्नुहोला, हिलोमा फुल्ने फूल र बगैँचामा फुल्ने फूलको रङ त मिल्ला, रसायन मिल्दैन, धेरै भिन्नता हुन्छ । र यो लेख बिसाउँदै गर्दा रामकृष्ण ढकालको ‘मन पराउने हजार हुन्छन्’ गीतको बोलका यी गीति अंश मनन गर्नुहुन विनम्र अनुरोध छ, ‘जति रुवाओस्, धर्धरी रुवाओस्, आफ्नो मान्छे आफ्नै हुन्छ ...’
त्यसैले प्लिज ! माधव नेपालज्यू मिडफिल्डमा बसेर तपाईं आत्मघाती गोल पास गर्न खोज्दै हुनुहुन्छ भन्ने तपाईंका थुप्रै फ्यानहरूले चाल पाइसके ! तपाईंले यो बखेडामा पनि मिडफिल्डरको रोलमा रहेर संयोजन गर्न खोज्नुभएको हो भने अर्कै कुरो हो ! यदि शाकाहारी तपाईंले साँच्चै सरकारविरुध्दको गोल गर्ने गरी मांसाहारीलाई बल पास दिन खोज्नुभाको हो भने गोल त होला या नहोला । तर भद्रगोल हुने चाहिँ ग्यारेन्टी छ है । त्यही भद्रगोलको भेलमा बगाएर आफ्नो पार्टी र स्वयंको गौरवशाली इतिहास नामेट नपार्नुस् !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया