विचार

समुन्नत नेपाल

के नेपाल जलस्रोतमा विश्वकै धनी हो ?

डा. केशवप्रसाद शर्मा |
जेठ ८, २०७९ आइतवार ८:१ बजे

संयुक्त राज्य अमेरिकामा अवस्थित विश्वकै स्रोत सम्बन्धमा अध्ययन गर्ने संस्थाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रतिवेदनले जलसङ्कटको आधारमा नेपाललाई चालिसौँ स्थानमा रहेको उल्लेख गरेको छ । जलस्रोतको धनी देश मानिएको नेपालको अवस्था यति पछाडि देखिनुमा धेरैलाई आश्चर्य लाग्नु स्वाभाविकै हो । यसमा स्वत आउने प्रश्नहरू हुन् के नेपाल जलस्रोतमा विश्वकै धनी देश हो ? र, जलसङ्टको नापमा नेपाल चालिसौँ स्थानमा पर्नुको आधार के हो ?

जलस्रोतसम्बन्धी तथ्यांकका आधारमा पहिलो प्रश्नको उत्तर दिन सकिन्छ । विभिन्न देशहरूको जलस्रोत, क्षेत्रफल, जनसङ्ख्या, संचालनमा रहेका विभिन्न जलविद्युत आयोजना आदिका विवरणहरू विश्व एटलास, संयुक्त राष्ट्र संघ, युनेस्को, लगायत विभिन्न विश्वासिला संस्थाहरूबाट संचालित वेबसाइटहरूका साथै विभिन्न देशका अधिकारिक निकायका दस्तावेजहरूमा उपलब्ध छन् । यिनै आधारमा जलस्रोतसम्बन्धी विभिन्न दृष्टिकोणबाट नेपाल लगायत विश्वका प्रमुख दश स्थानसम्म रहेका देशहरूको श्रेणीसहितको विवरण निम्न तालिकामा प्रस्तुत गरिएको छ । 


प्रस्तुत तालिकाअनुसार उपलब्ध जलस्रोतको आधारमा नेपाल ४२सौं स्थानमा, प्रतिव्यक्तिका दरले हिसाब गर्दा  ७२ स्थानमा र प्रति वर्गकिलो¬मिटरका आधारमा ३१सौँ स्थानमा भएको अनुमान गर्न सकिन्छ । पहिलो स्थानमा रहेको ब्राजिलसँग नेपालको भन्दा ३९ गुना बढी जलस्रोत छ भने दशौँ स्थानमा रहेको प्रग कङ्गोसँग ६ गुना बढी जलस्रोत उपलब्ध छ । उपरोक्त तालिकामा भूमिगत जलस्रोतको हिसाब भने गरिएको छैन ।

सम्भाव्य जलविद्युतसम्बन्धी तथ्यांकहरू सीमित मात्रामा मात्र उपलब्ध छन् । साथै, धेरै तथ्यांकहरू थप विश्लेषण गर्नु पर्ने देखिन्छ । यसमा भौतिक सम्भाव्यता र आर्थिक सम्भाव्यता गरी दुई पक्षकै विश्लेषण अवश्यक हुन्छ । यसै गरी, जलस्रोत परियोजना जलप्रवाहमा मात्र सीमित हुने वा जलसंचयको समेत सम्भाव्यता रहने भन्नेबारे समेत थप लेखाजोखा गर्नु पर्ने हुन्छ । 

प्रचुर मात्रामा जलस्रोत भएको चीनमा १९५० अगाडि गरिएको एक अध्ययनमा सम्भाव्य जलविद्युत २३२ गिगावाट (१४९ गिगावाट उपयोगमै ल्याउन सकिने) देखाइएको थियो भने (९७० को दशकमा भएको अध्ययनमा सम्भाव्य जलविद्युत ६७६ गिगावाट ९३७८ गिगावाट प्रयोगमा ल्याउन सकिने) पाइएको छ। यस प्रकार थप तथा विविध तथ्यांकहरूको उपलब्धताका साथै सूचना विश्लेषण गर्ने तरिकामा समेत थप सुविधा भएका कारण अध्ययनहरूलाई नियमित रुपमा परिष्कृत गर्दे लैजानु आवश्यक हुन्छ ।

१९६० को दशकमा भएको नेपालको सम्भाव्यता ८३ गिगावाटको क्षमता पुनर्मूल्यांकन गरेको पाइँदैन। उक्त तथ्यांकलाई आधार मान्दा नेपाल संसारको दश स्थानभित्र नपर्ने निश्चित देखिन्छ । संलग्न तालिकामा देखाइएअनुसार चीन, अमेरिका र ब्राजिलले नेपालको सम्भाव्य जलस्रोतभन्दा पनि बढी उत्पादननै गरिरहेका छन् । त्यस्तै, संसारका ६ देशहरूले नेपालको प्राविधिक(आर्थिक सम्भाव्यता भनिएको ४० गिगावाटभन्दा बढी जलविद्युत प्रयोगमा नै ल्याइ राखेको पाइन्छ । चीन (सम्भाव्य जलविद्युत ६७६ गिगावाट), संरा अमेरिका (सम्भाव्य जलविद्युत ३०० गिगावाट), ब्राजिल (सम्भाव्य जलविद्युत २६० गिगावाट), रुस (सम्भाव्य जलविद्युत २३० गिगावाट), क्यानडा (सम्भाव्य जलविद्युत १६३ गिगावाट), आदी विभिन्न जलविद्युतका धनी देशहरूको तुलनामा  नेपाल ९८३ गिगावाट) को स्थान निकै तल पर्न आउँछ ।

सैद्धान्तिक सम्भाव्य जलविद्युतका आधारमा दक्षिण एसियाका देशहरूको मात्र लेखाजोखा गर्दा नेपालको स्थान भारत (सम्भाव्य जलविद्युत १४७ गिगावाट) र पाकिस्तान (सम्भाव्य जलविद्युत १०० गिगावाट)पछि तेस्रो हुन्छ । यसै आधारमा जलविद्युतको प्रचुर सम्भावना भएका भुटान (सम्भाव्य जलविद्युत ३० गिगावाट) र अफगानिस्तान (सम्भाव्य जलविद्युत २५ गिगावाट) क्रमश दक्षिण एसियाली देशहरू मध्ये चौथो र पाँचौँ स्थानमा रहेका छन् । छैठौँ र सातौँ स्थान क्रमश श्रीलंका र बङ्गलादेशले लिएको पाइन्छ ।

जुन देशमा प्रति वर्ष उपलब्ध जलस्रोत बढी छ त्यसलाइ जलस्रोतको धनी देश मान्ने हो भने ऊपरोक्त तथ्यांकका आधारमा नेपाललाई विश्वको ४२सौँ धनी देश भन्नु उपयुक्त देखिन्छ । तथ्यांकमा समावेश भएका विश्वका १७५ देशहरू मध्य क्षेत्रफलका आधारमा ९१ स्थानमा रहेको नेपाल जलस्रोतका आधारमा ४२सौँ स्थानमा हुनु पनि गौरवको कुरा हो, जसको सही उपयोग गर्न सकेमा देशको उन्नतिका साथै जलवायु तथा वातावरण परिवर्तन जस्ता विश्वका जल्दा(बल्दा समस्याहरूसँग जुध्नसमेत सहयोग पुग्दछ ।  

वर्ल्ड रिसोर्स इन्स्टिच्युटको प्रतिवेदनअनुसार नेपालको आधारभूत जलसङ्कट चित्रमा देखाए अनुसार छ । पश्चिम राप्ती बेसिन र बाग्मती बेसिन अति उच्च सङ्कटको अवस्थामा पाइएका छन् । कर्णाली बेसिन र कोसी बेसिनको प्राय भागहरू भने हाल सम्म निम्न सङ्कटको अवस्थामा देखिन्छन् । महाकाली, नारायणी तथा कन्काई बेसिन उच्च जलसङ्कटमा देखिएका छन् । त्यस्तै तराईका विभिन्न भागहरू मध्यमदेखि अति उच्च जलसङ्कटमा रहेका छन् । 

उपयोग भएको पानी र उपलब्ध पानीको अनुपातलाई आधारभूत जलसङ्कट मूल्याङ्कनको आधार बनाइएको छ । यसप्रकार, पानीको उपयोग जति बढदै जान्छ जल सङ्कट त्यतिनै बढ्दै जाने हुन्छ । 

जलसङ्कट समाधानको सही तरिका भनेको जलस्रोतको उचित व्यवस्थापननै हो । जलसङ्कटका आधारमा नेपालको स्थान उत्कृष्ट नभएता पनि नेपालमा उपलब्ध प्रति ब्यक्ति ७००० घन मिटर पानीलाई पानी व्यवस्थापनका हिसाबले नराम्रो मानिदैन । 

जलसङ्कट जति उच्च हुन्छ त्यसको व्यवस्थापन पनि त्यतिकै महँगो हुन्छ । उदाहरणका लागि सिंगापुरलाई लिन सकिन्छ जहाँ औसतमा प्रति ब्यक्ति  प्रति वर्ष ११८ घन मिटर मात्र पानी उपलब्ध छ । त्यस्तो अति उच्च सङ्कटको अवस्थामा पनि सिंगापुरले पानीको राम्रो व्यवस्थापन गरिरहेको छस तर महँगो लगानीमा । खाने पानीको प्रणाली संचालनमा मात्र उक्त देशले प्रति वर्ष रु एक खर्बभन्दा बढी खर्च गरिरहेको हुन्छ । काठमाडौँबासीले खाने पानीका लागि जति तिरिरहेका छन् त्योभन्दा लगभग दस गुना धेरै सिंगापुरवासीले तिरिरहेका हुन्छन् ।

वर्ल्ड रिसोर्स इन्स्टिच्युटले ल्याएको प्रतिवेदनमा जलसङ्कटका साथै पानीसम्बन्धी अन्य महत्वपूर्ण जानकारीहरू समेत समावेश गरिएका छन् । जस अनुसार पानीको गुणस्तरको श्रेणीमा  नेपाल अतिनै निम्न गुणस्तरको अवस्थामा छ भने, बाढीको जोखिमका आधारमा नेपाल विश्वमै एघारौँ स्थानमा रहेको छ । बाढीसम्बन्धी श्रेणीकरण गर्दा औसत कुल ग्राह्यस्थ उत्पादनमा परिरहेको प्रभावलाई आधार बनाइएको छ । त्यस्तै, खडेरी जोखिमको श्रेणीकरणमा नेपाल साठी औँ स्थानमा परेको छ ।

विदेशमा रहेका अन्तर्राष्ट्रिय संघ संस्थामा गरिएका अध्यन अनुसन्धानहरूका आफ्नै सीमितताहरू हुन्छन् । उपलब्ध यस्ता प्रतिवेदनहरूलाई सन्दर्भ सामाग्रीको रुपमा लिई आफ्नै देशमा यस प्रकारका विस्तृत अध्यन/अन्वेषण गर्न सके जलस्रोत नीति तर्जुमा तथा कार्यान्वयन अझ बढी यथार्थपरक हुने देखिन्छ ।

{समुन्‍नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ । }

प्रतिक्रियाका लागि : [email protected]

समुन्‍नत नेपाल

 नेपालमा एकीकृत जलस्रोत व्यवस्थापन : सन्दर्भ र चुनौती

हामी कोही सुरक्षित छैनौँ

‘भन्न नहुने कुरा, गाउन नहुने गीत’को गतिमा उद्योग

- जलवायु परिवर्तन र नेपालको अस्तित्वको सवाल
हुलाक टिकटमा नेपालको इतिहास : जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म

प्रधानमन्त्री देउवाको भारत भ्रमण : धरमराइरहेका आधारभूत पक्ष

मन्त्रीजीको भ्रष्टाचार चर्तिकला !

संविधानमा रहेका आयोगहरूको उपयोग र औचित्य


Author

थप समाचार
x