विचार

उडायो सपना सबै हुरीले...

जीवन कुँवर |
जेठ १०, २०७९ मंगलबार १०:६ बजे

उडायो सपना सबै हुरीले
निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हिमाल जस्तो अचल रहने हाम्रो प्रीत थियो ।

४० को दशकतिर मुरलीधरले गाएको गीतको अंश हो, यो । मुलीधरले यो गीत गाएपछि कतिपयले उनको प्रेम जीवनसँग पनि जोड्थे । मुरलीधर आफैँले कतिपय ठाउँमा स्वीकारेका पनि छन् ।


तर आज यो गीतलाई कसैको प्रेम जीवनसँग नभई नेपाली राजनीतिसँग यो पंक्तिकारले जोड्न खोजेको हो । २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचन मुरलीधरले गाएको गीत जस्तै भएको छ, नेकपा एमालेलाई । 

पूर्वको झापा होस् या कर्णालीको जुम्ला । पश्चिमको कैलाली-कञ्चनपुर होस् या राजधानीका काठमाडौँ-भक्तपुर-ललितपुर । यी सबै ठाउँमा एमालेले चुनावी अभियान चलायो । त्यसको प्रमुख वक्ता भनौँ या मुख्य आकर्षण थिए- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । 

दुई पटक मिर्गौला फेरर तंग्रेका ओलीलाई चुनावी अभियान त्यति सजिलो त थिएन जति अरुले सोच्थे । एकै दिनमा फरक-फरक जिल्लामा चारवटा कार्यक्रमसम्म भ्याएका ओलीलाई कति गाह्रो हुँदो हो जति अहिले देशभरको मत परिणामले एमालेलाई थला पारेको छ । चुनावीअघि ओलीको दाबी थियो- सत्ता गठबन्धनको पाँच दलले भन्दा एमालेले बढी स्थानमा जित्छ । ओलीको त्यो दाबी ठिक उल्टो भएको छ । देशको ६ वटै महानगरपालिकाको मेयरमा एमाले शून्य छ ।

रुसका राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमाथि आक्रमण गर्दा के भाषण गरेका थिए होला र जति चुनावी अभियानका क्रममा ओलीले भाषण गर्थे । सुनिरहूँ लाग्ने ओलीका भाषणमा मिलेका टुक्काले को चाहिँ फ्यान थिएनन् होला र ? हाँस्दै ठट्यौली पारामा उखान टुक्का जोडेर विपक्षी दलका नेताहरूमाथि ‘शब्द हमला’मा माहिर ओलीले अचेल त दुरुस्तै अरु नेताहरूको क्यारिकेचर पनि गर्छन्, जसले नेपालको हाँस्यव्यङ्य क्षेत्र पनि माथ खान्छ ।

चुनावी अभियानकै क्रममा ओलीले भाषणमा मिसाएको उखानमा गीतको एक टुक्का थियो- शेरबहादुर देउवाले कांग्रेसका नेता कार्यकर्तालाई ‘पोहोर पनि ढाँट्यौ आमा, यसपालि नि ढाँट्यौ’ जस्तो गरे । सुरेश अधिकारीको शब्द संगीतमा आस्था राउतले गाएको गीत हो । यस गीतको अंश हो, ‘पोहोर पनि ढाँट्यौ आमा, यसपालि नि ढाँट्यौ खै त मलाई झुम्के बुलाखी’ हो ।

चितवनमा माओवादी-कांग्रेसले गठबन्धनबाट भरतपुरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहालले टिकट पाएपछि ओलीले भाषणमा राउतको गीत मात्रै सम्झेनन् प्रकाश सपुतको ‘पीर’ गीत पनि सम्झिए । ‘कांग्रेसका कार्यकर्तालाई प्रकाश सपूतको गीत जस्तो ‘पीर बिसाउने ठाँवै पाइनँ’ भन्ने जस्तो भएको छ । कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी नै सिध्याउन लागे ।’

तर संयोग पनि कस्तो-कस्तो ! ओलीले चुनावी अभियानमा जहाँ-जहाँ गएर उखान टुक्का जोडेर भाषण गरे, अन्य दलका नेतामाथि खनिए- अधिकांश ठाउँमा एमालेले यो चुनावमा हार व्यहोर्नु पर्‍यो ।

वीरगञ्ज महानगरपालिका होस् या काठमाडौँ, ललितपुर, विराटनगर होस् या पोखरा या त भरतपुर नै किन नहोस् । ती सबै ठाउँमा एमाले हारबाट टाढा हुन सकेन ।

चुनावी अभियानकै क्रममा कर्णाली प्रदेशको जुम्लामा एमालेले सभा गरेको थियो । त्यसको मुख्य वक्ता थिए ओली । उक्त सभामा जुम्ली नागरिक धेरै उपस्थित भएको देखिन्छ । सभा हेर्दा लाग्थ्यो, एमालेले यहाँका सबै पालिका जित्ने भो । 

एमालेले उक्त भीडलाई पार्टीप्रतिको आकर्षणका रुपमा व्याख्या गर्‍यो । ओलीले त्यही कार्यक्रममा भनेका थिए, ‘नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ । जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थितिअनुसार गर्न सक्ने सहयोग मैले गर्नेछु । केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं ।’ तर स्थानीय तह निर्वाचनमा जुम्लामा एमाले शून्य भयो । ओलीलाई के थाहा, उहिले गोर्खाली शासकलाई धुलो चटाएका जुम्ली जनता जोकोहीलाई जम्ला हात गरिहाल्दैनन् । खस सभ्यताको उद्गम थलोले संविधान र संसद्को दुईचोटि हत्या गर्ने ओलीको रवाफी शासनशैलीलाई जवाफ दिएको छ । 

त्यसो त शेरबहादुर देउवाले विवेक प्रयोग गरेर एमालेमै भोट हाल्ने भाषण पनि ओलीले दिन भ्याए । ‘शेरबहादुरजीका लागि ४-५ हजार रुपैयाँ वृद्धभत्ता ठूलो कुरा होइन भनेर लिनुभएन होला तर उहाँले विवेक प्रयोग गर्नुहुन्छ र भोट चाहिँ एमालेमै हाल्नुहुन्छ,’ ओलीले भनेका थिए ।

यस पटकको चुनाव एमालेका लागि ‘नखाऊँ भने पाँच वर्षको सिकार, खाऊँ भने...’ भनेझैँ भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा २९४ पालिका प्रमुख जितेर पहिलो बनेको एमाले यो चुनावमा १९९ पालिका जितेर दोस्रोमा झरेको छ । एमालेले केही दिनअघि विज्ञप्ति नै निकालेर मतदान र मतगणनामा धाँधली भएको बताइसक्यो । 

यत्ति मात्रै होइन, बोल्नलाई माहिर ओली केही दिनदेखि मौन छन् । अरुलाई बदख्वाइँ गर्नमा लामो समय खर्चिने ओलीले आफ्ना कामको जे जति फूलबुट्टा भरे पनि शक्तिशाली सरकार आफैँले छिल्लबिल्ल पारेको, दुईदुई चोटि संसद् विघटन गरेको, जन-संविधानको मसी सुक्न नपाउँदै हुँदै नभएको धारा प्रयोग गरी संविधानलाई कुल्चेको जस्ता विषयमा भने रक्षात्मक हुँदै आएका छन् । चुनावले यस्तो देखाएको छ- ओलीका चुट्किला, चटक र चर्तिकला जनताले हिसाब गरेर राखेका छन् । 


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x