विचार

स्थानीय चुनावका सुन्दर विशेषतामा ध्यान दिऔँ

ईश्‍वरीप्रसाद पोखरेल |
जेठ १०, २०७९ मंगलबार १३:३ बजे

साँच्चै जनताको सेवा र सुशासनको हिमायती हुने हो भने दलरहित चुनाव पद्धतिमा प्रवेश गर्नुहुन आवश्यक छ । चुनाव जित्ने दर्शन र हठबादी गठबन्धनको लाजनीति अन्त गरौँ । शक्तिहीन गठबन्धन र शक्तियुक्त हठबन्धनको अन्यौलता र राजनीतिक मूल्यमान्यताको क्षयीकरण र भ्रष्टीकरण अराजक लाजनीतिलाई सदाका लागि बिदा गरौँ । पार्टीगत सिद्धान्त वा चुनाव चिन्हको राजनीतिक नारा स्पष्ट हौँ ।

चुनाव चिन्है ठूलो विजयको आधार र लडाइँको विषय हो भने, सबै मतभार र हैसियत स्पष्ट हुने भएकाले गठबन्धन नेतृत्वमा जोडिने गरी कसको मत कति सबै खुल्ने आधारमा गठबन्धनलाई आआफ्नै चुनाव चिन्हमा मतदान गर्ने कानुनी व्यवस्था मिलाऔँ । जुनसुकै सर्त र मूल्यमान्यतामा इलेक्ट्रिक मतदान प्रणालीमा प्रवेश गरौँ र जङ्गली तारबार, जाली लगाएर मतगणना तथा पन्ध्र बीस दिने लगाएर परिणाम दिने असभ्यता अन्त गरौँ ।


चुनावी प्रचार प्रसार शैलीमा वैज्ञानिकता र योजनाबद्ध बहसको थालनी गराऔँ । जनताको मतको कदर गरी बराबर मत आएका उम्मेदवारलाई पहिलो अवधि ग्रहण गर्नेलाई तीन वर्ष र पछिल्लो समयको नेतृत्व पाउनेलाई दुई वर्षको नेतृत्व सम्पिने गरी गोला हाल्ने प्रणाली विकास गरौँ । 

शासकीय पद्धति र मितव्ययितामा ध्यान देऔँ 
स्थानीय तहमा सुशासन र नेतृत्वलाई प्रभावकारी तुल्याउन अध्यक्ष तथा प्रमुखलाई कारिकारिणी र उपाध्यक्ष तथा उपप्रमुखलाई व्यवस्थापिका र न्यायिक क्षेत्रको छुट्टाछुट्टै कार्यक्षेत्र निर्धारण गरौँ र जवाफदेहिता तोकौँ । स्थानीय तहको हैसियत र जनमतअनुसार वैज्ञानिक विधिले वर्गीकरण र जनप्रतिनिधिको मतभारलाई फरक फरक बनाऔँ र जनमतको सम्मान हुने व्यवस्था मिलाऔँ । जिल्ला समन्वय समितिका प्रमुखबाहेकका सबै पदहरू खारेज गरौँ र जिल्लाका सबै स्थानीय तहका प्रमुख रहने जिल्ला समन्वय समिति र उपप्रमुखहरू रहने अनुगमन तथा मूल्यांकन समिति रहने व्यवस्था गरौँ ।

यदि जनताले नरुचाएको र साधारण खर्च धेरै भएको हो भने, प्रदेश संरचना सञ्चालन गर्न मुख्यमन्त्री केन्द्रीय सांसदबाट हुने र मन्त्रीहरू पाँचदेखि बढीमा सात मात्र हुने गरी विज्ञबाट चयन हुने व्यवस्था मिलाएर, प्रदेश व्यवस्थापिकाका सांसदको हैसियतमा प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुख हुने व्यवस्था गरौँ । 

सबैमा हार्दिक बधाई
२०७४ को स्थानीय तह निर्वाचन तीन चरणमा भएको थियो । यसपटक एकै चरणमा सम्पन्‍न भयो । त्यति बेलाका जनप्रतिनिधिहरूले कुनै मानवीय र भौतिक सेवा–सुविधाविना कामको प्रारम्भ गर्नुपरेको थियो । ऐनकानुनको विधि, प्रक्रिया र विकेन्द्रीकरण शासकीय विधि र प्रक्रियासमेतको जानकारी नहुँदै, पार्टी र सरकारी तहबाट क्षमता विकासको सहयोग पाएका थिएनन् । यस्तो अवस्थामा काम गरी बदनाम नभएका तथा जनताले पत्याएर दोहोरो पटकमा जिम्मेवारी सम्हाल्न अवसर पाएका भाग्यमानी पदाधिकारीहरू सबै तहका नेतृत्व वर्गमा हार्दिक बधाईसाथ कार्यकाल सफलताको शुभकामना । 

जो जो स्थानीय तहमा नयाँ पदाधिकारी आउनुभएको छ, पाँचवर्षको राजनीतिक, शासकीय प्रशासकीय अभ्यासको जगमा नेतृत्व गर्ने अवसर पाउनु भएको छ । नयाँ नेतृत्व सबैलाई देश, जनता र समाजप्रति पूर्ण वफादार भई, भ्रष्टताबाट अलग भएर सुशासन र जनसेवा प्रवाह गरी भविष्यमा जनताले वाह संघीयता, वाह स्थानीय सरकार भन्‍ने शैलीमा आत्मचेतनासाथ काम गर्ने सफलता मिलोस् । 

प्रजातान्त्रिक आवधिक चुनाव हो, प्रतिस्पर्धामा जित र हार अवश्य हुन्छ भन्‍ने निश्चित भएर नै आफू चुनावमा होम्मिएकोले विजयको माला सबैलाई सम्भव हुन्‍न । तसर्थ प्रतिस्पर्धीलाई विजय माला मिले पनि आफूलाई उपविजेताको रूपमा जनमत पाएको ठानी गर्व गरौँ । प्रतिपक्षमा पुग्नु भएको उपविजेता सबै पदाधिकारी वर्गलाई जनताको पक्षमा खबरदारी गर्ने र आगामी दिनको असल नेता बन्‍ने धैर्यता प्राप्त होस् भन्‍ने सान्त्वना साथै, जुनसकै विधिबाट सत्ता पाएका र नपाएका सबै राजनीतिक कर्मीहरूमा जनमतको आधारमा आफूलाई प्राप्त स्थानलाई सहज रूपमा स्वीकारेर देश जनताप्रति इमानदार हुने सद्बद्धि मिलोस् र जीवन सफलताको हार्दिक बधाई ।

पोखरेलका पुराना लेख पनि पढ्नुहोस्


Author

ईश्‍वरीप्रसाद पोखरेल

पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन् ।


थप समाचार
x