विचार

सोर्स-फोर्स नचल्ने लोक सेवाको लोक-विश्वास बचाऊँ

रामबन्धु सुवेदी |
चैत १७, २०७७ मंगलबार ९:४३ बजे

नेतृत्वको दक्षता, निष्ठा, विवेक र समर्पणबाट सार्वजनिक संस्थाहरू निर्माण हुन्छन् अनि तिनले समाज, राष्ट्र र सभ्यताको संस्कृति निर्माण गरेका हुन्छन् । हरेक नागरिकहरूको समस्यालाई सम्बोधन गर्न सक्ने कानुन र विधिको निर्माण, कानुन संविधान र विधिप्रति उच्च कार्यकारीदेखि भुइँ तहसम्मको अन्तरआत्माबाट समान आस्था र श्रद्धाको व्यावहारिक प्रकटीकरण नै हामीले अपेक्षा गरेको सार्वजनिक संस्थाको स्वरूप हो, यो नै समृध्द सभ्यता निर्माणको पूर्वसर्त पनि हो । हो, त्यही श्रद्धा, विश्वास र अपनत्वको एक संस्थागत पद्धतिको नाम हो, लोक सेवा आयोग ।

इतिहासका कुनै पनि हुरी र बतासले ढलाउन नसकेको तर अझै सबल बन्दै आएको सार्वजनिक संस्था पनि यही हो । यही लोक सेवा आयोग आज आएर इतिहासको संवेदनशील मोडमा उभिएको छ । लोक सेवा आयोगको गति शून्यमा झरेको छ । परीक्षाहरू अनिश्चित छन् । तोकिएको वार्षिक कार्ययोजना अवरुध्द भएको छ । यो शून्यता सामान्य मात्र नभएर ७ दशकदेखिको संस्था र पद्धतिको क्षयीकरणको प्रारम्भ पनि हुन सक्ने जोखिम पर्याप्त छ । यो अनिश्चितताले कतै लोक सेवाको संस्थाप्रतिको श्रद्धा र विश्वास कमजोर पो बनाउने त हैन, आजको मुख्य बहस हो यो । 


नेपालको सार्वजनिक प्रशासनको इतिहासमा लोक सेवा आयोग यस्तो संस्था हो जसले आफ्नो धर्म र मर्मलाई कहिल्यै छोडेन, बरु अझ सबल बनाउँदै लग्यो । नेतृत्व इमानदार, निष्ठावान र प्रतिबद्ध हुँदा कसरी प्रतिकूलतामा पनि सार्वजनिक संस्था निर्माण सम्भव छ भन्‍ने दरिलो उदाहरण हाम्रो लोक सेवा आयोग हो । विगतका नेतृत्वहरूको निष्ठाको विरासत र त्यसको निरन्तरता र सुदृढीकरण नै वर्तमान संस्था हो जुन एक दिनमा निर्माण भएको होइन । 

भर्खरै निवृत्त भएको लोक सेवा आयोगको नेतृत्वले सम्भवतः इतिहासमा सबैभन्दा बढी चुनौतीको अनुभव तथा योगदान गरेर भर्खरै बिदा भएको छ, जसले संक्रमणकालमा संस्थाको धर्म र मर्मको सुदृढीकरणका लागि निकै मेहनत गरेको इतिहास छ । संविधान निर्माणताकाका बहस तथा त्यसपश्चात् नीतिगत र कानुनी रूपमा योग्यता प्रणालीको रक्षा र सबलीकरणका लागि निवर्तमान आयोगले ऐतिहासिक योगदान गरेको छ । बजारभन्दा एक कदम आगाडि बढेर पूर्णतः पेपरलेस र फेसलेस आवेदन प्रणालीमा रूपान्तरण गर्नु र त्यसलाई पूर्णरूपमा विश्वसनीय पद्धतिमा रूपान्तरण गर्नु निकै जोखिमपूर्ण कार्य हो । गोप्यतालाई कायम राख्दै प्रविधिको प्रयोग गर्ने यस प्रकारको ज्ञान सबै प्रकारका सार्वजनिक संस्थाहरूले जबर्जस्त आत्मसात् गरिसकेका छन् ।

त्यसैगरी स्थापना कालदेखि नै तजबिजी अधिकारमा आधारित सार्वजनिक संस्थान र अन्य सबै सरकारी अर्धसरकारी निकायहरूको कर्मचारी छनोट पद्धति लोक सेवाको कार्यक्षेत्रभित्र संस्थागत भइसकेको छ । जुन निकै ठूलो ऐतिहासिक उपलब्धि हो । 

संस्थाहरू निर्माण हुने र मृत हुने क्रम निरन्तर चलिरहन्छन् । यदि संस्थाहरूले समयानुकूल आफूलाई रूपान्तरण गर्ने गतिशीलता र नवप्रवर्तनशीलता प्रदर्शन गर्न सकेनन् भने तिनको मृत्यु अवश्यम्भावी नै हुन्छ । एउटै पद्धतिले सबै समयमा सही नतिजा दिन सक्दैन किनकि पात्रहरूको स्वरूप, स्वभाव, क्षमता र प्राथमिकता निरन्तर परिवर्तन भइरहन्छन् । सो अनुकूल आफूलाई रूपान्तरण गर्न सक्ने संस्थाहरू नै दीर्घकालसम्म जीवित रहन्छन् । लोक सेवा आयोगको निवर्तमान नेतृत्वले सोही संस्थागत गतिशीलतालाई अंकुरण गराएर बिदा भएको छ । पाठ्यक्रम र परीक्षण पद्धतिलाई निरन्तर सुधार गर्ने, नयाँ प्रविधि र परीक्षणका साधनहरूको प्रयोगबाट माग पक्षको आवश्यकता सम्बोधन गर्ने उम्मेदवारहरूको छनौट गर्ने कार्यलाई पद्धतिका रूपमा आत्मसात् गराइएको छ । अब यसको संस्थागत निरन्तरता र सबलीकरण ठूलो चुनौतीका रूपमा आगामी नेतृत्वका अगाडि रहेको छ । 

कुनै पनि पद्धतिहरू त्रुटिरहित हुनै सक्दैनन् । तर संस्थाहरूले आफ्नो प्रणालीगत त्रुटिको सफाइ र मर्मत आफैँ गर्छन् । सम्भावित जोखिम र खतराहरूको आँकलन गर्ने, पूर्वतयारी गर्ने र समस्या आउनै नदिने र यदि आइहालेमा त्यसको शीघ्र र दक्षतापूर्ण सम्बोधनबाट प्रणालीलाई चुस्त र दुरुस्त राख्ने काम त्यस्ता संस्थाहरूले गर्ने गर्दछन् । यस कार्यमा लोक सेवा आयोगका सयौँ उदाहरण हामीसामु छन् । अन्य संगठनहरूले समस्या आएपश्चात् त्यसको प्रतिक्रियात्मक उपचार गर्ने गर्दछन् तर लोक सेवा आयोग जस्ता संस्थाहरूले सम्भावित खतराहरूको पूर्वानुमान गरी पूर्वसक्रिय भए आफैँ कारबाही गरी सार्वजनिक गर्ने गर्दछन् । यो गतिशीलतालाई ग्रहण गर्ने संज्ञानात्मक क्षमताको कमीले गर्दा कतिपयले यस संस्थाको विश्वसनीयतामाथि नै प्रश्नचिह्न उठाएको पाइन्छ, जुन सत्य होइन ।

इतिहासका कुनै पनि हुरी र बतासले ढलाउन नसकेको लोक सेवा आयोग आज इतिहासको संवेदनशील मोडमा उभिएको छ । गति शून्यमा झरेको छ । परीक्षाहरू अनिश्चित छन् । तोकिएको वार्षिक कार्ययोजना अवरुध्द भएको छ ।

लोक सेवा आयोग वर्तमान समयमा दुईवटा ठूला चुनौतीसामु उभिएको छ । पहिलो, विगत एक वर्षदेखि कोभिड-१९ को प्रभाव तथा पदाधिकारी रिक्त भएको कारण तोकिएको वार्षिक कार्ययोजनाबमोजिम कार्यसम्पादन हुन सकेको छैन, यो अझै अनिश्चित छ भने यही शून्यताबीच योग्यताप्रणालीले अर्कै मोड पो लिने हो कि भन्‍ने संशय आम परीक्षार्थीहरूमा देखिन्छ । दोस्रो, चुनौतीमा यसको राष्ट्रियता सातै प्रदेशमा विभाजित भएको अवस्था छ । यस अवस्थामा सबै लोक सेवा आयोगहरूको निष्ठाको एकीकरण र तिनमा लोक सेवा आयोगको ऐतिहासिक विरासतका मूल्यहरूको संस्थानीकरण आजको समयको सबैभन्दा ठूलो चुनौती हो । विगतमा संघीय निजामती सेवा विधेयकको सम्बन्धमा अनवरत विधायिकी बहसका सन्दर्भमा उठेका सवाल र तर्कहरू तथा स्थानीय तहका पदहरूमा भएको विज्ञापनका क्रममा आयोगले सामना गर्नुपरेको अकल्पनीय प्रहार नै ताजा प्रमाणका रूपमा रहेको छ ।  

नेपालमा वर्तमान समयको शासनपद्धतिमा योग्यताप्रणाली र राजनीतिक सामाजिकीकरणको धारबीचको टकराव घनीभूत बहसमा प्रवेश गरिसकेको छ । कर्मचारीतन्त्रको राजनीतिक पहिचान र प्रतिबद्धतामा भएको निरन्तर बढोत्तरी तथा व्यावसायिकतामा आएको निरन्तर क्षयीकरण र नागरिक सेवाप्रतिको विमुखताले त्यो अवस्थालाई थप पुष्टि गर्दै लगेका छन् । 

संवैधानिक मर्मभित्र रही प्रदेश लोक सेवाहरूलाई निरन्तर संवर्धन, सबलीकरण र संस्थागत गरी ज्ञान निर्माण र हस्तान्तरण गर्नु संघीय लोक सेवा आयोगसामु निकै महत्वपूर्ण कार्यभारका रूपमा रहेको छ । यो निकै चुनौतीपूर्ण छ किनकि राजनीतिक सामाजिकीकरणको धारलाई रोक्ने र व्यावसायिक धारलाई संस्थागत गर्ने सहज कार्य होइन भने लोक सेवा आयोगहरू स्वयं नै राजनैतिक वैधताबाट स्थापित भएका हुन्छन् । यी दुई पक्षबीच निरन्तर सन्तुलन कायम गर्न सक्नु नै अबको बाटो हो । आजसम्मको लोक सेवा आयोगको विरासत नै यही सन्तुलनका कारण सम्भव भएको हो । योग्यताप्रणाली नै राजनीतिक धारभन्दा उत्तम हो भन्‍ने तथ्यलाई सधैँका लागि स्थापित गराउनु अबको सही मार्ग हो ।

लोक सेवा आयोगको दिवारभन्दा बाहिर योग्यताप्रणालीलाई दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था तथा सक्षमहरूको अक्षम सेवाको भाष्य निर्माणका जटिल चरहरूको विवेकपूर्ण सम्बोधनका लागि लोक सेवा आयोगको आगामी पूर्वसक्रियता अपेक्षित छ । यो पनि निकै जटिल कार्य हो तर संस्थाहरू आफैँ बन्दैनन् रूपान्तरणकारी नेतृत्वले त्यो काम गर्ने हैसियत राख्छ । निवर्तमान नेतृत्वले यस दिशामा गरेका कैयौँ प्रयास स्तुत्य छन् तिनको थप सबलीकरण अबको भविष्य हो । 

नेतृत्वदायी सार्वजनिक पदहरूमा हुने राजनैतिक नियुक्ति कमै मात्र बहसमा आएको तर समग्र शासन व्यवस्थाको पद्धति निर्माणमा मूल जिम्मेवार पक्ष हो । संगठनमा रहने सयौँ कर्मचारी जति नै योग्य भए तापनि निर्णायक नेतृत्व एकजनाको गति र लयमा संगठनले आफ्नो यात्रा तय गर्दछ । यदि त्यस्तो नेतृत्व सम्बन्धित संस्थाको नेतृत्व गर्न विषयगत रूपमा दक्ष र योग्यता प्रणालीप्रति निष्ठावान भयो भने हाम्रा सार्वजनिक संस्थाहरू उच्च क्षमतामा रूपान्तरित हुन वर्तमान स्रोत, साधन र विधिबाटै सम्भव छ भन्‍ने तथ्यलाई प्रमाणित गर्न हाम्रै उदाहरण पनि पर्याप्त छन् ।

त्यसैले यस्ता हरेक पदमा सही उम्मेदवार छनौट गर्ने पद्धति पूर्णतया गुणतन्त्रमा आधारित बनाउन स्वयं लोक सेवा आयोगकै पूर्वसक्रियता महत्वपूर्ण हुन्छ । विश्वका विकसित देशहरूमा हुने राजनैतिक प्रकृतिका नियुक्तिहरू पूर्णतया योग्यता प्रणालीमा आधारित र सामाजिक नैतिकताको परीक्षणमा खरो उत्रिनुपर्ने बाध्यकारी प्रावधानसहित व्यवस्थित गरिएको पाइन्छ । हाम्रोमा पनि कानुनमै उल्लेख गरी लोक सेवा आयोगको कुनै न कुनै भूमिका रहने गरी त्यस्ता नियुक्तिहरूलाई व्यवस्थित गर्न सकिने सम्भावना रहेको छ ।

सार्वजनिक पदाधिकारीहरूको नेतृत्व क्षमताको मापन गर्ने र सोहीबमोजिम नेतृत्वदायी पदहरूमा जिम्मेवारी प्रदान गर्ने लिडरसिप एसेसमेन्ट पद्धतिलाई लोक सेवा आयोगको प्राविधिक जिम्मेवारीभित्र समावेश गर्न गराउन बहस-पैरवीको जरुरत देखिन्छ । 

समयको मागसँगै परीक्षाको विधि, विषयवस्तु र प्रविधिमा निरन्तर सुधार हुनु जरुरी छ । अप्राविधिक तहका पदहरूमा धेरै रूपान्तरण भएको भए तापनि प्राविधिकतर्फका पाठ्यक्रम तथा परीक्षण पद्धतिमा ठूलो रूपान्तरणको आवश्यकता देखिन्छ । पाठ्यक्रमलाई सम्बन्धित पदले गर्नुपर्ने कार्यसम्पादनसँग आबद्ध गर्ने तथा दक्षिण एसियामा नै अग्रगामी मानिएको एसेसमेन्ट सेन्टर परीक्षण पद्धतिलाई अधिकृत तहका सबै प्राविधिक र अप्राविधिक पदहरूका हकमा लागू गर्नु र सोसम्बन्धी निरन्तर अनुसन्धान र ज्ञान निर्माण अबको कार्यदिशा हुनु जरुरी देखिन्छ ।

अन्त्यमा, 
लोक सेवा एक पद्धति, विश्वास र नागरिक अपेक्षाको संयुक्त स्वरूप हो । संकटपूर्ण अवस्थामा पनि शासनको वैधताको रक्षा गरिरहने र विश्वास टिकाइरहने पहरेदार पनि हो । शासकीय रूपान्तरणको दियो हो । यो विश्वासलाई निरन्तर टिकाइराख्‍नु र सबै लोक सेवाहरूमा त्यसको प्रतिस्थापन गर्नु लोक सेवाको आगामी नेतृत्वको कर्तव्य हो भने आस्था र श्रद्धालाई घट्न नदिनु हामी सबैको जिम्मेवारी हो । हामी सबै मिलेर इतिहासका कठिन मोडहरूमा पनि अखण्ड रहेको यो दियोलाई संरक्षण गर्नुछ । यो बेला सबै शासकीय पात्रहरूको विवेकपूर्ण संवेदनशीलताको जरुरी छ ।
 


Author

रामबन्धु सुवेदी

सुवेदी नेपाल सरकारका सह-सचिव हुन् ।


थप समाचार
x