विचार

नवराज विकहरू मारिएको दुई वर्ष

भेरी किनारमा खगेन्द्र संग्रौला : शब्दभन्दा अगाडि मुखबाट सुस्केरा आइरहेछ

खगेन्‍द्र संग्रौला |
जेठ १३, २०७९ शुक्रवार १३:२२ बजे

यहाँ उपस्थित सामाजिक न्याय योद्धा, अधिकारकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी साथीहरू ! खोइ के भन्ने ? शब्दभन्दा अगाडि मुखबाट सुस्केरा आइरहेको छ । हामी आदिम प्रकृतिको अत्यन्त आधुनिक वर्ग समाजमा बाचिरहेका छौँ । हामी त्यस्तो समाजमा बाँचिरहेको छौँ, जहाँ प्रेम गरेबापत एउटा जात, समुदाय र पृष्ठभूमिमा रहेको सत्ताले प्रेमीको हत्या गर्छ । 

आजको दुई वर्षअगाडि ठीक यहीँ ठाउँमा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो । नवराजको कसुर थियो– प्रेम गर्नु । त्यो प्रेम केटा र केटीको सहमतिबाट भएको थियो । त्यसमा कुनै करकाव थिएन । कुनै लोभलालसा थिएन । कुनै जालझेल थिएन । तर, प्रेम गरेबापत उसलाई मारियो । र, उसको हत्यारा हिन्दू व्यवस्थामा आधारित जात व्यवस्था हो । जबसम्म हिन्दू जात व्यवस्थाको विध्वंस हुँदैन, तबसम्म यस्ता हत्याहरू भइरहनेछन् । 


हामीले हिजो नवराजको बुबालाई भेट्यौँ, उनका बाजेलाई भेट्यौँ, उहाँहरूको आँसु देखेपछि हामी यस्तो अवाक् भयौँ, हामीसँग भन्ने कुरा केही थिएन । अहिले पनि तपाईंहरूका अगाडि मसँग भन्ने कुरा केही छैन । 

नवराजको हत्या भएको दुई वर्षपछि पनि न्यायालयले फैसला गरेको छैन । समाज, राज्य, पार्टी, धर्म र परम्पराका प्रभूत्वशाली व्यक्ति सबै यो न्यायको विरुद्धमा एकजुट भएका छन् । समाजका ठालूहरू न्यायको प्रक्रियालाई लम्ब्याउन, न्यायका साक्षी, घाइते र शुभचिन्तकको मनोबल गिराउन लागिपरेका छन् । अधिकारका निम्ति जो जो लडिरहेका छन्, तिनीहरूलाई थकाउनका निम्ति यो राज्य र समाजका ठालूहरू लागिपरेका छन् । 

हाम्रा दुइटा दाबी छन् र ती समास्याका दुइटा समाधान छन् । तत्कालका कुरा गर्ने हो भने विद्यमान संविधानका अधिकारका सीमाभित्र प्रत्येक नागरिकले प्राप्त गर्ने न्यायिक अधिकार नवराजले प्राप्त गर्नुपर्छ, नवराजका पीडित परिवारले प्राप्त गर्नुपर्छ । यो मुद्दा सकेसम्म छिटो फैसला हुनुपर्छ । मुद्दामा जो असंलग्न छ, जो हाहाहोहोका आधारमा त्यहाँ गएका छन्, त्यस्ता मानिसहरू दण्डित हुनुहुँदैन । तिनीहरू जो समाजमा फुक्काफाल हिँडिरहेका छन्, उनीहरू दण्डित हुनुपर्छ ।  

दीर्घकालीन कुरा गर्ने हो भने मुद्दाको फैसलाबाट मात्र यो समस्याको हल हुँदैन । भारतमा एक जना अम्बेडकर भन्ने विद्वान हुनुहुन्थ्यो । जसले भारतको संविधान पनि बनाउनुभएको थियो । उहाँ भारतका दलितहरूको प्रखर प्रवक्ता, विश्वव्यापी विद्वान हुनुहुन्थ्यो । उहाँले दलितका निम्ति जिन्दगीभर लड्नुभयो । उहाँले एक ठाउँमा भाषणका निम्ति अंग्रेजीमा एउटा लामो भाषण लेख्नुभएको थियो– इनाइहेलेसन अफ कास्ट । अर्थात् जात व्यवस्थाको ध्वंस ।

तस्बिर स्रोत : भेरी प्रतिरोध मार्च ।

अम्बेडकरले दलित मुक्तिका निम्ति विभिन्न विषयहरू प्रस्वावित गरेका छन् । उनका अन्य विचारहरू मलाई त्यति व्यावहारिक लाग्दैनन् । यो विचार भने लाग्छ । कुनै पनि समाजलाई समानताका आधारमा उभ्याउन, प्रेमका आधारमा उभ्याउन, सभ्य, सुसंस्कृत तथा प्रगतिशीलताका आधारमा उभ्याउनका निम्ति हिन्दू जात व्यवस्थाको विध्वंस हुनैपर्छ । जबसम्म त्यसको विध्वंस हुँदैन, नवराजहरू फेरि मारिरहन्छन् । 

नेपालको इतिहासमा अन्तरजातीय प्रेम र अन्तरजातीय विवाहका कारण धेरै दलितहरू मारिएका छन्, घरबाट निकालिएका छन्, गाउँबाट निकालिएका छन् । तर यो घटना अति नै बर्बर छ, यस्तो घटना इतिहासभरि कहिल्यै घटेको थिएन । यसमा तिनीहरू पनि संलग्न छन्, जो कुनै बेला दलित मुक्तिका निम्ति झन्डा उठाएर हिँडेका थिए, बन्दुक बोकेर हिँडेका थिए, बम पड्काउँदै हिँडेका थिए । तिनको चिन्तनको पश्चगमनको परिणाम नवराजहरूको हत्या हो । 

त्यसैले, आज हामी काठमाडौंदेखि कर्णालीसम्मका अधिकारकर्मीहरू, न्याय योद्धाहरू यहाँ जुटका छौँ । हाम्रो संख्या सीमित छ, तर हाम्रो प्रनिनिधित्व धेरै छ । हामीसँग धेरै मान्छेको उपस्थिति नभए पनि आफना विचारहरू लेखेर, बोलेर राख्ने धरै माध्यमहरू छन् । जोसँग जे माध्यम छ, त्यसबाट न्यायका लागि आफ्ना विचारहरू व्यक्त गरौँ । हामी सबै सजग होऔँ, न्यायको पक्षमा लडिरहौँ ।

न्यायका आवाज, पुकार र दाबी कहिल्यै पनि विलम्ब हुँदैन । न्यायको आवाज कहिल्यै पनि हार्दैन । समय लाग्न सक्छ, प्रयत्न लाग्न सक्छ, हामीलाई धेरै धोका हुन सक्छ । तर, न्यायको युद्धमा इतिहासमा न्याय हारेको कुनै प्रमाण छैन । हाम्रो न्यायको युद्धले जित्नेछ तर, यो भगवान् र पार्टीहरूको कृपाले होइन । यो युद्ध हाम्रो प्रयत्न, विवेक, एकता र संघर्षबाट जितिने हो । हामी जो जहाँ छौँ, सजग रहौँ । हाम्रो न्यायका आन्दोलनले जित प्राप्त गर्नेछ । 

(२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारीको सोती गाउँमा मल्ल थरकी आफ्नी प्रेमिकालाई भगाउन नवराज विक आफ्ना करिब १८ जना साथीसहित पुग्दा गाउँलेको कुटाइबाट विकसहित ६ जनाको ज्यान गएको थियो । ‘नवराज प्रकरण’मा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने मागका साथ नागरिक समाज र प्रतिरोध समूह रुकुम पुगेर सरकारलाई दबाब दिएका थिए । उनीहरूले जेठ १० गते सोमबार ‘भेरी प्रतिरोध मार्च’ गरेका थिए । उक्त मार्चको कोणसभा भेरी नदीको किनारमा भएको थिए । त्यही क्रममा लेखक तथा अभियन्ता खगेन्द्र संग्रौलाले नवराज विकसहित ६ जनाको न्यायको माग गर्दै दिएको मन्तव्यको सम्पादित रूप हो, यो ।)


Author

थप समाचार
x