विचार

डिप्रेसनमा छु भनेर खुल्न आज पनि मलाई गाह्रो छ

स्वस्तिका पौडेल |
चैत १८, २०७७ बुधबार १७:५९ बजे

मानिस सामाजिक र विवेकशील प्राणी हो । प्राकृत रूपमा हेर्ने हो भने मानव जातिलाई विश्‍वकै सर्वोत्कृष्ट मानव जातिका रूपमा लिन सकिन्छ । पीडा हरेक मानिसलाई हुन्छ । कसैलाई शारीरिक र कसैलाई मानसिक पीडित भएर जीवनमा आउने हरेक रमाइला र नरमाइला पलसँगै अगाडि बढ्नुपर्छ ।

संसारमा पीडा नभएका मानिस कम छन् । आजको दिनसम्म आइपुग्दा मानसिक पीडित धेरै छन्, अनि यो व्यस्त संसारमा ‘साथी ! तिमीलाई कस्तो छ’ भनेर सोध्ने फुर्सद पनि कसैलाई छैन । कसैलाई कसैको मतलब छैन । लाग्छ, बेला बेला हामीभित्रको मानवता हराइसक्यो । मानसिक पीडाले जीवन निकै कष्टकर बनाउँछ । एक्लोपन, दिक्दारी, बेचैनी, छटपटी, डर, त्रास, आक्रोश आदिले मानिसलाई मानसिक रोगी बनाउँछ ।


विश्‍वमा करिब करिब ८० प्रतिशत मानिस डिप्रेसन र मानसिक रोगको सिकार बन्‍न पुग्छन् । नेपाल आत्महत्या गर्ने देश भनेर सातौँ स्थानमा पर्छ र आत्महत्याका कारण मानसिक रोगलाई लिइएको पाइन्छ । मानिसमा आउने नकारात्मक सोचले मानिसको अमूल्य समय नष्ट हुन्छ । एउटा मानसिक पीडितलाई माया, हौसला, प्रेरणा र स्‍नेहले बाँच्‍न सहज बनाउँछ ।

मानसिक पीडा अथवा डिप्रेसनका कारण मानिस आत्महत्याको सिकार बनेको खबर धेरै सुन्‍नमा आउँछ । तर संसारमा डिप्रेसन, एन्जाइटी, मेन्टल ट्रमा, बाइपोलार डिसअर्डर जस्ता मानसिक रोगका कारण छट्पटिएर बाँचिरहेका छन् र मानसिक रोगलाई जितेर अगाडि बढ्ने पनि धेरै छन् ।

के आत्महत्या मानसिक रोगको समाधान हो ? होइन । हामी मानव प्रकृतिको एउटा उत्कृष्ट विवेकशील प्राणी हौं । हामीभित्र रहेका इन्द्रीयहरूले राम्रो, नराम्रो, मीठो, नमीठो, तातो, चिसो, नमीठा वचन त कहिले मीठा वचन, दया, माया, दुःख, सुख, रिस, हर्ष आदिको स्पर्शले बाँच्न सिकाउँछ ।
 
मानिसको जीवन पनि ऋतुसरह छ । कहिले पालुवा पलाउँछ त कहिले ढकमक्क फूल फुल्छ र बिस्तारै ओइलाउँदै जान्छ । तर ऋतुहरू त क्रमशः आउँछन्, जान्छन् तर मृत्युपछि मानिसको शरीर फर्किएर आउँदैन । त्यसैले आफूलाई चिन्‍न सक्नु एउटा ठूलो सफलता हो । 

एकपटक आफैँसँग सोधौँ त, आमाको गर्भबाट जन्म लिन नौ महिना लाग्छ, एउटी आमाको माया, प्रेम साथसाथै नौ महिनाभित्रको पीडा, त्यागको फलस्वरूप एउटा बच्चाको आगमनले एउटा परिवारको नाम दिन्छ । आमाका लागि ती पीडा त केही होइनन् तर एउटा शरीरलाई त्याग्न नौ सेकेन्ड पनि लाग्दैन भने यहाँ हुन्छ, सबैभन्दा ठूलो पीडा एउटी आमालाई, जसका लागि आफ्ना सन्तान नै संसार हुन्छन् । हो, मानिसको जन्मपछि मृत्यु निश्चित छ र प्राकृतिक हो, तर आत्महत्या होइन ।

सधैँ आत्महत्या मात्रै विकल्प हो भन्‍ने म आज आत्महत्या गर्नु ठूलो गल्ती हो भनी ती नमीठा अनुभव बिर्संदै अगाडि बढ्दै छु ।

किन हुन्छ आत्महत्या ? प्रायःजसो मानिस डिप्रेसनका कारणले गर्दा आत्महत्या गर्छन् । डिपे्रसनले गर्दा मानिसलाई एक्लोपन, दिक्दारी, दुःखी, नरमाइलोपन, रिस, तनाव आदिले समाजबाट टाढा लग्छ । काम गर्न मन नलाग्‍ने, जिन्दगीबाट हरेस लाग्ने, एक्लै बस्न रुचाउने, रमाइलो गर्न नचाहने यस्ता नकारात्मक सोचले आत्महत्याको विचार ल्याउन सक्छ ।
 
मानसिक पीडितलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक छ । भोगाइ सम्झँदा र तीता अनुभव सम्झँदा एउटा मानसिक पीडित समाजबाट पनि हेलाको पात्र साथै परिवारभित्र पनि खुलेर बाँच्‍नु सबैभन्दा गाह्रो हुन्छ । परिवार र समाजको माया, प्रेरणा, हौसला, साथ, सहयोग निकै ठूलो औषधी हुन्छ तर एउटा मानसिक पीडितलाई हाम्रो समाजले साइको, पागल, बौलाह, ठिस, दिमाग खुस्केको आदि जस्ता नाम दिन्छ ।
 
आज पनि मलाई मानसिक पीडा छ भन्‍ने कुरा खुलेर राख्‍न धेरै गाह्रो छ । तर मानसिक पीडा हुँदैमा हार मान्‍नु हुँदैन । समाजमा राम्रा मान्छे पनि छन्, जसले बाँच्‍न सिकाउँछन् । यस्ता नमीठा अनुभवले जीवन जिउन सकिन्छ तर हार मान्‍नु हुँदैन । समाजमा घुलमिल हुन सक्दिनँ र मलाई कसैले माया गर्दैनन् भन्ने सोचाइले आत्महत्या गर्नु ठूलो गल्ती हो ।

म पनि यो समाजको एउटा मेन्टल ट्रमा र डिप्रेसनको पीडित हो । एउटा बच्चाको बाल्यकाल भनेको हाँस्ने, खेल्ने, खाने, घुम्‍ने उमेरमा उसलाई मेन्टल टचर साथै बच्चालाई गर्ने दुर्व्यवहारले ठूलो मानसिक असर पर्छ । आज पनि धेरै बच्चा म जस्तै हेरेस्मेन्ट, अब्युज, मोलेसट अनि यौन दुर्व्यवहारको सिकार परिरहेका छन् ।

मलाई लाग्थ्यो कि संसारकै पीडित मानव म नै हुँ तर यो विचार एउटा नकारात्मक सोच रहेछ ।

यस्तो व्यवहारले बच्चाको मानसिक र शारीरिक दुवैमा असर पर्छ । यही कारणले धेरै बच्चा मेन्टल ट्रमाको पीडित छन् । पीडित बच्चालाई बाहिरी मान्छेसँग बोल्न पनि गाह्रो हुन्छ, डर लाग्छ, हातखुट्टा काँप्‍ने अवस्थाले गर्दा मान्छेबाट टाढा भाग्‍ने गर्छन् ।

एउटा अपरिचितको गलत हेराइ अनि गलत छुवाइले बच्चाको मानसिकतामा ठूलो असर पर्छ । प्रायः यस्ता घटना समाजको डर अनि परिवारको इज्जत जोगााउन घरभित्रै सीमित हुन्छन् । जब समाजमा परिवारमा अट्न गाह्रो हुन्छ, तब आत्महत्याको सोच आँउछ, यो सबैभन्दा ठूलो गल्ती हो ।

मलाई लाग्थ्यो कि संसारकै पीडित मानव म नै हुँ तर यो विचार एउटा नकारात्मक सोच रहेछ । संसारमा मभन्दा पनि धेरै पीडित रहेछन्, जो आज पनि बाँचिरहेका छन्, त्यसैले मैले पनि हार मानिनँ र धेरै अगाडि बढ्ने कोसिसमा छु ।

सधैँ आत्महत्या मात्रै विकल्प हो भन्‍ने म आज मेरा भोगाइलाई नियालेर हेर्दा आत्महत्या गर्नु ठूलो गल्ती हो भनी ती नमीठा अनुभव बिर्संदै अगाडि बढ्दै छु । आज मलाई यी नमीठा पीडाले समाजमा घुलमिल भई बाँच्‍न सिकाएको छ । हो, यसले मलाई म मानसिक पीडित हो भनी स्वीकार्दै अगाडि बढ्न सिकायो । 

जीवनका हरेक नमीठा पललाई एउटा मीठो सम्झनामा कैद गरी रमाउन सिक्दै छु । औषधीले प्रयोगशाला बनेको शरीरलाई एउटा नयाँ शैलीमा बाँच्‍न सिक्दै छु । औषधीले कहिलेकाहीँ काम गर्ने, कहिले नगर्ने, शरीर भारी हुने, थकित हुने, निद्रा नलाग्ने, बोल्न मन नलाग्‍ने आदिले जिउन गाह्रो हुन्छ तर हार मानिनँ । शारीरिक र मानसिक पीडाले समाजमा घुलमिल हुन सुरुमा निकै असहज भए पनि जीवनमा खुसी भएर म धेरै अगाडि बढ्छु भन्‍ने आत्मविश्‍वासले आजसम्म बाँचेको छु, खुसी छु ।

मानसिक पीडाबाट छुटकारा पाउन सकिन्छ, सर्वप्रथम आफूलाई माया गर्न सिक्नुपर्छ । म पीडित हो भनेर स्वीकार्नु ठूलो कुरा हो । शारीरिक व्यायाम, सन्तुलित भोजन, डाक्टरसँगको परामर्श, काउन्सिल, मेडिटेसन, नियमित औषधी, सकारात्मक सोच आदिले अगाडि बढ्न निकै हौसला मिल्छ । कसैले तिमी ठीक छौ मात्र भन्दा पनि ठूलो औषधी हुन्छ ।

हाम्रो थोरै समय, माया, पे्ररणा, हौसलाले कसैलाई नयाँ जीवनको बाटो देखाउन सकिन्छ भने त्यो हाम्रो मनवता हो । त्यसैले आत्महत्या मानसिक पीडाको समाधान होइन । मृत्यु संसारमा कसैको पनि निश्‍चित छैन, बाँचुन्जेल कर्म गरौँ, ढिलो-चाँडो अवश्य होला । तर कर्मअनुसारको फल पाइन्छ । आत्महत्या गर्ने कोसिस नगरौँ ।
(बीए एलएलबी अध्ययनरत, नेपाल ल क्याम्पस)


Author

थप समाचार
x