विचार

संस्मरण र अनुभूति

राष्ट्रिय धरोहर बनेका ती दुई

वसन्त लोहनी |
जेठ २१, २०७९ शनिवार ६:५९ बजे

त्यो परिवेश । राणा कालको अन्तिम दशक । अर्थात्, सन १९४१ देखि १९५१ को । सन् १९४० मा वेदप्रसाद लोहनीले लखनउबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा सकेर काठमाडौँ फर्केका । त्यति बेला जुद्ध शमशेर सर्वशक्तिमान थिए त्यो जहानियाँ हुकुमी शासनको जुन ९४ वर्ष अगाडि सन् १८४६ को कोत पर्वबाट सुरु भएर आएको थियो । त्यो निरन्तरताको निभ्ने बेलाको बत्ती जस्तै । त्यसैले त आफूपछि लगत्तै श्री ३ हुने रुद्र शमशेरलाई डाँडा कटाउन सकेका । र, प्रजातन्त्रको चार योद्धाहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई सहिद बनाउन सकेका । अनि यिनीहरूको नेता जिउँदो सहिद टङ्क प्रसाद आचार्यलाई टाउको मुडेर जेला हालेका ।

सन् १९४२ बाट वेदप्रसादले सिभिल इन्जिनियरिङको व्यावसायिक काम सुरु गरेका पहिलो इन्जिनियरिङ स्कुलको शिक्षक भएर । सन् १९५१ मा वेदप्रसाद नेपालको पहिलो खाने पानी फिल्टरेसनको निर्माण गरिरहेको थिए जति बेला प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री मोहन शमशेर बने जसविरुद्ध नै त्यत्रो प्रजातान्त्रिक सङ्घर्ष लडिएको थियो । अन्तले प्रजातान्त्रिक प्रधानमन्त्री बनाइदिए पनि उनी निस्तेज थिए । श्री ५ त्रिभुवनलाई सन् १९५० मा पदच्युत गर्न सक्ने उनी दुई महिनापछि माथि राजा त्रिभुवन र तल क्रान्तिकारी मन्त्रीहरूको दबाबबाट भुरुङ घुमेजस्तो घुमेर टक्क अडिएका थिए । अलि पछि त सिंह दरबारलाई आफ्नो निवास बनाउन नपाउने पनि उनकै सरकारले निर्णय गरेको थियो ।


यस्तो अकल्पनीय विरोधाभास विश्वमा कही हुँदैन । दक्षिण अफ्रिकामा नेल्सन मण्डेला सन् १९९४ मा सर्वेसर्वा बने क्रान्ति सफल भएपछि । र, ‘पहिले मुलुक’ भन्ने उनको दूरदर्शी सोचको कारण रङ्गभेद नीतिअन्तर्गत अत्याचार गर्ने शासकहरू, जसविरुद्ध क्रान्ति लडिएको थियो, तिनलाई पनि शासनमा लिएका थिए । तर नेपालमा निर्णायक खेल बाहिरबाट भएको थियो । त्यसैले हुकुमी शासन चलाउने श्री ३ मोहन शमशेरकै अधीनस्थमा क्रान्तिकारीहरू समाहित गरिए त्यत्रो क्रान्तिपछिको प्रजातान्त्रिक सरकारमा । तिब्बतको सङ्कट पोखिँदै आएको देखेपछि भारतीय प्रधानमन्त्री नेहरुले सन् १९५० को सन्धि मोहन शमशेरबाट हात पारेपछि यो व्यवस्था गराइदिएका थिए । 

त्यसैले प्रजातान्त्रिक आन्दोलनलाई न्यायोचित मञ्जिलमा पुग्नै दिइएन । सुरुवात नै उपनिवेशवादी नीतिको निरन्तरताअन्तर्गतको विरोधाभासबाट भयो । त्यसैले २००७ सालको राजनीतिक परिवर्तनले समाज रूपान्तरण गर्ने परिवर्तन ल्याउन सकेन । तर यसको मतलब त्यसलाई निस्तेज गर्ने अभिप्राय चाहिँ मेरो निश्चित रूपमा होइन । मैले यसबारे २००१ फेब्रुअरी १८ मा ‘दि काठमाडौँ पोस्ट’ले फागुन ७ गते मनाउन निकालेको प्रजातन्त्रको विशेषाङ्कमा ‘रिभुलेसन एन्ड आफ्टर’ शीर्षकमा यी सबै कुराहरू विश्लेषण गरेको हुँ । र, त्यसै दिन रेडियो सगरमाथाले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पनि बोलेको थिएँ । यतिखेरको छलफलको मूल विषय यो नभएको हुनाले यसमा अझ अगाडि नगएर वेदप्रसादलाई उनको परिवेशभित्र राखेर मात्र हेरौं । हेर्ने अवधि जुद्ध शमशेरको अन्तिम समयदेखि प्रजातन्त्रको आगमनसम्मको । यसमा पनि त्यो परिवेशभित्र दुई भवनहरू मात्र । 

नेपालको दुई हजार वर्षको आर्किटेक्चर टाइम लाइनमा परेको डिल्लीबजारमा रहेको भवनको अग्र भाग ।

यहाँनिर आइपुगेपछि एउटा कुरा मलाई भन्न मन लाग्छ । त्यो हो म वेदप्रसाद लोहनीलाई अरूले भने जस्तो इन्जिनियर नभनेर ‘डिप्लोमा होल्डर’ भन्न रुचाउँछु । यसको कारण हो ‘डिप्लोमा होल्डर’भन्दा उनको व्यावसायिक उचाइ एकदम बढेको छ । नेपालको सन्दर्भमा यो उचाइ सगरमाथा जस्तो अग्लो देखिन्छ । यहाँनिर म अझ फेरि भनूँ । नामको अगाडि जे जोडिएको छ, चाहे त्यो जतिसुकै लामो किन नहोस्, त्यो जति महत्त्वपूर्ण होला त्यो भन्दा धेरै महत्त्वपूर्ण केही नजोडिएको नाम भए पनि अन्ततः उसको व्यावसायिक उपलब्धि नै हुन्छ ।

यस पाटोबाट अलि पर हेर्दा म ‘हाइ स्कूल ड्रप आउट’ भनिने आइन्स्टाइन र ‘लिटिल कर्पोरल’ भनिने नेपोलियनलाई देख्छु । यस्तो सम्बोधन पनि सम्मान थियो एक किसिमको । तर ‘डिप्लोमा होल्डर’ भन्नुको मतलब मैले वेदप्रसादलाई आइन्स्टाइन र नेपोलियनहरूसँग दाँज्न खोजेको चाहिँ होइन । न किमार्थ दाँजिन कुरा नै हो यो । यो हेक्का मलाई राम्ररी छ । साहित्यमा कहिलेकाहीँ ‘हाइपरबोलिक एक्सप्रेसन’को प्रयोग गरिन्छ । केवल यस प्रयोजनका लागि कि भन्न खोजेको कुरा अझ प्रस्टसँग बुझियोस् भनेर मात्र । मेरो अभिप्राय यति मात्र हो । र, वेदप्रसादलाई ‘डिप्लोमा होल्डर’ नै भन्दा मलाई गर्व लाग्छ । यो चाहिँ पक्का हो । 

सन १९४० देखि १९५१ सम्मको राणाकालीन अवधि ‘डिप्लोमा होल्डर’को अवधि रह्यो नेपालको सिभिल इन्जिनियरिङमा । र, उनको व्यावसायिक आँट र उत्कृष्टताको अवधि अझ अगाडिसम्म गयो । अर्थात् रञ्जना सिनेमा हलसम्म । अर्थात् डिजाइन गरेको सन् १९५२ र सुसम्पन्न भएको सन् १९५६ सम्म । तर वेदप्रसादले आफ्नो इन्जिनियरिङको व्यावसायिक जीवनमा कहिले कसैको अन्तर्गत काम गरेनन् । व्यावसायिक काम उनले एक्लै र स्वतन्त्र भएर मात्र गरे । राणा कालभरि आफैँ सहसंस्थापक भएर सुरु गरेको नेपालको पहिलो इन्जिनियरिङ स्कुलमा शिक्षक थिए । जे निर्माण गरे, सरकारको पिडब्लुडी अर्थात् सार्वजनिक निर्माण अड्डाअन्तर्गत भएर होइन ।

प्रजातन्त्र आएपछि उनी क्याबिनेटमा उपसचिव बन्न पुगे । सचिवमा थिए सरदार गुञ्जमान सिंह । त्यति वेला सचिवपछिको लगत्तै दोस्रो व्यक्ति हुन्थ्यो उपसचिव– सेकेन्ड म्यान । त्यसैले रञ्जना डिजाइन गर्दा पनि व्यावसायिक रूपमा उनी कसैको अधीनमा थिएनन् । यो अवधि नेपालको इन्जिनियरिङको आधुनिक युग थियो जुन वेदप्रसादले सुरु गरेका थिए । यो युगमा बनेको ‘सरस्वती सदन’ले नेपाललाई सिमेन्ट ढलान युगमा लग्यो । त्यसबारे हामीले पर्याप्त छलफल गरिसकेका छौँ । त्यसैले त्यसपछि लगत्तै बनेका दुई भवनहरूको बारेमा केही चर्चा गरौँ । 

डिल्लीबजारको भवन
यो भवन सरस्वती सदनभन्दा पनि अगाडि बनेको कुरा अध्ययनको क्रममा अहिले पुष्टि भएको छ । वेदप्रसाद पढेर फर्कनेबित्तिकै उनले बनाएको पहिलो भवन यही नै हो । यो आवासीय भवन भोगेन्द्रराज पाण्डेको हो र जुन अझै डिल्लीबजारको गुरुज्युको चौरको उत्तर पश्चिममा करिब ८० वर्ष पहिलेको इज्जत लिएर उभिएको छ । यसको संयोग कसरी जुर्यो ? यसलाई सर्सती हेरेर अगाडि बढौँ । कोत पर्वबाट जङ्गबहादुरले सत्ता हत्याएको ४० दिनपछि उनको हत्या गर्ने दिन १८४६ को अक्टोबर ३१ शनिबार तोकिन् रानी राज्यलक्ष्मीले भण्डारखालमा, जुन हनुमान ढोका दरबारको पूर्वदक्षिणतिरको बगैँचाको भाग थियो । अहिलेको जुद्ध शमशेरको सालिक भएको ठाउँतिर ।

यसको कारण अनियन्त्रित महत्त्वाकांक्षा नै हो । जुन कोत पर्वबाट उनीले जङ्गबहादुरलाई सत्तामा ल्याएकी थिइन् आफ्नो छोरा रणेन्द्रलाई युवराज बनाउनको लागि, सो गर्न जङ्गबहादुरले नमानेपछि यो अवस्था बनेको थियो । यहाँनिर यति भनिहालौँ राजा रणबहादुरले कान्तावतीका लागि आफैँलाई च्युत गरेर गीर्वाणयुद्धलाई राजा बनाएर नजीर कायम नगरेको भए नेपालको राजनीति जङ्गबहादुर सर्वशक्तिमान हुने दिशातर्फ जाँदैन थियो होला । हत्या गर्ने योजना, जुन भणडारखाल पर्व भनिन्छ, त्यसको भेद विजयराजले खोलिदिएका थिए । भाइ बमबहादुरको लगनको घरमा बस्थे जङ्गबहादुर त्यति बेला । थापाथली दरबार मर्मत गर्नुपरेको कारणले गर्दा । विजयराजलाई त्यही थुनिदिए उनले यो भनेर कि ‘सत्य ठहरिएमा तिमीलाई राजगुरु बनाउनेछु, झुट्टा ठहरिएमा मुडिदिनेछु ।’ सही निस्कियो र त्यो षड्यन्त्र विफल पारे । त्यसको तीन हप्तापछि राजा राजेन्द्र रानी राज्यलक्ष्मीलाई काशीवास पठाइदिए ।

लट्ठा बिनाको काठको घुम्ने भर्‍याङ

विजयराजको कारण आफू बाँचेकाले आफ्नो वचनबमोजिम पारितोषिक सरह उनीलाई राजगुरु बनाइदिए । यसरी गुरुज्यू प्रथा एउटा वर्ग बनेर सुरु भयो नेपालमा । राणा शासकको जस्तै जेठोले गुरुज्यू बन्ने र शासकहरूले जस्तै सान सौकत, आमोद प्रमोद र मोज मज्जा गर्न पाउने भए । राज्यले यसका लागि साधन उपलब्ध गराउनुपर्ने भयो । होइन, व्यक्ति भन्दा एउटा संस्था नै बन्यो यस क्रममा राजकाजको । जमिनमा आधारित त्यति बेलाको अर्थतन्त्रमा गुठी जमिनको चाँजोपाँजो मिलाउने अधिकार सहित धर्माधिकार भए । युरोपमा जस्तै वैधानिकता र धर्मको संयोजन गरेर शासक र धर्माधिकार एकले अर्कोलाई सघाउने सम्बन्ध बन्यो । विजय राजको छोरा नगेन्द्रराज र उनको कान्छो छोरा तर्कराज । तर्क राजको एउटै मात्र छोरा थिए भोगेन्द्रराज । 

त्यो डिल्ली बजारको बङ्गला वेदप्रसादले बनाउँदा बडा गुरुज्यु जेठो गुरुज्यु भनिने हेरम्बराज थिए । तर परिवारका सबै सदस्य गुरुज्यू भनिन्थे । र, सबैले मोजमज्जा गर्न पाउने नैसर्गिक अधिकार बनेको थियो । त्यो अमानवीयकरणको समयमा रैती बनेका आम नागरिकले ‘गरिब परवर’ भनेर सम्बोधन गरिने । भोगेन्द्रराज पनि बडा गुरुज्यू भए सन् १९६३ मा करिब एक वर्ष । त्यो भन्दा अगाडि राजा महेन्द्रको शाही परामर्शदाता पनि भएका थिए ।

पढाइ सकेर आएका वेदप्रसादको भेट हुने नै भयो किनकि भोगेन्द्रराज वेदप्रसादको बाबु कप्तान पण्डित रुद्रप्रसादको आफ्नै मामाको छोरा थिए । वेदप्रसादसँगको कुराकानीपछि उनले नयाँ प्रविधिको बङ्गला बनाउने चाहे आफ्नो कम्पाउन्डभित्र । आवश्यकताले होइन, चाहनाले मात्र । डिल्ली बजारमा ४२ रोपनीको कम्पाउन्डभित्र आफ्नो दरबारभित्र बसेकै थिए । उनको पिता तर्कराज त्यति बेलाको नेपालको सर्वाधिक धनी गनिने व्यक्तिमध्येका एक थिए । विराटनगर र वीरगन्जमा हजारौँ बिगाह जमिन भएका । विराटनगरमा तेजारत कोठी खोलेका जसको काम ब्याजमा ऋण दिने थियो । भोगेन्द्रराज कलकत्ता घुम्न गइरहने हुँदा बङ्गलाको लहड चलेको कारणले बनाउन खोजेका थिए होलान् त्यति वेला ।

त्यो नै पहिलो भवन हो, वेदप्रसादले बनाएको । यसबारे थप जानकारी लिन र आफैँ गएर हेर्न चाहे मैले । त्यस भवनमा अहिले श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको कार्यालय छ । हाल त्यसको मालिक भोगेन्द्रराजको साइँलो छोरा गोविन्दराज पट्टिको नाति शशिराज पाण्डे छन् । उनी विश्व प्रसिद्ध अमेरिकाको एमआइटीमा पढेका इन्जिनियर र लामो प्रशासनिक अनुभव भएका व्यक्ति हुन् । उनीसँग मेरो अमेरिकामा मेसेन्जरबाट कुरा हुँदा उनले त्यो घरमा जाने र फोटो खिच्ने व्यवस्था मिलाइदिए । र, तीनटा कुरा बताए । पहिलो, भर्याङको, दोस्रो गोलो व्यूह रचना बनावटको र तेस्रो सन् २०१५ को भूकम्पपछिको मूल्याङ्कन ।

यो घरको भर्याङ गजबसँग डिजाइन गरिएको छ । यो तलदेखि माथि कौसीसम्म काठको घुम्ने भर्याङ हो र अरू घुम्ने भर्याङ जस्तो अडाउनका लागि बीचमा कुनै लट्ठा छैन । लट्ठाबिनाको घुम्ने भर्याङ गजबको नै देखिन्छ । यसबारे शशिराजले बताएअनुसार यो भर्याङ वेदप्रसादले आफैँ बसेर कीर्तिपुरको एउटा कालिगडलाई बनाउन लगाएका थिए । त्यो कालिगडले बूढो भएको बेला आफ्नो नातिलाई त्यो भर्याङ उसले कसरी बनाएको थियो त्यो देखाउन र बुझाउन त्यहाँ आउँदा आफूले भेट भएको कुरा उनले बताए । यो कलात्मक भर्याङ त्यो बङ्गलामा वेदप्रसादले प्रयोग गरेको वास्तुकलासँग पूरा संयोजित भएको देखिन्छ ।

भवन निर्माणमा वेदप्रसाद कुनै प्रारूपको नक्कल गर्ने स्वभावका थिएनन् । उनी आफूले गर्ने निर्माणमा जीवन्तता हाल्न चाहन्थे । यो नै उनको पन हो । यो अभिव्यक्त गर्न प्रायः सबै घरहरूमा कहीँ न कहीँ उनी गोलाकार या व्यूह रचनाको सहारा लिन्थे । वास्तवमा, व्यूह रचना नै उनको ‘सिग्नेचर डिजाइन’ बनेको छ । अहिले पनि काठमाडौँमा पुराना घरमा देखिने गोल भएको यस्तो व्यूह रचना देखेपछि स्वभावतः मनमा प्रश्न उठ्छ । त्यो भनेको यो वेदप्रसादले डिजाइन गरेको हुनुपर्दछ भन्ने । डिल्ली बजारको घरमा काठको त्यो कलात्मक भर्याङ मात्र होइन त्यो व्यूह रचनाको भरपुर प्रयोग भएको देखिन्छ ।

भोगेन्द्रराजको यो आवासीय घरमा वास्तुकलाको सुरुचिपूर्ण त्यो सुन्दरता उनले देखाउन सकेको कारण उनको वास्तु शिल्पको ज्ञान मात्र चाहिँ पक्कै पनि होइन । यथार्थ भनेको त्यति बेलाको परिवेशमा उनले पाएको निर्माण स्वतन्त्रता पनि हो । सन् १९४० को दशक राणा कालको अन्तको दशक भए पनि रैती बनेका आम जनताले घरमा सेतो रङ पोत्न पनि पाउँदैनथे । विरलै हुन्थे राणाको स्वीकृति लिएर रङ लगाउन पाएका व्यक्तिहरू । राणाको दरबारको नजिकको घरको झ्याल टलिएको हुन्थ्यो । राम्रो घर भयो भने आँखा लाग्छ भन्थे केही हुनेखानेहरू पनि । त्यस्तो अवस्थामा निर्माण स्वतन्त्रता पाएर उनले सौन्दर्यबोधको उन्मुक्त अभिव्यक्ति दिन पाउनु भोगेन्द्रराजको घर बनाउन पाएकाले मात्र हो । किनकि भोगेन्द्रराज गुरुज्यू थिए । यस्तो घर बनाएर त्यसमा सोख गरेर बस्न पाउनु राणाजीको जस्तै उनको पनि नैसर्गिक अधिकार नै थियो ।

यो अवसरले जुराउँदा वेदप्रसादले शिल्प कलाको राम्रो प्रयोग गरेका छन् यसमा । पढेर आउनेबित्तिकै बनेको भनिएको छ । लखनउबाट पढेर सन् १९४० मा काठमाडौँ फर्केपछि करिब आठ महिना उनी बम्बई गएका छन्– स्वअध्ययन गर्न । त्यसको गणना गर्दा यो भवनको निर्माण सन् ४२ या ४३ तिर नै भएको हुनुपर्दछ, सन् १९४३ मा डिजाइन भएको सरस्वती सदन भन्दा अगाडि नै । यहाँनिर शशिराजले भनेको दोस्रो कुरालाई जोडेर हेरौँ अब । अर्थात् गोलाकार व्यूह रचना बनावटको । उनले मलाई बताएअनुसार त्यो भवनमा चारवटा सर्कल अर्थात् गोलाकार व्यूह रचना गरिएका छन् । त्यसको आधारमा निर्माण भएकाले घरको भूकम्प प्रतिरोधात्मक क्षमता बढेको छ । २०१५ को भूकम्प पछि डेनमार्कबाट आएका इन्जिनियरको टोलीले भूकम्पपछिको भवन मूल्याङ्कन गर्दा उक्त कुरा बताएको भनेर उनले मलाई सुनाएका थिए । सर्सती हेर्दा गुम्बज प्रविधि र सिमेन्ट ढलानको फ्युजन गरिएको देखिन्छ ।

वास्तुकला सिकाउन विद्यार्थीहरूलाई यो भवनमा लगिन्छ भन्ने मैले सुनेको हुँदा त्यसबारे जान्न चाहेँ । लामो समयदेखि प्राध्यापनमा रहेका र करिब ४० वर्ष अगाडि नै इन्जिनियरिङ अध्ययन संस्थानको डीन भएका गोल्ड मेडलिस्ट आर्किटेक्ट प्रा. डा. सुदर्शन तिवारीसँग कुरा गर्दा उनले यसको पुष्टि गरे । र, उनले अरू थप कुरा बताए, वेदप्रसादबारे, अनि भवनबारे । पहिलो हो डिजाइनको । वेदप्रसादको क्षमता भनेको डिजाइनले माग गरेपछि उनी त्यो काम कठिन भयो भनेर छोड्दैनथे । उनको उद्देश्य हुन्थ्यो त्यो डिजाइनलाई कसरी साकार पार्ने । उनको सोच त्यतापट्टि हुन्थ्यो र उनले बाटो निकाल्थे चाहे जतिसुकै आँट गर्न किन नपरोस् । जति सकिन्छ डिजाइन अप्परच्युनिटी नछोड्ने । मूलतः आँट्न सक्ने क्षमता थियो उनको ।

 

त्यति बेला ब्रिटिसले गरेको भन्दा उनी एक स्टेप अर्थात् एक पाइला अगाडि जान खोजेको देखिन्छ । यसै प्रसङ्गमा उनले थप भने– त्रिपुरेश्वरमा गेस्ट हाउससँगैको ठाउँमा उनले टेस्ट अर्थात् परीक्षण गर्थे । सायद डिल्ली बजारको यो घरको पनि उनले त्यहाँ परीक्षण गरेको हुनुपर्दछ । दोस्रो कुरा भने शिल्पको । उनी घरमा शिल्प हाल्थे सानो सानो कुरामा पनि । सिमेन्टको भुइँ बनाउँदा पनि प्याटर्न हाल्थे, झ्यालमा स–साना ऐनाहरूको प्रयोग गरेर केही निकाल्थे । सिलिङ एकनास नगरेर उचाइ कम र माथि पार्थे । बनाउन सजिलो खोज्ने होइन कि बस्न सजिलो पार्ने र सौन्दर्य देखाउँथे । निर्माणका राम्रो गुणस्तरको लागि आफैँ लागि पर्ने । आफ्नै अनुभव पनि सुनाए ।

डिल्ली बजारको त्यो घरमा वास्तुकलाको राम्रो प्रयोग भएको उनको ठहर छ । यसै सिलसिला उनले नेपालको दुई हजार वर्षको आर्किटेक्चर टाइम लाइन बनेको कुरा बताए । लुम्बिनीको अशोक स्तम्भबाट सुरु गरिएको छ यो । र, पछिल्लो समयमा आउँदा अरू छैनन् तर वेदप्रसादजीको दुवै घरहरू परेका छन् त्यसमा– सरस्वती सदन र यो डिल्ली बजारको भवन । मलाई ज्यादै खुसी लाग्यो ती राष्ट्रिय धरोहर भएको भनेर सुन्दा । मैले पहिलो पल्ट सुनेँ यो कुरा ।

यसपछि त्यो घरबारे थप जानकारी लिन म भोगेन्द्रराजको कान्छो छोरा जनार्दन राजको घरमा गए । पहिलो पटक गएको जिन्दगीमा भेट्नै भनेर । ९५ वर्षका रहेछन् । यिनी पनि बडा गुरुजु बनेका थिए । पहिलो बडा गुरुजु विजयराजको पुस्ताको १२ औँ र अन्तिम बडा गुरुजु हुन् जनार्दनराज जसलाई अन्तिम राजा ज्ञानेन्द्रले नियुक्त गरेका थिए, केशरीराजपछि । खगेन्द्रराजपछि सन् १९७६ मा यो पद अन्यत्र गयो १७ वर्षसम्म । पुनः फर्केर आयो यो परिवारमा सन् १९९३ मा नयनराज बडा गुरुजु बनेपछि ।

संयोग नै हो यो पनि कि दोस्रो बडा गुरुजु नगेन्द्रराजको छोरी कल्पकुमारीको विवाह पद्मनाभ लोहनीसँग भएको थियो भने अन्तिम र १२ ओ बडा गुरुजु जनार्दन राजको छोरी रिताको विवाह पनि यही परिवारको ज्योति लोहनीसँग भएको छ । करिब आधा घण्टा लामो रेकर्ड गरिएको वार्तामा उमेर अनुसार जति स्वस्थ देखिन्थे त्यति नै त्यो घरको बारे धुर्मेलो सम्झना मात्र भएको आभास पाए । ‘आफू सानै भएकाले कहिले बनेको हो, त्यो यकिन भएन’, भने । बुबासँग आफू पनि त्यो घरमा बसेको मीठो कुरा स्मरण गर्दै भने, ‘बस्न असाध्यै सजिलो थियो । दलिन हाल्न नपर्ने भनेकोले बुबाले बनाउन लगाएको हो ।’ 

यट्खाको भवन
नेपालको इतिहासमा बडाकाजी बन्ने सौभाग्य केवल चार जनाले मात्र प्राप्त गरेका छन् । परराष्ट्र मामिला हेर्ने अड्डा मुन्सीखानाका हाकिम मरीचमान सिंह प्रधान हुन् । उनीलाई चन्द्र शमशेरले बनाएका हुन् । र, सबभन्दा चर्चित बडाकाजी उनीलाई सायद लिइन्छ । कारण हो, परराष्ट्रको उनी हाकिम भएको र त्यस मामिलामा राम्रो पकड भएकाले । चन्द्रको बेलायत भ्रमणको चाँजोपाँजो यिनले मिलाएका थिए १९ तोपको सलामी र पूर्ण राजकीय सम्मान पाउने गरी । दोस्रो हुन्, भीम शमशेरले बनाएका रत्नमान सिंह । तेस्रो राजा त्रिभुवनले बनाएका माणिकलाल राजभण्डारी र चौथो राजा महेन्द्रले बनाएका पुष्पराज राजभण्डारी । निजामती सेवाको सर्वोच्च दर्जा हो तलब सुविधा खान पाउने । तर राजाले अख्तियारी दिए भने शक्तिशाली, नत्र तलब खाने ठूलो इज्जतको दर्जा मात्र । रत्नमान सिंह अख्तियार प्राप्त थिए । त्यसैले निकै शक्तिशाली ।

बडाकाजी रत्नमानको घर वेदप्रसादले बनाएका थिए उनको पुरानो घरसँगै यट्खामा । सन् १९४७ मा बनेको यो घर सायद चौथो हो– डिल्ली बजारको भोगेन्द्रराजको घर, सरस्वती सदन र त्रिपुरेश्वरमा घरेलुको ९ घरहरूको समूहपछि । त्यति बेला टुँडिखेलको पश्चिमलाई मात्र सहर भनिन्थ्यो । यस मानेमा सहरमा बनेको पहिलो घर हो, सिमेन्ट ढलानको । थानसिङका पशुपति लोहनीले करिब दुई वर्ष अगाडि दुई छोराहरू पढाउन घर किनेका थिए किलागलमा । नजिकै नै छ यट्खा त्यस ठाउँबाट । यट्खाको यो घर अहिले बन्डा गरिएर बाँडिएको छ बडाकाजी रत्नमानको दुई छोराहरू गुञ्जमान र तीर्थमानका नातिहरूबीच ।

अहिले भाडामा दिइएको भवनमा त्यतिखेर सरदार गुञ्जमान सिंहको सुत्ने कोठा। पार्केटिङ त्यतिखेरकै हो।

सिमेन्ट ढलानको यो घर बनाउँदा बडाकाजी रत्नमानको भए पनि बनाउने काममा अगाडि भने गुञ्जमान थिए । त्यसैले वेदप्रसादको सम्पर्क भने गुञ्जमानसँग हुन्थ्यो । शारीरिक रूपमा अलि छोटो कदको तर अग्लो व्यक्तित्व भएका यिनी लबेदा सुरुवाल र कोटमा सजिने र सिल स्किनको टोपी लगाउँथे । राजा महेन्द्रले सन् १९५५ मा पाँच रोयल एड्भाइजरहरू राखेर १० महिना प्रत्यक्ष शासन गर्दा गुञ्जमान सिंहलाई प्रधान मन्त्री सहरको प्रिन्सिपल रोयल एडभाइजर नियुक्त गरेका थिए।

सन् १९५५ मा नेपालको चीनसँग दौत्य सम्बन्ध स्थापित गर्न र त्यसको चार महिनापछि नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्यता दिलाउन यिनको निर्णायक भूमिका थियो । चीनसँग दौत्य सम्बन्ध भारत चाहँदैन थियो । त्यसैले त्यो सम्बन्ध स्थापना गर्दा अत्यन्त गोप्य रूपबाट काम गर्नुपरेको थियो । राजा महेन्द्रको प्रत्यक्ष निर्देशनमा यसका लागि एउटा सानो कोर टिम बनेको थियो, गुञ्जमानको नेतृत्वमा जसमा वेदप्रसाद लोहनी पनि थिए । यसबारे अर्को सन्दर्भमा छलफल गरौँला जुन वेदप्रसादले मलाई बताएका थिए ः कसरी त्यो टिमले काम गरेको थियो भन्ने बारे ।

यट्खाको त्यो सिमन्टीको घर बनाउँदा गुञ्जमान मीरसुब्बाबाट सरदार भइसकेका थिए । र, उनको भाइ तीर्थमानसँग हुन्थे भवन बनाउने काममा । यी दुवैलाई मैले धेरै पटक देखेको हुँ सानो छँदा । हामी सरदार साहब भन्थ्यौँ । बलियो मित्रता थियो, वेदप्रसाद र गुञ्जमानको । यट्खाको यो घरमा वेदप्रसादको ४२४ नम्बरको रोयल इन्फिल्ड मोटर साइकलमा पछाडि बसेर म अनगन्ती पटक गएको छु फुच्चे हुँदा । गुञ्जमानले सुब्बा बाजे भन्थे वेदप्रसादलाई । उनी कम बोल्ने र गहिरिएर सोच्ने स्वभावमा थिए । पछि ठूलो भएपछि म देख्थेँ उनको छोरा भुवनमानले विलिस जिपमा हाँकेर ल्याएको गुञ्जमानलाई हाम्रो घरमा । वेदप्रसाद र गुञ्जमानको यसरी भेट हुँदा घन्टौँ बित्थ्यो छलफल र सरसल्लाहमा ।

वेदप्रसादलाई गुञ्जमानले निकै आग्रह गरेका थिए, सँगै बसौँ चितवनमा भनेर । वेदप्रसादले मानेनन् । कारण थियो पिता रुद्रप्रसादले भनेका थिए उनीलाई– कहिले पनि जङ्गल फडानी गरेर जमिन नलिनु आफ्ना लागि किनकि जीवजन्तुको आश्रय खोसेर वस्नु हुँदैन । वेदप्रसादको अनन्य मित्र नरबहादुर गुरुङ जग्गा बाँड्ने मै थिए त्यहाँ बस्ती बसाउँदा । उनले वेदप्रसादलाई त्यति वेला नै लिइदिन खोज्दा पनि यही कारणले मानेका थिएनन् । गुञ्जमान गए बस्न एक्लै । तर काठमाडौँ आउँदा भेटघाट र सरसल्लाह त्यस्तै हुन्थ्यो । जिपमा भुवनमानले ल्याउँथे । भुवनमान नबोल्ने र कान अलि कम सुन्ने । उनी २०३० मा उद्योग वाणिज्य राज्य मन्त्री भएका थिए । उनको छोरो विमलमानले पनि काठमाडौँबाट राष्ट्रिय पञ्चायतमा चुनाव जितेर सन् १९८३ मा सहायक मन्त्री बनेका थिए । 

यट्खाको त्यो घर हेर्न जान मैले  गुञ्जमानको जेठो छोरोपट्टिको नाति मित्र डा. दुर्गेशमान सिंहलाई भनेँ । उनी अर्थशास्त्री हुन् । राष्ट्रिय योजना आयोगको पूर्वसदस्य । राजदूत पनि बने युरोपियन युनियन र भारतका लागि । उनी र म सँगै गयौँ । त्यो घरमा पनि घुम्ने भर्याङ नै छ । तर यो काठको नभएर सिमेन्ट ढलाइको । र, निकै फराकिलो किसिमको । पाएसम्म ठूलो स्पान लिन चाहने वेदप्रसादको डिजाइन यस घरमा पनि प्रस्टै देखिन्छ । हेर्दै जाँदा मैले दुइटा भर्याङ देखे र सोधे– किन दुइटा ? दुर्गेशले यसको रमाइलो कथा सुनाए । त्यो पनि वेदप्रसादले एक दिन बोलाएर दुर्गेशलाई भनेको– म धेरै बूढो भइसकँे । अब यो बोझ म लिन सक्तिनँ, ल सुन यो कुरा भनेर ।

दुर्गेशले बताएअनुसार त्यति बेला रत्नमानको यो परिवारले भविष्यमा अलग बस्ने कल्पना गर्न सक्तैन थियो । बस्नुपर्ला कि भनेर सोच मात्र आयो भने पनि पाप लाग्छ भन्ने मानसिकता थियो । दुई दाजुभाइ गुञ्जमान र तीर्थमानबीच राम र लक्ष्मणको जस्ता सम्बन्ध थियो । एक दिन गुञ्जमानले वेदप्रसादलाई भनेछन्– एउटा कुरा म भन्छु त्यो सुब्बा बाजेले कसैलाई पनि भन्न पाउनु हुनेछैन । न मेरो बुबालाई, न भाइलाई मैले गराएको भनेर । वाल्ल परेको वेदप्रसादलाई अनि भनेछन्– भर्याङ दुइटा हालिदिनुस् । यसरी दुइटा भर्याङ बनेको रहेछ । दुर्गेशले अनि भने– यसले गर्दा अहिले खास केही गर्नै परेन । दुवैतिरको खाली ठाउँमा हलका वाल लगाइदिने बाहेक । कति दूरदर्शी गुञ्जमान ?

घर ठूलो थियो । सबैतिर भेग पाउन गाहारो भयो, नाति पुस्ताका दाजुभाइहरूमा भाग लागेको कारणले गर्दा । निर्माण मजबुत देखिन्थ्यो । ७५ वर्षपछि पनि मैले क्षयीकरण भएको कतै देखिन । हेर्दै जाँदा दुर्गेशले त्यो ठूलो हल देखाए जहाँ सवारी मन्त्रालय बसेको थियो राजा महेन्द्रको पूर्व र पश्चिम सवारीको । र, वेदप्रसादको टेबुल कहाँ थियो भनेर पनि । त्यतिबेला प्रधानमन्त्री टङ्कप्रसाद आचार्य, गुञ्जमान अर्थमन्त्री । र, टङ्कप्रसादको क्याबिनेटले निर्णय गरेर पूरा अधिकार दिएको थियो सवारी मन्त्री बनाइएका गुञ्जमानलाई । उनको एकल निर्णय श्री ५ को सरकारको हुन्थ्यो ।

वेदप्रसाद कार्यपालिकाको सचिव थिए ती निर्णयहरू कार्यान्वयन गर्ने गराउने । र, वेदप्रसाद भन्थे– हजारै निवेदन पर्थे । सबमा निर्णय गर्नुपर्थ्यो । सोध्ने टाइम नै हुँदैन थियो । झिसमिसेमा पाल उखेली सक्थ्यो सेनाले अर्को बासमा क्याम्प लगाउन । कतिपयमा श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेबमोजिम यसरी गर्नुहोला भनेर सम्बन्धित निकायलाई लेखेर पठाउनुपर्थ्यो आफ्नो विवेक प्रयोग गरेर । राजा महेन्द्रसँगै हिँडेको थियो नेपाल सरकार त्यति बेला । यसबारे प्रशासकका रूपमा वेदप्रसादअन्तर्गत पछि छलफल गरौँला । अहिलेको कुरामा राष्ट्रिय धरोहर भएका छन्, ती दुई भवनहरू जुन वेदप्रसादले ७८ वर्ष अगाडि निर्माण गरेका थिए ।

वेदप्रसादबारे वसन्तका लेख

- सृजनाको उन्मुक्त अभिव्यक्ति

- समानान्तर यात्रा- सिमेन्ट ढलान र फ्युजन प्रविधिको

गजबको मान्छे उहाँ, तपाईंको फादर

पौरखी सोचले सधाएका हातहरू

सरस्वती सदन कसरी बन्यो ?

ज्यामितिको पहिलो पुस्तक

साँघुरो मन, काँचो रोटी

शासक, शासकीय र शासनको स्वरूप

कडा अनुशासनभित्र ‘अराजक’ बनेर जे सिके

गुरुज्यूको चउरको फुटबल म्याच

वेदप्रसादको खोच्याउने घोडा

दोभानबाट निस्किएको अठोट

जङ्गबहादुरको काँधमा खेलेकी

संस्मरण र अनुभूति : टालिएका झ्यालहरू

‘सेल्फ मेड’ वेदप्रसादजी

नबाब, कबाब, सबाब र आदाबको सहरमा

वेदप्रसाद, जसले सरस्वती सदन ठड्याए


Author

थप समाचार
x