विचार

लैंगिक हिंसा : उहिले र अहिले

सुशीला कार्की |
जेठ २७, २०७९ शुक्रबार ७:८ बजे

हिजोआज सञ्चार माध्यम महिलामाथि हुने हत्या, हिंसा, बलात्कारका घटना शृंखलाबद्ध रूपमा आइरहेका छन् । त्यस्ता घटनाले मनमा अनेक प्रश्न उब्जाउँछ, हाम्रो समाज किन यस्तो भयो ? महिलाविरुद्ध हुने हिंसाको संख्यामा हिजोका दिनमा भन्दा के आजभोलि अधिक वृद्धि भएकै हुन् त ? 

यस्ता प्रश्नको उत्तरमा कतिपयको तर्क देखिन्छ, यो हठात एकाएक खुला भएको समाज, टेलिभिजनमा देखाइने अश्लील चलचित्र, भेषभूषा पहिरन, स्वतन्त्रताका नाममा वृद्धि भएका उच्छृृंखलता जस्ता तत्व जिम्मेवार छन् यस्ता घटना बढ्नुमा । 


अझ कतिपयको तर्क यस्तो पनि देखिन्छ कि बलात्कार र महिला हिंसा जस्ता घटना पहिले पनि हुन्थे । तर त्यस बखत आजभोलि जस्तो मरिच, नुन, बेसार मरमसला लगायत समाचारपत्र र सामाजिक सन्जालहरूमा छ्याप्छ्यापी नभएका मात्र हुन् । किनकि जति सञ्चार माध्यमहरू सक्रिय छन्, पहिले त्यतिविधि थिएनन् । फेरि महिलाहरू सामाजिक लज्जा र स्वयंको इज्जत जाने डरका कारण आफूमाथि भएका हिंसाबारे प्रकट गर्न पनि चाहँदैनन् थिए । आजभोलि प्रायः आफूमाथि भएको हिंसाबारे महिलाहरू सहने पक्षमा भने छैनन् । बरु प्रकट गरेर अन्यायीलाई सजाय दिलाउने पक्षमा अधिकांश देखिन्छन् ।

मुलुकी ऐन २०२० आउनुपूर्व र पछिसम्म पनि महिलाहरूको ठूलो संख्या विवाहित, ल्याइते, भित्रिनी, रखौटीका रूपमा पुरुषले राख्न पाउने क्रम जारी थियो । यसका अतिरिक्त घरमा काम गर्न राखेकी नोकर्नी, चाकर्नी, भान्से पनि हिंसाका सिकार बराबर भएकै सुनिन्थ्यो । यस्ता प्रकृतिका घटना सम्बन्धमा नगन्य वारदातको हकमा पुरुषविरुद्ध उजुर पर्थे । पुरुषले शरीर छोइदिए मात्र पनि महिलाको जात जाने र त्यस्ता हिंसा आफूउपर भइदिएमा सामाजिक प्रताडना र बदनामी स्वयं महिलाले खेप्नुपर्ने हुँदा आफूविरुद्ध भएका हिंसाबारे पनि मौन रहिदिने गरेका हुन् । पुरानो समयका उच्च घराना वा मध्यम वर्गका छोरी–चेलीहरू विवाह नभएसम्म परिवारका बुजु्रकहरूको नियन्त्रण र रेखदेखमा रहन्थे ।

म आफ्नै पालाको कुरा सम्झन्छु । संयुक्त परिवारमा प्रायः पाँच छ वा सोभन्दा बढी संख्याका छोरी भएको घर नै हुँदैन थियो । अचेल परिवार नियोजन गरिने हुँदा छोरीको संख्या एकल परिवारहरूमा एउटी वा दुइटी मात्र देखिएका छन् । बढ्दो मँहगीले गर्दा शिक्षा, लाउन खान र विवाहबारीको भारी खर्चका कारण अधिक संख्यामा सन्तान जन्माउनेबारेमा मानिसले अबका दिनहरूमा कल्पनासम्म पनि गर्न सक्दैनन् ।

मेरै परिवारमा हामी छोरीहरूलाई परिवारका बुजु्रक महिलाहरूले सम्झाउने गर्थे, ‘रात अरुको दिन आफ्नो ।’ साँझ परेपछि घरको मूल गेट बन्द हुने गथ्र्यो । घरबाहिर कहाँ जाने हो र कोसँग भेट गर्ने हो, जहाँ जाने हो त्यसबारे अभिभावकलाई जानकारी दिएर मात्र दिउँसो जानुपर्ने र साँझको मूल ढोका बन्द हुनुपूर्व अनिवार्य फर्कनुपर्ने नियम थियो । यदि राति बिहेवारी वा कुनै भोज भतेरको कार्यक्रममा जानुपरेमा भरपर्दो संरक्षकको साथ लिएर मात्र जानुपर्ने हुन्थ्यो । यी नियमको उल्लंघन बारम्बार गरेमा वा पढाइतर्फ मन नलगाएर बस्नेलाई समयमा नै विहे गरी घरबार गर्न जानु भन्‍ने उर्दी पनि चल्ने गरेको थियो ।

मेरो इच्छा धेरै पढ्ने थियो । मैले वरपरका दिदीहरूले लेखेको प्रेमपत्र पक्राउ पर्दा तिनले पाएको नसिहत पनि देखेकै हुँ । कहिलेकाहीँ ती दिदीहरूको अनुरोधमा मैले तिनको नाममा लेखिदिएको प्रेमपत्र पक्राउ परी त्यो लेखनमा मेरो भूमिका थियो भन्‍ने प्रकट हुँदा दह्रो चट्कन पाएको अनुभव छ । 

त्यसैले गर्दा पनि कलेज र अन्यत्रका छात्र–छात्राहरूले आयोजना गरेको वनभोजमा म कहिले पनि सामेल भइनँ । पिता माताले स्वीकृति दिएर खर्च मेरो पोल्टामा राखिदिँदा पनि मैले सामेल हुने इच्छा कहिले पनि जाहेर गरिनँ । त्यस्तै घरमा कुनै सहपाठी पुरुष मित्र अचानक नोट कपी वा किताब माग्न आउँदा आमाहरू बरु चिया लिएर आउने, स्वागत गर्ने र कसका छोरा नाति हौँ भनी नालीबेली खोजी गर्ने गर्नुहुन्थ्यो । तर म चाहिँ किंकर्तव्यविमूढ भएर उभिरहन्थे । मनमा प्रश्न उठ्थ्यो, किन घरमै आएको होला ? बरु कलेजमा नै कापी मागेको भए भइहाल्थ्यो नि । 

मैले आफ्नो सुरक्षाबारे सोचिरहँदा एउटै कुरा मनमा राख्ने गर्थें, त्यो अपरिचित र एकान्त स्थानमा जहाँ आफू असुरक्षित हुइन्छ भरसक त्यस्ता ठाउँहरूमा नजाने । त्यसमाथि हाम्रो त्यो समय अर्कै थियो । हामीलाई पारिवारिक आधारमा समाजमा पहिचान गरिएको थियो । त्यसबेला जनसंख्या पातलो थियो र बस्ती पनि ठूलो थिएन । पिताको नाम लिएर फलानो ठाउँमा पुर्‍याइदेउ भनेपछि यातायातको साधनले आफ्नो घरको मूलगेटमा पुर्‍याइदिन्थे ।

बलात्कारका वारदात पुष्टि हुनुलाई उक्त हिंसाको सिकार भएकी युवतीको शरीरको डाक्टरी परीक्षण पनि आवश्यक पर्ने हुन्छ । यदि उजुरीको असीमित हदम्यादलाई कायम गर्ने हो भने ती प्रमाण पाउन कठिन हुन सक्दछ ।

मैले स्कुल कलेजमा पढ्दा, मेरा पुरुष सहपाठीहरूले मसँग प्रेम प्रस्ताव राखेको कहिले थाहा पाइनँ । एक पटक एउटी मित्रले हामीसँगै पढ्ने मारवाडी समुदायका युवकले आफूलाई घरसम्मै पिछा गर्ने गरेको जानकारी गराएपछि हामीले लठ्ठी लिएर दुई माइल परसम्म लखटेका थियौं । भोलिपल्टदेखि ऊ पढ्न नै आएन । फेरि हाम्रो समयमा आफ्ना कक्षाका पुरुष मित्रहरूसँग हिमचिम राख्ने र बोलिरहने चलन पनि थिएन । हामीलाई सानो कक्षामा हुँदा हाम्रा पुरुष सहपाठीहरूले तिमीहरू बिहे गरी अर्काको घर खाने जात पढेर के गर्दछौँ । तिमीहरू किन अगाडिको बेन्चमा बस्नुपर्‍यो ? अगाडिको बेन्चमा बस्ने हाम्रो अधिकार हो भनी साह्रै हेपेको देखेपछि हामी केटीहरूले मिलेर तिनीहरूलाई चट्काइदिएका पनि थियौँ ।

सुरक्षाका विषयलाई लिएर एकपटक मलाई कठिनाइ परेको अनुभव छ । कुनै समयमा बिहार भएर बनारसतर्फ रेलमा जाँदा सायद समस्तीपुरमा हुनुपर्छ, रेल रोकिएपछि पूरै डब्बा खाली भएको थियो । जसै यात्रीहरू उत्रिए, सेनाको एउटा बटालियन त्यो डिब्बामा चढ्यो । क्याबिनमा हामी दुई जना महिला थियौँ । क्याबिनमा पनि खाली ठाउँ भए जतिमा सेनाको मानिसहरू बसे । त्यो देख्दा मलाई निकै सकस महसुस भयो ।

अर्की भारतीय महिला प्रौढ थिइन्, उनी मुख बर्कोले छोपेर सुतिरहिन् । मलाई भने केही समयसम्म के गरुँ र कसो गरुँ भनी छटपटी भयो । क्याबिनबाट निस्केर हेरेको त जताततै डिब्बाभरि सेना नै सेना देखियो । फेरि सेना र प्रहरी भनेपछि सानैदेखि मलाई डर लाग्ने । जसै टीटी जाँच गर्न हाम्रो क्याबिनमा आयो, मैले उसलाई आउने स्टेसनमा रेल रोकिएपछि मलाई अर्को डिब्बामा सारिदेऊ भनी अनुरोध गरेँ । टीटीले पनि विचार गर्छु भनेको सुनेपछि एक जना मेजर रहेछन् क्याबिनमै बसेका उत्तराखण्डतिरका, तिनी नेपाली राम्रोसँग बोल्दा रहेछन् । उनले भने, ‘तपार्इंहरू अर्को डिब्बामा जानु पर्दैन । 

हामी बस्दा तपाईंहरूलाई असहज हुन्छ भने बरु हामी क्याबिन बाहिर गएर साथीहरूसँग मिलेर बस्छौँ । तपाईंहरू यहीँ बस्नुस् भनी क्याबिन खाली गरिदिएँ । हामी ढोका बन्द गरेर त्यस दिन यात्रा गर्‍यौँ । पछि बिहानपख उनीसँग परिचय हुँदै कुराकानी हुँदा ती मेजरको भाउजूहरू सबै हाम्रा नेपालतर्फका नेपाली चेलीहरू नै भएको जानकारी हुन आयो ।

यतिखेर समाज खुला छ । पचहत्तर प्रतिशत युवक–युवतीहरूको पढ्ने क्रममा प्रेम सम्बन्ध कायम भएको देखिन्छ । युवकयुवतीहरूबीच प्रेम सम्बन्ध कायम गर्न नेट–इन्टरनेट र अनलाइनले सरल पारेको छ । अचेलका युवकयुवतीबीच प्रेम सम्बन्ध हुनलाई मुलुकहरूको सीमा, जातजाति र वर्णले छेक्दैन । 

संसारको कुनै पनि कुनामा बसेका महिला पुरुषबीच प्रेम सम्बन्ध कायम हुन सक्छ । केही समयपूर्व म एउटा बिहेमा गएको थिएँ । अघि पछि बेहुलीका पितासँग भेटघाट हुँदा उनी छोरीको वर खोज्नमा व्यस्त रहेको बताइरहन्थे । पछि बल्ल केटा भेटियो भनी निम्ता दिन आएका थिए । म बिहेमा जाँदा भोज भइरहेको हलमा बेहुली पक्षका नातेदारहरूले आपसमा खासखुस कुरा गरेको सुनेँ । हैदरावादमा पढ्न बसेकी हाम्री चेलीले अमेरिकामा बसेको केटालाई फेसबुकबाट फेला पारेर लायकको केटासँग प्रेम सम्बन्ध कायम गरेको राम्रै गरिछन् भने । आजकाल अधिकांश बिहेबारीमा छोरा छोरीहरूको प्रेम सम्बन्धलाई पार्टी प्यालेस र होटलहरूमा धुमधामसँग खर्च गरी विवाह गरी वैधानिकता प्रदान गर्ने गरेको पाइन्छ ।

पहिले पहिले प्रेम गर्ने युवकयुवतीहरूले धर्के कपीको पानामा कलमले लेखेर कसैको हस्ते वा हुलाकद्वारा लुकेर प्रेमपत्र पठाउँथे । त्यस्ता आम प्रेम सम्बन्ध सफल भएको पनि देखिँदैन थियो । जात, पात, हैसियत नमिलेको आधारमा असफल भई टुंगिन्थ्यो । मैले मेरो पालामा जानकारी पाएको मेरै साथीको घटना हो, प्रेम सम्बन्ध केही वर्षसम्म निरन्तर चल्यो, तर युवतीलाई युवकको परिवारले जात मिले पनि हैसियत नमिलेको आधारमा स्वीकार गरेनन् । बरु ती युवतीको पिताकहाँ युवकको परिवारले अर्को केटाको प्रस्ताव पठाइदिए । परिणामतः युवतीको पिताले पछिल्लो माग्न आउने केटासँग छोरीको बिहे गरी सुम्पिदिए ।

अबका दिनहरूमा त्यस्तो देखिँदैन । छोरीले तल्लो जातिको र विदेशी केटासँग प्रेम गरे तापनि सन्तानको खुसी मानेर अधिकांशले बिहे गरिदिन थालेका छन् । हिजोआज महिलाविरुद्ध हुने यौन दुर्व्यवहार र यौनजन्य हिंसाको विषयमा विरोधस्वरूप संसारभरि ‘मि–टू’को अभियान चल्ने गरेको छ । यसमा केही सफेदपोस पुरुषहरूले समाजमा आफ्नो प्रतिष्ठा कायम गर्ने तर पर्दाको पछाडि भने महिलाविरुद्ध यौन दुब्र्यवहार र यौजजन्य हिंसा गर्ने गरेकामा पुरानोभन्दा पुरानो घटनालाई लिएर मि–टूको जरियाबाटै प्रकट गरी पोल खोलिदिँदा कति त्यस्ता अन्यायी पुरुषको नोकरी र प्रतिष्ठा दाउमा लागेका छ । 

हालसालै भारतको सर्वोच्च अदालतले मे महिनामा नै एउटा फैसला गरेको छ, जसमा यौन व्यवसायलाई पेसा भनी घोषणा गरेको मात्रै छैन कि आदेशमा भनिएको छ ‘यौन व्यवसायीहरू पनि अन्य श्रमिक सरह श्रमिक नै हुन् । तिनलाई अन्य नागरिक सरह राज्यले दिने सुविधा प्रदान गर्नु पर्दछ ।’ साथै सुरक्षासमेत प्रदान गर्न सुरक्षा निकायहरूका नाममा आदेश जारी गरेको छ ।

नेपालमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या कसले गर्‍यो भन्‍ने आजसम्म पत्ता नलाग्न सकेको मात्र होइन कि थुप्रै अन्य घटनाहरू उजगार हुन सकेका छैनन् । अर्थात् तत् यौनजन्य हिंसाको सिकार भएका र मारिएका युवतीहरूले यो मुलुकमा न्याय पाएका छैनन् । निश्चय नै हो, आजभोलि नेपालमा बलात्कार र यौनजन्य हिंसाको वारदातहरू बढेर गएका छन् । त्यसको कारण हो, मुलुकमा बढेको दण्डहीनता । 

राज्यको शक्तिको दुरुपयोग गरी त्यसको आडमा कुतत्वहरूलाई दिने संरक्षणका आधारमा कैयाँै महिला युवती यौनजन्य दुर्व्यवहारको सिकार भएका मात्र छैनन् कि तिनले मृत्यु पनि वरण गर्नुपरेको छ । साथै अर्कोतर्फ आठ वर्षपूर्व भएको बलात्कारको वारदात सन्दर्भमा उजागर भई उजुरी पर्न थालेको पनि देखिन आएको छ । यौनजन्य हिंसाको कुरा गर्दा कहिलेकाहीँ एकाध विवादमा सहमतिमा यौन सम्पर्क गर्ने तर पुरुषले त्यसबापत रकम नदिएपछि बलात्कार भनी उजुर गरेको पनि सुन्‍नमा आएका छन् ।

तर आम महिलाहरू निर्दोष हुने गरेका छन् । ती क्रय–विक्रय वा अप्ठ्यारोमा पारिन्छन्, फँसाइन्छन् । कार्यालयहरूमा कार्यरत महिला कर्मचारीहरू वा श्रमिक महिलाविरुद्ध कार्यस्थलमा हुने गरेको यौनजन्य हिंसाको वारदातको उदाहरणहरू प्रशस्त देखिएका छन् । घर परिवारभित्रै बाबु, दाजु–भाइ आफन्त नातेदारहरूबाट हुने गरेको यौनजन्य हिंसाको वारदात देखिएका छन् । तर अब त पुरानोभन्दा पुरानो यौनजन्य हिंसा र बलात्कारका विवादलाई लिएर महिलाहरूले आवाज उठाउन थालेका छन् । यसै सन्दर्भमा संसद्‌मा यौनजन्य दुर्व्यवहार र बलात्कारका विवादमा हदम्यादको सीमा रहनुहुन्‍न भन्‍ने सडकमा आन्दोलनरत पक्षधरको दाबीलाई लिएर बहस हुन थालेको छ ।

बलात्कारका वारदात पुष्टि हुनुलाई उक्त हिंसाको सिकार भएकी युवतीको शरीरको डाक्टरी परीक्षण पनि आवश्यक पर्ने हुन्छ । यदि उजुरीको असीमित हदम्यादलाई कायम गर्ने हो भने ती प्रमाण पाउन कठिन हुन सक्दछ । साथै प्रमाणको अभावमा फगत उजुरकर्ता महिलाको दाबीको आधारमा उजुर चलाउने हो भने भोलि मन परेको युवकले महिलाको विवाहको प्रस्तावलाई इन्कार गर्दैमा पनि बलात्कारको वारदातको कृत्रिम रचना हुन सक्नेछ । कानुनको नजरमा महिला, पुरुष, गरिब, धनी, बालक, युवक, प्रौढ सबै समान हुन्छन् । 

हामीकहाँ भएको प्रचलित कानुनी सिद्धान्तअनुसार बरु दश दोषीहरू छुटून्, तर एउटा निर्दोष मानिसले जेल भोग्न नपरोस् भन्‍ने मान्यता छ । कानुनी सिद्धान्तमा कसैको बीच पनि भेदभाव राख्न मिल्दैन । भोलि यस्ता उजुरीले धनाढ्य परिवारसँग रकम असुल्ने कसै कसैको निम्ति धन्दाको जरिया नबनोस् । निश्चय हो हाम्रा समाजमा अधिकांश महिलाहरू यौनजन्य दुर्व्यवहार र बलात्कारको सिकार हुने गर्दछन् ।

कानुनी ज्ञानको अभावमा वा सामाजिक लज्जा खेप्न नसकेर, आर्थिक अभावमा, आततायीको दबाब र प्रभावको कारण समयमा उजुर गर्न सक्दैनन् । फेरि पनि अन्याय त अन्याय हो, अन्यायलाई सहनु पनि अन्याय नै हो । तापनि बलात्कारको असीमित हदम्याद कायम गर्ने सन्दर्भमा कानुनविदहरूसँग परामर्श गरी, यस विषयमा व्यापक छलफल गरी अन्य मुलुकहरूमा हदम्याद सम्बन्धी कानुनमा के–कस्तो व्यवस्था छ र त्यसकाबारेमा जान्‍न आवश्यक छ । साथै तत् मुलुकहरूमा कानुनको व्यवहारिक प्रयोगबारेमा व्यापक अध्ययन गरी यस सन्दर्भमा छलफल गरी भोलिको परिणामलाई आँकलन गर्दै कानुन बनाउन आवश्यक छ ।

सुशीला कार्कीका लेखहरू


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
x