विचार

संस्मरण र अनुभूति : १९

राँची पुगे वेदप्रसाद

वसन्त लोहनी |
जेठ २८, २०७९ ७:७ बजे

राँची भारतको एउटा पुरानो सहर, अझ सन् २००० मा झारखण्ड राज्य बनेपछि त्यसको राजधानी । काठमाडौँ जस्तै पहाडी तर काठमाडौँ जस्तै सुन्दर भने होइन जतिसुकै ‘झरनाको सहर’ भने पनि । गर्मीमा निकै गर्मी हुने । यसको कारण भूमध्यरेखासँगको राँचीको दूरी काठमाडौँको त्यस्तै दूरी भन्दा ३०० माइल कम छ । त्यो मात्र होइन अवस्थितिको उचाइ काठमाडौँको दाँजोमा आधा भन्दा पनि कम हुनाले हो । तर त्यतिमा सीमित छैन हामीकहाँ राँची । परिचय बोधक शब्द नै बनेको छ नेपाली समाजमा ।

‘राँची रिटर्न’ अर्थात् राँचीबाट फर्केको भनेपछि त्यसको अर्थ नै अर्को बन्छ । १९६० को दशकमा कुनै व्यक्तिलाई अमेरिका रिटर्नभन्दा त्यसले नेपाली समाजमा उर्लंदो भाव पैदा गर्थ्यो त्यो व्यक्तिबारे– विशिष्टता बोकेको मान्छे भनेर । यस्तो हुनुमा शासकको अनभिज्ञता पनि प्रमुख हो । त्यस्तै शासकहरूलाई बुझाउनेहरूको पनि केही अनभिज्ञता तर धेरै चातुर्य ।


यस्तो भावगङ्गामा सयर गरेर कतिले विशिष्ट यात्रा नै तय गर्ने अवसर पाएर नेपाली समाजमा महान् बनेर, साधारण मान्छेले हेर्दा टाउकोको टोपी खस्ने जस्तोगरी । तर आजको नेपालमा यो प्रवाह छैन । डोबहरू मात्र होलान् । कुनै बेला नदी बहेको ठाउँमा देखिएको अवशेष जस्तो । ती डोबहरू पनि समयको अन्तरालमा उघ्रेको चेतनाको उज्यालोमा धुमिल भएका छन् । 

राँचीबारे भने अर्को खालको भाव अझै बाचेको छ । यस्तो भाव उद्गम हुन थालेको एक सय वर्षभन्दा अलि अगाडिदेखि हो । ‘राँचीबाट फर्केको’ भन्‍नु त्यो व्यक्तिको मानसिक सन्तुलन गडबडिएको भन्‍ने बोध हुन्छ । यसको कारण त्यहाँ रहेको मानसिक अस्पताल हो ।

यस्तो अस्पताल त ब्रिटिसले पहिले बम्बई र त्यसपछि कलकत्तामा खोलेका हुन् । तर बम्बई या कलकत्ता रिटर्नभन्दा यो भाव बुझाउँदैन । तर राँची भन्‍नेबित्तिकै पहिले आउने भाव यही हो । जबकि त्यति बेला कलकत्तासँग बढी सम्बन्ध नेपालीहरूको भएको कारणले त्यहाँ पनि मानसिक उपचार गराए होलान् । योग संयोगबाट शब्दहरू जोडिन पुग्छन् भावहरूसँग र मानसपटलमा जब्बरसँग गाडिन पुग्छन् । यसरी नै समाजले बुझ्ने हो । यस्तै नै भएको हो राँचीको ।

पद्म शमशेरको लागि सन् १९४७ मा भारतको रांचीमा वेदप्रसादले डिजाइन गरेर बनाएको घर ।

तर त्यो अस्पताल राँची सहरभित्र चाहिँ छैन । सहरबाट १३ किलोमिटर उत्तर काँके भन्‍ने ठाउँमा छ । अहिले पनि त्यो ठाउँ अस्पताल छोडेपछि या पुग्नु अगाडि गाउँ नै छ । हाम्रो महाकवि देवकोटा सन् १९३९ मा पुगेका थिए त्यहाँ । त्यही राँचीसँग वेदप्रसाद जोडिन पुगे सन् १९४७ को सुरुमा । तर नितान्त व्यावसायिक रूपमा । यसलाई हेर्न नेपालको तत्कालीन राजनीतिलाई बुझ्नुपर्ने हुन्छ । त्यसैले सर्सर्ती त्यो राजनीतिलाई हेरौँ जुन चाँडोभन्दा चाँडो बहिरहेको नदीमा भुमरी परेजस्तो अप्रत्याशित रूपमा चाँडो घटिरहेका घटनाहरूसँग क्रमबद्ध भएर आफैँमा जकडिएको थियो ।

त्यो अप्रत्याशित घटना नघटेको भए नेपालको राजनीति के हुन्थ्यो ? यो प्रश्न अझै अनुत्तरित छ, मेरो मनमा । तर बलियोसँग सायद यो चाहिँ भन्‍न सकिन्छ होला कि नेपालमा प्रजातन्त्र २००७ साल अर्थात् सन् १९५१ मा चाहिँ आउँदैन थियो । अलि पछि मात्र आउँथ्यो होला । समयलाई त कसले रोक्न सक्छ र ? न छेक्न नै ।

एरिस्टोटलले एक पटक भनेजस्तै जब कुनै चिजको सुरुवात हुन्छ भने त्यसको अन्त्य पनि निश्चित रूपमा हुन्छ । समयको कुन विन्दुमा पुगेर भन्‍ने मात्र हो । उर्लंदो ​नदीको भेलले जस्तै समयको प्रवाहले विश्वको कडाभन्दा कडा तानाशाहहरूलाई हुरीले पात फाले जस्तो गरेर फालेर नै आएको छ । तानाशाही राणा शासन कुन कुरो हो र ? तर प्रत्याशित घटनाक्रममा अप्रत्याशित रूपमा जुद्ध शमशेर नजोडिएको भए के हुन्थ्यो होला ? तर वेदप्रसाद भने यही अप्रत्याशित घटनाको प्रतिफलसँग जोडिन पुगे ।

एक किसिमबाट प्रत्याशित घटना थियो दोस्रो विश्वयुद्ध, तेस्रो राइकमा उदाएका हिटलरको अहङ्कार प्रदत्त महत्त्वाकाङ्क्षाले गर्दा । ‘कूटनीतिक कू’को संज्ञा दिइएको थियो ‘अनाक्रमण सम्झौता’लाई जुन सन् १९३९ को अगस्टको तेस्रो हप्तामा हिटलरको परराष्ट्र मन्त्री रबिनट्रपले मस्कोमा पुगेर सोभियत सङ्घसँग गरेका थिए पोल्यान्डलाई बाँडेर खानका लागि । यसको ठीक एक हप्तापछि ‘बिजुली युद्ध’ गर्यो जर्मनीले र सुरु भयो दोस्रो विश्व युद्ध । कारण जेसुकै होस्, युद्धहरू कुनै उद्देश्यले भन्दा शासकको आवेगको प्रतिफल बनेका छन् विश्व इतिहासमा ।

दुई वर्षपछि सन्धिको बर्खिलाप हिटलरले बेलायतमा सरासर जानका लागि मस्कोमा आक्रमण गरे । मूलतः यो राजनीतिक हिसाब किताबमा कि चार महिनाभित्रमा आन्तरिक समर्थन टुट्ने कारणले सोभियत युनियन आफैँ नै ढल्छ भनेर । यस्तै राजनीतिक हिसाब किताब अहिले पुटिनको पनि युक्रेनमा आक्रमण गर्दा भएको देखिन्छ । तर मस्को देखिरहेको जर्मन सेना जाडोमा कठाङ्ग्रिएर मस्को सहर छिर्न नसकेपश्चात् नाजी जर्मनी हार्ने कुरा प्रत्याशित बन्दै गइरहेको थियो ।

यो प्रत्याशित कुरो जुद्ध शमशेरले राम्ररी देखेका थिए । त्यो युद्धमा करिब दुई लाख नेपाली लडिरहेका थिए ब्रिटिसको लागि जर्मनीको विरुद्ध । र, सर्वोच्च वीरताको प्रतीक मानिएको ‘भिक्टोरिया क्रस’ भटाभट जितिरहेका थिए ।

हिटलरले आत्महत्या गरेर युद्ध सकिँदा पनि जापान लडिरहेको थियो किनकि सत्ताधारीहरूलाई युद्ध मेसिन चालु राख्दा फाइदा भइरहेको थियो । रसियनले आफूबाहेक बर्लिनमा एलाइड पावरको अरू कसैलाई अगाडि जान नदिएर हिटलरले आत्महत्या गरेको यस्तो कथा बुनेको मात्र हो भन्‍ने पनि छन् ।

वास्तवमा हिटलरले आत्महत्या गरेको नभई इभा ब्रानसँग पनडुब्बीबाट अर्जेन्टिना पुगेको भन्‍ने पनि छन् । हिटलर सन् १९६२ सम्म बाँचेको भन्‍नेहरू यो कथालाई पुष्टिगर्न हिटलरसँग भेट्नेले गरेको कुराकानी र भागेर जाँदाको पनडुब्बीको फोटोसहितको कथाहरू मैले धेरै पहिले पढेको थिए । तर यो कुरो महत्त्वपूर्ण छैन यतिखेर । 

एउटा अनौठो ‘इन्भर्स रिलेसनसिप’ अर्थात् उल्टो सम्बन्ध बन्यो यो युद्धको । जर्मनीले हार्दा हराउने एलाइड पावरको बेलायतले आफ्नो कोलोनी ब्रिटिस इन्डिया छोड्नुपर्ने भयो । कारण बिग्रिँदै गएको बेलायतको अर्थतन्त्र र भारतमा उर्लिंदै गएको ब्रिटिसविरुद्धको आन्दोलन । युद्ध जितेर पनि हारेको अवस्था बन्यो बेलायतको ।

आर्थिक कारणले गर्दा नै भारत मात्र होइन उपनिवेशहरू सञ्चालन गर्न नसक्ने अवस्थामा बेलायत पुगेको थियो । अनि त अमेरिकी मार्सल प्लानको एक चौथाइ आर्थिक सहायता बेलायतलाई नै दिनु पर्यो । यसैबीच ब्रिटिस इन्डियाको जल सेनाले बगाबत गर्यो । यो फैलिएर अन्यत्र पुगेमा युद्धमा जस्तै ब्रिटिसहरू ब्रिटिस इन्डियामा नै मारिन्थे । १८५७ को सिपाही बगाबत नियन्त्रणमा लिन आफैँ लखनउ पुग्ने जङ्गबहादुर थिएनन् । त्यसैले बेलायतले त ब्रिटिस इन्डिया छाड्नै पर्थ्यो । त्यसैले छाड्यो । नामुद शोषक जमिनदारले ठटाएर खाइरहेकोमा आफ्नै ज्यान जान लागेपछि जमिन छोडे जस्तै अवस्था थियो त्यो । 

सोही घरको फोटो केही दक्षिणबाट लिइएको ।

यतिखेर महत्त्वपूर्ण छ जुद्ध शमशेरको अप्रत्याशित निर्णय । विश्वयुद्ध सुरु भएदेखि अन्त्यसम्म यिनी अत्यन्त कठोर शासक थिए नेपालको । युद्ध सकिएको दुई महिनापछि उनले अप्रत्याशित निर्णय गरे । यो निर्णय बेलायतले भारत छाड्नुपर्ने हुन लागेको कारणबाट नभएर एउटा सन्तको कारणले भएको हो । ती सन्त थिए नेपालमा नै उत्पत्ति भएर भारतसम्म फैलिएको जोसमनी सम्प्रदायका रेसुङ्गा महाप्रभु जसलाई जुद्धशमशेर खुब मान्थे । ती सन्तले अब एक वर्ष मात्र बाच्ने हुँदा पाप पखाल्न जोगी हुनु भनेकाले जुद्ध शमशेर महर्षि भएका हुन् भन्‍ने मत बलियो छ । महाप्रभुलाई त्यसो भन्‍न लगाउने एउटा षड्यन्त्र थियो जुन चन्द्र शमशेरको जेठी रानीपट्टिका पाँच छोराहरूले गरेका भन्‍नेहरू पनि छन् । तर यो कुरामा त्यति धेरै पानी भएको देखिँदैन । तर जुद्ध शमशेर एक वर्ष होइन सात वर्ष बाँचे त्यसपछि । 

जे होस् त्यो अप्रत्याशित निर्णयले पद्म शमशेरलाई अगाडि ल्यायो । धीर शमशेरको १७ भाइ छोरा पुस्ता सकिएर नाति पुस्ताको पहिलो व्यक्ति भीम शमशेरको छोरा पद्म नै परे । जेठो त थिए निरपराध रुद्र शमशेर तर उनीलाई जुद्ध शमशेरले सिंहदरबार बोलाएर रोलक्रमबाट हटाइदिए । कारण थाहा थियो रुद्रलाई । जुद्धकै जेठो छोरो मान शमशेरले सुटुक्क भनिसकेका थिए, रुद्रको छोरा ईश्वरलाई । तर उनी लाचार थिए, बलिको बोको भएर त्यहाँ पुगेका । त्यहीबाट अपराधी सरह चार बुर्जा दरबार, हालको निर्वाचन आयोग भएको उनको दरबारमा, परिवारसँग भेट्नसमेत नदिएर सेना लगाएर डाँडा कटाइदिए ।

रुद्र शमशेरका नाति ९७ वर्षका इतिहासकार पुरुषोत्तम शमशेरले यसै हप्ता एक रेकर्ड गरिएको वार्तामा मसँग भने, ‘म सात वर्षको थिएँ । कमान्डर इन चिफ भएको मेरो जिजुबाबुलाई त बन्दी सरह लगिएको थियो । हामी बस्ने चार बुर्जाबाट सेनाको सुरक्षा हटिहाल्यो । सुनसान भयो । बत्तीसमेत काटे । डरै लाग्ने भयो ।

हामी त भागेर गएका थियौँ काठमाडौँबाट । जिजु बुबा बडाहाकिम पाल्पाको तर जे सोध्न आए पनि नियम बमोजिम गर्नु मात्र भन्‍ने । म ठट्टा गरेर भन्थेँ हजुरको त नाम नै ‘नियम बमोजिम’ । पछि राजा महेन्द्रको सैनिक सचिव बनेको शेरबहादुर मल्ल सुबेदार थिए, मेरो बिलियार्ड खेल्ने साथी त्यहाँ । मैले जिजुबाबुलाई खाली हुन आएको ठाउँमा एक प्रमोसन गराएको । जुद्ध शमशेर आइरहन्थे अर्गेलीबाट तानसेन दरबारमा हामीकहाँ । राजा त्रिभुवन त पाल्पा आउने कुरा थियो । त्यसको लागि हामीले एयरपोर्ट बनाएको थियौँ बुटवलबाट त्रिवेणीतिर जाने जङ्गलमा ।’ 

उनी अरू भन्दै गए, ‘सात सालमा त्रिभुवनलाई भेट्न दिल्ली गएको थियौँ हामी हैदराबाद हाउसमा । हामीलाई त भेट्नै नदिने राजा त्रिभुवनसँग । त्यसरी पहरा दिएर राखेको थियो नेहरुले । ज्यादै गरेपछि त्रिभुवनलाई खबर गर्यो भारतीय सचिवले । राजा आफँै आए तल र बल्ल मेरो बुबालाई आऊ ईश्वर भनेर माथि लिएर गए ।

ज्यादै खुसी भए । हामीले लगेको अखबार दिँदा युवराजहरू हेर्ने आत्तुरीमा थिए । पत्रिकासम्म पनि पढ्न दिइएको थिएन त्रिभुवनलाई । त्यही सिलाइदिएका होलान्– ह्वान्द्राङ्ग परेको सुरुवाल लगाएका थिए राजाले । राजासँग एउटै प्लेनमा काठमाडौँ आयौँ । तर हाम्रो त बस्ने ठाउँ पनि थिएन । जुद्ध शमशेरले आफ्नो छोरा बहादुरशमशेरको लागि कब्जा गरेर लिएका थिए हाम्रो चार बुर्जा दरबार त जहाँ अहिले निर्वाचन आयोग छ ।’

रुद्र शमशेरको अलि लामो कुरा गरियो किनकि उनलाई निष्कासन गर्ने नयाँ रोलक्रम नै राणा शासनको पतनको केन्द्रबिन्दु हो । उनलाई हटाउँदा जुद्ध शमशेर श्री ३ भएको डेढ वर्ष मात्र भएको थियो । नब्बे सालको भूकम्प गएको दुई महिना नपुग्दै घोडे जात्राको दिन । जुद्धलाई पनि चन्द्र शमशेरले जस्तै राज गर्नु थियो ।

त्यसैले राजपाट कुनै बेला त्याग्नुपर्छ भन्‍ने कल्पना बाहिरको कुरा थियो उनको । किन र कुन तरकिपबाट धपाएका थिए रुद्र शमशेरलाई ? वीर शमशेरको रानी शाहजादी दिव्येश्वरी राजा राजेन्द्रकी भतिजी । उनको नेवारी सुसारे खञ्ज मायाको सौन्दर्यबाट लहसिएका वीर शमशेरले तोपकुमारी नाम दिएर बडा महारानी घोषणा गरिदिएका थिए खञ्ज मायालाई ।

जुद्ध शमशेरले तोप कुमारीबाट जन्मिएका रुद्र शमशेरलाई विधिवत् विवाह गरेकोबाट नजन्मिएको भनेर श्री ३ हुने रोल क्रमबाट हटाइदिए । त्यसपछि बन्दी सरह डाँडा कटाइदिएका थिए पाल्पामा । यसबाट मोहन शमशेरका छोराहरूसँगको राजनीतिक समीकरण मिलाए पनि राणाहरूभित्र नै असन्तुलनको ज्वारभाटाहरूको मूल फुटाएका थिए नयाँ रोलक्रम बनाएर । जसको पहिलो धक्का पद्म शमशेरले बेहोर्नु पर्यो जुद्ध शमशेरपछि अप्रत्याशित निर्णयले गर्दा । पहिले भनेझैँ यसको परिणतिसँग वेदप्रसाद जोडिन पुगे । 

महर्षि बने जुद्ध शमशेर पाप पखाल्न । आफैँले पद्म शमशेरलाई श्री पेच लगाइदिए । यसका लागि राजा त्रिभुवनलाई समेत वास्ता गरेनन् जबकि यस्तो नियुक्ति केवल राजाले मात्र गर्नुपर्ने थियो । त्यो औपचारिकतासम्म पनि पूरा गरेनन् । लाए अहारेको काम गर्ने सरह पद्म शमशेरलाई अराइपराइ गरे सार्वजनिक रूपमा जब आफू महर्षि भएर बग्गी चढेर जाँदै थिए । पद्म शमशेर क्या क्या रोइरहेका र भनिरहेका– म त जनताको सेवक । नेपालको सर्वोच्च शक्तिशाली व्यक्ति बनेर त्यत्रो सानसौकत पाउँदा पनि रोइरहेका थिए । खुसीभन्दा अब मारिन्छु कि भन्‍ने डरले यस्तो अवस्था बनेको थियो उनको । आफैँ बाँडिएका थिए– चलाउन सक्छु कि सक्तिन भन्‍ने मनको अन्तर सङ्घर्षमा ।

अवलोकन पश्चात घरको भित्री घेरा भित्रको कम्पाउन्डमा हामी ।

पद्म शमशेर त्यो शक्ति पुञ्जमा सर्वशक्तिमान भएर अनि नेपालको सर्वाधिक सुरक्षित व्यक्ति भएर पनि मारिन्छु कि भन्‍ने डर किन पलायो उनको मनमा । यही डर प्रदत्त उनको निर्णयसँग वेदप्रसाद जोडिन पुगे । पहिले हेरौँ, रणोद्वीप जस्तै गरी मारिने पो हुँ किन भन्‍ने डर किन आयो उनको मनमा । त्यसका पाँच कारण छन् ।

पहिलो हो । दोस्रो विश्वयुद्धको करिब एक वर्षपछि सन् १९४६ को जलसेनाको बगाबतपछि ब्रिटिसले अन्ततः इन्डिया छोड्ने नै निर्णय गर्यो । ब्रिटिसले छोड्छ भन्‍ने भएको भए पनि अब चाहिँ छोड्ने नै भयो । यो घटना उनी श्री ३ भएको करिब तीन महिना पनि नपुग्दै भएको थियो ।

राणा शासनको प्रमुख मित्र शक्ति भनेको बेलायत नै रह्यो मूलतः जङ्गबहादुरले लखनउ पुगेर सिपाही बगाबत नियन्त्रण गरेपछि । बदलिएको परिस्थितिमा समेत यस कुरालाई अझ बुझ्न राजा त्रिभुवन भागेर दिल्ली गएपछिको घटनालाई हेर्नुपर्ने हुन्छ । राज्य गर्ने वैधानिकताका लागि हठात ज्ञानेन्द्रलाई राजा घोषणा गरेपछि भारत छोडेर गएको बेलायतले मान्यता दिन लाग्दा नेहरुको चतुराइले मात्र अलमलिएको थियो । यो अलमलबीच समय अगाडि बढिहाल्यो । त्यसैले राणा शासन टिकाउने ब्रिटिसले नै भारत छोड्ने भएपछि पद्म शमशेरको तागत खस्किने नै भयो । 

दोस्रो हो शासनको रोल क्रमबाट हटाइएका राणाहरू । काठमाडौँमा सानसौकतसँग बसेका ती राणाहरू शासनमा कहिले आउन नपाउने भए । जुद्ध शमशेरले चन्द्र शमशेरका छोराहरूलाई राजनीतिक सन्तुलनमा राख्न गरेको निर्णयबाट राणाको एउटा बगाबती वर्ग नै जन्म्यो । यो अत्यन्त आक्रोशित थियो आफ्नै राणा शासनको विरुद्ध । त्यसमध्ये धेरे तागत नभएका थिए होलान् । तर केही अपार धनी र तागत भएका थिए । भीम शमशेरको रानीबाट जन्मिएको छोरा पद्म शमशेर महाराज थिए भने भीम शमशेरकै नानीबाट जन्मेमा छोरा हिरण्य शमशेर र नाति सुवर्ण र महावीरहरू राणा शासन फाल्नेतिर लागेर कलकत्ता पुगे । 

तेस्रो कारण शासनमा रहेका । यता काठमाडौँमा राज्य सञ्चालनमा रहेका राणाहरू एकले अर्कोलाई सिद्ध्याउने खेलमा व्यस्त रहे । चन्द्र शमशेरको पाँच छोराहरू, जो पचभैया भनिन्थे, तिनले पाए जुद्ध शमशेरको छोरा बहादुर शमशेरलाई खतमगर्ने, बहादुर शमशेरले पाए पचभैयालाई खतमपार्ने खेलमा अन्ततः बहादुर शमशेर हार मानेर  ‘हजुरिया जनरल’बाट छोडेर गएपछि त्यसमा पचभैयाको कान्छो कृष्ण शमशेरलाई नियुक्त गराई पद्म शमशेरलाई राजीनामा गरेर सत्ता छोड्न दबाब दिन थाले । 

चौथो कारण हो धर्मसँग आबद्ध । राणा शासनमा स्कुल खोल्दा सबभन्दा सुरक्षित मानिने हो संस्कृत पाठशाला थियो । त्यति वेला कता हो कताको भोजपुरमा जङ्ग बहादुरको पालामा नै खोलिएको थियो । मान्यता थियो संस्कृत धर्मसँग जोडिएको छ । र, धर्मलाई राणा शासन टिकाउने तर्फ जोडिएको । तर नेपालमा तीन धारा संस्कृत पाठशालाका विद्यार्थीहरूले हड़ताल गरे विभिन्‍न माग राखेर । रानीपोखरी पारिको दरबार स्कुल र त्रिचन्द्र कलेजका विद्यार्थीले नभएर । यो कल्पना बाहिरको कुरा थियो । यसैसँग सम्बन्धित कुरामा पद्म शमशेरले विद्वच्छिरोमणि माइला गुरुज्यू हेमराजलाई चिढ्याए । उनी बनारस गए अपमानित महसुस गरेर । 

पाँचौँ कारण हो प्रजातान्त्रिक आन्दोलन । टङ्कप्रसाद आचार्यले प्रजातन्त्रको लागि सन् १९३६ मा सुरु गरेको सङ्गठनात्मक राजनीतिबाट उद्गम भएको परिवर्तनको प्रवाहले गति लिइरहेको थियो, नेपाल भित्र र बाहिर दुवैतिर । जुद्ध शमशेरले गरेको मृत्युदण्ड र धरपकडले यो रोकिनुको सट्टा बढेर गइरहेको थियो । विश्वेश्वरप्रसाद कोइरालाको अगुवाइमा सन् १९४६ मा अखिल नेपाल राष्ट्रिय काङ्ग्रेसको स्थापना भएको र यसको चार महिनापछि विराटनगरमा जुट मिल मजदुर हडताल भयो ।

त्यसको एक महिनापछि राणा हटाउन सशस्त्र क्रान्ति गर्ने निर्णय र नेपालमा पहिलो पटक काठमाडौँ सहरमा सन् १९४७ को अप्रिल १४ मा जुलुस निस्कियो । त्यसले सहर नै परिक्रमा गर्‍यो ।

यथास्थितिमा राख्ने शक्ति र परिवर्तन खोज्ने शक्तिबीच राणा परिवारभित्रको लडाइँ नै भयो राणा शासनको समाप्तिको एक प्रमुख कारण । त्यसको कुण्ठा र आक्रोशको वेग प्रजातान्त्रिक आन्दोलनको भन्दा कम थिएन । यो वेग सम्हाल्ने क्षमता पद्म शमशेरको थिएन । जति कडा जुद्ध शमशेर थिए त्यति नै निफर पद्म शमशेर निस्किए– अक्षम र रुन्चे । यसले गर्दा राजकाज कम्पास नभएको जहाज जस्तो बन्दै गएको थियो । पद्म शमशेरको न योजना थियो, न गन्तव्य । सन्तुलन हराएको यान जस्तो बन्‍न पुगेका थिए ।

कहिले दाहिने यथास्थितिवादीहरू पट्टि हुन्थे त कहिले परावर्तनकारीहरूसँग । कहिले मोहन शमशेरहरूतिर हुत्तिन्थे यथास्थितिलाई बलियो पार्ने कुरामा । कहिले परिवर्तनकारीहरूलाई थामथुम पार्न होराप्रसाद जोशी र केदारमान व्यथितलाई गोप्य रूपमा भेटेर आफू प्रजातन्त्रवादी भएको विश्वास दिलाउने चेष्टा गर्दथे । तुरुन्त रुने र एकको कुरो अर्कोलाई भनिहाल्ने । सम्हाल्ने क्षमता नभएकोले मार्छन् कि भन्‍ने डरले गर्दा घडीको पेन्डुलम अर्थात् लङ्गुर जस्तो भएका पद्म शमशेरको कारण स्थिति झन् बिग्रिँदै गएको थियो ।

पद्म शमशेरको घरलाई 'राजा रानी कोठी' लेखिएको ।

उनीलाई सत्ताबाट हट्ने भन्दा धेरै बढी डर रणोद्वीप बनिएला भन्‍ने थियो । अर्थात् मारिने हुँ कि भन्‍ने । यसै क्रममा भारतबाट विज्ञहरू बोलाएर संविधान बनाउन लगाए । मोहन शमशेरहरूको विरोधको बाबजुद जनवरी २६,१९४८ मा लागू गरे । र, यसको केही बुँदाहरू केही दिन लागू पनि भए । विरोधाभासको प्याकेट जस्तो बनेको यसले न राणा परिवार भित्र, न यथास्थितिवादी, न परिवर्तनकारी र त्यस्तै प्रजातन्त्रवादी चित्त बुझाउन सक्यो ।

ताल सुर नमिलेको पद्म शमशेरले एउटा कुरामा योजनासाथ बलियो निर्णय लिएका थिए । त्यो योजनाबद्ध निर्णय हो नेपाल छोड्ने । तर यो योजनाबारे चर्चा भएको देखिँदैन । केवल सबैले लेखेका छन् उनले नेपाल छाडेको कुरा । धेरैले त यो पनि लेखेका छैनन् कि उनी भारत स्वतन्त्र भएपछि भारतको राजकीय भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री हुन् भन्‍ने कुरा पनि । यो राजकीय भ्रमण गर्ने भन्दा करिब एक वर्षअगाडि उनले एउटा कडा निर्णय लिए । त्यो हो– नेपाल सधैँको लागि छाड्ने । उनको यो निर्णयको पछाडि माथि छलफल गरिएका कारणहरू नै हुन् । उनी अनाहक मर्न चाहँदैन थिए राजनीतिको सिकार बनेर ।

त्यसैले उनले आफू सुहाउँदो सुरक्षित वासस्थानको खोजी गरे । यस क्रममा उनले रोजे राँची । यो सहर नै किन रोजे त्यसको कारण ज्ञात छैन । रिडीको अर्गेलीबाट जुद्ध शमशेर देहरादून पुगेपछि । त्यस्तै मोहन शमशेर बैंगलोर । सन् १९११ सम्म ब्रिटिस इन्डियाको राजधानी भएको कलकत्ता, जहाँ उनी पछि बस्न आए राँची छोडेर, त्यो सहर किन छानेनन् । तुलनात्मक रूपमा कम सुविधा सम्पन्‍न सहर राँची नै किन छाने ? एउटा बलियो कारण चाहिँ उनको डर नै हो । उनी सुरक्षित हुन चाहन्थे धेरै नै । राँची सिपाही बगाबतबाट आक्रान्त भएको सहर हो । त्यसपछि ब्रिटिसले गोर्खा रेजिमेन्ट राखेको थियो त्यहाँ १८८० मा । यस कारणले गर्दा त्यहाँ नेपालीहरूको बसोबास पनि निकै नै थियो । सायद, डर प्रदत्त कारणले जसरी मुलुक छोड्ने निर्णयमा पुगे उनी त्यसरी नै त्यो डरको कारण सुरक्षित ठाउँको खोजीमा उनले सायद यो सहर छाने । 

यहाँनिर वेदप्रसाद देखा पर्दछन् पद्म शमशेरको अगाडि । अर्थात् उनको यो निर्णयसँग जोडिन पुग्छन् । जति वेला भारतीय विज्ञ श्रीप्रकाश गुप्ता सहित अरू दुई बोलाएर पद्म शमशेरले संविधानको खेस्रा गराउन सुरु गरेका थिए करिब त्यति नै वेला उनले मारिने डरले काठमाडौँ सधैँको लागि छोड्ने निर्णय गरेको देखिन्छ ।

उनले निर्णय गरे, अर्थात् उनको सरकारले उनैको लागि राँचीमा आवास बनाउने निर्णय गर्यो । यसको लागि ३१५ रोपनी जमिन खरिद भयो । र, उनको हुकुम बमोजिम सरकारले एउटा टोली उनलाई बस्ने भव्य घर बनाउन त्यहाँ खटायो । उक्त टोलीको फ्रेम गरिएको फोटो नै थियो मसँग जुन वेदप्रसादले नक्साल घरको भित्तामा केही समय झुन्ड्याएका थिए । आठ देखि दस जना भएको मेरो सम्झना छ त्यो फोटोमा । फोटो भने अहिले पाइन मैले । एक जनाको सम्झना छ अनुहार फोटोमा चिनेको हुनाले । उहाँ हो– पछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएका रुद्रराज पाण्डे । 

उक्त टोलीका सदस्यहरूको आ–आफ्नो जिम्मेदारी थियो । तर सबैको काम त्यो घर निर्माणसँग सम्बन्धित भएर । त्यस टोलीमा नेपालमा सिमेन्ट ढलान सुरुगर्ने पहिलो नेपाली वेदप्रसाद लोहनी पनि थिए । उनको काम थियो– डिजाइन, सुपरभिजन र निर्माणगर्ने पद्म शमशेरको लागि घर  । वेदप्रसाद यसरी राँची पुगेका थिए । र, बसेका थिए त्यहाँ १० महिना त्यो घर निर्माणगर्न । सन् २०१९ को मार्चको अन्त्यमा त्यहाँ म र मेरी श्रीमती डा. उषा लोहनी पुग्दा कसैलाई सोध्नै नपर्ने त्यो घर कसले बनाएको भनेर । वेदप्रसादको गोलो ‘सिग्नेचर डिजाइन’ले बोलिरहेको थियो उनले बनाएको हो भनेर । यसलाई ‘राजा रानी कोठी’ भनिँदो रहेछ । लेखिएकै छ सरकारी कार्यालयमा ।

पद्म शमशेर बस्ने त्यो घरको पछाडि स–साना टहरा र घरहरू थुप्रै देख्यौँ । उनका सहयोगी, सुरक्षाकर्मी र नोकरहरू बस्ने । त्यहाँका पुराना बासिन्दाले हामीलाई सुनाए अनुसार पद्मले काठमाडौँबाट नै गजब मोटर लाएका थिए जसमा नम्बर प्लेट थिएन । श्री पेचको लोगो थियो । पद्म शमशेरले लिएको यो क्षेत्रलाई ‘नेपाल हाउस’ भनिन्छ । यो जङ्गल नै थियो त्यति वेला । पद्मको सुरक्षा गोर्खा रेजिमेन्टको एउटा कम्पनीले गर्थ्यो । यो कम्पाउन्ड यति ठुलो छ कि यहाँ थुप्रै सरकारी कार्यालय भवनहरू छन् र बनिरहेका पनि।

झारखणड सरकारको सचिवालय नै यही परिसर भित्र बनेको छ जहाँ पद्म शमशेर बस्दा ठुलो पोखरी थियो । पद्म शमशेर बस्ने घरमा दुइटा कार्यालय देख्यौँ हामीले– झारखण्ड सरकारको सशस्त्र प्रहरीको कार्यालय र गुप्तचर कार्यालय । नेपालीलाई भारतमा बस्नका लागि भनेर एउटा नेपालीले डिजाइन गरेको घर सायद यो पहिलो हो भारतमा । यो घरको एक एक कोठा चोटा हेर्दै जाँदा म विभोर भइरहेको थिएँ । र, प्रश्नहरू आइरहे मनमा । कसरी बनाए होलान् उनले र कहाँ बसे होलान् वेदप्रसाद जसले असल कर्मलाई नै सधैँ जिन्दगी मान्यो । र, जसको आफैँ फिल्डमा खटिरहने स्वभाव नै आफ्नो पन थियो । 

संविधान जारी गरेको २६ दिनपछि मार्च २१, १९४८ मा पद्म शमशेर करिब एक महिना लामो भारतको राजकीय भ्रमण निस्के काठमाडौँबाट, सकेसम्मको हिरा जुहारत र नगद लिएर । नेपालको प्रधानमन्त्रीको हैसियतमा भारतीय प्रधानमन्त्री नेहरूलाई भेट्दा उनले राज्य चलाउन नसकेको बेलिबिस्तार मात्र लगाएनन् रुन पनि थाले । त्यसपछि देहरादून पुग्दा जुद्ध शमशेरले हकारे उनलाई । सायद हरिद्वार र काशीमा केही शान्ति पाए होलान् । अनि कलकत्ता हुँदै राँची आए सधैँ बस्नका लागि । महिनाव्यापी राजकीय भ्रमण सकियो । तर पनि उनी अझै श्री ३ महाराज नै थिए । उनी हेर्न चाहन्थे आफूले जारी गरेको संविधानले कुनै चमत्कार मच्चाउँछ कि भनेर ।

तर मोहन शमशेरले पद्म शमशेरको संविधानको कुनै वास्तै नलिएर बेकम्मा पारिसकेका थिए । पद्म शमशेर गएपछि सिंह दरबार नै सरिसकेका मोहन शमशेर । जङ्गबहादुरले ‘लखनउ लुट’बाट ल्याएको हीरा जवारतले बनेको श्री ३ को तीन चाँद लगाउन कुरेर बसेका थिए छोरा विजय शमशेरलाई, जसलाई उनले पद्म शमशेरको राजीनामा लिन पठाएका थिए । तर तत्कालै दिएनन् उनले मोहनको ताकिताको बाबजुद । सन् १९४८ को अप्रिल ३० मा मात्र नरेन्द्र मणिको हात पठाइदिए । अनि उनी करिब १२ वर्ष बसे यस घरमा । र, जीवनको अन्त्यमा कलकत्ता बस्न गए राँची छोडेर । केही महिनामा नै बिदा भए सन् १९६१ मा । 

वेदप्रसादले भनेको कुरा सम्झे मैले । राँचीमा पद्म शमशेरले सोधेछन् वेदप्रसादलाई– मैले बनाएको संविधान कस्तो लाग्यो त तिमीलाई । वेदप्रसादले स्फूर्त जवाफ दिए– सरकार, खाने भन्दा पचाउने कुरा हुन्छ । बनाउने भन्दा संविधानको कार्यान्वयन कस्तो हुन्छ त्यो पो महत्त्वपूर्ण हुन्छ । भोलिपल्टको भेटमा विजय शमशेरलाई भने पद्मले– ल हेर यिनले त मलाई त यस्तो पो भने । विजय शमशेरसँग राम्रो चिनजान भएर मात्र नत्र खत्तम परिसकेका थिए पद्म शमशेरले । त्यसरी खटेर काम गरे । त्यही राँचीमा नै मुखले बोल्दे पुग्थ्यो उनले । श्री ३ नै थिए अझै । मीर सुब्बा भयौ भनेर बोल्दिन्छन् कि भन्ठानेको थिए तर केही गरेनन् । उल्टो भाइलाई लेखेर पठाइदिन्छु पो भने मीरसुब्बा दिन । तै लेखेर चाहिँ पठाएनन् । झन् खत्तम हुन्थ्यो लेखेको भए । अन्त्यमा भने, जस त मलाई कसले पो कहिले नै दिएको छ र ?
 

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x