विचार

महाकविले खेलाँची गर्नुभएको हो कि भनेर प्रश्न दोहोर्‍याएँ...

यदुनाथ खनाल |
जेठ ३१, २०७९ मंगलबार ७:१६ बजे

२००३ सालतिर त्रिचन्द्र कलेजमा सहकारी प्राध्यापकको रूपमा नियुक्ति भएपछि केही समयसम्म र २०१४ सालमा विश्वविद्यालय प्रतिनिधिमण्डलको सदस्य भई भारत भ्रमण गर्न जाँदा अन्दाजी एक महिनासम्म महाकवि श्री लक्ष्मीप्रसाद देवकोटासँग निकट सम्पर्कमा आउने अवसर पाएको थिएँ । अरू समयमा पनि विभिन्‍न परिस्थिति र मौकामा देवकोटाजीसँग जम्काभेट भएको हो तापनि यी दुई वेलाको सहवास मेरो दृष्टिबाट विशेष संस्मरणीय लागेकोले यिनैमा सीमित भएको छु ।

सन्तानब्बे सालको पर्वले गर्दा २००३ सालमा काठमाडौँको बौद्धिक जीवन एक किसिमले आतुर थियो भने अर्को किसिमले उत्कृष्ट रूपमा सक्रिय र सार्थक पनि थियो । कविताहरूले प्रयोग गर्ने प्रतीकहरूमा चेतना, नयाँ अर्थ र नयाँ आयाम घुस्न थालेको थियो । साहित्यको गतिविधि बढेको थियो, सिद्धिचरणजी र व्यथितजीको अकुण्ठित प्रेरणा र प्रयासमा ।


त्रिचन्द्र कलेजमा कुनै प्रभावशाली बौद्धिक कार्यकलाप नभए पनि यसलाई त्यस वेला सचेत नेपालीहरूको केन्द्र मानिन्थ्यो । यसकारण शासकहरूले त्यहाँका प्राध्यापक र विद्यार्थीहरूको प्रत्येक गतिविधिलाई सतर्कताका साथ हेर्दथे । सन्तानब्बे सालपछि शासकहरूमा राजनैतिक विजयको भावना थियो, तर त्यो विजय स्थिरतामा त्यत्तिको विश्वास आइसकेको थिएन ।

यस वातावरणमा त्रिचन्द्र कलेजमा नेपाली पढाउन देवकोटाको नियुक्ति भयो । तर अङ्ग्रेजी साहित्यमा पनि विशेष चाख र ठूलो दखल भएकोले देवकोटाजीलाई अङ्ग्रेजी पढाउने अनुमति प्राप्त भएको थियो । त्रिचन्द्र कलेजको एकनासे बौद्धिक जीवनमा महाकविको प्रवेशले नयाँ उत्सुकता, उमङ्ग र उत्साह ल्यायो । अङ्ग्रेजी साहित्यकै पढाइमा पनि एक बर्खेली जस्तो नयाँ भेल आयो ।

नेपाली साहित्यमा देखा परेका नयाँ गतिविधि र प्रयोगको साक्षात् रूपमा बोध हुन थाल्यो, प्राध्यापकहरू बस्ने, घण्टाघर सोझैमुनिको पहिलो तलाको कोठामा साहित्यको सिर्जनात्मक चर्चा हुन थाल्यो । जहाँ प्राध्यापकहरूद्वारा अङ्ग्रेजी कवि र कवितालाई खालि आफ्नै सङ्कचित दृष्टिबाट परीक्षाको विषयको रूपमा मात्र चर्चा हुन्थ्यो, अहिले त्यहाँ तिनै कवि र कवितालाई स्रष्टाको व्यापक दृष्टिबाट रसिक प्राध्यापकहरूले प्रभावकारी विश्लेषण गर्न थाले । 

देवकोटाजीको विचित्र ज्ञान, विज्ञान र प्रतिभाको चमत्कारी प्रमाण प्रत्येक दिन त्यो कोठामा देखिन थाल्यो । वर्डस्वर्थको कवितामा नेपाली साहित्यको लागि के सिर्जनात्मक महत्त्व शेलीको कुन गुणले वा पक्षले देवकोटाजीलाई विशेष प्रभावित पारेको छ इत्यादि अनेक प्रश्नहरू उठे । देवकोटारचित अनेक नेपाली र अङ्ग्रेजी कविता, निबन्धहरू रसास्सवादनका साथ पढिन थाले । नेपाली साहित्यलाई उचित सम्मान गम्भीरताका साथ हेर्ने प्रवृत्तिले ठूलो प्रोत्साहन पायो । तर त्रिचन्द्र कलेजमा आएको यो नयाँ जिज्ञासाप्रति प्राध्यापकहरूको जो प्रतिक्रिया भयो महाकविलाई त्यो पर्याप्त जँच्यो जँचेन यसको सङ्केत पाइँदैन ।

कलेजको नियमबद्ध पिँजरामा कुर्रिन देवकोटालाई गाह्रो त पर्यो, समयमा कलेजमा पुग्न, समयमा क्लासमा जान र समयैमा क्लासबाट निस्कन महाकविलाई धौधौ पर्यो । वास्तवमा त्यो महान् प्रतिभा कैदियोस् कसरी !

केवल विद्वता र प्रतिभाको बल र आडमा नै देवकोटाजीको त्रिचन्द्र कलेजमा नियुक्ति भएको हो तापनि यसभन्दा अगाडि मलाई उहाँको बहुपक्षीय व्यक्तित्वको पूरा ख्याल थिएन । मुनामदन र अरू दुई चार कविताहरूबाहेक उहाँका अरू महत्त्वपूर्ण कविताहरूसँग राम्ररी पूर्ण परिचित भएको पनि थिइनँ । यस कारण धेरै दिनसम्म यसरी उहाँसँग सहयोगीको रूपमा सहवास हुँदा, धाराप्रवाहमा उहाँको साहित्य चर्चा सुन्दा, उहाँको स्वच्छता र सरलता देख्ता, उहाँको चमत्कारजनक व्युत्पत्ति र प्रतिभाको साक्षात्कार गर्दा ममाथि त्यस वेला उहाँको एक अमेट छाप पर्यो । सहवास नै ठूलो गौरव र संयोगको कुरा भयो । यसपछि देवकोटाजीका कविताहरू बढी होशियारीका साथ पढ्न थालेँ ।

त्रिचन्द्र कलेजमा प्राध्यापकहरूसँगको संसर्गबाट भन्दा विद्यार्थीहरूसँगको सम्पर्क र आदान–प्रदानबाट देवकोटाजीलाई त्यस वेला विशेष आनन्द भएको कुरा स्पष्टसँग अड्कल गर्न सकिन्छ । रसिक विद्यार्थीहरू जम्मा गरी पूर्ण स्वतन्त्र वातावरणमा साहित्यको चर्चा गर्ने उहाँको वानी थियो, विद्यार्थीहरूलाई मुग्ध पार्ने उहाँको शक्ति थियो । प्राध्यापकको भन्दा पनि विद्यार्थीको तहमा त्रिचन्द्र कलेजमा देवकोटाजीको सेवा विशेष प्रभावशाली र संस्मरणीय भएको छ ।

यसको दस एघार वर्षपछि अर्कै वातावरणमा फेरि एकपल्ट देवकोटाजीसँग सहवास गर्ने मौका मिल्यो । २००७ सालको क्रान्तिपछि राष्ट्रिय विश्वविद्यालय स्थापना गर्ने सिलसिलामा एक विश्वविद्यालय आयोग गठन भएको थियो र यस आयोगका प्रतिनिधिहरूलाई भारतीय विश्वविद्यालयहरूको अध्ययन–भ्रमण गर्न भारत सरकारले निमन्त्रणा गरेको रहेछ । आयोगको सदस्य नभए पनि संयोगवश भारतका केही विश्वविद्यालयहरूको भ्रमण गर्ने नेपाली प्रतिनिधिमण्डलमा म पनि सम्मिलित गरिएँ ।

यस बेलासम्म देवकोटाजीको साहित्यिक व्यक्तित्व पूर्णतया परिपक्व भइसकेको थियो । २००७ सालको क्रान्तिपछि नेपालको साहित्यिक वातावरण पनि राम्रोसँग मुक्त भएको थियो । यो क्रान्तिले गर्दा हाम्रो ऐतिहासिक पृष्ठभूमिमा एक नयाँ आयाम थपिएको थियो । देवकोटाजीको चेहरामा मूक आनन्द झल्केको थियो ।

यो क्रान्ति ल्याउन उहाँले ठूलो साहित्यिक तपस्या गर्नुभएको थियो र बौद्धिक चेतना दिलाउनुभएको थियो । यो साहित्यिक र बौद्धिक योगदान कम महत्त्वको थिएन । यसमा थप उहाँले सङ्घर्षको शारीरिक सहयोग समेत गर्नुभएको थियो । क्रान्तिपछि नेपाली जीवनमा र साहित्यमा केही उच्छृङ्खलता आएको थियो तर यसले उहाँलाई कत्ति पनि विचलित पारेको थिएन । महकविको मनःस्थितिको यस अवस्थामा उहाँसँग मेरो यो पल्ट सहवास भएको हो । पटना, बनारस, देहली, बरोदा, पूना आदि विश्वविद्यालयहरूमा भावुक कविका उद्गारहरू शिक्षाको दृष्टिबाट जति गहकिला थिए साहित्यको दृष्टिबाट त्यत्तिकै मर्मस्पर्शी थिए ।

महाकविको अस्वस्थताको कारण साहित्यको दृष्टिबाट यो लामो सहवासलाई जति उपयोगी बनाउन चाहन्थेँ त्यो बनाउन सकिनँ । बनारस र पूनामा देवकोटाजीको स्वास्थ्यले चिन्तित नै पार्यो । यो भ्रमणको पूरा अवधिसम्म महाकविको स्वास्थ्य कहिल्यै सन्तोषजनक भएन । यस परिस्थितिमा साहित्यको विषयमा उन्मुक्त आदान–प्रदान हुनु सम्भव थिएन । तथापि यो भ्रमणको पछिल्लो दौडानमा कलकत्ताको ग्रेट इष्टर्न होटेलमा महाकविसँग एक साहित्यिक प्रश्न गर्ने साहस गरेँ ।

सायद त्यो प्रश्न मेरो मनमा धेरैपल्ट खेलेको होला, तर यसपल्ट धेरै नसोची मौका छोपी सोधिएको प्रश्न थियो । तर पनि गम्भीरताका साथ घोरिएर, सोच–विचार गरेर दिइएको उत्तरको आशा गरेको थिएँ । यही आशामा मैले सोधें– देवकोटाजी, तपाईंका अनेक कृतिहरूमध्ये सबभन्दा ठूलो कुन सम्झनुहुन्छ, जसमा तपाईं जीवित रहन चाहनुहुन्छ ? अर्थात् एक दैवी आगलागीमा एउटा बाहेक अरू सबै जल्ने भए कुन चाहिँ चाहनुहुन्छ ?

तुरून्त उत्तर आयो, मुनामदन । उत्तरको आकस्मिकताले अलि घोच्यो । महाकविले खेलाँची गर्नुभएको हो कि भनेर केही हाँसेर प्रश्न दोहोर्याएँ देवकोटाजीले गम्भीरताका साथ उत्तर दिएको हुँ भन्‍ने सङ्केत गर्नुभयो । मलाई किन किन त्यस वेला उत्तरबाट पूरा सन्तोष भएन । मुनामदन अवश्यै एक सफल, लोकप्रिय कविता हो जसले नेपाली साहित्यमा एक विशिष्ट स्थान लिएको छ । यो कविता नेपाली जनताको हृदयसम्म पुगेको छ । तर पनि शाकुन्तल, सुलोचना, कुञ्जिनी आदि कृतिहरू देवकोटाजीको आत्मा र प्रतिभाको विशेष प्रतिनिधित्व गर्ने छाँटका होइनन् र ? फुटकर कवितामा पनि साँढे, पागल, यात्री, चारूजस्ता कविताहरू बढी होइनन् भने पनि समान महत्त्वका होइनन् र ?

निबन्ध, नाटक, कथा, फुटकर कविता, खण्डकाव्य, महाकाव्य आदि साहित्यका झन्डै प्रत्येक क्षेत्रमा प्रभावकारी सफलता हासिल गर्नुभएका विलक्षण प्रतिभाले युक्त देवकोटाजीलाई उहाँले नै भने पनि मुनामदनले मात्र उहाँको प्रतिनिधित्व गर्न सक्तछ या सक्तैन भन्‍ने खुलदुली मेरो मनमा रह्यो । अहिले घोरिएर त्यस घटनाको एघार वर्षपछि विचार गर्दा त्यस किसिमको उत्तर दिँदा सफल कविताको मूल उद्देश्यले त्यो उत्तर दिनुभएको होला जस्तो मलाई लाग्दछ ।

(साहित्य समालोचक, प्राध्यापक तथा कूटनीतिज्ञ खनालले ‘लक्ष्मीप्रसाद देवकोटा : एक अधूरो संस्मरण’ शीर्षकमा भानु (२०२५) मा लेखेको लेख ।)
 


Author

थप समाचार
x