७८-४८ अनुभव र नारीको नायकत्व
व्यवसायी ट्रम्प, व्यावहारिक बाइडन : अमेरिकाको अनुहार र आत्मा अर्कै त हुनेछ, तर कस्तो ?
काठमाडौं : 'अबको अमेरिका फरक हुनेछ,’ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जे बाइडनको विजयसँगै धेरैको टिप्पणी यस्तै छ । अझ अमेरिकामा रहेका एसियाली आप्रवासीहरू बडो उत्साहित देखिएका छन् । हुन पनि, बितेको चार वर्षभन्दा आँउदो चार वर्ष अमेरिका केही न केही फरक हुने अनुमान विश्वले गरेको छ । यद्यपि अमेरिकी नीति र सहकार्यमा त्यति धेरै फरक आउने छाँटकाँट भने छैन । फरक आउन सक्छ, केवल कार्यशैलीमा ।
डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिकालाई विश्वले हेर्ने दृष्टिमा निकै फरक परेको छ । अझ भनौँ, कतिपय स्थानमा त अमेरिका बिस्तारै पाखा लाग्दै गयो । घरजग्गा तथा होटल व्यवसायी ट्रम्पको अचानक राजनीतिमा उदयपछि अमेरिकाको छवि खस्कन पुगेको एकथरी अमेरिकी धारणा छ । तर, परम्परावादी अमेरिकन चाहिँ ट्रम्पको बोलीबाहेक अन्य शैली र तरिकाको प्रशंसा नै गरिरहेका छन् । ‘अमेरिका पहिलो’ भन्ने ट्रम्प नीति पछ्याउनेको कमी अमेरिकामा छैन ।
चार वर्षभरि ट्रम्पले ‘अमेरिका फस्ट’ नारा त घन्काए । पुराना अतिवादी अमेरिकीका निम्ति यो नारा आकर्षक बन्यो । अमेरिकामा ‘ल्यान्ड अफ अर्पचुनिटी’ भन्दै विश्वका मानिस बस्छन् भन्ने उनीहरूले भुले । विश्वको उदार अर्थतन्त्र ‘वासिङ्टन कन्सेन्सस’बाट अघि बढेको विषय र सहर वरपरका मानिसलाई पनि ट्रम्पले भुल्दै गए । अमेरिका फस्टको गाथा गाएर उनले अमेरिकालाई विश्व नेतृत्वबाट खुम्चाउँदै लगे । एक प्रकारका नागरिकहरूले आफूलाई अहसज अनुभव मात्र गरेनन् कि अमेरिकाको अवमूल्यन भएको निष्कर्षमा पुगे ।
अनि अमेरिकीको रोजाइमा परे, उनै पुराना अनुभवी नेता बाइडन । उनी डेलवेयर राज्यबाट १९७३ देखि २००९ सम्म ६ पटक सिनेटर चुनिएका राजनीतिज्ञ हुन् । पहिलोपटक सिनेटर चुनिँदा २९ वर्षका बाइडन यतिबेला ७८ वर्षका भए । यस्तै, अमेरिकामा पहिलो पटक महिला, त्यसमा पनि अश्वेत कमला ह्यारिसको उपराष्ट्रपति यात्राले अमेरिकाको छविमा तात्विक फरक आउने सक्ने अड्कलबाजी बाक्लै भइरहेका छन् ।
‘अब तीतो अभिव्यक्तिबाट टाढा रहौँ । एक-अर्कालाई सुनौँ । आफ्ना प्रतिद्वन्द्वीलाई दुस्मन ठान्न छोडौँ,’ जितपछि उनै अनुभवी पाका राजनीतिज्ञ बाइडनले भने, ‘भोट नदिनेका लागि पनि उत्तिकै मेहनतसाथ काम गर्नेछु ।’
उनले सबैलाई साथमा लिएर अघि बढ्ने अभिव्यक्तिपछि अमेरिकीमा एकप्रकारको आशा पलाएको छ । बाइडनले आशाको सञ्चार गरिरहेका छन्, ‘म अमेरिकाको राष्ट्रपति हुँ । सबैलाई साथमा लिएर अघि बढ्नेछु । कसैलाई पनि मैले रातो वा नीलो राज्यको रूपमा हेर्दिनँ । अब म कुनै पार्टीको राष्ट्रपतिका रूपमा रहन्न । समग्र अमेरिकाको राष्ट्रपति हुनेछु । हामी सबै मिलेर धेरै काम गर्नु छ ।’ उनले अमेरिकीहरूसँग वाचा गर्दै भने, ‘फुटाउने होइन, जोड्ने काम गर्नेछु, सबैको साथ र भरोसा जित्दै अघि बढ्ने कोसिस गर्नेछु ।’
अमेरिकाका लागि पूर्वराजदूत डा. शंकर शर्माले डेमोक्र्याटिक नेता बायडनको जितले अमेरिकीहरूलाई एक प्रकारको ऊर्जा मिलेको सुनाए । खासगरी रिपब्लिकन र डेमोक्र्याटका रूपमा अमेरिका विभाजित नहुने गरी मुलुकलाई पुनः अघि बढाउने विश्वास उनको छ ।
अमेरिकाका लागि पूर्वराजदूत डा. सुरेश चालिसेले अमेरिकाले करिब दर्जन बढी अन्तर्राष्ट्रिय एजेन्सीहरूमा आफूलाई पछि हटाएको स्मरण गरे । त्यस्तै जेरुसेलमको विषयले अन्तर्राष्ट्रिय जगत्मा अर्कै सन्देश गएको छ । यस्ता विषयमा बाइडन बढी चनाखो हुने उनको बुझाइ छ । भारतसँग पनि बायडनले उत्तिकै सहकार्य अघि बढाउनेमा दुई मत नभएको डा. चालिसेको धारणा छ, ‘भारतसँग अमेरिकाले गरेको सम्झौता अघि बढ्नेमा दुई मत छैन ।’
‘ट्रम्प सिधा जान्थे भने यिनी कूटनीतिक शैलीमा हिँड्छन्, फरक त्यत्ति हो ।’
अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रमा क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) सहकार्य अघि बढाउने स्पष्ट छ । त्यो नीतिमा बाइडन पछि हट्नेवाला छैनन् । यद्यपि उनले चीनसँगको सहकार्यमा केही सुधार ल्याउने देखिन्छ । ‘बाइडनले विश्वमा सेन्टर लेफ्ट (उदारवादी) को धारलाई अघि बढाएर लैजाने प्रयास गर्नेछन् । र, विश्व दुई ध्रुवमा विभक्त हुनेछ,’ चालिसे भन्छन्, ‘खासगरी अमेरिकाको सहकार्यमा र्याडिकल पक्षधर बिस्तारै पाखा लाग्ने र उदारवाद हाबी हुनेमा शंका छैन । लोकरिझ्याइँवाद र पुरातनवादी शासकहरू पन्छिनेछन् ।’
डा. शार्माका अनुसार, बाइडन परराष्ट्र मामिलामा निकै दख्खल राख्ने राजनीतिज्ञ मात्र होइन कि उनी सफल ‘नेगोसियटर’ पनि हुन् । यसमा ३६ वर्षदेखिको अनुभव उनीमा छ । विदशीसँग वार्ता गर्ने र आफ्नो पक्षमा ल्याउन सक्ने क्षमता उनीमा रहेकाले अमेरिकाको खस्कँदो साखलाई उकास्न उनको त्यो ‘स्पेसल क्यारेक्टर’ले काम गर्ने छ । लाग्छ, अमेरिका पुनः दर्जन बढी अन्तर्राष्ट्रिय एजेन्सीमा फर्कन्छ ।
आफ्नो भूमिका पुरानै अवस्थामा पुर्याउने काममा बाइडन लाग्ने उनको बुझाइ छ । ‘नेपालमा अमेरिकाको तिब्बतबाहेक खास चासो नहुने हुनाले यहाँको विकासमा अमेरिकी सहयोगको निरन्तरता रहनेमा दुई मत छैन’ भन्दै बाइडनसँग पटक-पटक भेटेका शर्माले भने, ‘हाम्रो सरकारले लिने नीतिमा पनि अमेरिकी सहयोगको रूप निर्धारण हुन्छ ।’
अमेरिकाले विश्वको नेतृत्व गर्ने र आफ्नो शक्ति क्षीण हुन नदिने विषयमा भने ट्रम्प र बाइडनको कुरा मिल्ने हुनाले शैलीबाहेक अन्य ठूलो परिवर्तन हुँदैन । ‘बाहिर यो वा त्यो हुन्छ भनी गरिएका टिप्पणीमा म त्यति जान्नँ । तर हामीसँगको सहकार्य र अमेरिकाले लिएको नीतिमा केही व्यवहार परिवर्तनबाहेक अन्य खास ठूलो परिवर्तन हुँदैन,’ ट्रम्प सिधा जान्थे भने यिनी कूटनीतिक शैलीमा हिँड्छन् । फरक त्यत्ति हो ।’ डा. शर्माको टिप्पणी छ, ‘अमेरिकीहरू नेपाल नेपालीलाई एकदम माया गर्छन् । नेपाल नआएका भए पनि नातेदारहरू नेपाल आएका छन् ।’
ट्रम्पले जलवायु परिवर्तनलाई एउटा अन्तर्राष्ट्रिय छलको संज्ञा दिए । पृथ्वीको तापक्रम बढेको र जलवायु परिवर्तनले संकट निम्तिएका विषय कहिल्यै स्वीकार गरेनन् । अन्य नेतृत्वलाई हेर्ने शैलीले पनि खासै राम्रा रहेन । कोभिड-१९ बारे उनले दिएका अभिव्यक्तिले अमेरिकीहरू लज्जित छन् । उनीहरूका कूटनीतिज्ञ बोल्दा धक मान्नपर्ने अवस्था रह्यो । किनकि चिकित्सकको सुझावलाई समेत ट्रम्पले ‘बेबकुफ’ भने ।
आशा छ, ट्रम्प भन्दा पाका उमेरका बाइडनले पक्कै पनि त्यसो गर्ने छैनन् । किनकि उनले लगातार आधुनिक विश्व र पछिल्ला घटनाक्रम सुन्नुपर्ने बताउँदै आए । रंगभेदविरुद्ध अभियानलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । जलवायु परिवर्तनमाथि विश्वास गर्ने बाइडनले कार्बन उत्सर्जन नियन्त्रण गरी तापक्रम वृद्धि कम गर्ने मार्गको पेरिस सम्झौतामा अमेरिका पुनः सामेल हुने बताइसकेका छन् ।
सिनेट हुँदै श्रीमती र सानी छोरी गुमाएका बाइडन दुई छोरा बो र हन्टरको स्याहारसमेत एक्लै गरेका व्यावहारिक राजनीतिज्ञ हुन् । पाँच वर्षअघि मात्र आफ्नो पुत्र बो गुमाए ।
दक्षिण एसिया अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले पनि बाइडन प्रशासनले नेटो, राष्ट्रसंघ, पर्यावरण जस्ता विषयमा अवश्य ट्रम्प प्रशासनको नीतिलाई उल्ट्याउने बताए । ‘चीनप्रति पनि ट्रम्पले जस्तो ट्विटरमार्फत कूटनीति चलाउने गल्ती गर्नेछैनन्,’ डा. पाण्डेले भने, ‘लामो अनुभवले खारिएका बाइडनले लहडी र अपत्यारिलो शैलीभन्दा संस्थागत प्रणालीलाई अवलम्बन गर्नेछन् ।’
ट्रम्प प्रशासनले अर्बपतिहरूलाई दिएको कर छुट बाइडनले उल्ट्याउने देखिन्छ । सिनेट हुँदै श्रीमती र सानी छोरी गुमाएका बाइडन दुई छोरा बो र हन्टरको स्याहारसमेत एक्लै गरेका व्यावहारिक राजनीतिज्ञ हुन् । पाँच वर्षअघि मात्र आफ्नो पुत्र बो गुमाए । ब्रेन क्यान्सरका कारण छोराको निधनपछि उनी क्यान्सरविरुद्धको अभियानमा समेत लागे । बाइडनले कोरोना महामारी नियन्त्रणका योजना समेत सुनाइसकेका छन् ।
नेटोमा अमेरिकाको भूमिका खस्किएको छ भने युरोपसँग अमेरिकाको सम्बन्ध कमजोर बनेको छ । उत्तर कोरियाका नेतासँग झुके, तर परमाणु परीक्षण रोक्न सकेनन् भन्ने छ । ४८ वर्षदेखि अमेरिकी राजनीतिको केन्द्रमा रहेका बाइडन सिनेटका कमिटीहरूमा बसे । बाराक ओबामा कालमा उपराष्ट्रपतिका रूपमा परराष्ट्र सम्बन्ध स्थापित वा विस्तारका काम गरे ।
बाइडन यसअघि राष्ट्रपतिको उम्मेदवार बन्न दुई पटक प्रतिस्पर्धामा थिए । तर, सफल भएनन् । उनी पहिलो पटक १९८८ र दोस्रोपटक २००८ मा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा थिए । पहिलोपटक आफैँ उम्मेदवारीबाट पछि हटे । २००८ मा ओबामाले बाजी मारेपछि उनकै उपराष्ट्रपति भए ।
उनै उपराष्ट्रपति चार वर्षपछि अमेरिकामा उदार लोकतन्त्र पक्षधरको विजयीले केही आशा जगाएको छ । अमेरिकी राष्ट्रपतिले लिने निर्णयले विश्वको अर्थतन्त्रमा बदलाव देखिने हुनाले पनि यो निर्वाचनको चासो बढेको हो ।
संसारमा अलोकतान्त्रिक र तानाशाहहरू हाबी भइरहेको पृष्ठभूमिमा उनको विजयीले अमेरिकालाई मात्र होइन, विश्वलाई एउटा आधार दिएको छ । डेमोक्र्याटिक उम्मेदवार बाइडन विजेता हुँदासमेत ट्रम्पले स्वीकार गर्न नसक्नुले अतिवादको भूमरीमा रहेकाहरूको चरित्र उदांगो नै भएको छ ।
शक्तिमा अडिनुपर्ने, सत्ता छाड्न नहुने शैली विश्वमा पुनः एकपटक बहस भइरहेको छ । रुसमा जसरी पनि पुटिन, चीनमा सि चिनफिङ बनिरहेका छन् । टर्कीमा होस् या भेनेजुयला या त उत्तर कोरिया ? यसरी शक्तिको अडिग रहनुपर्ने सोच अमेरिकामा पनि नपलाएको होइन ।
अमेरिकामा सन् १९९० पछि एक कार्यकालमा खुम्चिने राष्ट्रपतिमा ट्रम्प दर्ज भएका छन् । उनकै क्रियाकलाप पछ्याउँदै विश्वमा अलोकतान्त्रिक छवि बनाएका नेताहरू हाबी हुँदै गए । साना तर लोकतन्त्रको पक्षधर मुलुक झन् संकटमा पर्दै गएका छन् । उदाँउदो शक्ति रहेको एसियामा समेत अमेरिकी पछिल्लो नीतिले असहजता ल्यायो । त्यसमा परिवर्तन आएको हेर्न सबै आतुर छन् ।
अमेरिकाको निर्वाचनले विश्वको गति कता जाने तय हुन्छ । कतिपय निर्णय त अमेरिकीको स्थायी संयन्त्रमार्फत हुन्छन् । तर पनि नेतृत्वका नीति, बोली र व्यवहारले फरक पार्छ नै ।
बाइडन र कमलाजस्ता अनुभवी र परिवक्व नेताद्वयको सहकार्यबाट अमेरिकाको अनुहार (हार्डवेयर) र आत्मा (सफ्टवेयर) दुवै अर्कै त हुनेछ नै, तर कस्तो ?
बाइडनको काँधमा नेतृत्व पुग्दा उदाउँदो शक्ति चीनसँगको सहकार्य बढ्ने धारणा छ । तर, चीनसँग ट्रम्पले किन सहकार्य गरेनन् भन्ने विषय बुझ्न जरुरी छ । ‘रसिया फ्याक्टर’ एकोहोरो ढंगले हेरिएको र उनको बोलीकै कारण यो अवस्था आएको धारणा हो ।
हुन त, अमेरिकामा अतिवादी र लोकतन्त्रवादीबीच भिडन्त नभएका होइनन् । तर बाइडनलले लोकतान्त्रिक व्यक्तिहरू लोकतन्त्रमा विश्वास मात्र गर्दैनन्, धैर्य गर्न सक्छन् भन्दै शालीनता पनि देखाएका छन् । अमेरिकालाई ओरालो लगाउने राजनीतिक खराबीहरूबारे गम्भीर बहसमा आर्थिक प्रवृत्ति बेवास्ता गर्न नमिल्ने दृष्टिकोण अमेरिकामा छ । जसले अमेरिकी मध्यम वर्गमा आक्रोश र निराशा जन्मायो र ट्रम्पको उदय भयो ।
जुन क्षणिक भए पनि अमेरिकामा फरक खालको बहस अघि बढाउँदै ट्रम्प बिदा हुँदै छन् । अनिश्चितता र विघटनपछि थुप्रै अमेरिकीहरू आफ्नो मुलुक नयाँ सुरुवातको संघारमा रहेको भनिरहँदा यतिबेला अमेरिकी लोकतन्त्रको तनाव परीक्षण थप चुनौतीमा छ ।
बाइडन र कमलाजस्ता अनुभवी र परिवक्व नेताद्वयको सहकार्यबाट अमेरिकाको अनुहार (हार्डवेयर) र आत्मा (सफ्टवेयर) दुवै अर्कै त हुनेछ नै, तर कस्तो ? धेरैको विश्लेषण छ, सोचे जस्तो हैन । तर, पनि महाशक्ति अमेरिकाको बेग्लै अनुहार हेर्न र आत्मा छाम्न विश्व आतुर छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया