विचार

'न कहिल्यै जवानी आयो, न सुख बुझेँ'

सरिता दाहाल |
असार १०, २०७९ शुक्रवार १३:५७ बजे

कामको सिलसिलामा मकवानपुरको विकट भेग पुगेको थिएँ । एक्कासि पानी बर्सन थाल्यो र खरले छाएको गोठमा ओत लाग्न त्यतातर्फ लागेँ । गोठमा भेटिनुभयो, एक वृद्ध आमा । सामान्य कुराकानी भए । असारे झरी दर्किरह्यो । हामी आफ्नै पारामा गफिन थाल्यौँ ।

‘यो उमेरमा पनि गोठको काम गर्न सक्नुहुन्छ आमा,’ मैले सोधेँ । ‘नसकेर के गर्नु बाबै सास छउन्जेल बाँच्‍नका लागि काम गर्नै परो,’ आमाले यो वाक्यसँगै जीवनको पीडा पोख्‍न खोज्‍नुभएजस्तो लाग्यो । आमाको नजिकै बसेँ र भनेँ, ‘किन आमा यस्तो भन्‍नुभको ? कति वर्ष हुनुभयो हजुर ?’


‘खै कति वर्ष भएँ भनूँ, आमा भनेर चिन्‍न नपाउँदै उहाँ (आमा) भगवान्को प्यारो हुनुभयो । जन्म दिने आमा नै नभएपछि, सबै कुरा बिराना हुने रछन् बाबै । मेरो आमा बित्दा बाको जीवनको धेरै यात्रा बाँकी थ्यो । उसै पनि त्यो बेला (७० वर्ष पहिले) एक जनाले पाँच जनासम्म श्रीमती बिहे गर्थे रे । मेरो बाको त दोस्रो बिहे, त्यो पनि आमा बितेपछि बाध्यता थियो । बाको जीवनको आधा अंग (अर्धांगिनी) बनेर आउनुभयो, कान्छी आमा । मैले उहाँलाई कहिल्यै कान्छी आमा भनिनँ । उहाँ मेरी आमा नै हुनुहुन्थ्यो । मैले त उहाँ मेरो जन्म दिने आमा हैन भनेर धेरैपछि मात्रै थाहा पाएको थेँ । मलाई माया नै गर्नुहुन्थ्यो । भ्याएसम्म स्याहारसुसार गर्नुहुन्थ्यो । बाले अझै बढी स्याहार गर्नुहुन्थ्यो मेरो । कामको चटारो हुँदा पनि हतारहतार मेरो कपाल चटक्क दुई चुल्ठी बाटेर रिबनको फूल बनाइदिनु हुन्थ्यो बाले । अनि जानुहुन्थ्यो मेलापात घाँस दाउरा गर्न ।’

‘१० वर्षकै उमेरमा बिहे भयो । आमा नभकी टुहुरी धनीका घरमा सुखी होली भनेर बाले डोली चढाउनु भको अरे । पछिपछि यस्तै भन्‍नुहुन्थ्यो बाले । घर गरी खान धेरै सकस खपेँ । सम्झँदा मनभित्र आगो सल्कन्छ, अहिले पनि । जीवनका कयौं रात ननिदाएरै रुँदै बिताएको छु । नाथे जिन्दगी रोएर चाँडो जाने हैन ऐच, नत्र म दुई २० मै मर्नुपर्ने आजसम्म बाँच्या छु । न हिजो नरोको दिन थियो, न आज छ ।’

०००
खरको छानाबाट पानी झरिरहेको थियो । बाछिटाले हामी दुबैलाई हानेको थियो, आमाले मिलाएर राख्‍नु भएको दाउराको कुनियो र घाँसको भारीको बिचमा बसेका थियौँ हामी दुबै । कुरा गर्दै जाँदा बेला बेलामा झरी जस्तै गरी आमा पनि चाउरिएको गालाबाट आँसु झर्थे । म आमाको कुरा मोड्न खोज्थेँ आमा फेरि त्यही विगतमा फर्किनुहुन्थ्यो ।
फेरि भन्‍न थाल्नुभयो । 

‘जीवन भन्‍नु नै आँसु त हो नि । पाँच÷पाँचजना जेठाजु÷जेठानी दिदीहरू, ३ जना नन्दहरू, सासूससुरा, बूढीसासू र श्रीमान्‌सामु म झुकेर त्यो घरमा पसेको थँे १० वर्षको उमेरमा । उहाँहरू मात्रै हैन, जेठाजु÷जेठानीका छोराछोरीहरू सबैतिर गरेर ३ जना थिए । उनीहरूले पनि मलाई आफूभन्दा कान्छी जस्तो नमीठो व्यवहार गर्थे । सिधै भन्थे, ‘हामीभन्दा पछि हाम्रो घरमा आएकी हो काकी उसले हामीलाई मान्‍नुपर्छ ।’ 

उमेरले सानै थिए, उनीहरू । कच्चा उमेरमा के जानेर भने होला र ? जे आयो बोल्दिए नि भनेर म सहन्थेँ । झुकिदिन्थेँ तिन्का सामुन्‍ने पनि । माया लाग्थ्यो, बच्चा हुन् भनेर हुन त म पनि बच्चै थिए । त्यतिबेला म मुस्किलले १५/१६ वर्षको थिएँ कि ? हुन त म आफैं बच्चा थिए, उनीहरूसँगै खेल्न मन लाग्थ्यो । उनीहरू स–साना ढुंगा बटुलेर गट्टा खेल्थे, म जुठो भाँडा बटुलेर साथमा गाग्रो पनि थपेर पँधेरी झर्थें । घर अगाडि ठूलो आँगन थ्यो, दसैँमा त्यहीँ पिङ हालिन्थ्यो, उनीहरू त्यो पिङमा रमाउँदै बेस्सरी मच्चिन्थे, म २०/२२ जनाको भात भान्छामा झण्डै १६ घण्टा मच्चिरहन्थेँ, असिन पसिन गरेर । डाढ कम्बर खुब दुख्थ्यो, सारा काम भ्याएर तेल लिएर गोडा मिच्‍न जाँदा श्रीमान्‌ले ढिलो गरिस् भनेर लात्ताले भकुर्थे । मैले न सुख कस्तो हो बुझेँ, न जवानी आयो मेरो कहिल्यै ।’

वृद्धा आमाका गह भरिएर आए, केही बोल्नु भएन । म पनि बोलिनँ केहीबेर । उहाँको खाटो बसेको घाउ कोट्याएर चहर्‍याउने पो बनाएँ कि भन्‍ने लाग्यो मलाई मनमनै, आफैंलाई पीडा भयो ।
‘आमा, मैले गर्दा गाह्रो भयो है ?’ 

मैले यत्ति बोल्दाबोल्दै उहाँले फेरि भन्‍नुभयो, ‘नाइँ हैन, बाबा मेरो त लेखान्त नै यही रच क्या ।’ उहाँले फेरि वाक्य लम्ब्याउँदै भन्‍नुभयो ।

‘काम त कति गर्नुपर्ने कति, साँझ बिहान, रात दिन कुनै पलको ज्ञात हुन्‍नथ्यो, न त आफूलाई समयको भेउ हुने त्यो बेलाँ । काम गर्‍यो, गर्‍यो भएन भनेर बेस्सरी पाइन्थ्यो । जस पाउने भनेको त कमै हुन्थ्यो । ठूला (परिवारको ज्येष्ठ सदस्यहरू) ले गरेको गल्ती पनि मेरो टाउकोमा आउँथ्यो बारम्बार ।’
‘यस्तो चाहिँ किन नि आमा ?’ मैले बीचमै जिज्ञासा राखेँ ।

‘म महिला ता नि, त्यसमाथि बुहारी, अझ कान्छी सबैले हेप्न पाउने । बुहारीको कामको अर्थ (मूल्य) हुन्‍नथ्यो त्यो बेलाँ । हुन त अचेल पनि घरको कामको अर्थ (मूल्य) कहाँ छ र ? जसले कमाएर ल्याउँछन् ती बुहारीहरूले केही भाउ (सम्मान) पाएका होलान् । १४ वर्षको उमेरमा जेठी छोरी जन्मिई, त्यसपछि लगातार अरु ४ छोरी जन्मिए । ५ छोरी छोरी जन्मेपछि उहाँ (श्रीमान्‌) ले अर्की ल्याउनु भो । पछिल्लो वर्ष ऊबाट पनि छोरी नै जन्मिई, अनि उहाँ (श्रीमान्‌) बेपत्ता हुनुभयो, आजसम्म उहाँको पत्तो छैन ।’

‘यही घरमा कामदार जस्तो भएर श्रम गरिरहेँ, आज साढे तीन बीस उमेर काट्दा पनि उस्तै दुःख र दर्दका सामु गुजारा गर्दै आएको छु । छोरीहरू आ–आफ्नो घर गए, उनीहरूको पनि जीवन पनि खासै रमाइलो छैन । पढाउन सकिनँ, घाँस दाउरा, गोठ, गोबर गरेर बाँचेका छन् छोरीहरू पनि तिनीहरूको पनि कामको कुनै मूल्य छैन । हामी (महिला) लाई कस्ले बुझ्‍ने ?’

आज पनि म २ भारी घाँस नकाटी २ गाँस टिप्न पाउन्‍न । एक ट्याम (समय) मेलापात जान्छु सकेको हलुका काम गर्छु । दुःख भो भनम् भने सुखैले खान जा भन्लान् म कहाँ जाम् ? झर्की फर्की सहेर पनि काल कुर्दै जेठाजुको नातिसँग बसेको छु । सरकारले देको भत्ता (सामाजिक सुरक्षा भत्ता) पनि मेरो हात हुन्‍न, हराउँछेस् बुढीमाउ, हामी राखिदिन्छौँ, भनेर उनीहरूले नै राख्छन्, मेरो अम्मल (चुरोट) खाने बानी छ, त्यही किन्‍ने पैसो हुन्‍न । यी बिँडी खान्छु ।’ उहाँले सालको पातको बिँडी सल्काउँदै फु गरेर धुवाँ फाल्नुभयो । धुवाँ माथिमाथि उड्यो, उहाँको कल्पना जस्तै गरी । धुवाँ बिलायो कताकता झरीले रुझेको आकाशमा ।

वर्षा अलि मत्थर भयो, ‘आमा अब म जाने’ मैले भनेँ ।
‘ल बा ल, सदा सुखी रहनु’ उहाँले भन्‍नुभयो । बेस्सरी भोक लागेको थियो, आमा पनि भोकाउनु भएको हुँदो हो, तर खाजा खाने ठाउँ वरवर थिए । म लागेँ आफ्नो गन्तव्यमा ।

०००
उहाँसँगको कुराकानीले मन अमिलो बनाइरह्यो । कयौँ चोट र ठक्कर खाएर पनि छुट्ने बेलामा कलेटी परेका ओठको मुस्कान र चाहुरिएका कालाकाला छालाले ढाकिएको मुहार झलझली आँखामा घुमिरह्यो । जीवन साँच्चै हज्जारौँ आरोह अवरोहहरू छिचोल्दै लड्दै, उठ्दै, सिक्दै यापन गरिने रहेछ । ती आमासँग कुराकानी गरिरहँदा मैले आफूलाई म सञ्चारकर्मी भनेर चिनाइनँ, र उहाँको पहिचान पनि खुलाउन हिम्मत भएन ममा अहिले ।

अर्को प्रसंग सम्झिएँ, केही समयअघि आफन्त बितेपछि किरियापुत्री भेटको क्रममा काठमाडाँैको पशुपति परिसर पुगेको थिएँ । एकजना वृद्ध आमा वृद्धाश्रमको बाहिर टहलिरहनु भएको देखँे । उहाँसँग कुरा गर्न मन लाग्यो । उहाँले कुराकानीको क्रममा भन्‍नुभयो :

‘३ छोरा, ४ छोरी सबैको विवाह भइसक्यो । नातिनातिना, पनाति, पनातिनीहरू पनि छन् । पहाड घर नुवाकोट, छोराछोरी सबैलाई पढाएँ, जागिरे बनाएँ, श्रीमान्‌ बितेपछि घरमा एक्लो भएँ । जसोतसो ७ वर्ष श्रीमान्‌ बितेपछि पनि घरमै बसेँ । अहिले यहाँ (पशुपतिको वृद्धाश्रम) आएको ४ महिना भयो । धेरै दुःख र परिश्रम गरेर हुर्काएँ, पढाएँ, श्रीमान्‌ दीर्घरोगी थिए, त्यसैले चाँडै बिते पनि । म एक्लैले ७ छोराछारीलाई परिश्रम गरेरै हुर्काएकी हुँ । अहिले जस्तो जागिरे पो थिइनँ, घरघर धाएर मेला पातो, अर्मपर्म, घरासयी परिश्रम गरिन्थ्यो, जागिरे भको भए, अहिले पिन्सिन (पेन्सन) आउँथ्यो, यसरी हेलत्तो होइन्थ्यो होला र ? घरको कामको के मुल्य ? हाम्रो इज्जत फाल्न वृद्धाश्राममा बसेको भनेर कराउँछन् तर घरमा जाँदा नि ख्याल वास्ता गर्दैनन्, मेरै मर्जीले यहाँ खुसी छु ।’ उहाँसँग छोरो कुराकानी भयो, म छुट्टिएँ ।

केही साताअघि समाचार संकलनको क्रममा जिल्ला अदालत मकवानपुर पुगेको थिएँ । अदालत परिसरमा भेटिएकी २८ वर्षीय युवतीको अर्को प्रसंग यस्तै थियो । नाम कल्पना कालाखेती । तीन सन्तानकी आमा । दोस्रो विवाह गरेपछि पहिलो श्रीमान्‌ कमल श्रेष्ठले सम्बन्ध विच्छेदका लागि दायर गरेको मुद्दाको प्रतिउत्तर दिन अदालत हाजिर भएकी थिइन् कल्पना । कारण जान्‍न चाहेँ, उनले एकै वाक्यमा खरर भनिन्ः

‘दुई छाक खानका लागि दिनरात यसको घरमा काम गर्नुपर्ने, कहिल्यै मेरो कामको अर्थ (सम्मान) नराख्‍ने, म चाहिँ यसको घरको नोकर्नी हो र सधैं एकोहोरो काममा घोटिरहनुपर्ने ? ऊ बाहिरी काम गरेर तलब लिएर आउने, मैले पनि त्यो भन्दा धेरै काम घरमा गरेको छु, खै मेरो कामको मूल्य ? दुईचार पैसा कहिल्यै हात पर्दैन, कुनै दिन घरको कामबाट छुट्कारा (फुर्सद) मिल्दैन । अनि किन बसूँ योसँग भनेर हिँडेको ।’ म निःशब्द भएँ, के बोल्ने के ? उनी काउन्टरतिर लागिन् म सूचना शाखातिर लागेँ ।

युवतीसँग धेरै कुरा भएन, तर उहाँ आमाहरूले भन्‍न खोज्‍नु भएको र यी युवतीले भनेको कुराको प्रसङ्ग उस्तै थिए ः घरेलु कामको अर्थात् घरेलु श्रमको मूल्य किन राखिन्‍न ? जसको कारण कतै परिवार टुट्दै छ, त कतै मन वर्षौँदेखि टुटेर आजित छ ।

भलै घरायसी काम आफ्नै घरका व्यक्तिले गर्दा पारिश्रमिक नै दिनुपर्ने भन्‍ने सवाल हैन, तर त्यही काम घरबाहिरको व्यक्तिलाई लगाएर पारिश्रमिक दिनुपर्दा कति लाग्थ्यो होला, त्यो कामको मूल्य नदिए पनि कमसेकम सम्मान त दिनु नि ।

घरेलु काममा दिन बिताउँदै आएका महिलाहरूको आजको माग पनि यही हो । आज हामी आत्मसम्मानको कुरा गरिरहेका छौँ । हो, यही विषयमा आएर ठोकिन्छ आत्मसम्मानको सवाल । आत्मसम्मानको सवाल कुनै सभा समारोह, ठूलाठूला कार्यालय तथा पदहरूमा मात्रै हैन, घरभित्रै पनि अपेक्षा गरिने सवाल हो । चाहे श्रीमान्‌ श्रीमतीबाट होस् वा छोरोछोरी र नातिनातिनाहरूबाट होस् । श्रमको सम्मान आत्मसम्मानसँग जोडिएको सवाल हो ।

शान्ति प्रवद्र्घन गर्ने र द्वन्द्व रोक्ने उद्देश्यका साथ हरेका वर्ष सेप्टेम्बर २१ लाई विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाइयो । न्यायबिना शान्ति सम्भव छैन, अनि आत्मसम्मानबिना न्याय सम्भव छैन । नेपालको संविधान २०७२ को धारा ३४ मा हरेक श्रमिकहरूलाई उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था र स्वतन्त्रताको हक हुनेछ भनी मौलिक हकभित्र सम्बोधन गरिए तापनि महिला श्रमिकहरूलाई कामको पहिचान, सम्मान र सुरक्षाको प्रत्याभूति कहाँ छ ? ७० वर्षीया ती आमा गर्ने श्रमको मूल्य कसले राख्छ ? अनि वृद्धावस्थामा वृद्धाश्रममा पुगेका हजारौँ वृद्धाहरूले आफ्नो जीवनभर गरेको श्रमको सम्मान कहाँ छ ?

अनि आत्मासम्मानकै खोजीमा मन टुटाएर परिवार फुटेपछिको शान्ति र अबोध बालबालिकाहरूको माया पाउने अधिकार, उनीहरू माथिको न्यायको सवाल कहाँ छ ?

घरेलु श्रमिक महिलाहरूको कामको उचित मूल्याङ्कन र सम्मान नपाएको हुँदा महिलाको हक, अधिकार र उनीहरूको स्वास्थ तथा मनोसामाजिक अवस्थाको सुनिश्चितताका लागि कहिले आवाज उठाउने ? यसबारे सरोकारवाला तथा नागरिक समाजले के गर्न सक्छ ? के आवश्यक छ ? यसबारे बहस गर्ने बेला भएन र ?
 
जबसम्म हरेक नागरिकले आत्मसम्मानका साथ बाँच्‍न पाउने वातावरण प्राप्त गर्दैन तबसम्म शान्ति स्थापित हुन सक्दैन । संविधानमा महिला अधिकारहरू सुनिश्चित भए तापनि कार्यान्वयनमा चुनौती नै चुनौतीको पहाड छन् । महिला श्रमिकहरूको नेपालको संविधानमार्फत विभिन्‍न श्रमसम्बधी ऐन र कानुनहरूले सुनिश्चित गरेको हक र अधिकारबारे चर्चाको आवश्यकता अब पनि छैन र ?

पछि पारिएका यी आमाहरूको सवालमा बोलिदिने कसले ? सरकारले हरेक वर्ष महिला तथा बालबालिकाहरूको लागि बजेट छुट्याउँछ, सशक्तिकरणको कार्यक्रमहरू गरिन्छ । सरकारले जेष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा कायम गर्न भत्ताको व्यवस्था गरेको छ, तर त्यसले मात्रै सुरक्षित छैनन् वृद्धाहरू । महिलालाई समान हैसियत प्रदान गर्न ऐन कानुन बनेको छ, तर यि व्यवस्थाले मात्रै समानता परिवारभित्रै कायम छैन र विखण्डन भैरहेका छन् परिवारका सदस्यहरू ।

कामकाजी महिलाहरूलाई दोहोरो कामको भार एकातिर छँदै छ, अर्को घरबाहिर जागिरे नभएका महिलाहरूलाई आत्मसम्मानको पनि कमी छ । ‘म त हाउस वाइफ, मेरो के हैसियत र’ भन्‍ने गरी आफूले नै आफूलाई कम आँक्न बाध्य छन् महिलाहरू । परिवारमा होस् वा समाजमा महिलाहरूको योगदानलाई सम्मान गर्दै, परिवार र समाजले स्वीकार गरेर उनीहरूलाई समान हैसियत प्रदान गर्नतर्फ सबैले हातेमालो गर्नुपर्छ कि ?


Author

थप समाचार
x