विचार

संस्मरण र अनुभूति- २१

साइकलमा आएका राजा र त्यो डोम

वसन्त लोहनी |
असार ११, २०७९ शनिबार ७:५९ बजे

प्राज्ञ, आर्किटेक्ट, विपत्‌विद् र इन्जिनियरिङ साहित्यको प्रणेता हुन्, इन्जिनियर अध्ययन संस्थानका पूर्व डिन प्राध्यापक डा. जीवराज पोखरेल। लुम्बिनीको मायादेवीको मन्दिर डिजाइन गरेका र निर्माण गरेका। उनको २०५८ सालमा प्रकाशित नेपाली वास्तुकलात्मक महाकाव्यमा वसन्ततिलका छन्दमा रचना गरिएका तलका केही हरफहरूलाई हेरौँ ।
‘सरस्वती सदन आदि भवन भने नि
हुँदैन है गलत आखिर शिष्य ! हो नै
जस्तै गरी कन भए शुभ भानुभक्त
सम्मान्य आदि कविले अति नै प्रसिद्ध
वेदप्रासाद कन श्रेय छ यो भवनको
निर्माण भयो छड सिमेण्ट् गरेर एक
मूल द्वारमा छ छत निर्मित रम्यवान
शङ्का थियो सव कनै छत ढल्छ भन्‍ने’

छरिएका नेपालीहरूबीच भावनात्मक सम्बन्ध गाँस्ने या सम्मिलन गराउने काम रामायणबाट जुन ‘शुक्रतारा’ भानुभक्तले गरे त्यसबाट ठूलो गुन लगाएका छन् हामी नेपालीहरूलाई। त्यस्तै गुन वेदप्रसादले नेपालमा सिमेन्ट ढलान प्रविधि सन् १९४४ मा नेपालमा भित्र्याएर गरेको अभिव्यक्ति बोकेका यी हरफहरूलाई लिएर समालोचनात्मक छलफल निकै अगाडि बढाउन सकिन्छ सरस्वती सदनमा केन्द्रित भएर। तर यसलाई कुनै अर्को पटकलाई राखौँ। आजको छलफल त्यसैको निरन्तरतालाई लिएर गर्न हनुमान ढोका दरबारको दक्षिणपट्टि वसन्तपुरको कुमारी घरको पछाडि दक्षिण पट्टिको पुरानो झोछें टोलमा लागौँ। यो मल्लकालीन टोल हो मूलतः धनीहरूले बसोबास गर्ने। हनुमान ढोका-वसन्तपुर क्षेत्र, भण्डार खाल बगैँचा, कुमारी घरपछि झोछें। त्यसपछि लगन। 


झो भनेको एउटै लाइन या लहर, छें भनेको घर - नेवारी भाषामा। सायद एकै लाइनमा घरहरू थिए होलान् कुनै काल खण्डमा। यसरी नाम बन्यो झोछें। यहाँ बस्ने एक परिवारलाई पनि बत्तिस कोटी महाजन मध्येको एक भनिन्थ्यो राणा कालमा। मतलब, नामुद व्यापारी। यी बत्तिस जना साहुहरू मध्येका एक साहु परिवार थियो चेतकृष्ण र नन्दकृष्णको परिवार। यो परिवारलाई अघोषित बैंकर भन्‍न सकिन्छ। नेपाल बैंक १९९४ सालमा खुल्नु अगाडि यिनीहरूले डिपोजिट लिन्थे ३ प्रतिशत व्याज दिएर र ऋण पनि दिन्थे १० प्रतिशत व्याज लिएर। घरको दलिन लच्किन्थ्यो सिक्काले भरिएको बोराहरूले गर्दा। झोछें हिप्पीसँग पनि जोडिएको थियो कुनै बेला।  हिप्पी संस्कृतिको त केन्द्र नै बनेको थियो झोछें टोल करिब एक दशक १९६० को सुरबाट। केन्द्र बिन्दु चाहिँ झोछेंको  'फ्रिक स्ट्रिट' थियो जहाँ गाँजाले लट्ठिएका गोरा ठिटा ठिटीहरू बेपर्दा लठारिइरहेका हुन्थे। अमेरिकाबाट सुरु भएको यो आन्दोलन युवाहरूको प्रतिकार थियो पाखण्डता जन्माएको आफ्नो देशको संस्कृति विरुद्धको। 

झोछेंको यो परिवारको महत्त्व यसबाट पनि जाहेर हुन्छ कि कुमारीको रथसँगै हिँड्नु पर्थ्यो यो परिवारको मुलीले काठमाडौँ सहर कुमारीले परिक्रमा गर्दा। दाजु चेतकृष्ण रोगी र मर्ने बेलामा भाइ नन्दकृष्णलाई आँखाभरि आँशु लिएर जिम्मा लगाइदिए आफ्नो नाबालक छोराछोरीहरूलाई। चेतकृष्णका तीन नाबालक छोराहरू थिए - रामकृष्ण, राजकृष्ण र बद्रीकृष्ण। नेपालको पहिलो पाइलट बने, पछि बद्रीकृष्ण। भाइ नन्दकृष्णको चार छोराहरू - बालकृष्ण, हरिकृष्ण, वंशीकृष्ण र शिवकृष्ण। अहिले बाचेका शिवकृष्ण मात्र छन् जसको विशाल बजारमा गहना पसल छ। हुर्किदा यी सात दाजुभाइहरू सँगै हुर्के एक भएर, एक परिवारको।

२०१३ साल वैशाख १३ गते राजा महेन्द्र रञ्जना सिनेमा हालको समुद्घाटन गर्न आउँदा। साथमा रानी रत्न। हरिकृष्ण श्रेष्ठ स्वागत अभिवादन गर्दै। 

सन् १९५१ मा नेपालमा प्रजातन्त्र आयो नेहरुले गराएको दिल्ली सम्झौता सकेर राजा त्रिभुवन दिल्लीबाट काठमाडौँ फर्केपछि। मुलुकको सम्पत्ति काठमाडौँ टाउन हल जग्गा बकस दिए जस्तै गरी बकस दिए राजा त्रिभुवनले  दयाराम भक्त माथेमालाई। त्यो टाउन हलमा उनले सिनेमा देखाउन थाले जनसेवा सिनेमा हल नाम दिएर। र, उनले खुब पैसा कमाए। सिनेमा हल चलाएर पैसा कमाएको देखेपछि नन्दकृष्ण श्रेष्ठको मनमा पनि सिनेमा हल बनाएर पैसा कमाउने धुन चल्यो। उनले झोछेंमै आफ्नो साढे चार रोपनी जमिनमा बनाउने निधो गरे। तर उनको जेठो छोरो बालकृष्णले मानेनन्।

बालकृष्णको जेठो छोरा शाही नेपाल वायु सेवा निगमका क्याप्टेन केशवकृष्ण जो चर्चित भएका थिए पहिलो हिमालपारि हवाई जहाज उडाएर। त्यो ऐतिहासिक काम गरे उनले राजा वीरेन्द्रको चीनको राजकीय भ्रमणको अवसरमा बेइजिङ पुराउँदा मे १४, १९७८ मा। उनले त्यति बेला भनेको कुरा अहिले पनि चर्चित छ - नेपाल भूपरिवेष्टित हो तर आकाश परिवेष्टित छैन। त्यति बेला उनले तुम्लिङटारबाट एभरेस्ट र मकालुको बीचबाट तिब्बत पुगेर यार्लुङ स्याङ्पो नदी जुन भारतमा ब्रह्मपुत्र भनिन्छ तसको तिरैतिर उडेर बेजिङ पुगेको ब्यहोरा मलाई सुनाएका थिए। उनले एउटा लामो रेकर्ड गरिएको कुराकानीमा मसँग भने - मेरो बाबु र बाजेको कुरै नमिल्ने, कहिले पनि। बाजे झोछेंमा बनाउन चाहने सिनेमा हल तर मेरो बाबु भने अन्तै। यसले गर्दा नयाँ सडकसँगैको फसिखेबमा बनाउने तय भयो। 

सात जना दाजुभाइ भए सेयर होल्डर। त्यसमा मिसिए सेयर होल्डर बनेर चेतकृष्णको छोरी ज्वाइँ शक्ति मान र बालकृष्णको झोछेंकै मिल्ने साथी कान्छा भाइ भनिने चिरञ्जीवी केसी। यिनकै नाति हुन विद्वान प्राध्यापक डा. विजय केसी, काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका। भरत शमशेर र नीर शमशेर पनि मिसिए। पछि यिनीहरूको सेयर यी सात दाजुभाइले नै किने। त्यो फसिकेबको जग्गा डिल्ली बजारको गुरुज्यू भोगेन्द्र राजबाट पहिले नै किनेका थिए। नाम छाने एभरेस्ट। जनसेवा सिनेमा हलसँगै उनीहरूको औषधि व्यवसाय थियो - काठमाडौँ मेडिकल हल। त्यसै भवनमा एउटा रेस्टुरेन्ट पनि चलाएका थिए - रञ्जना नाम गरेको। अन्ततः एभरेस्ट नामको सट्टा त्यो रेस्टुरेन्टको नामबाट सिनेमा हलको नाम पछि रञ्जना राखे । यो कामको जिम्मा परिवारले राजकृष्ण श्रेष्ठलाई दिएको थियो।

त्यो युग वेदप्रसादको युग थियो नेपालको सिभिल इन्जिनियरिङमा। उनले नै सुरु गरेको। प्रजातन्त्र आइसकेको नेपालमा घर निर्माणगर्न रोकटोक थिएन अब। तर नयाँ इन्जिनियरहरू अझै आइसकेका थिएनन्। उनको समकालीनले आँट्न सक्तैनथे चुनौतीपूर्ण काम। त्यसैले खोजी उनैको हुन्थ्यो चुनौतीपूर्ण निर्माणको लागि जसरी नेपालको पहिलो सिमेन्ट भवन सरस्वती सदन र पहिलो खानेपानी फिल्टर को । यस्तै नै भयो रञ्जना सिनेमा हल बनाउने बेलामा पनि। वेदप्रसाद त्यति बेला नेपाल सरकारको उपसचिव थिए मन्त्रिपरिषद्को - सेकेन्ड म्यान त्यहाँ। त्यति बेला श्री ५ को सरकार भनिँदैन थियो, भनिन्थ्यो नेपाल सरकार।

वेदप्रसादले कहिले सिनेमा हल डिजाइन गरेका थिएनन्। तर हिम्मत हार्ने त उनको स्वभाव नै थिएन। जे पनि गर्न सकिन्छ भन्‍ने धारणाको मान्छे उनी। अहिले भए विभिन्‍न विधाका विशेषज्ञहरू मिलेर डिजाइन गरिन्छ यस्तो थिएटर। तर वेदप्रसादले एक्लै गर्नु परेको थियो। उनले एक पटक मलाई भनेको म सम्झिरहेको छु - एकोस्टिकको चाहिँ मलाई निकै अफ्ठेरो पर्‍यो। तर त्यो राम्ररी मिलाउन नसकीकन त सिनेमा हलको मतलब पनि हुँदैन। त्यहाँ बेच्ने भनेको त दृश्य र आवाज नै हो। आवाज जसरी ठिकसँग सुनिनु पर्ने हो त्यो भएन भने त बित्यास परिहाल्थ्यो। मैले यसबारे धेरै अध्ययन गरेर त्यो मिलाए डिजाइनमा।

डोमको ढलान गरेको दिन मेरी आमालाई चटारो परेको कुरा उनले बताएकी थिइन् धेरै पछि कुनै सन्दर्भमा - आज राति म घरमा सुत्दिन भन्‍नु भयो तेरो बुबाले। किन भन्दा - रञ्जनामा नै सुत्नु पर्छ मैले यो विश्वास दिलाउन कि डोम सुरक्षित छ भनेर। त्यसपछि आमालाई हतार गरेर खाना बनाउनु परेको। अरूले छोएको खान नहुने चलन। सुत्नको लागि क्याम्पखाट खोजे कता कोचिएको। क्याम्प कटको अपभ्रंश बनेको थियो क्याम्पखाट जुन सजिलै फ्याङलाङफुङलुङ पारेर सजिलै झुन्ड्याएर लगिन्थ्यो र सजिलैसँग जोडेपछि सुत्नलाई खाट बन्थ्यो जुन मैले पनि पछिसम्म देखेको थिएँ। सबै सामान बोकाएर वहाँ हिँड्नु भयो नयाँ सडक।

 वेदप्रसाद लोहनी आफ्नी नातिनी अनुलाई लिएर रञ्जना अगाडि उभिएको ।

वेदप्रसादले यस बारे मलाइ बताएको इन्जिनियरहरूको कन्फरेन्सको बारेमा छ। जो इन्जिनियर थिए त्यति बेला तिनीहरूलाई डाकिएको थियो रञ्जनामा। उनले पहिले त तिनीहरूलाई नै चित्त बुझाउनु परेको थियो कि त्यो डोम इन्जिनियरिङको सिद्धान्त अनुसार मजबुतसँग बनेको छ भन्‍ने बारे। चार सय रुपैयाँमा एक रोपनी जग्गा पाइने बेलाको काठमाडौँमा करिब पाँच लाख लगानी गरिसकेका साहुहरू पनि के हुने हो भन्‍नेमा थिए। तर सरस्वती सदनको क्यान्टिलिभर २००२ सालमा नै बनाएर सबलाई चकित पारेका वेदप्रसादमा भरोसा थियो उनीहरूको। हामीले यसको मर्म बुझ्न त्यति बेलाको परिवेशमा यसलाई राखेर हेर्नु पर्ने हुन्छ। 

२००९ सालको अन्त्यमा डिजाइन भएको थियो रञ्जना। र, तयार भयो २०१२ सालको अन्त्यमा। राजा महेन्द्र आएका थिए रानी रत्न सहित त्यसको उद्घाटन गर्न २०१३ साल वैशाख १९ गते। वेदप्रसादको भाइ प्रसिद्ध व्यङ्ग कवि लक्ष्मण लोहनी, जसको ‘थनासिङे कान्छी’ छापिइसकेको थियो २०११ सालमा नै, उनले महेन्द्रको सम्मानमा आफैले लेखेको स्वागत गान गाएका थिए। र, पहिलो सिनेमा देखाइयो - भाइ भाइ। यो पिक्चरमा साक्खे दुई भाइ त्यति बेलाको स्टार अशोक कुमार र पछि गायनको स्टार बनेका किशोर कुमारले खेलेका थिए। यो हलमा सिनेमा हेर्न राजा महेन्द्र प्राय आउँथे। रञ्जनाको स्टेजमा कुनै समयमा भारतीय नृत्यकार गोपीकृष्णले नाच देखाएका थिए। र, त्यस्तै कुनै समयमा भारतीय सिनेमाको त्रिमूर्ति मध्येका दुई राज कपुर र देव आनन्द पनि आएका थिए।

यसरी नै एक पटक आउँदा राजा महेन्द्रलाई पुलिसले रोक्यो। घटना रमाइलो छ। केशवकृष्ण भन्छन् - राजा आउने भनेर सब तयार थियो। म सानै भए पनि त्यही थिए। भित्र राजपरिवारका अरू सदस्यहरू बसिसकेका थिए। सुरक्षाको लागि पुलिस सबैतिर तैनाथ थिए। यत्तिकैमा साइकल चढेर एउटा मानिस रञ्जनाको कम्पाउन्डभित्र छिर्‍यो। पुलिसले समाती हाल्यो - राजाको सवारीको बेला भित्र छिर्ने भनेर। हरिकृष्ण नजिकै थिए र चिनी हाले। उनले हत्तपत्त पुलिसलाई रोके - के गरेको? सरकारलाई रोकेर। भोलिपल्ट त्यो सिपाहीको एक प्रमोसन पनि भएछ। 

रञ्जना सिनेमा हल जहाँ मैले थाहा पाउने भएदेखि गन्‍नै नसकिने पटक पुगेको छु वेदप्रसादको ४२४ नम्बरको मोटर साइकलको पछाडि बसेर। त्यो अगाडिको ठूलो गोलो मोहडा, त्यो फोएर अर्थात् मूल ढोला, भित्र छिरेपछि देब्रेतिर थिएटर छिर्ने पर्दा लगाएको बन्द ठूलो ठोका जहाँ हातमा टर्च लाइट लिएर एउटा मानिस उभिरहेको हुन्थ्यो। उ हामीलाई देख्ने बित्तिकै एउटा मिठो मुस्कान दिन्थ्यो आत्मीयताको। उसलाई थाहा थियो त्यो हल वेदप्रसादले डिजाइन गरेको भनेर। त्यो फराकिलो भर्‍याङ चढेर हामी माथि उक्लिन्थ्यौ। म अलिकति दुबिधामा परेँ यहाँनिर। त्यो भरेङ अलिकति घुमेर गएको या 'डग लेग्ड' अर्थात् कुकुर खुट्टा भएको सिडीको थियो भन्‍नेमा।

माथिको लबी। अलि अगाडि गएपछि दाइने तलको जस्तै ठूलो ढोका बल्कोनी जाने। देब्रेतिर लबीको पुछारमा सिनेमा हल म्यानेजरको अफिस जहाँ मालिक पनि आएर बस्थे। सिधा अगाडि थियो ठूलो गोलो हल, माथि भव्य डोम। त्यो हलमा वार्षिक कार्यक्रम हुन्थ्यो। त्यसको दाहिने अर्थात् पश्चिमपट्टि एउटा ढोका थियो। दुई या तीन सिडी तल झरे पछि दायाँ तिर लहरै झ्याल र बायाँतिर उत्तर- दक्षिण वार लगाएको लहरै साना साना अफिस कक्षहरू। त्यो टुङ्गिन्थ्यो आखिरमा एउटा ठूलो कक्षमा गएर जुन राज कृष्ण श्रेष्ठको थियो। म राज दाइ भन्थेँ। अरू धेरैले भन्थे राज साहु। उनी स्वागत गर्थे वेदप्रसादलाई आत्मीयतापूर्वक।

मेरो ध्याउन्‍न सिनेमा हेर्ने हुन्थ्यो। राज दाइले बुझिसकेका हुन्थे र नेवारीमा आफ्नो सहायकलाई भन्थे - हलभित्र राखिदेऊ भनेर। म खुसी भएर पछि लाग्थेँ उसको। मलाई भित्र बल्कोनीको खाली भएको मध्येमा राम्रो सिटमा राखिदिन्थ्यो। चालु भइरहेको सिनेमा के थियो मलाई थाहा हुँदैन थियो। म दङ्ग परेर हेर्थेँ र मनमा सोच्थे उनीहरूको कुरा लामो होस् भनेर। जब कुरा सकिन्थ्यो मलाई लिन उ आउँथ्यो। राज दाइकहा आइपुगेपछि सोध्थे - कस्तो लाग्यो सिनेमा? स्फूर्त हाँसेर भन्थे - राम्रो लाग्यो। के राम्रो हो त्यो मलाई थाहा थिएन।

रञ्जना सिनेमा हल छैन अब। त्यसको चिनारी जोगाउन सकिन्छ कि भनेर लागी परेँ म। दाजु डा. प्रकाश चन्द्र लोहनी र मैले भेट्यो पनि त्यसको एक मालिक कालु गुरुङसँग र भन्यौ - नयाँ कम्प्लेक्समा रञ्जनाको डोमलाई मात्र डिजाइनको एउटा अङ्ग बनाएर समावेश गरौँ न। यसो भएमा वर्तमानले इतिहासलाई जोगाएको ठहरिने छ। उनीले हुन्छ पनि भने। तर भएन। २०१३ सालदेखि २०६५ साल सम्म जसले देखे त्यो कन्कृटको हल या त्यहाँ सिनेमा हेरे तिनीहरूको सम्झना पनि बिस्तारै धुमिल हुँदै गइरहेको छ। तर अझै बाँकी छ। र, रहने छ केही परसम्म। त्यसपछि सबैको लागि यो इतिहासको कथा हुनेछ । 

तर नेपालको आधुनिक आर्किटेक्चरको इतिहासमा रञ्जना बाँचेको हुनेछ। जन्म मरणको क्रमसँग अनुबन्धित सबैको अन्त्य हुनै पर्दछ। हुन्छ नै । प्रश्न समयको अन्तराल मात्र हो। मान्छे मात्र होइन कति सभ्यता जन्मे, कति मरे। कति भवन भत्के, कति बने। रञ्जनाको पनि अन्त भयो। तर हठात् भयो। जुन बेला भत्काउन सुरु गरे नयाँ मालिकहरूले म त्यहाँ आखिरी पटक पुगेँ रञ्जनाको अन्तिम भौतिक अस्तित्वको छायाङ्कन गर्न।

त्यति बेला केशव कृष्ण श्रेष्ठ रञ्जनाको माथिको अफिसमा थिए। झोछें साहुहरूको सात दाजुभाइहरू मध्येको जेठो छोरो बालकृष्णको जेठो छोरो । उनीसँग हामीले त्यही अफिसमा रञ्जनाको बारेमा कुराकानी रेकर्ड गरेका थियौ। बाल्कोनीको पश्चिमको किनारातिर भत्काउन सुरु गरेका थिए। त्यो पनि सबै खिच्यौ। र, त्यहाँ उपस्थित भएकाहरू मध्ये दुई चार जनाको धारणा पनि। नेपालमा टेलिभिजनको जन्मदाता नीर शाहले एउटा टेलिभिजन टोलीलाई पठाइदिएर सहयोग गरेका थिए। यसको लागि म पुनः धन्यवाद दिन चाहन्छु उनीलाई। तर त्यो फुटेज अहिले पाउन सकिएको छैन किनकि त्यो टेलिभिजन कम्पनी नै बन्द भइसकेको छ।

 वेदप्रसाद लोहनी नाति उत्सव र नातिनी अनुसँग ।

यसरी रञ्जना जाँदा मेरा मित्र प्राध्यापक डा. हिक्मत जोशी सँगै थिए। उनी अहिले पनि पढाइरहेका छन् स्ट्रक्चरल इन्जिनियरिङ, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगतको पुलचोक क्याम्पसमा विगत ४७ वर्षदेखि। स्ट्रक्चरल इन्जिनियरिङमा पनि उनको विशेष अध्ययनको क्षेत्र ‘शेल’ अर्थात् जस अन्तर्गतको एउटा विशेष रूप हो रञ्जनाको डोम संरचना। यस विषयमा उनका शोधपत्रहरू छापिएका छन् राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा। र, उनले विद्यार्थीहरूलाई शोधपत्रहरू लेखाएका पनि छन्। रञ्जना भत्किँदै गर्दा पनि देखेका छन्। त्यसैले उनीसँग यसबारे लामो वार्ता गरेँ मैले उनकै अफिसमा जुन रेकर्ड गरिएको छ। छलफलको त्यो भाग जुन रञ्जनासँग जोडिन आउँछ त्यसको क्रमलाई हेरौँ। 

उनी भन्छन् - हामीले जे सिकेको छौ त्यो प्रकृतिबाट नै हो र जे सामाग्री पाएका छौ संरचना बनाउने त्यो पनि प्रकृतिबाटै हो। क्यान्टिलिभर बनाउन सिक्यौ रुखको हाँगा हेरेर ग्यालिलियोको टाइममा। गुम्बज बनाउन सिक्यौ प्रकृतिले बनाएको गुफामा बस्दै आएर। हाम्रो सिक्ने क्रम अनवरत चालु छ। कुनै पनि संरचनाको निर्माणमा तिनटा कुरा आउँछ। पहिलो हो कस्तो मेटिरियल अर्थात् सामग्री प्रयोग भएको छ। दोस्रो हो कस्तो ज्योमेट्री अर्थात् ज्यामिति प्रयोग भएको छ र तेस्रो हो कस्तो सपोर्ट सिस्टम अर्थात् संरचनाको लोड र त्यसले थाम्ने लोड कसरी सन्तुलित किसिमबाट तल जगमा ल्याइएर बिसाइएको छ।

७० वर्ष अगाडि डिजाइन गरिएको रञ्जनालाई हेर्ने पनि यी तीन कुराहरू बाट नै हो। अहिले न बिल्डिङ छ, न त्यसको एनालिसिस अर्थात् विश्लेषण छ। अर्थात् लोड कसरी निकालिएको र त्यो लोड कसरी जगमा बिसाएको भन्‍ने बारे। सानै देखि त्यहाँ सिनेमा हेरेर हुर्किएको हुँदा मैले जे देखेँ र भत्काउँदाको दृश्य जे मेरो आँखामा छ र हाल नक्सा हेरेको आधारमा संरचनाबारे भन्‍नु पर्दा प्रस्ट छ रिइन्फोर्स्ड सिमेन्ट कङ्क्रिट प्रयोग भएको। यो नेपालको पहिले सिमेन्ट कङ्क्रिट सिनेमा हल हो। ज्यामितिको कुरा गर्दा डिमेन्सनको अर्थात् आकर प्रकार लम्बाई चौडाइको कुरा आउँछ। लिनियर अर्थात् एक लाइनको जस्तो बिम अर्थात् दलिन, लट्ठा। दुई डिमेन्सनल अर्थात् , लम्बाइ चौडाइ दुइटै भएको जस्तो भुईँ, भित्ता। त्यसपछि तीन डिमेन्सनल अर्थात् तीनै आयाममा काम गर्ने संरचना जस्तै शेल, डोम र गुम्बज।

यहाँनिर हो शेल र त्यसको विशेष रूप डोमको कुरा आउँछ। त्यसपछि आउँछ माथि भनिएको तेस्रो कुरा -सपोर्ट सिस्टम। यसको मतलब हो संरचनाको विभिन्‍न भागहरू एक आपसमा कसरी जोडिएका छन्। तिनीहरूको लोड कसरी ट्रान्सफर अर्थात् तल झार्दै आखिरमा जगमा ल्याएर बिसाइएको छ। लोड परेपछि त्यो डिफर्म अर्थात् त्यसको अकारमा परिवर्तन अवश्य हुन्छ। यसरी परिवर्तन हुँदा त्यसले गर्ने काम अर्थात् लोड लिन सक्ने क्षमता यथावत् राख्न सक्ने बनाउन सक्नु नै डिजाइन हो। कस्तो ज्यामिति प्रयोग गर्ने कुरामा आएपछि धेरै ठूलो आकारको हल बनाउनु पर्दा बीम राखेर गर्दा या त्यसको छानो लगाउनु पर्दा या छोप्नु पर्दा धेरै मोटो हुन्छ। त्यसैले ट्रस राखेर गरिन्छ। राणा दरबारमा राखिएका हुन्छन् काठको ट्रस जब साधरणतया १२ फिट भन्दा ठूलो बनाउनु पर्दा। त्यसलाई फल्स सिलिङले छोपिएका छन्। त्यसबाट नहुने भयो भने डोमको प्रयोग गरिन्छ।

डोमको प्रयोग भनेको ठूलो स्पान या हल छोप्न सक्ने बनाउने हो। डोमको मुख्य कुरा मोटाइ सानो हुन्छ र धेरै ठूलो ठाउँ छोप्न सक्छ। यसको कारण वक्र रेखाको संरचना हुँदा त्यसमा तीनै आयामको भार बहन क्षमता हुन्छ। कुनै पनि संरचनामा लोड परेपछि टुटेर जान नदिनको लागि तीन किसिमको आन्तरिक फोर्स उत्पन्‍न हुन्छ। खेल्ने तिनीहरूसँगै हो। गुम्बज भनेको पनि एउटा रूप हो शेलको तर यो लिनियर भयो। ढुङ्गामा गरिएको कृष्ण मन्दिरको जस्तो। डोम भनेको पनि शेलको अर्को तीन डिमेन्सनल विशेष रूप हो, अर्थात् सबैतिरको सर्फेस भएको रञ्जनाको जस्तो सिमेन्ट कन्कृटको। आधा काटिएको बिजुलीको बल्ब सम्झौँ न, यसको आकार बुझ्न जहाँ चारैतिर आर्चहरू छन्। यसलाई शेल अफ रिभोल्युसन भन्छन्। आर्चहरूको लोड हिसाब गर्न क्याल्कुलस प्रयोग गरिन्छ। त्यसपछि बल्ल डिजाइन गर्ने हो। 

हिन्दी चलचित्रका नायक  राज कपूर रञ्जना आउँदा। साथमा बायाँ राजकृष्ण श्रेष्ठ र दायाँ हरिकृष्ण श्रेष्ठ ।

डोम शेल धेरै अगाडिदेखि प्रयोग भएको भएता पनि बिसौं शताब्दीको मध्यतिरबाट यसको आधुनिक तरिकाबाट अध्ययन सुरु भएको हो। यसमा क्याल्कुलेसन गर्न अर्थात् हिसाब निकाल्न गाहारो हुन्छ। फास्ट कम्प्युटरले गर्दा अहिले अलि सजिलो भएर मात्र हो। वेदप्रसादजीले दुई वर्षको टेक्निकल शिक्षाको आधारमा यो संरचना सोच्न सक्नु माथि छलफल गरिएको तिनौटै पक्षबाट कल्पना गर्न गाहारो पर्दछ। त्यो क्याल्कुलेसन गर्न सक्नु अचम्मकै कुरा हो। त्यो डोममा माथि स्काइ लाइट पनि राख्नु भएको थियो। यसबाट देखिन्छ उहाँले स्वअध्ययनबाट प्रशस्त ज्ञान आर्जन गर्नु भएको र खार्नु भएको रहेछ। पहिले त आफूले गर्न लागेको काममा आफू विश्वस्त हुनु पर्‍यो। दोस्रो, अरूलाई विश्वास दिलाउन सक्नु पर्‍यो।

त्यसैले सरस्वती सदनको डिजाइन गरेको २००१ साल देखि रञ्जनाको डिजाइन भएको २००९ सालसम्मको यो समयमा तिनटै चुनौती थिए। अहिले त सबलाई थाहा छ सिमेन्ट कङ्क्रिट बारे। त्यति बेला त कसैलाई थाहा थिएन। उनी अगाडि भन्छन् - मैले माथि भनेजस्तै तिनौटै त्यत्तिकै चुनौती थिए। उहाँलाई सिकाउने त कोही थिएन। सबै आफैंले जान्‍नु पर्‍यो। र, कामदारहरूलाई सिकाउनु पर्‍यो र गराउन सक्नु पर्‍यो। म्याटिरिएल अर्थात् सामग्री त सिमेन्ट कङ्क्रिट भयो। तर त्यति मात्र भनेर मात्र पुग्दैन। त्यसको ग्रेडिङ, सेटिङ र क्योरिङको पूरा गहिरो ज्ञान रहेछ। ज्यामिति र सपोर्ट सिस्टमको ज्ञान उदेक लाग्दो नै छ त्यति बेलाको समयलाई विचार गर्दा। तब न उहाँले यो उदेका लाग्दो 
काम गरेर देखाउन सक्नु भयो। डोम निर्माण गर्दा फर्मा हाल्ने अर्को गाहारो काम हो। डोम धेरै अझै नबनेको एउटा कारण फार्म हाल्दाको झन्झटिलो कामले पनि हो। 

उनले बल्कोनी कुरा गर्दा मैले वेदप्रसादले मलाई धेरै अगाडि भनेको कुरो सम्झे। उनले भनेका थिए - हेर मैले त्यहाँ ‘फल्क्रम गर्डर’ कन्सेप्ट प्रयोग गरेको छु। त्यो भनेको तिमीहरूले केटाकेटीमा खेल्थ्यो नि ढिकीच्याउँ त्यही हो। मैले त्यसरी नै बल्कोनीको ब्यालेन्स मिलाएको थिएँ। अहिले आएर डा. जोशीले भने - त्यो गर्न सक्नु ठूलो कुरा हो। फल्क्रम गर्डर पनि एक किसिमको ‘ओभर ह्याङ्ड’  क्यान्टिलिभर हो। यसको सपोर्ट सिस्टम फरक हुन्छ।

डोमको लोड हिसाब गर्दा क्याल्कुलस प्रयोग गरेर गरिनेमा वेदप्रसाद क्याल्कुलस राम्रो जान्दैन थिए। यस विषयमा उनले आफ्नो नाति इन्जिनियर सागर राज पाण्डे जो अमेरिकामा हाइवे बनाउँछन् विगत ३० वर्षदेखि, उनीसँग सन् १९९९ मा लस भेगस जाँदा कुरा गरेका रहेछन्। त्यो सम्झँदै सागरले मलाई बताए त्यो कुरा - हेर बाबु, क्याल्कुलस नजानेको हुँदा मलाई धेरै दुख गर्नु परेको थियो त्यति बेला रञ्जनाको डोम डिजाइन गर्दा। सागर भन्छन् - म बुझ्न सक्छु उहाँले भनेको कुरा। क्याल्कुलस जान्‍नेकालागि पनि त्यो ठूलो आँटको काम थियो। क्याल्कुलस त हिसाब निकाल्ने माध्यम मात्र हो। परिकल्पना पो ठूलो कुरो थियो। न नजान्दा झन् लामो बाटो तय गर्नुपर्‍यो हिसाब गर्न । बुबाले रञ्जनामा गरेको काम निश्चित रूपमा इन्सपायरिङ अर्थात् प्रेरणादायी छ।

यसै मेसोमा सागरभन्दा ९ वर्ष अगाडि सन् १९७५ मा रुड्कीबाटै सिभिल इन्जिनियरिङ गरेका ज्योति लोहनी, जो अहिले इन्जिनियर भन्दा बढी व्यवस्थापन विज्ञ छन्, यसरी भन्छन् - इन्जिनियरिङबाट म पर पुगिसकेको छु अहिले। तर यति म सकिनसँग भन्‍न सक्छु कि उहाँ मार्गदर्शक हो। यो कुरा इन्जिनियरहरूले अगाडि ल्याउन हिचकिचाउनु हुँदैन। म पढ्दासम्म पनि ‘कभर्ड ड् बिम’को जानकारी मात्र हो पढाइ हुँदैन थियो। त्यो मास्टर्स लेभलको लागि राखिएको थियो। उहाँले त्यति बेला सन् १९५२ मा त्यो डिजाइन कसरी गर्न सक्नु भयो यो उदेक लाग्दो छ। क्लास रुममा जानेको थ्योरीले मात्र पनि त भएन। गरेर देखाउन सक्ने आँट र विश्वास हुनुपर्‍यो। त्यो अचम्म लाग्दो छ। 

वेदप्रसाद लोहनीले आफ्नै हातले बनाएको रञ्जना सिनेमा हालको नक्सा ।

चाँगुनारायणको नेपाल इन्जिनियरिङ कलेजमा लामो समय पढाएका आर्किटेक्ट विजय बुढाथोकीले एउटा कुराकानीमा सानोमा रञ्जनामा सिनेमा हेर्न जाँदा आफू रोमाञ्चित हुने गरेको कुरा बताए। कारण थियो भव्य बिल्डिङ, हल बाहिर प्रशस्त ठाउँ कटेर भित्र जाँदा सिँढी उक्लिँदै गर्दाको त्यो फराकिलो प्रवेश द्वार, मध्यान्तरमा बाहिर निस्कँदा सबै अटाएको तल र माथिका लबीहरू, सिनेमामा बोलेको राम्ररी सबैतिर बुझिने र भित्र छिर्दा आँखामा लाइट नपर्ने। म आफै आर्किटेक्चर पढेर आइसकेपछि मात्र मैले बुझें यसको रहस्य।

बिल्डिङ भव्य भएको ‘आर्ट डेको’ अर्थात् आर्किटेक्चरको प्राचीन र आधुनिक मिसाएर जुन उन्‍नत स्टाइल या शैली देखा पर्‍यो पहिलो विश्व युद्धको समाप्तिपछि युरोपमा तथा अमेरिकामा त्यसको परिमार्जित स्वरूपको प्रयोग भएको रहेछ। आवाज राम्रो भएको एकोस्टिकको राम्रो ज्ञान र डिजाइन गर्दा त्यसको हेक्का भएर हो। भित्रबाहिर गर्दा आँखामा लाइट नपर्ने कारण पनि बिल्डिङ डिजाइन गर्दा त्यसको हेक्का राखेर गरेकोले हो। ७० वर्ष अगाडिको नेपालमा यी सबै कुरालाई ध्यानमा राखेर दुई वर्षको टेक्निकल शिक्षा लिएको मानिसले त्यस्तो सिनेमा हलको निर्माण गर्न सक्नु पत्याउनै नसकिने कुरा हो। वेदप्रसाद लोहनी निश्चित रूपमा ठूलो क्षमतावान् र सम्मानयोग्य अग्रज हो हाम्रो। 

राज्य नै आतङ्ककारी भएर भत्काइदियो मेरो घरको अगाडिको भाग २०७० सालमा सडक विस्तारको नाममा। यो लामो कथा छ। सरकार प्रमुखदेखि मुख्य सचिव र सम्बन्धित सबै सचिवहरूलाई चिठ्ठी लेखेर, भेटेर गुहारे मैले। सँगैको घरमा चाहिँ कभर्ड फुटपाथ दिने, मलाई भने किन नदिने भनेर? ठीक हो भने। तर लिखतमा जवाफ कसैले दिएनन्। सडकको  दुवैतिर सशस्त्र पुलिस राखेर नियतवश नै भत्काए। भत्काइदिएको घरमा नयाँ लट्ठा बनाउनु पर्दा एक सक्षम स्टक्चरल इन्जिनियर खोजिरहेको बेला मैले मनोहर राजभण्डारीलाई भेटें पहिलो पल्ट। समस्या बताएँ। वेदप्रसाद लोहनीको छोरा भन्‍ने थाहा पाउने बित्तिकै उहाँ तुरुन्त हेर्न जान तयार हुनु भयो। त्यसपछि पुरानो सिमेन्ट कङ्क्रिटको लट्ठाको जगसम्म खन्‍न लगाउनु भयो र बूढो मान्छे आफैंले हेर्नु भयो। नक्सा पनि बनाइदिनु भयो। आफ्नो व्यावसायिक फिस मैले अनुरोध गर्दा पनि लिन मान्‍नु भएन। उहाँले मलाई त्यति बेला भन्‍नु भएको थियो - वेदप्रसाद लोहनी जस्तो मान्छेको कामसँग जोडिन पाउनु मेरो अहोभाग्य हो। मैले कसरी पैसा लिने?

शान्त र शालीन छन् मनोहर राजभण्डारी। पछि मैले थाहा पाएँ उहाँ दक्षिण एसियाली क्षेत्रमा चिनिएको नाम हो। प्रशस्त काम गरेका इन्जिनियरमा उनी एक हुन् नेपालको। उनले विदेशमा पनि अन्तर्राष्ट्रिय परामर्शदाता भएर काम गरेका छन्। भूकम्प निरोधक संरचनाबारे उनले जापानमा गएर विशिष्ट अध्ययन पनि गरेका छन्। २०४५ सालमा नेपालमा गएको भुईँचालोबाट क्षतिग्रस्त भएपछि, मूलतः पूर्वी नेपाल, उनले स्कुल बिल्डिङ डिजाइन गरेका थिए विश्व बैकले रकम जुटाएको परियोजनाको लागि। भारतमा र बङ्गलादेशमामा विपत् हुँदा अनेक इन्जिनियर आ-आफ्नो डिजाइन लिएर पुगे। नेपालको लागि उनले गरेको डिजाइन नै उत्तम ठहरायो विपत् व्यवस्थापन गर्दा विश्व बैकले भारत र बङ्गलादेशमा पनि। त्यसैले ‘राजभण्डारी डिजाइन’ नै प्रयोग गरिएको थियो। रञ्जना बारे उनको राय मैले जान्‍न चाहँदा उनले भने - उहाँ त एकदम आदरणीय व्यक्तित्व हो, हामी इन्जिनियरले उहाँको कामबाट सिक्ने कुरा सिक्ने हो, रञ्जनाबाट पनि। रिइन्फोर्सड् सिमेन्ट कन्कृटको त पायोनियर हो हाम्रो नेपालको।

वेदप्रसाद लोहनीले आफ्नै हातले बनाएको रञ्जना सिनेमा हाल भित्रको बाल्कोनी को नक्सा। उनको आफ्नै हस्ताक्षरमा।

उनले अरू भने - तपाइले नौ वर्ष अगाडि मलाई भेट्ने बित्तिकै म गएको त्यो लट्ठामा उहाँले कसरी गर्नु भएको छ भनेर हेर्न हो। एन्ड कलम अर्थात् आखिरी लट्ठामा लोड एकनास हुँदैन। कम हुन्छ। यसलाई ‘एक्सेन्ट्रिक’ भनिन्छ। लोड मिलाउनु पर्दछ सेन्टर अफ ग्राभिटीसँग बेलेन्स अर्थात् सन्तुलन गरेर। एक्सेन्ट्रिक जग नगरीकन आखिरी लट्ठा र त्यसै सङ्गैको लट्ठालाई संयुक्त रूपमा तल जोडेर लोडको सन्तुलन मिलाउनु भएको रहेछ। धेरै इन्जिनियरले यसको हेक्का नै राख्दैनन्। कतिलाई थाहा नै छैन। मैले कतिलाई यो कुरा सिकाइनै रहेको छु। उहाँले त्यो मिलाएर डिजाइन गर्नु भएको देख्दा मलाई झन् खुसी र श्रद्धा लाग्यो उहाँप्रति। सरस्वती सदनको क्यान्टिलिभर उहाँले गरेको। रञ्जनाको डोमभन्दा पहिले त वहाँले सरस्वती सदनमा पनि गर्नु भएको छ नि - रिब्ड डोम। उहाँले सन् १९४४ मा गरेको, मैले त्यस्तै नै गरेको हो १९९८ मा लुम्बिनीमा जर्मन स्तूपमा। उहाँ हामी इन्जिनियरको ‘इन्सपिरेसन’ हो वास्तवमा। हामी त कसैलाई सम्मान गर्नै सक्दैनौ नि !

मनोहर राजभण्डारीको पहिलो डिजाइन थियो जनकपुर चुरोट कारखानाको भवन। उनले यो काम इन्जिनियर शङ्कर नाथ रिमालको प्रशिक्षार्थी भएर गरेका थिए। नेपालको सिभिल इन्जिनियरिङमा रिमालले जत्तिको काम सायद अरू कसैले गरेको छैन होला। वेदप्रसाद लोहनीले सुरु गरको युगलाई ‘उन्‍नयनको युग’ मा पुर्‍याउने श्रेय उनीलाई जान्छ। उनी इन्जिनियर हुन्। अर्किटेक्ट हुन्। र, संस्कृतिविद् पनि। उनले गरेर देखाएको उपलब्धि धेरै महत्त्वपूर्ण छ। हालै श्री यन्त्रबारे किताप लेखेका छन् । मैले पढ्न त पाएको छैन। तर त्यसबारेको चर्चा पत्रपत्रिकामा पढेपछि उनीलाई फोन गरेको थिए। वेदप्रसाद बारे पनि सोधेको थिए। उनले भने - उहाँ रिइन्फोर्सड् सिमेन्ट कङ्क्रिटको पायोनियर नै हो नि नेपालमा।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x