विचार

हामीलाई सम्मानपूर्वक बाँच्‍न देऊ

हिरादेबी वाइबा |
असार १६, २०७९ बिहिवार ८:२५ बजे

असार चार गतेको शनिबार । माइतीघर मण्डलको तातो सडकमा पलेँटी कसी चर्को घामको ताप शिरमा बोकेर सुनिता लामा आफ्नो कुरा पोखिरहेकी थिइन् । आजाद मोर्चाको आयोजनामा भइरहेको सडक बहसमा बोलिरहेकी सुनिता पारलैङ्गिक व्यक्ति र सेक्स वर्करहरूमाथि हुने हिंसाविरुद्ध आवाज बुलन्द गरिरहेकी थिइन् । 

लामो समयदेखि सुनिता पारलैङ्गिक व्यक्ति र सेक्स वर्करहरूको हितमा आवाज उठाउँदै विभिन्न आन्दोलनमा सक्रिय भइरहेकी छिन् । यद्यपि यसरी सार्वजनिक ठाउँहरूमा आएर आफ्नो कुरा राख्न सक्ने हिम्मत जुटाउनुपूर्वक सुनिताले झेल्नुपरेको हिंसा, अवहेलना र उत्पीडनको फेरिहस्त सकसपूर्ण छ ।


मकवानपुर जिल्लाको मनहरीमा सुनिताको जन्म भएको हो । पाँचजना दाजुभाइमध्ये उनी साइँलो छोरा थिए । सुनिता अर्थात् दिनेशकुमार थिङ । सुनिताले आफ्नो पहिचान स्वयं निर्धारण गर्नुअघि उनलाई परिवार र समाजले दिएको चिनारी थियो, दिनेशकुमार थिङ । 

निम्न वर्गीय परिवारमा जन्मिएकी सुनिताले छिचोलेर आएका अप्ठ्यारा पहाडहरू कहालीलाग्दा छन् । यद्यपि तिनै पहाडहरू उक्लेपछि त हो, उनले आफ्नो उज्यालो भेट्टाएको । आफैं भएर बाँचेको । आफ्नो बाटो पहिल्याएको ।

सुनितालाई आफू अलिक बुझ्ने भएदेखि आफू फरक छु भन्ने लाग्थ्यो । सुनिताले औपचारिक शिक्षाको पहिलो खुड्किला मात्रै टेक्ने अवस्था रह्यो । यसको कारक परिवारको कमजोर आर्थिक अवस्था मात्रै नभएर उतिबेला शिक्षाको महत्त्व बुझ्न नसक्ने अभिभावकहरूको चेतनालाई पनि उनी मान्छिन् । उनी सानै हुँदा आमाले छोडेर अन्तै गइन् । आमा कस्ती थिइन् भन्ने पनि सुनितालाई सम्झना छैन । उनले होस् सम्हाल्दादेखि उनी कान्छी आमा र बुवाको संरक्षणमा हुर्किइन् । भर्खरै प्राथमिक तह मात्रै टेकेकी सुनिताको किताब एकदिन विद्यालय जान ठीक्क परेको बेला बुवाले खोसेर जलाइदिए । उनको औपचारिक सिकाइ र शिक्षा रोकियो । सपनाहरूको उडान भर्ने कलिलो उमेरमा भेटेको आधारशिलामा तुसारापात भयो । कल्पनाको उडान भर्ने पखेटाहरूमा लगाम लाग्यो । 

पढेर केही हुन्न, काम गरे पैसा कमाइन्छ भन्ने बुबाले, त्यस लगत्तैको एकदिन उनलाई गाउँले मान्छेको पछि लगाएर काठमाडौंको गाडी चढाइदिए । यो सफर चञ्चले उमेरको रहर थिएन । यो सफर सुनिताले चाहेको स्वर्णिम समयको सुरुवात थिएन । यो सफर सुनिताले हिँड्ने गोरेटोहरू भेट्न भौँतारिनुपर्ने सुरुवाती बिन्दु थियो ।

काठमाडौं आएर उनले चिया÷खाजा पसलमा भाँडा माझ्ने काम गरिन् । अभाव, बाध्यता र उपयुक्त सल्लाह दिने अभिभावकत्वको अभावमा उनी बाल श्रमिक बन्नुपर्यो । कलिलो र अबोध उमेरमा ज्यालादारी गर्नुपर्यो । उनी काठमाडौं आएको तीन महिना जति पछि उनको सानिमाको साथीले उनको अवस्था पत्ता लगाइन् । उनै सानिमाले यहाँबाट निकालेर काभ्रे लिएर गइन् । 

सुनिता सानिमाको साथीको पछि लागेर काभ्रे पुगिन् । काभ्रे गएर उनी पुनः विद्यालय भर्ना भइन् । तर उनलाई विद्यालयमा भएको दुव्र्यवहार र हिंसाले विद्यालय जान निरुत्साहित गरिरह्यो । उनी सम्झिन्छिन्, ‘एक दिन म ट्वाइलेट गएको बेलामा साथीहरूले, तँ त केटीको ट्वाइलेट जानुपर्ने किन यहाँ आको ! यसको पेन्ट खोल् त हेरौं !’ भन्दै जबर्जस्ती लुगा खोलेर फ्यालिदिए । 

शिक्षकले, ‘तँ, केटा होस् कि केटी ?’ भनेर अपमान गरेको । संकुचित सामाजिक मनोविज्ञान र त्यसैले निर्माण गरेको अभ्यासले सुनितालाई हतोत्साहित मात्रै गरेन, लगातार लखेटिरह्यो । अन्ततः उनले विद्यालय छोडिदिइन् । 

जिन्दगीका अनेकन् घुम्तीहरूले उनलाई कहिले यता कहिले उता हुत्याइरह्यो । 

सोह्र–सत्र वर्षको भएपछि उनी पुनः काठमाडौं आइन् । यो पटक उनले काठमाडौँमा आफैंलाई टिकाइरहन गाडीहरूमा सहचालक भएर काम गरिन् । सहचालक भएर काम गर्दैगर्दा पनि उनले निरन्तर अपमान र घृणाको सामना गरिरहनुपर्यो । संवेदनशील अंगहरूमा हिंसायुक्त छुवाइ, तुच्छ गाली प्रयोग, घृणायुक्त सम्बोधनले सुनितालाई पछ्याइरह्यो । तर पनि सुनितासँग यी सबैविरुद्ध जुधेर जिन्दगी बाँच्नु र आफ्नो अस्तित्व दाबी गरिरहनुको विकल्प थिएन । 

उनी तेइस–चौबीस वर्षको हुँदा उनका बुवा बिरामी परे । उनलाई घरमा बोलाइयो । त्यतिन्जेल परिवार पनि मकवानपुरको मनहरी छोडेर सर्लाही बसाइँ सरिसकेको थियो । उनी बुवा भेट्न गइन् । घर पुगेपछि उनलाई विवाह गर्नुपर्ने दबाब दिइयो । 

बिरामी बाबू र परिवारको निरन्तर दबाबपछि दिनेश (सुनिता) को मागी विवाह भयो । हेट्रो महिलासँग । विवाहपश्चात् दिनेशको दुई छोराहरू जन्मिए । उनी यही बीच परिवार र सन्तानको आर्थिक–सामाजिक जिम्मेवारी बोक्नुपर्ने दायित्वसहित वैदेशिक रोजगारीका लागि मलेसिया गए । न्यूनतम पारिश्रमिक र अधिकतम कामको खटाइले पेलिएर आजित भइसकेका उनी वैदेशिक रोजगारीमा गएको छ महिना नबित्दै नेपाल फर्किन बाध्य भए । 

वैदेशिक रोजगारीबाट फर्केका दिनेशलाई देशमै केही गर्नुपर्छ भन्ने कुराले उत्प्रेरित गरिरहन्थ्यो । कहिलेकाहीँ दिक्क भएको बेला उनी पशुपति क्षेत्रको जङ्गलतिर हावा खान–डुल्न निस्किन्थे । यही क्रममा एकदिन उनको केही साथीहरूसँग भेट भयो । 

साथीहरूले एलजीबीटीआईक्युको कुरा गर्थे । पहिला त उनलाई के कुरा भइरहेको थियो भन्ने बुझ्नै समय लाग्यो । तर बिस्तारै रत्नपार्कतिर दाइहरू भेट्दा, चिया अड्डातिर घुलमिल हुँदै गएपछि उनलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूबारे अझै जानकारी हुँदै गयो । हरेक पटक साथीहरूको कुराकानीमा उनले अब आफैंलाई पाउँथे । अझै राम्रोसँग आफैँलाई भेटेको जस्तो, पहिल्याएको जस्तो महसुस गर्थे । साथीहरूको संगतले उनलाई सहज बनाउँदै लग्यो र उनी सुनिलबाबु पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको हकहितको वकालत गर्न स्थापना गरिएको निलहिरा समाज (ब्ल्यु डाइमन्ड सोसाइटी) सम्म पुगे । सन् २००४ मा त्यहाँ पुगेपछि दिनेशले अझै धेरै कुराहरू सिक्ने, बुझ्ने मौका पाए । सूचना र प्रविधिको सीमिततामाझ आफ्नो पहुँचले नभ्याएर उनलाई आफूले यसबारे पहिल्यै बुझ्न नपाएको मात्रै रहेछु भन्ने लाग्यो । आफू अन्य हेट्रो पुरुषहरू भन्दा फरक भएको थाहा भएको तर त्यो ठ्याक्कै के थियो भन्ने थाहा भएको थिएन । अहिलेजस्तो स्रोत–साधनहरूको उपलब्धता भएको भए गुगल, युटुब हेरेरै आफ्नो यौनिकताबारे धेरै कुराहरू जान्न सकिने रहेछ भन्ने उनलाई लाग्छ ।

वयस्क अवस्थामा आइपुगेर बल्ल आफ्नो यौनिक तथा लैंगिक पहिचानमा स्पष्ट भएका दिनेशको अघि अब आफ्नो कुरा श्रीमती र परिवारलाई भन्नुपर्ने चुनौती थियो । विवाह गरेर ल्याइसकेको श्रीमती र हुर्कंदै गरेका छोराहरू उनको जिम्मेवारीमा थिए । निकै उकुसमुकुस र छटपटीलाई बिसाउने हिम्मत गरेर उनले एक दिन आफ्नो श्रीमतीलाई आफू पार लैंगिक महिला भएको कुरा सुनाए । श्रीमतीले सामान्य रूपमा लिइन् । उनले श्रीमतीलाई पनि सँगै बसौं म सम्पूर्ण सामाजिक जिम्मेवारी निर्वाह गर्छु भनेर बाचा गरे । 

जीवनले सामान्य लय समातिरहेको थियो । सुनिताले ब्ल्यु डाइमन्डसँगै सम्बद्ध भएर काम गर्न थालेकी थिइन् । यही बीचमा अचानक, एक दिन श्रीमतीले उनलाई छोडेर अर्कै पुरुषसँग विवाह गरेर गइन् । त्यसपछि साना छोराहरू एक्लै हुर्काउने जिम्मेवारी सुनिताकै काँधमा आइपर्यो । फरक पहिचान भएकै कारण काममा भोग्नुपरेको असहजता, काठमाडौंमा टिक्नै मुस्किल पर्ने आय आर्जन, लामो समयसँगै हिँडेको सहयात्रीसँगको बिछोडले सुनिताको जीवनमा अर्को अत्यास सिर्जना गर्यो । त्यही बेलादेखि नै हो, उनले सबै खालका कामहरू अपनाइन् । काठमाडौंका बसाइँ, परिवार–आफन्तसँगको दूरी, आर्थिक अभाव, कमजोर सामाजिक पुँजी बीचमा छोराहरूको पढाइ खर्च धान्नै धौ–धौ परेपछि उनी सेक्स वर्करको रूपमा काम गर्न बाध्य भएको बताउँछिन् ।

त्यस बेलादेखि आजसम्म सुनिताले नगरेको केही काम छैन । पार्लरको कामदेखि भित्तामा रङ्ग लगाउनेसम्मको काम सुनितालाई आउँछ । ठट्यौलीपारामा सुनिताले आफूलाई सीपहरू मात्रै नभएर उस्तै परे बाझ्न पनि आउने कुरा भनिन् ।

अहिले सुनिताका छोराहरू सत्र र पन्ध्र वर्षका भएका छन् । उनीहरू कक्षा आठ र कक्षा नौमा पढ्छन् । आफूले बच्चाबेलादेखि नै भोगेको बुबाको हिंसात्मक व्यवहारबाट सुनिताले आफू कहिल्यै बुवा जस्तो हँुदिन भनेर प्रण गरेकी थिइन् । उनी छोराहरूको विद्यालयमा हुने अभिभावक छलफलहरूमा सहभागी हुन्छिन् । छोराहरूलाई समय दिन्छिन् । उनीहरूको विद्यालयको कामहरू हेर्छिन् । उनले आफ्नो छोराहरूलाई सहज वातावरणमा हुर्किन सक्दो प्रयत्न गरिरहेकी छिन् । दुवै छोराहरूले सुनितालाई ‘ममी’ भनेर सम्बोधन गर्छन् । उनीहरू दुबैलाई सुनिताले आफ्नो पार लैंगिक महिला पहिचानबारे बुझाएकी छिन् । छोराहरूले पनि यसलाई स्वीकार गरिसकेका छन् । 

सुनितालाई आफूले पढ्न नपाएको भए पनि छोराहरूलाई आफ्नो सामर्थ्यले भ्याएसम्म पढाउने मन छ । शिक्षाको उच्चतम खुड्किला पार गराउने सपना छ । 
जिन्दगीको यो अध्यायसम्म आइपुग्दा सुनिताले शिक्षाको महत्त्व र तागत बलियो ढङ्गले बुझेकी छिन् । कमसेकम आफ्नो कुरा भन्न, आवाजबाहिर ल्याउन पनि शिक्षाले मानिसलाई बाटो देखाउँदो रहेछ भन्ने कुरा समयले उनलाई सिकाएको छ । उनको प्रयत्न छ, आफ्नो सिकाइलाई उनी व्यावहारिक रूपमा छोराहरूमा पुस्तान्तरण गर्न सकून् । सबल र सक्षम बनाउन सकून् । 

सडकमा उभिएर, आम मान्छेको गाली, घृणा, प्रहरी प्रशासनको हेपाइ–ज्यादती, मानसिक यातना, छिःछि; दुर–दुर सहेरै भए पनि उनी छोराहरूलाई उनीहरूको सपनाको धावन मार्गमा दौड्ने हरसम्भव कामहरू गर्ने दृढ अठोट राख्छिन् ।

छुट्ने बेला सुनिताले भनिन्, ‘सामाजिक लान्छना, परिवारको तिरस्कार, कानुनको संकुचित दायराले खुम्च्याएको आफ्नो पहिचान लिएर, लड्दै–जुध्दै भए पनि जिन्दगीको रथ हाँक्ने हिम्मत गरिरहेकाहरूलाई, सम्मानपूर्र्वक बाँच्न देऊ !’

(यो फिचर स्टोरी भोइसेस अफ विमिन मिडियाले चलाइरहेको अभियान ‘सी इज द स्टोरी’को शृङ्खलाबद्ध प्रस्तुतिका लागि लेखिएको हो । ‘सी इज द स्टोरी’ क्यामपेनले असाधारण र सङ्घर्षपूर्ण जीवन हिम्मत र दृढ अठोटसहित बाँचिरहने, आफ्नो अस्तित्व दाबी गरिरहन हिम्मत दिने महिलाहरूको कथा अघि ल्याउने उद्देश्य राखेको छ ।)
 


Author

थप समाचार
x