विचार

संसद् दिवस

राजा महेन्द्रले किन खोजे मध्यरातको बाह्र ?

हरिबहादुर थापा |
असार १६, २०७९ १६:१७ बजे

बिहीबार संसद् दिवस मनाएर फर्किरहेका पूर्वसांसद रघुजी पन्त आफैँ आश्चर्यमा परे, मैले संसद्को पहिलो बैठक ‘मध्यरात’मा सुरु भएको तथ्य देखाउँदा । 
‘हो र ?’ आश्चर्यभाव व्यक्त गर्दै उनले भने, ‘यो त खोजीकै विषय रहेछ । त्यसो त, कोतपर्वदेखि प्रतिनिधि सभा विघटनसम्म पनि मध्यरातमा भएकै हुन् । संसद्को पहिलो बैठक मध्यरातमा बोलाइएको हो भने त्यो ऐतिहासिक घटनाका रूपमा लिनुपर्छ ।’

अर्थात्, पन्त जसरी धेरैलाई संसद्को पहिलो ऐतिहासिक बैठक नै ‘मध्यरात’मा बोलाइएको र बसालिएको थियो भन्ने हेक्का छैन ।


लामो समय संसदीय रिपोर्टिङ गरिरहँदा पहिलो बैठक के भएछ भनेर खोज्ने जाँगर मैले पनि गरेको थिइनँ । संसदीय संवाददाता भएका नाताले नौ वर्षअघि त्यो दिनको रेकर्ड हेर्ने रहर जाग्यो— संसद्को पहिलो बैठकमा के भएछ ? 
त्यसपछि संसदीय खातापाता हेर्ने संसदीय अधिकारीहरूसँग प्रक्रिया बुझ्दै ढड्डा खोतल्न पुगेको थिएँ । तर, पुराना संसदीय कारबाहीको रेकर्ड हेर्ने र खोज्ने रहर कसैले गरेका रहेनछन् ।

संसद् सचिवालयका एक अधिकारीसँग भने, ‘एकचोटि पुराना भर्वेटियम फाइल कसरी राखिएको रहेछ र पहिलो बैठक कसरी भएछ, हेर्नुपर्‍यो ।’
ती अधिकारीले भने, ‘धुलैधुलोले भरिएको होला, किन रहर गर्नुभएको हो ?’ 

उल्टो प्रश्न गरे पनि रेकर्ड हेर्न रोकावट गरेनन् । उक्त कोठामा प्रवेश गर्नुअघि रजिस्ट्रीमा नाम दर्ता गर्नुपर्ने प्रावधान रहेछ । उनले रजिस्ट्रीमा नाम लखाउँदै, हस्ताक्षर गराउँदै आफैँ उक्त कोठाको ताला खोल्दै ढड्डा केलाउन सहयोग गरे । संसद् सचिवालयको ताला मारिएको भित्री कोठामा संसदीय–कारबाहीे (राष्ट्रिय पञ्चायत) समेतका फेहरिस्त उतारिएको ढड्डाको चाङबाट ‘ऐतिहासिक घटना’क्रम भएका दिन फाइल खोज्दै फोटोकपी गर्न उनै अधिकारीले सहयोग गरे ।

२०१६ असार १६ को पहिलो दिनको बैठकको संक्षिप्त रिपोर्टमा आँखा पर्‍यो । संसदीय रेकर्ड उतारिएको पहिलो पानामा उल्लिखित वाक्य रहेछ– ‘आषाढ १६, २०१६, मध्यरात्रिमा प्रतिनिधिसभाका सबै सदस्य एकत्रित भएपछि सचिवद्वारा श्री ५ महाराजाधिराजका प्रमुख सचिवबाट प्राप्त निम्नलिखित पत्र प्रतिनिधिसभाकासमक्ष पढेर सुनाइयो । गिरिप्रसाद बुढाथोकीलाई प्रतिनिधिसभाको काम चालु गर्न कार्यकारी अध्यक्ष मनोनित गरिबक्सेका छौं ।’

संसद्को पहिलो बैठक, त्यो पनि ‘मध्यरात्रि’मा ? स्वाभाविक आश्चर्यमा पार्‍यो । त्यसरी मध्यरात्रिमा बोलाउनुको कारण के होला ? कुनै राजनीतिक गडबडी थियो कि ? त्यसरी मध्यरात्रिमा बैठक बोलाउँदा सांसदहरूबाट आपत्ति आयो कि ? यस्ता अनगन्ती प्रश्न उब्जियो नै ।

पहिलो बैठकमा नेताहरूले बोलेको रेकर्डमा देखिएन । संसदीय रेकर्डअनुसार, संसद्का सचिवले जेष्ठ सदस्य गिरिप्रसाद बुढाथोकीलाई शपथ खुवाएको देखिन्छ । कार्यकारी अध्यक्षको आदेशानुसार सदस्यहरूलाई शपथ ग्रहण गराइएको थियो । पहिलो बैठकमा १ सय ६ मध्ये १ सय ५ सदस्य उपस्थित थिए, कतिपय कांग्रेस नेताहरू दुई ठाउँमा विजयी भएका थिए । त्यसपछि सचिवद्वारा ‘प्रतिनिधिसभाको सभामुख निर्वाचन आषाढ १८ मा गर्नु भन्ने हुकुम भएको’ उल्लेख छ । बैठक राति २ः१० मा सकिएको थियो । सभामुख चयन गर्न दोस्रो बैठक दुई दिनपछि दिउँसो ३ बजेका निम्ति बोलाइएको थियो ।

बुढाथोकीले ‘श्री ५ महाराजाधिराजप्रति कृतज्ञता प्रकट गर्दै अध्यक्षता गर्नुभएको’ उल्लेख छ । त्यो पहिलो बैठकका खास अजेन्डा पनि देखिँदैनन् । पहिलो बैठकमा दरबारको सूचना पढेर सुनाउनु, सांसदहरूको शपथ र सभामुखको चुनावको मिति घोषणामा मात्रै सीमित भएको देखिन्छ । त्यो दिन मध्यरातमा त्यसरी बैठक बोलाउनुको कारण जनप्रतिनिधिहरूले खोजेको पाइएन । दरबारले बोलाएकै समयमा मध्यरातमा लुरुलुरु संसद् गएको देखिन्छ ।

०००
उतिखेर कुनै राजनीतिक गडबडी थिएन, कांग्रेस दुई तिहाइमा थियो । सरकारकै नेतृत्वमा सरकार बनिसकेको थियो । दरबारबाट संसद् अधिवेशन आह्वानसम्बन्धी सूचनामै मध्यरातको ११ः४५ बजे तोकेरै बोलाएको राजपत्रमै भेटियो । संसद् सचिवालयले अघिल्लो दिन जारी गरेको सूचनामा उल्लेख छ, ‘श्री ५ बाट प्रतिनिधि–सभालाई सम्वत् २०१६ साल, असार १६ गते रोज ३ मा रातको ११.४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिबक्सेकोले, सर्वसाधारणकोे जानकारीका लागि निमित्त यो सूचना प्रकाशित गरिएको छ ।’

‘किन मध्यरातमा बैठक बोलाइएछ त ?’ त्यो रेकर्डसहित कांग्रेसका तत्कालीन मुख्य सचेतक विश्वबन्धु थापासँग बुझ्न उनकै निवासमा पुगेँ । उनले मध्यरातकालीन संसद्को घटनाक्रम बिर्सिसकेका रहेछन् । संसदीय रेकर्ड देखाएपछि त्यसरी डाकिनुमा अनेकन् कारण भएको हुन सक्ने बताए । थापा कांग्रेसका तत्कालीन नेता विश्वेश्वरप्रसाद कोइरालाका अति विश्वासपात्र थिए । 

हुन पनि प्रतिनिधि सभा चुनाव सकिएको लामो समयसम्म दरबारले प्रधानमन्त्रीका निम्ति आह्वान नै चाहेन । कांग्रेसले संसदीय दलको चुनावमा विश्वेश्वरप्रसाद कोइराला चुनिसकेपछि प्रधानमन्त्रीमा नियुक्त गर्न राजा महेन्द्रले आलटाल गरिरहेका थिए, कांग्रेसभित्र खेल्न सकिन्छ भन्ने रणनीतिसहित । त्यस्ता दृश्यले कांग्रेस दरबारसँग सशंकित बनिसकेको थियो । 

थापाले यो पंक्तिकारसँग भनेका थिए, ‘राजाले बीपी कोइराला प्रधानमन्त्री भएमा आफू नाम मात्रको राजामा सीमित हुुन्छु भन्ने अनुमान लगाएका थिए । उनमा नाम मात्रको राजा हुने इच्छा थिएन । राजा महेन्द्रलाई बीपीभन्दा सुवर्ण शमशेर नै चाहिएको थियो । महेन्द्र आफूले भनेको मान्ने व्यक्ति प्रधानमन्त्री हुनुपर्छ भन्नेमा थिए । त्यसले समस्यामा पार्न खोजिएको हुन सक्छ ।’

०००
अझ कतिपय सांसदहरू पहिलो चोटि काठमाडौंमा पाइला टेकेका थिए । उतिखेर काठमाडाैँ आवतजावत गर्नु सजिलो थिएन । दरबारले जनप्रतिनिधि भनेका केही पनि होइनन्, ‘सबै कुरा’ दरबार हो भन्ने भान दिलाउन मध्यरात रोजेको या खोजेको हुन सक्छ । त्यसो त, दरबार ‘साइत’को खोजमा रहन्छ नै । संसद्को हकमा भने ‘अशुभ–साइत’ खोज्दै मंगलबारको मध्यरातमा बोलाइएको हुन सक्छ । रातको ११ः४५ बजे बोलाइएको बैठक सुरु हुँदा १२ बजेको थियो । ‘दरबारबाटै मध्यरातका निम्ति बैठक आह्वान भएको हो, हाम्रा कारणले होइन । पहिलो बैठक खराब बेलामा पारौं भन्ने उसको नियत हुनसक्छ’ थापाले भनेका थिए, ‘तर हामीले नाइँ या हुँदैन भनेनौं । अझ त्यतिबेला त्यसलाई त्यति महत्व पनि दिइएन ।’

त्यतिखेर कस्तो थियो काठमाडौं ? मध्यरातमा हिँड्न सकिने अवस्था थियो त ? थापाको स्मरणमा, ‘सिंहदरबारका वरिपरि स्याल कराउने फाँट थिए । रातको समयमा सिंहदरबार पुग्नु र घर फर्किनु सकस हुन्थ्यो । ट्याक्सीको चलन त खासै थिएन भने सांसदहरूसँग गाडी हुने कुरै भएन । सवारी साधन पाउनु निकै गाह्रो थियो । एकाध हुनेखानेबाहेक सबैले पैदल नै हिँड्नुपथ्र्याे ।’

संसद्कै रेकर्डमा उल्लिखित तथ्यांक हेर्दा पनि उतिखेर काठमाडौंमा सवारी साधन नगन्य देखिन्छ । पहिलो संसदीय बैठक भएको एक वर्षपछि सांसदले मन्त्रीसँग प्रश्न गरेका रहेछन्, ‘काठमाडौंमा मोटर, मोटरसाइकल, जिप, लहरी, बस, रिक्सा, साइकल कति छन् ?’

उक्त प्रश्नको जवाफमा मन्त्रीले उपलब्ध गराएको तथ्यांक हेर्दा सरकारी र निजी दुवै गरी ७१३ कार, २२० जीप, १२३ बस, २६७ लरी, मोटर साइकल १२०, सन साइकल ४१३, रिक्सा १००६ थिए । सांसदहरूसँग गाडी हुने सवाल रहेन ।

०००
संसद् सक्रिय या संवैधानिक राजतन्त्र रहँदासम्म संसदीय व्यवस्था बलियो पार्ने होइन कि कसरी सिध्याउने भन्ने रणनीति अपनायो, संसदीय इतिहास केलाउँदा त्यस्ता तथ्य अनगन्ती भेटिन्छन् नै । अनि संसदीय व्यवस्थाकै हिमायतीहरू पनि संसदीय कर्मप्रति बफादार बनेको पाइँदैन ।

आज असार १६ मा संसद्को ६४ औँ दिवस मनाइरहँदा त्यो ऐतिहासिक दिन र त्यसयताका संसदीय अभ्यासबारे एकछिन घोत्लिए हुने थियो । हुन त, संसद् आफैँले संसद् दिवस मनाएन । पूर्वसांसद क्लबले मात्रै ‘संसद् दिवस’को चासो लिएको छ । कम्तीमा संसदीय व्यवस्था दर्बिलो पार्न कसले भूमिका खेले ? को र कस्ता पात्र व्यवस्था सिध्याउन लागिपरे ? व्यवस्थालाई दोष दिँदै कति पात्रले आफ्नो कमजोर र खराब कर्म ढाकछोप गरे ? दरबारको भूमिका कस्तो रह्यो ?
संसद्भित्रै कम्तीमा यी र यस्ता विषयमा छलफल हुनुपर्ने हो । ‘संसद्’ शब्दको अघिल्तिर ‘व्यवस्थापिका’ शब्द थपेर व्यवस्थाविरुद्ध लागिपरेका पात्रहरुको संसद्मा अगुवाइ र बहुमत छ । यस्तोमा संसद्वादको वकालत गर्नुपर्ने नेपाली कांग्रेस आज कुहिरोको काग जसरी हराएको छ । 

र, पढनुहोस् डायरीका यसअघिका यी पाना :



Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
ad
x