विचार

कोही किन किसान बनोस् !

अर्जुन अपवाद |
असार १९, २०७९ आइतबार १५:२७ बजे

असार ! किसानको व्यस्त महिना । मानो खाएर मुरी उब्जाउने समय । आर्थिक वर्षको अन्तिम महिना । किसानजत्तिकै कर्मचारी र नेताको पनि दौडधुप हुने महिना। 
यसकै बीचमा पर्छ, धान दिवस । असार १५ मा । धान नेपालको प्रमुख खाद्यान्न । अन्य अन्नभन्दा राज्य पनि धानमै जोड दिन्छ । जनता पनि धानतिर लोभिन्छन् । कोदो कति रोपियो हिसाब हुन्न । त्यसबारे अध्ययन–अनुसन्धान निकै कम छ । मकै, गहुँ, फापर, जौजस्ता बालीहरूको अवस्था पनि कोदोको जस्तै हो । धान कति रोपियो ? राज्यसँग तथ्यांक छ । रोपिएको मात्रै हैन फलेको तथ्यांक पनि छ । फलेको जस्तै किनेर ल्याएको पनि । तथ्यांक भन्छ, एक वर्षमा झण्डै ४० करोडको चामल विदेशबाट खरिद गरियो । यो क्रम वर्षेनि बढ्दो छ । गमलामा धान रोप्ने र खेतलाई घडेरी बनाउने चलन जस्तै !

यो लेख लेख्नुअघि म कृषिबारेका केही समाचारहरू पढ्दै थिएँ । तीनवटा समाचार बाँदरका बारेमा थिए । बाँदर आतङ्क किसानको अहिलेको प्रमुख समस्यामध्येको हो । अहिले मल नपाउनुजत्तिकै महत्वपूर्ण । रासायनिक मलबारे सबैतिर चर्चा छ । सञ्चारमाध्यमका प्रमुख समाचारमा मलबारे धेरै कुरा छन् । यसबारे विपक्षी दलका नेताले पनि बोल्न भ्याए । बाँदरका बारेमा भने धेरैलाई थाहै नहोला ! 


पहिलो समाचार बाँदर पाल्नेबारेको छ । दोलखाको कालिञ्चोक गाउँपालिकाले यस वर्ष किसानलाई बाँदर पाल्न बजेट छुट्याएको छ । बाँदर मार्न नमिले पनि पाल्न मिल्छ भन्ने जनप्रतिनिधिहरूको भनाइ छ । यसरी घरघरमा बाँदर पालेपछि बाँदरको प्रजननदर घट्छ र बाँदर आतङ्कमा राहत पाइने भनिएको छ । 

दोलखाकै अर्को गाउँपालिका शैलुङमा बाँदर लखेट्न जाँदा एक किसानको लडेर मृत्यु भएको छ । बाँदरले किसानको ज्यानै लियो ! पूर्वपालिका अध्यक्षले फेसबुकमा लेखे, ‘मानिसभन्दा बढी महत्त्व बाँदरलाई दिनु हुँदैन । बाँदर नियन्त्रणका लागि नयाँ कानुन आवश्यक । भावपूर्ण श्रद्धाञ्जलि रामबहादुर कार्की दाइ ।’

बाँदरबारे प्रदेश सभामा पनि कुरा उठेको रैछ । प्रदेश १ मा यो विषयमा कुरा उठेको रहेछ । यसमा बाँदरले दिएको हैरानीबारे अलिक विस्तारमा कुरा गरिएको छ । 
प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरू गुरिल्ला जस्तो भएको बताए । उनले बाँदर नियन्त्रण गर्न नसक्दा मानिसहरू नै विस्थापित भइरहेको बताए । ‘पहाडमा ठूलो समस्या सिर्जना भएको छ । त्यो भनेको बाँदरको आतङ्क हो । मकै लगाए मकै खान्छ, कोदो लगाए कोदो खान्छ, जुनेलो लगाए जुनेलो खान्छ, मास लगाए मास खान्छ, बोडी लगाए बोडी खान्छ, सुन्तला लगाए सुन्लता खान्छ । केही बाँकी राख्दैनन्’, सांसद लिम्बूले भने, ‘अहिले पहाडका बाँदर गुरिल्ला जस्तो हुन थाले, पुरुष देख्दा भागेजस्तो गर्छ, महिला खेद्न जाँदा त उल्टो आक्रमण गर्छ ।’

बाँदरमात्रै हैन, अन्य जंगली जनावरले पनि किसानलाई हैरानी दिएका छन् । दुम्सी, मृग, बँदेलहरू पनि सास्ती दिने जनावरमा पर्छन् । बाँदरले दिने हैरानी खेतबारीमा मात्र सीमित छैन । किसानले आफ्नो बालीनालीको बोट समातेर बसेर भित्र्याएको बाली बाँदरले घरमै पसेर नोक्सान गर्छ । मान्छेविरुद्ध मुद्दा लाग्छ बाँदरसँग लाग्दैन । अझ सरकार भन्छ बाँदर मारे कारबाही हुन्छ !

वन्यजन्तुको विषय एकातिर छ । किसानले अन्न उब्जाउनु एक युद्ध जित्नुजस्तै छ । किसानले समयमा न बीउ पाउँछ । न मलखाद पाउँछ । पाएको बीउ असल छ कि कमसल ? ढुक्क हुने अवस्था छैन । सरकारले किसान पहिचान गरेर सहुलियत दिन्छु भनेको धेरै भयो । उसको किसान को हुने हो ? अझै टुंगो लागेको छैन ।

बैंक तथा वित्तीय संस्थालाई किसानलाई दिनैपर्ने ऋणको अहिलेसम्म कोकोले लिए ? गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ । यसरी पाएको ऋणले कृषि उत्पादन कति बढायो ? कागज मात्रै मिलाएर किसान हुने र सहुलियत लिने अवस्था रोक्न प्रभावकारी संयन्त्र चाहियो । कानुन चाहियो ।  खेतीमा लागत नउठ्ने अवस्था छ । खेत बाँझो राख्न हुन्न भन्ने मान्यताका कारण मात्रै अहिलेसम्म जेनतेन खेती गरिएको हो । यो पनि नहुने हो भने खेतबारी सबै बाँझै रहने थिए ।

उत्तम खेती, मध्यम व्यापार र अधम नोकरी भन्ने आहान उल्टिएको छ । अब खेतीको काम गर्ने मानिस अधम हुने अवस्था भएको छ । शिर निहुरिने अवस्थामा रहेको किसानले के खेती गर्ला ? कसरी गर्ला ?

आफ्नो खेतबारीमा उब्जाएर खानुभन्दा बजारमा किनेर खानु सजिलो भएपछि मान्छे सजिलोतिर लाग्छ नै । सरकार कहिले वर्णशंकर जातको बीउ लगाउ र उत्पादन बढाउ भन्छ । यसका कारण रैथाने बीउ लगभग लोप भए वा हुने अवस्थामा छन् । आजकाल रैथाने बीउ पाइन छाडेपछि रैथाने पो राम्रो भन्छ । किसानले पशुमल प्रयोग गरिरहँदा अभियान नै चलाएर रासायनिक मल गज्जब भन्छ । किसानले पशुपालन गर्न छाडेपछि रासायनिक मलको व्यवस्था गर्न सक्दैन । अनि कसरी अन्न उत्पादन हुन्छ ?

किसानको छोरो चैं पक्कै हुँ । १५–१६ सय मिटर उचाइमा पर्ने बारी लगभग सब्बै बाँझो छ । खेत आधामा मात्रै मुस्किलले आवादी गरिएको छ । 

भर्खरै अमेरिकाको टाइम्स पत्रिकाले खाद्यान्न अभावमा ठूलो मानवीय संकट आउन सक्ने सामग्री प्रकाशन गरेकोे छ । युक्रेन र रुसको युद्धका कारण विश्वमा धेरै ठूलो खाद्य संकट आउने उसको अनुमान छ । हामीकहाँ यसबारे त्यस्तो छलफल भएको देखिन्न । राजनीति मात्रै बिक्ने देशमा यो अनुमान नबिकेको पनि होला । घाटाको व्यापार गर्ने को ?

म आफैं किसान दाबी गर्न सक्दिनँ । किसानको छोरो चैं पक्कै हुँ । १५–१६ सय मिटर उचाइमा पर्ने बारी लगभग सब्बै बाँझो छ । खेत आधामा मात्रै मुस्किलले आवादी गरिएको छ । रहरले १ सय बोट कागती किनेर हुर्काउँदै छु । मेरो स्थानीय सरकारले वर्षेनि हजारौं फलफूलका बिरुवा अनुदानमा बाँड्छ । स्थानीय सरकारजस्तै विभिन्न संघसंस्थाले पनि बिरुवा बाँड्छन् । ती कहाँ हुर्किएका छन् कि छैनन् उसलाई पत्तै नहोला । पाँच वर्ष पुग्न लागेका कागतीमा फूल खेल्न सुरू भएको छ । मैले किनेर हुर्काइरहेका कागतीबारे गाउँपालिका पक्कै जानकार छैन । ऊ आफैंले बाँडेका बिरुवाबारे त जानकारी राख्दैन । मेरा बारेमा किन राख्नु ? 
लामो समयपछि धान रोप्न गाउँ गएँ । यसपाल बा खेत अधियाँ दिने सोचमा हुनुहुन्थ्यो । यसका लागि उहाँले यथासम्भव प्रयास गर्नुभो । तर कोही मानिस खेती गर्न तयार भएन । अधियाँको कुरा छाडौं खेती मात्रै गरिदेउ म आफैं पैसा दिन्छु भन्दा पनि गाउँमा मान्छे छैन । भएको मान्छे पूरै बाँदर रूँघेर बस्नुपर्छ । अनि किन खेती गर्ने ?

धान रोप्दै गर्दा सुनियो । समय फेरियो पहिला मानिस पैसा कमायो भने गाउँमा जग्गा जोड्थ्यो । अहिले त सहरतिर मात्रै आँखा लगाउँछ । पहिला जागिर भनेपछि मान्छे मरिहत्ते गर्थ्यो । अहिले अस्ट्रेलिया जान पाए त स्थायी जागिर छाड्न तयार । के खालको समय ? पाखुरीमा बल भएकाहरू श्रम बेच्न खाडीतिर । अलिअलि पढेर प्रमाणपत्र लिएकाहरू जापान, अस्ट्रेलियातिर । उमेर घर्किसकेका वृद्ध र बालबालिकाको जिम्मामा कृषिकर्म ! 

धान रोप्न छाडेको खेतमा उम्रिएको उत्तीस बेचेर बाले राम्रै पैसा कमाउनु भो । अन्न फलाउन भन्दा रूख हुर्काउँदा पैसा कमाइने भएपछि दुःख किन गर्नु !
व्यक्तिगत प्रसङ्गबाट फेरि समाचारको प्रसङ्ग । अर्को समाचारमा हाम्रो खाद्यान्न उत्पादनको इतिहास र हालको अवस्थाबारे जानकारी थियो । त्यो पनि यहाँ उल्लेख गरिएको छ ।

सन् १९६१ मा छिमेकी राष्ट्र भारतले ७ लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन धान चामल आयात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।

२०७३-७४ मा ४ अर्ब २८ करोड रूपैयाँ बराबरको धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ जुन २०७७-७८ सम्म आइपुग्दा बढेर १९ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ । यस्तै चालू आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोड रूपैयाँ बराबरको धान आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

२०७३-०७४ मा १९ अर्ब ५९ करोड रूपैयाँ बराबरको चामल आयात भएको देखिन्छ। २०७४-०७५ चामल आयात बढेर २३ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ । आव २०७५-०७६ मा २५ अर्ब ७४ करोड रूपैयाँ बराबरको चामल आयात भएको थियो । २०७६-७७ मा २३ अर्ब १७ करोड रूपैयाँ बराबरको चामल आयात भएको छ । २०७७-०७८ मा पुनः आयातको ग्राफ उकालो लागेको तथ्यांकले देखाउँछ । सो आवमा २८ अर्ब ६० करोड रूपैयाँ बराबरको चामल आयात भएको तथ्यांकले देखाउँछ ।

ढिला हुनै लागेको छ, भइसकेको छैन । किसान कृषि कर्ममा छुट्टिन किन खोजिरहेको छ ? उसलाई सहुलियत कसरी दिन सकिन्छ ? कृषिमा बढिरहेको लागत कसरी घटाउन सकिन्छ ? वन्यजन्तुको संख्या नियन्त्रण कसरी गर्ने हो ? किसानलाई आवश्यक मलखाद तथा अन्य कृषि सामग्री कसरी सहज तथा सुलभ रूपमा उपलब्ध गराउने ? यस्तै यस्तै सवालबारे गम्भीर विमर्श जरुरी छ । यिनै विमर्शले हामीलाई समाधानको दिशातर्फ अगाडि बढाउँछ ।

आँगनको सरकार स्थानीय सरकार । को किसानसँग कस्तो खालको जमिन छ ? त्यसमा के फल्छ ? स्थानीय सरकारलाई जिम्मा दिऔं । कृषि प्राविधिकहरू किसानसँग नियमित सम्पर्कमा रहने वातावरण सिर्जना गरौं । किसान र उसको परिवारलाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको प्रत्याभूति दिलाऔं । भौतिक पूर्वाधार मात्रै विकास हैन । खानै पाइएन भने सडक र भवनहरू हेरेर भोक मर्दैन । फलफूलका बिरुवाहरू हुर्काएबापत किसानलाई प्रोत्साहन गरौं । कृषि सुधार्न सहरका तारे होटलमा गरिएको सैद्धान्तिक बहसभन्दा खेतबारीमा गरिएका साना र मसिना कामले ठूलो भूमिका खेल्छन् ।  

अन्तमा, 

खाद्यान्न मानिसको जीवनका लागि अनिवार्य तत्व हो । अन्नमा हाम्रो जीवन छ । सबै कुरालाई बेवास्ता गर्दा पनि अन्न बेवास्ता गर्न सकिन्न । गर्नुहुन्न । अन्नलाई सबैले प्राथमिकतामा राख्ने हो भने अन्न आयातको अवस्था फेरिन्छ । हामीलाई चाहिएको वास्तविक विकास भनेकै यही त हो नि !

लेखकका यी लेख पनि पढ्नुस् :

बर्बादी-विपत्तिको अपजस राष्ट्रपति–प्रधानमन्त्रीले मात्र बोक्नुुपर्ने हो ?

सुरेल : के सडकको धुलो खानु मात्रै विकास हो ?

के सोच्थेँ पहिले, के भयो अहिले ?

चोलेन्द्र शमशेरको पक्षबाट

पीडकप्रति घृणा कि जे भयो भयो भनेर अब बिर्सने ?

दोष व्यवस्थाको कि व्यवस्थापकको ?

तानाशाहका तर्फबाट

जनताका लागि नेताले के-केसम्म गरोस् !

कुबेलामा लेखिएको एउटा लेख !

हामी सबै ‘डबल रोल’ खेल्छौँ अनि नेतालाई मात्र गाली किन ?


Author

थप समाचार
x