विचार

संस्मरण र अनुभूति- २३

प्रकाशको जन्म, व्यवसायको सुरुवात

वसन्त लोहनी |
असार २५, २०७९ ७:५२ बजे

एउटा ‘भर्सटाइल जिनियस’ अर्थात् बहुप्रतिभाशाली व्यक्तित्वको बारेमा हामी छलफल गर्दै आइरहेका छौँ । त्यो बेलाको नेपाल र त्यो परिवेशमा त्यो व्यक्तिलाई राखेर हेर्न सकेमा मात्र यसको तत्वबोध हुन सक्छ । ८० वर्ष अगाडिको नेपाल र त्यो परिवेश सोचौँ । त्यति बेला उनी भुईँबाट उठेका थिए कर्म क्षेत्रमा । अदम्य साहस लिएर आफ्नै तागतमा र आत्मविश्वासको साथ । जब उनी ‘वास्तविक दुनियाँ’मा काम गर्न आफ्नो तागतमा उभिए, उनले आफ्नो व्यक्तित्वको विभिन्‍न आयामहरू देखाउन सुरु गरे । उनी ‘हिडन ट्रेजर’ अर्थात् लुकेको खजाना नै रहेछन् जसरी प्राध्यापक डा. भरत शर्माले भने । डा. शर्माले सो कुरा वेदप्रसाद लोहनीले गरेको इन्जिनियरिङ कामबारे भएको छलफल कार्यक्रममा भनेका थिए गत जेठ २७ गते पुलचोक क्याम्पसको हलमा ।

ज्यामितिको पहिलो किताब लेख्नेदेखि लिएर सिमेन्ट ढलानको सुरु गर्ने पहिलो नेपाली बने । आफ्नै सङ्गीतमा कलकत्तामा गएर गीत रेकर्ड गरे, राम्रो घोडचढी थिए, नेपालको पहिलो योजना आयोगको सदस्य बने, बन्द व्यापार गरे, नेपालको पहिलो सिमेन्ट फ्याक्ट्री खोल्ने परिकल्पना गरे, फोटोग्राफर बने, सिनेमा खिचेर प्रोजेक्टरबाट डिल्लीबजार गुरुज्यूको नाचघरमा देखाए, प्रशासक बने, ज्योतिष शास्त्रमा गहिरो अध्ययन गरे । अन्ततः जीवनको उत्तरार्धमा विभिन्‍न मन्दिरहरूमा बसेर त्यहाँका जनतालाई भगवान् कृष्णले भनेको ‘जीवन नै कर्म हो’ भन्‍ने उद्घोष समेटिएको श्रीमद्भागवत सुनाए, चतुर्मासको चार महिना भरि भरि, वर्षौँ वर्ष सम्म । अधिकांश यी कामहरू उनले २००० सालबाट पहिलो १५ वर्षभित्र गरिसकेका थिए ।


ती हुन वेदप्रसाद लोहनी । साधारण पात्र, साधारण परिवारका, साधारण शिक्षा । तर असाधारण आँट, हौसला, जाँगर र इमान भएका । जीवनको प्रत्येक मोर्चामा कहिले हार मानेनन् । अनवरत लडिनै रहे एक्लो हुँदा पनि । तर इमानको दियोलाई निभ्न दिएनन् । जोगाएर नै राखे । कुनै बेला पहाड खसेको जस्तो हुँदा पनि हिम्मत टुट्न दिएनन् । सबभन्दा शक्तिशालीसँग पनि लडे । केवल त्यसको लागि जहाँ इमान बाच्न सकोस् भोलिको दिनमा पनि भनेर । मुलुकको संवेदनशीलता प्रत्याभूति हुनसकोस् भनेर । शासकहरूले आफ्नो स्वार्थ र शासकीय अहम्को लागि जे पनि गर्न गराउन सक्छन् । आफ्नै मामा या काकाको हत्या । आफैले नियुक्त गरेको आफ्नै प्रधानमन्त्रीको हत्या । या मुलुक नै विलय गर्ने कुरा किन नहोस् । परको कुरा होइन । नेपालको इतिहास साक्षी छ यसको ।

मुलुकलाई मायागर्ने स्वाभिमानी नेपालीले केवल मुलुकको हित मात्र देख्छ । समग्रतामा, एउटा व्यक्ति केही पनि होइन । तर उ सम्पूर्ण हो चेतनाको । यस अर्थमा वेदप्रसाद क्रान्तिकारी हुन् । प्राध्यापक डा. प्रेमराज मास्केले माथि उल्लेखित त्यही कार्यक्रममा भनेजस्तै । बन्दुक बोक्दैमा क्रान्तिकारी हुने होइन । बन्दुक त डाँकाले पनि बोकेको हुन्छ । जनजीविका रूपान्तरण गर्ने भनेर मुलुक लुट्नेहरू कसरी क्रान्तिकारी हुन सक्छन् र ? ती भ्रान्ति हुन् । पवित्रता जोगाउन लड्नेहरू मात्र वास्तविक अर्थमा क्रान्तिकारी हुन् ।

एउटा प्राविधिकको रूपमा वेदप्रसाद अन्तर्गत माघ २२, २०७८ बाट आरम्भ भएको छलफलले असार १८, २०७९ सम्मको करिब पाँच महिनामा २२ शृङ्खलाहरू पार गर्‍यो । उनी बाचेको समय-प्रवाहमा वेदप्रसादलाई सँगसँगै राखेर अर्थात् त्यो परिवेश भित्रबाट उनीलाई हेर्‍यौ हामीले । र, यसरी नै हाम्रो छलफल अगाडि बढ्ने छ । अबको अर्को क्रमबद्ध शृङ्खलाको चरण हो उद्योग तथा व्यापार व्यवसायीको रूपमा वेदप्रसाद । यसको लागि त्यो परिवेश - परिवार भित्रको र मुलुकभित्रको, त्यसलाई सरसरती एक फेरि हेर्नु पर्दछ ।

डिल्लीबजार पिपलको बोटबाट ज्ञानेश्वर गणेशस्थान जोड्ने मूल गल्ली आधा जति हिँडेपछि गल्लीसँगै जोडिएको पश्चिमको थुम्काको कप्तान पण्डित रुद्र प्रसाद लोहनीको घर । आठ छोरा र पाँच छोरीहरू रुद्रप्रसादको । सधैँ पूजाआजा भइरहने र चाडबाड हुने ।  । कहिले छैटी त, कहिले न्वारन, कहिले विवाह त, कहिले व्रतबन्ध । मान्छेको आवतजावत कहिले नसकिने । त्यस्तै चहलपहल । सगोलमा सबै । ठुलो भान्सामा खाने करिब ३५ जना दैनिक ।  बुहारीहरू लाइन बसेर पात गाँस्ने - दुना, टपरी । कति पूजाआजाको लागि, कति चाडबाडको लागि । त्यो पनि घाम तापेर चोकमा । त्यो समय नै हुन्थ्यो आइमाईहरूको केही मनोरञ्जनको पनि । कामको साथै भएभरिका कुरागर्ने समय जुर्ने ।

७९ वर्ष पुगेर ८० वर्ष लाग्दा वेदप्रसाद ।

प्रत्येक सङ्‌क्रान्तिमा हुने नारायणको पूजा रुद्रप्रसाद आफै गर्थे । घरमा बनेका सेल, पुरी, अपुङ्गो, हलुवा, मखनाको खीर आदि पूजाको लागि राखिएको हुन्थ्यो थालहरूमा भरेर ।भगवान् नारायणलाई समर्पण गरेर । हाम्रो ध्याउन्‍न भने कहिले पूजा सकिएला र मनभोग खान पाइएला भन्‍ने । कलशमा भरिएको पवित्र जल, जसमा आह्वान गरिएको हुन्थ्यो अनेक तीर्थको जल । पुरोहित लेखराज तिवारीले पूजा सकिएपछि हातमा आँप पिपलको पात र यस्तै वनस्पतिको सँगालो लिएर त्यो जलमा चोपेर सुरु गर्थे - ॐ द्यौ: शान्तिरन्तरिक्षं शान्ति:शान्तिराप: पृथिवी शान्तिराप: शान्ति … । 

बिचबिचमा आवाजहरू सुनिन्थ्यो - पुरेतबारे, मलाई परेन, मलाई परेर । उनीलाई अलि झोक चलेपछि मुख मुखमा झ्याप्प झ्याप्प जल छर्किदिन्थे । अनि सोध्थे - कसलाई परेन? हामी भुराहरू जो त्यति बेलाको पुस माघको जाडोमा चिनी पानी खोलेर टिन पातमाथि राति राखेर भोलिपल्ट बरफ जमाएर खानेलाई पनि मुखमै झ्याप्प पर्दा चाहिँ झस्किने गरी चिसो नै हुन्थ्यो । भगवानलाई चढाएको प्रसाद दुनामा ठुलो मान्छेहरूले मात्र पाउँथे । हामी साना केटाकेटी हात पसारेर लाइनमा बस्थ्यो - मलाई, मलाई भनेर कराएर । मनभोग हालिदिन्थे हातमा । अलिअलि हात पनि पोल्थ्यो कहिले काहीँ भर्खर बनाएर ल्याएको बेलामा ।

सधैँ हल्ला खल्ला झिसमिसे बिहानीदेखि । बारीको पुछारको चर्पी । जाने लाइन बनिसकेको तर चर्पीलोटा फेला नपर्दाको खलबल । बल्ल बल्ल फेला पर्दछ रायको साग बारीमा । कुनै उटपट्याङ गर्नेले फालिदिए छ । ठुलो भान्छामा भात पकाउन दाउरा चिर्दै छ धाइको छोरो कान्छा र भन्दै छ आफैसँग तर सुनिने गरी - दाउरा काँचो रहेछ ।भात पकाउँदा नबल्दा बज्यैले सराप्ने भइन्  । धारा भएको चोक भरिभराउ, नुहाएर चोखो धोती फेरेर पूजागर्न जानेकाहरूको लर्कोले । त्यति बेला कुनै मान्छेको घरमा धारा छ भने त्यो ठुलो मान्छे ठहरिन्थ्यो । आर्थिक रूपले त्यो अनुपातको ठुलो नभए पनि । सार्वजनिक वीर धारा बाहेक निजी धारा एकदम नै सीमित थियो ।

जाडो महिना । पशुपति जानेहरू कस्मिराको पुरानो ओभरकोट, माकल टोपी र गलबन्दी बेरेर मुढोलालबाट निस्कन सुरु । तल्लो टोलका कसाईनीहरु पानी भर्न ढोकामा कुरिरहेका कहिले मौका पाइएला भनेर । ‘ए नजिक नआइज छोइएला’ भन्‍ने आवाज बिच बिचमा यसै पनि आइरहेको सुनिन्थ्यो । ती मूल ढोकाबाट च्याइ मात्र रहेका हुन्थे दबिएर नै दोहोरो मारबाट । एक त अर्काको घरमा पानी थाप्नु छ । दोस्रो, जातले कसाईनी । ती हँसिला रसिला थिए कानभरि पहेँलो मुन्द्री टप लगाएका र सिनित्त कोरिएको कपालमा फुल झुन्ड्याइका कोही कोहीले ।

माँझेर सुकाएको पूजा भाडाको अङ्खोरा नै गायब, झन् आत्तिएको अर्को आवाज । झिमिक्कै गर्न नहुने । मस्यौरा त छ तर सँगै सुकाएको मिठावरी उप्काएर खाएछन्, कसले खायो होला भन्‍ने फेरि अर्को चिरिएको आवाज ।

धारा अगाडिको थलकमलको अग्लो रुख । त्यसमा फुलिरहेका दुई सेता फूलहरू । तिनीहरूलाई स्पर्श गरेर चोकभरि छरिएर फैलिएको सूर्य नारायणको उज्यालोमा सबै उज्यालो देखिन्थे जतिसुकै चटारो सबैलाई भए पनि । रङ खुइलिइसकेको भोटो मात्र लगाएको करिब चार वर्षको वालक चोक अगाडिको झ्यालमा उभिँदा उसको मुखभरि उ जस्तै कलिलो घामको किरण पोतिदा उ झन् सुन्दर देखिएको थियो । उ भन्दा सुन्दर ती कसाईनीहरूको माया थियो ऊप्रति । अलि अल्की चाहिँ त उसलाई पाए निलुँला जस्तो हुरुक्क भएर लहरे स्वरमा भन्थिन् - काचु, काचु, काचु ।

घरको अर्को पट्टिको पुछारको गोठमा टाइममा कुँडो खान नपाएर एकोहोरो गाई कराइरहेको । त्यो आवाजलाई धिमा पारेर खैरे कुक्कुर चौडिलमा बसेर गल्लीमा हिँडिरहेका मान्छेलाई हेरेर घुकिरहेको थियो बिनसित्ति । गल्ली थियो त्यो तर मूल सडक जस्तै मानिसहरूको आवागमन हुने ।त्यही आवाजमा मिसिएको एउटा कोकोहोलो - लौन बिहान नुहाएपछि धारामा पछारेको धोती सुकाएको थिए बरन्डाको डँडालीमा, त्यो नै छैन । नयाँ धोती, भई नभई अस्ति भर्खर किनेको । माँझेर सुकाएको पूजा भाडाको अङ्खोरा नै गायब, झन् आत्तिएको अर्को आवाज । झिमिक्कै गर्न नहुने । मस्यौरा त छ तर सँगै सुकाएको मिठावरी उप्काएर खाएछन्, कसले खायो होला भन्‍ने फेरि अर्को चिरिएको आवाज । विभिन्‍न साजहरू बजेको जस्तै विभिन्‍न आवाजहरू आइरहेका थिए । तर कुनै शान्ति दिने सङ्गीत बनेको थिएन । रोजको अशान्ति र चिडचिडाहट थपिएका मात्र । 

केटाकेटीहरू धारा भएको चोकको एउटा कुनामा इँटले कोरेर बनाएको चौकाहरूमा एक्कडी दुक्कडी खेलमा उफ्रिरहेका थिए  ।बारीको भोगटे टिपेर भान्सा भएको चोकमा खाली खुट्टा फुटबल खेलिरहेका एउटा भुराले हानेको सट बलको सट्टा भुईँमा परेर बूढी औलाको नङ नै आधा बाहिर निस्केर ह्वालह्वाल रगत बगिरहेको थियो । त्यहाँ पनि त्यत्तिकै कोलाहल । आमाले हत्तपत्त झुम्रो पोलेर त्यसको लेप लगाइ आफ्नै धोतीको सानो टुक्रो च्यातेर बाँधिदिइन् । भर्खर रोइरहेको त्यो भुरो त्यसपछि हाँसेर फेरि खेल्न गयो ।

दाउराको भारी बोकेर दाउरे बेच्ने कराउँदै हिँडिरहेको हुन्थ्यो त्यो गल्लीमा । बार्दलीमा घाम तापिरहेका रुद्रप्रसाद बोलाए, खै हेरु, भनेर । उ भित्र चोकमा छिर्‍यो । मैलो न मैलो अङ्गा, त्यसमाथि पटुका, खुकुरी भिरेको, कछाड कसेको । त्यति बेला जुत्ता लगाउने चलन नै थिएन । हामी पनि खाली खुट्टा नै हिँड्थ्यौ टोलभरि । दशैको बेला मामाघर टिका लगाउन जाँदा लगाइन्थ्यो जतन गरेर राखेको एक जोर जुत्ता । बिचरो दाउरेले कताबाट लगाओस् । रुद्रप्रसादले भने - टाँड हालेको जस्तो छ नि! कति हो? दाउरेले भन्यो - होइन प्रभु, भारी पुरा छ । सात मोहर । रुद्रप्रसादले भने - ल कति डुल्छस्, तीन रुपैयाँ भयो । भित्र राखिदे । 

नाम्लो बटार्दै फर्क्यो दाउरे । बार्दलीबाट तिनटा डबल तल चोकमा खसाइदिए रुद्रप्रसादले । एउटा डबल त झन्डै फूलबारी र धारा भएको चोकबिचको नालीभित्र छिरिसकेको झरेर गुड्दै जाँदा । हत्तपत्त समाती हाल्यो दाउरेले । र, बस्यो त्यही पेटीमा चुरोट सल्काउन । गोजीबाट झिक्यो चकमक र सानो फलामे छुरी । घोटेर आगो निकाल्यो र सिउरेको ठुटो चुरोट झिकेर सल्कायो । त्यो ठुटो चुरोट यसरी तान्यो उसले कि त्यो सकियो नै । भित्र छिरेको धुवा बनेर निस्कियो उसको मुखबाट रेलले फालेको धुवाको मुस्लो जस्तो गरी । 

दाउरे जान लाग्दा दुइटा थाक्से आइपुगे । रङ्गिन मोटो सिएको लुगा जिउमा ठ्याम्मै मिलेको तलदेखि माथिसम्म । जुत्ता पनि बुट जस्तो । ह्यट लगाएको । जिउमा दुबैतिर ठुलो पोकाहरू झुन्डिएको । अनि झोला पनि बोकेका । उनीहरू सियो बेच्न आएका । पुरानो भाँडाकुँडासँग सियो साट्थे । चुहिने भएर काम नलाग्ने भएका भाँडाकुँडाहरू घरभरिकाले ल्याउँथे सियोसँग साट्न । फलामे बाहेक अरू लिँदैन थिए  । सियो पनि विभिन्‍न साइजको हुन्थ्यो उनीहरूसँग । थाक्सेले केटाकेटी लैजान्छ भन्थे । त्यसैले हामी केटाकेटी त अगाडि नै पर्दैनथ्यौ । परबाट आँखा नझिम्काएर हेरिरहन्थ्यो उनीहरूको हरेक चालचलन ।

यत्तिकैमा खर्पनमा टिन हालेर र सँगै दुइटा राँगोको करङको हाड सहित एउटा मान्छे भित्र छिर्‍यो । कसैसँग कुराकानी नगरीकन सीधा बारीको पुछार तिर हिँड्यो । न कसैले सोधे उसलाई । चर्पीको मल त्यो टिनको भाडामा भरेर खर्पन बोकेर फर्क्यो । यस अघि बिहान नै धाइले मलमूत्र भरिएको कोपरा एक पछि अर्को गर्दै त्यहाँ बिसाइ सकेकी थिइन् । र, सो कोपराहरू माँझेर घाममा सुकिइएको थियो पर बारी छिर्ने पर्खालको आड लगाएर ।

त्यो गल्ली माथिको चौडिलबाट देखियो पर आँखाले देखेसम्म लामो कमिलाको ताँती जस्तो भरियाहरूको एक लाइन । सब चौडिल उक्लिँदै । भित्र फलैँचामा भारी बिसाएर चोकमा भरिभराउ हुँदै गइरहेको । घेरो फाटेको टोपी फुकालेर त्यसैले पसिना पुछ्दै सुस्ताउँदै थिए । धेरैले धान र केहीले आँप,मासको दाल, कटहर ल्याएका । साथमा घ्यू, अर्सा र अनर्सा पनि । भन्दै थिए - बिहान झिसमिसेमा हिँडेको थानसिङबाट, पाँचमानेमा आइपुगेपछि चुरोट खाइयो । बिचमा कतै नबसेर सरासर आएको । ती भोकाएका थिए । त्यसैले इँटको चुलो लगाएर त्यसमा दाउरा सल्काएर भात र तिहुन बनाउन थाले ।

अलिकति चिडचिडाहट लिएर बोलेको सुनियो मेरी आमा तथा काकीहरूले - कति ल्याउँछन् यिनीहरूले पनि । यसो भन्‍नुको कारण थियो जति धान आयो त्यति राखनधरन मिलाउनुपर्ने बुहारीहरूको जिम्मेदारी हुन्थ्यो । धान सुकाउनु पर्‍यो, निफन्‍नु पर्‍यो, उठाउनु पर्‍यो र भकारीमा हाल्नु पर्‍यो । त्यो कुट्न पठाउनु पर्‍यो । कति त घरको ढिकीमा पनि कुटिन्थ्यो, खास गरेर चिउरा बनाउँदा । मासको दालको पनि त्यही नै हो । मस्यौरा बनाउँदा जाँतोमा पिन्‍नु पर्‍यो । आँप धेरै जसो किराले खाएको हुन्थ्यो । घ्यू को प्रयोग धेरै हुन्थ्यो । स्कुलबाट फर्केकाहरूले थालमा चिनी, चिउरा र एक डाडु घ्यू पाउँथे, खाजा खान । 

यो समय हो २००० सालको । त्यो ठुलो जहान घरमा वेदप्रसाद बिहानदेखि नै अति व्यस्त हुन्थे । उमेर २८ वर्ष तर जिम्मेदारी उमेर भन्दा निकै ठुलो बनेको थियो । उनी इन्जिनियरिङ स्कुलको शिक्षक थिए । क्लासमा पढाउन पढ्नु पर्‍यो । त्यस बाहेक उनी धेरै सिक्न चाहन्थे इन्जिनियरिङमा । यस अर्थमा उनी शिक्षक भन्दा बढी विद्यार्थी थिए । बिहान यसैमा बित्थ्यो । त्यो नियमितता भित्र पर्थ्यो । ज्ञानको स्वआर्जनमा उल्लेखनीय वृद्धि हुँदै गएको थियो । त्यो उनले महसुस गरिरहेका थिए दिन प्रतिदिन बढ्दै गएको व्यावसायिक आत्म विश्वासमा भएको वृद्धिबाट । तर आम्दानीमा वृद्धि थिएन । वर्षको १२ सय खाने ठेकिएको जागिर । अर्थात् महिनाको एक सय ।

जन्मोत्सवको पूजाको लागि ज्योतिषले बनाएर पठाएको टिपन ।

त्यतिबेला त्यो जहान घरमा कमाउने केबल तिन जना । बाबु रुद्रप्रसाद, दाजु फणीन्द्रप्रसाद र उनी । बाबुको तलब पनि करिब उनको जत्तिकै नै थियो, गुरुज्यूको पल्टनको कप्तानको । तीन जानमा सबभन्दा बढी फणीन्द्र प्रसादको थियो, वर्षको १५ सय । प्रोफेसरलाई विशिष्ट श्रेणीमा राखिएको हुनाले । घर चलाउने नगद प्रवाह यत्ति नै । थानसिङमा प्रशस्त जमिन र घर । काठमाडौँ वरिपरि पनि धान खाने जमिन - बुढानीलकण्ठ, बलम्बु र कपनमा । तर धान बेच्ने चलन काठमाडौँमा अझ आइसकेको थिएन । आफूलाई धेरै भयो भने धान्यचल पर्वत बनाएर दान दिने वा यसै बाँड्ने ।

रुद्रप्रसादले जेठो छोरा फणीन्द्र प्रसादलाई अति माया गर्थे र सम्मान पनि । सम्मानको अर्थ यहाँ हो गर्व निसृत भाव । उनलाई नारायण बाबु भनेर बोलाउँदा अति माया र गर्व निसृत भाव दुवै त्यो स्वर लहरीले बोकेको हुन्थ्यो । घरमा कुनै नयाँ मिठो मसिनो पाक्यो भने पहिले नारायण बाबु कहाँ पुर्‍याउन पठाइ हाल्थे । आमा कल्प कुमारीलाई कतिपय बेला यो मन पर्दैन थियो । विजयराज गुरुज्यूको नातिनी उनी आफ्नै पकड चाहन्थिन् । तर पनि  भन्थिन् फणीन्द्र प्रसादको श्रीमतीलाई देखाएर नातिने बुहारीहरूलाई - ऊसँग दाँजिएर पुग्छ तिमीहरूलाई । उ त तारा प्रसादको छोरी । ताराप्रसादको नामबाट उखान नै बनेको थियो - जिल्लामा बारा, सुब्बामा तारा । त्यति धनी थिए उनी जग्गा जमीन धेरै भएर । सुब्बाको जागिर, जसलाई राजको सिँदुर पनि भन्थे, त्यो त श्री ३ को आँखा नलागोस् भनेर मात्र खाएका । उनी डा. यादव प्रसाद पन्तको बाजे थिए । 

वेदप्रसादलाई पनि अति माया गर्थे रुद्रप्रसाद । तर उनले कृष्ण बाबु भनेर बोलाउँदा त्यो लयमा प्रोफेसरको भाव उबारिएको हुँदैन थियो । वेदप्रसाद शिक्षक मात्र । फणीन्द्र प्रसादलाई भाइहरूले दादा र टोलमा सबैले मास्टर बाजे भन्थे । र, वेदप्रसादलाई भाइहरूले कृष्ण दा । टोलमा कृष्ण बाबु नै भन्थे त्यति बेलासम्म जबसम्म उनी सुब्बा बनेका थिएनन् पद्म शमशेरको पालमा । त्यसपछि सुब्बा बाजे । त्यति बेला सुब्बा भनेको ठुलो पद थियो । त्यो त हाकिम हुनु भनेको हुन्थ्यो । 

मुख्य कुरो जिन्दगीले निर्णायक बाटो फेलापार्न सकेको थिएन । उनीलाई पैसा कमाउनु परेको थियो परिवारलाई राम्रो शिक्षा दीक्षा दिन, संस्कार दिन । अझ राम्रोसँग जिन्दगी यापन गर्न । त्यसको लागि उनले जानेको इन्जिनियरिङ सिप नै थियो । तर आधुनिक घर निर्माण गर्ने उनको सिपको पहिचान हुन बाकी थियो । दोस्रो, उनी सोचिरहेका थिए कुनै बन्द व्यापार गर्न । तर ठम्याउन सकेका थिएनन् । न उनीसँग लगानी गर्ने पैसा नै थियो । यस्तो बेचैन, भनौँ कि छटपटीको अवस्था थियो उनको । 

साइकल चढेर पढाउन स्कुल जाने त्रिपुरेश्वको कुमारीको घरको पूर्वको लङको भुईँतलामा । र, त्यही काम गरिरहेका हुन्थे घाम नजाउन्जेलसम्म पठनपाठनको र ज्ञान स्वआर्जनको ।

आफूभित्रको सम्हाली नसक्ने द्वन्द्वले गर्दा ज्वार भाटाहरू उठिरहेका थिए । कर्म नै जीवन मान्‍ने वेदप्रसादलाई यी ज्वार भाटाले अर्कै सोचको धरातलमा पुर्‍याइ दिन्थ्यो । अनि प्रश्न गर्थे आफैसँग - के जीवन व्यर्थ हो ?

उनलाई गाजेको सबभन्दा ठुलो कुरा थियो आफ्नै बाबुको आदेशले । कडा थियो त्यो आदेश । साधारण नै कुरा भए पनि वेदप्रसाद आफ्नो बाबुलाई अति नै सम्मान गर्थे र उनको कुरा भुईँमा खस्नै दिँदैनथे । यो त कडा आदेश नै भयो । विकल्परहित अवस्थामा आइपुगेका थिए । ११ वर्षको उमेरमा आफ्नो बाबुले डिट्ठा शिवनाथ पाठकको छोरी नारायणीसँग विवाह गरिदिएका वेदप्रसादको छोरीको जन्म १९९० सालमा भएको, माघ २ गतेको ठुलो भुईँचालो जाने केही महिना अगाडि । त्यसपछि भाइ लक्ष्मण जन्मेका थिए, भुईँचालो अगाडि नै । छोरी र भाइ एउटै डोकोमा सुतेर हुर्केका । छोरी भवानी १० वर्षकी । 

रुद्रप्रसादले फेरि पनि भने - कृष्ण बाबु, छोरीको विवाह गरिहाल् । चाँडो गरिहाल । मेरो घरमा पर सरेमा त्यो अनर्थ हुन्छ । म त्यो कुनै हालतमा सहने छैन । वेदप्रसादले निहुरिएर सुनिरहे । बाबुसँग उनले दोहोरो जबाफ सवाल जिन्दगीमा कहिले गर्दै गरेनन् । बाबुको कुरा सधैँ शिरोधार्य रह्यो । न विवाह गर्ने पैसा छ, न विवाह गरेर दिने केटो छ । उनी भयानक मानसिक अन्तर्द्वन्द्वमा परे । १९९४ सालमा जन्मेकी माइली ६ वर्षकी र ९६ सालकी साइँली ४ वर्षकी भई सकेका थिए । भौँतारिएर, पछि पढेर, बल्ल शिक्षकको जागिरमा थिए । एक वर्ष पनि पुगेको थिएन । उनी त आफ्नो खुट्टामा उभिइसकेका नै थिएनन् । बल गर्दै थिए उभिन ।

देश देशावर देखेका र अलि परसम्म सोच्न सक्ने मान्छे थिए वेदप्रसाद । उनी चाहँदैन थिए छोरीको विवाह त्यो उमेरमा गर्न । छोरीहरूलाई पनि पढाउन चाहन्थे । पढाए पनि जब उनी आर्थिक रूपमा सम्पन्‍न भए । र, आफ्नै निर्णय लागु गर्ने अवस्थामा आइपुगे  । साइँली छोरीलाई पछि बनारस हिन्दु विश्वविद्यालयमा पढ्न पठाएर एमए गराए । तर त्यति बेला बाबुको अगाडि उनी विवश थिए । नातिलाई पण्डितले पढाउन आउँदा नातिनीले त्यो ठाउँमा उभिएर यसो सुन्दा पनि प्याच्च भनिहाल्थे - के सुनेकी विवाह गरेर जाने जातले? तिमीहरूले पढ्ने होइन । घर गर्ने हो । जा तँ यताबाट । विद्वान कहलिएका लोहनी परिवार, जसको सबभन्दा बढी जोड नै शिक्षामा थियो, त्यो परिवारमा यो हाल थियो । कस्तो सोच र कत्रो फरक छोरा र छोरीबिच ?  त्यो युग अर्कै युग थियो । तर केवल ८० वर्ष अगाडिको हो यो ।

वेदप्रसाद जति व्यस्त थिए त्यो भन्दा बढी उनकी श्रीमती थिइन् घरधन्दामा । बिहान झिसमिसेमा उठेदेखि रातमा नसुतुन्जेल उनी मेसिन चलेको जस्तो चलिरहेकी हुन्थिन् । तर काम कहिले सकिँदैन थियो । जति सक्न खोज्यो उति नयाँ थपिने । सधैँ भ्याइ नभ्याई । छोरा र छोरीको बिच ज्यादै ठुलो फरक मान्‍ने समाज त्यो बेलाको । छोरो जन्माउन सक्दा ठुलो इज्जत । वंश थाम्नेको आगमन । छोरी जन्मँदा अपराध गरे जस्तो । तिनटा लगालग छोरी पाएकी नारायणीदेवीको पनि यस्तै हाल थियो । देउरानी जेठानीमा अलि भनाभन भएको बेला भन्‍न पछि पर्दैन थिए - हाम्रो छोरै छोरा । उसको जस्तो छोरी छोरी हो र । भित्तालाई सुनाएर भन्थे यस्तो कुरा । अझै पनि देख्छु म तिनीहरूलाई जो भित्तालाई सुनाएर जसलाई जे पनि भन्‍न सक्छन् । र, जुनसुकै तल्लो स्तरमा पनि ओर्लिन सक्छन् । ‘बटम लाइन’ अर्थात्, कतिसम्म तल ओर्लिन सक्ने भन्‍ने नै नभएकाहरू ।

छोरा छोरीको कुरा वेदप्रसादले कानमा पनि नपरेको होइन । तर उनी यस्ता कुरामा अल्झिने स्वभावमा मानिस थिएनन् । अगाडि जान चाहने । अगाडि हेर्न चाहने मानिस । उनी जिन्दगीको सोच भएको कर्मवीर मान्छे । नारायणीदेवीलाई भने छोरा पाउन नसकेको पिरलो थियो । पाठ पूजा सब गरिन् छोरा पाउनको लागि । पण्डित बोलाएर हरिवंश पनि सुनिन् दत्तचित्त भएर, नियमपूर्वक, नटुटाईकन । हरिवंश पुराण प्राचीन हो, महाभारत कालको । यसमा सृष्टिको उत्पत्ति र यो मूलतः भगवान् कृष्णको कथा र आराधना हो । यो सुन्यो भने छोरा पाइन्छ भन्‍ने मान्यता थियो त्यो समाजमा  । त्यति मात्र होइन हरिवंश सुनेर जन्मेको छोरो ठुलो मान्छे बन्छ भन्‍ने पनि विश्वास बलियो थियो ।

वेदप्रसाद बाबुको निर्णयबाट पर जान सक्दैन थिए । न उनको स्वतन्त्र आर्थिक हैसियत नै थियो अरू विकल्प सोच्न सक्ने । समयको प्रवाहसँग उनको जीवनको प्रवाह संयोजित हुन सकिरहेको थिएन एउटा मिठो सङ्गीतको धुन बन्‍नको लागि । आफूभित्रको सम्हाली नसक्ने द्वन्द्वले गर्दा ज्वार भाटाहरू उठिरहेका थिए । कर्म नै जीवन मान्‍ने वेदप्रसादलाई यी ज्वार भाटाले अर्कै सोचको धरातलमा पुर्‍याइ दिन्थ्यो । अनि प्रश्न गर्थे आफैसँग - के जीवन व्यर्थ हो ? उनको जीवन त्यो ठुलो दर्सिन ढुङ्गा बोकेको जस्तो भइरहेको थियो जुन उनी सकी नसकी बोकेर पर पुर्‍याउथे तर बेलुका घर आउँदा पहिले कै ठाउँमा ल्याएर बिसाउन परिरहेको थियो । उपलब्धिहीन, एउटा व्यर्थताको चक्रमा घुमिरहेको । उनी सोच्थे - यो व्यर्थताको चक्रमा कहिले सम्म घुमिरहनु पर्ने हो? या यस्तो घुमाई नै यथार्थता हो जिउनुको ?

उनी आक्रोशित पनि हुन्थे जगत् सङ, अर्थात् सृष्टिसँग नै । र, आफैसँग पनि । इमानदारीपूर्वक पसिना चुहाएर काम गरेर बाच्न पनि यो हैरान । आकाश चुम्न खोजेको त होइन । धरतीमा निस्फिक्री मन लिएर हिँड्न पनि किन नपाएको? ठुलो जहान घरमा हल्लाखल्ला त नियमितताभित्रको नियमितता भएकोले उनी अभ्यस्त थिए योसँग । तर विचारको यो लहरमा लहरिदै जाँदा कता पुगिरहेको बेला आफ्नी धर्म पत्नीले हातमा थाल बोकेर आएर भनिन् - खानेकुरा लिएर आएको । उनको बेलुकीको खाना त्यति बेला देखि नै रोटी तरकारी नै हुन्थ्यो ।अलिकति दूध । बटुकोमा केरा चक्का परेर हाल्थे । त्यसैले तलको ठूलो भान्सामा जानु पर्दैनथ्यो । उडिरहेको हवाई जहाज हठात् अवतरण गर्नु परेको जस्तो भए उनी ।

अन्त्यहीन विचारको अन्तरिक्षमा जतासुकै भौँतारिए पनि वेदप्रसाद आफू उभिएको धरातलमा दरोसँग टेक्न आइपुग्थे आखिरमा । उनको संस्कार बलियो थियो । त्यसैले पछिसम्म पनि मसँग पटक पटक भन्थे - मेरो बाबुले हालिदिएको संस्कारले गर्दा नै हो म यहाँसम्म आइपुगेको । उनलाई संस्कृतको राम्रो ज्ञान थियो । त्यो ज्ञान संस्कृत वाङ्मयको प्राज्ञिक पाटो तिरको नहोला । त्यो अर्कै कथा हो । तर उनी पुराणको गणेश, उपवाचक र वाचक पनि त्यति बेला भइसकेका थिए । उनीलाई श्रीमद्भागवतको राम्रो ज्ञान थियो । त्यसैले जतिसुकै द्वन्द्वमा परे पनि उनी जीवनलाई व्यर्थताको परिधिभित्र हुल्न या शून्यवादमा विलय गर्न सक्तैनथे । श्रीमद्भागवतको १८ अध्यायको ६६ श्लोक नै उनको जीवन थियो । उनी मलाई त्यो श्लोक सुनाइरहन्थे -
सर्वधर्मान्परित्यज्य मामेकी शरणं व्रज  । 
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥

भगवान् कृष्णमा पूर्ण समर्पण गरेर कर्ममा लागेपछि सबै उसले हेर्छ । अर्को यस्तै सुनाउँथे मलाई शिक्षा दिन बारम्बार - 'हारिये ना हिम्मत बिसारिये न राम, तू क्यों सोचे बंदे सब की सोचे राम ।' उनको जीवनको मूल प्रवाह यही नै रह्यो । त्यसैले  द्वन्द्वबाट निस्किएको ज्वार भाटाले उनलाई फर्किनै नसक्ने गरी परसम्म हुत्त्याउन सकेन । एउटा कुशल सवारलाई घोडाको लडाउने चेष्टा विफल भए पछि सवारलाई त्यसले झन् राम्ररी चिन्दछ । मनमा उर्लेका आवेगहरूले जतिसुकै हुत्त्याउन खोजे पनि जब मनुष्य धीर हुन्छ तब ती आवेगहरू काबुमा आइपुग्छन् । चित्त विकार गर्ने परिस्थितिभित्र बाँधिन पुगेका थिए वेदप्रसाद तर उनी मूलतः धीर मन भएकाले फुत्किए । तसर्थ भौँतारिएको मनको लगाम उनले राम्ररी खिचे । र, कर्म नै जिन्दगी हो भन्‍ने उनको यात्रामा लागे ।

वेदप्रसादको प्रकाश इन्जिनियरिङ कम्पनीले अमेरिकाको एलिस चेम्बर्सस् म्यानिफ्याक्चरिङ कम्पनीलाई सिमेन्ट फ्याक्ट्रीको मेसिनको लागि अर्डर दिँदाको बेला। 

यसरी २००० साल सकियो । २००१ साल आयो । वैशाख १ गतेले ल्यायो नयाँ वर्षको खुसीयाली । घरमा १ गते बिहानको विशेष पूजा सकियो । बेलुकी हरेक महिनाको झैँ नारायणको पूजाको तैयारीमा जुटेका परिवार । भगवानलाई भोग लगाउने मिष्टान्‍न पकाउने तरखर । रुद्रप्रसादको साइँलो छोरो वासुदेव डोको बोकाएर सहर हिँडिसकेका, भरेको सरसामान किन्‍न । डिल्लीबजारबाट पुतलीसडक लाग्ने ओरालोको ढुङ्गेधाराको अगाडि बढे हलुवाइको मिठाइ पसल । त्यहाँ रुद्रप्रसादले भरेको लागि आफैले अर्डर दिएर आएका ‘भित्र’बाट फर्कँदा । बडेका न रसगोला पाइन्थ्यो, न रङ्गीचङ्गी मिठाइहरू हुन्थ्यो अहिलेको जस्तो । ठ्याके मोहर जस्तो बिट उठाएको पेडा, बर्फी हुन्थ्यो खुवाको माथि स-साना नरिवलको टुक्राहरू छरेको, बम्बईसन, लाखामरी, ऐठें ।

त्यति बेला डिल्लीबजारको गुरुज्यूको घर कम्पाउन्डलाई ‘भित्र’ भन्‍ने चलन थियो ज्ञानेश्वरको त्यो लोहनी परिवारमा । तर्कराज त १९९१ सालमा नै बितिसकेका थिए । उनको छोरो भोगेन्द्रराज वडा गुरुज्यू नभए पनि त्यो रोब र हैकम कायम थियो । जुद्ध शमशेरको त्यो बेला । रुद्रप्रसादको लागि हरेक दिन बिहान चटारो हुन्थ्यो र हकारेर भन्थे - लौन, ‘भित्र’ जान अबेला भइसक्यो । हामी केटाकेटीले बुझ्दैन थियो के हो ‘भित्र’ भनेको । धेरै पछि नारायणहिटी दरबारलाई ‘भित्र’ भनेको सुनेपछि मात्र त्यति बेला रुद्रप्रसादले भनेको ‘भित्र’ को अर्थ लाग्यो मलाई ।

नारायणी देवीको खुसीको त वर्णन नै गर्न सकिँदैन, अवर्णनीय । हरिवंश सुनेर पाएको छोरा, तिनटा छोरी छोरी पछिको । त्यो खुसी उनको जिन्दगीको न भूतो न भविश्यति । अर्थात्, न कहिले भयो जिन्दगीमा त्यस्तो खुसी, न कहिले हुन नै सक्ने ।

खुसी पनि एक्लै आउँदैन । लहरै आउन थाल्यो वेदप्रसादको जिन्दगीमा । वैशाखको पहिलो हप्तामा नै उनले छोरा पाए । यो अपूर्व खुसीको लहर थियो । वेदप्रसादले बाँडे हर्षबढाइँ झोला मात्र होइन दिल खोलेर । विशेष खालको बलियो जालीको झोला हुन्थ्यो डबल राख्ने त्यति बेला । नोटको चलन आइसकेको थिएन । त्यस्तो जालीको झोलामा सिक्का गनेर राखिएको हुन्थ्यो । झिक्दा पनि गनिन्थ्यो ।  हुनेले त्यस्तो भरिएको झोलाहरूलाई  बोराभित्र हाल्थे । धनीहरूले त्यस्ता बोराहरु चाङ लगाएर राख्थे  । वेदप्रसादसँग भएको एउटै मात्र त्यस्तै झोला ।  तलब ल्याएर राख्ने गरेको । खोले त्यो झोला । सिक्काहरू बाँडे भएसम्मको तिनीहरूलाई जो उनको  खुसीमा सरिक भएका थिए । बढे हलुवाई कहाँबाट मिठाइ ल्याएर सबलाई ख्याए पनि । परिवारमा खुसी गुञ्जायमान थियो, सर्वत्र ।

नारायणी देवीको खुसीको त वर्णन नै गर्न सकिँदैन, अवर्णनीय । हरिवंश सुनेर पाएको छोरा, तिनटा छोरी छोरी पछिको । त्यो खुसी उनको जिन्दगीको न भूतो न भविश्यति । अर्थात्, न कहिले भयो जिन्दगीमा त्यस्तो खुसी, न कहिले हुन नै सक्ने । भर्खर जन्मेको छोरालाई अँगालोमा च्याप्न पाउँदा भगवान् कृष्णलाई पाए सरह भएको थियो मलाई, उनले भन्थिन् मसँग त्यो अवर्णनीय खुसीको वर्णन गर्दा । र, त्यसपछि त्यो खुसीको सुरमा ज्वानाको रससँग एक माना चामलको भात खाएको उनीलाई पत्तै भएन । कस्तो सुरुचि?  भौतिकतालाई काटेर माथि उठेको त्यो ईश्वरीय आनन्द थियो उनको ।

वेदप्रसादको जिन्दगीमा यसपछि कहिले पनि ‘व्यर्थता’को भावले उनको मनमा चियाउनै सकेन । उनी एक पछि अर्को सफलता हासिले गरेर लम्किरहेका थिए । अदम्य साहस थियो, मेहनती थिए र अकबरी सुन जस्तो इमानदार थिए । त्यो परिवेशको गुरुत्वाकर्षणले उनलाई नगाँजेको होइन । तर जीवनमा उठ्ने शक्ति उनको बलियो थियो । दु:ख-सुख, घाम-छाया प्रशस्त भोगे । ठुला ठुला सङ्कटको सामना गरे । विजय उनको नै हुन्थ्यो, माता अपराजिताको आशीर्वादले । यसलाई समेटेको एउटा पुरानो लामो कविताको केही हरफहरू हेरौँ ।
उनको विवेक-वीरले
शक्ति लोकको दर्शन गरेका
या इमानको सूदन गरेका
ती अति प्रचण्डहरूको सातो उडाएको
मैले स्वयं देखेको छु

एलिस चेम्बर्सस् म्यानिफ्याक्चरिङ कम्पनीको जवाफ प्रकाश इन्जिनियरिङ कम्पनीलाई ।

यसपछि हो वेदप्रसादले उनको बन्द व्यापारको सोचलाई निर्णायक रूपमा अगाडि बढाएको । उनको यो कोसिस परिवेश मैत्री पनि बन्‍न पुग्यो यस अर्थमा कि जुद्ध शमशेर जति क्रूर भएका थिए त्यस्तै मुलुकमा उद्योग व्यापार खुलोस् भनेर लागिपरेका पनि थिए । नेपालको औद्योगिक विकास सुरु गर्ने र त्यसलाई गति दिने काम उनले नै गरेका हुन्, आफ्नो छोरो बहादुर शमशेरलाई अध्यक्ष बनाएर चलायमान गरेको औद्योगिक परिषद्‌मार्फत । वेदप्रसादले पहिलो व्यावसायिक सङ्गठन खोले - प्रकाश इन्जिनियरिङ कम्पनी । भर्खरै जन्मिएको आफ्नै छोराको नाम राखेर ।

वेदप्रसादको प्रकाश इन्जिनियरिङ कम्पनीले साढे पाँच वर्षमा ठुलो प्रगति गर्‍यो । ठुलो आर्थिक हैसियत बनाउन सफल भयो । ब्रिटिस कम्पनी मार्टिन बर्नस लिमिटेडको नेपाल अधिराज्यको लागि सोट डिस्ट्रिब्युटर उनको प्रकाश इन्जिनियरिङ कम्पनी थयो । राम्रो आम्दानी भए पनि उनी व्यापारमा मात्र सीमित हुने मान्छे थिएनन् । मुलुकको बारेमा सोच्थे उनी । त्यसैले वेदप्रसाद अडिग थिए मुलुकको विकाश गर्न सिमेन्ट फ्याक्ट्री नभई हुँदैन भन्‍ने कुरामा । उनले डेढ करोडको लागतमा सिमेन्ट फ्याक्ट्री खोल्ने काम अगाडि बढाए । सम्भाव्यता अध्ययन गराए । चुन ढुङ्गा डिपोजिट बारेको अध्ययनमा आफै पुगे पहाड पहाडमा ।

२००६ सालमा यसरी अन्तिम चरणमा आइपुग्यो यो काम । संयुक्त राज्य अमेरिकाको ह्विस्कन्सन् राज्यको मिलवाकीमा रहेको एलिस चेम्बर्सस् म्यानिफ्याक्चरिङ कम्पनीबाट सिमेन्ट फ्याक्ट्री खोल्नको लागि मेसिनरी खरिद गर्दै थियो उनको प्रकाश इन्जिनियरिङ कम्पनी । यति बेला विजय शमशेर उद्योग परिषद्को अध्यक्ष थिए । त्यसले स्वीकृति दिइसकेको थियो । बैना पनि गइसकेको थियो । यसबारे जे कागजपत्रहरू उपलब्ध छन् त्यसको आधारमा हामी आगामी दिनहरूमा यथासम्भव शृङ्खलाबद्ध छलफल गर्नेछौँ ।

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x