विचार

विचार

पत्रकारिता त गर्नुहुन्छ, अनि काम चाहिँ के गर्नुहुन्छ नि ?

खराबीको भैँसी छ, भलै जुम्रै नदेखेको किन नहोस् !

विमल आचार्य |
चैत २४, २०७७ मगलवार ११:६ बजे

- म उठेको छु, मलाई एक भोट । 
- श्रमजीवीको पक्षमा लाग्छु । 
- व्यावसायिकता दिन्छु । 
- पत्रकारिताको प्रतिष्ठा बढाउँछु । 
- शुद्धीकरण गर्छु । 
- सेवा-सुविधाका लागि लड्छु । 

पत्रकारका ‘प्रतिबद्धतापत्र’ वा ‘घोषणापत्र’ वा ‘संकल्पपत्र’ अनेक छन् । दिनरात दलीय अभि-नेताको परिक्रमा गर्ने हामीलाई नारा र वाचा, आश्वासन र गफमा कसले जितोस् ! धन्‍न, अहिलेसम्म कसैले भनेको छैन- पत्रकार बचाउन म सहिद हुन पनि तैयार छु, हाँसीहाँसी फाँसीमा झुन्डिन पनि आतुर छु, मलाई जिताउनुस् हर पत्रकारलाई मेरो जस्तै कारको व्यवस्था गर्छु । 


‘नमस्कार ! नमस्कार !!’ मुद्राका फोटो र बडो लयालु भाकाका भिडियो सोसल मिडियामा छ्यास्छ्यास्ती छन् । यी अलिकलि ममा ट्याग पनि भएका छन् । मेसेन्जर र डीएममा झरेका नि छन् । फोनमा बजेका र एसएमएसमा घुस्रेका नि छन् । उम्मेदवारहरू अड्डामा भेटिन थालेका छन् । म साक्षी किनाराका रूपमा दर्शक बनेको छु । म पनि के कम, भौतिक वा भर्चुअल, भेटिने जति सबैलाई उनीहरूकै भाकामा विश्वास दिएको छु- मेरो भोट तपाईंलाई नै भो, ढुक्क हुनुस् । 

पत्रकार देश दौडाहामा निस्केका छन् । पत्रकारलाई यस्तो बेला चुनाव लागेको छ, जति बेला धेरै पत्रकारलाई तनाव र अभाव आइलागेको छ । कोभिडको बहाना र रनाहामा बेरोजगार (अर्थात् खासमा फ्रिलान्सर) भएका पत्रकारलाई उम्मेदवारको चुनावी भागदौड-खर्चपर्च-सानसौकत-भीडभाड देखेर लाग्दो हो- दिक्क ! 

पत्रकार मित्र ! तपैँ औडाह टोली कि दौडाह टोली ? पत्रकार मित्र ! तपैँ म्यादी पत्रकार कि सदाबहार सोसल पुलिस ? चुनावी पत्रकार कि प्रभावी पत्रकार ? म आफैँ कतातिर, कन्फ्युजमा छु । अनि बडा जान्‍ने भएर प्रश्न सोध्दो पो रहेछु । पत्रकार भएपछि त जवाफ (अझ सत्ताको तर्फबाट) पो दिने हो त, म मुला प्रश्न सोध्दो रहेछु । ‘प्रश्न हराएको पत्रकारिता’ पढेको ह्याङओभर नि हजुर, माफ पाम् !  (जवाफ दिनेको रवाफ थामिनसक्नु छ यहाँ । जवाफ दिने पत्रकार नै ठूलो पत्रकार हुने यहीँ मात्रै होला कि मंगल ग्रहतिर नि यस्तै होला !)

निर्वाचनका रोचक पक्ष कति कति ! राजनीतिको होस् वा पत्रकारिताको, निर्वाचन भनेकै धन हुने, धन जोहो गर्न सक्ने ‘डन’ले लड्ने हो । यसमा आश्चर्जेको बात केही छैन, यही नै लोकतन्त्रको सुन्दर पक्ष हो ।

म कुनै दलको कार्यकर्ता-सदस्य होइन तर पत्रकार हुँ भनेर कसैले भन्यो भने त्यो कमेडी हुन्छ, यहाँ अब ।

त अनौठो बात के छ भने, जो आफ्नै तलब पाइरहेको छैन, आधा तलबमा ओभरटाइम दिइरहेछ, उही सेवा-सुविधाका लागि लड्छु भनिरहेछ । जो साहुका पछिल्तिर (अघिल्तिर देखिँदैन) लुगलुग काँप्छ, उही भनिरहेछ- श्रमजीवीका पक्षमा आन्दोलनै गर्दिन्छु । जो पत्रकारिता कम, पर्चाकारिता बढी गरिरहेछ, उही पत्रकारको प्रतिष्ठा जोगाउने ठेक्का दिइरह भनिरहेछ । जो प्रेस कार्डको आडमा पत्रकारिताबाहेक सबथोक गरिरहेछ, उही शुद्धीकरणको नारा दिइरहेछ । आज रमिता छ इन्द्र हजुर !

यहाँ पत्रकारिताको कक्षामा पत्रकारको नयाँ कोटीकरण पढाउन ढिला भइसकेको छ । 

प्रश्न नं. ७ : पत्रकारका किसिम लेख्नुहोस् । (पूर्णांक १०)

दले-दलाले पत्रकार । मिसन-कमिसन पत्रकार । दाइ-कमरेड पत्रकार । पीए-पिए पत्रकार । फेस्बुके-युट्युबे पत्रकार । (आई)एनजीओ-जीओ पत्रकार । साहु-हाहु पत्रकार । भाइरल पत्रकार । र्‍याल पत्रकार । स्याल पत्रकार  । सारौँ पत्रकार । कपी-पेस्ट पत्रकार । कर्पाेरेट पत्रकार । सिन्डिकेट पत्रकार । विशेषणै विशेषण छन्, पत्रकारका । विशेषणविनाको केवल एक शब्दे ‘पत्रकार’ भेट्नु महामुस्किल छ । पत्रकारिताका 'डीआई' हुने त यहाँ ‘साँस्था’का अगुवा, ‘साँस्था’ पत्रकारिता नै आदर्श भएपछि, सक्किगो नि ! 

पत्रकारै पत्रकारको भीडभाडमा पत्रकारकै स्वर बसेको छ । खास पत्रकारको कलम-कोलम मिडियाबाट सोसल मिडियामा खुम्चेको छ । खास पत्रकारको गाँस खोसिएको छ, ऊ कारबाही भोगिरहेको छ तर बकबास पत्रकारको भने वाहवाही छ । धन्दाकारिता गरिरहेको धुन्धुकारी पत्रकार बढुवा खाइरहेछ, पुरस्कार र सम्मान थापिरहेछ, नियुक्ति पड्काइरहेछ । अनि यस्तोमा विवेक र ब्रह्मले देखेको लेखि-बोलिरहेको पत्रकार नारैनाराबीच किनारा लाग्दो छ । रीत बुझिनसक्नु छ ।  

कागजहरू हुँदै इकागजमा छु । हुनलाई म पत्रकारै हुँ । तर फेरि सोच्छु- म हैन कि क्या हो । मलाई यस्तो नि लाउँछ । पत्रकारहरू यत्रो चुनावमा छन् । म भने अचम्मलाग्दोसँग उसै तनावमा छु । आखिर मलाई किन कहिल्यै चुनाव नलाग्या होला ? म आफैँलाई चिमोट्छु । जवाफ छैन मसित (प्रश्न मात्रै छ) । चुनावविरोधी, आस्थाविरोधी, कतै म नचाहिँदो रूपमा अराजकजस्तो त भइरहेको छैन ? के म अराजक देखिन चाहिरहेको, (अ)टेन्सन लिन खोजिरहेको त छैन ? खै, मलाई थाह छैन !

मैले मेरा नेताज्यूहरूको लिस्ट हेरेँ । धेरैलाई त म चिन्दिनँ पो रैछु । दोहोरो चिनजान भएका त धेरै नै कम मात्र । हैट् ! मेरो ताल । उहाँहरूलाई मिडियामा नपढ्नु-नसुन्‍नु-नहेर्नु-नदेख्नु मेरै समस्या होला । म स्वीकार्छु । देशमा दसौँ हजार पत्रकार हुनुहुँदो रहेछ, मलाई थाहै थिएनछ । 

पत्रकारहरूको इज्जत र प्रतिष्ठा कस्तो छ ? उर्लिंदो छ कि ओर्लिंदो ? पत्रकारमा बिगार्न सक्ने ‘शक्ति’ छ, त्यसैले मात्र सम्मान गरे जस्तो गरेका हुन्, हर्दम यसो भन्छन् रघु लामिछाने दाइ । 

आफैँप्रति कठोर हुन गाह्रो छ । तर, आत्मसमीक्षा ऐच्छिक प्रश्न होइन । यो अनिवार्य छ । 

समाजका हर क्षेत्रजस्तै छ, पत्रकारिता । यसमा राम्रा कुरा पनि छन् । नराम्रा कुरा पनि । पत्रकारिताले हर क्षेत्रका कमजोरी देखाउँछ र देखाउनुपर्छ । हो, राम्रा कुरा पनि देखाउनुपर्छ । तर, पत्रकारिताको आत्मा प्रश्न हो । कमजोरीले प्रश्न जन्माउँछ, उपलब्धिले जवाफ । पत्रकारिताको प्राथमिकतामा प्रश्न पर्छ र पर्नुपर्छ । जब समाचार-विचार (सबै सञ्चार माध्यम बुझियोस्) मा प्रश्नवाचक (?) चिह्नभन्दा पूर्णविराम (।) धेरै हुन्छन् नि, अनि लाग्छ- पत्रकारितामा पूर्णविराम । 

पेसा (पेसा निर्दोष छ) विकृत बन्दो छ । यसमा विसंगति र असंगति बाक्लिँदा छन् । मैले यसो भन्दा कतिपय भन्छन्- खराब छ भन्‍ने जानीजानी फेरि किन लागेको छस् त यही पेसामा ? मेरो अव्यक्त जवाफ रहन्छ- साथी ! तिमी पनि जीवन बाँच्ने उपक्रमप्रति सन्तुष्ट छैनौ, के म यसो भनूँ- असन्तुष्ट छु भन्‍ने जानीजानी तिमी किन बाँचेका छौ, आखिर मर्दैनौ किन यार ?  

असन्तुष्ट पनि भइरहने हो । हिँडि पनि रहने हो । विवेकलाई बन्धकी राखेर धक मानी मानी बाँच्ने चाहिँ होइन । गल्ती गर्ने हो तर गल्तीलाई गन्ती गर्दै जीवनभर रोइरहने होइन । छाती खोलेर (पुरुषवादी भएकामा क्षमाप्रार्थी छु) बाँच्‍ने अर्थात् लेख्‍ने हो । मनलाई मान्‍ने हो, न कि मालिकलाई । 

सोमबार । रातिको १२ बजेर ४२ मिनेट गयो । म बहकिएँ । अक्सर रातिमा म धेरै बहकिन्छु ।

अहिले सञ्चार संस्थाको बाढी नै आएको छ क्यारे । अनि बाढीमा पानी धमिलो हुनु अचम्मको कुरै होइन । बाढीमा माथि-माथि तैरिनेमा फेरि हल्काफुल्का पातपतिंगर नै हो, कसिंगर नै हो । ढलपल ढलपल गर्दै बग्दै गएपछि ढल पनि संग्लिन्छ । बस्, समय लाग्छ । 

हाम्रा उपभोक्ता अर्थात् पाठक-दर्शक-श्रोताको मिडिया साक्षरता बढ्दै जाँदा दिन को पत्रकार कस्तो, को मिडिया पानीमाथिको ओभानो, दूधको दूध पानीको पानी छुट्टिइहाल्छ । अहिल्यै धेरै चिन्ता गर्नुपर्ने कुरो छैन । तर चिन्तन गर्नुपर्ने कुरा धेरै छन् । अरूलाई सुसूचित गर्ने भनाउँदा हामी कति जिम्मेवार छौँ ? सूचित, कुसूचित वा सुसूचित के गरिरहेछौँ ? 

शिक्षा दुई किसिमले प्रसार हुन्छ- रुख उठे जसरी ठाडो र खोला बगे जसरी तेर्साे । स्कुल-कलेजमा हुन्छ, रुख जसरी सीमित शिष्यमा व्यवस्थित शिक्षा । सञ्चार माध्यमबाट हुन्छ, नदी जसरी असीमित क्षेत्रमा, आफ्नै तालमा शिक्षा । स्कुल र सञ्चार माध्यममध्ये कसको बढी प्रभाव ? हिन्दी भाषा स्कुलमा पढिन्‍न तर टिभी हेर्ने धेरै बच्चालाई रटटट आउँछ, अचेल । अंग्रेजी भाषा स्कुल र सञ्चार दुवैतिर हुँदा पनि अलि गाह्रै गाह्रै छ । घरमा बोलिने नेपालीभन्दा कार्टुनमा आउने हिन्दी पो सहज हुँदो छ ! मिडियाको आधार इलाका व्यापक छ, यो एउटा उदाहरण मात्र ।

जब समाचार-विचार (सबै सञ्चार माध्यम बुझियोस्) मा प्रश्नवाचक (?) चिह्नभन्दा पूर्णविराम (।) धेरै हुन्छन् नि, अनि लाग्छ- पत्रकारितामा पूर्णविराम ।

शिक्षित-दीक्षित गर्ने शिक्षक-प्राध्यापकभन्दा असीमित शक्ति छ, पत्रकारितामा । अध्यापकको लेक्चर सय जनासम्म पुग्ला, पत्रकारको लेख सय हजारसम्म पुग्न सक्छ (भलै यो लेख सय जनामै नपुगेको चाहिँ किन नहोस्) । यस्तो प्रभावशाली पेसा अँगालेका हामी पत्रकार चाहिँ कस्ता छौँ त ? 

कुरो नचपाई भनूँ ? हामी छाडा छौँ । हामी आफूलाई सर्वगुणसम्पन्‍न ठान्छौँ । राजनीतिक बिटमा काम गर्नेले आफूलाई प्रधानमन्त्री वा सो सरह शक्तिशाली ठान्छौँ । कला बिट हेर्नेले ऐना हेर्दा आफूलाई नीर शाह वा लक्ष्मीप्रसाद देवकोटा पाउँछौँ । भाइरल भइयो भने त आफूलाई महावीर वा गोविन्द केसीभन्दा ठूलो समाजसेवी वा त्यागी भन्ठान्छौँ । दुई चारवटा लेख हिट होस् वा किताब चलोस् वा पुरस्कार पाओस्, हामी चिन्तक प्रदीप गिरि वा चैतन्य मिश्र भइगयौँ । कृष्णप्रसाद भण्डारी वा शम्भु थापा पनि हामी, कल्याण श्रेष्ठ वा सुशीला कार्की पनि हामी नै । 

यस्तो लाग्छ, पत्रकारका पर्यायवाची संज्ञा स्वाङ र पुङपाङ हुन् । क्षमा, विनम्रता, स्वीकार, गम्भीरता, धैर्य हाम्रा शब्दकोशमा त यदाकदा होलान् कि, मनकोशमा चाहिँ खासै हुँदैनन् । अरु अर्थात् सबै जस्तै हामीसित पनि खराबीको भैँसी छ, भलै देख्नेले हामीमा खराबीको जुम्रै नदेखेको किन नहोस् ! 

भनिन्छ, शब्द ब्रह्म हो । तर, हामी यसको प्रयोग यसरी गर्छौँ- न हामीलाई अर्थ थाह छ, न हामीलाई यसको प्रभाव-दुष्प्रभावबारे थाहा छ । हाम्रा शब्दले मान्छे शव बनेको छ, के यो बन्दुकले मान्छे मारेको भन्दा सानो अपराध हो ? बन्दुक बोकेको मान्छेले जथाभावी चलाउँदा एक वा केही मान्छे मर्लान् तर हामीले एकसाथ लाखौँलाई दिग्भ्रमित-पीडित-आतंकित बनाइदिन सक्छौँ । अचेल त हामी लेख्दैनौँ- ठोक्छौँ । अचेल त लेख्दैनौँ हामी- बोक्छौँ । हाम्रो ठोकाइ र बोकाइ दुनियाँलाई थाहा छ, तर हामी स्वतन्त्र, तटस्थ, व्यावसायिक पत्रकार हौँ भन्दै सारौँझैँ चिच्याउँछौँ । 

गोली र बोली फिर्ता हुँदैन । यी चलाउनुपूर्व नै एकदम सोचविचार गर्नुपर्छ । तपाईं देउवाको दैलो टेक्नुस् तर निर्वस्त्र देउवाको लाज छोप्ने दौरा नबन्‍नुस् के । ओलीको बोली ल्याउनुस् तर अन्तर्वार्ताका नाममा नागरिकका प्रश्न नसोधी वाक्कै लाग्ने गरी प्रशस्तिगान मात्र नभट्याउनुस् । प्रचण्ड वा माधव नेपालका जुँगाबारे सयौँ थुँगा गाउनुहुन्छ अनि भन्‍नुहुन्छ- म श्रमजीवीका पक्षमा छु, झुट बनोल्नुस् तपाईं, तपाईं शरमजीवीका साथमा हुनुहुन्छ । 

पतित प्रगतिशील, कठपुतला क्रान्तिकारी, स्खलित समाजवादी, कलंकित कमल थापाहरूको ‘गीता’ मात्र नगाउनुस्, तीबाट पीडित नागरिकको ‘महाभारत’ लेख्नुस्, सुनाउनुस्, देखाउनुस् । तब पो पत्रकार ! तब पो तपाईं मेरो नाइके, नत्र त झोले-झुन्डेहरूलाई भन्‍नैपर्छ मैले, नाइँ के !  

विचार र आस्था त सबैको हुन्छ । यो को मुला हो, आफूलाई बडा जान्‍ने हुँ भन्‍ने ? विजय टाइपमा ठुकु हानिराछ त ? बडा स्वतन्त्र र तटस्थको गफ दिइराख्या छ त ! तपाईंको मनमा यस्तो प्रश्न आयो । म स्वागत गर्छु । हो, विचार सबैसँग हुन्छ । आस्था सबैसँग हुन्छ । र, यो हुनैपर्छ, हुन्छ नै भन्‍ने पनि छैन । आस्था स्थायी हुन्छ भन्‍ने कथन पनि अब स्वयं अस्थायी कथन हो । म सिद्धान्तविहीन छु भन्‍नु पनि सिद्धान्तै हो । मेरो केही विचार छैन भन्‍नु पनि विचार नै हो । (१६ पटकसम्म विचार-मत नदिने झलनाथ खनालको चट्टानी अडान त विचार-पार्टी हो यहाँ ।) तटस्थ छु (हुँदैन खासमा) भन्‍नु पनि पक्षधरता हो । यो अनौठो कुरो छैन । 

म पनि मान्दिनँ- पत्रकारिता तटस्थ हुन्छ । खास खास अवस्थामा म तटस्थ रहन्‍न । म सामाजिक न्याय, समता, सशक्तीकरणको पक्षपाती हुँ । यसमा म न भूमध्यरेखा मान्छु, न लक्ष्मणरेखा । रेखाहरू नाघिन्छ । समानताका लागि गरिने असमान व्यवहारमा म समता देख्छु । यो मानवताकेन्द्री दृष्टि हो । पत्रकारितामा यसको खास अर्थ रहन्छ । 

धेरै बहकिएँ अब अन्त्यमा, 

फलानो उम्मेदवार फलानो दलको, फलानो गुटको, फलानो नेताको, फलानो साहुको, फलानो ... । पत्रकार पत्रकारिताबाट हैन, पोल्टापोल्टाबाट निस्किरहेछन् । सामुदायिक स्कुलदेखि विश्वविद्यालयसम्मका संस्था दलको दलदलमा भासिएका छन् । दलदलको चिन्ता गर्ने मिडिया हो र हुनैपर्छ । तर, मिडिया स्वयंको दलदलको चिन्ता कसले गरिदिने ? आफूलाई व्यावसायिक भन्‍ने मिडियाले दलको सदस्यता लिएका ‘पत्रकार’लाई काम लगाएर व्यावसायिक पत्रकारिता कतिन्जेल भनिरहने ?

अरु अर्थात् सबै जस्तै हामीसित पनि खराबीको भैँसी छ, भलै देख्‍नेले हामीमा खराबीको जुम्रै नदेखेको किन नहोस् !

दलविशेषको घोषित कार्यकर्ता (आस्थाको कुरा ठीक छ) भएको पत्रकारले गुण-दोषका आधारमा कसरी रिपोर्टिङ गर्ला ? अनि उसको पक्षकारिताबाट आमनागरिकमा कस्तो सूचना-शिक्षा सम्प्रेषण होला ? आँखा खुल्दादेखि आँखा चिम्लिँदासम्म मान्छे अहिले सञ्चारको संसारमा हुन्छ । आठ घन्टा मनोरञ्जन भनेकै अब मिडिया-सोसल मिडियाको समय हो । मिडिया मनोरञ्जन वा कमेडी मात्र हो भने त केही छैन, तर चौथो अंग पनि हो भने जिम्मेवार हुनुपर्‍यो । जवाफदेही हुनुपर्‍यो, जेपीटी त सरकार पनि हुन्छ  ।

भजन गाउँदागाउँदा हाम्रो वजन चौपट भएको छ है । अलिकति कुरो बुझ्‍नेले हामीलाई भन्‍न थालेको छ- 
- ऊ आयो माग्‍ने, केही दिएर पठाइदेऊ । 
- पत्रकारिता त गर्नुहुन्छ, अनि काम चाहिँ के गर्नुहुन्छ नि ? 
- पत्रकारलाई तलब आउँछ र ? 
- लोकसेवा-सोकसेवा दिन, व्यापार-उद्यम गर्न छोडेर किन यस्तोमा लागेको ? 

मुखले नभन्लान्, मनले यस्तो भनिरहेका हुन्छन् । यसो किन भन्छन्-भन्ठान्छन् त ? यसो नभन्‍ने वातावरण नै छैन देशमा ।  गुण-दोषका आधारमा आलोचना/प्रशंसा गर्ने विवेकी मान्छे पनि हुन्छन् है भन्‍ने विश्वास लाग्‍न छोडिसक्यो, अब धेरैलाई । म कुनै दलको कार्यकर्ता-सदस्य होइन तर पत्रकार हुँ भनेर कसैले भन्यो भने त्यो कमेडी हुन्छ, यहाँ अब । 

जुन देशमा मिडिया र अदालतप्रति प्रश्न उठ्छ । शंका उब्जिन्छ । यिनले विश्वास गुमाउँछन् । तब समाजमा प्रश्न नै सकिन्छन् । प्रश्न सुक्नु सुन्धारा-ढुंगेधारा सुक्नुभन्दा खतरनाक छ । यो लोकतन्त्रको स्वास्थ्यका लागि हानिकारक छ । अरू क्षेत्रको ऐना देखाइदिने मिडिया र करेक्सन गर्ने अदालत हो । यी क्षेत्र नै पावरतन्त्र र पैसातन्त्रको मुखपत्र बने भने त उज्यालो कहीँबाट छिर्नेवाला छैन । जोगाऊँ, उज्यालाका बीउ । 

हामीले छान्‍ने नेता पत्रकारिता पेसालाई बदनाम गर्ने व्यक्ति हो कि होइन ? ऊ विवेक बन्धकी राखेको दास हो कि प्रेस पास मात्र बोकेको जिउँदो लास ? पत्रकारिताका मास्कधारीबाट संस्था नबचाई पत्रकारिता बच्दैन । पत्रकारिता पोखरी हो, हामी त्यसभित्रका माछा । पोखरीलाई बिखालु-प्रदूषित पारेर माछाले म बाँच्छु भन्‍नु मिल्दैन । मालिककारिता-पर्चाकारिता गर्नेहरूसँग पत्रकारकै योग्यता छैन भने पत्रकारको नेता बन्‍ने योग्यता चाहिँ कसरी छ ?  

सय वर्ष पुग्‍नै लागेका भैरव रिसाल हुन्, अहिलेका युवा पत्रकार । किनकि म उनलाई अहिले पनि हर साता पढ्छु ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x