विचार

समुन्‍नत नेपाल

भ्रष्टाचार र गरिबीको लगनगाँठो

श्‍याम कार्की |
साउन १, २०७९ ७:५८ बजे

राष्ट्रिय योजना आयोगअनुसार नेपाली जनसंख्याको झन्डै १७.४ प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनी जीवन बिताइरहेका छन । विश्व बैंकको तथ्याङ्कअनुसार नेपालको १५ प्रतिशत जति जनसंख्या अन्तराष्ट्रिय मापदन्डमा गरिबी रेखामुनि रहेका छन । अन्तराष्ट्रिय मापदन्डमा गरिबीलाई आधार मानी दक्षिण एसियाली मुलुकहरूमा  गरिबीको अवस्था हेर्ने हो भने  मालदिभ्स सबैभन्दा कम र भारत सबैभन्दा बढी गरिबी भएको देशको रूपमा रहेका छन । क्रमागत रूपमा हेर्ने हो भने नेपाल भारतभन्दा एक स्थान अगाडि रही सातौं स्थानमा रहेको छ ।

नेपाल प्राकृतिक स्रोतको दृष्टिकोणले सम्पन्न छ । जलस्रोतमा धनी छ । युवाको जनसंख्या धेरै भएको देश, हरियो बन, उर्बर जमिन, जडिबुटी, भौगोलिक विविधता लगायतका स्रोत र साधनमा नेपाल धनी रहेको छ । आर्थिक विकासलाई आवश्यक पर्ने प्राकृतिक स्रोत–साधनहरू पर्याप्तरूपमा हुँदा हुँदै पनि नेपालले किन आर्थिक विकास गर्न सकेन ? समकालीन समयमा यो सबैभन्दा महत्वपूर्ण प्रश्न बनेको छ । व्यापक प्राकृतिक स्रोतसाधन हुँदाहुँदै बाबजुद पनि देशले आर्थिक विकास गर्न नसक्नु र गरिबी उकासिनुको पछाडि सबैभन्दा महत्वपूर्ण कारण भनेको नेपाली समाज तथा शासनमा माथिल्लै स्तरमा हुने भ्रष्टाचार नै हो ।


साधारण अर्थमा भन्ने हो भने अख्तियारीको दुरुपयोग गरी व्यक्तिगत स्वार्थ पूर्ति वा फाइदा वा आम्दानी गर्नुलाई भ्रष्टाचार भनेर लिन सकिन्छ । भ्रष्टाचार न्यूनीकरण सम्बन्धी विगत लामो समय देखि काम गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले व्यक्तिगत लाभ गर्नु अख्तियारीको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो भनेर परिभाषित गरेको छ । नेपाली समाजमा हेर्ने हो भने घुसकान्ड, ठगी, फिरौती, नाताबाद, कृपावाद, पक्षपात जस्ता कुराहरूको समष्टिगतरूपनै भ्रष्टाचार हो भन्न सकिन्छ । यसका संगसंगै कार्यसम्पादनमा गरिने ढिलासुस्तीलाई पनि भ्रष्टचारको एउटा पाटो भन्न सकिन्छ । कार्यसम्पादनमा हुने  गरेका ढिलासुस्तीका कारण विकासका कार्यहरूमा अबरोध भएर आम जनताले विभिन्न प्रकारका सास्तीहरू भोग्न बाध्य हुनु पर्दछ ।

प्रस्तुत ग्राफ विश्व बैकको गरिबीको तथ्यांक र टान्सपरेन्सी ईन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांङ्कमा आधारित रहेको छ । यो तथ्यांक लिने क्रममा विश्व बैंकमा भएको गरिबीको तथ्यांकलाई आधार मानिएको छ र प्रस्तुत देशको जुन वर्षको गरिबीको तथ्यांक विश्व बैंकसँग छ सोही वर्षको भ्रष्टाचार अवधारणा सूचकांङ्कलाई समेटिएको छ । विश्व बैकको तथ्यांकले गरिबीको रेखामुनी रहेका जनसंख्याको प्रतिशतलाई देखाएका छ भने टान्सपरेन्सी ईन्टरनेशनलको तथ्यांकले कुल १०० अंकलाई कम भ्रष्टाचार र ० अंकलाई बढी भ्रष्टाचार भएको देशकोरूपमा प्रस्तुत गरेको छ । प्रस्तुत ग्राफले माथिल्लो तहकै 
भ्रष्टाचार भएका देशमा उच्चस्तरकै गरिबी रहेको देखाउँदछ भने थोरै भ्रष्टाचार रहेको देशमा गरिबीको अवस्था पनि थोरै भएको देखाउँदछ । 

नेपालको अवस्था पनि अपवाद छैन । हाम्रो दिनहुँ जसो हरेक कार्य सोझै र घुमाउरोसंग भ्रष्टाचारसँग जोडिएका छन । जस्तै हामीले खाने पानीको उपलब्धता वा गुणस्तर, हामीले हिडने सडक तथा बाटाघाटाको अवस्था, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूले प्रवाह गर्ने सेवा वा वस्तुको गुणस्तर, न्यायालयबाट हुने फैसला, विद्यालय वा विश्वविद्यालयमा हुने पठनपाठन तथा त्यसको गुणस्तर, भन्सार या राजस्व संकलन केन्द्रहरूले उठाउने राजस्व स्तर, नीति निर्माण गर्ने संस्थाहरूले निश्चित वर्ग तथा समुदायको स्वार्थमा नीति नियम बन्नु, सहयोग या अनुदान वितरणसँग सम्बन्धित सरकारी गैरसरकारी संघसंस्थाहरूको जवाफदेहिता यसका केही उदाहरण हुन । यस्ता सार्वजनिक निकायहरूले गर्ने सेवा प्रवाहको गुणस्तरलाई भ्रष्टाचारले ग्रस्त पारेको छ । नेपालका सार्वजनिक निकाय लगायत 
जताततै भ्रष्टाचारले गाँजेको छ । परिणामतः स्रोत साधन भएर पनि देशले आर्थिक विकास गर्न सकेको छैन भने नागरिक गरिबीको दुष्चक्रको पासोमा परेका छन् ।

देश र जनताका लागि काम गर्ने अठोट लिएर पदमा पुगेका व्यक्तिहरू आफू केन्द्रित कार्यमा लाग्दा आज नेपाली समाजलाई भ्रष्टचारले कम्जोर बनाएको छ । दिनहुँ बढदै गएको धनी र गरिबबीचको खाडल, आफ्नो देशमा रोजगारीको अवसर नपाई बिदेसिएका युवाहरूको लावालस्कर, निर्माण कार्य सम्पन्न नहुँदै भत्किन सुरु भएका सडकहरू या भाचिएका पुल तथा कल्भर्टहरू, न्याय पाउने आशमा वर्षौंसम्म न्यायालय धाइरहनुपर्ने निरिह नागरिकको बाध्यता त्यसै हुने कुरा होइनन । बरु यी सबै देशमा झाङ्गिदो भ्रष्टाचारको उपज हो ।

राजस्व, मालपोत, भन्सार, यातायात जस्ता कार्यालयहरू सरकारी कर्मचारीहरूको प्रमुख रोजाइमा पर्दछन् । यसरी धेरैजसो कर्मचारीहरूको प्रमुख रोजाइमा पर्नुको कारण त्यहाँ गर्न सकिने ठूलो थप आम्दानी हो । यस्तो थप आम्दानी भ्रष्टाचारसँग जोडिएको छ । सेवाग्राही नागरिकलाई दुख्ख दिएर उनीहरूबाट घुस लिएर त्यहाँका कर्मचारीले थप आम्दानी गरिरहेका छन । सर्वसाधारण नगारिक सेवा लिन जाँदा घुस चढाउन बाध्य छन् ।

यी विभाग, कार्यालय भने राष्ट्रको अर्थतन्त्र विकाससंगै जनताको जीवनशैलीलाई सकारात्मक रूपमा र्फेन महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रहरू हुन । तर यी क्षेत्रहरूमा हुने व्यापक भ्रष्टाचार नेपालको विकासको प्रमुख बाधक बन्न पुगेको छ । निर्माणका क्रममा चिनजान या आफ्नो पार्टीमा आबद्ध कार्यकर्तालाई ठेक्का दिने, सरकारी सहयोग वा अनुदानको अनुचित प्रयोग जस्तै काम गर्नेलाई नभई आफ्ना कार्यकर्तालाई वितरण गर्ने कार्य पनि भ्रष्टाचार हो ।

वास्तविक कृषक जसले विहान उठेदेखि बेलुका सुत्ने बेलासम्म खेतबारीमा समय दिन्छ, यस्ता कृषकहरूलाई कृषि अनुदान नदिकन व्यवसाय दर्ता गरी कागजमा मात्र व्यवसाय गरिरहेका टाठाबाठाले कृषि अनुदान पाउने कुरा नेपाली समाजमा नौलो कुरा होईन । हेर्दा या सुन्दा सामान्य जस्तो लागेता पनि यस्ता क्रियाकलापहरूले वास्तविक कृषकलाई सोझै असर गर्छ । कृषि उत्पादनमा ह्रास आउँछ । तिनमा निराशा बढदछ । यस्ता क्रियाकलापहरूले वास्तविक कृषकहरूको मनोबल घटाउने हुँदा कृषिसंग आवद्ध हुने कृषकहरूको संख्या दिनहुँ घटाउँदै लैजान्छ ।

साधारण मानिसले सरकारी कार्यलयहरूबाट सहजरूपमा काम लिन या त चिनजानका कर्मचारी हुनुपर्यो, वा राजनीतिक दलका नेताको शक्ति प्रयोग गर्नसक्ने पहुँच हुनु पर्‍यो । यस्तो छैन भने लाग्ने रकम भन्दा बढी थप रकम घुसकोरूपमा दिनुप्यो । सरकारी कामकाज, कर्मचारी नियुक्ति, विकास निर्माणका कार्य जस्ता आम जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने स्थानमा भ्रष्टाचारले जरो गाडेर बसेको छ । पहुँच वा पैसा हुने व्यक्तिले त जसरी पनि आफ्नो काम लिन्छन तर गरीब दुःखीहरूले भने यसको ठाडै बढी असर भोग्नुपर्ने पर्ने हुन्छ । यस्तो हुँदा गरीबहरू अझै गरिबीको दुष्चक्रमा फस्छन र उनीहरूका पुस्तौं पुस्ता गरिब नै भएर बाँच्नुपर्ने बाध्यता दोहोरिई रहन्छ ।

नेपालमा सडक निर्माण कार्यमा व्यापक भ्रष्टाचार भएको पाइन्छ । सडक यातायात देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । नेपालमा निर्माण भईरहेका अधिकांश सडक र अन्य भौतिक पूर्वाधार गुणस्तरहिन रूपमा निर्माण भईरहेको देखिन्छ । निर्माण गरेको एक वर्ष पनि यस्ता पूर्वाधार सञ्चालन नभईकन बिग्रने तथा भत्कने कुरा नेपालमा अत्यन्तै सामान्य जस्तै भएको छ । नेपालले निर्माण गरेका सडकहरू कति गुणस्तरहीन छन भनेर बुझ्न जापान सरकारको सहयोगमा निर्माण भएको तीनकुनेबाट सूर्यविनायक सम्मको सडक र धुलिखेल देखि सिन्धुलीसम्म सम्मको बिपि राजमार्गलाई मात्र राम्रोसँग हेर्ने हो भने फरक छुटयाउन सकिन्छ । त्यही भुगोलमा जापानले बनाएको सडक चाहि एक दशकसम्म राम्रोसँग चल्ने तर नेपाल सरकारले बनाउने सडक, गरेको कालोपत्रे चाहि १ वर्ष पनि राम्रोसँग नचल्नुको पछाडीको कारण के हो ? यसको सहज जवाफ छ भ्रष्टाचार । भौतिकपूर्वाधारमा भईरहेको यस किसिमको भ्रष्टाचारले नागरिकलाई गरिबीको रेखामुनी धकेल्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

अर्को महत्वपूर्ण कुरा भ्रष्टाचार मात्र नेपालमा मात्र भएको भने पक्कै होइन । दक्षिण एसियाली देशहरू लगायत कति अफ्रिकी मुलुकहरूमा पनि यो एक महत्वपूर्ण समस्याकोरूपमा रहेको छ । यसरी गरिब मुलुकहरूमा भएको भ्रष्टाचारलाई गहिरोसंग हेर्ने हो भने भ्रष्टचार र गरिबीको बिचमा गम्भीर सम्बन्ध छ भन्ने बुझन सकिन्छ । भ्रष्टाचारले देशको विकासमा कस्तो प्रकारको असर पुर्याउँछ भन्ने कुराका बारेमा विगतमा पनि धेरै अध्ययनहरू भइसकेका छन । भ्रष्टाचार नियन्त्रण गर्ने तरिकाहरूको बारेमा पनि धेरै लामो समयदेखि विभिन्न देशमा विभिन्न अभ्यासहरू हुँदै आएका छन । जस्तै प्रत्यक्ष निगरानी, पारदर्शिता, सार्वजनिक सुनुवाई, आधुनिक प्रविधिको प्रयोग लगायतका अभ्यासहरू नेपालले पनि अबलम्बन गरेको छ ।

आफ्नो काम कर्तव्य र समाज प्रति इमान्दार र उत्तरदायी बन्नु नेपालमा व्याप्त रहेको भ्रष्टाचार न्यूनीकरणमा एक महत्वपूर्ण कर्तव्य हुन सक्दछ । अख्तियार प्राप्त अधिकारी आफ्नो कामप्रति इमान्दार र जवाफदेही हुन सके भने हाल नेपाली समाजमा व्याप्त भ्रष्टाचार मनग्य घटदछ । अर्को कुरा जुन बजेट जुन कामका लागि छुट्याइएको हो त्यसकै लागि प्रयोग गर्ने सुस्पष्ट बलियो प्रणालीको विकास हुनु छ । उदाहरणको लागि जापानियाँहरू हरेक महिना हुने आफ्ना घरायसी खर्च जस्तै पत्रपत्रिकाको मासिक शुल्क, दैनिक उपभोग्य सामान किन्दा र स्वास्थ्य र शिक्षाका लागि भनेर छुट्याइएको पैसा छुट्टाछुट्टै राख्ने गर्दछन । उनीहरू चिनी किन्न छुट्याएर राखेको पैसा पत्रिकाको मासिक शुल्क तिर्न कुनैपनि हालतमा उपयोग गर्दैनन । जुन पैसा जुन कामको लागि छुट्याइएको हो त्यसका लागि मात्रै लगाउने गर्छन् ।

नेपालमा बजेटमा विनियोजन गरिएको रकम ११ महिना सम्म खर्च नगर्ने अनि अन्तिम महिनामा आएर रकमान्तर गरी जथाभावी खर्च गर्ने प्रथा झाँगिदै गएको छ । यसले स्रोतको दुरूपयोग सिवाय केही गर्दैन । यस्ता गलत अभ्यासहरूलाई अन्त्य गर्दै भ्रष्टाचारलाई नियन्त्रण गर्ने तर्फ सबैको साझा पहल हुनु जरुरी छ । यो एउटा उदाहरण हो । नेपालले भ्रष्टाचारलाई जति छिटो नियन्त्रण गर्न सक्छ त्यत्ति नै छिटो गरिबी निवारण पनि अघि बढन सक्छ ।

*समुन्नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ । प्रतिक्रियाको लागि : [email protected]

 

समुन्‍नत नेपालका यसअघि प्रकाशित लेखहरू 


Author

श्‍याम कार्की

(विकास अर्थशास्त्रमा विद्यावारिधी गरेका कार्की सोका विश्वविद्यालय जापानमा प्राध्यापनरत छन् ।)


थप समाचार
ad
x