विचार

संस्मरण र अनुभूति- २४

लामो निरन्तरतासँग मिसिएको छोटो यात्रा

वसन्त लोहनी |
साउन ७, २०७९ ६:५७ बजे

२००१ सालको वैशाखको पहिलो त्यो हप्ता। तीन छोरी छोरीपछिको पहिलो छोरा प्रकाशको जन्म। खुसीले घर आँगन प्रकाशमय भएको बेला। वेदप्रसादले मनमा गुनिरहेको उद्योग व्यवसायको थालनी छोराको नाम राखेर सुरु गरेको प्रकाश इन्जिनियरिङ कम्पनी। यो नै नेपालको पहिलो निर्माण कम्पनी हो। तर वेदप्रसाद निर्माण कार्यमा मात्र सीमित रहन चाहँदैन थिए। एक सय रुपैयाँ मासिक जागिर खाने इन्जिनियरिङ पढाउने शिक्षक वेदप्रसाद भुईँमा थिए र भुईँबाट उठ्न खोज्दै थिए। उनीलाई पैसा कमाउनु परेको थियो मुलुकमा केही गर्न। पैसा कमाउनको लागि पैसाको लालच भने थिएन उनको।

उनको उद्देश्य चाँडो पुजी निर्माण गर्नु थियो उद्योग खोल्ने पुजी जुटाउनको लागि । विदेशबाट सामान झिकाएर बेचेर मुलुकको दीर्घकालीन हित हुन सक्तैन भन्ने कुरा उनले बुझेका थिए। यदि त्यो सोच नभएको भए व्यापार मात्र गरेर बस्थे होलान् जुन राम्रोसँग चलेको थियो २००५ साल तिर। या, जमीन किनेर राख्थे होलान् दुई चार सय रोपनीमा काठमाडौँभित्र। उनीसँग पर्याप्त नगद जम्मा भइसकेको थियो २००५ सालमा आइपुग्दा। त्यति बेलाको पास बुकले देखाउँछ चार पाँच लाख नगद चल्ती खातामा जम्मा भइसकेको व्यापारबाट कमाएर । उनी व्यवहारिक मान्छे थिए र कर्मकाण्डी अर्थशास्त्रीको भन्दा धेरै अगाडिको अर्थशास्त्रको सोच थियो उनको। मुलुकमा केही गर्न चाहन्थे, मुलुकको हितको लागि। त्यसैले उनले सो रकम सिमेन्ट फ्याक्ट्री खोल्नमा लगाए।


नगद प्रदायको हिसाबले हेर्ने हो भने राणा, शाह, गुरुज्यू, पुरोहित र शासक वर्ग पछि उनी त्यति बेलाको नेपालको अत्यधिक धनी मध्येको एक धनी व्यक्ति थिए। त्यो कमाएको पैसा सबै उनले उद्योगमा नै होमे, जग्गा किन्ने वा व्यापार बढाउने तिर लागेनन्। यसरी सुरुमा आफूले खर्च गरेर सिमेन्ट फ्याक्ट्रीको प्रारूप तयार पार्नमा चौबिसै घण्टा खटिए। भएको सबै धन लगाए। र, अरू धनीहरू आकर्षित भएर लागनीगर्न पनि आउँदै थिए। यसरी २००५ सालको अन्तदेखि पूर्व सञ्चालनको पहिलो चरणको सम्पूर्ण खर्च उनले आफैले बेहोरेका थिए। यो रकम प्रकाश इन्जिनियरिङ कम्पनीले कमाएको थियो विगत चार वर्षदेखि।

तर २००१ सालमा जब प्रकाश इन्जिनियरिङ कम्पनी खोले उनले, त्यति बेला सुरुमा काम पाउन सकेका थिएनन्। काम पाउने नै कसरी? त्यति बेलाको गुम्बज र फलामको सत्तरी हालेको घर बन्ने बेला। सिमेन्ट ढलानको निर्माण उनले सिकेर आएपछि आफैले सुरु गरेका। सरस्वती सदनको निर्माणले चर्चा त ल्यायो तर पैसा ल्याएन। जागिरे उनी। त्यसैले जागिर भित्र पर्‍यो यो काम। उनको फीस आएन। राजाबाट बक्साउन सके मात्र हो नत्र यस्तो घर बनाउन पाउँदैन थिए कसैले पनि त्यति बेलाको नेपालमा। बक्साउन सक्ने कति जना नै थिए र, त्यस्तो हुनेखाने त्यति बेला? पैसा मात्र भएर पनि नहुने। सामाजिक हैसियत पनि चाहिने। 

त्यसैले वेदप्रसादले प्रकाश इन्जिनियरिङ कम्पनीलाई निर्माणमा मात्र सीमित गरेका थिएनन्। उनले यसलाई इन्जिनियर, एजेन्ट र जनरल मर्चेन्ट भनेर कम्पनीले गर्ने कामको क्षेत्र फराकिलो पारेका थिए। निर्माण मात्र होइन त्यति बेलाको ब्रिटिस इन्डियाबाट सामान ल्याएर काठमाडौँमा बेच्ने सोच पनि उनले यो इन्जिनियरिङ कम्पनी सुरु गर्दा नै बनाइसकेका थिए। तर न बेच्ने कुरा उनीलाई थाह थियो। न त्यो किनेर ल्याउने पैसा उनीसँग थियो। तर थियो प्रशस्त। त्यो हो – हिम्मत, आँट, जाँगर, सीप र आत्मविश्वास।

उनको छोरा प्रकाश जसरी प्रत्येक दिन नयाँ छटा देखाएर परिवारलाई मुग्ध पारेर हुर्किरहेको थियो त्यसरी प्रकाश इन्जिनियरिङ हुर्किन सकेको थिएन। बच्चाको पनि हुर्किदा ‘टिथिङ प्रोब्लेम’ दाँत आउँदाताका समस्या हुन्छ। सायद यसैबाट लिएर होला कम्पनीको पनि 'टिथिङ पिरियड' हुन्छ भन्ने गर्दछन्। यो लामो कथा हुन्छ। त्यस मध्येको एउटा सान्दर्भिक भाग पछिल्लो शृङ्खलामा छलफल गरौला। त्यसैले त्यतापट्टि नजाऊ यतिखेर। अहिलेलाई यति मात्र भनौँ कि वेदप्रसादको कम्पनीले व्यावसायिक यात्रा नै सुरु गर्न सकिरहेको थिएन।

कम्पनीलाई कानुनी भाषामा ‘आर्टिफिसियल पर्सन’ अर्थात् ‘कृत्रिम मान्छे’ भन्ने गर्दछन्। जैविक मान्छेले मर्नै पर्दछ। हाम्रो वैदिक मान्यता हो जीवेत शरद: शतम् अर्थात् एक सय शरद ऋतु बाचोस् भनेर आशीर्वाद दिने। एक सय वर्ष बाचोस् भन्ने। यसको मतलब हो दीर्घायु हुने सय वर्ष सम्म मात्र हो, अपवाद बाहेक। तर ‘कृत्रिम मान्छे’ निरन्तर बाचिरहन्छ उसको आधिकारिक छाप लिएर भन्ने कानुनले परिकल्पना गरेको हुन्छ। र, बाचेको पनि छ जसरी जापानी निर्माण कम्पनी कन्गो ग्यूमी विगत १४४० वर्ष भन्दा बढी समयदेखि बाचेर आएको छ। पाँच सय वर्ष अगाडि यो कम्पनीले बनाएको ओसाका क्यासल ऐतिहासिक मानिन्छ। अझ यस अर्थमा कि यहावाट नै स्थापित समुराइको एकछत्रताले अन्ततः जापानको एकीकरण गरेको थियो। यो कम्पनीको विशेष दखल भनेको बुद्ध मन्दिर बनाउनेमा रहेको छ। र, यो नै विश्वको सबभन्दा बूढो ‘कृत्रिम मान्छे’ अर्थात् कम्पनी हो।

वेदप्रसादको प्रकाश इन्जिनियरिङको यात्रा भने लामो हुन सकेन। त्यतापट्टि लाग्नु भन्दा पहिले अब त्यो छोटो वसन्तमा कस्तो सुन्दर फूल फुल्यो त्यो हेर्नु पर्ने हुन्छ। त्यो भनेको प्रकाश इन्जिनियरिङको त्यो छोटो यात्रा कसरी मुलुकको लामो निरन्तरतासँग मिसिन पुग्यो त्यसलाई हेर्ने जमर्को गरौँ। मुलुकको लामो निरन्तरता भनेको अर्थ-राजनीति हो। पटक पटक नेपालको एकीकरण जमीनको लागि भएको हो। तर दिगो भएन। किनकि सिङ्गो मुलुकको परिकल्पना नै हुन सकेन। जसको कारण मुलुक बन्ने हो तिनीहरूकै अनुहार नै झन् त्यहाँ देखिएन। एकीकृत भएको भूभाग त दाजुभाइमा भाग लगाएर राज्यगर्ने मानसिकताबाट शासकहरू मुक्त हुन सकेनन्। मुलुकको सोच नै थिएन।

पृथ्वी नारायण शाहमा पनि यो सोच सुरुमा होइन एकीकरण भइसकेपछि मात्र आएको हो, सन् १७६९ मा। यो अभ्युदय भयो एकीकृत भूगोलबाट एकीकृत राष्ट्र बनाउनेमा। अर्थात् जो जहाँ बसेका र जे जात र धर्मका, ती सबैले एउटै सम्मिलनको विन्दु फेला पार्न सक्नु पर्दछ, म नेपाली हु भनेर। त्यो अवस्थामा मात्र राष्ट्र बनेको हुन्छ। नेपाल भएको छ र हामी नेपाली हुन सकेका छौ। राष्ट्र चाहिँ बन्दै गइरहेको । यसैको लागि हो राष्ट्रियता। यसरी जोडिन्छ राष्ट्र र राष्ट्रियता। यो यात्रा अझै पुरा भएको छैन। अर्थात् चालु छ। र, चालु रहने छ एउटै विन्दुमा सम्मिलन नहुन्जेलसम्म ।
 
यसलाई अझ हेरौँ। भूगोलले मात्र राष्ट्र बन्ने होइन। राष्ट्र बन्न त्यहाँ बस्ने मानिसहरूको भावनात्मक सँगालो एउटै हुनु पर्दछ। त्यहाँको हर विविधताको - भूगोल, मान्छेको जनावरको र बाच्ने आधारको, सब जोडिन सक्नु पर्दछ त्यो सँगालोमा। सबभन्दा कठिन काम नै यही हो। विश्व इतिहासमा यस्तो काममा कविहरूको योगदान भएको देखिन्छ। जर्मनीको एकीकरणमा त्यहाँका स्वच्छन्दतावादी कविहरूले निर्णायक भूमिका खेले। त्यसको आधारमा बिस्मार्कले जर्मनीको एकीकरण गरेका थिए। त्यसपछि आउँछ राष्ट्रियताको कुरा राष्ट्र बन्दै जानको लागि। 

यहाँनिर जनताको दुख र दुर्घटनाको स्वरूप पनि बन्ने गर्दछ जब शासकहरूले मुलुकको हक-हित, स्वाभिमान र पहिचानको लागि नभएर निजी स्वार्थलाई सर्वोपरि राखेर राष्ट्रियतालाई प्रयोग गर्दछन् त्यो वैयक्तिक स्वार्थलाई अभिवृद्धिगर्न। यस्तो दिग्भ्रमित पार्ने खेल नै राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय राजनीति बनेको छ। यसको मात्रा फरक होला। प्रयोगगर्ने विधि फरक भएको छ। झन् झन् परिष्कृत बन्दै गएको छ। तर कन्टेन्ट अर्थात् सार मूलतः एउटै हो। रोमन साम्राज्यदेखि अहिलेको युक्रेनको युद्धसम्म यही नै हो। विश्वमा भएका र भइरहेका युद्धहरू, दुर्घटनाहरू, जनताले पाएको र पाउँदै आएको दुखहरूको उद्गम स्थल यही नै हो। विश्व इतिहास साक्षी छ यसको।

राष्ट्रियताको कुरामा फ्रान्सेली क्रान्तिले नै विश्वलाई पहिलो पटक बिउँझाएको हो। शासकले परिभाषा गरिदिएको राष्ट्रियताबाट पृथक् जनताले पहिलो पटक मागे आफ्नो पितृभूमि, मातृभूमि पनि होइन। त्यस्तो पितृभूमि जहाँ स्वतन्त्रता होस्, समानता होस् र भात्रित्व होस। तर यत्रो विश्व हल्लाउने क्रान्ति १३ वर्षपछि नै ओइलाएको साग जस्तो सखाप भएर एउटा बादशाह लुइस सोह्रौँको हत्याबाट नेपोलियन बोनापार्टलाई बादसाहको रूपमा जन्म दिएर सकियो। उपनिवेशवादले गाजेको विश्वलाई दोस्रो विश्वयुद्धले निकास दिए पनि उपनिवेशवादी शोषणको मानसिकता विभिन्न भावभङ्गीमा अहिले पनि सलबलाएर बाचेको छ। अभिव्यक्त हुने स्वरूप मात्र बदलिएको छ।

कमजोर र गरिब मुलुकको प्राकृतिक साधन हालीमुहाली गर्ने लोभ र व्यग्रता झन् बढेको छ। यसको लागि प्रजातन्त्र र मानवअधिकार, द्वन्द्व चर्काउने र द्वन्द्व समाधान, सुरक्षा र सन्तुलनका विभिन्न औजारहरू प्रयोग गर्दै आएका छन् शक्तिशाली मुलुकहरूले। यस्तो हालीमुहालीगर्न जे पनि गर्दै आएका छन्। शासक बदल्नको लागि होस् या प्रोक्सी रुल गर्नको लागि होस यी औजारहरू निर्ममतापूर्वक प्रयोग गर्ने गरेका छन्। यसरी गरिब मुलुक लुटिएका छन् र गहिरो द्वन्द्वमा पर्दै गएका छन्। यो नै विभिन्न मिलेमतोको अन्तर्राष्ट्रिय राजनीति बनेको छ अहिले। एक ध्रुवीय होस या दुई ध्रुवीय विश्व होस्, बहु ध्रुवीय क्षेत्रहरू यसै प्रयोजनको लागि उपयोग र दुरुपयोग भइरहेका छन्। ‘लुटतन्तात्मक गणतन्त्र’को उदय पनि यसैको परिणति हो। हाम्रो मुलुक अहिले नराम्रोसँग यो घनचक्करमा फसेको छ। 

हाम्रो मुलुकको हिजोको निरन्तरताको कुरा गर्दा एकीकरण पछिको राष्ट्र बनाउने अभियानमा पृथ्वीनारायण ६ वर्ष मात्र बाचे । उनको सोच निजी स्वार्थ प्रदत्त थिएन। मुलुकबाट राष्ट्र बनाउनेतर्फ अभिप्रेरित थियो। उनको क्रियाकलाप र नीतिहरू, जसलाई दिव्य उपदेश भन्ने गरिन्छ, त्यो हेर्दा महसुस हुन्छ उनको यो सोच। निश्चित रूपमा, राष्ट्र बनाउने काम राष्ट्रिय हितको जगेर्ना गर्न सकेपछि मात्र वास्तविक अर्थमा सुरु हुन्छ। अहिलेको नेपालमा एक दुई जना 'बौद्धिक- राजनीतिक उटपट्याङहरू' पनि देखिएका छन् जो पृथ्वीनारायण शाह नै थिएनन् भन्न थालेका छन् केही महिनादेखि। त्यस्तो प्रवृत्ति जुनसुकै देशमा पनि हुन सक्छ। कारण हो जुनसुकै समाजमा पनि बनाउने र भत्काउने शक्तिहरू सङसङै उत्पन्न भइरहेका हुन्छन्। हामीले हेर्ने यति मात्र हो कि बनाउने शक्ति बलियो हुँदै जानु पर्‍यो। भत्काउने शक्तिबाट निसृत भएका बौद्धिक- राजनीतिक उटपट्याङहरूलाई कमजोर पार्दै लाग्नु पर्यो। यस्ता उटपट्याङहरू हुन्छन् नै। र, यी अन्तबाट निस्किने तरङ्गमा मिसिन पुगेका हुन्छन् परजीवी सम्बन्ध बनाएर। 

वेद प्रसाद लोहनी र वसन्त लोहनी बिहानको नित्य कर्मपछि चिया खाने बेलामा । 

पृथ्वीनारायणको छोरा प्रताप सिंह पनि तीन वर्ष मात्र बाचे राजा भएर। असक्षमता मात्र होइन सक्षमताको टक्कर पनि द्वन्द्वको क्रीडा स्थल बन्छ। भयो त्यस्तै नेपालमा त्यसपछि। पृथ्वीनारायणको छोरा बहादुर शाह र प्रताप सिंहको रानी राजमाता बनेकी राजेन्द्र लक्ष्मी, दुवै उत्तिकै सक्षम थिए १६ महिने रणबहादुरको नायब बन्न। देवर भाउज्यूको झगडा बल्झियो शक्ति प्रयोग गर्ने कुरामा। यसको रूप बन्यो एकले अर्कोलाई सिद्ध्याउने खेलमा। पहिलो खेपमा नायवी सम्हालेकी राजेन्द्र लक्ष्मीलाई जेल हाल्न सके बहादुर शाहले शक्तिमा आउन। त्यसपछिको खेपमा राजेन्द्र लक्ष्मी सत्तामा आइन्। र, निर्वासनमा जानुपर्‍यो बहादुर शाहले। चाडै मरिन् राजेन्द्र लक्ष्मी। लगत्तै बेतिया निर्वासनबाट फर्के बहादुर शाह। दुवैले मुलुकको हित हेरे। तर दुबैमा नेपाललाई राष्ट्र बनाउने पृथ्वीनारायणको सोच रहेन।

राष्ट्र बन्ने कुरा निर्दिष्ट भौगोलिक क्षेत्रभित्र बस्ने जनताको भावनात्मक या संवेगात्मक अपनत्वसँग आबद्ध छ। यो तब मात्र हुन सक्छ जब सबैले एउटै सम्मिलनको बिन्दु फेला पार्दछन्। अर्थात् अग्लो-होचो, जाडो-गर्मी, जुन ठाउँमा बस्ने भए पनि या जात-पात, धर्म संस्कृति जे जस्तो भए पनि, तिनीहरूको श्वास-प्रश्वासको भाखा जब एउटै हुन्छ आफ्नो माटो प्रति, तब राष्ट्र बन्छ त्यो मुलुक। यो मूलतः दुइटा कुरामा आधारित छ। पहिलो हो राज्यले सबैलाई बराबर गर्ने। दोस्रो हो कमसेकम सबैले खान लाउन पाउनु पर्ने। पहिलो राजनीतिसँग जोडियो भने दोस्रो अर्थतन्त्रसँग। यसरी अर्थ-राजनीति बन्छ मुलुकको। 

नेपाली शासकहरूले यी दुवै कुरामा नेपाली जनतालाई सधैँ उपेक्षा गर्दै आएका छन्, एकीकरणदेखि गणतन्त्र सम्मको यो लामो यात्रामा। पहिले स्वाधीनता प्रमुख थियो। त्यसको हिफाजत गर्न जिउ ज्यान दिन सबै एक ढिक्का हुन्थे। अहिले चाहिँ स्वाधीनताको लेप लगाएर पराधीनताको अर्थ-राजनीतिक मूल प्रवाह बन्यो मुलुकको। निःसङ्कोच भन्न सकिन्छ यो नै सत्ताको अर्थ-राजनीतिक बनेको छ गणतान्त्रिक नेपालमा। त्यसैले निर्णय अहिले हाम्रो छैन सिवाय चुनावमा भोट हाल्ने बाहेक। पहिले स्वाधीनतासँग गाँसिएको थियो अर्थतन्त्र। अहिले पराधीनतासँग, श्री लङ्काको बाटोमा। र, अझ पर अन्तर्राष्ट्रिय द्वन्द्वको थलो बन्ने तर्फ।

हिजो स्वाधीन रहनको लागि पृथ्वीनारायण शाहले एकीकरण गर्दा बनेको अनुशासित र मजबुत सेनालाई यथावत् राख्न सक्नु पर्ने अनिवार्यता थियो। एक अर्थमा जोडिएका भूभाग टुट्न नदिनको लागि पनि यो जरुरी थियो। त्यस्तै शासक र शासकीय वर्गको बढ्दै गएको आमोद प्रमोदलाई धान्नको लागि अझ यो बढी अनिवार्य थियो। अर्थात् पल्टन पाल्न र शासक पाल्न राम्रो आम्दानी चाहियो राज्यको। त्यो स्वाधीनताले मात्र दिन सक्थ्यो। अहिले शासकहरूलाई अघोषित पराधीनताले दिइरहेको छ। विदेशीको गुलामी गरेर। त्यति बेला स्वाधीनताको लागि आम्दानी कसरी गर्ने भन्ने परसम्मको सोच थिएन। त्यो भएको भए जनताको आम्दानी बढाउने आर्थिक क्रियाकलापट्टि राज्यले ध्यान दिन्थ्यो। मुलुकबाट राष्ट्र बन्ने क्रमले गति लिन्थ्यो। पृथ्वीनारायणको उत्तरार्धको त्यो सोच धुमिल, होइन, तितरबितर हुदैन थियो होला। 

तत्काल गर्ने भनेको पृथ्वीनारायण शाह पछिको नेपालमा दुइटै कुरा मात्र थियो। पहिलो तिब्बतसँगबाट । दोस्रो जमीनबाट। पहिलो हो मल्ल कालदेखिको आम्दानीको श्रोत बनेको टकमरीबाट हुने फाइदा। यो सम्भव भएको थियो तिब्बतको आफ्नै सिक्का नभएकोले। त्यहाँबाट आएको सुन टकमरी गरी नेपाली बढी मूल्यको सिक्का बनाएर तिब्बत पढाइ फाइदा लिने थियो। पृथ्वीनारायणले काठमाडौं खाल्टोमा चढाइ गर्न सकेको एउटा प्रमुख कारण दस वर्ष नाकाबन्दी गरेर त्यो आम्दानी सुकाउन सकेकोले थियो। एकीकरणपछि पृथ्वीनारायणले चलाएको र मल्लको मुद्रासँग दर रेट नमिलेपछि रण बहादुरको पालामा तिब्बतमा धावा बोलेर कायम गराएको थियो चाहेको रेट नेपालले। नेपाल र तिब्बतसँगको व्यापार मार्ग पूर्ण नेपालले आफ्नो पकड राखे पनि व्यापारिक लाभ भने खास लिन सकेको थिएन। पछि यो एकलौटी पकड पनि नेपाल र इस्ट इन्डिया कम्पनीसँगको युद्धको एउटा कारण बनेको थियो।

शासकको आमोद प्रमोद र पल्टन पाल्नको लागि मुख्य आम्दानी जमीन थियो। तर जसले जमीन जोतेर आम्दानी निकाल्ने हो ती पुरै उपेक्षित थिए मानै कि ती इँट पत्थर सरह थिए, मान्छे थिएनन्। त्यति बेलाको अर्थतन्त्र नै जमीन थियो। पैसामा होइन। जमीन बाँड्ने र जमीन खोस्ने यसैको चाँजोपाँजो गरेर चलेको थियो। भारदारले जमीन पाउँथे। गरिबबाट जमीन खोसिन्थ्यो। जागिर दिन जमीन चाहियो। जमीन हासिल गर्न पल्टन चाहियो। यसले गर्दा नेपाल एकीकरणपछिको फैलिने क्रम जमीन प्राप्तिसँग आबद्ध हुन पुगेको थियो। राजेन्द्र लक्ष्मी र बहादुर शाह बीचको निर्णायक नीतिगत झगडाको बिन्दु पनि यही थियो। जमीन जितेर लथालिङ्ग हुन चाहँदैन थिइन् राजेन्द्र लक्ष्मी। बहादुर शाहलाई त्यो पाच्य भएन। त्यसैले एकीकरणपछिको नेपालको फैलिने क्रम राजनीति कारणले नभएर मूलतः अर्थतन्त्रको उपज हो। 

स्वामी महाराज भएका रणबहादुर आफ्नो वितण्डाको कारण काठमाडौँमा टिक्न नसक्ने भएपछि भागेर बनारस पुगे सन् १८०० मा। र, चार वर्ष त्यहाँ बस्न बाध्य पारिएका थिए दरबारका दुबै गुट मिलेर। यो अवधिमा जथाभाबी खर्च गरे उनले मोजमज्जामा, रन्डीबाजीमा। यस क्रममा थुप्रै ऋण लाग्यो उनीमाथि। ब्रिटिसले उनको चासो छोडिदिए। बल्ल उनी मुक्त भए। काठमाडौँ फर्के। फर्केपछि त्यो ऋण तिर्न खोजे। तर राज्यसँग पैसा थिएन। दस वर्षदेखि रोकिएको फैलिने क्रम उनले सुरु गरे त्यो ऋण तिर्नको लागि आम्दानीगर्न। फैलिने क्रम यस्तो लहडमा समेत आधारित थियो। तर भएको जमीनबाट आम्दानी बढाउने सोच नभएर जमीन बढाउने तर्फ मात्र केन्द्रित रह्यो यो।

इस्ट इन्डिया कम्पनीले रोक्न चाह्यो यो अनियन्त्रित फैलिने क्रम। त्यसैले निहुँ खोज्यो ‘प्रिन्सिपल अफ लिमिटेसन’को आफूखुसी कुरा उठाएर। यो न कुनै सिद्धान्त, न अवधारणा नै थियो। खेतीयोग्य समतल भूमि दिन चाहेन। त्यो विना नेपाल आर्थिक रूपले टिक्न सक्तैन थियो। त्यसैले ब्रिटिससँग लडाइ हुनु थियो, सो भयो। जमीनमा नै कर थपिँदै गएको थियो, अझ लडाइको कारणले झन् बढी। चौबिसै घण्टा काम गरेर पनि खान नपाउने स्थिति ती वास्तविक जमीन जोत्नेहरूको भयो। अर्थात्, जमीन जोत्नेहरू आफ्नै मुलुकमा अहोरात्र काम गरेर पनि बाच्न नसक्ने भए। यस क्रममा लाखौँ लाखले छोडे आफ्नै मुलुक विवश भएर, आँसु पिएर। यो नै थियो पहिलो ‘मास एक्सोडस’ अर्थात् पहिलो ‘सामूहिक पलायन’ नेपालीहरूको बिरानो देशमा। १८१६ सुगौली सन्धिले खुम्चाइदियो नेपाललाई। अब जमीन थपेर होइन भएकोबाट आम्दानी निकाल्नु पर्ने भयो पल्टन पाल्न र शासकहरू पाल्न । अनौठो लाग्ला तर वास्तविक हो एउटा कुरा कि तब मात्र तुलनात्मक रूपले सरकारको आम्दानी बढेको देखिन्छ।
 
राजनीति भनेको द्वन्द्व हो। जहाँ द्वन्द्व समायोजित हुन्छ, प्रणालीकृत हुन्छ बृहत्तर राष्ट्रिय स्वार्थलाई हिफाजत गर्न मजबुत सिस्टम अन्तरगत, त्यहाँ मात्र मान्छे जनता बन्न सकेका हुन्छन् बराबरीको अवसर लिएर। त्यहाँ मात्र हुन्छ विकाश र समृद्धि। यो नभएको ठाउँमा यो शब्द नै बकवास बनेको हुन्छ जसरी नेपालमा बनेर आएको छ। जनता नै नबनेको बेला त विकाश र समृद्धिको कुरा गर्नु पर्ने आवश्यकता नै थिएन। रैतीलाई मालिकहरूले जनवर जस्तै जोत्ने हो। किन विकाश र समृद्धिको कुरा गर्नु पर्‍यो र? तर नेपालको राजनीति सधैँ द्वन्द्वग्रस्त रहँदै आएको छ। आन्तरिक र बाहिरी खेल यसैमा मिसिएको छ।

यो पनि हो कि नेपालमा अहिलेसम्म त्यस्तो निर्णायक द्वन्द्व नै भएको छैन जसबाट विचार, दृष्टिकोण, धारणा र सोचको ऊर्जा निस्कन सकेको होस्। तर मुलुक चाहिँ सधैँ द्वन्द्वग्रस्त नै भएर आएको छ सिंह प्रताप शाहको निधन पश्चात्। यो द्वन्द्व दरावरभित्रको द्वन्द्व हो। शासकहरूबिचको द्वन्द्व हो, केवल सत्तामा हालीमुहाली गर्नको लागि मात्र। द्वन्द्वबाट ऊर्जा निस्किने होइन कि दरबार केन्द्रित द्वन्द्वलाई ऊर्जा दिएको थियो नायवी शासनले। पृथ्वीनारायणपछि नेपालको अधिकांश समय राजाले होइन नायवले चलाएका थिए जुनसुकै रूपमा भए पनि प्रजातन्त्र आउनु अगाडिसम्म। अर्को कारण रह्यो राजाले दुइटा विवाह गर्ने प्रथा। यसले गर्दा दरबारभित्र द्वन्द्व सधैँ बलियो भयो ध्रुवीकृत भएर भाइ भारदारहरूसम्म पुगेर। तेस्रो कारण बन्यो दुस्साहसबाट जन्मिएको महत्त्वाकाङ्क्षा आफ्नै छोरा राजा बनोस् भन्ने।

यी सब मिसिएर नै कोत पर्व हुन सक्यो जङ्ग बहादुरलाई सत्तामा ल्याउने। दुस्साहसबाट जन्मिएको महत्त्वाकाङ्क्षाले नै हाँक्यो नेपाललाई। त्यसैले धीर शमशेरको छोराहरूले आफ्नै काका श्री ३ रणोद्वीपलाई मारेर सत्ता हत्याउँदा खड्ग शमशेरले भनेका थिए - मैले दुई घण्टामा नेपाल लिए। यो एउटा वाक्यले वर्णन हुन्छ त्यो परिवेश। त्यति बेलाको अनकन्टार नेपाल र अनकन्टारभित्र भूगोलको पोल्टो पोल्टोमा मृत्युसँग सम्झौता गरेर बाचिरहेका रैती बनेका नेपालीहरूलाई शासक को हो भन्ने कुराको न कुनै मतलब रह्यो, न ज्ञान नै। सत्ता खोस्ने र डाँडा कटाउने क्रम यसरी नै वर्णन हुन्छ। तर ब्रिटिसले भारत छोडेर नजाउन्जेल मूलतः यो आन्तरिक थियो। पछिल्लो चरणमा वाह्यरूपी बन्यो।

चन्द्र शमशेर श्री ३ भएको बेला वेदप्रसाद जन्मेका। र, जीवन बुझ्दै गएका थिए श्री ३ भीम शमशेरको पालामा। चन्द्र शमशेरले राणा परिवारमा कोरेको वर्गीकरणको विभाजन रेखाले परिवारभित्रको द्वन्द्व ह्वात्तै बढाएको थियो। र, अन्ततः पोखिएको थियो बाहिरबाट हुने शक्ति सङ्घर्षमा निर्णायक रूपबाट। वेदप्रसादको जीवनको निर्णायक यात्रा भने श्री ३ जुद्ध शमशेरको पालामा भयो - व्यावसायिक पठनपाठन, शिक्षकको जागिरे र निर्माणको नयाँ प्रविधिको उनी आफैले गरेको प्रयोगबाट। २००१ सालमा भर्खर जन्मेको छोरा प्रकाशको नामबाट उनले सुरु गरेको पहिलो व्यावसायिक सङ्गठन - प्रकाश इन्जिनियरिङ कम्पनी। हामी छलफल गरिरहेका छौ कसरी मिसिएको थियो प्रकाश इन्जिनियरिङ कम्पनी मुलुकको त्यो निरन्तरतासँग, त्यो समय-प्रवाहसँग, जसले वेदप्रसादलाई छुन आएको थियो।

आफ्नो आमोद प्रमोद यथावत् राख्न पनि रैतीहरूलाई केही सुविधा दिनु पर्ने अवस्था बिस्तारै सिर्जना हुँदै गइरहेको थियो। यसै क्रममा चन्द्र शमशेरको पालामा सिचाइ, शिक्षा, सञ्चारमा केही सुधार भएका थिए। चन्द्र नहरको निर्माण, त्रिचन्द्र कलेजको स्थापना, धुर्सिङदेखि मातातिर्थसम्मको रोपवेको निर्माण, अमलेखगन्जबाट रक्सौलको रेल सेवा सञ्चालन, सती प्रथा र दाश प्रथाको अन्त्य। त्यति बेलाको विश्व शक्ति बनेको ब्रिटेनले नेपाललाई स्वतन्त्र मुलुकको मान्यता दिएको पनि यही समय अवधिमा थियो। परिवर्तनको लहरले सुस्तरी गति लिइरहेको थियो जति बेला बुढो महाराज भनिने अफिम्ची भीम शमशेर छोटो अवधिको लागि सत्तामा आए। र, त्यसरी नै गए शोषण झन् बढाएर। 

जुद्ध शमशेरको शासन काल नेपालको अर्थ-राजनीतिको निर्णायक अवधिको रूपमा लिन सकिन्छ - राजनीतिक रूपमा, आर्थिक रूपमा र सामाजिक रूपमा। समग्रमा, एउटा परिवर्तनको संवाहकको रूपमा। राजनीतिक परिवर्तनको लागि उर्लिरहेको समय- प्रवाहलाई निर्ममतापूर्वकको रोके उनले।  बढिरहेको नदीको प्रवाहलाई बाधको उचाइ बढाएर रोकेको जस्तो गरी। सामाजिक परिवर्तन विश्वमा जहाँ पनि सुस्त गतिमा हुन्छ। कुनै पनि हालतमा राजनितिक परिवर्तनको गतिमा जान सक्तैन। आर्थिक रूपमा जुद्धले उद्योग धन्धाको विकाश गराउन चाहे। त्यो समय-प्रवाहको निरन्तरतासँग आबद्ध नयाँ सुरु गरिएको आर्थिक प्रवाहमा मिसिन पुगे वेदप्रसाद आफ्नो प्रकाश इन्जिनियरिङ कम्पनी लिएर। यो निर्णायक यात्रा थियो उनको जिन्दगीको।

जुद्ध शमशेर आएको सात महिनापछि जर्मनीमा हिटलर सत्तामा आइपुग्यो। उसको आगमनबाट विश्व राजनीति तरङ्गित हुन सुरु भयो। र, यसको असर सबैतिर केही न केही फैलिँदै गाएको थियो। नेपालको इतिहासमा आफ्नै मुलुकभित्रबाट उठेको र आफ्नै तागतबाट सञ्चालन भएको सङ्गठनात्मक प्रजातान्त्रिक आन्दोलनको सुरुवात टङ्कप्रसाद आचार्यले नेतृत्व गरेको प्रजा परिषद् पार्टीले गरेको हो १९९३ सालमा। पर्चा छर्‍यो यसले राणा शासन विरुद्ध जुन त्यो समयमा अकल्पनीय क्रान्तिको शङ्खनाद थियो। जुद्ध शमशेर अत्यन्त कठोर भए यसको विरुद्ध। र, मारे यसका सदस्यहरू - धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्री।

टङ्कप्रसाद आचार्य मेरो पिता वेदप्रसाद लोहनीको दरबार स्कुलमा सँगै पढ्दा देखिको साथी भएकोले पिता पुत्रको जस्तो सम्बन्ध रह्यो मेरो उनीसँग। यसको आधारमा म भन्न सक्छु उनी बालसुलभ निश्छलता भएका र अत्यन्त इमानदार राज नेता हुन यो मुलुकले अहिलेसम्म जन्माएको। यस अर्थमा म उनीलाई नेपालको सबभन्दा ठुलो क्रान्तिकारी मान्दछु। र, आफ्नो सौभाग्य पनि ठान्छु उनको सम्झनालाई चिरस्थायी गर्न २०५० सालमा गठन गरिएको टङ्क प्रसाद स्मृति प्रतिष्ठानको एक संस्थापक सदस्य रहन पाएकोमा।

जुद्ध शमशेर सत्तामा आएकै सात वर्ष पछिको त्यही सेप्टेम्बर महिनाको १ तारिखको दिनमा दोस्रो विश्व युद्ध नै सुरु भयो सबै तिर उथलपुथल गराउने। युद्धले विध्वंस गरायो भने आर्थिक क्रियाकलाप पनि बढायो। नेपाल जस्तो अनकन्टार देशमा समेत सस्तो कपडाहरू बम्फसेल आएका थिए। पहाडका दुर्गम अझ अनकन्टार बस्तीहरू हुँदै तिब्बतसम्म पुगेका थिए। भक्तपुरका नेवारहरू २०० वर्ष अगाडि पुगेर व्यापारिक बस्ती बसालेका दुर्गम बन्दिपुर नेपालको ठुलो व्यापारिक केन्द्र बनेको थियो त्यो युद्धको बेला। युद्ध पश्चात् सुक्यो पनि खहरेको भेल सकिए जस्तैगरि। अझ झन जिल्ला सदर मुकाम त्यहाँबाट हटेपछि। युद्ध हारेको हिटलरको आत्महत्याको सात महिना पश्चात् जुद्ध शमशेरले हठात् त्यागे राजपाट आफू राज महर्षि बनेर अर्गेलीमा बस्न गएर। विश्व युद्धको समाप्तिको परिणति बनेर भारत स्वतन्त्र भयो अरू अफ्रिकी र एसियाको मुलुक जस्तै। यसैको परिणतिसगँ मिसिएर आयो नेपालमा पनि प्रजातन्त्र २००७ सालमा। 

जुद्ध शमशेर सत्तामा आएको १६ महिनामा १९९० सालको महा भूकम्प गयो नेपालमा, उनी कैलाली कञ्चनपुरमा सिकार खेल्न गएको बेला। त्यो विपत्लाई उनले सफलतापूर्वक सम्हाले नेपालको आफ्नो स्रोत र साधनबाट। अहिले जस्तो पधेरो या स्कुल भवन बनाउन पनि विदेशी ऋण लिएर होइन। अझ ऋण कर्मचारी पाल्न पनि। मुलुक चलाएर बचेको हाकाहाकी खाए उनले सबै राणा प्रधानमन्त्रीले जस्तैगरि तर ओली सरकारले जस्तो चार वर्षमा चार खर्व भन्दा बढि नेपाली जनतालाई ऋण बोकाएर त्यो ऋण लुटेर खाएनन् उनले, विकास र समृद्धिको र भ्रष्टाचारको गन्धै सहन नसक्ने गफ चुटेर।

वेदप्रसादको प्रकाश इन्जिनियरिङ कम्पनीको सुरु गर्दा जुद्ध शमशेरको सत्ताको समय सकिन लागेको थियो। अर्थात् करिब एक वर्ष पछि उनले सत्ता त्यागे । तर उनले आफ्नो समयमा 
औद्योगिकीकरण सुरुवात मात्र होइन लहर नै ल्याए। आफ्नो र मुलुकको आम्दानी बढाउने अचुक अस्त्रको रूपमा उनले औद्योगिक विकासलाई ठहराए। नेपालका अर्थशास्त्रीहरूले जे भन्ने गर्दै आएका छन् हरेक आर्थिक लेखमा कि नेपालको आर्थिक विकाश भनेको कृषिमा आश्रित जनशक्तिलाई उद्योगतर्फ ल्याउन सक्नु पर्दछ भनेर, त्यसको सुरुवात जुद्धले गरेका हुन्।

यो सुरुवातको लागि उनले शक्तिशाली उद्योग परिषद् गठन गरे आफ्नै छोरा बहादुर शमशेरलाई अध्यक्ष राखेर सन् १९९२ मा। पहिलो काम थियो लगानीकर्ताहरूलाई विश्वास दिलाउने कि लगानी सुरक्षित हुन्छ भनेर। यसको लागि कम्पनी कानुन बन्यो १९९३ सालमा। लगानी रकम जुटाउन नेपाल बैङ्क खुल्यो १९९४ सालमा। यस क्रममा भटाभट खुल्न थाले जुट मिल, कटन मिल, म्याच फ्याक्ट्री, मोरङ हाइड्रो, केमिकल इन्डस्ट्रिज, प्लाइउड फ्याक्ट्री, चामल कारखाना, मैदा मिल आदि। साना तथा कुटीर उद्योगको लागि उनले घरेलु प्रचार इलम अड्डा नै खोले। घरेलुसँग वेदप्रसाद पनि जोडिन पुगे। काठमाडौँको घरेलुको भवन बनाउने काममा जुद्धले वेदप्रसादलाई जिम्मा दिएका थिए। त्रिपुरेश्वरको नौबटा भवनहरू वेदप्रसादले नै बनाएका थिए २००१ सालतिर।

यसै साल उनले छोराको नाम राखेर खोलेको प्रकाश इन्जिनियरिङ कम्पनी जुद्ध शमशेरले चलाएको यो लहरबाट प्रभावित थियो। कम्पनी त खोले तर पुजी नै थिएन उनीसँग उद्योग खोल्ने। महिनाको १०० रुपैयाँ खाने जागिरे इन्जिनियरिङ स्कुलको शिक्षकसँग हुने पनि कसरी? तर अचम्मसित पुँजीको जोगाड भयो। उनले कमाए। यो कमाइ दियो उनको आफ्नै प्रकाश इन्जिनियरिङ कम्पनीले कमाएको। कसरी कमायो प्रकाश इन्जिनियरिङ कम्पनीले? यो रोमाञ्चकारी यात्राको थालनी हुन्छ काठको पटरी ठोकेको रेलको एउटा डब्बाभित्र। त्यति बेला उनी नेपाल गभरन्मेन्ट रेलवे, जसलाई एनजीआर भनिन्थ्यो, त्यसको एउटा डब्बामा चढेका थिए। त्यो रेल अमलेखगन्जदेखि रक्सौल गर्थ्यो चारकोसे झाडीभित्रबाट।  

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
ad
x