विचार

रुँदै छ कि चुपचाप रातमा गीत आँसु छर्दै

हल्ला हैन हूल हैन एकान्तमै मर्न पाऊँ

विमल आचार्य |
साउन २९, २०७९ आइतबार १५:४४ बजे

कुन समाचारवाचकले कति बजेको समाचार पढ्छ अर्थात् को कुन सिफ्टमा काम गर्छ भन्नेदेखि साताभरिका कार्यक्रमका सेड्युल पनि कण्ठस्थै । जब ११ बजे ऊ निदाउँथ्यो, मलाई नियास्रो लाग्थ्यो । स्वाँ गर्दै घुर्नेबाहेक उसका सबै स्वर प्रिय थिए । 
र, उसका अदृश्य ओठबाट निस्किने सबैभन्दा प्रिय स्वर थियो— संगीत । 

म ढुंगो थिएँ । म ढुंगो अर्थात् सिलौटोमाथि जब गीतरूपी अनेक स्वादका मसला मिचिन्थे अनि मभित्रको म जाग्थ्यो । निर्जीव ढुंगोबाट एकाएक सजीवजस्तो बन्थेँ । संगीत–स्नान गर्दै लट्ठिएको सिलौटो म, कहाँ हराउँथेँ कहाँ ! म मैसँग हुन्नथेँ ।  


थप पुस्तक र पुस्तकालय थिएनन् । साथीभाइ पनि उस्तो थिएनन् । बिजुली थिएन । टिभीहरूको नामनिसान थिएन । म झन्भाग त चुपचाप बस्थेँ । मौन त म पक्कै थिइनँ, मनमनै कुरा गम्थेँ । मनमनै बोलिरहने मान्छे सायद झन् ठूलो हल्लाबाज हो । ऊ नबोलेको हैन, हामीले नसुनेका मात्र हौँ । 

म संकोची थिएँ, कमजोर आत्मविश्वासले ग्रस्त एउटा कुण्ठित केटो थिएँ । 

घरबाहिर निस्किनको अकारणको संकोचले म धेरैजसो घरायसी काम गर्थें । अनि उनीहरू भन्थे— यसलाई घर बराल्ने, पोत्ने, खर्च पकाउने (खाना पकाउने) काममा रुचि छ । मैले पनि त कसैलाई भनिनँ— घरबाहिर मेरो कोही छैन, भित्र मेरो मित्र छ, रेडियो । 

म फेरि त्यो जाइनकालमा जस्तो घरभित्र कैद छु । छोरो स्कुल, श्रीमती काममा गएपछि डेरामा म धुम्धुम्ती एक्लो छु । साथमा छ, संगीत । त्यो संगीत । तर, त्यो रेडियोमा हैन, यो युट्युबमा । 

यो संगीतले मलाई ती दिनमा पुर्याइरहेको छ, जुन दिनहरूमा म रेडियोविना बाँच्न सक्दिनथेँ । जति बेला मलाई रेडियोको संगीतले हाँस्न सिकायो, निस्लाट्टिन सिकायो, हिस्करिन सिकायो, चोर्रिन सिकायो, माया गर्न सिकायो, म ती पलहरूमा छु । भावनाहरूको उकालो–ओल्लारोमा चाकाचुली खेलिरहेछु । 

बिरामी परेर सुतेपछि पाँच दिनरातकै साथी बनेको छ, संगीत । म दिनभर, रातभर ज्यानलाई ओछ्यानमा ढलान गर्छु । अनि आँखा चिम्लीचिम्ली संसार कुद्छु ।

यी घरायसी पाँच दिन म अनेक संगीतहरूमा समेटिएँ । अनेक लयहरूमा लपेटिएँ । अनेक भावनाहरूमा भक्कानिएँ । अनेक कल्पनाहरूमा कहालिएँ । अनेक सपनाहरूमा स्खलित भएँ । अनेक उत्तेजनाहरूमा उदास भएँ । 
म सबथोक भएँ । कोठैबाट कुनाकुना चहारेँ । 

०००
दुई महिना जति पहिले मैले ‘ए दूरका सितारा’ किताब पढेथेँ । रेडियोकालीन ती दिन सम्झिँदै किताब स्वादले पढेँ । गीतैगीतको किताब पढिरहँदा मेरो मनमा केक्केकेक्के कुरा आइरहेथ्यो । हर गीतसितका याद यसरी आए, मैले किताबका पानापानामा यादका केरमेट गरेँ । जुन दिनहरूमा रेडियो सुन्दै छिटोछिटो गीत टिपिन्थ्यो, टिपाइ पूरा गर्न फेरि कति दिन कुर्नुपर्थ्यो, म तिनै गीत आज पहिलोपल्ट किताबमा पढ्दै छु ।  

पठनको यो रोमाञ्च, शब्दातीत छ ।  

पत्रकार भएका नाताले किरण खरेलसँग भेटघाट वा कुराकानी गरेरै लेख्नुपथ्र्यो मैले । तर, ८४ पुगिसकेका र बोल्न गाह्रो हुने समस्या भएका सर्जकलाई डिस्टर्ब गर्न मन लागेन । फेरि ‘महापुरुषहरूको संगत’ त के, दर्शनभेट नै फाप्दैन आफ्लाई । (दर्शनभेटपछि कलम चलाउन जाँगर नचलेका दर्जनौँ दृष्टान्त पालेर पनि बसेको छु ।) 

न वार्ता, न समीक्षा, न प्रोफाइल, न विचार, न दृष्टिकोण । केही छैन यहाँ । यो केवल बिरामी बेलाको सुतिबियाँलो मात्र हो । यसमा मेरो सस्तो भावुकता र महँगो आडम्बरबाहेक अर्थाेक केही छैन । त्यसैले मैले यसलाई ब्लगको नाम दिएँ । (राइटर ब्लक भयो भने ब्लग बिचरा बदनाम हुँदो रहेछ ।) 

०००
किरण खरेलको पहिलो गीत १९ वर्षको उमेरमै २०१४ मा रेकर्ड भएको रहेछ । काठमाडौँको एक कार्यक्रममा राजा महेन्द्रले गीत लाइभ सुनेछन् । 

राजा महेन्द्र : मलाई तिम्रो गीत मन पर्‍यो, के माग्छौ ? 
गायक बटुकृष्ण : रेकर्ड गर्न पाए हुनेथियो सरकार । 

(संवाद स्रोत : ब्लगरको काल्पनिक ।)

अनि राजाले भारतमा रेकर्डिङको व्यवस्था मिलाउन हुकुम बक्से । यसरी तिनै बटुकृष्ण ज्वालाको स्वर/संगीतमा ‘ए दूरका सितारा, मेरो चाँदनी कहाँ छ ?’ गुञ्जियो।

किरणले किशोरावस्थामै लेखेको यो पहिलो गीत नै सुन्दर लाग्छ मलाई : 
‘ए दीप हो अँध्यारा, भन रोशनी कहाँ छ ? 
ए फूल हो टुहुरा, भन मालिनी कहाँ छ ? 
ए दूरका सितारा, मेरो चाँदनी कहाँ छ ?’ 

ए दूरका बटु–किरण ! तिमीहरूको श्रोता आज कहाँ छ ! 

उहिलेका ठीकठीकैका नेपाली सिनेमा पनि गीत–संगीतकै कारण जीवन्त भए जस्तो लाग्छ । पुराना फिल्मी गीतमा बेग्लै उचाइ र गहिराइ छ । तिनै सार्थक संगीतका एक सर्जक हुन्, किरण खरेल । 

नेपालमा पहिलो आमचुनाव हुनुअघि नै बज्न थालेको यो गीतका गेडा मलाई स्वादको लाग्छ । सायद धेरैपटक सुनेपछि ठीकैको संगीत पनि राम्रो लाग्दो हो । जेसुकै होस्, किरण–बटुका ‘चञ्चले आँखा’ले रचिएको यो गीत पहिलो किरण हो, जसको उज्यालो युगको सापेक्षतामा खास छ ।  

किरण खरेलका सात सय जति गीत प्रकाशन/प्रसारण भएका रहेछन् । यो किताबमा उनका २१४ वटा गीत मात्र छन् । हामीले राम्ररी सुनेका (खासमा सुनाइएका) गीत मुस्किलले सय होलान् । तर, सयभन्दा बढी फिलिममा त यिनले गीतै लेखिसकेका छन् । 

पहिलो रेकर्डिङदेखि हिसाब गर्दा किरणको सार्वजनिक गीतयात्रा नै ६५ वर्ष भयो । किरण बूढो भएका छैनन् तर उनको गीतलाई तीन वर्षपछि त नेपाल सरकारले नै ज्येष्ठ नागरिक घोषणा गर्ने पो रहेछ । यो पनि ठीकै होला, जवानीमा धेरै ठाउँमा काम गरे पनि पेन्सनसेन्सन नपाउने शान्त सर्जकका लागि आफ्नो गीतले सामाजिक सुरक्षा भत्ता पाउने योग्यता राख्नु पनि गजबै होला । 

किरण खरेलले २०२२ मा बनेको पहिलो व्यावसायिक सिनेमा ‘माइतीघर’का लागि गीत लेखे । त्यसयता सयभन्दा बढी सिनेमाका लागि गीत लेखे पनि उनले यो साइनो पाँच–छ वर्षअघि नै विच्छेद गरिसकेका छन् । कान्तिपुर टीभीसँगको वार्तामा उनले नैराश्य सुस्केराएका छन्, ‘अहिले जो पनि गीतकार । सबैभन्दा सजिलो काम नै गीत लेख्ने जस्तो भइदियो । गीतकारको कुनै सम्मान नै छैन, यहाँ ।’

उहिलेका ठीकठीकैका नेपाली सिनेमा पनि गीत–संगीतकै कारण जीवन्त भए जस्तो लाग्छ । पुराना फिल्मी गीतमा बेग्लै उचाइ र गहिराइ छ । तिनै सार्थक संगीतका एक सर्जक हुन्, किरण खरेल । 

‘माइतीघर’, ‘कुमारी’, ‘जीवन–रेखा’, ‘सिन्दूर’, ‘कन्यादान’, ‘सारंगी’हरूमा किरणका शब्द स्वयं नृत्यमग्न छन् । संगीत राम्रो बनेको शब्दले मात्र त पक्कै पनि होइन, संगीत गर्ने र गाउनेको आत्मिक मेहनत छ । लेख्न त किरणले ६० को दशकका दर्जनौं सिनेमामा गीत लेखेका छन् तर ती शब्द संगीतकेर ‘सापकोटा’हरू जस्ताका हातमा पुगेका हुँदा पछिल्ला सिनेमाको नाउँ मैले यहाँ लिन सकिनँ । 

संगीतकार/गायक जयदेव/आशा भोस्लेको गठबन्धनमा तयार भएको ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ प्राणभन्दा प्यारो छ । आज छ दशकपछि पनि यही गीतमा छ वर्षे नानीहरू नाचिरहेछन् । छ वर्षे नानीहरू आफ्नो तोतेबोलीमा यो गीत गाइरहेका भेटिन्छन् । एउटा सानो गीतले साहित्यका अरु विधाभन्दा बृहत्तर ढंगले भाषा, सभ्यता, कला, बाजाहरूको संसार बसाउँदो–बचाउँदो रहेछ ।  

यही सिनेमामा जयदेवकै संगीतमा मन्ना डेले गाएको ‘जिन्दगीलाई जितले हैन हारले स्वागत गरी/हिँड्दछे ऊ फूल होइन आँसुका मोती छरी’ गीत भव्य लाग्छ, मलाई । यो गीतको सुरुवातका शब्द ‘हेर धरती डगमगाई दिलमा ज्वाला गुम्सिएर जून जल्दै छटपटाई तारादेखि तर्सिएर’ किरणका होइन रहेछन् । र, यो गीतको अन्तिमको एक प्याराग्राफ गाइएको पनि रहेनछ । यति मेहनतले पाकेको रहेछ, यो गीत । (यहाँनेर सम्झना हुन्छ, एक–दुई अक्षर यताउता चलाएर गीतकारमा आफ्नो पनि नाम थप्ने अचेलका केही संगीतकारको ।) 

‘माइतीघर’मै जयदेवको निर्देशनमा प्रेमध्वज प्रधान र उषा मंगेषकरले गाएको ‘नमान लाज यस्तरी’ ‘स्वर्ग’मा कुमार सानुले गाएको ‘पानी परेपछिको आकाश’झैँ खुलेको छ । ‘माइतीघर’मा ‘बहार बेच्ने, झन्कार बेच्ने, साँझ र बिहान अनि भगवानै बेच्ने’ आशाको स्वर पनि किरणकै उन्मुक्त कला हो ।

‘सारंगी’मा प्रकाश श्रेष्ठले गाउने ‘मैले गीत छोडी आएँ फूलको तरेलीमा’ किरणको बब्बालै रचना लाग्छ, मलाई । प्रकाशले यसरी डुबेर गाएका छन्, लाग्छ– प्रकाश स्वयं साँझमा एक्लै रुँदै छन् । ‘रुँदै छ कि चुपचाप रातमा गीत आँसु छर्दै/मखमली चोली पनि उसलाई बिझायो कि/लुकीलुकी तारालाई उसले गिज्यायो कि’हरूले मलाई सयौँचोटि सुने पनि नौलो स्पन्दन दिन्छन् । शब्द जति कोमल छन्, सुर उस्तै, स्वर उस्तै बेजोड सुसेल्छन् ।  

यो गीतका कलाकार सरोज खनाल, करिष्मा मानन्धरले आफ्नो अभिनययात्रामा यस्ता गीत पाउनु उनीहरूको अहोभाग्य हो । यिनीहरू अहिले जति पनि ‘चकचक’ गर्छन् नि, भन्न मन लाग्छ— आफ्ना प्रिय दर्शकलाई थप अपमान नगर्दा हुने हो । किशोर र भर्खर किशोर उमेर पार गरेका सहकर्मी भाइबहिनीबीच पुराना कतिपय कलाकार मन पर्छन् भन्दा उनीहरू मरीमरी हाँस्छन् । किनकि नयाँ साथीहरूले ‘दाल भात, तरकारी’ मात्र खाएका छन् । सचिनसँगका नाच मात्र हेरेका छन् । 

अहिले एक दिनमै सयवटा गीत रिलिज हुन्छन् होला । तर सय दिनमा एउटै चैँ गतिलो गीत आएछ भने त्यो ठूलै कुरो भयो ।  

दिनेश अधिकारी, किरण खरेलहरू आफ्ना शब्द बेसुर गाइदिन थालेपछि चुप बसे । गीत दिँदा वा आफैँ बनाउँदा पनि दुई–चार पैसै त उनीहरूले पनि नकमाउने हैन नि । स्थापित कलाकारहरूको नयाँ कलाले सके त सर्जकको सम्मानमा इँटा थपोस्, इँटै नथपे पनि नझारोस् न । तर, हाम्रा कलाकारहरूलाई आजीविकाको आफ्नै दुःख पनि होला । खैर, उहाँहरूको जीवन उहाँहरूकै मर्जी । उसै पनि उहाँहरू भनिहाल्नुहुन्छ— मन नपरे नहेरे हुन्छ त, हेर्नैपर्छ भनेका छौँ र ?

अनि यो गीतको सन्दर्भमा अर्काे कुरो पनि गरिहालौँ । आखिर गाईजात्राको मौसम पनि छ, यतिबेला । कमेडियनहरूबाट बारम्बार भनियो— गीत फूलको तरेलीमा छोडेर आएँ भनिसकेपछि फेरि कहाँ खोजूँ कहाँ भेटूँ कसको परेलीमा रे ? जहाँ छोडेको हो, त्यहीँ खोज्ने नि ! 

हुन त उनीहरूले गरेको त्यो सामान्य व्यंग्य मात्र हो । तर, जुन दिन यस्ता गहिरा गीत उडाइयो नि, किरणका ठाउँमा ती कमेडियनहरूका 'राजा' दीपकराजहरू गीतकार बने । रचना/गायन/संगीत सबै हिसाबले उत्कृष्ट गीत ‘मैले गीत छोडी आएँ’हरूलाई हामीले धेरै पहिले नै छोडी आइसक्यौँ । अहिले एक दिनमै सयवटा गीत रिलिज हुन्छन् होला । तर सय दिनमा एउटै चैँ गतिलो गीत आएछ भने त्यो ठूलै कुरो भयो ।  

‘कन्यादान’मा किरणका आशा र प्रकाशले आपसमा बाँडेको ‘यति धेरै माया’ मायालु छ । गीतले यति धेरै माया दिन्छ कि बाँच्ने रहर बढाइदिन्छ, जिन्दगीमा घामको लाली सिंगै उभ्याइदिन्छ । मनोहरि/प्रकाशको ‘दुनियाँलाई टाढा छोड’ले दुनियाँबाटै टाढै पुर्‍याइदिन्छ । मनोहरि/प्रेमध्वजले ‘तारा मात्र होइन जून नै’ दिन्छन् । उनीहरू हामीले टेक्ने ठाउँमा शीतका थोपा छरिदिन्छन्, सास फेर्ने ठाउँमा सुवास भरिदिन्छन् । 

बच्चा बेलाकी उनको बिदाइमा ‘हामीलाई चटक्कै माया नमारे/अन्माउने बेलामा आँसु नझारे’ भनेर सुक्कसुक्क रुने मै मुला हुँ । रञ्जित/उदीत/साधनाको सरगममा कल्पनामै सही परेलीमा आई बस न भन्नु र परेलीमा झर्न सक्छु भन्दै रुमानी बात मार्नुमा कम्ती स्वाद थियो त ! भावुक हुँदै चिठीमा म किरणका शब्द कुँद्थेँ– रेशमी कपालमा सुनाखरी सजाउने ए प्रिय ! म तिम्रो पिरतीमा बगिरहेछु, मलाई थप नबगाऊ, बरु डुबाऊ ।  

नारायणगोपाल प्रश्न गर्छन् : मन्दिरमा छ कि मूर्तिमा माया ? रगतमा छ कि नातामा माया ? विश्वासमा छ कि वाचामा माया ? मायाजालको इन्द्रजाल छ, किरण संसारमा । नारायणगोपालले ‘रंगीविरंगी फूलहरू हो !’ भन्दै फूलहरूलाई सम्बोधन गर्दै सुनाएको विरहमा गायकीको बेग्लै बान्की पाउँछु म । 

सचिन सिंहको संगीतमा शर्मिला बर्देवाको स्वर ‘सुनको बिहानी चाँदीको पानी/वसन्ती बास्ना हो जिन्दगानी’ सुन्नुहोस्, तपाईं मात्र के हर फूल–पात हाँस्नेछन् । यो गीतले बिमारी भएर सुत्या बेला मलाई बेग्लै ऊर्जा सञ्चार गरायो । दामी छ यो गीत । 

आजका सिनेमाहरूमा न साधक शर्मिलाहरू छन्, न काव्यमय किरणहरू । नयाँ निरुताहरू पनि छन् तर, निरुताको नजिक नजिक पनि छैनन् । (यो गीत रोशा फुयाँलको स्वरमा पनि सुन्नुस् ल । ‘बर्सेर’लाई ‘बसेर’ उच्चारण गर्नेबाहेक उनले गजप गाएकी छन् । सारेगम लिटिल च्याम्पका ग्रान्ड जुरी र होनहार जजत्रयहरूले गीतका शब्द रोशालाई किन राम्ररी सिकाएनन्, त्यो भने मैले बुझिनँ ।)

किरण खरेल त शब्द मात्र हुन् । संकेतलाई वाचाल बनाउने त संगीत र स्वरले नै हो । गीत राम्रो–नराम्रो कस्तो बन्छ, संगीतकारको भूमिका नम्बर एक हो जस्तो लाग्छ । 

किरणमा प्रकाश थप्नेहरूको लामै लस्कर छ । आशा भोस्ले र उषा मंगेषकर, कविता कृष्णमुर्थी र अनुराधा पौड्वाल, मन्ना डे र महेन्द्र कपूर, जयदेव र मनोहरि, धेरै छन् स्वनामधन्यहरू । संगीतका एक गोपाल र गायकीका एक अर्का गोपाल हुँदै यो पुस्ताका अञ्जु पन्त, स्वरूप, हेमन्त रानासम्मबाट उनलाई सुन्न सकिन्छ । अम्बर गुरुङ, शिवशंकर, नातिकाजी, योगेश वैद्य, माणिकरत्न, रञ्जीत गजमेर, प्रकाश गुरुङ, बच्चुकैलाश, शक्तिबल्लभ, सुकमित गुरुङ, लोचन भट्टराई, उदित, शम्भुजीत, दीप र दीपक जंगमहरू । अनेक अवतारहरूको दिव्य सुर/स्वर पाएर किरण झनै काव्यिक छन् । 

सपनाश्रीसित मिलेर ‘मेरो सपनाको सदनमा तिमी प्रीतिको दीप जगाइदेऊ’ भन्दै दीप दीप जगाउँछन् । नातिकाजीको स्वर/संगीतको ‘नीरव रातमा आँसु खसाली सम्झिरहेको होला उसले/छिनिसकेको आस संगाली पर्खिरहेको होला उसले’ले बेग्लै खालको नीरवतामा लैजाँदो रहेछ । 

०००
‘तपाईं क–कसलाई विशेष सम्झिनुहुन्छ ?’ यो प्रश्नमा किरणले अरु कसैको नाम नलिई सिर्फ एक जनाको नाम लिएका छन् । चार वर्ष पुरानो एक वार्तामा उनले भनेका छन्, ‘म उहाँलाई कहिल्यै बिर्सन सक्दिनँ ।’ 

किरणले मात्र हैन, हामी कसैले पनि कहिल्यै बिर्सन नसक्ने उहाँको नाम हो, तारादेवी । 

किरणका सर्वाधिक लोकप्रिय गीतमध्ये धेरै त ताराकै छन् । ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ स्कुल पढ्दा कोर्सबुकमै पनि देखेको हुँ । गीत हुनुपर्ने त नेपाली किताबमा हो नि, तर थियो, सामाजिक किताबमा । यस्तो विशेष गीत जब अचेल बज्छ नि, (बज्छ के भन्नु आफैँ बजाइन्छ) सल्यान स्कुलको याद आउँछ । र, सँगसँगै याद आउँछ, तारादेवी जस्तै गाउने केटीहरूको, प्राणभन्दा प्यारो माइतीघरभन्दै नाच्ने छोरेट्टीहरूको । 

तारादेवीकै स्वर/संगीतमा ‘जाने त गैगो भैगो चिठी आएन’मा गैगो र भैगो स्टाइल झर्राे र प्यारो छ । ‘तिमीलाई देखेको रात के भयो मलाई बिर्सिनँ सकिनँ/धेरै चोटि बत्ती बालेँ, निभाएँ मात्र, निदाउन सकिनँ ।’ गजब छन् ताराका किरणहरू । किरणका ताराहरू ‘आँखाभरि तिमी तिमी मुटुभरि तिमी’ ।  

शिवशंकरको संगीतमा योगेश वैद्य र तारादेवीले गाएको गीत ‘तिमीलाई के भयो’ फेरि सुन्नुस् है । साह्रै सेक्सिलो पो छ त । शिवकै संगीतमा तारादेवी र प्रेमध्वज एकअर्काको नयनमा अनुहार हेर्छन्, एकअर्काको वदनमा माया लुकाउँछन् । 

किरणका गीतमा गम्भीरताभित्र सरलता छ । सरलतामा गम्भीरता छ । किरणका शब्द विशेषको कुनै अर्थ छैन । अर्थ त्यहाँ छ, जहाँ शब्द छैनन् । शब्द–शब्दबीच आउने खाली ठाउँमा छ, अर्थ । 

र, किरण त्यति बेला सुन्दर हुन्छ, जब किरणहरू इन्द्रधनुषमा  हुन्छन् । किरण सातै रङ र नवै रसमा छन् ।

दीपक जंगमको संगीतमा अर्काे एउटा मायालु गीत छ, किरणको । गीतको सुरुवातमै तारादेवीले सिर्फ ‘चाँडै आऊ है’ भन्छिन् । लाडे लवजमा यति प्रेमिल तरिकाले भन्छिन् कि, सुन्नेबित्तिकै म मेरी मायालुलाई चाँडै आऊ है भनेर एसएमएस गर्छु ।

दीपक भन्छन् : उल्ले अँगालो हालेर भनी ।

तारा भन्छिन् : चाँडै आऊ है ।

दीपक : आँखाको बत्ती बालेर भनी ।

तारा : चाँडै आऊ है ।

मुटुको ढोका खोलेर भनी । चाँडै आऊ है । 

यो गीतको संगीत स्टाइलिस छ । त्यो बेलाको जमानाअनुसार ‘अत्याधुनिक’ पनि छ । र, संगीतकार गतिलो परे गीतका प्याराग्राफ तल–माथि पारेर पनि झन् सुन्दर बनाउँछ । 

तारादेवी साँच्चै नेपाली संगीतकै तारा हुन् । संगीतज्ञ पिटर जे कार्थकले आफ्नो किताबमा दार्जीलिङ र काठमाडौँका संगीतकारबारे लेखेका छन् । यताका धेरैजसो संगीतकारका छद्म छविचित्र त उनले ड्याङ्कीड्याङ धुलाइ–दिएका छन् । कार्थकबाट प्रशंसाका शब्द पाउने थोरै मनुवामध्ये तारादेवी एक हुन् । र, एक्लो हुन्, यताका महिलामध्ये ।

२०२० सालमा निस्केको किरणको पहिलो गीतसंग्रह ‘के हो तिम्रो नाउँ ?’मा गायिका कुमारी ताराको मन्तव्य छ, ‘वहाँ आइमाईको हृदयको भावना गीतमा उतार्न बिल्कुलै सफल हुनुहुन्छ ।’ 

कुमारी ताराबाट तारादेवी हुनुअघि नै आफ्नो किताबमा मन्तव्य लेखाउने किरणका धेरैजसो, सायद आधाउधी गीत ‘आइमाई हृदयको भावना’मै केन्द्रित छन्, र ती केन्द्रित छन् तारादेवीको स्वरमा । अनि एक तिहाइ गीत प्रकृतिको प्यारमा केन्द्रित छन् । 

रोचक के भने त्यति बेलाका कतिपय कवि/गीतकारले महाराजहरूको महिमा पनि गाएका छन् । तर, किरण व्यक्तिपूजाबाट जोगिएका रहेछन् । राजागान नै राष्ट्रगान ठहरिने समयमा किरणले पनि लेखे कि त, जान्नेहरूलाई थाहा होला । तर मैले किताबमा व्यक्तिपूजा गरिएका गीत देखिनँ । 
किरण खरेलले जीवनभर गीत लेखे । उनले गीतमै लेखे :

गीत नै हो मेरो धन हीरा मोती सुन 
गीत हो मेरो जिन्दगीमा जग्मगाउने जून 
गीतसँगै बाँच्न पाऊँ गीतसँगै मर्न 
संसारमै चाहन्छु म गीतको बास्ना छर्न 
गीत नै हो मेरो सारा नाम दाम दौलत 
धनले किन्न नपाइने गीत मेरो इज्जत ।

किरणले रेडियो नेपाल, शाही नेपाल चलचित्र संस्थानतिर काम गरे । तर, उनलाई न पेन्सन मिल्यो । यति धेरै एकेडेमी छन्, न प्राज्ञ मिल्यो । न थैलीवाला गतिलो पुरस्कार नै । किरणलाई पुरस्कृत/सम्मानित गर्नु सायद अहिलेको विकृत संगीत उपचारको उपक्रम पनि हुँदो हो । 

गीतकार त धेरै छन्, यहाँ । कति गीतकार तथा सचिव छन् । कति गीतकार तथा आयुक्त छन् । कति गीतकार तथा पूर्वमन्त्री छन् । कति गीतकार तथा दलीय भर्तीतिर मात्र अर्जुनदृष्टि भएका लेखनदास छन् । कति गीतकार तथा अवार्ड खरिदकर्ता छन् । कति गीतकार तथा दलाल पनि छन् । कति गीतकार तथा भक्त–दास पनि छन् । कति गीतकार तथा अवैध बजारिया पनि छन् । कति गीतकार तथा सबथोक छन् । यो भीडमा किरण पनि गीतकार तथा गीतकार चैँ हुन् । 

रेडियो नेपालमा काम गरेपछि गीतकार हुन के गाह्रो ? ठीकै हो, त्यहाँका कर्मचारीमध्ये सायद दुई तिहाइ त ‘गीतकार’ भइसक्या होलान् । गीतकारको अड्डामा बसी आफैँ ढड्डामा नाम चढाउँदैमा त्यल्ले श्रोता (अब दर्शक) को मनमा बास पाउँछ भन्ने छैन । नाम टिपाउनेहरू रौँ बराबर भएर के भो, नाम टिकाउनेहरू एक हातका औँला बराबर पनि छैनन् । 

भोरको किरणभन्दा मध्यान्नको किरण रापतापयुक्त छ । किरणका चार किताबलाई जीवनका चार आश्रम/प्रहर मान्ने हो भने तेस्रो र चौथो प्रहरमा उनी स्वाभाविक रूपले जीवन र मृत्युबोधतिर फर्केका छन्

किरणलाई रेडियो नेपालमा हुँदा गीत लेख्न ऊर्जा त पक्कै मिल्यो । तर, सहज अवसर हुँदैमा राम्रो सर्जक हुने भए सबैभन्दा राम्रा सर्जक अहिलेको समयमा हुनुपर्ने हैन र ? प्रविधि र प्ल्याटफर्मका कारण सबैभन्दा अनुकूल समयमा सबैभन्दा कमजोर कला घिच्न अभिशप्त छैनौँ र हामी ? 

०००
काभ्रेको गाउँमा खुला चहुरमा जन्मेका किरणले पहिलो संगीत नै खोलाको छङछङ सुने । आकाशबाट आउने किरण पश्चिमको डाँडामा बिलाउँदै गर्दा धरतीमा अर्का किरण पैदा भएथे । ‘प्रकृतिसित मेरो धेरै गहिरो प्रेम भयो,’ किरणले भनेका छन्, ‘घरमा म धेरै नारी सदस्यको ममतामा हुर्किएँ । त्यसैले प्रकृति र नारीको सम्मानमा म स्वयं गीत बनेँ ।’ 

तर, किरणले आफ्ना गीतहरूमा बारम्बार ल्याउने पार्वती र पारुको प्रसंग भने जीवनभर खोलेनन् । उनले भनेका छन्, ‘मेरी पारु भोलिका दिनमा पनि रहस्यमै होस् ।’ किरणले आफ्नो दोस्रो गीतसंग्रहको नाम नै ‘मेरी पारु’ (२०२२) राखे । ‘के हो तिम्रो नाउँ ?’को जवाफमा दुई वर्षमै ‘पारु हो नाम’ भन्ने टाइपमा किताब बनाए । किरणको तेस्रो गीतसंग्रह ‘प्रियतमा’ (२०३६) । 

अर्का कुशल गीतकार दिनेश अधिकारीको संकलन/सम्पादनमा बुकहिल पब्लिकेसनबाट गत वर्ष निस्किएको हो, ‘ए दूरका सितारा’ । यो पुस्तकमा यसअघिका तीनवटै किताबका सबै गीत बिटो पारिएका छन् । हाल बजारमा नपाइने ती किताबबारे अधिकारीले बताएका छन् । सम्पादकीयमा अधिकारी लेख्छन्, ‘आधुनिक नेपाली गीतको विकास र विस्तारको सन्दर्भमा कसैले मेट्न वा पुछ्न नसक्ने नाम हो— किरण खरेल । गीत लेखनका सन्दर्भमा सबैभन्दा लोकप्रिय नाम हो— किरण खरेल ।’ 

एक गीतकारले अर्का गीतकारप्रति देखाएको यो सम्मान स्वयं मीठो संगीत हो । 

भोरको किरणभन्दा मध्यान्नको किरण रापतापयुक्त छ । किरणका चार किताबलाई जीवनका चार आश्रम/प्रहर मान्ने हो भने तेस्रो र चौथो प्रहरमा उनी स्वाभाविक रूपले जीवन र मृत्युबोधतिर फर्केका छन् । किरण दर्शन भन्छ, ‘म बितेर के हुन्छ र फेरि घाम लागिहाल्छ/उस्तै हुन्छ चहलपहल समय त बगिहाल्छ ।’ 

‘भक्तहरूले बुझिदिनुपर्छ’ भन्ने किरणको गीत चल्तीको गाना हैन । तर, यो गीतले भन्न खाजेको कथ्य मलाई विशिष्ट लाग्यो । गीत भन्छ, ‘पाप पखाल्न पुण्य सँगाल्न आउनेहरूको घुइँचोभित्र/निसासिँदै ऊ हेरिरहेछ यो दुनियाँको रंगीन चित्र/ऊ छ सबैको तर उसको ख्वै यत्रो हुलमा कोही छैन/वरदान माग्नेहरू मात्र छन् माया गर्ने कोही छैन/चर्काे स्वरले घण्ट बजाउँदा कहालीलाग्दो होला भनी/भक्तहरूले बुझिदिनुपर्छ भगवान्को समस्याहरू पनि/यसलाई पनि मन लाग्दो हो कहिलेकाहीँ रुन भनी ।’

यो चौथो किताबको चौथो तथा अन्तिम खण्डको नाम हो, ‘एकान्तमा’ । र, मेरा प्यारा गीतकार किरण खरेल पनि एकान्तमा छन् । उनले लेखेकै छन् : एकान्तमा जन्मिएँ म एकान्तमै मर्न पाऊँ/हल्ला हैन हूल हैन एकान्तमै मर्न पाऊँ ।

र, म आफ्ना प्रिय गीतकारको ‘८४ पूजा’ यहीँ समापन गरेको घोषणा गर्छु । आलोेचना केही नगरी देउतै बनाएर लेखिएको यो भजन किरण–कीर्तन नै बन्यो सायद । भजन पनि वजन भएकाहरूको गर्नु पाइयोस्, मुक्त मानवहरूको भक्त हुन पाइयोस् । यसमा लज्जा त लेस पनि छैन, बरु मज्जा छ । आखिर एउटा किरण फुले यहाँ धरती मग्मगाउँछ, एउटा किरण बले यहाँ जगत् जग्मगाउँछ ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x