विचार

चुनाव आउँदैछ भ्रष्टाचारीहरूलाई भोट नदिऔँ

सुशीला कार्की |
साउन ३०, २०७९ १८:२९ बजे

प्रजातन्त्र भनौँ या लोकतन्त्र, यो व्यवस्था फस्टाउने मूल कडी नै स्वच्छ, स्वतन्त्र, भयरहित निर्वाचन हो । मतदाताले अक्षम दल वा तिनका अकर्मण्य, भ्रष्ट, घमण्डी, दम्भी नेताहरूलाई हराएर दण्डित गर्ने अवसर पनि निर्वाचनकै बेला मिल्छ । लोकतन्त्रको सौन्दर्य भनेकै पाँच वर्षे चुनावकै बेला त्यस्ता पात्र र दलहरूसँग बदला लिनु हो । त्यो अवसर नागरिकले प्रयोग गर्नुपर्छ, अन्यथा अयोग्यहरूबाटै शासित हुनुपर्छ ।

लोकतन्त्र संसारभरि प्रख्यात भएको शासन पद्धति हो । हुन त, संसारमा लोकतन्त्रको नाममा निरंकुश शासनतन्त्र पनि शासकहरूले चलाएका उदाहरण छन् । तर लोकतन्त्रमा जति जति निर्वाचन हुँदै जान्छ, त्यति–त्यति व्यवस्था र शासन पद्धति सुदृढ र परिष्कृत हुँदै जाने गरेको पाइएको छ ।


हामी छिमेकी मुलुक भारतको उदाहरण लिन सक्छौँ, जहाँ कुनै समयको शक्तिशाली दल कांग्रेस आज कहाँ पुग्यो ? अब त्यो दल सरकार बनाउने गरी मतदाताले मत नदिएपछि असफल हुँदै गएको छ । त्यहाँ केही समयदेखि भारतीय जनता पार्टीको सरकार कायम छ । कुनै समयमा भारतीय जनता पार्टी, जब जनसंघ दल थियो । त्यसमा पनि उसले जम्मा चार सिट ल्याएको थियो । कुनै बेला अटलबिहारी बाजपेयी जस्ता नेताले समेत हार बेहोर्नु परेको दृष्टान्त छ । 

बेलायतमा पनि कहिले कन्जरभेटिभ दल र कहिले लेबर दल सत्तामा पुग्छन् भने अमेरिकामा पनि कहिले रिपब्लिकन र कहिले डेमोक्य्राट सत्तामा पुग्ने गरेका छन् ।
नेपालमा २००७ र २०४६ सालमा प्रजातन्त्रको बहाली पटक पटक हुँदै जाने र पुनः अपहरण भएको दृष्टान्त छ । २०४६ पछि प्रजातान्त्रिक व्यवस्थालाई जसरी सुदृढ बनाउँदै लानुपर्ने थियो, ती प्रयास दलहरूबाट पनि भएको पाइँदैन । 

लोकतन्त्रमा लोकको शासन हुन्छ । माफिया, मवाली, तस्कर, बिचौलिया र भष्टाचारीहरू हाबी भएको शासन हुँदैन । लोकन्त्रमा सत्तामा आसीन भएपछि नेताहरूमा लुटको प्रवृत्ति पनि रहनु हुँदैन । मुलुकमा खडा हुने प्रत्येक दलका सिद्धान्त हुन्छन् र कमबेसी गरी सबै दलले आधुनिक युगमा राम्रै सिद्धान्तलाई अँगालेका हुन्छन् । दलभित्र पनि नेताहरूको पद र तह हुन्छ, अनुशासन हुन्छ, जसको पालना र आदर दलभित्र अनिवार्यतः हुनै पर्छ ।

धेरै चप्पल फटाएपछि मात्र एउटा साधरण कार्यकर्ता उपल्लो तहको नेता बन्‍न सफल भएका हुन्छन् । विद्वता र योग्यता भएका नौजवान कार्यकर्ता छिट्टै माथिल्लो तहको नेता बन्‍न सफल भएको संसारमा उदाहरण छ ।

नेपालमा पनि २०४६ अघि प्रतिबन्धित अवस्थामा दलहरूले आफ्ना कार्यकर्ताहरूलाई दलीय सिद्धान्त र आचरणबारे बराबर प्रशिक्षण दिने गरेका थिए । उनीहरू पार्टीको नीति, सिद्धान्त, राजनीतिक वस्तुस्थितिप्रति अधिक जानकार हुन्थे । पार्टीमा आदर्शका नैतिकताका विषयमा बहस हुन्थ्यो । यतिखेर त्यस्तो दृश्य बिरलै देखापर्छ । यहाँसम्म कि दलीय कार्यकर्ताहरू भाडाका सेना जस्ता भनी धेरैले आलोचना गरेको पाइएको छ ।

२०४६ पछिको शासनकालमा अधिकांश नेताहरू सत्ताधारी दलका हुन् वा प्रतिपक्षका हुन् सत्तामा आसीन भएपछि कमाउनै पर्छ भन्‍ने अवधारणा रहेको पाइएको छ । पैसा छरेर निर्वाचन जित्ने अनि जितेपछि व्यापारीले जस्तो साँवा, व्याज, मुनाफा मरीकुच्चै आफ्ना तीन पुस्ताको भविष्यका निम्ति कमाउने प्रवृत्ति बढ्दै धारणा सर्वत्र पाइन्छ । 

आजभोलि दलभित्र बसेर जसले कुम्ल्याउन सक्दैन, जो आदर्शवादी बन्‍न चाहन्छ, ऊ दलभित्रै टिक्न पनि नसक्ने वातावरण देखिएको छ । मुलुकमा भ्रष्टाचार यति व्यापक छ कि वन, जंगल, माटो, जल, डाँडा भाटा, मन्दिर, मठ, सबै बिकेका छन् । राजधानी आसपासका डाँडाहरू सम्मिएका छन् । खुर्किएका छन्, प्लटिङ भएका छन् । त्यसको इजाजत सत्ताधारीहरूमध्येका बाहुबलीहरूको मिलोमतोविना सम्भव छैन, यो सबैले बुझेको कुरा हो । 

प्रकृतिविरुद्ध भइरहेका यस्ता भयावह प्रहारले भोलिका दिनहरूमा कुन किसिमको अनिष्ट निम्त्याउँछ, तस्बिर डरलाग्दो छ । मानव बस्तीमाथि कति क्षति पुर्‍याउने हो, त्यो थाहा छैन । मूर्धन्य नेताहरूलाई मनग्य भेटीको थैली जसले चढाउन सकेका हुन्छन्, तिनका चरित्र र उद्देश्य जे–जस्ता हुन् तिनै भित्रिया भइदिएका छन् । यस प्रकृतिको शासन–शैलीले नेता हुनेहरू तिनको परिवारलाई आवाद गरे पनि मुलुकको विकास असम्भव भएको कारण भने यही नै हो ।

भ्रष्टाचारको नियत र नीति मौजुदा रहे–भएको कारण नै त्यसै मनसालाई आवाद गर्नलाई नेताहरूले आफ्ना वरिपरिका सरकारी संयन्त्रहरूमा आफ्ना गठमेलका मानिसहरू राखेर कारबाहीबाट मुक्त हुने र शासन आफूखुसी चलाउने प्रवृत्ति देखिएको छ । यस प्रवृत्तिबाट न त जनताको हित हुन्छ, न त राष्ट्रलाई नै फाइदा हुन सम्भव छ । 

बहुदल प्राप्तिदेखि हालसम्म मुलुकले विकास गर्न नसकेको कारण पनि यही हो । कुनै पनि मुलुकमा विकास गराउने जिम्मेदारी जनताको हकमा पनि केही अंश त रहेकै हुन्छ । नेपालमा निरंकुशतन्त्रविरुद्ध जनता लडेका हुन् । शहादत प्राप्ति पनि बेला बेलामा जनताका छोरा छोरीहरूले नै पाएका हुन् । तर व्यवहारमा के देखिएको छ भने जब सत्तामा पुगेर शासन गर्ने बखत हुन्छ, जहिले पनि विचलन, अनावश्यक विवाद र बहुमत प्राप्त एकमना सरकार समेत पूर्ण अवधिसम्म कायम नहुने जस्ता प्रवृत्ति देखिएका छन् । सत्तामा पुग्नेबित्तिकै मुलुकको मठाधीश मै हुँ र सबै मप्रति झुक्नुपर्छ र मैले बोलेको कुरा नै रामवाण हुन् भन्‍ने प्रवृत्ति सत्ताधारीमा रहनु हुँदैन । दलीय शासनमा दलभित्रका नेता–कार्यकर्ता त के विपक्षीहरूलाई पनि सँगै हाँकेर लिएर जानुमै भलो हुन्छ ।

विगत ७० वर्षदेखि नेपालमा कोरा राजनीति मात्र देखिएको छ । तेज रफ्तारको विकास जसरी छिमेकी मुलुकले गर्न सकेका छन्, त्यो आजसम्म हामीले गर्न सकेका छैनौँ । 

नेपालमा दलीय पद्धतिलाई यति धेरै संकुचनको साथ चलाएको देखिएको छ, मानौँ एक दलको शासन भएपछि अर्को दल पक्षधर नेता, कार्यकर्ता, समर्थक जनताको कुनै मूल्य र मान्यता नै रहँदैन । वस्तुतः दलीय पद्धतिको शासनमा पक्ष–विपक्ष दलहरूको खेमाबीच निर्वाचन हुँदासम्म पक्ष–विपक्षको अवधारणाको विभाजन मतदाताबीच हुने हो । निर्वाचनपछि गठित सरकार सबै जनताको सरकार हुन्छ र सबै जनता सरकारको जनता हुनेछ ।

निर्वाचन समाप्त भएपछि यो दल वा ऊ दल भनी पंक्तिभेद गर्ने प्रश्न नै उठ्दैन । तर नेपालमा विपक्षी दलको मतदाताको बाहुल्य भएको क्षेत्रलाई सत्ताधारीले हेला–होचो गर्ने प्रवृत्ति छ । सुविधा प्रदान गर्ने कुरामा सौतेनी व्यवहार देखाउने गरिन्छ । 

यस्तो व्यवहार सबै दलले सबै दलविरुद्ध अवसर पाउँदा देखाएकै छन् । अझ बढी मन्त्री र ताकतवर नेताहरूले पुनः सजिलैसँग आफू निर्वाचित हुन विकासको बजेट जति लाजै नमानी आफ्ना क्षेत्रमा मात्र खन्याएको पनि देखिएको छ । बहुदलीय व्यवस्थामा जनताको हक–हितमा काम गर्ने दललाई जनताले पहिचान गरी मत दिने गरेका हुन्छन् ।

यसै क्रममा जनताप्रति समर्पित भई लोकप्रियता पाउने कुनै पनि दलले निर्वाचनद्वारा सत्तामा बहाल हुन सक्नेछ । यसको निम्ति रक्तपातद्वारा तख्ता पल्टाउने र व्यवस्थाविरुद्ध गएर सत्ताच्युत गर्ने आवश्यकता परिरहँदैन ।बहुदलीय व्यवस्थामा हुने गरेको बारम्बारको निर्वाचनले जनतालाई चेतनशील र सक्रिय पनि बनाउने गरेको हुन्छ । भारतमा रेलको डिब्बामा बसी यात्रा गर्दा देखिएका वा भेटिएका त्यहाँको भारतीय यात्रीमा राजनीतिमा रहेको तिनको ज्ञान र तिनको बहस गराइको क्षमताबाटै बुझ्‍न सकिन्छ । साधारणभन्दा साधारण मानिसमा पनि राजनीति बुझ्‍ने र सम्झिने क्षमताको विकास भएको देखिएको छ । 

नेपालमा पनि आमनागरिकमा क्रमशः राजनीतिक सुझबुझको विकास हुँदै गएको भए तापनि नेपालमा मुलुकको आर्थिक विकास नभएको कारण चरम भ्रष्टाचार नै हो । पैसा बाँडेर मागिने मत, पैसा लिएर दिने मत, जब मतको किनबेच हुन्छ भने त्यो भन्दा ठूलो भष्टाचार नै अरु के हुन्छ र ? 

भारतमा हुने गरेको निर्वाचनमा पनि कुनै कुनै राज्यमा ठूलो मतको लुटपाट र किनबेच हुने गरेकामा प्रमुख निर्वाचन आयुक्त टीएन शेषनको पालामा कठोर नियमको पालना गरी त्यसलाई नियन्त्रण गरेका थिए ।

नेपालमा अर्को त्रुटि के पनि देखिएको छ भने आममानिसमा राजनीतिबाट नै सबै कुरा हुनसक्छ भन्‍ने हरेकमा धारणा रहेको पाइन्छ । अर्को कुरा राजनीतिलाई कमाउने भाडाका रुपमा हेरिन्छ । वास्तवमा राजनीति एक प्रकारले मुलुकको र समाजको पूर्णतः सेवा हो । यो एउटा साधन हो जसको माध्यमबाट मुलुकको सञ्चालन गरिन्छ, यो साध्य होइन । 

राजनीति गरेपछि आर्यघाट पुग्दासम्मै गर्नुपर्ने, अरुले पालो नै नपाउने, उच्चस्तरीय जीवनवृत्ति आफू र आफ्नो तीन पुस्ताका रोजगारी र आयको स्रोत त्यसैलाई पेसाका रूपमा बनाउने अवधारणा राख्नु स्वयं लोकतान्त्रिक चरित्र हो र ? नेपालमा यही सोच भएसम्मका नेताहरूमा देखिएको छ । 

अरु मुलुकमा नेताहरूका विशेषतः आफू राजनीतिमा नभएका बखत खर्च चलाउने आम्दानीका स्रोत वा रोजगारी हुने गरेका छन् । राजनीतिबाट बाहिरिएपछि काम गर्ने गरेको पाइएको छ । 

तर, नेपालमा दृश्य अलि फरक छ । नेता–कार्यकर्ता राजनीतिसँगै अथाह कमाइरहेका हुन्छन् । निर्वाचित पदबाट बाहिरिएपछि पनि राजनीतिमै अल्झिएको पाइन्छ । प्रशस्त जग्गा–जमिन र आयस्ता भएका मानिसहरू कृषि र अन्य पेसा छाडी राजनीतिमा व्यर्थको समय बिताएको देखिएको छ । कतिपय शक्ति प्राप्तिका निम्ति राजनीतिमा लागेका छन् । राजनीतिमा लाग्दा सब कुरा पाइन्छ भन्‍ने भ्रममा परेर व्यर्थको समय खेर फाल्दा कतिपय पाउनुभन्दा बढी गुमाएका पनि छन् ।

राजनीतिलाई गम्भीर रूपमा लिएर जसरी दिन–रात मानिसको ठूलो समूह दलहरूका पछि लागि केही पाउने आशमा लागेका छन् त्यो व्यर्थ छ । त्यहाँ पनि कसैले कसैले केही पाएका छन् वा कमाएका छन् भने चाटुकारहरूले मात्र कमाएका छन् । सोझा सिधाले जीवनभरि दण्डा खाँदा र झण्डा बोक्दा पनि केही नपाएको उदाहरण प्रशस्त छ । 

प्रत्येक मुलुकको आ–आफ्नो मौलिकता र विशेषता भौगोलिक कारणवाट फरक–फरक हुन्छ । नेपाल एउटा भूपरिवेष्ठित राष्ट्र हो, आकारमा सानो छ । तीन भाग उच्च पहाड छ, एक भाग तराई छ । प्रशस्त नदी–नालाहरू छन् । एउटा अलौकिक राष्ट्र प्रकृतिको कारणबाटै पनि देखिएको छ । हामीले वास्तवमा मौखिक रुपमा हुने चर्चा गरिने राजनीतिको तर्फभन्दा बढी गम्भीर चिन्तन र प्रयास विकासतर्फ गर्न जरुरी देखन्छ ।

नेताले मात्र होइन कि जनताले पनि यी कुरालाई बुझ्न सक्नुपर्छ । प्रत्येकले महत्वपूर्ण समयलाई खेर नफाली आफ्नो परिवार र आफ्नो व्यवहार व्यापारतर्फ ध्यान दिनु उचित हुन्छ । राज्यले बाटोघाटो अस्पताल दुःख बिमारीका समयमा मात्र रेखदेख गर्ने हुँदा आफ्नो निजी व्यवहार आफैँले बेहोर्नुपर्ने हुन्छ ।

विगत ७० वर्षदेखि नेपालमा कोरा राजनीति मात्र देखिएको छ । तेज रफ्तारको विकास जसरी छिमेकी मुलुकले गर्न सकेका छन्, त्यो आजसम्म हामीले गर्न सकेका छैनौँ । त्यो विकासको सम्भव आमजनताको बीच फुट र विभक्त भएर होइन, आपसमा मिलेर मात्र सम्भव हुन्छ ।

राजनीतिमा अनेकन् उतारचढावसँगै राम्रा–नराम्रा दृश्य हामीले, हाम्रो मुलुकभित्र ७० वर्षसम्म देखेकै छौँ । छिमेकी मुलुक भारतमा त्यहाँको संघीय संसद् र राज्यस्तरका विधानसभामा हुने गरेको उठापटक पनि सुनेका छाँै । कम्युनिस्टको कठोर अनुशासित शासनबारेमा उत्तरतर्फको छिमेकी मुलुक चीनमा भएको बारेमा पनि सुनेको छौँ । 

तसर्थ, अबको दिनमा हामीले यी सबै दैनिक चर्चा–विचर्चाको कुरालाई छाडी विकासतर्फ मनन गर्न जरुरी छ । राजनीतिको उत्पादकविहीन कुरालाई निर्वाचनको बखत हुने चर्चा उपचर्चासम्म सीमित राखी बाँकी समयमा निजी पारिवारिक विकास र राष्ट्रको विकासतर्फ मात्र ध्यान दिन जरुरी छ ।राजनीतिको दैनिक हुने चर्चा, गाली गलौज, छिःछिः धुरधुरका फोहोर आरोप–प्रत्यारोपहरू वास्तवमा अनुत्पादक क्रियाकर्म हुन् । जो हिजो–आज अत्यन्त बढी देखिन्छ । यसको लाभ मुठ्ठीभरिका वर्गलाई मात्र छ, सबैलाई छैन ।

अब आमजनताले सत्ताधरीलाई मुलुकको विकासका निम्ति घचघच्याउने हो । अनि खालि आरोप–प्रत्यारोपमा व्यस्त रहने र भएका संस्थाहरूलाई धराशयी बनाउनेबारे बहस चलाउनु पर्छ । दम्भी–घमण्डी, भ्रष्टाचार नेताहरूले चुनाव जितेमा हामीले कुशासन खेप्नुपर्छ । चुनावकै बेला  विकास नगर्ने लोसे पाराका र भ्रष्ट नेतालाई भोट नदिऔँ । तिनलाई पाखा लगाउने उपयुक्त अवसर चुनावकै बेला हो । त्यही अभियान चलाउनु उपयुक्त हुन्छ । (इकागज अर्काइभबाट)


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
ad
x