विचार

कुराकानी

शून्य खर्चमै बन्यो एकै दिनमा पुल

कृष्णबहादुर बस्‍नेत |
भदौ ३, २०७९ ११:२० बजे

मेरो नाम कृष्णबहादुर बस्नेत हो । म साठी वर्षको भएँ । म कर्णाली प्रदेश, सल्यान जिल्ला, छत्रेश्वरी गाउँपालिका, वडा नम्बर २ मा बस्छु । म पेसाले लेखापढीको काम गर्छु । हामीले हिजो भदौ २ गते पुल बनायौँ । पुल बनाएको खोलाको नाम कालाखोला हो । यसलाई कोप्ची खोला पनि भनिन्छ । हामीले पुल बनाएको ठाउँ नजिकै पानीघट्ट पनि छ ।

बर्खाको समय आवतजावत गर्न हामीलाई समस्या भइरहेको थियो । सरकारको मुख ताक्दा कहिले बन्ने हो कहिले ! बर्खा सकिएपछि बन्ला, अनि के काम त ! 


मैले फेसबुकमा यस्तै पुल बनाएको देखेँ । सायद रुकुम जिल्लामा होला, मैले त्यो बनाएको भिडियो पनि हेरेँ । 

अनि मैले म पनि बनाउन सक्छु कि भन्ने विचार गरेँ । मैले त्यहीँ भिडियो देखेर मनमनै पुलको डिजाइन गरेँ । अनि मैले मेरो योजना साथीहरुलाई सुनाएँ । 

मलाई गाउँका सबैले साथ दिनुभयो । हामी २०/२५ जना मिलेर पुल बनायौँ । मास्तिरबाट बाँस लिएर आयौँ । 

सबै मिलेर बनाउँदा एक दिनमै पुल बन्यो । अब दादर दहखोला, गोठीखोला, चोरडाँडा, लिरेडाँडाका सबै बासिन्दालाई आवतजावत गर्न सजिलो भएको छ । 

यसअघि मैले यस्तो पुल बनाएको थिइनँ । सल्यानमा मैले अहिले यस्तो पुल देखेको छैन, पहिला–पहिला हाम्रो गाउँघरमा यस्तै पुलले काम चल्थ्यो । 

मेरो विचारमा यो पुल तीन वर्ष त मज्जाले टिक्छ । तीन वर्षपछि त सरकारले बनाइदेला नि झनै राम्रो पुल । 

अहिले यसमा मोटरसाइकल पनि कुदाउन थालेका छन् । यो पुलले मोटरसाइकलसम्म धान्छ । 

मलाई लाग्छ, हाम्रो ठाउँ हामीले नबनाए कसले बनाउने ? गाउँमा हामी नताते को तात्छ ? अनि मलाई लाग्यो, अहिले समस्या पर्दा नबनाए कहिले बनाउने ?

सबै मिलेर लागे एकै दिनमा समस्या समाधान हुने रहेछ । बस्, हामीमा आँट र जाँगरको मात्र खाँचो रहेछ । पैसा पनि नचाहिने रहेछ । सामूहिक काम गर्दा काम गरेको जस्तो बोझ पनि नहुने रहेछ । रमाइलो रमाइलैमा काम सकिन्छ ।

अनि सबैको श्रम परेको हुँदा यसको संरक्षण, सम्भार गर्न पनि सबैलाई मन लाग्छ । गाउँका सबै सदस्यको यसको आमा । आमालाई आफ्ना सन्तान बिरामी बनाउन कसलाई मन लाग्छ र ?

(इकागजसँगको कुराकानीमा आधारित ।)


Author

थप समाचार
ad
x