जोगी र बागी प्रदीप गिरिको बौद्धिक सत्ता
‘प्रदीप गिरि अब रहनुभएन ।’
शनिबार राति साढे नौ बजेदेखि आइरहेका समाचार चोटपटक बनेर आइरहेका छन् । यो पंक्तिकार उनलाई सम्झिँदै, उनका वार्ता र लेख हेर्दाहेर्दै बिहान दुई बजेसम्म निदाउन सकेन । अनि उसले एउटा ‘कविता’ कोर्यो र दुई बजेतिर आफ्नो फेसबुक/ट्वीटरमा हाल्यो ।
आइतबार अफिसको काम सकेर साँझ अबेर यो पंक्तिकार सहकर्मी सामीप्य दाइसँगै आर्यघाट पुग्यो । एक खालको रिक्तता र शून्यतामा दीप निभेको रातमा मबाट यी शब्द तप्किरहेका छन् ।
उनीबारे धेरैले लेखिरहनुभएको छ, बोलिरहनुभएको छ । सबैजसो पढिरहेको छु । तर, मन शान्त भइरहेको छैन । लेख्नलाई मसँग नयाँ केही छैन । उनीसँगका अविस्मरणीय संगत-संस्मरण पनि छैनन् । न म उनका प्रवचन बुझ्ने ल्याकत नै राख्छु । तर, नलेखी रहन सक्दै सकिएन ।
आजीवन राजकीय पदको अतृप्त प्यासी जो तिर्खाले आकुल-व्याकुल हुँदा पनि ‘पानी कि पद’ भनेर सोध्यो भने पद रोज्छ, उही प्रदीप गिरिको नेता छ, यहाँ । हामी बाँचिबस्नेलाई योभन्दा चोटपटक अरु के हुन्छ र ? पदमा पल्टैपल्ट रहनुको उसको मिसन नै कमिसन खानेबाहेक अर्थाेक छैन, उही प्रदीपथपमा छ, पीडादायी क्षण छ ।
प्रदीपलाई हामी गान्धीवादी भनिरहेछौँ । पत्रकार यज्ञशसँगको संवादमा गिरिले आफूलाई गान्धीवादी भनाएका छैनन् । गान्धीको जीवन अलिकति पनि बाँच्न नसक्ने म कसरी गान्धीवादी ? गिरि यति इमानदार छन् तर लोभी-पापी, भ्रष्ट-तस्कारहरू आफूलाई प्रदीपको साथी/उत्तराधिकारी घोषणा गरिरहेछन् ।
ठगदारको घरमा बस्ने महाठगदार यहाँ सर्वहारा नेता छ, ऊ पनि प्रदीपको चेलो रे । निर्वाचित संसद्लाई दुई-दुईपल्ट खड्ग प्रहार गरेर लोकतन्त्रको हत्या गर्ने प्रा.डा. पनि यहाँ लोकतन्त्रवादी प्रदीपको गाथाकार ? लाजलाई पनि लजाउने वातावरण छैन यहाँ । हामी पत्रकार पनि उस्तै छौँ, घामझैँ छर्लंग दीपलाई प्रकाश पार्न तमसहरू उभ्याइरहन्छौँ ।
व्यवस्थापिकामा आइरहे, कार्यपालिकाबाट पन्छिरहे ।
अनि प्रदीप गिरिबारे लेख्ने म चाहिँ कहाँको सद्दे हुँ त ? यो पंक्तिकार सांसारिक हो, पारिवारिक हो । काम, क्रोध, लोभ, मोह सब पालिबसेको अर्धमानव हो । नाफा-घाटाको हिसाब गरीगरी बाँच्ने कुण्ठित केटो हो । ऊ पैसाका लागि दिनमा १२ घण्टा हड्डी घोट्छ । पैसा केका लागि ? गाँस, बास, कपास, सहवासयुक्त दास जीवन जिउन । खासमा भन्ने हो भने हामी जिउँदा लास हौँ- कमसेकम मलाई यस्तै लाग्छ ।
हामीमा नागरिक/नेता हुनुको कुनै दायित्व हुन्थ्यो भने, यो समाज यस्तै हुन्थ्यो त ? हामी सबका सब विवेकी, इमानी, कर्तव्यनिष्ठ छौँ भने हाम्रो समाज किन यति भ्रष्ट छ ? एक जना प्रदीप जाँदैमा यहाँ बौद्धिकताको खडेरी, इमानको खडेरी, सादगीपनको खडेरी, समतामूलक सोचको खडेरी छ भने यो समाज मृत समाज हो । सुजित महत र नरेश ज्ञवालीसँगको वार्तामा प्रदीपले भनेझैँ एक जना नायकको निधनमा यति रुवाबासी गर्ने हाम्रो समाज अभागा समाज हो ।
तीतो यथार्थ नै यही हो, प्रदीपहरू अब सकिँदै छन् । मूल (राजनीति) नै फोहोरी भएपछि अरु खोलानाला नालै हुन्छन् । नागरिक भ्रष्ट छ, ऊ भ्रष्ट नेता चुन्छ । कार्यकर्ता भ्रष्ट छ, ऊ महाधिवेशनहरूमा भ्रष्टहरू छानीछानी चुन्छ । भीमबहादुर तामाङहरूको लज्जास्पद हारमा बीपीका कार्यकर्ताहरू विजय जुलुस निकाल्छन् । बलदेव शर्मा मजगैँया-मोहन वैद्य ‘किरण’हरूको थान्कोमान्कोमा समाजवादी/सर्वहारा क्रान्ति सफल हुन्छ । समाजवादी प्रदीप गिरिको आनाकानीमा ‘समाजवादउन्मुख’ संविधान जारी हुन्छ । दुर्गा प्रसाईंहरूको मेजमान खाएर शारदा अधिकारीहरूको शयनमा निदाउन थालेपछि लोकेन्द्र विष्ट मगरहरू ह्वास्स गनाउँछन् । जहानियाँ सरकारलाई प्रदीप गिरिहरूको बौद्धिकता र प्रश्नले पोल्न थाल्छ ।
यस्तो लाग्छ, मूर्खहरूसँग भिड्दा तिम्रै मुख अपवित्र हुन्छ (कविवर माधव घिमिरेले भनेको) भनेर ‘ईश्वर’ राम्राहरू छानीछानी लैजान्छन् । निकट विगतमै राजनीतिक महलबाट भीमबहादुर तामाङ, शैलजा आचार्य, चक्र बास्तोला, नवीन्द्रराज जोशी, उज्वल थापाहरूले आधा बाटोबाटै बाटो मोडे । जसलाई आमनागरिकले रात-दिन थुकिरहेका छन्, ती रकमीहरूको यहाँ सधैँ रजगज छ । जो अलि बाँचोस्, अलि बोलोस्, अलि सक्रिय होस् लाग्छ, उही ‘नर्क’बाट ‘स्वर्ग’तिर फटाफट बसाइँ हिँडिरहेछ ।
हुनलाई प्रदीप गिरि एउटा पार्टीको केन्द्रीय सदस्य र सांसद मात्र हुन् । सांसद र केन्द्रीय सदस्यभन्दा माथि उनको पद कहिल्यै भएन । उनी यहाँभन्दा माथिको पदीय सोपान चढ्न कहिल्यै राजी पनि भएनन् ।
पटक-पटक पदमा बसेर पनि कुनै कद बनाउन नसेकेका नेताहरूबीच प्रदीप गिरिको यो आम अश्रुपूर्ण बिदाइ अविस्मरणीय छ । समकालीन राजनीतिज्ञप्रति चरम निराशा छाइरहेका बेला प्रदीपको यो प्रस्थान झनै निराशाजनक छ ।
प्रदीप गिरि जो पार्टीमा थिए, जो पार्टीमा थिएनन् । प्रदीप गिरि जो राजनीतिमा थिए, जो राजनीतिमा थिएनन् । ‘पार्टी’ र ‘राजनीति’को जुन प्रचलित ध्येय र आमबुझाइ छ, प्रदीप यसमा अपवाद थिए । पार्टीको संगठन उनका लागि सानो साँघुरो कुनो मात्र थियो । राजनीति सत्ताको खेल हो भन्ने कथनमा उनी राजी थिएनन् ।
उनी एक पटकबाहेक व्यवस्थापिकामा आइरहे । कार्यपालिकाबाट सधैँ पन्छिरहे । उनी संसद्मा बोल्थे, बस् । आफ्नो सत्ताधारी पार्टीको पनि बागी सांसद भएर बोल्थे । बागीपन र बौद्धिकता नै उनको पहिचान र सामर्थ्य दुवै भयो ।
महाभारतप्रति गहिरो रुचि भएका प्रदीप गिरि कृष्ण जन्मेकै भोलिपल्ट गए । एक कृष्ण सोह्र सयकै मनमनमा बेग्लै र पूर्ण आकृतिमा छन् । उसरी नै प्रदीप एक छन्, तर मनमनमा अनेक छन् । प्रदीप पनि लीला थिए र लीला भए ।
‘राजनीति गर्ने अनि मन्त्री बनेर काम गर्न डराउने ?’ यस्तो एकपाखे बुझाइ पनि छ, हाम्रो समाजमा । बोल्नु, लेख्नु, पढ्नु, प्रश्न गर्नु, विकल्पमा घोत्लिनु, विचार बनाउनु, सरकारलाई केरकार गर्नु, बोलेरै युवाहरुलाई जुरुकजुरुक उचाल्नुलाई हाम्रो समाजमा ‘काम’ मानिँदैन । यसर्थ, कतिका लागि प्रदीप ‘बेकामे’ पनि थिए ।
प्र-दीपको उज्यालोले छेउछाउ प्रकाशित थियो । उनका भाषण सुनेर युवाहरू विचार बनाउँथे । गोलबद्ध हुन्थे । उनलाई पढेर चेतनाको पर्दा उघार्थे । जवाफै जवाफ दिँदादिँदा हत्तु भइसकेका ‘शिक्षित निरक्षर’हरूलाई प्रश्न गर्न सिकाएकै प्रदीपहरूले हो । अध्ययन-मननको यस्तो मार्ग अलि लामो र अलि अमूर्त अनि अलि कष्टप्रद पनि हुन्छ । तर, हेरिल्याउँदा तिनको भूमिका जीवन-जगत्का कतिपय कुइनेटाहरूमा सर्वाधिक कामयावी हुन्छ ।
प्रदीप कैयौँ दिन किताबहरूमा हराउँथे । कयौँ दिन हैन, कयौँ रात हराउँथे । स्कुले जीवन, असफल अस्कल जीवन, बनारसी जीवन, जेल जीवन, जेएनयु जीवन जहाँ पनि उनी किताबहरूमा घोप्टिए । मण्डला बुक पोइन्टका माधव महर्जनका लागि प्रदीप आफ्ना नियमित ग्राहक थिए । विभिन्न कारणले पठन संस्कृति खुम्चिँदै गएका बेला पुस्तक पसलका लागि पनि यो ठूलो क्षति हो ।
सिराहा बस्तीपुरका बासिन्दाका लागि प्रदीप एउटा आशा र आभा थिए । गरिब, किसान, श्रमिक, सीमान्तीकृतहरूका लागि उनी बलियो वाणी थिए ।
महाभारतप्रति गहिरो रुचि भएका प्रदीप कृष्ण जन्मेको भोलिपल्ट गए । जसरी कृष्ण एक छन् तर सोह्र सयकै मनमा बेग्लै र पूर्ण आकृतिमा छन् । उसरी नै प्रदीप एक छन् तर धेरैको मनमनमा आफ्आफ्नो गच्छेअनुसार अनेक छन् । आखिरमा यो प्रदीपलीला कृष्णलीला बनेरै गयो ।
उनी छन्, कांग्रेस पार्टीमा तर लेक्चर दिन्छन् लेनिनमा । कांग्रेसीहरू भन्ठान्छन्, प्रदीप कम्युनिस्ट हुन् । उनी छन् पुँजीवादी पार्टीमा, कम्युनिस्टहरू भन्ठान्छन् प्रदीपको समाजवाद के हो ?
प्रदीपको समाजवाद उच्च स्वतन्त्रता (अराजकता) सहितको सामूहिक हित हो, जो माथि हैन, भुइँतिर फर्केको छ । प्रदीप उन्मुक्त उडान पनि चाहन्छन् । र, उड्न नसक्ने (नसक्ने बनाइएका) हरूलाई उड्न सक्ने बनाउने सिस्टम पनि चाहन्छन् । आकाश छेड्ने तर भुइँ नछोड्ने उनको दर्शन हो ।
नेपाली कांग्रेसभित्र बीपी कोइरालाको सबैभन्दा समर्थक र सबैभन्दा आलोचक सायद प्रदीप नै थिए । बीपीसित सवाल-जवाफ गर्ने गिरिले नै आखिर बीपीलाई पुस्ता-पुस्तासम्म पढाए । बीपीका लेख-रचना संकलन/सम्पादन गर्दै जीवनभर उनी बीपी-व्याख्याता भए । ठीक एक वर्ष पहिले मात्रै उनको सम्पादनमा एउटा ग्रन्थ ‘बीपी कोइराला: आधारभूत संकलन’ प्रकाशन भएको छ । बीपीका विचारमा थप विचारहरू दिने, बीपीविचारलाई जीवन्त र थप अद्यावधिक गर्ने प्रदीप नै हुन् ।
दर्शनशास्त्र र अर्थशास्त्रमा प्रदीप गिरिको डिग्री थियो । यसो भन्नु अरु दर्जनौँ विषयमा रहेको उनको विशद ज्ञानमाथिको बेवास्ता हुन जान्छ । उनी आफूले पढेका, सुनेका, हेरेका, देखेका सन्दर्भलाई जोडजाड पारेर गहन अभिव्यक्ति दिन सक्थे ।
उनको वक्तृतामा बेग्लै सम्मोहन छ । समाज, साहित्य, कला, इतिहास, दर्शन, अर्थशास्त्र, मिथ, राजनीति, संस्कृति, भाषा, संगीत, सिनेमा, यस्ता अनेक ‘केन्द्रीय विभाग’ एकसाथ धाउने उनी अन्तर्विषयक शिक्षक थिए । उनका सैद्धान्तिक-व्यावहारिक सम्भाषण थोरै मात्र जीवित छन्, तर ती जीवन्त छन् ।
साहित्य-संगीत-सिनेमाप्रति गहिरो अनुराग भएका प्रदीपलाई कलामा पढ्न र सुन्न पाइएन । यस्तो लाग्छ- राजा महेन्द्रले बीपीलाई आठ वर्ष नथुनेको भए सायद हामी ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘मोदीआइन’, ‘हिटलर र यहूदी’ जस्ता उत्कृष्ट उपन्यास पढ्न पाउँथेनौँ । गिरिलाई साहित्यका लागि फुर्सद दिन सायद कोही महाराज महेन्द्र बनेर आउनुपथ्र्यो कि !
नेपाली कांग्रेसभित्र बीपी कोइरालाको सबैभन्दा समर्थक र सबैभन्दा आलोचक सायद प्रदीप नै थिए ।
प्रदीपका अनेक लेख, टिप्पणी, विचार, वार्ता, भाषण, प्रवचनलाई एक ठाउँमा राख्ने हो भने उनी एउटा पठनीय पुस्तक हुन् । हामी पत्रकार तथा उनकै पार्टी पंक्तिको पनि चासो नपुग्दा उनको खोपडीभित्रको ज्ञान सार्वजनिक रेकर्डमा रहन पाएन । प्रदीप गिरि जस्ता अध्ययन-अनुभवका विश्वविद्यालयहरू हामीबीचबाट खुसुखुसु गइसके, जाँदै छन्, हामीलाई यतातिर कुनै चिन्ता छैन ।
मैले त उहिले एउटा लेखमा लेखेको पनि थिएँ- पार्टीले आफ्ना दासहरू खोजेर एकेडेमी/विश्वविद्यालयतिर कुलपति/उपकुलपति/प्राज्ञ बनाउनुभन्दा स्वयं प्रदीप गिरि/प्रदीप नेपाल/चैतन्य (मोहन वैद्य) हरूलाई बनाए हुन्छ । पार्टी निकटका लेखनदासहरूभन्दा यिनीहरू ज्ञान र विवेकले कता हो कता ‘स्वतन्त्र’ छन् ।
केही अघि संस्कृति मन्त्रालयले बीपी राष्ट्रिय पुरस्कार दिएको समाचार आएको थियो । यो पंक्तिकारले लेखेको थियो- बीपीको विषयमा काम गरेकोलाई यो पुरस्कार दिइएको हो भने प्रदीप गिरिबाहेक अर्काे ज्येष्ठ-श्रेष्ठ को छ ? प्रदीपले किन पाउँथे र, सयौँ पुरस्कार पाइसकेका साहित्यकारले पाए ।
गिरि किताबी किरो मात्र पनि थिएनन् । किताबका पन्नापन्ना चिन्ने तर समाज फिट्टी नचिन्ने ‘बुद्धिजीवी/प्राडा’ पनि थिएनन् । उनी प्रवासमा बसे । जेलमा बसे । गाउँगाउँ डुलिहिँडे । उनलाई नेपाली समाजको विविधता राम्ररी थाहा थियो । विविधतालाई विविधतामै रहन दिएर गरिने ‘समता’मा उनको रुचि थियो । तर विविधतालाई मारेर ‘एकता’को नारा लिइयो । एकताले समता भत्कायो । अनेकतालाई सुन्दरता हैन, समस्या बुझियो ।
प्रदीप गिरिको सोच भविष्यमुखी थियो तर आकाशमुखी भनेर कसैले वास्ता गरेनन् । उनकै पार्टीले उनलाई सुनेन । लेखपढमा एलर्जी भएका नवकांग्रेसीहरूबीच पढैया उनी कम्युनिस्ट शिविरतिर पढाउन पुग्थे । घनश्याम भुसालसँग भनेका रहेछन्, ‘मैले पार्टीका २० जना युवालाई ती किताब दिएँ । कसैले पढेनन् ।’
गिरि आफ्नो पार्टी के, आफ्नै देउवा गुटको पनि ‘भित्रिया’ भएनन् । उनी आफ्नै शैलीमा बहादुरहरूलाई उडाइदिन्थे । शेरबहादुर देउवालाई उनकै सामुन्नेमा सार्वजनिक भाषणमा ‘भुसतिघ्रे’ भन्ने गिरिको हिसाबकिताब ‘कम्युनिस्ट नेता’को संगत बढेका शेरबहादुरले नगर्ने कुरै भएन ।
गिरि पार्टी ह्वीप अटेर गरेर विवेकको आदेशपालन गरिदिन्थे । आफ्नै पार्टीका प्रधानमन्त्री/अर्थमन्त्री/योजना आयोग उपाध्यक्षहरूले प्रदीपलाई पनि उडाउनु उडाउँथे । उनीहरू ‘यति सय स्कुल बनेको, यति सय स्वास्थ्य चौकी’ बनेको ‘प्रगति’को आँकडा देखाउँथे, प्रदीपको प्रश्न रहन्थ्यो- यति सय संस्था खुलेर के भयो त, जब त्यहीँ अशिक्षा र अस्वस्थता झांगिएको छ ।
नेताहरू दुई किसिमका हुँदा रहेछन्- प्रदीप गिरि र नेतागिरी । हामी नेतागिरीको पक्षमा कि नेता गिरिको पक्षमा ?
प्रदीप ‘ग्रोथ’लाई ‘डिभलपमेन्ट’ मान्दैनथे । आधारभूत विकास पनि छैन भने अंकको वृद्धि मात्र काम छैन भन्थे । आफ्नो अर्थशास्त्रको सर्टिफिकेट लुकाएर ‘अर्थविद्’हरूसँग आठ वर्षअघि एकेडेमीको पछिल्तिर बोलेको मलाई हिजै जस्तो लागिरहेछ ।
प्रदीप आफ्नो राज्यमा गरिब, किसान, मजदुरहरू दुःखी नहोऊन् भन्ठान्थे । उनलाई सीमान्तीकृतहरूको समस्याले पिरोलेको देखिन्थ्यो । उनले आफ्नो आश्रममा दलित समुदायलाई हर्ताकर्ता बनाएका थिए । जन्मिन त उनी जमिनदार परिवारमा जन्मिए तर सादगी जीवनशैली बिताए । औषधीउपचारको नाममा राज्यकोषबाट अर्बाैं लुटेका नेताहरूका अघिल्तिर हात पसारेर एउटा जोगीले भिक्षा मागेन । बरु आफ्नो सम्पत्ति बेचेर ओखती गर्यो ।
उनी प्रजातान्त्रिक समाजवादका व्याख्याता मात्र थिएनन्, प्रयोक्ता पनि थिए । जन्मस्थल सिराहाको बस्तीपुरमा उनको सेवाश्रयले उनलाई व्यावहारिक समाजवादी बनाएको छ । यता बस्तीपुरमा दिनरात प्रार्थनासभा र शोकसभा भइरहेको छ । उता भर्खरै प्रदीपको नेता आफ्नै वडामा चुनाव हारेर फर्केको छ । रमिता छ ।
मृत्यु त हर प्राणीको पोल्टामा छ । तर, मृत्युपछि पनि जीवन प्रदीप गिरि जस्ता दुई-चार जनाको पोल्टामा मात्र छ ।
बहुल विचारकर्ता प्रदीप विचारमा बीपीजस्तो देखिन्छन् । हाँसठट्ठावाला जीवनशैलीमा किसुनजीजस्तो । अनि वक्तृतामा रजनीश ओशोजस्तो । ओठमा हर्दम शिशु मुस्कान ओसारेका देखिने प्रदीप सधैँ शैशवकालमै बाँचे । मनमौजी बाँचे । मन्त्रमुग्ध पारेर बाँचे ।
गिरी हैन, गिरि लेख्ने प्रदीप, गिरि अर्थात् पर्वत थिए । यस्तो पर्वत, जति जति माथि माथि उक्लियो उति उति अरु अरु क्षितिज देखिने । विचारका क्षितिज, तर्कका क्षितिज, दर्शनका क्षितिज, बहसका क्षितिज ।
यो अँध्यारो समयमा प्र-दीप अझै बल्नुपर्थ्याे । तर, चाँडै चुपचाप बाटो तताए । बाटो त तताए तर उनको ‘बाटो’ चिसो छ, आज । प्रदीपपथ अर्थात् ‘जोगी जीवन, बागी विचार’ मार्गमा हिँड्न कोही तयार छैन ।
गिरिको फोटो यति बेला सामाजिक सञ्जालहरूमा यसरी फैलिरहेको छ जति बेला आधा दर्जन पटक प्रधानमन्त्री/मन्त्री/सांसद भएकाहरू पनि सञ्जालभरि फैलिएका छन् । प्रदीपको फोटोमा क्याप्सन छ, ‘हामी टुहुरा भयौँ ।’ आधा दर्जन पटक प्रधानमन्त्री/मन्त्री/सांसद भएकाहरूको फोटोमा क्याप्सन छ, ‘देशलाई टुहुरो बनायौ, अब तिमीहरू साइड लाग ।’
पैसाले पद किनेकाहरूलाई छिःछि र दुरदुर गर्दै ‘हराऔँ अभियान’ चलेको छ । तर, एउटा निर्धाे र निडर नेताको पक्षमा भने भावुक हुँदै ‘बचाऔँ अभियान’ चलेको छ ।
पदमा बसेर हद पार गरेका नेताहरूले कद कसरी बन्दो रहेछ, केही सिक्लान् के ? पत्रकार राजकुमार बानियाँका शब्दमा ‘प्रदीपले जिन्दगीमा बाँडेको जागिर हैन, पैसा हैन, दसैँ भत्ता हैन, घुस र कमिसन हैन । बाँडेको त केवल ज्ञान मात्र हो ।’
ज्ञानी प्रदीपको बिदाइमा स्वतःस्फूर्त भेला भएका मलामीहरू कुनै पैँचो तिर्न आएका पनि होइनन् । कसैको आदेशपालना गर्न पनि आएका होइन । जोरजबर्जस्ती कोही आएका हैनन्, सबै स्वतःस्फूर्त आएका हुन् । ज्ञानका भिखारीहरू आफ्ना गुरुको अन्तिम बिदाइमा उदास भएर आएका हुन् ।
भन्न मन लाग्छ, प्रदीपको बिदाइमा स्वतःस्फूर्त मलामी आइरहेको जोकोही पनि आजका पदीय नेताहरूको विरोधी हो । केके मामिला नमिलेर खराब पात्रहरूलाई जिताइरहनुपरेको पश्चात्तापमा आँसु झारिरहेको पनि हो ।
आजका मलामीहरूको फोटोको क्याप्सन यस्तो राख्दा पनि हुन्छ: भ्रष्ट नेताहरूको विरोधीहरूको लस्कर, जो प्रदीप गिरिको स्वतःस्फूर्त मलामी पनि बनेका थिए ।
प्रदीप पार्टीभित्र मात्र के, आफ्नै जीवनसित पनि प्रतिपक्षी थिए । उनका लागि बनिबनाउ नियम-कानुन अर्थहीन थिए । उनी खुला किताब थिए । तर, प्रेम प्रसंग लुकाए भनेर पनि अहिले लेखिएको छ । लुकाएका होइनन्, हामीले नसोधेका हौँ । सोधेकालाई भनेका छन्, हामीले नपढेका हौँ । जहिल्यै बीपीबारे मात्र सोध्दासोध्दा हामीले उनीबारे, उनको जीनवदर्शनबारे, उनको सुख-दुःखबारे राम्ररी विस्तारमा सोधेनौँ । अब त पछुतो मात्र त बाँकी छ ।
जीवनका नियम-कानुन नमान्ने तर राज्यका कानुन चाहिँ बनाउनुपर्ने प्रदीपलाई । राज्यको कानुन बनाउने थलोका लागि भने उनी छानिइरहने । जीवन सबैको विरोधाभास नै हो । प्रदीप गिरि पनि केही विरोधाभासमै बाँचे । विरोधाभास व्यक्तिको छाया हो, यो सँगसँगै हुन्छ । विरोधाभास र ढोङ फरक हो, उनी ढोंगी चैँ थिएनन् ।
बिरामी नपर्दा पनि उनी संसद् खासै जाँदैनथे । बरु दिनभर सुतेर बिताइदिने । रातभर पढेर र संगीत सुनेर बिताइदिन्थे । अनि ‘जातै जोगी’, मान्छे फकिर । चराजसरी हिँडिरहने । बिरालो जसरी ठाउँ सारिरहने । सुरुमा आदर्शले काठमाडौँमा घर बनाउनतिर लागिनँ, पछि पैसा पुगेन भनेका छन् । किताबप्रेमीका लागि डेरा सरिरहनुपर्ने झन्झट सबैभन्दा पीडादायी हुन्छ । बसाइ हिँडिरहने हुँदा उनका कतिपय अमूल्य पाण्डुलिपि, किताब, कागजात हराएका, गुमेका छन्, उनीबाट । उनीबाट के भन्नु हामीबाट । उनका पाठक र श्रोताबाट ।
मृत्यु त हर प्राणीको पोल्टामा छ । तर, मृत्युपछि पनि जीवन प्रदीप गिरि जस्ता दुई-चार जनाको पोल्टामा मात्र छ ।
संसद्मा गयल हुने सांसदको फोटोको लहरमा केही दिनअघि फेरि उनको फोटो आएको थियो । प्रदीपका फ्यानहरूका लागि यो पीडादायी थियो । तर, आफ्नै मन बुझाउन, साथीहरूसँगको वादविवाद प्रतियोगिता जित्न यसो भन्ने गरिन्थ्यो- सधैँ संसद् जाने तर म्याउँ पनि नगर्नेहरूबीच प्रदीप कहिलेकाहीँ गएर के भो, जब जान्छन् ऐतिहासिक जान्छन् ।
प्रदीप जब बोल्न थाल्थे- सभा शान्त हुन्थ्यो, सरकार क्लान्त हुन्थ्यो ।
देश-विदेशका अनेक सन्दर्भ ल्याएर जब उनी बोल्न थाल्थे, सांसदहरू कोही बिउँझिन्थे, कोही आज्ञाकारी विद्यार्थी मुद्रामा वाल्ल परेर सुन्थे । अध्ययनले युवावस्थमै पाकेका प्रदीप एउटा कुशल वक्ता थिए ।
साँच्चि भन्ने हो भने अब संसद्ले आफ्ना सांसद प्रदीपको शोक सभासँगै अर्को निर्णय पनि पारित गरे हुन्छ । भन्दा हुन्छ- सांसद प्रदीप गिरिको अवसानसँगै हाम्रो संसद्को पनि बौद्धिक पहिचान अवसान भएको छ ।
प्रदीपको अराजक जीवनशैली पार्टीका लागि पनि अनुकूल थिएन । दुई दशक पहिले पार्टी फुट्दा उनले संस्थापन छोडे । अहिले पार्टीको काम गराइबारे उनको तीव्र असन्तुष्टि थियो । नौ महिनाअघि भएको महाधिवेशनमा गयल भएका उनी भौतिक रूपमा हिजोदेखि गयल भए पनि पार्टीमा उहिल्यै गयल भइसकेका थिए ।
तर, अब सधैँ खट्किने गरी एउटा कमजोरी के भयो भने, शेरबहादुर देउवाका कर्ततुबारे प्रदीपले नैतिक जिम्मेवारी लिनुपर्थ्याे । स्पष्ट भनिदिनुपर्थ्याे - मैले साथ दिएको यो बहादुरबाट अब राम्रो काम हुँदैन । उसलाई पार्टी र सरकारबाट जतिसक्दो चाँडो बिदा गर्नुहोला । उसका लागि घरमै आराम गर्ने शान्त वातावरण बनाइदिनुहोला ।
सायद संसद्मा आफ्नो अन्तिम भाषणमा उनी स्पष्ट रूपमै यस्तै केही भन्नेवाला थिए । पटकपटक प्रधानमन्त्री, मन्त्री, सांसद भइसकेकाहरू हामी अब नउठ्ने संकल्प गरौँ भन्थे होलान् । अब पनि हाम्रो पुस्ता उठे, देश उठ्तैन भन्थे होलान् ।
‘नेता/सांसद बिचौलिया भए । पार्टीहरू धनाढ्यहरूको कब्जामा गए । राज्य गरिब, अल्पसंख्यक, सीमान्तीकृतको हितका लागि भएन । संविधान सबैको बन्न सकेन ।’ उनका यस्ता अभिव्यक्ति मिडिया/सोसल मिडियामा छ्यास्छ्यास्ती छन् । शीर्षक मात्र हेरेर भने बुझिन्न प्रदीपलाई । न त विचारको सारा शरीर मात्र हेरेर बुझिन्छ । उनका समाचार/विचारको शरीर मात्र हैन, अदृश्य आत्मा पनि हेर्नुपर्छ ।
प्रदीप देह कम, आत्मा बढी हुन् । प्रदीप राजनीतिज्ञ कम, दार्शनिक बढी हन् । प्रदीप कर्ता कम, वक्ता बढी हुन् । प्रदीप सामन्ती जीवनशैली/सामन्ती सोच भएका सोकल्ड सर्वहारा पनि होइनन् । र, जमिनदारका अनुदार सन्तान पनि हैनन् । राष्ट्र, धर्म, जात, लिंगका दास पनि होइनन् । उनी बुद्धत्वको नजिक पुगेका प्रदीप्त सन्यासी हुन् ।
जीवनलाई २५/२५ वर्षमा छुट्याएर सय वर्षको आयुलाई चार प्रहर मान्ने हो भने मान्छे ७५ मा सन्न्यासी बन्छ रे । प्रदीप गिरिले ठीक ७५ मै रहेर धरतीबाटै सन्यास लिए ।
यी सन्यासीको सन्यासले एउटा सुन्दर उपन्यासको अन्तिम पाना पल्टाए जसरी बिरानो पारेको छ । उपन्यास पढुन्जेल पढिन्छ । पढिसकेपछि लामो सास फेरेर आँखा चिम्म गरेर त्यो उपन्यासको समाजमा फर्किइन्छ । उसरी नै गिरि त गैगए, आँखा चिम्म गरेर लामो सास तानेर उनलाई श्रद्धाञ्जलि भन्नुबाहेक अब विकल्प छैन ।
देश आर्थिक रूपमा तन्नम छ । सामाजिक रूपमा विभेदकारी छ । राजनीतिक रूपमा दोहनकारी ठगबन्धनमा छ । प्रशासनिक रूपमा कुशासक बनेको छ । न्यायिक रूपमा बिचौलिया-बन्धक छ । बौद्धिक रूपमा टाट पल्टेको छ । राज्यका अंगहरू सतीदेवीको अंगपतन भएझैँ हरेक दिन झरिरहेछन् । र, तत्तत् ठाउँमा तीन नेत्र बाल्दै पैसातन्त्र उत्पत्ति भइरहेछ । कुनै पनि पार्टीको विचार र व्यवहारमा इत्ति पनि सामञ्जस्य छैन । विचारभन्दा माथि पद/पार्टी छन् । राजकीय पदहरूमा नैतिक-आर्थिक-सामाजिक रूपमा पतितहरूको बाहुल्य छ ।
र, यस्तो अन्धकार कालबेलामा उज्यालोको बीउ पनि मासिएको छ । क्यान्सरको झञ्झावातले झर्झराउँदो दीप यसरी निभ्यो कि प्रदीप अब थप बोल्दैनन् भन्ने तीतो सत्य स्वीकार गर्न गाह्रो परिरहेको छ ।
नेताहरू दुई किसिमका हुँदा रहेछन्- प्रदीप गिरि र नेतागिरी । हामी नेतागिरीको पक्षमा कि नेता गिरिको पक्षमा ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया