विचार

‘बाआमा’ भित्रको समाज

नीरज लवजू |
असोज ७, २०७९ शुक्रबार १९:१७ बजे

समय र परिस्थितिसँगै मानिसका सम्बन्धका रूप, आयतन र अन्तर्यमा पनि शनैःशनै परिवर्तन आउँछन् । भौतिकवादीहरू भौतिक परिस्थितिले सबै सम्बन्धको निधो गर्ने तर्क गर्छन् । अनि मार्क्सवादीहरू त्यो भौतिक परिस्थितिको आधार संरचना आर्थिक अवस्था भन्छन् । अर्थात्, मानिसका कुनै पनि सम्बन्धको निधो आर्थिक परिस्थितिको जगमा बनेको भौतिक परिस्थितिले तय गर्छ । हिजो फरक भौतिक परिस्थितिमा स्थापित मानवीय सम्बन्ध, मूल्य–मान्यता, नैतिकता र आचरण आज फरक परिस्थितिमा अपेक्षा गर्नु मनोच्छासम्म ठीकै होला । तर, त्यसमा बद्लाव आउनु अपरिहार्य सत्य हो । परिवर्तनशीलताको बहावलाई कसैले रोक्न सक्दैन । तथापि, मानिसलाई विगतले दस्न भने कहिल्यै छोड्दैन ।

नेपाली समाजको भौतिक परिस्थितिमा आएको बद्लावसँगै मानवीय र पारिवारिक सम्बन्धका धेरै पहलुमा अनेक थरी परिवर्तन भएका छन् । श्रीमान्–श्रीमती, दाजुभाइ–दिदीबहिनी, छिमेक, आफन्त, मित्रजनसँगका सम्बन्धमा अनेक कोणबाट हजार थरी बद्लाव आएका छन् । अनि यो परिवर्तनको बाढीकै मझधारबाट आमाबा र सन्तानबीचको सम्बन्धमा पनि फराकिलो परिवर्तन नेपाली समाजले भोगिरहेको छ । समाजमा आउने हरेक नवीनतालाई वाणी दिने जिम्मेवारी बोकेका लेखक–साहित्यकारले यस्तो विषयमा कलम नचलाई बस्न सक्लान् कसरी ?


रामलाल जोशीको कथा संग्रह ‘बाआमा’ले समाजको भौतिक परिस्थितिमा आएको परिवर्तनसँगै सन्तान र बाआमा बीचको सम्बन्धमा आएको नवीनतालाई आख्यानिक अभिव्यक्ति दिएको छ । संग्रहित बाह्र कथामा कथाकारले बाआमा र छोराछोरी बीचको एकनाले सम्बन्धका बहुआयाम केलाएका छन् । कथाहरूमा राजनीतिक द्वन्द्व, विधवा जीवन, बुढेसकालको विरक्ति, बाआमाको ममताको अभावमा लागेको कुलत, दाम्पत्य जीवन, विदेशगमन, सम्बन्ध विच्छेद, गाउँले जीवनप्रतिको मोह जस्ता पारिवारिक र सामाजिक विषय छन् । तर, जुनसुकै विषयको भावभूमिमा लेखिएको भए पनि कथाको मूलतत्व भने आमाबुवाको सन्तान प्रतिको प्रेम नै छ । कथाकारले समाजका धेरै थरी चित्र कोरे पनि प्रयुक्त रंग भने सन्तानप्रेमकै छ ।

समयको प्रतापमा वशीभूत भएर सन्तानहरू बाआमाप्रति निष्ठुरी बनेका कथा समकालीन नेपाली समाजको तीतो वास्तविकता हो । हिजो गाउँबाट सहर बसेका सन्तानलाई भेट्न आएका आमाबालाई साथीहरूमाझमा ‘घरमा काम गर्ने नोकर’ भनी अपमान गरेका कथाले विस्मित भएका नेपाली पाठक आज लाडप्यार गरेर हुर्काएका छोराछोरी विदेश गएपछि फर्केर नआउँदा सन्तापमा दिन काटिरहेका आमाबाका कथाहरू पढेर उस्तै अनुभूति गरिरहेका छन् । ‘छोराको सपना’ एउटै कथाले नेपाली समाजका दुई वास्तविकताको मार्मिक चित्रण गरेको छ । एकातिर नेपाली समाज अझै पनि छोरा नै चाहिने परम्परागत सोचबाट मुक्त हुन नसकेको चित्रण छ भने सँगै त्यसरी सर्वस्व दिएर हुर्काएका छोराहरू विदेश गएर उतै घरगृहस्थी बसाएको घर–घरका पीडा पोखिएको छ । सहस्र धारा दूध र आँसु झारेर हुर्काएका सन्तानहरू आज करियर, शानदार जीवन भन्दै विदेश गएर आमाबा समस्यामा पर्दा कुरा गर्न समेत फुर्सद नभएको कठोरता आज नेपाली समाजले सामना गरिरहेको कथा हो । तब त ‘आमाबुवाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामाथि’ नेपाली उखानले अझ बढी सान्दर्भिकता पाएको छ । 

सिंगो समाजलाई विघटनको दिशातिर डोर्याउँछ । नेपाली समाजलाई आमाबाप्रतिको कर्तव्यबोध गराउन र आमाबुवा र छोराछोरीबीचको प्रेमको सम्बन्ध अक्षुण्ण राख्न रामलाल जोशीको कथा संग्रहले साहित्यिक माध्यमबाट योगदान गर्न सक्छ ।

‘छाडिएका भगवान्’ उस्तै बान्कीको कथा हो । बुढेसकालको लाठी बन्ला भनेको छोरा डीभी परेर अमेरिका भासिएपछि एक्लो बुवाले गाउँमा बिताइरहेको एकांकी जीवनको कथा हो यो । कुनै बेला केटाकेटीको उछलकुँडले जीवन पाएको गाउँमा हिजोआज सबै बूढाबूढी मात्र छन् । छोराछोरी सबै कुनै न कुनै कारण सहर र विदेशमा गएपछि गाउँ उही दैलो र काल कुरेर बस्ने बूढाबूढीको मात्र भएको छ ।

‘नलेखिएको बयान’ लोग्ने स्वास्नीबीचको सम्बन्धमा आउने तिक्तताले सन्तानमा पार्ने प्रभावबारे लेखिएको छ । लोग्ने स्वास्नीको झगडा कति झिनामसिना कुरामा हुने गर्छ भने कति बेला झगडिँदा झगडिँदै खास कुन विषयमा झगडा भएको कुरा दुवैले बिर्सेका हुन्छन् । तथापि, अहम्को घिरौला जस्तो नाकले दुवैलाई मसिनो स्वर गर्न रोकेको हुन्छ । अनि तिल पहाड बन्छ । त्यस्तै तिक्तता कुरेर बसेका वकिलहरूले त्यसैमा मलजल गर्छन् अनि दुवैतिरबाट रोटी च्यात्दै आफ्नो दुनो सोझ्याउँछन् । तर, यी सबै कुराले ती लोग्ने स्वास्नीका छोराछोरीमाथि कस्तो असर पारिरहेको हुन्छ, हेक्का राखिन्न । यो कथामा कानुन, नियम र तर्कको भरमा आफ्ना आमाबुवाको सम्बन्ध भाँच्ने प्रयासको विरोधमा छोराछोरी उभिएका देखाइएको छ । अहं पग्लिएपछि लोग्ने–स्वास्नीको मनमा बाँकी रहने कुरा आपसी प्रेम नै हो ।

प्रेममा टिकेको हुन्छ परिवार र सन्तानको भविष्य । यसरी भत्किन लागेको एउटा घर सन्तानको प्रयासमा जोडिएको अपवाद यो कथाले देखाउन खोजेको छ । 
‘दाजीको दुःख’ एक जना चिकित्सकको अन्तरकथा हो । हरेक मानिसभित्र कथा हुन्छ । बाहिरबाट ठीकठाक र मुस्कुराइरहने मानिसको पनि भित्र गहिरो कथा हुने प्रभाव यो कथाले दिन खोजेको देखिन्छ । सन्तानप्रेमको नाममा सन्तानमाथि एकोहोरो थोपर्‍याइले सन्तानले आत्मिक सुख पाउन नसकेको कथा हो यो । कतिपय आमाबुवा आफ्ना अधुरा सपना सन्तानमार्फत पूरा गर्ने धुनमा सन्तानको थाप्लामा अनावश्यक बोझ थोपर्ने गर्छन् । छोराछोरीको चाहना, क्षमता र रुचिको कति पनि ख्याल नगरी ती आमाबा एकोहोरो आफ्ना कुरा लाद्न खोज्दा छोराछोरीले पेसागत सफलता प्राप्त गरे पनि भित्रबाट खुसी हुन नसकेको संसारभरकै सामाजिक वास्तविकता यो कथाले बोलेको छ । यसमा कथाकारले अन्तरजातीय विवाहप्रति नेपाली समाजको जडताबारे केही बोल्न खोजेका छन् । 
‘बौजूको बात’ फरक स्वादको मनोविश्लेषणात्मक कथा हो । यसमा भाउजू र देवरबीचको प्रेमपूर्ण सम्बन्ध र त्यसले परिवारमा निम्त्याएको विखण्डनको चित्रण गरिएको छ । यसमा किशोर मनोविज्ञान केलाउने प्रयास भएको छ । कथासंग्रहमा संग्रहित कथामध्ये यो कथा बाआमाको सन्तानप्रतिको प्रेमभन्दा फरक कोणको कथा देखिन्छ ।

नेपाली समाजले आमाबापछिको स्थान गुरुलाई दिँदै आएको छ । आमाबाको अराधनापछि नेपाली समाजले गुरुको पूजा गर्छ । त्यसै कारण गुरुलाई पनि बा र आमा शब्द जोडेर सम्बोधन गरिन्छ । कथासंग्रहको एउटा कथा शिष्यको भविष्यका निम्ति एक जना आदर्श गुरुले गरेको समर्पणको प्रसंग छ । बाआमासम्बन्धी कथाहरूको पुुञ्जमा यो कथा समावेश गरिनु गुरु पनि आमाबा सरह नै हुन् भन्ने मान्यताबाट अभिप्रेरित देखिन्छ ।

‘बाबाको माया’ द्वन्द्वकालीन कथा हो । बुवाप्रति छोराको प्रेम र आकर्षणबीच राजनीतिक द्वन्द्वले कसरी त्यसलाई बिथोल्यो भन्ने चित्रण गरिएको यो कथाले युद्धकालमा गुमाएका हजारौँं छोरा र बुवाहरूका वहलाई वाणी दिन सक्छ । 

‘ऐना’ कथा संग्रहका लागि मदन पुरस्कारका विजेता रामलाल जोशीका कृतिमा नेपालको सुदूर पश्चिमको जीवनको महकले नेपाली पाठकलाई मोहित पारेको छ । आञ्चलिकतालाई उपेक्षा गरिने समयको अन्त्य भएको छ । बरु आञ्चलिकतालाई सम्मान गर्ने मात्र होइन, मन पराउने र अपरिहार्य बनाउने समय आएको छ । सुदूरपश्चिमका कथा नेपाली साहित्यमा सीमित मात्रामा आइरहेको अवस्थामा रामलाल जोशीका कथाहरूले नयाँ समय आरम्भको संकेत गरेको छ । ‘बाआमा’का कथाका विषय सर्वव्यापी भए पनि कथामा सुदूरपश्चिमका पहाडी र तराईका चित्रहरू चित्रण गरिएको छ । कथा संग्रहमा विशेषतः सुदूरपश्चिमका पहाडी पात्रहरू हाबी छन् । कतिपय कथामा पात्रले बोल्ने भाषा पनि उतैतिरको सुनिन्छ । विषयवस्तु उही भएर पनि फरक भूगोल र सामाजिक परिवेशको पृष्ठभूमिबाट भन्दा फरक बान्की लिने कुराको उदाहरण ‘बाआमा’ कथा संग्रह हो । बाआमाको सन्तान प्रेम, सन्तानको बाआमाप्रतिको माया यी विषय सर्वव्यापी विषय हुन् । तथापि, सुदूरपश्चिमको माटोमा त्यो सम्बन्धले कस्तो कलेवर धारण गर्‍यो, यसको परखका लागि रामलाल जोशीको ‘बाआमा’को विचरण आवश्यक हुन्छ ।

तथापि, कथा संग्रहका कतिपय कथा भने अनावश्यक रूपमा लम्ब्याइएको भान हुन्छ । शब्दको लहरलाई लम्ब्याउँदा कतिपय कथा मूल विषयबाट पथविचलित भएको पाठकले अनुभव गर्न सक्छन् । संग्रहको पहिलो कथा ‘बाबाको माया’को अन्त्य पाठकलाई अस्वाभाविक लाग्न सक्छ । पहिलो कथामा यस्तो अस्वाभाविक चित्रणले पाठकलाई पछाडिका बाँकी कथा छिचोल्ने धैर्य अलगथलग पार्न सक्छ । यद्यपि, संग्रहका पछाडिका कथाहरूका विषयवस्तुमा त्यस्तो अस्वाभाविकता छैन । सुदूरपश्चिममा आधारित कथा भए पनि यसका पात्र विशेषतः सुदूरपश्चिमका पहाडी जिल्लाका नै मात्र छन् । सुदूरपश्चिमका तराईका जिल्लाका आदिवासी पात्र भने नगण्य छन् । त्यस्ता पात्र हुँदो हो त यसले समग्र सुदूरपश्चिमको प्रतिनिधित्व गर्न अझ बढी काबिल हुने थियो ।

सबै सम्बन्धलाई आर्थिक लेनदेन र फाइदा बेफाइदामा तौलेर हेर्ने आजको समयमा बाआमा र सन्तानबीचको सम्बन्ध पनि कमजोर र स्वार्थमा आधारित बन्दै गएको देखिँदैछ । अखबारमा दैनिक कतै आमाबुवा सन्तानबाट पिरोलिएको र कतै आमाबुवाबाट सन्तान पिरोलिएका खबर पढिरहेका हुन्छौँ । समाजमा नैतिकता र कर्तव्यभन्दा पैसा र भौतिक सुख बलियो भएपछि आमाबुवाको असक्तताप्रति छोराछोरी बेवास्ता गरिरहेका छन् । कतिपय आमाबुवाले पनि सन्तानलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेको पनि देखिरहेका छौँ । तर, मानव समाजको आरम्भदेखि नै सर्वाधिक पवित्र सम्बन्धलाई विकृत बन्दा समाजका धेरै खम्बा पनि कमजोर हुनेछन् । परिस्थिति बदलिए पनि कतिपय सम्बन्धको आन्तर्य र मूल्यमा भने थिचोमिचो गर्न मिल्दैन । यसले सिंगो समाजलाई विघटनको दिशातिर डोर्‍याउँछ ।

नेपाली समाजलाई आमाबाप्रतिको कर्तव्यबोध गराउन र आमाबुवा र छोराछोरीबीचको प्रेमको सम्बन्ध अक्षुण्ण राख्न रामलाल जोशीको कथा संग्रहले साहित्यिक माध्यमबाट योगदान गर्न सक्छ । एकै विषयमा कथाहरू एकै संग्रहमा पढ्न पाउनु नेपाली पाठकका लागि खुसीको कुरा । आवरणले मात्र पनि पाठकलाई यो पवित्र सम्बन्धप्रतिको आफ्नो दायित्व अनुभव गराउन मनग्य छ । 
पुस्तक: बाआमा 
लेखक: रामलाल जोशी 
प्रकाशक: बुकहिल पब्लिकेसन 
मूल्य: ५९९ रुपैयाँ 
पृष्ठ: २३२


Author

थप समाचार
x