विचार

नेपालीको ‘ह्याप्पिनेस मिटर’

उमेशप्रसाद मैनाली |
असोज १०, २०७९ १२:२० बजे

सबै मानिस कुनै न कुनै रूपको सुखको खोजीमा देखिन्छन् । त्यो सुख भौतिक वा ऐन्द्रीय, बौध्दिक, सांस्कृतिक, मानसिक र व्यष्टिनिष्ठ वा वस्तुनिष्ठ हुन सक्दछन् । व्यक्तिको स्वभाव, चरित्र र चेतनास्तर अनुरूप सुखको प्राप्तीका माध्यमहरू फरक फरक हुन सक्दछन् । सन्तोष, सुख, राम्रो सम्बन्ध, फुर्सद, स्वस्थ मानसिक अवस्थाहरूले मानिसलाई खुसी दिन्छ । भौतिक समृध्दिले मात्र सुख र खुसी दिँदैन किनकि धनीहरूमा पैसाको अर्थ कम हुन्छ । धेरै धनाढ्यहरू दुःखी देखिन्छन् र मानसिक शान्तिमा तड्पिरहेका देखिन्छन् ।

खुसी (ह्याप्पिनेस) यस्तो मानसिक अवस्था हो जहाँ उसले परम आनन्द अनुभूत गर्दछ । गीतामा भगवान् श्रीकृष्णले ‘अन्तर सुखमा योगस्त हुनेले नै सुख र शान्ति पाउँछ’ भनेका छन् । स्वामी विवेकानन्द भन्दछन्, ‘मानिस जति निम्न स्तरको हुन्छ उति नै इन्द्रीयजनित सुखमा रमाउँदछ, तर जो सुसंस्कृत र शिक्षित छ उसले चिन्तन, दर्शन, कला र विज्ञानमा आनन्द पाउँदछन् । आध्यात्मिकता त त्यो भन्दा पनि उच्चस्तरको हो ।’ उनले थप व्याख्या गर्दै भनेका छन् कि ‘उपयोगितावादले मानिसको नैतिक सम्बन्धको व्याख्या गर्न सक्दैन ।’


धार्मिक शिक्षामा यही आध्यात्मिक सुखको कुरा बढी गरिन्छ । भौतिक सुख क्षणिक हुन्छ र उच्चस्तरको आत्मिक सुखले आनन्द र खुसीलाई बढाउँदछ । यही खुसीको वितरण गर्न सक्नुमा नै राज्यको औचित्य साबित हुन्छ । ग्रिक दार्शनिक अरिस्टोटलले त्यसैले भनेका छन्, ‘राज्य जीवनका आधारभूत आवश्यकताका लागि अस्तित्वमा आयो र असल जीवनका लागि निरन्तरता पाइरहेको छ ।’ मानिसको जीवन सुखी र खुसी बनाउन नै राज्यको अस्तित्वलाई स्वीकारिएको हो ।

खुसीको खोजी राज्य जत्तिकै पुरानो मानिन्छ । जंगली युगको अशान्तिवाट मुक्त हुन आफ्ना जिउ धनको सुरक्षाका लागि मानिसहरूले राज्यको आविष्कार गरेको मानिन्छ । वैदिक कालदेखि नै मानिसहरूको सुख र शान्ति राज्य र सरकारको अन्तिम उद्देश्य हुने गर्दथ्यो । रामराज्य जनताको खुसी र सुखको पराकाष्ठा थियो भन्‍ने गरिन्छ । अठारौं शताब्दीको उपयोगितावादका प्रवर्तक जे.एस.मिल र जर्मी बेन्थमले ‘अधिकतम व्यक्तिका लागि अधिकतम सुख’को नारासाथ ‘सुखवाद(हेडोनिज्म)’ को विचार अगाडि ल्याएका थिए । तर, यस वादले परोपकार, उदारता र नैतिकता जस्ता पक्षको उपेक्षा गरेको भनेर आलोचना हुने गरेको छ । संयुक्त राज्य अमेरिकाको संविधान निर्माण गर्नेमध्येका एक बेन्जामिन फ्रांकलिनले भनेका थिए, ‘संविधानले खुसीको प्रत्याभूति गर्दैन यसको खोजी मात्र गर्दछ, तिमी आफैँले त्यसलाई समात्न सक्नुपर्दछ ।’

संयुक्त अरब इमिरेटसको दुबईमा ‘विश्व सरकारहरूको सम्मेलन, २०१७ मा भाग लिने सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधि, वैज्ञानिक, विज्ञ र अन्य विद्वत्वर्गले ‘खुसी’लाई बढाउने तत्वहरूको विशद चर्चा गरेका थिए । यस क्रममा क्यालिफोर्निया युनिभर्सिटीका प्राध्यापक डा.रिक ह्यान्सनले ‘कुल राष्ट्रिय उत्पादन भावनाका लागि पर्याप्त आधार होइन’ भन्‍ने तर्क दिएका थिए । त्यस्तै यूएनडिपीका हेलेन क्लार्कले ‘पैसा मानव हितका लागि महत्वपूर्ण भए पनि यो सबथोक भने हुन सकेको छैन’ भन्‍ने धारणा राखेको थिइन् । प्रो. मिकी बार्टेल्सले ‘यदि मानिसलाई खुसी बनाउन चाहन्छौ भने हरेक व्यक्ति फरक हुन्छ भन्‍ने बुझ्न आवश्यक हुन्छ’ भन्‍ने विचार राखेकी थिइन् । 

प्रो. ड्यारिन म्याकमोहनले ‘प्रगति र खुसी सँगसँगै जाँदैनन्’ भनेका थिए । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले ‘खुसी व्यक्तिको खोजी भन्दा सार्वजनिक वस्तु हुनुपर्दछ’ भनेका थिए । किन खुसी र सुखलाई विश्वभरका सरकारहरूले यति बढी महत्व दिँदैछन् ? किन यो ‘ग्लोबल एजेन्डा’ बन्दै छ ? यसमा मुख्य तीन कुराले प्रभाव पारेको देखिन्छ । पहिलो त आर्थिक विकासले मात्र खुसीको अनुभूति हुँदो रहेनछ । 

संयुक्त राज्य अमेरिका विकासमा एक नम्बरमा छ, तर खुसीको परिसूचकमा निकै पछाडि देखिन्छ । ह्यान्स रोस्लिङले आफ्नो किताब ‘Factfulness’ मा संयुक्त राज्य अमेरिकालाई ‘धनीको सिकिस्त बिरामी (सिकेस्ट अफ द रिच)’ र क्युवालाई ‘गरिबको सबभन्दा स्वस्थ (हेल्दिएस्ट अफ द पुअर)’ भनेका छन् । त्यसैले धनी देशका कैयन मानिसहरू खुसी देखिँदैनन् । रोटीको प्राप्ती मात्र खुसी हुन सक्दैन । आन्तरिक सुख र खुसी व्यक्तिको अनुभूतिमा खोज्नुपर्दछ जसलाई बजारका वस्तुहरूले भन्दा बजार मूल्य नहुने सुरक्षा, स्वच्छ वातावरण, फुर्सद र सम्बन्धहरूले सकारात्मक प्रभाव पार्दछ । दोस्रो मनोवैज्ञानिक अनुसन्धानले यसलाई मापन गर्न सम्भव भनेर देखाएको छ । तेस्रो खुसी र खुसी प्रत्याभूत गर्न नीतिगत औजारहरू उपलब्ध छन् । त्यसैले कुल राष्ट्रिय उत्पादन (जिडिपी) भन्दा कुल राष्ट्रिय खुसी (जिएनएच) बढी महत्वपूर्ण हुन्छ भनेर विश्वव्यापीरूपमा स्वीकार्न थालिएको छ ।

संयुक्त राष्ट्र संघले भुटानको प्रस्तावमा सन् २०११ को महासभावाट खुसीको प्रवर्धन गर्ने प्रतिबध्दता व्यक्त गरेपछि विभिन्‍न देशले यस अभियानमा अगुवा बन्‍न विविध नीतिगत, संस्थागत र रणनीतिक कदमहरू अवलम्बन गर्न थालेका हुन् । खुसीको मापन गर्न ६ वटा चलहरू (भ्यारियबल्स) कुल राष्ट्रिय उत्पादन, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन चयनको स्वतन्त्रता, उदारता र विश्वास निर्धारण गरिएका छन् । यी चलहरूमा शून्यदेखि दशसम्मको प्राप्ताङ्कको आधारमा कुन देशका जनता कति खुसी छन् ? तुलनात्मक रूपमा वार्षिक प्रतिवेदनमा देखाउने गरिन्छ ।

केही मुलुकहरूले जनताको खुसी प्रवर्धनका लागि अनुकरणीय व्यवस्था गर्न थालेको देखिन्छ । भुटानले यसका चार खम्बाका रूपमा समन्यायिक विकास, सांस्कृतिक संरक्षण, वातावरण संरक्षण र सुशासन रहने घोषणा गरेको देखिन्छ । यसको समग्र व्यवस्थापनको जिम्मेवार निकायका रूपमा ‘जिएनइएच कमिसन’ गठन गरेको छ । बेलायतले खुसीको प्रवर्धन गर्न दश क्षेत्र र ४१ क्रियाकलापहरू निर्धारण गरेको छ । यी दश क्षेत्रमा वातावरण, व्यक्तिगत हित, सम्बन्धहरू, स्वास्थ्य, हामी के गर्दछौं, हामी कहाँ बस्दछौं, व्यक्तिगत रमाइलो, अर्थतन्त्र, शैक्षिक सीप र सुशासनलाई लिइएको छ ।

यू.ए.ई.ले ‘मिनिस्ट्री अफ ह्याप्पिनेस’, ‘मिनिस्ट्री अफ फ्युचर’ र ‘मिनिस्ट्री अफ टोलरेन्स’ गठन गरेको छ । सरकारी सेवाहरूवाट सेवाग्राहीहरू कति खुसी छन् मापन गर्न ‘ह्याप्पिनेस मिटर’को प्रयोग गरिएको छ । बालबालिकाका लागि ‘हयाप्पी स्कूल’को उदाहरणीय अवधारणा लागू गरेको छ । ओइसिडीले आफ्ना सदस्य राष्ट्रहरूका लागि ‘हाउ इज् लाइफ’ भनिने कार्यक्रम लागू गरेको छ । उसले बजेटको संरचना लागू गर्दै जसमा खुसीलाई बढाउने वस्तुगत र विषयगत सूचकहरूमा ध्यान दिनुपर्ने उल्लेख गरेको छ । वेल्सले ‘फ्युचर जेनेरेसन कमिसन’ गठन गरेको छ भने इक्वेडरले छुट्टै विभाग स्थापना गरेको छ ।

बेलायतले छुट्टै एजेन्सी ‘ह्वाट् वर्क सेन्टर’ गठन गरेको छ । यी केही उदाहरण मात्र हुन्, विश्वभर यस्ता संस्था गठन गरेर आफ्ना जनताको खुसी र सुखको प्रवर्धन गर्न प्रयासरत छन् । विभिन्‍न सहरहरूले ‘ह्याप्पी सिटी’को रूपमा घोषणा गर्न थालेका छन । सहरहरू ‘स्मार्ट’ भएर पुग्दैन ‘सोसियल्ली स्मार्ट’ हुनुपर्दछ भन्‍ने अवधारणामा यसका आधारभूत कुराहरू र चेकलिस्ट तयार पारेर सफल कार्यान्वयन गरिरहेको उदाहरण छन् । 

दुबईले ‘मेक दुबई ह्यापियस्ट सिटी अफ द वर्ल्ड’ भन्‍ने नाराका साथ काम गरिरहेको छ । भ्यान्कुवर, सेभिले, मन्चेस्टर, मेलबर्न, टोरोन्टो जस्ता सहरहरू यस काममा निकै अगाडि देखिन्छन् । बोगोटाको ‘साइक्लिङ इभेन्ट’ सहरवासीको खुसी बढाउन निकै सहायक भएको मानिन्छ । यस सहरले हरेक सप्तान्हको आइतबार सबै सडकहरू साइकल यात्राका लागि बन्द गर्ने गर्दछ । डेनमार्कको ड्रागोर सहरले सहरवासीको खुसी नाप्न ‘ह्याप्पिनेस् रिसर्च इन्स्टिच्युट’ गठन गरेको छ ।

एकान्तको नैराश्यबाट मुक्त गर्न त्यहाँ ‘इट् टुगेदर’को कार्यक्रम लागू गरेको छ भने जेष्ठ नागरिकलाई सहयोग गर्न ‘बोनस ग्रान्डमदर’ नामको स्वयंसेवक दल बनाइएको देखिन्छ । सुन्दा सामान्य लाग्ने यस्ता प्रयोगहरूले आफ्ना नागरिकहरूको खुसीमा असामान्य बढोत्तरी गरेको अनुसन्धानहरूवाट देखिएको छ । स्वास्थ्यमा पनि ‘फ्रम हेल्थ टू ह्याप्पिनेस’ मूल मन्त्र बन्दै छ । मानसिक स्वास्थ्य र दर्दनिवारण (पेनरिलिफ) लाई प्राथमिकता दिएर उनीहरूको खुसी बढाउनु पर्दछ भन्‍ने मान्यतामा काम हुन थालेको छ ।

नेपालले पनि पन्ध्रौं योजनामा ‘समृध्द नेपाल, सुखी नेपाली’लाई दीर्घकालीन सोचका रूपमा उल्लेख गरेको छ । यसका लक्ष्यहरूमा परिष्कृत र मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन, सबल लोकतन्त्र, राष्ट्रिय एकता, सुरक्षा र सम्मान निर्धारण गरिएका छन् । यसको कार्यान्वयनलाई तीन चरणमा बाँडेर प्रथम चरणमा यसका आधार तयार पार्ने, दोस्रो चरणमा यसका सूचकहरूमा तीव्र प्रगति हासिल गर्ने र तेस्रो चरणमा यसमा दिगोपन हासिल गर्दै समन्यायिक वितरण गर्ने भनिएको छ ।

दीर्घकालीन रणनीति, विभिन्‍न सूचकहरू हेर्दा आर्थिक वृध्दि र कुल राष्ट्रिय उत्पादनमा जोड दिएको देखिन्छ । खुसीलाई निर्धारण गर्ने व्यष्टिनिष्ठ आधारहरूमा ध्यान नै नपुगेको बुझ्न सकिन्छ । खुसीलाई बढाउने वा घटाउने कुरा सकारात्मक र नकारात्मक संवेगमा निर्भर हुन्छ । यसलाई प्रवर्धन गर्न छुट्टै जिम्मेवारी भएको संगठनात्मक संरचना छैन न त खुसीका सूचकहरू नै निर्धारण गरिएका छन् । यो विषय ‘अन्तरसम्बन्धित विषय क्षेत्र’मा पर्दछ । त्यसैले वातावरण संरक्षण जस्तै सबै निकायको कार्यक्रमहरूमा यसलाई समेट्नु पर्दछ ।

अहिलेसम्मका नीति कार्यक्रमहरूमा ‘खुसी’को विषय प्रतिविम्बित भएको पाइँदैन । शास्त्रीय अर्थशास्त्रीहरूले एडम स्मिथको ‘वेल्थ अफ नेसन’देखि नै राष्ट्रिय धन वा आय नै राष्ट्रिय खुसी बढाउँदछ भन्‍ने वकालत गरे । त्यही सिध्दान्तमा अहिले पनि आर्थिक सुधार गर्ने काम हुँदै छ । तर, विश्व अहिले पहिलेको भन्दा धनी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०१८ को सर्वेक्षणमा प्रतिव्यक्ति औसत आय १७५०० यूएस डलर पुगेको छ जुन शताब्दी अगाडिको भन्दा निकै बढी हो । तर, यो आयले मानिसहरूलाई सुख दिन सकेन र अहिले मानिसहरू दुःखको अनुभूति गरिरहेका छन् । त्यसैले धन मात्र केही होइन, धेरै धनी राष्ट्रहरू असन्तुष्ट र बेखुसी रहेको विभिन्‍न अध्ययनले देखाएका छन् । त्यसैले अनियन्त्रित आर्थिक वृध्दिले नयाँ खालका असन्तुष्टि र तनावहरू बढाउन सक्छ भन्‍ने नीति निर्माताहरूले सोच्न सकेको देखिएन । नेपालको यस्तो नीतिले खुसीलाई बढाउन सक्दैन ।

विश्व खुसीयाली प्रतिवेदनमा सबभन्दा खुसी र दुःखी देश
दिगो विकास सञ्जालले हालै ‘वर्ल्ड ह्याप्पिनेस् रिपोर्ट–२०२२’ प्रकाशित गरेको छ । प्रतिवेदन प्रकाशन गर्न लागेको दशौं वर्षगाँठ ‘अँध्यारो समयमा चम्किलो प्रकाश (ब्राइट् लाइट् इन डार्क टाइम)’ भन्‍ने नाराका साथ मनाउँदै महामारीलाई बिर्सेर यो प्रतिवेदन प्रकाशित गरिएको छ । यो प्रकाशनका लागि विश्वका विज्ञहरूले व्यक्तिगत प्रयासमा १५० भन्दा बढी देशहरूमा अध्ययन गरेका थिए । यसपालि विगतको भन्दा दुई आधारहरू फरक लिइएको थियो । 

सामाजिक समर्थन, औसत आयु, जीवन चयन स्वतन्त्रता, उदारता, प्रतिव्यक्ति आय, भ्रष्टाचारप्रतिको धारणा र सकारात्मक तथा नकारात्मक प्रभाव सात चलहरूमा सर्वे गरिएको थियो । प्रतिवेदनमा फिनल्यान्ड ७.८४२ अंक प्राप्ताङ्कसहित सबभन्दा खुसी देश भएको छ । खुसीयालीमा माथिल्लो क्रममा पर्ने दश देशमा  फिनल्यान्ड, डेनमार्क, आइस्ल्यान्ड, स्विट्जर्ल्यान्ड, नेदरल्यान्ड, लक्जेमबर्ग, स्वीडेन, नर्वे, इजरायल, न्यूजिल्यान्ड छन् । १४६ देशको क्रममा अफगानिस्तान २.५२३ प्राप्ताङ्कसहित सबभन्दा दुःखी देश वनेको छ । त्यस्तै लेबनान, जिम्बावे, रुवान्डा, बोस्तवाना, लेसोथो, सिरालिओन, तान्जानीया, मलावी र जाम्बिया दश दुःखी देशहरूमा पर्दछन् । 

फिनल्यान्ड प्रथम स्थानमा रहनुमा त्यहाँको स्वास्थ्य सुविधा, कम अपराध दर, प्रभावकारी सार्वजनिक सेवा, सार्वजनिक संस्थाहरूप्रतिको विश्वास, कम गरिबी, सहकारिता र समन्वयमा जोड जस्ता सकारात्मक तत्वहरूले योगदान गरेको भनिएको छ । एसियाली एउटै देश दशभित्र पर्न सकेको छ इजरायल । निरन्तर आतंकवादसँग लडिरहेको र राजनीति बढी नै अस्थिर रहेको इजरायलका जनताहरू खुसी महसुस गर्नु आश्चर्यको कुरा भएको छ । विश्वको सबभन्दा शक्तिशाली र एक नम्बरको अर्थतन्त्र मानिएको संयुक्त राज्य अमेरिका खुसियाली प्रतिवेदनमा भने १६औं क्रममा रहेको देखिन्छ भने संयुक्त अधिराज्य ब्रिटेन १७औं क्रममा रहेको छ । यसबाट खुसी हुनुको आधार आर्थिक सम्पन्‍नता मात्र हुन नसक्ने तथ्य स्पष्ट भएको छ ।

नेपाली कति खुसी छन् ?
विश्व खुसियाली प्रतिवेदन, २०२२ मा नेपालको स्थिति निराशाजनक भने छैन । नेपाल ५.२६९ प्राप्ताङ्कसहित ८५औं क्रममा रहेको देखिन्छ । नेपालका लागि सन्तोषको अर्को कुरा के छ भने २०१३ को प्रतिवेदनमा १३५औं स्थानमा रहेकोमा लगातार सुधार ल्याउन सफल भएको छ । गत वर्ष नेपाल ८७औं क्रममा रहेको थियो र एक वर्षमा दुई स्थान सुधार गर्न सकेको छ । सार्क देशका अन्य मुलुकहरूभन्दा नेपालको स्थिति राम्रो हुनु अर्को सन्तोषको विषय भएको छ । केही वर्ष अघिसम्म भुटान नेपाल भन्दा अगाडि रहेकामा गत वर्षदेखि नै भुटानलाई समावेश गरिएको छैन ।

भुटानले अल्पसंख्यक नेपालीलाई शरणार्थी बनाएको र उनीहरूको सांस्कृतिक सफाया गरेकाले उसको खुसियालीका आधारहरूमा प्राप्त अंक नै शंकास्पद मानिएकाले सूचीमा नराखिएको हुन सक्दछ । सार्कका अन्य देशहरू भन्दा नेपालको अवस्था राम्रो देखाइएको छ । बंगलादेशले ५.०२५ सहित ९९औं स्थान प्राप्त गरेको छ । पाकिस्तानले ४.९३४ अंकसहित १०३ क्रममा, श्रीलंका ४.३२५ सहित १२६ क्रममा, भारत ३.८१९ अंकसहित १३६औं क्रममा र अफगानिस्तान २.५२३ अंकसहित सबभन्दा पुछारमा परेको देखिन्छ ।

नेपालका लागि आश्चर्यको लाग्दो कुरा त के छ भने सुशासनका अन्य सूचक र प्रतिवेदनहरूमा नराम्रो स्थिति हुँदा पनि र आर्थिक विकासका सूचकहरू सन्तोषजनक नरहँदा पनि हामी सार्क क्षेत्रमै खुसी किन छौं ? हामी पूर्वीय दर्शनको प्रभावले बढी अध्यात्मवादी भएर हो भनौँ भने भारत लगायतका देशहरू किन पछाडि छन् ? यो नेपालको प्रयासले हो वा सार्कका अन्य देशहरूको अव्यवस्थाले हो ? कि नेपालीहरू भाग्यवादी सोचका भएर हो छुट्टै विश्लेषणको विषय भएको छ ।

भ्रष्टाचार सम्बन्धी ट्रान्सपेरेन्सी इन्टरनेसनलको २०२२ को प्रतिवेदनमा नेपाल १८० देशमध्ये ११७औं स्थानमा परेको देखिन्छ । अघिल्लो वर्ष पनि नेपाल यही क्रममा रहेको थियो । सुशासन सम्बन्धी ‘वर्ल्ड गभर्नेन्स इन्डिकेटर’को सन् २०२२ को प्रतिवेदनमा यसका ६ वटै सूचकमा नेपालको ‘पर्सेन्टाइल र्याङ्क’ निराशाजनक देखिन्छ । एउटा सकारात्मक पक्ष के छ भने अन्य केही प्रतिवेदनहरूमा पनि नेपाल सार्क राष्ट्रहरूमा अगाडि देखिएको छ । ‘वर्ल्ड जस्टिस् प्रोजेक्ट’को २०२१ को विधिको शासन सम्बन्धी प्रतिवेदनमा नेपालको स्थान १३९ देशमध्ये ७०औं मा छ जुन सार्कका सर्वेमा समेटिएका ६ देशहरू भन्दा अगाडि हो ।

अर्को ‘ह्याप्पी प्लानेट इन्डेक्स, २०२२’ मा नेपाल २७ औं स्थानमा रहेको छ जुन निकै सन्तोषजनक मान्‍न सकिन्छ । सार्कका अन्य देशहरूमा आतंक र अशान्ति नेपालमा भन्दा बढी नै देखिएको छ । नेपालमा बृहत् शान्ति सम्झौतापछि स्थितिमा सुधार आएको मान्‍न सकिन्छ । सशस्त्र द्वन्द्वको अन्त, समावेशी लोकतन्त्रको अवलम्बन जस्ता राजनीतिक सुधारले पनि नेपालमा केही सकारात्मक वातावरण बन्‍न गएको छ । यी सबै कारणले नेपालको स्थिति सार्क क्षेत्रमा माथि पर्न सकेको हो भन्‍न सकिन्छ । 

खुसियाली प्रतिवेदनमा को पछि परेको छ वा अगाडि छ भन्‍नुभन्दा पहिले यसले अवलम्बन गर्ने अध्ययन विधिको जानकारी हुन जरुरी हुन्छ । पहिलो त यसले समृध्दिलाई होइन मानिसको संवेगलाई आधार मान्छ । यसले भावना र सन्तुष्टिको मापन गर्दछ जसले सुख र हर्षको अनुभूति गराउँदछ । त्यसैले यसको मूल्याङ्कन गर्ने विधि पनि बढी जटिल हुने गर्दछ । हिजो राती राम्रोसँग निदाइयो, हिजो कति पटक हाँस्नुभयो ? यस्ता मनोवैज्ञानिक विधिहरू प्रयोग गरेर खुसीको मापन गरिएको हुन्छ ।

सन् २०१५ को सर्वेमा यस्तै खालका १०९ प्रश्नावलीमा अध्ययन गरिएको जानकारी दुबईमा आयोजित ‘वर्ल्ड गभर्नमेन्ट समिट’ मा दिइएको थियो । सन् २०१८ को दुबईमा भएको सम्मेलनमा भुटानका प्रधानमन्त्रीले आफूलाई अति विलासी होटेलमा राखिएकाले रातभर सुत्न नसकेको बताएका थिए । यस पंक्तिकार पनि सहभागी हुने अवसर पाएकाले यी सन्दर्भहरू सुन्‍न पाएको हो । अहिले संसारभर शक्तिको आडमा विश्वभर प्रभुत्व जमाउने गलत अभ्यास भइरहेको देखिन्छ । तर, ती देशका नागरिकहरू नै सुखी र खुसी हुन सकेका छैनन् ।

भौतिक प्रगति, बाह्य तडकभडक, शक्तिको तामसले वास्तविक खुसी दिन सकिँदैन भन्‍ने बुझ्न जरुरी छ । धनी देशहरूको संगठन ‘ग्रुप अफ सेभेन’का कुनै पनि देश यस प्रतिवेदनको पाँचौं क्रममा पनि नपर्नु यसको उदाहरण हो । नेपालले पनि अन्य देशहरूको उदाहरणबाट सिकेर नेपालीको खुसी प्रवर्धन गर्न विशेष प्रयास गर्न आवश्यक देखिन्छ । नेपालका नीति निर्माताहरूले यस्तो वातावरण सिर्जना गर्न सक्नुपर्दछ जसले शान्त निद्रा र होलाहलमुक्त दैनिकी सम्भव होस् । अरस्तुले भनेजस्तै राज्य यसैका लागि आविष्कार भइएको हो ।

खुसीको प्रवर्धन गर्न र यसको अन्तरनिकाय समन्वय गर्न छुट्टै नीतिगत र संरचनागत व्यवस्था गर्न ढिलो भइसकेको छ । खप्तड स्वामी भन्‍नुहुन्छ, ‘धन ऐश्वर्यादिले मानिसलाई सुखी बनाउन सक्दैन, निर्धन पनि धनी भन्दा सुखी हुन सक्दछ । धनादि पदार्थ मानिसलाई सुखी बनाउन नसके पनि भ्रान्तिवश यसलाई सुखको साधन मानिन्छ’ । अन्तमा दार्शनिक जे. कृष्णमूर्तिका यी भनाइ सान्दर्भिक लाग्दछन्, ‘सुखको वरिपरि नै समाजको पूरा ढाँचा खडा भएको छ । बचपनदेखि बूढोपन र मृत्युसम्म हामी लुकिछिपी र खुलेयाम सुखको सतत् पिछा गरिरहेका हुन्छौं किनकि यसैले हाम्रो जीवनको दिशा र रूपरेखा निर्धारित गर्दछ ।’

मैनालीका लेखहरू


Author

उमेशप्रसाद मैनाली

मैनाली लोक सेवा आयोगका पूर्वअध्यक्ष हुन् ।


थप समाचार
ad
x