विचार

विजयादशमीको महत्त्व र सन्देश

डा. गोविन्द टण्डन |
असोज १७, २०७९ ९:१६ बजे

बडादशै, दशैँ, विजयादशमी जे भने पनि त्यो एउटै पर्वलाई सम्बोधन हुने विभिन्न नामहरू हुन्।यसलाई असत्यमाथि सत्यको जित अथवा खराबमाथि असलको जितको रूपमा अर्थ्याई मनाउने प्रचलन लामो समयदेखि चल्दै आएको छ।खराब जुनसुकै रूपमा पनि व्यवहृत हुन सक्छ जस्तै–काम, क्रोध, लोभ, मोह, हिंसा, असत्य, वैर, ईर्ष्या, दुःख, आलस्य आदि।मानिसका लागि यी यस्ता दुर्गुण या अवगुणहरू हुन्,यिनलाई जित्न सक्नु कुनै लडाईँभन्दा कम हुँदैन भनिदिए हुन्छ।यसैले आफूभित्र गुम्सेर रहेका खराबीहरूमाथि विजय प्राप्त गर्नु पनि एउटा ठूलै विजय हो।विजयादशमीले त्यही कुराको बोध गराउँछ।नवरात्रिको अवधिलाई साधनाको अनुपम क्षण सम्झी मनाउनेहरू प्रशस्तको सङ्ख्यामा छन्।त्यसको अर्थ नबुझी दशै भनेको खाने, पिउने, मोज गर्ने प्रवृत्ति पनि नभएको होइन।अझ पछिल्लोको सङ्ख्या बढ्दै गएको हो कि जस्तो भान पर्दछ सबै प्रकारका गतिविधिहरू हेर्दा।

विजयादशमीको शुरू हुन्छ आश्विनशुक्ल प्रतिपदाको घटस्थापनादेखि नवमीसम्म देवी दुर्गामाताको पूजा अर्चना र तत्पश्चात् नेपालीहरूको महान् चाडको रूपमा रहेको दशैँको टीका।ठाउँपिच्छे फरक भएता पनि टीकाटालोको समयावधि पूर्णिमासम्म रहन्छ।


हरेक वर्ष त्यही महिना, त्यही तिथिमा मनाइने बडादशैँ आगामी दिनको लागि ऊर्जा प्राप्त गर्ने महत्त्वपूर्ण अवसरको रूपमा पनि लिइने गरिन्छ।दशैँलाई कुनै जित या खुशीको पर्वको रूपमा हेर्ने चलन छ।खुशी मनाउने शैली अलग अलग हुन सक्छ।किसानहरू धानको बाली भित्र्याउनु अघिको दशैँपर्वलाई माङ्गलिक रूपमा सम्झन सक्छन्, केटाकेटीहरू खेलकुद, मोजमज्जा, रमाइलोमा अलमस्त हुने क्षण सम्झन सक्छन्, घरपरिवारका गृहस्थहरू परिवारका सबै सदस्यहरू जम्मा हुने पारिवारिक एकताको अवसर सम्झेर रमाउन सक्छन्।सबैले आ–आफ्नो रुचि र चलनअनुसार यसलाई मान्ने गर्छन्।

कुनै बेला थियो अरू देशको विजयमा निक्लने यात्राको राम्रो अवसर मानिन्थ्यो विजयादशमी।शुभमुहूर्त हेर्नै नपर्ने।सारांशमा सबै आ–आफ्नै धून,चलन र परम्परामा रमाउने समय हो विजयादशमी पर्व भन्दा फरक पर्दैन।

छिमेकी मुलुक भारतमा विजयादशमी पर्वलाई ‘दशहरा’को रूपमा मनाउने चलन छ।खास गरी उता रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको रूपमा रावणको पुत्ला जलाई मनाउने चलन छ।तर अर्कोतिर कर्नाटकको कोलार, मध्यप्रदेशको मंदसोर, राजस्थानको जोधपुर, आन्ध्रप्रदेशको काकीनाडा तथा हिमाञ्चलको बैजनाथ आदि ठाउँहरूमा रावणको पूजा धूमधामसँग गर्ने चलन पनि छ।श्रीलङ्कामा पनि रावणको पूजाआजा धुमधामले गर्छन् त्यस दिन।

रावण चारै वेद जानेको उद्भट विद्वान् एवं शिवभक्त हुँदा हुँदै पनि उनीमा रहेको घमण्ड र अहंकारले गर्दा मैमत्त भएका थिए।महान् शिवभक्त भए तापनि भगवान् विष्णुमाथि अति क्रोध गर्दथे।रावणको पिता विशर्वा ब्राह्मण कुलका थिए भने आमाचाहिँ राक्षस कुलकी थिइन्।यसैले ज्ञानमा उनी तीक्ष्ण विद्वान् निक्लिए।उता राक्षसको अंश पनि भएकोले शक्तिशाली पनि भए, जसको कारण कालान्तरमा उनीमा अत्यन्त अहंकार र घमण्डले गर्दा अरूलाई तृण बराबर पनि मान्दैन्थे।त्यही घमण्डलाई तोड्नको लागि नै विष्णुले रामको अवतार लिएर जन्मेको प्रसङ्ग बाल्मीकि रामायणमा पाइन्छ।

श्रीरामको वनवासको समयमा उनकी अर्घाङ्गिनी सीतालाई रावणलेहरेर लगेकोले उनलाई फिर्ता गराउन भएभरका प्रयत्न विफल भएपछि रामको रावणसँग घमासान युद्ध भयो।त्यस बेला हनुमान्जीले रामको साथ दिए।रावणको भाई विभीषणले पनि रामको साथ दिएका थिए।आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म देवी दुर्गाको पूजाआराधना गरी विजयादशमीको शुभमुहूर्तमा लङ्काको लागि प्रस्थान गरी रावणमाथि विजयप्राप्त गरेकोले त्यसैको सम्झनास्वरूप विजयादशमी मनाइने गरेको भन्ने प्रसङ्गको व्यापकता पाइन्छ।त्यसबाहेक महिषासुर नामको राक्षसलाई देवी दुर्गाले वध गरेर विजयप्राप्त गरेको प्रसङ्ग पनि त्यत्तिकै चर्चित छ।यसैगरी पाण्डवहरूको वनवास, देवी सती दक्षप्रजापतिको यज्ञवेदीमा आहुति भएको प्रसङ्गहरू पनि यसमा मिसिन आउँछन्।प्रसङ्ग अरू पनि जोडिन सक्छन्।जे भए पनि दशैँ मनाउनुको कारण असत्यमाथि सत्यको जित, दानवी शक्तिमाथि दैवी शक्तिको जितको रूपमा यसलाई आ–आफ्नै ढङ्गले ग्रहण गर्ने प्रचलन छ।

दशैँको अवसर पारेरनेपालको तराईका कैयन् ठाउँहरूमा हाट, बजार, मेला लाग्ने गर्छ।पश्चिम पहाडी ठाउँहरूमा चाहिँ राम–रावण, दुर्गा महिषासूरमर्दिनीलाई केन्द्रमा राखेर खैँजडी, झ्याम्टे बाजाहरूको साथ नाचगानहरूको आयोजन गरी रमाइलो गर्ने गरिन्छ।दशमीको दिन व्यापारीहरू आफ्नो हिसाबकिताबको खातालाई पूजा गर्छन् भने कृषकहरू आफ्नो घरमा भित्रिएको नयाँ बालीको पूजा गर्छन्।विद्यार्थीहरू आफ्नो किताबकापीको पूजा गर्छन्।त्यसैगरी प्रविधिको कर्मक्षेत्रमा जुट्नेहरू आ–आफ्नो हातहतियार र औजारहरूको पूजाअर्चना  गर्छन्।

दशमीकै दिन घरका मान्यजनहरू हजुरबुबा, हजुरआमा तथा आमाबुबाहरूको हातबाट टीका, जमरासहित आशीर्वाद लिने गरिन्छ।आफ्नो घरको टीकोटाला सकिएपछिनाताअनुसार मान्नु पर्ने नातागोताको घरमा टीका थाप्न जाने चलन छ।यसलाई एक प्रकारले आ–आफ्नो नातागोतासँगको पुनर्मिलन र सम्बन्धको नवीकरणको रूपमा लिन सकिन्छ।यसमा नजानिँदो किसिमले प्रेम, सद्भाव र मान्यजनप्रतिको श्रद्धा, सम्मान अन्तर्निहित छ।हरेक वर्ष आउने दशैँले पारिवारिक मिलन, सद्भाव र एकताको बन्धनलाई कसिलो, मजवूत र सौहार्द बनाउन प्रेरित गरिरहेको हुन्छ।

आधुनिकताको नाउँमा वाह्य संस्कृतिप्रतिको आकर्षण, आफ्नो संस्कृतिप्रतिको विकर्षण एवं प्रचलनमा रहेका संस्कार, परम्परा एवं संस्कृतिबारे जान्ने बुझ्ने किसिमको न शिक्षादीक्षा न त्यस किसिमको पढाईका कारण जसोतसो संस्कृति धानिएको छ भन्दा हुन्छ हिजोआज।आफ्नोपनको महत्त्व बुझिएन, इतिहास, संस्कृति एवं भूगोलको ज्ञान भएन भने देशको सार्वभौमिकता, स्वतन्त्रता एवं मौलिकतामाथि नै कुनै दिन कुठाराघात पर्न सक्छ भन्नेतिर सोच्नु आवश्यक भइसकेको छ जस्तो लाग्छ।हिजोआज संस्कृतिको नाममा अनेक प्रकारका विकृति, विसङ्गतिहरूले बढ्ने मौका पाइरहेका छन्, जुन कुनै पनि हालतमा ठीक हो भन्न सकिन्न।हाम्रा कुनै पनि चाडपर्वहरूको अन्यतम लक्ष्य भनेको जीवन, जगत् र ईश्वरलाई बुझ्ने रूपमा लिइएको थियो।तिनमा मनोरञ्जन केही हुन्थ्यो तर मनोभञ्जनलाई कुनै हालतमा बढ्न प्रेरित गरेको हुँदैन्थ्यो।आज त्यसको विपरीत बन्दै गएको यत्र तत्र देख्नुपर्दा हामी कतातिर जाँदैछौँ? भन्ने प्रश्न जो कोहीको मनमा आउन सक्छ।

चाडपर्वहरूले धार्मिक, सामाजिक पक्षलाई जाग्रत गराइराख्न होस्टेमा हैसे गर्ने त भई नै हाल्यो साथै यसले आर्थिक क्षेत्रलाई पनि चलायमान तुल्याएर अर्थतन्त्रलाई बलियो बनाउन सघाउ पु–याइरहेको हुन्छ।अझ स्थानीयपन मिसिएको चाडपर्वहरू छन् भने त आत्मनिर्भरताको बाटोमा डोरिन पनि प्रत्यक्ष÷ अप्रत्यक्ष रूपले सहयोग पु–याइरहेको हुन्छ।हिजोआज यसमा पनि परनिर्भरता बढ्दै गएर धान्न र थेग्न गाह्रो परिरहेको अवस्था सोचनीय बन्दै गएको छ।

दशैँ भन्नासाथ जानेर पनि नजानेर पनि ‘बलि’ जोडिएर आउँछ।बलिको अर्थ हुन्छ ‘उपहार’।कैयन् चाडपर्व, रीतिरिवाजहरू एक अर्कोमा अन्तर्विरोधी पनि नदेखिने होइनन्।भन्नै पर्ने हुन्छ यसमा स्थानीयता र परम्पराले भूमिका निर्वाह गरिरहेको हुन्छ।जसरी विशाल वरको रूखमा असङ्ख्य लहरा, जङ्गली झारपात एवं ऐँजेरुहरू त्यसै रूखमा जेलिएर रहेजस्तै सनातन हिन्दु परम्परामा पशुबलिप्रथा त्यसैगरी जोडिन आइपुगेको हो भने हुन्छ।देवीदेवताहरूलाई प्रसन्न गराउन पशुपक्षीको बलि दिने नाममा राँगो, बोका, भेडा, हाँस, कुखुरा आदिको बलिको चलनचल्ती पहिले खुबै रहेको भए पनि हिजोआज अनेक प्रकारका धार्मिक, आध्यात्मिक चिन्तन एवं सुधारवादी अनेक अभियानका कारण घट्दै घट्दै न गएको त होइन। व्यवहारमा घटिरहेको छ। यस विषयमा सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ घट्ने र बढ्ने सन्दर्भभन्दा पनि हाम्रो अघिल्तिर मुख्य प्रश्नको रूपमा जिज्ञासा आउँछ के पशुबलिप्रथा हिन्दुधर्मको हिस्सा हो? 

वेद, उपनिषद्, श्रीमद्भगवद्गीताजस्ता मूल शास्त्रहरूलाई मान्ने हो भने ‘होइन’भन्ने जवाफ आउँछ।तर धर्मशास्त्रको नाममा चलेका एकथरी ग्रन्थहरूले चाहिँ त्यसलाई समर्थन गरेका छन्।यद्यपि वेद, उपनिषद् र श्रीमद्भगवद्गीता नै हाम्रा मूल धर्मशास्त्र हुन्।

संसारको सबैभन्दा जेठो शास्त्र ऋग्वेदमा उल्लेख पाइन्छ– “ मा नो गोषु मा नो अश्वेसु रीरिषः” (ऋग्वेद १।११४।८) हाम्रा गाई र घोडाहरूलाई नमार।
संस्कृतवाङ्मयका केही विद्वान्हरूले हिन्दुधर्ममा पछि गएर लोक परम्पराका धारणा र मान्यताहरू जोडिदै जानाले त्यसलाई पनि हिन्दुधर्मको हिस्साजस्तो मानिन थाल्यो।जसरी वरको रूखमा बटारिएर आफ्नो अस्तित्त्व बनाएका लहराहरूको मूल रूखसँग सम्बन्ध हुँदैन तापनि झट्ट हेर्दा त्यही रूखको अङ्ग हो कि जस्तो देखिन पुग्छ जबकि रूखसँग कुनै सम्बन्ध हुँदैन।हिन्दुधर्ममा पनि यस्तै भएको सम्झनुपर्छ।

पशुबलिप्रथाको चलन हिन्दुहरूको शाक्त एवं तान्त्रिक मतमा केही देख्न पाइन्छ।तर त्यसको कुनै धार्मिक आधार भने छैन।शाक्त या तान्त्रिक मतको प्रारम्भमा त्यस्तो रुढ परम्परा गाँसिएको थिएन। तर आफ्नो इच्छाको कामना पूर्ति हेतु विभिन्न प्रकारका विश्वास जोडिदै गयो।मानिस सदैव कामनाको पूर्तिमै लाग्ने हुनाले त्यसलाई अन्यथा सम्झेनन्।यद्यपि तन्त्रमा सात्त्विक भाव नभएको होइन।तर ‘पञ्चमकार’ जब जोडियो तामसी भाव गाँसिन पुग्यो।

वेदहरूमा धर्मको नाउँमा कुनै प्रकारको पशुबलिलाई स्वीकारिएको छैन।बरु यस्तो प्रवृत्तिलाई हटाउन, घटाउन ‘परिसङ्ख्या’विधिलाई प्रोत्साहन दिएको पाइन्छ।
यजुर्वेदमा भनिएको छ–
 
इममूर्णायुंवरुणस्यनाभिंत्वचंपशूनांद्विपदांचतुष्पदाम्।
त्वष्टुः प्रजानांप्रथमंजानिन्नमग्नेमाहिश्सीपरमेव्योम।।
                                        –यजुर्वेद १३।५०

अर्थात्, बाख्रा, ऊट आदि चौपायाहरू र दुई खुट्टे पशुपक्षीलाई नमार।
  
पशुबलिको प्रथा कहिले, किन शुरू भयो इद्मिथ्य भन्न सकिन्न।केही पाश्चात्य विद्वान्हरू तर्क गर्छन् वैदिक कालको यज्ञमा पशुको बलि दिइन्थ्यो।यस्तो तर्क गर्नेहरू वैदिक शब्दको गलत अर्थ गरिरहेको भान हुन्छ। किनभने वेदमा पाँच प्रकारको यज्ञ–ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, वैश्वदेव यज्ञ र अतिथि यज्ञको वर्णन पाइन्छ।
 सामवेदमा भनिएको छ– 
 “ न कि देवा इनीमसि न क्या योपयामसि।मन्त्रश्रुत्यं चरामसि” –सामवेद २।७
अर्थात्, देवताहरू हो! हामी हिंसा गर्दैनौँ, न यस्तो अनुष्ठान नै गर्दछौँ, वेद मन्त्रको आदेशानुसार आचरण गर्दछौँ।
 
वेदमा यस्ता सैयौँ मन्त्र एवं ऋचाहरू छन्, जसले सिद्ध गर्दछ कि हिन्दुधर्ममा बलि प्रथा निषेध छ।यो प्रथा हिन्दुधर्मको हिस्सा हुँदै होइन भन्न अनेकौँ प्रमाणहरू छन्।जो यो गलत प्रथालाई समर्थन गर्दै टेवा दिन प्रयत्न गर्दछन्, उनीहरू धर्मविरुद्धको कार्यलाई मलजल हाल्ने काम गर्दैछन् भन्ने देखिन्छ।देवीदेवताको नाममा गरिने पशुबलिले अन्ततोगत्वा मानिसको मानसिक चेतनाको धरातललाई अधोगतिमा ल्याउन सहयोग गर्दछ।

“अहिंसा परमोधर्म यतोधर्मस्ततो जयः”, “ममैवांशो जीवलोके जीवभूतः सनातनः, “सर्वखलु इदं ब्रह्म” जस्ता मानवकल्याणकाअति उच्चतम चिन्तन दिने सनातन हिन्दुधर्ममा पशुपक्षीको हत्या,हिंसाको विषयहरू कसरी अटाउन सक्ला ? सोचौँ।

अन्तमा कवि शिरोमणि लेखनाथ पौड्यालको कालजयी काव्य तरुण तपस्वीको यो बान्कीले बुझ्न चाहनेलाई धेरै कुराको संकेत गर्न सक्छ–
दया हो पृथ्वीको अति चहकिलो पारसमणि।
दया नै हो कालो भवजलधिको मुख्य तरणी।।
दया त्यस्तो त्यागी किन मनुज हिंसातिर झुक्यौँ।
म मर्ने हुँ मर्छू तर तिमि नराम्रोसित चुक्यौँ।।
८८८


 


Author

डा. गोविन्द टण्डन

(संस्कृतिविद् डा. टण्डनका ‘नेपालमा गुठीव्यवस्था', ‘इतिहासका थप पृष्ठहरू’ जस्ता दर्जनौँ कृति प्रकाशित छन् ।)


थप समाचार
ad
x