विचार

अब कता ?

यही पारा दोहोरिने हो भने सन्ततिका निमित्त अभिशाप साबित हुनेछ

विनोद सिजापती |
असोज २९, २०७९ शनिबार ७:१२ बजे

मंसिर ४ को संघारमा आइपुग्दा यस लेखले तीन प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ : 
- किन सबै तप्काका नागरिकले धिक्कार्दा पनि शीर्षस्थ नेताहरूले उम्मेदवारी दिएका हुन् ? 
- गठबन्धन आवश्यक किन परेको हो ? 
- निर्वाचनपछि राष्ट्र कुन दिशाउन्मुख हुने सम्भावना छ ?

संसद्‌मा उपस्थिति कायम गर्ने अभिप्राय
उच्च जीवनस्तरलाई सफलताको मापदण्ड मान्‍ने हो भने (वर्तमान कालखण्डमा) हाबी भएका अधिकांश नेता सफल ठहरिन्छन् । विगत ३२ वर्षको अवधिमा उनीहरूले जस्तो गरेर छोटो अवधिमा धेरै जायजेथा जोर्न स्थापित व्यापारिक व्यवसायीले समेत सकेका छैनन् । सायद आर्जेको सम्पत्तिको अनुमान गर्न कठिन भएको हुनाले सम्पत्ति विवरण सार्वजनिक गर्न सत्तासीन नेतृत्वले आनाकानी गर्नुपर्‍यो । अधिकांश नागरिक विपन्‍न भए पनि अत्यधिक सम्पन्‍न छ, नेतृत्व पंक्ति । 


विडम्बना धन आर्जन गर्न सफल नेताहरूलाई त्यही धनले पोल्न पिरोल्न थालेको छ । भ्रष्टाचारविरुद्ध जनआवाज चर्कन थालेको छ । स्वतःस्फूर्त रुपमा राजनीतिक व्यक्तिको सम्पत्ति छानबिनको माग देशव्यापी अभियानमा परिणत हँुदै छ । पञ्चायतविरुद्ध संघर्ष गर्दा लामो अवधि जेल सजाय भोगेको ‘प्रमाणपत्र’ उपयोग गर्दै राज्यकोषको दोहन गर्ने शीर्षस्थ नेताका निमित्त यो अभियानले शुभ सन्देश दिँदैन । जीवनको अन्तिम कालखण्ड पुनः कालकोठरीमा बिताउनुपर्ने सम्भावना छ । भ्रष्टाचारी ठहरिएका मलेसियाका पूर्वप्रधानमन्त्री नाजीब रजाक तथा तिनको धर्मपत्नी रोश्मा मंसुरले पाएको १० वर्षीय लामो सजाय समाचार आलै छ । 

स्थापित नेताहरूमध्ये कतिका निमित्त अकुत सम्पत्ति आर्जनका अतिरिक्त मानवताविरुद्धको अपराधको आरोप पनि छ । दशक लामो हिंस्रक आन्दोलन दबाउने क्रममा राज्यको तर्फबाट तथा हिंसा आतंक फैलाउन विद्रोही पक्षबाट भए गरिएका ज्यादतीहरूको फेहरिस्त लामै छ । तिनको भूमिका तथा संलग्नताको न्यायिक छानबिन प्रक्रिया ‘कोल्ड स्टोरेज’मा थन्काइएको अवस्था छ । खमेररुज शासन कालखण्ड (कम्बोडिया) का नेताले वृद्धा अवस्थामा उक्त शासन कालखण्डका मानवताविरोधी अपराधबापत सजायको भागिदारी भएको समाचारबाट हाम्रा पनि अनभिज्ञ छैनन् ।

उल्लिखित तीन कारणले गर्दा अग्रिम पंक्तिका कतिपय ‘शीर्षस्थ नेता’का लागि सके सत्ता नभए पनि ‘सत्ताको ओत’ नितान्त आवश्यक छ । यस प्रसंगमा उल्लेख गर्नैपर्छ, नेपाली कांग्रेस दल सभापति एवं सम्माननीय प्रधानमंत्री देउवा अपवादमा पर्नु हुँदैन । 

गठबन्धनको आवश्यकता र औचित्य 
गठबन्धनको अपरिहार्यता ‘संविधान तथा गणतन्त्रको रक्षा’का निमित्त भन्दा माथि उल्लेख गरिएका व्यक्तिगत कारणहरूले गर्दा परेको हो । अर्थात् सत्तासीन हुने अन्यथा ‘प्लान बी’ अनुरुप सत्ताको सामीप्यमा रहिरहने अभिप्रायको उपज हो, गठबन्धन ।

सत्ता गठबन्धन दल सामेल दल नेताहरूको विश्वासिलोका विषयमा चर्चा आवश्यक छैन । जगजाहेर छ, उनीहरूको ‘छेपारे चरित्र’ । प्रमुख घटक नेता अझै पनि संसदीय प्रणालीप्रति विश्वास गर्दैनन् । तिनको भनाइ र गराइ पल–पलमा बदलिन्छ । विश्वासको उच्चतम जोखिमका बाबजुद पनि नेपाली कांग्रेस दल सभापतिले पुष्पकमल दाहाललाई पिठ्यूँमा बोकेको देखेर उदेक लाग्नु स्वाभाविक हो । कांग्रेसजनका निमित्त ‘मनको बह कसैलाई नभन’ सरह भएको छ । अर्कातर्फ उपेन्द्र यादवको बोझ पिठ्यूँमा राख्न खड्गप्रसाद ओलीको दल कार्यकर्ताहरू अवस्था किन कांग्रेसीजनको भन्दा पृथक् छैन । 

कांग्रेस सभापति कुनै पनि हालतमा छ पटक प्रधानमन्त्री पदमा आसीन हुन लालायित छन् । कुनै कालखण्डमा ‘संस्थापन इतर पक्ष वरिष्ठ नेता’ एवं देउवाको प्रतिद्वन्द्वी रामचन्द्र पौडेलका निमित्त माओवादीको वैशाखी नितान्त आवश्यक छ । पुष्पकमल दाहालको आशीर्वाद प्राप्त नभएको खण्डमा तिनको संसद्‌ प्रवेश द्वार खुल्नेवाला छैन । निर्वाचन क्षेत्रमा विना माओवादी समर्थन पराजय निश्चित छ । त्यसका साथै जीवनको अन्तिम अभिलाषा ‘प्रधानमन्त्री’ पद प्राप्ति तुहिन्छ । 

उत्तराधिकारीविहीन परिस्थिति 
सर्वसाधारणको नजरमा प्रमुख तीन दल नेता असफल नेताको कोटिमा पर्छन् । संघीय संसद्‌को उम्मेदवार हुनु उनीहरूका निमित्त बाध्यता भन्‍ने व्याख्या सुनिन्छ । दलको विरासत ‘कसलाई ह्यान्डओभर गर्ने ?’ दुई कम्युनिस्ट दलमा नेतृत्व सम्हाल्न तयार पात्र धरातलमा देखा परेकै छैनन् । नेपाली कांग्रेसमा भने छन्, गगन थापा घोषित उम्मेदवार हुन् भने डा. शेखर कोइराला अघोषित । त्यसो त, उत्तराधिकारी हुन सक्षम उम्मेदवारको अभाव अन्य दलमा देखापर्नु सतही मात्र हो । सक्षम तथा काबिल उम्मेदवार अन्य दलमा पनि छन् देखापर्ने बित्तिकै उनीहरू ‘पर्ज’मा पर्ने भयग्रस्त छन् । 

सफल नेताले आफ्नो उत्तराधिकारीलाई ‘गु्रम’ गर्छ । विश्वेश्वरप्रसाद कोइराला (बीपी) ले विश्वबन्धु थापा तथा सरोज कोइरालालाई ‘गु्रम’ गरेका थिए । विश्वबन्धुले धोका दिए । सरोज मारिए । सरोजको हत्यापछि तिनको रोजाइमा परशुनारायण चौधरी तथा शैलजा आचार्य परेका थिए । भाइ गिरिजाप्रसाद अथवा पुत्र प्रकाश कोइराला रोजाइका पात्र होइनन् । बीपीलाई भाइ वा सुपुत्र प्यारो नभएर उनीहरू तिनको उत्तराधिकारी पंक्तिमा नपरेका होइनन् । बरु, बीपीको उद्देश्य उत्तराधिकारी आफूभन्दा सक्षम तथा सफल होस् भन्‍ने भएको हुनाले गर्दा हो ।

यदि अर्को कुनै कारण थियो भने बीपी आपराधिक कार्यमा संलग्न थिएनन् । उनले गरेका कार्यहरू आपराधिक किसिमका नभएको हुनाले लुकाउनुपर्ने किसिमका थिएनन् । विद्यमान नेतृत्वले सक्षम कार्यकर्ताबाट असुरक्षित ठान्छ । नेतृत्वले सक्षम र दक्ष कार्यकर्तालाई कसरी हतोत्साहित गर्छ भन्‍ने छर्लंगिएको छ उम्मेदवार छनौट प्रक्रियाबाट । नेतृत्वको प्राथमिकता अनुयायी तथा भक्तजन पर्छन् । क्षमतावान् तथा योग्य निषेधमा पर्ने गर्छन् । 

काले काले मिलेर खाऔँ भाले 
सतहमा जतिसुकै मत मतान्तर भए पनि शीर्षस्थ नेताहरूबीचको सम्बन्ध सौहाद्र्रपूर्ण छ । सर्पले सर्पको खुट्टा देख्छ भने जस्तै उनीहरूबीच एक अर्कोले गरेको अपराध लुकेको छैन । त्यसकारण उनीहरू एकआपसलाई सहयोग गर्न कहिल्यै पनि चुक्दैनन् । अर्थमन्त्रीको भिडियो फुटेज ‘डिलिट’ प्रकरण विरोधको आवाज केन्द्रीय बैंकको गभर्नर दल समावेशी प्रकरणबीचको सौदाबाजीमा समाधान भयो । आसन्‍न निर्वाचनमा पनि प्रमुख दल नेताको निर्वाचन सुरक्षित गरिएको छ, विरोधी दलले कमजोर उम्मेद्वार चयन गरेर ।

अबको बाटो 
स्थानीय निर्वाचनमा जे÷जस्तो परिदृश्यले निरन्तरता पायो, संघीय संसद्‌ तथा प्रान्तीय सभा सदस्य उम्मेदवार चयन गरिँदा । निर्वाचन क्षेत्र दलको रोजाइ वा सिफारिस भूमिकाविहीन रह्यो । अर्थात् निर्वाचन क्षेत्र एकाइले उम्मेदवार सिफारिस गर्ने अभ्यास निरर्थक साबित भए । मतदाताका सामुन्‍ने उपस्थित हुने नैतिक हैसियत गुमाएका आफन्तको रोजाइमा पर्‍यो दलले सिफारिस गरेको समानुपातिक तर्फको नामावली । प्रत्यक्षतर्फ भने नेतृत्वप्रति बफादार हनुमानको बर्चस्व रह्यो । ‘संविधान तथा लोकतन्त्रको रक्षा’ नाराले संविधानको मर्मअनुरूप समावेशितालाई पूरै अवहेलना गर्‍यो । 

महिला, दलित, जनजाति तथा पिछडिएको समुदायको प्रतिनिधित्वलाई आत्मसात् कुनै पनि दलले गरेनन् । लोकतन्त्रप्रति आस्था नराख्ने माक्र्सका अनुयायी दलले मात्र होइन, लोकतन्त्र समर्पित दलले आन्तरिक लोकतन्त्रको गला घोटने कार्य गर्यो । जुन दलमा आन्तरिक लोकतान्त्रिक अभ्यास हुँदैन त्यस्ता दल नेतृत्वले लोकतन्त्रको दुहाई गर्नुको औचित्य हुँदैन । अप्राकृतिक गठबन्धनकारी दलका नेतृत्वले सम्पूर्ण रुपमा औचित्य गुमाइसकेका छन् । विद्यमान अवस्थालाई शान्तिपूर्ण तरिकाले बदल्ने अवसर मंसिर ४ गतेका दिन हुने निर्वाचनले दिँदै छ । 

निर्वाचन क्षेत्रका मतदातालाई कुन उमेदवार भ्रष्टाचारमा लिप्त छ । अकुत सम्पत्ति आर्जन गर्ने, आपराधिक गतिविधिमा संलग्न हुनेदेखि लिएर केवल सत्ता र भत्ताका निमित्त संसद्‌मा उपस्थिति जनाउने उमेदवारलाई उनीहरूले चिनिसकेका छन् । त्यसैगरी यदि राजनीतिक दल कार्यकर्ताहरूले पनि आफ्नो विवेकलाई थातीमा राखेर ‘रोबर्ट शैली’मा अक्षम भ्रष्ट नेतृत्वको आज्ञापालनमा जुटे भने उनीहरूले पनि आफ्नो राजनीतिक जीवनको समापनलाई सुरुवात गरेको ठहरिनेछ । विगत पाँच वर्ष मतदाताले विवेकको सदुपयोग नगर्दा खेर गयो । पुनः अर्को पाँच वर्ष पनि यही पाराले निरन्तरता पाउने हो भने भविष्यका सन्ततिका निमित्त अभिशाप साबित हुनेछ ।

सिजापतीका लेखहरू


Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार
x