विचार

बाबुराम र रवीन्द्रले वैकल्पिक धार बिगार्दा रवि उदाए

डम्बर खतिवडा |
मंसिर ५, २०७९ सोमबार १३:४३ बजे

नेपालमा नयाँ लोकतान्त्रिक दलको आवश्यकता पहिलेदेखि नै थियो । डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गर्दा वैकल्पिक शक्तिको पक्षमा ठूलो माहोल थियो । ठूलो जनमतले उहाँलाई साथ दिन खोजेको थियो । तर, उहाँ आफैँले त्यो माहोल बिगार्नुभयो । कहिले वाम गठबन्धनमा त कहिले अर्को गठबन्धनमा गएर त्यो उत्साह मारिदिनुभयो । 

विवेकशील छुट्टै रुपमा आन्दोलित थियो । पछि यी पार्टीबीच एकीकरण हुँदा पनि राम्रो माहोल बनेको थियो । त्यसलाई पनि रवीन्द्र मिश्रले पार्टीमा राप्रपा राजावादी सिद्धान्त छिराएर विगारे । त्यसपछि विकल्प खेज्ने मतदाता कहाँ जाने भन्ने अन्योल भएका बेला रवि लामिछानेको पार्टी खुल्यो । त्यो उनलाई एउटा अवसर जस्तो भयो । सबै ठूला पार्टीहरूको विकल्प खोजेकाहरूले रविकै पार्टीमा मत हाले । 


दलहरूको गठबन्धनको कारण पनि रविको पार्टीलाई फाइदा पुग्यो । कांग्रेसका कार्यकर्ताले माओवादीलाई लगभग भोट हाल्दैनन् । त्यसैले जहाँ–जहाँ माओवादीले टिकट पाएर कांग्रेसले सहयोग गर्ने माहोल थियो, त्यहाँका मतदाताले मत दिएनन् । उनीहरूले पनि घण्टीलाई मत दिएको हुन सक्छ । त्यस्तै पुराना दलप्रति नयाँ मतदातामा कुनै आशा देखिँदैन । उनीहरूले पनि नयाँ दल भनेर स्वतन्त्र पार्टीलाई मत दिए । यो एक हिसाबले राम्रो पनि हो । प्रारम्भिक नतिजाका आधारमा भन्दा रविको पार्टी तेस्रो बन्ने सम्भावना छ । 

यो नतिजालाई उनले धान्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि छ । उनको राजनीतिक अनुभव कति हो ? भोलि त्यो पार्टीमा कस्तो समस्या देखा पर्न सक्छ ? उनले राष्ट्रिय नीतिहरूमा कस्ता अजेन्डा उठाउँछन् ? त्यसमा भर पर्छ । यदि उनले राम्रो गर्न सके भने दिगो राजनीतिक विकल्पका रूपमा पनि अगाडि आउन सक्छन् । सकेनन् भने उनी बाबुराम भट्टराई र रविन्द्र मिश्र, केशव दाहाल, रञ्जु दर्शनाहरूकै अवस्थामा पुग्न पनि सक्छन् । 

रविको भविष्य उनको राजनीतिक भूमिका र कामले देखाउँछ । अहिले छोटो सममै उनले ऐतिहासिक अवसर भने पाएका हुन् । उनलाई अहिले जनताले वर्तमान व्यवस्थामा उनी इमानदार छन भन्ने बुझेर मत दिएका छन् । तर भोलि उनको दल दक्षिणपन्थी हो वा राप्रपा जस्तो रहेछ भन्ने थाहा पाए भने फेरि मत पाउँदैनन् । अहिले उनको वास्तविकता देखिएको छैन । व्यवस्थाप्रति उनको नीति छर्लङ्ग भइसकेको छैन । उनले प्रदेशमा उम्मेदवार उठाएका छैनन् । उनको वास्तविकता भोलि देखिँदै जान्छ । उनले पाएको अवसर सदुपयोग गरे एउटा वैकल्पिक शक्तिका रुपमा काम गर्न सक्छन् । 

(नयाँ शक्ति पार्टीमा सक्रिय हुँदै नेपाल समाजवादी पार्टीसम्म दलमा रहेर वैकल्पिक राजनीतिको वकालत गरिरहेका खतिवडासँग उपेन्द्र अर्यालको कुराकानी ।)
 


Author

थप समाचार
x