विचार

सौर्य ऊर्जालाई हेपाहा व्यवहार किन ?

पूर्णबहादुर परियार |
मंसिर १४, २०७९ १३:२९ बजे

सूर्यलाई प्राचीन कालदेखि नै हाम्रो ग्रहलाई जीवनदाताका रूपमा पुज्दै आएको छ । औद्योगिक युगले हामीलाई सूर्यको किरण नै सौर्य ऊर्जाको स्रोतका रूपमा परिचित गरायो । सौर्य ऊर्जाका विविध प्रकार छन् । हामीले नेपालमा चर्चा गर्ने सिस्टम भने सस्तो सिस्टम हो जसलाई फोटोभोल्टेक सिस्टम भनेर चिनिन्छ । यो सिस्टम सरल छ, प्यानलले सूर्यको किरण प्राप्तिपश्चात् डाइरेक्ट करेन्ट उत्पादन गर्दछ र त्यो डाइरेक्ट करेन्टलाई इन्भर्टरले अल्टरनेट करेन्टमा रुपान्तर गरी ट्रान्सफर्मरको माध्यमबाट ग्रिडमा पठाउँछ । अर्को सिस्टमलाई थर्मल सिस्टम भनिन्छ जुन प्रविधिका हिसाबले चार उपविभागमा बाँडिएका छन् । यो सिस्टमले ताप उत्पन्न गर्छ र त्यो तापले पानीलाई बाफमा परिणत गर्दछ र त्यो बाफले टर्बाइन घुमाएर विद्युत् उत्पादन गर्दछ । थर्मल सिस्टम हाम्रो मुलुकमा कल्पना पनि गर्न सकिँदैन किनकि यो सिस्टममा अत्यधिक पानी र मोल्टन सल्ट जस्ता वस्तुहरू खपत हुने गर्छन् र खर्चिलो हुने गर्दछ । हाम्रो जस्तो भौगोलिक अवस्थितिमा ब्याट्रीरुपी जलाशययुक्त विद्युत् परियोजना नै काफी छ तर ती परियोजना रातारात तयार हुँदैनन, निश्चित प्रक्रिया र समय त लाग्छ नै, छिटो भनेका सौर्य योजनहरू हो तर यहाँ त सौर्य परियोजनाहरूलाई सौतेनी व्यवहार गरिँदै छ । मिश्रित ऊर्जा अपनाउनमा समस्या के छ ? कसको निर्देशनमा चलिरहेको छ ऊर्जा मन्त्रालय ?

एकछिन हाम्रा छिमेकी मुलुकका बारेमा चर्चा गरौँ ।
भारतको विद्युत् ऊर्जामा आजसम्म पनि कोइलामा आधारित विद्युत्को सेयर ठूलो छ । एकछिन हाम्रा छिमेकी मुलुकका बारेमा चर्चा गरौँ । 
भारत विश्वको ठूलो विद्युत् उत्पादकमध्ये तेस्रो स्थानमा पर्दछ । पहिलो चीन र दोस्रो अमेरिका हो । कुल जडित क्षमता ४०३.७५९ गिगावाट (३० जुन २०२२ सम्मको आँकडा) मध्ये भारतको विद्युत् ऊर्जामा आजसम्म पनि कोइलामा आधारित विद्युत्को हिस्सा ठूलो छ । कोइलाबाट २०४,०७९ मेगावाट (५०%), लिग्नाइटबाट ६,६२० (१.६%) मेगावाट, ग्यासबाट २४,८२४ मेगावाट (६.१%), डिजलबाट ५६२ मेगावाट (०१%), हाइड्रोबाट ४६,८५० मेगावाट (११.५%) वायू, सोलर र अन्य नवीकरणीय ऊर्जा स्रोतबाट ११८,०८० मेगावाट (२९%), न्युक्लियरबाट ६,७८० मेगावाट (१.७%) छ । भारतका केही प्रान्तमा अहिले पनि लोडसेडिङ हुने गर्दछ तर त्यसको मुख्य कारण ऊर्जा उत्पादन नहुनु होइन बरु ऊर्जा उत्पादनका लागि कच्चा पदार्थको अभाव, ट्रान्समिसन लाइनको नेटवर्क अपर्याप्त नै हुन् । यो हो मिश्रित ऊर्जाको महत्वको एउटा उदाहरण ।


एसियाको सबैभन्दा पहिलो जलविद्युत् परियोजना दार्जीलिङको सिद्रापोङमा सन् १८९७ मा सम्पन्न भएको थियो । पहिलो सडकबत्ती ब्याङ्ग्लोरमा सन् १९०५ मा, पहिलो विद्युतीय रेल १९२५ मा, र सन् २०१५ मा पहिलो सौर्य ऊर्जाबाट सञ्चालित एअरपोर्ट बन्न पुग्यो कोचिन अन्तर्राष्ट्रिय विमानस्थल जुन भारतको केरला राज्यमा पर्दछ ।

भारतका विभिन्न प्रान्तमा जडित सोलार परियोजनाका खरिददर फरक फरक भए पनि केन्द्रीय सरकारले दिने अनुदान भने बराबर छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिने ऊर्जा प्लान्टका लागि २० लाख रुपैयाँ प्रति मेगावाट र प्रतिप्लान्ट डिपीआर तयार गर्नका २५ लाखसम्म अनुदान उपलब्ध गराउँछ । त्यति मात्र होइन, ५ मेगावाटसम्मको परियोजनामा रु.२.५ करोड प्रतिमेगावाट, २५ मेगावाटसम्मको प्रोजेक्टमा रु. २ करोड प्रतिमेगावाट र २५ मेगावाट भन्दा माथिका प्रोजेक्टहरूमा प्रतिमेगावाट १.५ वा प्रोजेक्टको कुल बजेटको ३०% जुन कम हुन्छ त्यही रकम भिजीएफ (भाएबिलिटी ग्याप फण्ड) को व्यवस्था गरिएको छ । हामी किन पूर्वाग्रही ?

चीनको त चर्चा नै नगरौँ । विश्वमा सबैभन्दा अधिक विद्युत् उत्पादन गर्ने मुलुक चीन हो, अमेरिका दोस्रो र तेस्रोमा भारत पर्छ भनेर माथि नै उल्लेख छ । कोइला १,०४०,६३० मेगावाट (५१.८%), प्राकृतिक ग्यास ९०,२४० मेगावाट (४.५%), थर्मल ३३,३४० मेगावाट, (१.७%) न्युक्लियर ४८,७४० मेगावाट (२.४ %), हाइड्रो (परम्परागत) ३२७,७५० मेगावाट (१६.३%), पम्पड स्टोरेज हाइड्रो ३०,२९० मेगावाट (१.५%), वायु २०९,१५० मेगावाट (१०.४%),सौर्य २०४,१८० मेगावाट (१०.२%), बायोमास २३,६१० मेगावाट (१.२%) गरी २०१९ को अन्त्यसम्म कुल ७९५ गिगावाट जडान क्षमता थियो ।

सन् २०२१ मा सौर्य परियोजनाहरूका लागि अनुदान रोकिएको घोषणा गरे तापनि पुनः २०२२ मा २.२८ बिलियन युवान अनुदान व्यवस्था गरेको छ । ५० किलोवाटभन्दा भित्रको रुफटप सोलार सिस्टममा १५ युवान प्रतिवाट र ५० किलोवाट माथि र ३०० किलोवाटभित्रको सोलार सिस्टमलाई कुल लागतको ५०% अनुदान दिने गर्छ र विद्युत् नै नभएको वा अनियमित आपूर्ति भएको क्षेत्रमा ७०% सम्म अनुदान दिएको छ ।

लगभग ७ लाख जनसंख्या भएको भुटानको अहिलेसम्मको कुल जडित क्षमता १.६ गिगावाट छ र सौर्य ऊर्जामा लम्कँदै छ । जलाशययुक्त जलविद्युत् परियोजनामा हिउँदमा पर्याप्त पानी जम्मा हुन नसक्ने हुनाले ती योजनाहरूमा दिउँसो पानी जम्मा गर्नकै लागि पनि भुटान सौर्य ऊर्जामा अगाडि बढिसकेको छ ।
आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न, प्रत्येक देशले विभिन्न अनुपातहरूमा उपलब्ध ऊर्जाको प्रकारहरू प्रयोग गर्दछ । यसलाई हामी ऊर्जा मिश्रण भन्छौं ।

स्रोतको उपलब्धताको आधारमा मिश्रणको अनुपात र तथ्यांक फरक फरक हुनसक्छ तर जुनसुकै मुलुकमा पनि दबदबा अवशेष इन्धन ( डिजल, पेट्रोल, कोइला, प्राकृतिक ग्यास) को नै हुने गरेको छ । ऊर्जाको स्रोतमा धनी मुलुकहरू ऊर्जा मिश्रणमा जानु बुद्धिमानी हुन्छ । झट्ट हिसाब गर्दा जताततै पानी नै पानी छ्यालब्याल भएको मुलुकमा सोलार किन भन्ने प्रश्न जो कोहीको मनमा आइरहेको हुन्छ । सवाल सोलार जलविद्युत्को तुलनामा महँगो हो भन्दै रोकिने होइन कि ऊर्जा अपर्याप्त हुँदा डिजल जेनेरटर चलाउनुपर्ने बाध्यता हो । पेट्रोलियम पदार्थलाई ‘कालो सुन’ पनि भनिन्छ । एकातिर कार्बन उत्सर्जनले वातावरणीय प्रदूषण, स्वास्थ्यमा प्रतिकूल असार पार्दैछ भने अर्कोतर्फ यो हाम्रो मुलुकमा उत्पादन हुँदैन । डिजल, पेट्रोल, ग्यास त अब कृषि क्षेत्रमा मेसिन प्रयोग गरेर उत्पादन तीव्र पार्नुका लागि पनि अपरिहार्य भइसकेको छ । अब कुन–कुन विषयमा पेट्रोलियमा पदार्थमा भर पर्ने ? चुल्हो, यातायात (मोटरसाइकल, कार, ट्याक्सी, बस, ट्रक, हवाईजहाज), उद्योग, सेना, प्रहरी, कर्मचारी, शिक्षक, विद्यार्थीको कसले मुद्रा जलाउने ? एकछिन कल्पना गरौँ, काठमाडौँ मात्र कार्बनमुक्त सहर हुन सक्यो भने हाम्रो स्वास्थ्यको स्तर कस्तो होला ? ट्रक र बस बाहेक ट्याक्सी, कार, मोटरसाइकल लगायतका सवारी साधनहरू मात्र विद्युतीय बनाउन सम्भव छ । अहिले हामी डिजल पेट्रोल भारतबाट ल्याउँछाँै, ट्यांकीमा भर्छौ, धुवाँमा उडाउँछौँ, अनि आफ्नो निवास र कञ्चन कान्तिपुरी नगरीमा मास्क लगाएर सभ्य बन्दछौँ । विद्युत् बेचेर १० अर्ब कमाएको हिसाब देख्ने, डिजल, पेट्रोल र एलपीजी भित्र्याएर ५० अर्ब भारत पठाएको नदेख्ने ? यो न्यायसङ्गत हो ?

यो २१ शताब्दी, विश्वभरिका वैज्ञानिकहरू कार्बनमुक्त पर्यावरण खोज्दै छ, हामी त जङ्गल नै जङ्गल भएको हरियाली भएको मुलुक हो । नेपालमा ट्रिप्पिङ या कुनै प्राविधिक गडबडीले विद्युत् अवरुद्ध हुन नदिन विभिन्न उपाय छन् । लिथियम ब्याट्री र हाइड्रोजन फ्युल सेलको प्रयोग गरी मुख्य सबस्टेसनहरूमा एनर्जी स्टोरज सिस्टम स्थापना गरिदिने हो भने लामो समयसम्म लाइन काटिने समस्याबाट तुरन्तै मुक्ति मिल्न सक्छ । काठमाडाँै विश्वविद्यालय हाइड्रोजन उत्पादनसम्बन्धी अध्ययन गर्दै छ । तुरुन्तै फाइदा लिनका लागि लिथियम आइरन ब्याट्री नै विकल्प हुन सक्छ । डिजल र पेट्रोल भन्दा यो सिस्टम ५०% सस्तो र १० देखि १५ वर्षसम्म टिक्छ ।

सूर्यमा धेरै हाइड्रोजन ग्यास नै हुने गर्छ, बिस्तारै संसार हाइड्रोजन उत्पादन गर्दै नवीकरणीय ऊर्जामा ठूलो उथलपुथल ल्याउँदै छ । प्राकृतिक ग्यास एलएनजी, सिनएनजी, एलपीजी पेट्रोलियम पदार्थबाट बन्ने भए पनि यी ग्यासहरूलाई धेरै मात्रामा हामी आफैँले उत्पादन गर्न सकिन्छ । पशु चौपायाको गोबरबाट, सहरी फोहोरबाट बायो ग्यास बन्छ र त्यही ग्यासलाई शुद्धीकरण गर्दै संकुचन बायो ग्यास बनाएर सिलिन्डरमा भर्दै एलपीजी जस्तै खाना पकाउन, विद्युत् उत्पादन र विविध प्रकारको इन्जिन चलाउन सकिन्छ । सौर्य या जलविद्युत् परियोजनाबाट बढ्ता बहेको ऊर्जाबाट एमोनिया ग्यास पनि उत्पादन गरी चर्को मूल्यमा बिक्री गर्न सकिन्छ, अहिलेलाई आफ्नो आन्तरिक आवश्यकता पूरा गर्न सके काफी छ । एमोनिया ग्यासबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गर्न सकिन्छ, रासायनिक मल उत्पादन गर्न पनि सहयोगी हुन्छ नै र एमोनिया ग्यासबाट चल्ने इन्जिनको पनि अनुसन्धान र विकास हुँदै छ । 

हाम्रो मूल उद्देश्य जनतालाई पनि सुविधा होस् र आर्थिक भार पनि नपरोस् भन्ने हो । हस्पिटल, तारेहोटेल, व्यापारिक भवन, ठूला साइजका सुपरमार्केट, हाइपरमार्केट जस्ता एक सेकेन्ड मात्र विद्युत् आपूर्ति अवरुद्ध हुँदा मानव जिउ ज्यानको क्षति हुन पुग्छ । एलिभेटरमा मानव अड्किनु, अपरेसन थिएटरमा बाधा पर्नु, सञ्चार (रेडियो, टिभी)मा प्रसारण बन्द हुनु, ठूलाठूला कलकारखानामा सामान उत्पादनको क्रममा रोकावाट आई उत्पादित सामान रद्दी बन्नु यी सबै विद्युत् अवरुद्ध हुँदाका नकारात्मक परिणाम हुन् ।

अन्त्यमा, हाम्रो मुलुक नवीकरणीय ऊर्जामा अत्यन्तै धनी छौँ, भएका सबै ऊर्जा स्रोतहरूको सदुपयोग गरौँ, पेट्रोलियम पदार्थलाई आंशिक या पूर्ण रूपमा विस्थापन गर्न सकेमा भूपरिवेष्ठित मुलुक स्वाभिमानी पथमा अगाडि बढ्न–बढाउन यथेष्ट बाटो खुल्नेछ । सौर्य ऊर्जा बहुआयामिक छ, हेपाहा व्यवहार नगरौँ ।


Author

थप समाचार
ad
x