विचार

संस्मरण र अनुभूति- ३१

काशी : अन्तिम सास या आसको बास

वसन्त लोहनी |
मंसिर १७, २०७९ ७:१३ बजे

अहिले काशीमा छु म। तर काशी बास गर्न होइन। काशी बास त मेरो बाजे कप्तान पण्डित रुद्रप्रसाद लोहनीले ६६ वर्ष अगाडि गरेका थिए। त्यसबारे अलिकपछि कुरा गरौँला। तर यहाँनिर हत्तपत्त मैले भनिहाल्नु पर्ने हुन्छ कि यस पटक जे लेखिँदै छ त्यो अघिल्लो पटकको वेदप्रसादसँग  शृङ्खलाबद्ध छैन। प्रवाह त्यही नै हो तर अलि पछिको। काशी मै भएकोले उदाहरण गङ्गाको घाटबाट नै लिउ।

८८ घाट भएको यो सहरको गङ्गाको प्रवाहमा अस्सी घाटबाट सुरु भएको छलफल दशाश्वमेध घाटमा आइपुगेपछि प्रयाग घाट पुग्नु अगाडि नै ललिता घाटको कुरा गरे जस्तो हुन गएको छ। तर गङ्गा त गङ्गा नै सगरबाट अवतरित भएर अन्तिम विश्राम थलो सागर नापुन्जेलसम्म। त्यस्तै वेदप्रसाद पनि वेदप्रसाद नै हुन्। छलफलको समय प्रवाह अलि पछिको पर्‍यो। अर्को पटकमा हामी क्रमशः बढिरहेको शृङ्खलामै जोडिने छौँ।


जाडो सुरु भयो। अनि घुम्ने याम पनि सुरु हामी दुईको। अँगालोमा मात्र होइन, भावनात्मक संवेगहरू झन् बलियो हुने एकले अर्कोलाई रेखदेख गर्नु पर्दा। परिवर्तन भइनै रकेका हुन्छन् जन्म मृत्युसँग अनुबन्धित भएर। मान्छेको होस् या सभ्यताको। या, ब्रह्माण्डको नै। त्यसको कस्तो गति र कता  भन्ने मात्र हो। समाजको कुरा गर्दा यसै भित्र पर्दछन् प्रगति र दुर्गति। समाजलाई अगुवाइ गर्नेहरूको मति अनुसार। किताबको बौद्धिक व्याख्या भन्दा म आफ्ना आँखाहरूले प्रकृति र मान्छे बिचको सम्बन्धलाई नियाल्छु। मान्छेले नराम्रोसँग हार्दै गएको देख्छु। 

विकाशको नाममा र बढिरहेको मान्छेको लोभले यो सम्बन्ध कुन हदसम्म वैमनुस्यतापूर्ण बन्दै गएको छ त्यो प्रस्ट देखिन्छ । यसको असर भोगेका  मान्छेहरूसँग उनीहरूको सुख दुःखको कुरा गर्दा त्यसको मर्म केही अनुभूति गर्न सक्छु। हामी विकासको कुरा गर्दछौ। त्यो कसको लागि? मान्छेको लागि न हो। कतै मान्छे नै गौण बनेको त छैन?  मान्छेलाई इँट पत्थर वा भोट हाल्ने वस्तु सरह बनाएर यदि परिवर्तनको मूलबाटो बनेको छ भने त्यसले कहाँ पुर्‍याउला? परिवर्तन आफै पनि जन्म मृत्युको विभिन्न विन्दुहरू हुन् जुन जोडिएर समयको प्रवाह बनेको हुन्छ। यस विषयमा छलफल गर्ने कोणहरू विभिन्न छन्। समग्रता नै विभिन्न छन्। यस्ता कोण र समग्रताबाट कहिले पार पाउने? 

वुलानालाको भत्काउदै गरिएको कोठी सन् २०१८ मा 

फेरि भनौँ,  अहिले हामी बनारसमा छौ। बनारस, वाराणसी वा काशी त्यत्ति नै प्रसिद्ध तीन नाम भएको सहर यो। दुई नदी वरुण र अस्सिको सङ्गमबाट बनेको नाम वाराणसी। यो सहरको गोदौलियाको जयपुरियमा छौँ हामी। अत्यन्त पायक पर्ने ठाउँमा छ जयपुरियमा। त्यसैले सुविधा भन्दा  बढी रेट भएको होटेल हो यो। तर भन्छन् धर्मशाला, सेठ आनन्दराम जयपुरिया स्मृति भवन सोसाइटीले चलाएको । 

अहिले म देखिरहेको छु ठिक अगाडि, सडकपारि कृष्ण रेस्टुरेन्टलाई। यो वेदप्रसादसँग पनि जोडिएको घर हो। यस अर्थमा कि उनी यो घरमा बनारस आएको वेला छिरी हाल्थे। तर रेस्टुरेन्ट या भोजनालयमा भोजन गर्न होइन। हो, उनी मिठाई रुचाउँथे बनारसको ठटेरी बजारस्थित राम भण्डारको। यो पुस्तौँ पुरानो मिठाइ पसल।  र, त्यसैको पुछारको चौखम्बामा गोपाल मन्दिर अगाडि त्यस्तै पुस्तौँ पुरानो मार्कण्डेयको रवडी। यी बाहेक उनी रेस्टुरेन्टमा खाने मान्छे थिएनन्। तर निश्चितरुपमा पस्थे यो घरमा जब बनारस आउँथे। कारण थियो उनको फोटोग्राफीको मोह। वेदप्रसाद आफै राम्रो फोटोग्राफर थिए, २००४ सालमा नै आफ्नै मुभी क्यामेरा चलाउने । त्यति वेला यो रेस्टुरेन्ट भएको ठाउँमा स्टुडियो थियो। नाम - ब्राइट स्टुडियो।

अघिल्लो पटक सन् २०१८ को  फेबररीमा हामी आउँदा स्वभावतः यहाँ फोटो खिचाउन गयौ, उषा र म पनि। ब्राइट स्टुडियोको ठाउँमा यो रेस्टुरेन्ट देखेपछि रनभुल्लमा पर्‍यौ।  रेस्टुरेन्ट अगाडि  ठिङ्ग उभिएको थियो करिब मेरै उमेरको मान्छे। मैले सोधे - खै ब्राइट स्टुडियो यहाँको। मेरो प्रश्नले कता कता अलिकति दोषी भाव झुलुक्क उसको अनुहारमा देखियो। ङिच्च हासे उनी। अनि छोपियो त्यो । उनी नै रहेछन् त्यस रेस्टुरेन्टका मालिक। नाम चन्द्रप्रकाश शर्मा। यो आत्मीय नाम रहँदै आएको मेरो जीवनमा। यस कारण कि मैले सरस्वती क्याम्पसमा पढाउँदादेखि नै बनेका मेरो साथीको नाम हो - चन्द्रप्रकाश शर्मा। उनी प्राध्यापक भए।

धेरै वर्ष अगाडि रिटायर भइसकेका छन् त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अङ्ग्रेजी विभागको प्रमुख पनि भएर। नामको कारणले गर्दा यी बनारसी चन्द्रप्रकाशसँग कुराकानी सहज भयो। बल्ल हौसिएर सुनाए  ब्राइट स्टुडियोको कथा। बात मार्दै सँगै भित्र छिर्‍यौ ‘कफी टाइम’को लागि। मेरो आँखाहरूले रेस्टुरेन्टका कुर्सी  टेबुल राखिएको ठाउँमा लाइटका स्ट्यान्ड र क्यामेरा  देख्न खोजिहेरेका थिए।

चन्द्रप्रकाश भन्दै गए। मेरा दुवै कानले उनको कुरा सुने पनि आँखाहरू भने त्यो स्टुडियोमा आफ्ना बाबु, बाजे, बज्यै र आफन्तसँग फोटो खिचेका  पुराना दिनहरू देखिरहेका थिए। उनी लय मिलाएर भन्दै थिए कसरी उसको बाबुले खोलेका थिए त्यो स्टुडियो, त्यो आफ्नै घरमा । त्यसको निरन्तरताको लागि उनीलाई कलकत्ता पठाए फोटोग्राफी सिक्न। त्यति वेलाको समयमा पिताको आज्ञा देव वाणी जस्तै हुन्थ्यो धेरैको लागि।। उनको लागि पनि त्यस्तै थियो। बाबुको अभिलासा पुरा गरे निष्ठापूर्वक ब्राइट स्टुडियोलाई अगाडि बढाएर।

कमाई राम्रो थियो फोटोको गुणस्तरलेगर्दा। अझ मूलतः भन्नुपर्दा लोकेसनले गर्दा। गोदौलिया त बनारसको मुटु नै भयो। काशी विश्वनाथको मन्दिर हिँडेरै करिब पाँच मिनेटमा पुगिने। त्यस्तै करिब पाँच मिनेटमा दशाश्वमेध घाट। त्यस्तै पाँच मिनेटमा चौक। पश्चिमतिर सँगैको गिर्जाघर चौराहा। दक्षिणतिर बनारस हिन्दु विश्वविद्यालय आधा घण्टामा पुगिने  रिक्सामा अस्सी र लङ्का हुँदै। तर त्यो वेलाको कलकत्ताको पढाइको बलमा बदलिँदो समयसँग उनी हिँड्न सकेनन्।

फोटोग्राफीले डिजिटल युगमा प्रवेश गरिसकेको थियो। जब उज्यालो हुन छोड्यो पैसा कमाउने कुरामा तब घर मालिक चन्द्रप्रकाशले स्टुडियोको लाइट सधैँको लागि बन्द गरे। अर्थात् त्यो स्टुडियो बन्द गर्न बाध्य भए। आम्दानीको लागि  पिताको नाम कृष्णमा 'श्री' जोडेर श्री कृष्ण भोजनालय सुरु गरे।

यस पटकको हाम्रो यो भ्रमणमा जयपुरियाबाट अगाडि हेरिरहँदा मैले त्यो रेस्टुरेन्टमा कृष्णको अगाडिको ‘श्री’ देखिन। ब्राइट स्टुडियोसँग जोडिएको मेरो भावले गर्दा त्यही गए हाल्यौ कफी टाइमको लागि। भेट भयो चन्द्रप्रकाशको छोरा यशसँग। चार वर्षको अन्तरालको बाकी कथा उसले सुनायो। तीन वर्ष अगाडि चन्द्रप्रकाश बितेछन् हृदयाघात भएर। हरे भन्ने मनमा आयो र चसक्क यो पनि कि उनी म भन्दा एक वर्ष कान्छो थिए। तर बिते म भन्दा तीन वर्ष अगाडि। हिँड्दा हिँड्दै आफै चङ्गा जस्तो चेट हुन के बेर? पच्चीस वर्षको यश भन्दै थियो रेस्टुरेन्टको कुरा। मेले बिचमै सोधे - के ब्राइट स्टुडियो केही छ बाकी? ‘छैन’ भन्यो। कृष्णको अगाडिको ‘श्री’ मलाई चस्स लागेकोले सोधे  किन हटाएको भनेर। केही बोलेन उ। मनमा अनायास आयो सायद ट्याक्सको चक्करले होला।

सन् १९१८ मा ब्राइट स्टुडियो श्री कृष्ण भोजनालय बनिसकेको वेलामा  चन्द्रप्रकाश शर्मा र प्रा. डा. उषा लोहनी कुरा गर्दै।

त्यो स्टुडियोले फोटो मार्फत धेरै खुसी एकत्रित गरेको थियो हाम्रो। ब्राइट स्टुडियो मेरो मानसपटलमा कुदिएको छ त्यसरी नै जसरी १५\१५ वुलानालाको त्यो घर। कोठी भन्थे त्यसलाई। त्यो झन् मेटिनै नसकिने गरेर कुदिएको छ। म बज्यैसँग सुत्थे पर्दा पछाडिको खाटमा। पर्दा अगाडि बाजे। त्यहाँ एउटा सिलिङ फ्यान थियो जुन उनको सातौँ छोरा रत्नप्रसादले बेलायतमा एफआरसिएस पढ्न जाने अगाडि बाबुलाई भेट्न जाँदा हालिदिएका। भुईँ तलाको त्यो हल भनौ या मटान। त्यसको अझ अगाडि दुइटा साना कोठाहरू थिए ढोका भएका। धारासगैकोमा चाहिँ बाजेको पूजा कोठा थियो।

वेदप्रसादले  ब्राइट स्टुडियो जाने भनेको दिन बाजेले पुरानो ट्याङ्का खोल्थे लबेदा सुरुवाल र कोट झिक्न। बज्यैको त्यस्तै चटारो हुन्थ्यो यस्तै वेलाको लागि साँचेको सारी झिक्न। अत्यन्त आकर्षक व्यक्तित्व भएका वेदप्रसाद वुलानालाको त्यो घरबाट आफ्ना माता पितालाई लिएर जान्थे रिक्सामा। अरू पनि हुन्थे साथमा। रिक्सा तीन चार। वुलानालाको गल्लीबाट अलिकति पश्चिम लागेपछि मैदागिनबाट निचिबाग हुँदै आएको मूल सडक भेटिन्थ्यो दक्षिण लाग्ने।

अलिकति उकालो चढेपछि चौक। बनारसको मुख्य केन्द्र। त्यसपछिको ओरालो। अनि बाँसफाटक। बल्ल गोदौलिया। गोदौलिया चौराहा पुग्ने अगाडि देब्रेतिर थियो ब्राइट स्टुडियो। त्यहाँ जाँदाको त्यो खुसी कहाँ पाउनु अब? गए ती दिनहरू। तेहि नो दिवसे गतः। 

वुलानालसँगको रुद्रप्रसादको सम्बन्ध धेरै पुरानो हो। सम्भवतः उनी जन्मेदेखि कै। यस अर्थमा कि यो निकै ठुलो कोठी उनको मामा श्री ६ वडा गुरुज्यू तर्कराजले किनेका थिए। त्यति वेलाको नेपालको राज्य शक्तिसँग जोडिएका व्यक्तिहरूले बनारसमा घर किन्ने चलन थियो। विश्वको प्राचीन नगरी बनारस देव भूमि भनिन्थ्यो। ज्ञानको केन्द्र।

शिक्षा दीक्षा, ज्ञान र धन आर्जन गर्ने ठाउँ नेपालीहरूको। धन यस अर्थमा कि यो नेपालीहरूको लागि रोजगारीको पनि ठाउँ थियो जसरी अहिले खाडी क्षेत्र बनेको छ। राजनीतिको त केन्द्र नै भयो। पृथ्वी नारायण शाहको नेपाल एकीकरणको सोच यही आफ्नो ससुरालीमा बस्दा जन्मेको थियो। र, त्यसको लागि हतियार पनि उनले यहीबाट किनेर लगेका थिए। 

रणबहादुर काठमाडौँबाट भागेर ४० जनाको डफ्फा सहित यही बसेका थिए केही वर्ष।  जङ्गबहादुरले श्री ५ राजेन्द्रलाई र उनको कान्छी महारानीलाई यही बनारसमा धबाएका थिए। जङ्गबहादुरको श्रीमती कति कति? चिनिएका ४० मध्ये एकबाट जन्मेकी छोरीले यही वेश्यालय खोलेर बसेकी थिइन्। ब्रिटिसले रेल सेवा सुरु गर्नु अगाडि हिँडेर, घोडामा र समतल भागमा गाडा चढेर आउने जाने गर्थे। पछि नेपालको प्रजातन्त्रको सङ्गठनात्मक अवधारणा यहीबाट बनेको हो। बिपी कोइरालाको कृष्णप्रसादसँगको भेट पछि।

अन्ततः नेपाली काङ्ग्रेस बन्यो। २०१७ साल पछि प्रजातान्त्रिक उन्मुक्तिको लागि प्रजातान्त्रिक सङ्घर्षको अन्तिम सास छउन्जेलको सङ्घर्षको इपिसेन्टर काशी नै बन्यो जब बिपी कोइराला र पुष्पलाल यहाँ बसे निर्वासनमा। भारतमा इन्दिरा गान्धीको इमर्जेन्सी लागु भएपछि राष्ट्रीय मेलमिलापको नीति लिएर बिपी यहीबाट पटनाहुदै काठमाडौँभित्र छिरेका हुन्। अनि फरक भयो। तर अहिलेसम्म पनि नेतृत्वमा बसेका जो छन् हाम्रा ती अधिकांश काशीमा नै बिपी या पुष्पलालले 'राजनीतिक न्वारान' गरिदिएकाहरू नै छन्।
 
२००४ सालमा लक्ष्मी प्रसाद देवकोटा युगकविबाट महाकवि बने ब्रह्मघाटको भट्टराई बन्धु भाडामा बसैको घरको एउटा कोठामा युग वाणीको सम्पादन गर्दागर्दै। उनको असाध्यै राम्रो कविता ‘एक सुन्दरी वेश्या प्रति’ यही जन्म्यो। यसलाई अङ्ग्रेजीमा पनि महाकविले लेखे। सौभाग्य मेरो यो कवितालाई लिएर अङ्ग्रेजीमा एउटा पेपर  मैले लेखेको थिए जुन देवकोटा सेन्टरको जर्नलमा धेरै अगाडि  छापिएको थियो।

बनारसको यो अनादि कालदेखिको निरन्तरताले गर्दा यहाँ शक्तिशालीले कोठी, हवेली किन्ने चलन चल्यो। धेरै अगाडि एउटा लिस्ट छापिएको थियो केशर शमशेर लगायतका राणाहरूले किनेको या बनाएको कोठीहरूको।  आफ्नो चाकडियाहरूको लागि पनि घर किन्थे। त्यस्तै एउटा चाकडियाको लागि राणाले किनिदिएका घर मासिक १० रूपियाँ भाडामा लिएर बसेका थिए भट्टराई बन्धुहरू। 

नेपालको पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई तिनमध्येका एक भाइ थिए। महाकवि बन्नु अगाडि र पछाडि यही ब्रह्मघाटको  घरमा बसेका थिए लक्ष्मीप्रसाद। यस बारे म पछि लेख्ने छु। अहिलेलाई यत्तिकी मामा तर्कराज गुरुज्यूको वुलानालाको यही कोठीमा बस्थे रुद्रप्रसाद। वानप्रस्थ थियो उनको यो। ८ छोराहरू र ६ छोरीहरूको जिम्मेदारी पुरा गरेर आफ्नो सम्पत्ति सबै छुट्टाइदिएको छोराहरूलाई बाँडेर। अझ केही नातिहरूलाई पनि। उनी मृत्युलाई कुरेर बसे यहाँ १२ वर्ष।

तर पनि जति वेला उनी वस्थे यहाँ त्यो वेला यसको स्वामित्व तर्कराजको परिवारपट्टिबाट च्यान्टा गुरुज्यूपट्टि पुरै गइसकेको थियो। यसको कथा लामो छ। यो कथा हाम्रो चासोको विषय पनि होइन। जे होस त्यो वुलानाला टोलको घरलाई त्यति वेला १५\१५ राजगुरुज् हाउस भनिन्थ्यो। तीन तले बिचमा चोक भएको ठुलो घर भएकोले गुरुज्यूसँग सम्बन्धित परिवारहरू जाडो महिनामा यो घरमा बस्ने जाने गर्दथे।

​चार वर्ष अगाडि आउँदा त्यो बिक्री भएर भत्किरहेको थियो। मैले सानो आफैलाई त्यो भत्किँदै गएको भरेङमा उक्लिरहेको देखे। यसपालि पनि त्यहाँ गयौ हामी।  गजबको आधुनिक घर बनेको देख्यौ। अब अर्को पटक आउँदा त्यहाँ जानु पर्दैन होला। किनकि सम्झना कुदिएका घर नै छैन, भत्किरहेको अवस्थाको पनि। 

एउटा मान्यता थियो त्यति वेला। पाप कटाउने मात्र होइन रोग कटाउन पनि गङ्गामा चोपल्दिनु पर्दछ भन्ने। त्यसो भएमा सन्तान तन्दुरुस्त र असल हुन्छन् भन्ने मान्यता। सायद त्यसैले होला रुद्रप्रसाद वर्षमा एक पटक काठमाडौँबाट फर्केर आउँदा कुनै एक नातिलाई लिएर आउँथे गङ्गा स्थान गराइदिन। अर्थात् गङ्गामा चोपलिदिन। काठमाडौँ जानु पर्ने उनको दायित्व थियो।

उनी थानसिङे लोहनी परिवारको मुली थिए। जो मुली हो उसले वार्षिक कुल देवताको पूजा गर्न गराउनु पर्थ्यो। तर नाति लैजानु पर्ने दायित्व थिएन। उनले त सबै चिज त्यागिसकेका। तर परिवार प्रतिको उनको माया या मोह जसरी भने पनि त्यो बलियो थियो। त्यसैले सबै त्यागे पनि पारिवारिक चाडबाड बुलानालामा गरिरहन्थे। यतिसम्मकी आफ्नो साहिँलो छोरा वासुदेवकोको जेठो छोरा मधुसूदनको विवाह समेत वुलानालाको त्यो घरको चोकमा जग्गे गाडेर नै गरिदिए।   

उनीलाई हरेक कुरा जान्नु पर्थ्यो परिवारको। त्यसैले सबैले चिठ्ठी लेखोस् भन्ने चाहन्थे। र, आफू पनि लेख्थे। अर्थात् अगाडि भएको व्यक्तिले लेखिदिनु पर्थ्यो उनले भन्दै गएको कुराहरू। चिठ्ठीको कुनै गोपनीयता हुँदैन थियो। वरपर नजिक भएकाले पनि सुन्थे। लेख्नेले त सुन्नै पर्‍यो। छोराहरूलाई आदेश हुन्थ्यो। सुरुवात चाहिँ ‘…भगवानको कृपाले म निकानन्द छु। छोरा नानी फलानोलाई म रुद्रप्रसादको शुभ आशिष् ।’ सायद यस्तो चिठ्ठी धेरै लेख्नेमा नातिमा मोहन प्रसाद पर्दछन्।

किनकि उनी बाजे हुँदाको बनारसमा ५ वर्ष बसेका थिए। बनारस हिन्दु विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए र पिएचडी गर्न। प्राय हरेक बिदामा उनी होस्टेलबाट वुलानाला जान्थे। त्यति वेला लेख्थे उनले लामा लामा यस्ता चिठ्ठीहरू।  अघिपछि लेख्ने लक्ष्मी जोशी, बैदार बाको छोरी। हामी सबैको दिदी। त्यति वेलाको स्नेहले गर्दा यसपालि पनि भेट मैले ८६ वर्षकी उनीलाई, भर्खर जसो बनेको शिवालयभित्रको उनको घर कोठामा गएर। 

नाति लैजाने क्रमको एक वर्ष म परे। बाजे बज्यैसँग केही महिना सँगै बस्ने ठुलो सौभाग्य पाए। प्रत्येक दिन बिहान उनको नित्य कर्म सकिएपछि सँगै लैजान्थे मलाई। म उनको औला समातेर हिँड्थे ती गल्लीहरूमा। काशी विश्वनाथको दर्शन गर्न। र, अरू देव देवादिको। त्यो हिँडाइमा सोधेको कुराको म स्फूर्त जवाफ दिइरहेको हुन्थे। र, सोधिरहेको पनि हरेक नयाँ कुरा देख्ने बित्तिकै। ठुला साढेहरूले बाटो छेकिरहेका हुन्थे सानो गल्लीको। त्यति वेला सुनेको यो मैले -  
"रांड, सांड, सीढ़ी, सन्यासी।
 इनसे बचे तो सेवे काशी।”
यसको भेद धेरै पछि मात्र खुल्यो मलाई।

साढेहरूलाई छल्दै र घुम्दै गएका  गल्लीहरू हुँदै एउटा केही ओरालोमा भएको ठाउँमा उनी रोकिन्थे। पानी चाडोचाडो वहिरहेको हुन्थ्यो त्यहाँको नालीमा। सायद ओरालोको कारणले पनि होला। म सोचिरहेको हुन्थे त्यो ठाउँ कहिले आइपुग्ला भन्ने व्यग्रता लिएर। उनले पहिलो पटक भनेको अहिले पनि मेरो कानमा गुन्जिरहेको छ - देखिस् त्यो स्कुल। त्यो गुर्जर पाठशाला हो। त्यहाँ नै हो यादवप्रसादले पढेका। मैले त्यति वेला नै सुनिसकेको नाम।

शङ्कराचार्य चोकपछिको दोस्रो फैलावट ललिता घाट तर्फ जाने नयाँ बनाइएको विशाल गङ्गाद्वार हुँदै। 

उनी मेरो भिनाजुको पनि भिनाजु। उनी नाम चलेको मान्छे। धेरै नै जग्गा जमीन भएका तारा प्रसादको नाति भएर मात्र होइन। आफै विद्वान पनि भएर। सायद यादवप्रसादको कारणले होला उनले सँगै राखेको नातिलाई त्यही स्कुलमा हालिदिएका थिए। नाम पुण्य प्रसाद, जसलाई हरि भन्थे उनी। कारण थियो अन्तिम अवस्थामा उसले पानी ख्वाउदा भगवानको नाम हरि उच्चारण होस् आफ्नो मुखबाट भनेर। उनले हरिलाई आफू सरहको खानपिन र सात्त्विक बनाएका थिए। उनको मान्यता थियो उनले खाने अन्तिम पानी अरूबाट नछोइयोस् भनेर।

त्यो स्कुल पुग्न म व्यग्र बन्ने गरेको कारण चाहिँ त्यसको अगाडि लहरै पसलहरू थिए। त्यसमध्येको एउटा मिठाइ पसलमा उनले मलाई एउटा मिठाइ किनिदिन्थे। सानो दुनोमा दिन्थ्यो पसलेले। त्यो खान पाउँदा कति खुसी हुन्थे म। यसपालि राम भण्डारमा गएर खाएको राधा प्रिया र मार्कण्डेयको रवडीले काहाबाट दिनु त्यस्तो खुसी? असम्भव! त्यसपछि आखिरमा बाजेको हात समातेर आइपुगिन्थ्यो घर नजिकको तरकारी बजारमा। यति धेरै तरकारी हुन्थे त्यहाँ म जिल्ल पर्थे। बम्फसेल।  मलाई चाहिँ हरियो चना मन पर्दथ्यो। सायद वेदप्रसादले असाध्यै रुचाउने कारणले पनि हो कि?

बाजे बोक्न सक्ने जति तरकारी किन्थे। यसरी फर्कँदा कोठीको तलतिरका सबैजसो मिठाइ र दूध पसलहरू खुलिसकेका हुन्थे। घोटिरहेका हुन्थे दूध। घर उक्लिन एउटा ठाडो सिँढीको बाहिरी भरेङ चढ्नु पर्दथ्यो। सिढीको मुनिको खाली ठाउँमा मोची अर्थात् सार्की जुत्ता सिइरहेको हुन्थ्यो। अगाडिको दाँत फुस्किएको र वाकी हरियो दाँत देखाएर ङिचिक्क हाँस्थ्यो मलाई हेरेर। त्यो हाँसो मिठो थियो। करिब डेढ घण्टाको यो बिहानी दर्शन यात्रामा वृद्ध हातले मरो कलिलो हातलाई मजबुतसँग समातेको हुन्थ्यो। अझ कडासँग कुनै खतरा बोध भएको अवस्थामा। त्यति वेलाको त्यो मजबुत स्पर्श म भित्र अझै बाचेको छ।

पितालाई भेट्न वेदप्रसाद बनारस गइरहन्थे। राम भण्डारको राधा प्रिया, मार्कण्डेयको रवडी र तरस्वारी रुचाउँथे। आखिरमा फोटो सेसन ब्राइट स्टुडियोमा। उनीसँग धेरै वर्ष पछि २०३४ सालमा म सँगै आएको थिए जब हामी सँगै काम गर्थ्यो वुटबल डेरी प्रडक्टसमा। त्यो कम्पनी अझ परिचित थियो घ्यु कारखाना भनेर। वेदप्रसादको यो अन्तिम औद्योगिक भेन्चर थियो। मार्केटिङको सिलसिलामा हामी आएका थियौ बनारसमा। विश्वेश्वरगन्जमा घ्युको मन्डी।

त्यहाँ थियो हाम्रो कम्पनीको डिस्ट्रिव्युटर नारायण दास एण्ड कम्पनी। मालिक थिए काशी नाथ। उनको सहायक तिवारी थर भएका व्यक्ति। त्यति वेला पनि उनले मलाई ब्राइट स्टुडियो ल्याएका थिए। सायद उनको र मेरो त्यो फोटो नै अन्तिम रह्यो यहाँको। त्यसपछि पनि नाति उत्सव र नातिनी अनुलाई लिएर उनी आए यता तिनीहरूलाई सिकाउन र देखाउन। तर ब्राइट स्टुडियोको फोटो चाहिँ छैन। सायद रेस्टुरेन्ट भइसकेको थियो होला। 

वेदप्रसादको ३१ औँ शृङ्खला लेख्दै होटेल ग्यान्जेज ग्राण्डको रेस्टुरेन्टमा म वसन्त लोहनी।

बाजेसँग गरेका ती भ्रमणहरूलाई ठुलो सम्पत्ति मानेका छन् उनीहरूले। सायद यो पनि कारण बनेको होला उनीहरू बाजेको सानो फोटो सँगै लिएर हिड्छन। अमेरिकामा रहेकी मेरी छोरी अनुसँग बनारस आउनु अगाडि कुरा हुँदा उसले भनी - मेरो छोराछोरीलाई ल्याइदिनुस् है त्यो डुङ्गा। उसले सम्झेकी रहिछे बाजेको हात समातेर विश्वनाथ गल्लीमा घुम्दा त्यो पानीले भरिएको बाटामा पटपट आवाज निकाल्दै घुम्ने खेलौनाको डुङ्गा।

त्यो डुङ्गा खोज्न विश्वनाथ गल्लीमा गयौ हामी। त्यो गल्लीको टुक्रा गल्लीमा हामीले त्यो डुङ्गा भेट्टाएर किन्यौ दुइटा। अनुको तीन चार वर्षमा छोराछोरीकोलाई, हाम्रा नाति नातिनी। तर डुङ्गा खोज्न भन्दा विश्वनाथको गल्ली पुग्न गाहारो भयो। विश्वनाथ गल्ली नै खोज्नु पर्ने भएको रहेछ। सबै जसो गल्ली त नयाँ निर्माण भएको काशी विश्वनाथ मन्दिर क्षेत्रभित्र परिसकेको। मात्र त्यो  एक टुक्रा बचेको। 

विश्वनाथ मन्दिर क्षेत्रमा त चमत्कार भएको रहेछ। बनारसमा बाबा विश्वनाथको रूपमा छन् आशुतोष। उनी त मात्र एक नै हुन् - परब्रह्म। प्रकट मात्र फरक फरक। तर सबैमा  ज्योतिर्लिङ्गको रूपमा। यसले समयको अन्त्यहीन प्रवाहलाई बोध गराउन। अन्त्यहीन मात्र होइन प्रारम्भ समेत नभएको। यताट्टीको छलफल नै जति अन्त्यहीन छ त्यो भन्दा धेरै धेरै बढी मेरो क्षमता बाहिरको। विश्वको १२ मध्येको एक ज्योतिर्लिङ्ग अभिव्यक्त भएको थलोसँगै जोडिएको बनारस। ती १२  ज्योतिर्लिङ्ग हुन् - केदारनाथ,  विश्वनाथ,  वैद्यनाथ, ओमकारेश्वर, महाकालेश्वर,  घुस्मेश्वर, त्र्यम्बकेश्वर, भीमाशंकर,  नागेश वर, सोमनाथ, रामेश्वरम् र  मल्लिकार्जुन। जसरी हाम्रोमा प्रकट भएका छन् आशुतोष पशुपति नाथ, त्यसको अधा रूप  केदारनाथ हुन्। भनिन्छ १२ ज्योतिर्लिङ्ग समाहित भूभाग भनेकै नेपाल हो। त्यतापट्टि नलागौँ अहिले।

विश्वनाथ मन्दिर वरिपरि भएको परिवर्तन बारे अलिकति कुरा गरौँ। भारतीय प्रधान मन्त्री मोदीको संसदीय निर्वाचन क्षेत्र हो बनारस। प्रमुख कारण बन्यो यो परिवर्तनको, हिन्दु एजेन्डामा शासन गरिरहेको मोदीको लागि। उनको ड्रिम प्रोजेक्ट बन्यो यो। जसरी पनि उत्कृष्ट बनाएर चाँडो भन्दा चाँडो सक्नु पर्ने। साधनको चिन्ता लिनु नपर्ने। यसरी प्रोजेक्ट तर्जुमा र कार्यान्वयन गरिएको हुँदा यो परिवर्तन सबैले टड्कारो गरेर देखिन भएको छ। औरङ्जेवले यो क्षेत्रलाई भताभुङ्ग पारेर सन् १६६९ मा ज्ञान वापी मस्जित बनाएका थिए। मस्जित जहाँ छ त्यही राखेर मन्दिर क्षेत्र बढाइएको छ। यसरी यो क्षेत्र सँगालेर व्यवस्थित गरिएको छ।

त्यसको लागि मन्दिर वरिपरिका करिब १८०० घरहरू भत्काइका छन्। मोदीले अधिग्रहण गरेनन्। जे मूल्य हो, सर्कल प्राइस भनिने, त्यसको डबल मूल्य दिएर ती घरहरू किनिए। साथै पुनर्वास पनि गराइयो बिक्रेताहरूलाई।  कुनै विवाद नै भएन। सब लाइन लागे बेच्न। ती घरहरू भत्काएर  क्षेत्र ठुलो पारियो। त्यसपछि विश्वनाथको मन्दिरको चार ढोकाहरूको ठ्याक्कै पर चार ढोकाहरू बनाएर भवनहरूले नै घेरियो मन्दिरको गर्भ गृहलाई एउटा फराकिलो भागमा।

यसरी मन्दिर परिसर बनाइयो। मन्दिर परिसर नै निकै ठुलो छ। करिब ८०० किलो सुनको गजुर भएको पुरानो मन्दिरभित्र जान निषेध गरिएको छ जसरी चार वर्ष अगाडि हामी गएका थियौ र लिङ्ग छोएका थियौ। लिङ्ग सगैबाट जान पाइन्छ टाढैबाट दर्शन गरेर। पुजारीले चढाइदिन्छन् फुल सामाग्री र दिन्छन् प्रसाद।

मन्दिर परिसरबाट  पूर्वतिर यो फैलिएर गङ्गाजीसम्म जान्छ। पहिलो यस्तो फैलावटलाई शङ्कराचार्य चोक भनिएको छ।  तिनैतिर मन्दिर परिसरको भन्दा अझ अग्ला भवनहरू बनेका छन्। पूर्वतिरको सिँढीहरू चढेर गए पछिको अर्को ढोका नपुगुन्जेल सम्म। त्यसपछिको अर्को  क्षेत्र गङ्गा जानको लागि बनेको ठुलो ढोका सम्म। जसलाई गङ्गा द्वार भनिएको छ। जुन घाटमा यो जोडिन्छ यो ललिता घाट हो ललित त्रिपुरा सुन्दरीको नामबाट।

दाइने तिर पुरानो भवन र मन्दिर छन् हाम्रो रण बहादुर शाहले बनाएका र उनको महारानी ललित त्रिपुरा सुन्दरीले जीर्णोद्धार गराएकी। भीमसेन थापा   नेपालको सबैभन्दा लामो समय प्रधानमन्त्री हुन सकेको मुख्य कारण ललित त्रिपुरा सुन्दरी नै हुन्। यी आफ्नी भतिजीलाई भीमसेन थापाले रण बहादुरसँग विवाह गरिदिएका थिए आफु बलियो हुन। न विवाह हुदा, न विधुवा हुदा यिनको रजस्वला भएको थियो। तर भीमसेन थापा यिनी मार्फत नै निरङ्कुश बने जबसम्म ललित त्रिपुरा सुन्दरी नायव रहिन् सौतेले छोरा गीर्वाणयुद्ध र नाति राजेन्द्रको। यिनको मृत्यु पछि त भीमसेन थापा पनि सकिइहाले। 

यसबारे म अर्को सन्दर्भ आएको वेलामा पुरै लेख्ने छु। साहित्यकार नरन्द्रराज प्रसाईले लेखेको पुस्तक ‘ललितत्रिपुरसुन्दरी’  राम्रो पाएको छु मैले। अहिलेलाई वेदप्रसादपट्टि नै  लागौँ। तर यति भनिहालौँ मोदीको यो चमत्कार बारे कि उनले हिन्दुहरूको भावना प्रशस्त सँगालेको देखिन्छ। र, भारतको जुनसुकै ठाउँबाट आउनेले पनि यो देखेपछि मोदीको नाम लिन्छन्। मोदीले यसरी धार्मिक आस्था हिफाजाद गरेका छन्। र, राजनीतिक रूपबाट यो रुपान्तरित हुँदा बलियो भएका देखिन्छन् सरसरती उनको चमत्कार हेर्दा।    

वेदप्रसादले आफ्नै सर्तमा जीवन बाचे, इमान जवान र चरित्र लिएर। आत्मसम्मान जोगाएर बाचे काँडाको तारले बाँधिएको राणाको शासन कालमा पनि। मैले पहिले पनि लेखिसकेको छु दाजुभाइ छुट्टिइसकेपछि पनि उनी आफूलाई पुरा परिवारको अभिभावक सरह ठान्थे। जसलाई परे पनि सकेको मद्दत गर्नु पर्ने आफ्न दायित्व नै ठान्छे। बडो गम्भीरतापूर्वक लिन्थे यो कुरालाई। धेरै छन् यस्ता कुराहरू। कति म लेख्न सकुँला कति लेख्न नसकुँला। अरू कुरालाई म त्यति महत्त्व दिन्न। अर्थात् मेरो स्वतन्त्र अभिव्यक्तिको कुरामा - को रिसाउँछ, को खुसाउछ भनेर। हिजो त मतलब राखिएन। अहिले त झन् उत्तरार्धमा ‘बोनस जिन्दगी’ बाँचिरहेको म। तर वेदप्रसादको बारेमा लेख्दा उनले भनेको कुरालाई मैले अत्यधिक महत्त्व दिनु पर्दछ नै। त्यहाँ मेरो अभिव्यक्तिको कुरा आउदैन।

वेदप्रसादले सिकाएको एउटा कुरा म जहिले पनि सम्झिन्छु। उनी भन्थे - केही नगर बरु त्यो ठिक छ। तर कसैलाई केही मद्दत गरिस् भने तेरो एउटा हातले गरेको मद्दत अर्को हातलाई थाहा दिनु हुँदैन। उनले त्यसरी गरेका मद्दतहरू बारे मैले केही लेख्न मिल्दैन। अहिले बनारसमा रहेको वेलाले यस्तै उनले गरेको मद्दत म सम्झिरहेको छु। मैले लेख्न सकेको कारण चाहिँ मद्दत पाउने व्यक्तिले नै मलाई सुनाएको र उनले अनुमति पनि दिएको कारणले त्यो बनारससँग सम्बन्धित भएकोले लेख्दै छु।

सम्बन्धित व्यक्ति हुन - मोहन प्रसाद लोहनी। उनी त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र केन्द्रीय अङ्ग्रेजी विभागको प्रमुख रहे। करिब एक दशक लामो कूटनीतिक अनुभव पनि - संयुक्त राष्ट्र सङ्घमा नेपालको उप प्रमुख र पछि बङ्गलादेशमा नेपालको राजदूत। सार्क र असंलग्न आन्दोलनको प्रत्येक जसो शीर्ष बैठकमा भाग लिएका। वेदप्रसादको ठाइँलो भाइ केशवप्रसादको छोरा।

मोहनप्रसाद आखिरी ब्याच हुन् त्रिभुवन विश्वविद्यालयको पटना विश्वविद्यालयसँगको सम्बन्धनको सन् १९५९ मा विए गर्ने मध्येका। नेपालबाट टप गरेका। एक पटक खानी विभागको हलमा भएको एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दा डा. हर्क गुरुङले मोहन लोहनीलाई हेरेर भने - कुल प्राप्ताङ्कमामा तिमीले मलाई जितेको थियौ आइएमा एक नम्बर बढी ल्याएर। त्यसो भन्दा म पनि त्यहीँ थिए। समग्रमा, मोहनप्रसाद मेधावान् विद्यार्थी थिए। त्यसैले पहिलो भए विएमा। द्वितीय विश्व युद्ध जितेर पनि हरेको महसुस गरेका थिए चर्चिलले। कता कता मोहनप्रसाद पनि पहिलो हुँदा उनी निराश थिए।

उनी वेदप्रसादकहाँ पुगे नतिजा प्रकाशित भएपछि।  खुसी र दिक्दारी लिएर। भने - माइलो बुबा, मैले त पढ्न नपाउने भए। एमएको पढाइ यहाँ छैन। बाहिर पठाउने मेरो बुबाले सक्नु हुन्न। वेदप्रसादले ध्यानसँग सुने र प्रेम भरिएको रिसमा  भने - तैँले के भनेको यो? म बाचेको छु। म तेरो बाबु होइन। के को चिन्ता तँलाई। ल, बाहिर पढ्न जा। जति लाग्छ पैसाको किन चिन्ता? म दिई हाल्छु नि ।’

अझ हकारे - यत्रो खुसीको वेला तँ निराश हुने। यसपछि मोहनप्रसाद बनारस आए, बाजे काशी बास बसेको ठाउँमा। बनारस हिन्दु विश्वविद्यालयमा भर्ना भए। छात्रवृत्तिको लागि आवेदन पनि गरेका थिए। एक वर्ष पढेपछि उनले छात्रवृत्तिको पनि पाए। त्यसपछि वेदप्रसादलाई रकम फिर्ता गरे पनि। 

बनारसको मुख्य केन्द्र चौक मूल बाटो तर्फबाट विश्वनाथ मन्दिर जाने ४ नम्बरको प्रवेश द्वार। 

माथिको जस्तै बनारसको अर्को यस्तै कथा जुन मलाई थाह थियो तर कहिले कसैसँग कुरा गरेको थिइन। न मोहनप्रसादसँग नै अप्रत्यक्ष रूपमा कहिले सोधे मैले। त्यो पनि मोहनप्रसादले हालसालै सुनाए मलाई। यो उनको पिएचडीसँग सम्बन्धित छ। सन् १९६५ को कुरा। आगरामा भर्ना पाए उनले तर बनारस हिन्दु विश्वविद्यालयमा पाइनन् पिएचडी गर्न। उप कुलपति थिए नटवरलाल हरिलाल भगवती। उनी भारतीय सर्वोच्च अदालतको न्यायाधीश थिए पहिले। यिनको छोरा प्रफुल्ल नटवरलाल भगवती  भने भारतीय सर्वोच्च अदालतको प्रधान न्यायाधीश नै बने सन् १९८५ मा। यिनको अर्को छोरा हुन्  जगदीश भगवती। धेरै अगाडिदेखि अर्थशास्त्र नवेले पुरस्कार पाउनु पर्ने भनेर गणना गरिएका। अझै छन् अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक।

नियतिको खेल पनि अचम्मको हुन्छ। जुन वेला मोहनप्रसादले प्रवेश पाएनन् त्यति नै बेला वेदप्रसाद बनारस पुगेका थिए काशी बासमा रहेका आफ्नो पितालाई भेट्न। हरेक वर्ष जान्थे उनी भेट्न तर समय यकिन हुँदैनथ्यो। त्यो वर्षको त्यो वेला नै पर्‍यो। फेरि निराश भएका मोहनप्रसादको कुरा सुनेपछि वेदप्रसादले फेरि ढाडस दिए। कहिले हिम्मत नहार्ने वेदप्रसाद न ठहरिए! उनी भेट्न गए उप कुलपतिलाई । बल्ल बल्ल भेट पनि पाए। र, कन्भिन्स गरे मोहनप्रसादको पिएचडी गर्ने क्षमताको बारेमा। उप कुलपतिले निवेदनमा तोक लेखिदिए - भर्ना गर्नु भनेर। यसरी उनले प्रवेश पाए र निर्धारित तीन वर्षमा सके पनि।      

वेदप्रसाद उनको आखिरी दिनहरूमा मलाई भन्थे आफ्नो जिन्दगी अर्थ्याउने क्रममा - हेर बाबु,  मैले २२ जनालाई निर्णायक रूपमा मद्दत गरे। तर कसैले पनि गुन मानेनन्। त्यसमध्येको कति त दुस्मन नै बने। मलाई लाग्छ यी २२ जनमा मोहनप्रसाद निश्चित रूपमा परेका छैनन्। किनकि मोहनप्रसादलाई गरेको मद्दतलाई उनले मद्दत नै ठानेका थिएनन्। त्यो त स्फूर्त उत्पत्ति हुने उनको दायित्व थियो जसरी उनले मलाई जिन्दगीभर गरेका थिए। म त उनको आशीर्वादले बाचेको छु अझै। तर पनि उनी बाँचेको भए म निश्चित रूपमा भन्थे - मोहनदाले गुन सम्झनु भएको रहेछ, मालाई भन्नु हुन्थ्यो भनेर। 

आफ्नो आफ्नो शैली हुन्छ। वेदप्रसादको कामगर्ने शैली आक्रामक थियो। त्यसले गर्दा भरपुर असल भावना दिँदा पनि उनीसँग निकै मान्छे चिढिएका हुन्थे। आफ्नै परिवारमा नै पनि। त्यो नै शैली हो मैरो पनि निकै हद सम्म। तर मलाई कुनै सिकायत छैन। वेदप्रसादको लागि काशी कहिले पनि जीवन मुक्तिको लागि अन्तिम सास फेर्ने ठाउँ बनेन। त्यो सोच नै बनेन कहिले। उनी त भन्थे - म त मेरै बगरमा मर्न चाहन्छु।

न राजनीतिक उन्मुक्तिको लागि आखिरी सास छउन्जेल सङ्घर्ष गर्ने अन्तिम ठाउँ नै बन्यो। सचेत थिए उनी तर राजनीतिमा कहिले लागेनन्। यस्तै नै रहेको छ मेरो पनि, जानेर या अज्ञानवश। समयको प्रवाहले जसरी लगेको छ अन्तिम विश्राम तर्फ त्यो नै अति सुन्दर छ।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
ad
x