विचार

लैङ्गिक हिंसाका अदृश्य आयाम

संगीता बुढाथोकी |
मंसिर २३, २०७९ शुक्रवार १८:२ बजे

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यसै सन्दर्भमा नदेखिने हिंसाका पाटा देखाउने प्रयास यो लेखमा गरिएको छ ।

लैङ्गिक हिंसा भन्नेबित्तिकै आगोमै जलाएको, कुटपिट गरेको अथवा झैंझगडा गरी घरनिकाला नै गरिएको हो भन्ने भान पर्छ । तर, वास्तवमा टड्कारो रूपमा देखिने यस्तो हिंसा मात्र लैङ्गिक हिंसा नभएर महिलाभित्र लुकेर बसेका हजारौँ पीडा, रोदन, छेकबार, अनि विभेदका घटनाक्रम जसले एक महिलालाई घरदेखि बजारसम्म, आधारभूतदेखि माध्यमिक विद्यालयसम्म, पानी–पँधेरोदेखि हाटबजारसम्म, घाँस–दाउरादेखि सभामञ्चसम्म पुग्नबाट वञ्चित गराएको हुन्छ । 


यी अवस्था भनेको एक वा दुई अवस्था वा घटनाक्रम होइनन् यी त एक जंघारदेखि अर्को जंघार तर्दै जाँदा भासिएको, थिचिएको, निस्सासिएको अनि सास जाने अवस्थासम्म पुग्ने सिलसिलाबद्ध क्रम रैछ । 

यी क्रममा एक महिला कति पटक पिटिएकी, भुत्ल्याइएकी, कति पटक जलेकी, कति पटक घरनिकाला भएकी हुने रैछिन् । यो देख्न नसकिने घटनाक्रम हो । किन भनेर हाम्रो आँखाले देखेको हुँदैन, हाम्रो कानले सुनेको हुँदैन अनि हामीले महसुस गरेका पनि हुँदैनौँ । 

यो नदेखिने, नसुनिने अनि महसुस नगरिने हिंसाका घटना मात्र उही महिलाले भोगेकी हुन्छे, जसले यो भोगेकी छे । यसो सम्झँदा लाग्छ, अब कहाँ दाँज्न मिल्यो र त्यो दुईचार पटक आँखाले देख्न सकिने लैङ्गिक हिंसाको स्थिति । यहाँ त एक महिला आफ्नो जीवनको हर क्षण–क्षणमा पीडित भएकी पनि हुन सक्ने रहिछन् । 
एक महिला आफ्नो जीवनको पलपलमा थिलथिलो हुने गरी मानसिक हिंसा, शारीरिक हिंसा, यौन हिंसा, भावनात्मक या मानसिक हिंसा, अनि घृणा र अपहेलनाको सिकार भएकी हुने रहिछन् । 

अझ सामाजिक अनि जातीयताको आधारमा हुने भेदभाव, लैङ्गिक भेदभाव त औंलामा गनेर साध्य छैन रहेछ । यो अनुभव तब भयो जब हामीले केही किसान महिलाको समूहमा गएर नजानिँदो तरिकाले एक अभ्यास गरायौं । उहाँहरूले चित्रका माध्यमद्वारा आफ्नो जीवनको घटनाक्रमलाई यात्रा संस्मरणका रूपमा प्रस्तुत गर्नुभयो । 

बागमतीको धादिङ, कर्णालीको दैलेख अनि मधेश प्रदेशको सिरहा जिल्लामा गराइएको यो अभ्यासमा करिब ६५ महिला किसानले भाग लिनुभयो । यी सहभागीमध्ये धेरैजसो महिला किसानले जिन्दगीमा पहिलो पटक कलम र कापी समाउनु भएको थियो । धेरै अन्योलमा पर्नुभयो । भन्नुभयो— केही जानेको छैन, गाउँले मान्छे, पढेलेखेको छैन, हामीलाई किन कलम कापी थमायौ नानी ?

सुरुमा त धेरै जना झस्किनु भयो । तर्सिनु भयो । कतिलाई त लाग्ने रहेछ, महिलाको जन्म नै यही भेदभाव, यातना, दुःख पीडा खान भएको हो ।  

‘अब कथा भनेर के गर्नु छ र,’ पनि भन्नुभयो । तर जब हामीले केही रेखा कोर्न सिकायौँ, जब कलमले आफ्नी आमा अनि आफू जन्मेको अवस्था बन्न थाल्यो, गाउँको गोरेटो बाटोमा कुदेको आकार बनाउन थाल्नुभयो तब सबैलाई महसुस भयो कि म पनि केही हुँ, ममा पनि केही छ, कापी कलमले त मलाई पनि चिनायो त है भन्ने जस्ता आवाज सुनिन थाले । 

महिला किसानहरूले कस्सिएर घर बनाउनुभयो । खेत–बारी बनाउनु भयो । परिवारका सदस्य, छोराछोरी अनि श्रीमान् बनाउनुभयो, सासू–ससुरा बनाउनु भयो । उहाँहरूसँग जोडिएका तीता–मीठा घटना बनाउनु भयो । अनि फर्किएर मन्द मुस्कान दिनुभयो । 

एकैछिनमा ती बितेका क्षणहरूलाई महसुस गर्न थाल्नुभयो अनि त्यो क्षणसँगै भक्कानिन थाल्नुभयो, निस्सासिन थाल्नुभयो । आँखा त अघि नै रसाइसकेका थिए । तैपनि नानीबाट झर्न नदिई थामिराख्नु भएको थियो । 

तर, अब केही लागेन आँसुले पनि कति थामिनु, पीडाको स्वरसँगै बर्सिन थाल्यो । एकैछिनमा अभ्यासमा संलग्न सम्पूर्ण किसान महिलाको आँखाबाट पीडाका अनगन्ती घटना बहन थाले । 

एकैछिनमा सुन्दर हराभरा अनि घमाइलो गाउँ, आँधी आउनुअघिको सन्नाटामा परिणत भयो । उपस्थित सबैजसो सहभागीमा केही न केही, कतै न कतै लैङ्गिक विभेद, हेला, घृणा, दुर्व्यवहार सँगैका लैङ्गिक हिंसा खेपिरहेको वास्तविक कहानी सुनियो । 

मलको भारी, घाँसको भारी, तरकारी र खाद्यान्नसँगैको गह्रौँपनामा किसान महिलाले भोगिरहेको लैङ्गिक विभेद घटनाक्रम सुन्दा बजारदेखि भान्छासम्म पाक्ने तरकारी र खाद्यान्नको स्वादमा लैङ्गिक विभेदका खल्ला स्वाद पो आउने हो कि ? यस्तो पनि भान भयो । 

लैङ्गिक विभेदका घटना घरदैलो र समाजमा मात्रै नभएर कृषि उत्पादन सामग्री, व्यापार व्यवसायमा पाउने सुविधा, सरकारी तथा गैरसरकारी निकायले प्रदान गर्ने सहुलियत, सूचना प्रसारण, कृषि प्रसारदेखि बजार र व्यापारीहरूको सम्बन्ध, कारोबारमा महिला पछाडि छन् भन्ने कुरा यी महिलाको वास्तविक कथाले अझ प्रस्ट पार्‍यो । 

जतिसुकै पीडा र भेदभावको अवस्था भए पनि अलिकति सहयोग, समन्वयनको बाटो खोलिदिने हो भने यी किसान महिलाले आफूलाई आफ्नो खुट्टामा उभिने, बालबच्चा हुर्काउने अनि पढाउन सक्षम हुने रहेछन् भन्ने पनि यिनै घटनाक्रमबाट देखियो । 

सन् २०१९ मा संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि कार्यक्रमका अनुसार नेपालमा करिब ८० प्रतिशत महिला कृषिमा संलग्न छन् तर पनि यी महिलामा कृषि ज्ञान, परम्परागत खेतीबाट बढी उब्जनी हुने, साधारण तरकारीबाट नगदे बालीतर्फ कसरी आकर्षित हुने, उचित बजार मूल्य कसरी पाउने, ठूला व्यापारीहरूसँग कसरी मोलतोल गर्ने भन्ने जस्ता आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्न अझ जरुरी छ भन्ने कुरा यस अभ्यास अझ देखायो । 

महिला किसानले हरेक किसिमका लैङ्गिक भेदभाव र हिंसाको अवस्थालाई पनि पार गरेर संघर्षको बाटोमा निरन्तर अगाडि बढ्नेछन् भन्ने निचोड पनि हाम्रो यो सानो अभ्यासले देखायो । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनले नेपाल सरकार (कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालय), गैरसरकारी निकायलगायत स्थानीय किसान, वन समूहसँग मिलेर कृषि उत्पादन वृद्धि, प्राङ्गारिक मलको प्रयोग, अर्गानिक कृषि प्रणाली तथा वातावरण परिवर्तनलाई समेट्दै नेपालका विभिन्न जिल्लाहरूमा कार्य गर्दै आइरहेको छ । यस संंस्थाले गर्ने सम्पूर्ण क्रियाकलापमा ६० देखि ८० प्रतिशतसम्म महिला किसानलाई लक्षित गरी कार्यक्रम गरिरहेको छ । 

(बुढाथोकी संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमा लैङ्गिक विज्ञ हुन् ।) 
तस्बिर : रोबिक उपाध्याय 


Author

थप समाचार
x